के तपाईं एलियाजस्तै वफादार हुनुहुनेछ?
“परमप्रभुको त्यो महा र डरलाग्दो दिन आउनअघि म एलिया अगमवक्तालाई पठाउनेछु।”—मलाकी ४:५.
१. इस्राएल प्रतिज्ञा गरिएको देशमा पुगेको ५०० वर्ष बित्दा नबित्दै के संकट आइपर्छ?
‘दूध र मह बहने देश।’ हो, सा.यु.पू. १६ औं शताब्दीमा मिश्री दासत्वबाट छुटाउनुभएका इस्राएलीहरूलाई यहोवा परमेश्वरले त्यस्तै देश दिनुभएको थियो। (प्रस्थान ३:७, ८) तर यो के? पाँच शताब्दी बित्दा नबित्दै इस्राएलका दश कुल ठूलो अनिकालको चपेटामा? हरियो नाउँको चीज कतै देखिंदैन। वस्तुभाउहरू फुतुफुतु मरिरहेका छन् अनि आकाशबाट एक थोपा पानी नझरेको साढे तीन वर्ष भइसक्यो। (१ राजा १८:५; लूका ४:२५) केले गर्दा यस्तो दुर्दशा?
२. पूरै इस्राएल राष्ट्रलाई विपत्तिले घेर्नुको कारण के हो?
२ धर्मत्यागले। परमेश्वरको व्यवस्था उल्लंघन गरेर राजा आहाबले कनानी राजकुमारी ईजेबेलसित बिहे गरेका छन् र इस्राएलमा बाल देवताको उपासना थापना गर्ने मौका समेत दिएका छन्। अझ त्योभन्दा पनि खराब, इस्राएलको राजधानी सामरियामा तिनले झूटा देव, बालको मन्दिर बनाएका छन्। स्थिति यतिसम्म नाजुक भइसकेको छ कि बहकाउमा परेर इस्राएलीहरूले समेत बाल देवताले नै प्रशस्त अन्न दिनेछ भनेर विश्वास गर्न थालेका छन्! तथापि, तिनीहरू खतरामा छन् र ‘असल देशदेखि छिट्टै नष्ट भइहाल्नेछन्’ भनेर यहोवाले चेताउनी दिइसक्नुभएको छ।—व्यवस्था ७:३, ४; ११:१६, १७; १ राजा १६:३०-३३.
ईश्वरत्वको उल्लेखनीय परीक्षा
३. खासैमा इस्राएलको समस्या के हो, एलिया कसरी औंल्याउँछन्?
३ अनिकाल सुरु भएपछि परमेश्वरका वफादार अगमवक्ता, एलियाले राजा आहाबलाई भन्छन्: “परमप्रभु इस्राएलका परमेश्वरको सेवक म, उहाँको जीवनको शपथ खाएर भन्दछु कि मेरो वचनविना आगामी वर्षहरूमा शीत र पानी केही पर्दैन।” (१ राजा १७:१) एलियाले अगमवाणी गरेझैं अनिकाल पर्छ र राजा आहाब एलियालाई इस्राएलमाथि दुःख ल्याएको दोष लगाउँछन्। तर एलियाले उल्टो आहाब र तिनका घरानाले बालको उपासना गरेर धर्मत्याग गरेको हुँदा तिनीहरू नै दोषी छन् भनेर जवाफ दिन्छन्। साँचो साँचो निसाफ गर्न बालका ४५० अगमवक्ता, पवित्र खामोका ४०० अगमवक्तालगायत सारा राष्ट्रलाई कर्मेल पर्वतमा भेला गराउन यहोवाको अगमवक्ता, राजा आहाबलाई आग्रह गर्छन्। शायद यो मुठभेडपछि अनिकाल हट्ला भन्ने आशा गर्दै आहाब अनि तिनका प्रजा कर्मेल पर्वतमा भेला हुन्छन्। तर एलिया अनिकालमा भन्दा अर्को गम्भीर विषयतर्फ मानिसहरूको ध्यानाकर्षण गर्न चाहन्छन्। तिनी भन्छन्, “तिमीहरू कहिलेसम्म दोधारमा बसिरहन्छौ? यदि परमप्रभुनै परमेश्वर हुनुहुन्छ भने उहाँलाई पछ्याऊ। तर यदि बाल परमेश्वर हो भने त्यसलाई पछ्याऊ।” एलियाको कुरा सुनेर इस्राएलीहरू वाल्ल पर्छन् र एकअर्काको मुख ताक्छन्।—१ राजा १८:१८-२१.
४. परमेश्वर को, प्रमाणित गर्न एलिया के प्रस्ताव राख्छन्?
४ इस्राएलीहरूले यहोवा र बाल दुवैको उपासना गर्न थालेका वर्षौं भइसकेको छ। अतः ईश्वरत्वको यस विवाद सुल्झाउन एलियाले बाल र यहोवाबीच प्रतिस्पर्धा गराउने सुझाउ राख्छन्। एलियाले जवान साँढे बलिदानको लागि तयार गर्नेछन् भने बालका अगमवक्ताहरूले पनि त्यसै गरेर बलिदान चढाउनेछन्। त्यसपछि, एलिया भन्छन्: “तिमीहरू आफ्नो देवताको नाउँ पुकार, र म परमप्रभुको नाउँ पुकार्नेछु, औ आगोद्वारा जवाफ दिनुहुनेनै परमेश्वर हुनुहुन्छ।” (१ राजा १८:२३, २४) प्रार्थनाको जवाफमा आकाशबाट हुरुरुरु आगो बर्संदा त्यो कत्ति गजबको दृश्य हुने होला, कल्पना गर्नुहोस् त!
५. बालको उपासना गर्नु बेकार छ भन्ने कुरा कसरी पर्दाफास हुन्छ?
५ एलिया पहिला बाल अगमवक्ताहरूलाई मौका दिन्छन्। बलिदानको लागि साँढे तयार पारेर तिनीहरू त्यसलाई वेदीमाथि राख्छन्। त्यसपछि, वेदी वरपर उफ्रँदै तिनीहरू प्रार्थना गर्छन्: “हे बाल, हे बाल, हाम्रो बिन्ती सुन्नुहोस्।” “बिहानदेखि मध्येनि दिनसम्म” तिनीहरू त्यसरी नै उफ्रिरहन्छन्। यो देखेर एलिया यसो भन्दै तिनीहरूको ठट्टा गर्छन्, “अझ जोरसित कराऊ।” ऊ कुनै जरुरी कामले गर्दा व्यस्त होला वा “सुतिरहेको होला र उठाउनुपर्छ।” उफ्रँदा उफ्रँदा बालका अगमवक्ताहरू जोशमा आउँछन्। हेर्दा हेर्दै तिनीहरू आफैलाई धारिला हतियारले घोचेर रगताम्य बनाउँछन्। जोशमा आएर कराउने यी ४५० जनाको यो के बिघ्न चर्को हल्ला! तर जत्ति नै कराए पनि केही लाग्दैन र तिनीहरूले कुनै जवाफ पाउँदैनन्।—१ राजा १८:२६-२९.
६. यहोवा नै परमेश्वर हुनुहुन्छ भनेर प्रमाणित गर्न एलिया के तयारी गर्छन्?
६ अब एलियाको पालो। तिनी यहोवाको लागि वेदी तयार पार्छन्, त्यसको चारैतिर खाल्टो खन्न लगाउँछन् र वेदीमाथि बलिको पशुलाई राम्ररी राख्छन्। त्यसपछि दाउरा र पशुमाथि पानी खन्याउन लगाउँछन्। पूरै खाडल नभरुञ्जेल ठूल-ठूलो गाग्रोबाट बाह्र खेप पानी खन्याउन लगाउँछन्। पानी भर्नसकेपछि एलियाले यसो भनेर प्रार्थना गर्दा मानिसहरूको मनमा कस्तो खुलदुली मच्चियो होला, कल्पना गर्नुहोस्: “हे अब्राहाम, इसहाक र इस्राएलका परमप्रभु परमेश्वर, इस्राएलमा तपाईं परमेश्वर हुनुहुन्छ, औ म चाहिं तपाईंको सेवक हुँ। यी सबै काम तपाईंको आज्ञाअनुसार मैले गरेको हुँ भनी थाह होस्। औ परमप्रभु, मलाई जवाफ दिनुहोस्, मलाई जवाफ दिनुहोस्, र यी मानिसहरूले जानून् कि तपाईं परमप्रभुनै परमेश्वर हुनुहुन्छ, औ तिनीहरूका मन फर्काउने पनि तपाईंनै हुनुहुन्छ।”—१ राजा १८:३०-३७.
७, ८. (क) यहोवाले एलियाको प्रार्थनाको जवाफ कसरी दिनुहुन्छ? (ख) कर्मेल पर्वतमा भएको घटनाले के प्रमाणित गरेर देखायो?
७ एलियाले प्रार्थना मात्र के गरे थिए, आकाशबाट ‘यहोवाको आगो वर्सन्छ र आगोले होमबलि, दाउरा, ढुंगा र माटो भस्म पार्छ र खाल्टोको पानी सुकाइदिन्छ।’ मानिसहरू यो देखेर भुइँमा घोप्टो परी कराएर भन्छन्: “परमप्रभुनै परमेश्वर हुनुहुँदो रहेछ, परमप्रभुनै परमेश्वर हुनुहुँदो रहेछ।” (१ राजा १८:३८, ३९) त्यसपछि, एलिया निर्णायक कदम उठाउँछन् र यस्तो आज्ञा दिन्छन्: “बालका अगमवक्ताहरूलाई समात। एउटै पनि उम्कन नपाओस्।” बालका अगमवक्ताहरूलाई कीशोनको खोल्सामा लगेर मारेपछि बल्ल आकाशमा कालो बादल छाउन थाल्छ र अन्ततः घनघोर वर्षासँगसँगै अनिकालको अन्त हुन्छ!—१ राजा १८:४०-४५; व्यवस्था १३:१-५ तुलना गर्नुहोस्।
८ कस्तो महत्त्वपूर्ण दिन! ईश्वरत्वको यस उल्लेखनीय प्रतिस्पर्धामा यहोवा विजयी हुनुहुन्छ। यसबाहेक, यस घटनाले गर्दा थुप्रै इस्राएलीहरू परमेश्वरतर्फ फर्कन्छन्। यसरी र अन्य विभिन्न तरिकामा एलिया आफूलाई वफादार अगमवक्ता प्रमाणित गर्छन् र साथै एउटा भविष्यसूचक भूमिका पनि निर्वाह गर्छन्।
“अगमवक्ता एलिया” अझै आउन बाँकी?
९. मलाकी ४:५, ६ मा के भविष्यवाणी गरिएको थियो?
९ पछि, मलाकीलाई चलाउनुभएर यहोवाले यस्तो अगमवाणी गर्नुभयो: “हेर, परमप्रभुको त्यो महा र डरलाग्दो दिन आउनअघि म एलिया अगमवक्तालाई पठाउनेछु। औ त्यसले बाबुहरूका हृदय तिनीहरूका छोराहरूतिर र छोराहरूका हृदय तिनीहरूका बाबुहरूतिर फर्काइदिनेछ, नत्रता म आएर देशलाई सरापले नाश पार्नेछु।” (मलाकी ४:५, ६) एलिया, यी शब्दहरू बोलिनुभन्दा ५०० वर्षअघि नै बितिसकेका थिए। अनि यो भविष्यवाणी भएकोले सा.यु. प्रथम शताब्दीका यहूदीहरू एलिया फेरि आएर त्यस भविष्यवाणी पूरा गर्नेछन् भनेर आशा गरिरहेका थिए।—मत्ती १७:१०.
१०. पछि आउनेछ भनेर अगमवाणी गरिएको एलिया को थिए र तिनी नै एलिया थिए भनेर हामी कसरी भन्नसक्छौं?
१० त्यसोभए, यो आउँदै गरेको एलिया को थिए त? तिनी को थिए, येशू ख्रीष्टले यसो भन्नुहुँदा प्रकट हुन्छ: “बप्तिस्मा दिने यूहन्नाका दिनदेखि यसो अहिलेसम्म स्वर्गको राज्यमा बलजफत हुँदैछ, र बलजफत गर्ने मानिसहरूले जबरदस्तसँग खोस्तछन्। किनकि सबै अगमवक्ताहरू र व्यवस्थाले यूहन्नासम्मनै अगमवाणी गरेका छन्। औ तिमीहरू ग्रहण गर्न राजी हुन्छौ भने, आउनु पर्ने एलिया यिनै हुन्।” हो, बप्तिस्मा दिने यूहन्ना नै पूर्ववाणी गरिएका एलिया थिए। (मत्ती ११:१२-१४; मर्कूस ९:११-१३) स्वर्गदूतले पनि यूहन्नाका पिता जकरियालाई यूहन्ना “परमप्रभुको निम्ति योग्य बनाइएका मानिसहरू तयार पार्नालाई . . . एलियाका आत्मा र शक्तिमा . . . अगिअगि जानेछन्” भनेका थिए। (लूका १:१७) यूहन्नाको हातबाट बप्तिस्मा लिएर तत्कालीन मानिसहरूले व्यवस्था विरुद्ध गरेका पापहरू स्वीकार्छु भनेर जनसमक्ष देखाइरहेका हुनेथिए र यसले यी यहूदीहरूलाई ख्रीष्टतर्फ डोऱ्याउने थियो। (लूका ३:३-६; गलाती ३:२४) यसप्रकार, यूहन्नाको कामले ‘यहोवाका निम्ति मानिसहरूलाई तयार पाऱ्यो।’
११. पेन्तिकोसको दिन पत्रुसले ‘यहोवाको दिनबारे’ के भने अनि त्यो कहिले पूरा भयो?
११ बप्तिस्मा दिने यूहन्नाले “एलिया[को]” रूपमा जे जे काम गरे, त्यसले ‘यहोवाको दिन’ नजीक थियो भनेर देखायो। शत्रुहरू विरुद्ध जाइलाग्नु भएर यहोवाले आफ्ना जनहरूलाई बचाउनुहुने त्यस दिनको निकटताबारे प्रेरित पत्रुसले पनि संकेत दिए। सा.यु. ३३ को पेन्तिकोसको दिन भएको चमत्कारी घटना वास्तवमा योएलले परमेश्वरको आत्मा खन्याइनेछ भनी गरेको अगमवाणीको पूर्ति हो भनेर तिनले औंल्याए। “परमप्रभुको महान् र प्रख्यात दिन” आउनुअघि सो हुने निश्चित थियो भनेर पत्रुसले देखाए। (प्रेरित २:१६-२१; योएल २:२८-३२) आफ्नो पुत्रलाई इन्कार गर्ने राष्ट्रको ईश्वरीय न्याय गर्न रोमी सेनालाई चलाउनुभएर यहोवाले सा.यु. ७० मा आफ्नो वचन पूरा गर्नुभयो।—दानियल ९:२४-२७; यूहन्ना १९:१५.
१२. (क) आउँदै गरेको ‘यहोवाको दिनबारे’ पावल र पत्रुसले के भने? (ख) किन केही न केही अवश्य हुनेथियो, जुन एलियाको कामले पनि संकेत गर्छ?
१२ तथापि, सा.यु. ७० मै सबै कुरा सकिएन। अझै केही हुन बाँकी नै थियो। प्रेरित पावलले आउँदै गरेको ‘यहोवाको दिनलाई’ येशू ख्रीष्टको उपस्थितिसित जोडे। यसबाहेक, प्रेरित पत्रुसले सा.यु. ७० भन्दा धेरैपछि पूरा हुने “नयाँ स्वर्ग र नयाँ पृथ्वी[बारे]” उल्लेख गरेर त्यस दिनको कुरा गरे। (२ थिस्सलोनिकी २:१, २; २ पत्रुस ३:१०-१३) बप्तिस्मा दिने यूहन्नाले सा.यु. ७० मा ‘यहोवाको दिन’ आउनुअघि एलियाले गरेजस्तै काम गरेको थियो भनेर पनि नबिर्सनुहोस्। यसबाट प्रस्ट हुन्छ कि एलियाको कामसित मेल खाने त्यस्तै केही काम भविष्यमा पनि हुने रहेछ। त्यो के हो?
तिनीहरूसँग एलियाको आत्मा छ
१३, १४. (क) एलिया र हाल अभिषिक्त जनहरूले गरिरहेका कामबीच कुन कुन कुरा मेल खान्छ? (ख) मसीहीजगत्का धर्मत्यागीहरूले के गरेका छन्?
१३ एलियाले गरेका काम बप्तिस्मा दिने यूहन्नासँग मात्र नभई ‘यहोवाको दिन’ आउनुअघि यस डरलाग्दो समयमा अभिषिक्त मसीहीहरूले गरिरहेका कामसित पनि मेल खान्छ। (२ तिमोथी ३:१-५) एलियाको आत्मा अनि बल पाएको हुँदा यिनीहरू पनि वफादारीपूर्वक साँचो उपासनाको पक्ष लिन्छन्। अनि त्यसो गर्नु साँच्चै कत्ति आवश्यक देखिएको पनि छ! एलियाको समयमा इस्राएलमा बाल उपासना फस्टाएजस्तै ख्रीष्टका प्रेरितहरू मरिसकेपछि साँचो मसीहीधर्मबाट धर्मत्यागको सुरुआत भयो। (२ पत्रुस २:१) धर्मत्याग सुरु भएपछि मसीही भनौंदाहरूले मसीहीधर्मलाई झूटा शिक्षा तथा रीतिरिवाजसित छ्यासमिस पार्न थाले। जस्तै, तिनीहरूले मानिसको आत्मा अमर छ भन्ने गैरमसीही अनि अशास्त्रीय शिक्षा अँगाले। (उपदेशक ९:५, १०; इजकिएल १८:४) अहिले मसीहीजगत्का धर्मत्यागीहरूले साँचो परमेश्वरको यहोवा भन्ने नाउँ पनि चलाउन छाडिसकेका छन्। साँचो परमेश्वरको उपासना गर्नुको सट्टा तिनीहरू त्रिएकको उपासना गर्छन्। येशू अनि उहाँकी आमा मरियमअघि शिर झुकाएर तिनीहरूले बालकै जस्तो उपासना पनि गर्न थालेका छन्। (रोमी १:२३; १ यूहन्ना ५:२१) तर त्यति मात्र कहाँ हो र!
१४ मसीहीजगत्का चर्चका नेताहरूले १९ औं शताब्दीदेखि यता बाइबलका थुप्रै भागहरूमाथि शंका गर्न थालेका छन्। जस्तै, तिनीहरूले सृष्टिबारे उत्पत्तिको पुस्तकमा पाइने विवरणलाई अस्वीकार गरेर विकासवादको सिद्धान्तलाई स्वीकार्नुका साथै त्यसलाई “वैज्ञानिक” भन्ने लेबल पनि दिएका छन्। यो कुरा कसै गरे पनि येशू ख्रीष्ट र उहाँका प्रेरितहरूका शिक्षासित मेल खाँदैन। (मत्ती १९:४, ५; १ कोरिन्थी १५:४७) तथापि, आज आत्मा-अभिषिक्त मसीहीहरू येशू र उहाँका प्रारम्भिक अनुयायीहरूले जस्तै सृष्टिबारे बाइबलले दिने विवरणको समर्थन गर्छन्।—उत्पत्ति १:२७.
१५, १६. मसीहीजगत्ले नपाए तापनि कसले चाहिं नियमित तवरमा आध्यात्मिक आहार पाइरहेका छन् र कहाँबाट?
१५ यो संसार “आखिरी दिनमा” प्रवेश गर्ने बित्तिकै मसीहीजगत्मा आध्यात्मिक अनिकाल पऱ्यो। (दानियल १२:४; आमोस ८:११, १२) तर त्यतिबेला अभिषिक्त मसीहीहरूको सानो समूहले भने नियमित तवरमा अनि “ठीक ठीक समयमा” परमेश्वरको हातबाट आध्यात्मिक आहार पाइरहेको थियो। जसरी एलियाले पनि इस्राएलमा अनिकाल पर्दा खान पाएका थिए। (मत्ती २४:४५; १ राजा १७:६; १३-१६) कुनै समय इन्टरनेशनल बाइबल स्टुडेन्ट्सको नाउँले चिनिने यी वफादार ईश्वरभक्त सेवकहरूले पछि यहोवाका साक्षीहरू भन्ने धर्मशास्त्रीय नाउँ पाए।—यशैया ४३:१०.
१६ एलिया, “यहोवा मेरो परमेश्वर हुनुहुन्छ” भन्ने आफ्नो नाउँको अर्थअनुरूप बाँचे। यहोवाका पार्थिव सेवकहरूको आधिकारिक पत्रिकाको रूपमा प्रहरीधरहरा-ले परमेश्वरको नाउँ प्रयोग गर्न कहिल्यै छाडेको छैन। अझ भन्ने हो भने, यो पत्रिकाको दोस्रो अंक (अगस्त १८७९) ले पूरापूर आत्मविश्वासका साथ आफूसित यहोवाको समर्थन छ भनेर भनेको थियो। यो पत्रिकालगायत वाच टावर सोसाइटीका अन्य प्रकाशनहरूले मसीहीजगत्का साथै विश्वव्यापी झूटा धर्मको साम्राज्य अर्थात् महान् बेबिलोनका अशास्त्रीय शिक्षाहरूको पर्दाफास गरी परमेश्वरको वचन बाइबलको सत्यताको समर्थन गरेको छ।—२ तिमोथी ३:१६, १७; प्रकाश १८:१-५.
परीक्षाको बावजूद वफादार
१७, १८. बालका अगमवक्ताहरू काटिंदा ईजेबेलले के गरे तर एलिया कसरी जोगाइए?
१७ एलियाले बालका अगमवक्ताहरूलाई मार्न लगाए भन्ने खबर पाउँदा ईजेबेलले जस्तो प्रतिक्रिया देखाएकी थिइन्, पादरीवर्गले पनि आफ्नो कर्तुत पर्दाफास हुँदा त्यस्तै प्रतिक्रिया देखायो। आफ्ना अगमवक्ताहरू मारिंदा ईजेबेलले यहोवाका वफादार अगमवक्ता एलियालाई मारिछाड्छु भन्ने सन्देश पठाएकी थिइन्। यो कुनै फोस्रो धम्की थिएन। किनकि यसअघि ईजेबेलले परमेश्वरका कैयौं अगमवक्ताहरूको हत्या गरिसकेकी थिइन्। अतः, ज्यान जाला भनेर डराउँदै एलिया बेर्शेबाको दक्षिण पश्चिमतिर भागे। आफ्नो चाकरलाई त्यहीं छाडेर तिनी अझै टाढा उजाडस्थानतर्फ भागे र त्यहाँ मर्नपाऊँ भन्दै परमेश्वरलाई बिन्ती गरे। तर यहोवाले आफ्नो अगमवक्तालाई बिचल्लीमा छाड्नुभएन। उहाँले स्वर्गदूत पठाउनुभयो र तिनले एलियालाई होरेब पर्वतसम्म लामो यात्रा गर्न तगडा बनाए। यसप्रकार, ३०० किलोमिटरभन्दा लामो दूरीको ४० दिने यात्रा पूरा गर्न एलियाले यथेष्ट बल पाए। होरेब पर्वतमा एलियासित बोल्नुअघि परमेश्वरले ठूलो बतास, भैंचालोका साथै अग्निवर्षा गराउनुभएर आफ्नो अपार शक्ति प्रदर्शन गर्नुभयो। तर स्वयं यहोवा प्रकट भई यी अचम्मका घटनाहरू देखाउनुभएको थिएन। ती त उहाँको सक्रिय शक्ति अर्थात् पवित्र आत्माको प्रदर्शन मात्र थिए। त्यसपछि, यहोवा आफ्नो अगमवक्तासित बोल्नुभयो। यो अनौठो अनुभवले एलियालाई कत्ति बल दियो होला, हामी कल्पना गर्नसक्छौं! (१ राजा १९:१-१२) साँचो उपासनाका शत्रुहरूले धम्काउँदा हामी पनि एलियाजस्तै डराउन थाल्यौं भने के गर्ने? त्यस्तो बेला हामीले एलियाको अनुभव सम्झेर यहोवाले आफ्ना जनहरूलाई त्याग्नुहुन्न भनेर महसुस गर्नुपर्ने हो।—१ शमूएल १२:२२.
१८ अगमवक्ता भएर अझै काम गर्नु बाँकी छ भनेर परमेश्वरले एलियालाई स्पष्ट पार्नुभयो। यसबाहेक, एलियाले इस्राएलमा साँचो परमेश्वरको उपासना गर्ने आफू एक्लै छु भन्ठानेका भए तापनि बालअघि नझुक्ने ७,००० अरू मानिसहरू छन् भनेर यहोवाले देखाउनुभयो। त्यसपछि, परमेश्वरले एलियालाई आफ्नो काम फत्ते गर्न पठाउनुभयो। (१ राजा १९:१३-१८) एलियालाई जस्तै हामीलाई पनि साँचो उपासनाका शत्रुहरूले खेद्नसक्छन्। येशूले भन्नुभएझैं हामी घोर सतावटको शिकार हुनसक्छौं। (यूहन्ना १५:१७-२०) कहिलेकाहीं यी सब देखेर हामी भयभीत हुन सक्छौं। तथापि, हामी पनि परमेश्वरको आश्वासन पाएर वफादारीपूर्वक यहोवाको सेवामा लागिरहने एलियाजस्तै हुनसक्छौं।
१९. प्रथम विश्वयुद्ध हुँदा अभिषिक्त मसीहीहरूले के अनुभव गरे?
१९ प्रथम विश्वयुद्धको दौडान घोर सतावट भोग्नु पर्दा केही अभिषिक्त मसीहीहरू डराएर प्रचार गर्नै छाडे। तिनीहरूले पृथ्वीमा आफूले गर्नुपर्ने काम सक्यो भन्ने गलत अनुमान लगाए। तर यी सबका बावजूद परमेश्वरले तिनीहरूलाई त्याग्नुभएन। बरु एलियाको निम्ति भोजनको प्रबन्ध गर्नुभएजस्तै उहाँले दयापूर्वक तिनीहरूलाई थाम्नुभयो। अनि वफादार अभिषिक्त जनहरूले चाहिं एलियाले जस्तै परमेश्वरले दिनुभएको सुधार स्वीकारे र फेरि सक्रिय हुन थाले। तिनीहरूका आँखा छर्लंग भए। फलतः तिनीहरूले आफ्नोअघि राज्य सन्देश प्रचार गर्ने ठूलो मौका देखे।
२०. एलियाजस्तै वफादार भएर बस्नेहरूलाई अहिले कुन सुअवसर दिइएको छ?
२० येशूले आफ्नो उपस्थितिबारे अगमवाणी गर्नुहुँदा यस दुष्ट रीतिरिवाजको अन्त हुनुअघि सकिने विश्वव्यापी कामको उल्लेख गर्नुभएको थियो। (मत्ती २४:१४) अहिले अभिषिक्त मसीहीहरू अनि पार्थिव प्रमोदवनमा जीवन बिताउन चाहने तिनीहरूका लाखौं मित्रहरूले यो जिम्मेवारीलाई आफ्नो काँधमा लिइरहेका छन्। एलियाजस्तो वफादार भएर रहनेलाई मात्र सुम्पिइने यो राज्य-प्रचारको काम अन्त नआउञ्जेल गरिरहन पाउनु साँच्चै हाम्रोनिम्ति सुअवसरको कुरा हो।
एलियाजस्तै वफादार हुनुहोस्
२१, २२. (क) आज अभिषिक्त मसीहीहरूले कुन काम जोडतोडसित गरिरहेका छन्? (ख) कसको मदत पाएर प्रचारको काम भइरहेको छ र मदत किन चाहिन्छ?
२१ एलियाजस्तो जोशिलो यी मुठीभर सक्कली अभिषिक्त शेष जनहरूले अहिले सिंहासनमा विराजमान भइसक्नुभएको राजा, येशू ख्रीष्टका पार्थिव कामकुराहरू सँभालिरहेका छन्। (मत्ती २४:४७) अनि त्यसमा यहोवाले पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्ने आशा दिनुभएका चेलाहरू बनाउने काम पनि पर्छ। यहोवाले यसप्रकारका चेला बनाउने काममा अभिषिक्त जनहरूलाई मदत गरिरहनुभएको अहिले ६० वर्षभन्दा धेरै भइसक्यो। (मत्ती २८:१९, २०) यी शेष अभिषिक्त जनहरूले वफादार भई जोशका साथ आफ्ना जिम्मेवारीहरू पूरा गरेका हुँदा पार्थिव आशा हुने लाखौं जनहरू कत्ति कृतज्ञ छन्!
२२ यो राज्य प्रचार गर्ने काम असिद्ध मानिसहरूले यहोवाको बल पाएर मात्र गर्न सकेका हुन् र यहोवा त्यस्तो परमेश्वर हुनुहुन्छ जो उहाँमाथि प्रार्थनापूर्वक भर गर्ने जोसुकैलाई बल दिनुहुन्छ। धर्मीको प्रार्थनामा कत्तिको बल हुन्छ भनी प्रार्थना गरेर देखाउने अगमवक्ता एलियाको उल्लेख गर्दा चेला याकूबले “एलिया . . . हामी जस्तै दुःख सुख भोगी मानिस थिए” भनेर बताए। (याकूब ५:१६-१८) एलियाले सधैं अगमवाणी वा चमत्कारहरू गरिरहेनन्। हाम्राजस्तै अनुभूति, हाम्राजस्तै कमजोरीहरू तिनका पनि थिए। तर तिनी वफादारीपूर्वक परमेश्वरको सेवा गर्नदेखि कहिल्यै चुकेनन्। एलियाले जस्तै परमेश्वरको मदत र बल पाइरहेको हुँदा हामी पनि एलियाजस्तै वफादार हुनसक्छौं।
२३. हामी वफादार अनि आशावादी भएर बस्ने के असल कारण छ?
२३ हामी वफादार अनि आशावादी भएर बस्ने असल कारण पनि छ। नबिर्सनुहोस्, सा.यु. ७० मा ‘यहोवाको दिन’ सुरु हुनुअघि बप्तिस्मा दिने यूहन्नाले एलियाकै जस्तो काम गरेका थिए। अनि आज अभिषिक्त मसीहीहरूले एलियाको आत्मा र बल पाएर सारा संसारभरि परमेश्वरले दिनुभएको त्यस्तै प्रकारको काम गरिरहेका छन्। निस्सन्देह, यसले ‘यहोवाको दिन’ नजीकै छ भनेर देखाउँछ।
तपाईं के जवाफ दिनुहुन्छ?
◻ कर्मेल पर्वतमा यहोवा नै परमेश्वर हुनुहुन्छ भनेर कसरी प्रमाणित भयो?
◻ ‘आउँदै गरेको एलिया’ को थिए र तिनले के गरे?
◻ अहिले अभिषिक्त मसीहीहरूले आफूसित एलियाको आत्मा छ भनेर कसरी देखाएका छन्?
◻ हामी पनि एलियाजस्तै वफादार रहनु किन सम्भव छ?
[पृष्ठ १५-मा भएको पेटी]
एलिया उक्लेको स्वर्ग के थियो?
“उनीहरू [एलिया र एलीशा] बात गर्दै अगि बढ़नलागे। औ एक्कासि अग्निमय रथ र अग्निमय घोड़ाहरू देखा परे। तिनले उनीहरूलाई एक अर्काबाट अलग गरे, र एलियालाई स्वर्गमा भुमरीले उठाएर लग्यो।”—२ राजा २:११.
यहाँ उल्लेख गरिएको “स्वर्ग” के हो? स्वर्ग भन्नाले कहिलेकाहीं परमेश्वर र उहाँका आत्मिक पुत्रहरू बस्ने आत्मिक घर बुझिन्छ। (मत्ती ६:९; १८:१०) तर “स्वर्ग[को]” अर्थ भौतिक ब्रह्माण्ड पनि हुनसक्छ। (व्यवस्था ४:१९) बाइबलले स्वर्ग भन्ने शब्द चराहरू उड्ने, हावा बहने वायुमण्डललाई बुझाउन पनि प्रयोग गर्छ।—भजन ७८:२६; मत्ती ६:२६.
एलिया अगमवक्ता यीमध्ये कुन चाहिं स्वर्गमा उक्ले त? स्पष्टतः तिनलाई जमीनबाट उठाएर आकाश हुँदै पृथ्वीकै अन्यत्र ठाउँमा लगिएको थियो। एलिया पृथ्वीमै थिए। किनभने, वर्षौंपछि तिनले यहूदाका राजा योरामलाई पत्र लेखेका थिए। (२ इतिहास २१:१, १२-१५) एलियालाई यहोवा परमेश्वरको आत्मिक बासस्थानमा लगिएको थिएन। यही कुराको पुष्टि दिंदै पछि येशू ख्रीष्टले यसो भन्नुभयो: “स्वर्गबाट ओर्लिआउने मानिसको पुत्रबाहेक [मतलब येशू ख्रीष्टबाहेक] कोही पनि स्वर्गमा उक्लिगएको छैन।” (यूहन्ना ३:१३) वास्तवमा येशूको मृत्यु, पुनरुत्थान अनि स्वर्गारोहण भएपछि मात्र असिद्ध मानवहरूले स्वर्गीय जीवन पाउने मौका पहिलो चोटि पाएका थिए।—यूहन्ना १४:२, ३; हिब्रू ९:२४; १०:१९, २०.