समझ-शक्तिमा मन लगाउनुहोस्
“बुद्धि दिने परमप्रभुनै हुनुहुन्छ, र ज्ञान र समझ-शक्ति उहाँबाटनै आउँछन्।” —हितोपदेश २:६.
१. हामी समझ-शक्तिमा कसरी मन लगाउनसक्छौं?
यहोवा हाम्रो महान् शिक्षक हुनुहुन्छ। (यशैया ३०:२०, २१) तर उहाँको वचनमा प्रकट गरिएको “परमेश्वरको ज्ञान[बाट]” लाभ उठाउन हामीले के गर्नुपर्छ? एउटा कुरा त, हामीले ‘समझ-शक्तिमा मन लगाउनुपर्छ।’ त्यसको मतलब हो, समझ-शक्ति पाउने र त्यो गुन प्रकट गर्ने भित्री चाहना हामीसित हुनैपर्छ। यसो गर्न हामीले परमेश्वरसित मदत माग्नैपर्छ किनभने एक बुद्धिमान् मानिसले यसो भने: “बुद्धि दिने परमप्रभुनै हुनुहुन्छ, र ज्ञान र समझ-शक्ति उहाँबाटनै आउँछन्।” (हितोपदेश २:१-६) ज्ञान, बुद्धि र समझ-शक्ति भनेको के हो?
२. (क) ज्ञान भनेको के हो? (ख) तपाईं बुद्धिको परिभाषा कसरी दिनुहुन्छ? (ग) समझ-शक्ति भनेको के हो?
२ ज्ञान भनेको भोगेर, हेरेर वा पढेर प्राप्त हुने जानकारी हो। बुद्धि भनेको त्यो ज्ञानलाई व्यवहारमा उतार्न सक्नु हो। (मत्ती ११:१९) दुइटी आइमाईले एउटै बच्चालाई मेरो भनी दाबी गर्दा राजा सुलेमानले बुद्धि चलाए र आमाको स्नेहको ज्ञान भएको हुँदा उक्त विवादलाई सुल्झाउनसके। (१ राजा ३:१६-२८) समझ-शक्ति भनेको “निर्णय गर्ने तीक्ष्णता” हो। यो “वस्तु तथा विचारहरूबीचको भिन्नता बुझ्नसक्ने मानसिक शक्ति” हो। (वेब्स्टर्स युनिभर्सल डिक्सनरी) हामीले समझ-शक्तिमा मन लगायौं भने, यहोवाले आफ्नो पुत्रद्वारा हामीलाई समझ-शक्ति दिनुहुनेछ। (२ तिमोथी २:१, ७) तर समझ-शक्तिले जीवनका विभिन्न पक्षलाई कसरी असर गर्नसक्छ?
समझ-शक्ति र हाम्रो बोली
३. हितोपदेश ११:१२, १३ लाई तपाईं कसरी व्याख्या गर्नुहुन्छ र “निर्बुद्धि” हुनुको अर्थ के हो?
३ समझ-शक्तिले हामीलाई “चूप्प लाग्ने एउटा समय छ, बोल्ने एउटा समय” छ भनेर बुझ्न मदत गर्छ। (उपदेशक ३:७) यस गुनले हामीलाई सोचविचार नपुऱ्याई जथाभावी बोल्नदेखि पनि सजग बनाउँछ। हितोपदेश ११:१२, १३ यसो भन्छ: “निबुर्द्धि मानिसले अरूहरूलाई घृणा गर्छ, तर समझ-शक्ति भएको मानिस चूप लागिबस्छ। कुरा ओसार्नेले गुप्त कुरा प्रकट गर्छ, तर विश्वासयोग्य मानिसले गुप्त कुरा आफ्नै मनमा राख्छ।” हो, “निर्बुद्धि” पुरुष वा स्त्रीले अरूलाई घृणा गर्छ। कोशकार विल्हेम गेजनियस त्यस्तो व्यक्तिलाई “असमझदार” ठान्छन्। त्यस्तो व्यक्तिले सही निर्णय गर्न सक्दैनन् र “निर्बुद्धि” भन्ने पदावलीले भित्री गुनहरूको कमीलाई देखाउँछ। मसीही हुँ भनी दाबी गर्ने व्यक्तिले बेमतलबको कुराकानी गर्दै अरूको निन्दोचर्चो गर्छ वा अरूलाई जथाभावी गाली गर्छ भने, नियुक्त प्राचीनहरूले मण्डलीमा त्यस्तो अस्वास्थ्यकर वातावरणलाई रोक्न कदम चालिहाल्नुपर्छ।—लेवी १९:१६; भजन १०१:५; १ कोरिन्थी ५:११.
४. समझदार तथा वफादार मसीहीहरूले गोप्य कुरालाई के गर्दैनन्?
४ चुप लाग्नु नै बेस हुँदा “समझ-शक्ति” भएको मानिसले “निर्बुद्धि” व्यक्तिजस्तो नभई मुखबाट एक शब्द निकाल्दैन। तिनीहरूले धोखा दिंदैनन्। (हितोपदेश २०:१९) जे पायो त्यो बोल्दा हानि पुग्नसक्छ भनी थाह भएको हुँदा समझदार मानिस “विश्वासयोग्य” हुन्छन्। आफ्ना सँगी विश्वासीहरूप्रति वफादार हुन्छन् र तिनीहरूलाई खतरामा पार्नसक्ने गोप्य कुराहरू अरूलाई बताउँदैनन्। समझदार व्यक्तिले मण्डलीसित सम्बन्धित कुनै गोप्य कुरा थाह पाए भने यहोवाको संगठनले नै उपयुक्त समयमा प्रकाश नपारुञ्जेल चुपो लागेर बस्छन्।
समझ-शक्ति र हाम्रो आचरण
५. ‘मूर्खले’ छाडा आचरणलाई के ठान्छ र किन?
५ बाइबलका हितोपदेशहरूले हामीलाई समझ-शक्ति चलाउन र अनुचित आचरणबाट अलग बस्न मदत दिन्छन्। उदाहरणका लागि, हितोपदेश १०:२३ यसो भन्छ: “मूर्खको निम्ति व्यभिचार, खेलजस्तै हो। समझ-शक्ति भएका मानिसहरू बुद्धिमा प्रसन्न हुन्छन्।” छाडा आचरणलाई “खेलजस्तै” ठान्नेहरूले आफ्नो आचरण गलत भएको चालै पाउँदैनन् र सबैले परमेश्वरलाई लेखा दिनुपर्छ भनेर पनि बिर्सन्छन्। (रोमी १४:१२) त्यस्ता ‘मूर्खहरूको’ सोचविचार बांगो हुन्छ र परमेश्वरले तिनीहरूको गल्ती देख्नुहुन्न समेत भन्ठान्छन्। आफ्नो कामद्वारा तिनीहरूले वास्तवमा यसो भनिरहेका हुन्छन्: ‘‘ईश्वर छैन।” (भजन १४:१-३; यशैया २९:१५, १६) ईश्वरीय सिद्धान्तअनुसार नचलेको हुनाले तिनीहरूसित समझ-शक्तिको कमी हुन्छ र सही निर्णय गर्न सक्दैनन्।—हितोपदेश २८:५.
६. छाडा आचरण किन मूर्खता हो र समझ-शक्ति छ भने त्यसलाई कस्तो दृष्टिकोणले हेर्नेछौं?
६ “समझ-शक्ति भएका मानिसहरू[ले]” छाडा आचरण “खेल” होइन भनेर बुझेका हुन्छन्। यो परमेश्वरलाई मन पर्दैन र यसले उहाँसितको हाम्रो सम्बन्ध बिगार्नसक्छ भनेर समझ-शक्ति भएको मानिसलाई थाह हुन्छ। त्यस्तो आचरण मूर्खता हो किनभने त्यसले आत्मसम्मान लुट्छ, वैवाहिक सम्बन्धलाई भताभुंग पार्छ, मन र शरीर दुवैलाई हानि पुऱ्याउँछ अनि आध्यात्मिक पतन गराउँछ। त्यसकारण हामी समझ-शक्तिमा मन लगाऔं र हर प्रकारको छाडा आचरण वा अनैतिकताबाट अलग्गै बसौं।—हितोपदेश ५:१-२३.
समझ-शक्ति र हाम्रो मनोवृत्ति
७. रीसले शरीरमा पार्ने केही असरहरू के के हुन्?
७ समझ-शक्तिमा मन लगायौं भने हाम्रो मनोवृत्तिलाई नियन्त्रणमा राख्न पनि मदत मिल्छ। “धीरज धारण गर्नु ठूलो समझ-शक्ति देखाउनु हो, झ्वाट्टै रीस गर्नु मूर्खताको चरमसीमा हो” भनी हितोपदेश १४:२९ भन्छ। समझदार मानिसले जथाभावी रीस नपोख्नुको एउटा कारण, यसले स्वास्थ्यलाई हानि पुऱ्याउँछ। यसले रक्तचाप बढाउनसक्छ र श्वासप्रश्वाससम्बन्धी समस्याहरू ल्याउनसक्छ। चिकित्सकहरूको भनाइअनुसार रीस र क्रोधले दम, छालाको रोग, पाचनक्रियामा समस्या र आन्द्रामा घाउ हुने वा त्यस्ता रोगहरूलाई चर्काउनसक्छ।
८. धैर्यधारण गर्न नसक्दा के हुनसक्छ तर समझ-शक्तिले यस सन्दर्भमा कसरी मदत गर्नसक्छ?
८ आफूलाई स्वस्थ राख्न मात्र हामीले समझ-शक्ति चलाउनुपर्ने र “धीरज धारण” गर्नुपर्ने होइन। धैर्यधारण गर्न नसक्दा हामीबाट मूर्खतापूर्ण कार्यहरू हुनसक्छन् र पछि पछुताउनुपर्ने हुन्छ। समझ-शक्तिले बेलगाम बोली वा असावधान आचरणबाट हुनसक्ने कुराहरूलाई विचार गर्ने मदत दिनुका साथै “मूर्खताको चरमसीमा[मा]” पुग्नदेखि जोगाउँछ। समझ-शक्तिले विशेषगरि कुन कुरा बुझ्न मदत दिन्छ भने, क्रोधले हाम्रो सोच्ने क्षमतालाई बिगार्नसक्छ र त्यसो भयो भने हामी सही निर्णयहरू गर्न सक्दैनौं। यसले ईश्वरीय इच्छा पूरा गर्न तथा परमेश्वरको धार्मिक स्तरअनुरूप जीवन बिताउन बाधा पुऱ्याउनसक्छ। हो, जथाभावी रीस पोखाउनु आध्यात्मिक तवरमा हानिकारक हुन्छ। वास्तवमा हामीलाई परमेश्वरको राज्यमा प्रवेश गर्नदेखि रोक्ने “शरीरका कामहरू[मध्ये]” “क्रोध” पनि हो। (गलाती ५:१९-२१) अतः समझदार मसीहीहरूको हैसियतमा हामी “सुन्नालाई छिट्टो, बोल्नालाई ढीलो र रिसाउनालाई धीमा” होऔं।—याकूब १:१९.
९. समझ-शक्ति र भ्रातृप्रेमले हामीलाई मतभेद सुल्झाउन कसरी मदत गर्नसक्छ?
९ हामीलाई रीस उठ्यो भने पनि चर्काचर्की हुन नदिन केही नबोल्नु नै बेस हो भनेर बुझ्न समझ-शक्तिले मदत गर्नसक्छ। हितोपदेश १७:२७ यसो भन्छ: “अनुभवीले थोरै शब्द मात्र बोल्छ, समझ-शक्ति भएकोले ठण्डा मिजास राख्छ।” समझ-शक्ति र भ्रातृत्व प्रेमले हामीलाई अरूको चित्त दुख्ने कुरा नबोल्न मदत गर्नेछ। चर्काचर्की बहस भइसकेको छ भने पनि प्रेम र नम्रताले क्षमा माग्न अनि मिलाप गर्न उत्प्रेरित गर्नेछ। तर मानि लिनुहोस्, कसैले हाम्रो चित्त दुखाएको छ। त्यसो हो भने, तिनीसित कोमल र नम्र ढंगमा एक्लै कुरा गरौं अनि यसरी कुरा गर्नुको प्रमुख उद्देश्य, शान्ति कायम गर्न हो भनी कहिल्यै नभुलौं।—मत्ती ५:२३, २४; १८:१५-१७.
समझ-शक्ति र हाम्रो परिवार
१०. पारिवारिक जीवनमा बुद्धि र समझ-शक्तिले कस्तो भूमिका खेल्छ?
१० परिवारका सदस्यहरूले बुद्धि तथा समझ-शक्ति देखाउनु खाँचो छ किनभने यस्ता गुनहरूले घरपरिवारलाई बलियो बनाउनेछ। हितोपदेश २४:३, ४ यसो भन्छ: “बुद्धिले घर बनाउँछ, असल समझ-शक्तिले त्यसलाई सुरक्षित राख्छ। ज्ञानले कोठाहरू धन-सम्पत्तिले किन्न सक्ने सबै दामी दामी र सुन्दर सुन्दर थोकहरूद्वारा सुसज्जित पार्छ।” बुद्धि र समझ-शक्ति, सफल पारिवारिक जीवनका आधारभूत निर्माण सामग्रीहरू हुन्। समझ-शक्तिले मसीही आमाबाबुहरूलाई आफ्ना छोराछोरीहरूका भावना तथा चिन्ताहरू बुझ्न मदत गर्छ। समझदार व्यक्तिले आफ्नो पति या पत्नीसित खुलस्त कुराकानी गर्न, तिनको कुरा सुन्न र तिनका विचार तथा भावनाहरू बुझ्नसक्छन्।—हितोपदेश २०:५.
११. समझदार पत्नीले कसरी ‘घर बनाउँछिन्?’
११ निस्सन्देह, सुखी पारिवारिक जीवनको लागि बुद्धि र समझ-शक्ति नितान्त आवश्यक छन्। उदाहरणका लागि, हितोपदेश १४:१ यसो भन्छ: “बुद्धिमान स्त्रीले आफ्नो घर निर्माण गर्छे, तर निर्बुद्धि स्त्रीले आफ्नै हातले त्यो भत्काउँछे।” बुद्धिमती र समझदार पत्नी आफ्नो पतिको अधीनमा बसेर घरपरिवारको भलाइको लागि कडा परिश्रम गर्छिन् र घरपरिवार बलियो बनाउन सहयोग पुऱ्याउँछिन्। सुखी ‘घर बनाउन’ मदत गर्ने एउटा कुरा हो, तिनले सधैं आफ्नो पतिको राम्रो मात्र कुरा गरेर उनीप्रति अरूको आदर जित्छिन्। अनि परमेश्वरप्रति श्रद्धेय भय राख्ने योग्य, समझदार पत्नीले अरूबाट पनि प्रशंसा पाउँछिन्।—हितोपदेश १२:४; ३१:२८, ३०.
समझ-शक्ति र हाम्रो जीवनशैली
१२. “निर्बुद्धि” मानिसले मूर्खतालाई कस्तो ठान्छ र किन?
१२ समझ-शक्तिले हामीलाई जीवनको हरेक पक्षमा सही मार्ग अपनाउन मदत गर्छ। यही कुरा हितोपदेश १५:२१ मा पनि बताइएको छ: “निर्बुद्धिलाई मूर्खताले खुशी पार्छ, तर समझ-शक्ति भएको मानिस सीधै आफ्नो लक्ष्यतिर बढ़छ।” यस हितोपदेशको अर्थ के हो? मूर्ख पुरुष, स्त्री वा जवान मानिसहरू मूर्खतापूर्ण मार्ग वा मूर्ख काममा रमाउँछन्। तिनीहरूको मनसाय असल नभएको हुँदा “निर्बुद्धि” हुन्छन्। तिनीहरू यस्तो मूर्ख हुन्छन् कि मूर्खतामा रमाउँछन्।
१३. सुलेमानले हाँसो र ख्यालठट्टाबारे कुन कुरा बुझे?
१३ इस्राएलका समझदार राजा सुलेमानले बिना मतलबको ख्यालठट्टा बेकामको हुन्छ भनी बुझे। तिनले यसो भने: “मैले आफ्ना मनमा विचार गरें, ‘म सुख-विलासमा बसेर खूब मजा गर्नेछु।’ तर त्यो पनि व्यर्थ रहेछ। हँसीको विषयमा मैले भनें, ‘त्यो ता पागलपना हो।’ औ विलासको विषयमा चाहिं, ‘त्यसले के फायदा गर्छ?’ भनें।” (उपदेशक २:१, २) समझदार भएको हुँदा सुलेमानले हाँसो र ख्यालठट्टा गर्दैमा सन्तुष्टि पाइने होइन भनेर बुझे किनभने त्यसबाट साँचो र चिरकालीन आनन्द प्राप्त हुँदैन। हाँसोले हामीलाई कुनै समस्या एक छिनको लागि बिर्सन मदत गर्ला तर त्यो समस्या पछि गएर झनै चर्कनसक्छ। सुलेमानले हाँसोलाई “पागलपना” भन्नु ठीकै थियो। किन? किनभने बेमतलबको हाँसोले सही निर्णय गर्न अवरोध पुऱ्याउनसक्छ। यसले हामीलाई असाध्यै गम्भीर कुराहरू पनि हल्कासित लिन लगाउनसक्छ। राजपरिवारका सदस्यहरूलाई हँसाउने जोकरले दिने जस्तो रमाहटको केही फाइदा हुँदैन। हाँसो र ख्यालठट्टाबारे सुलेमानले आफ्नो अनुभवबाट जे जति सिके, त्यसले हामीलाई “परमेश्वरभन्दा बरु सुख-विलास निको मान्ने” मानिसहरू नहुन मदत गर्छ।—२ तिमोथी ३:१, ४.
१४. कसरी समझ-शक्ति भएको मानिस “सीधै आफ्नो लक्ष्यतिर” बढ्छ?
१४ कुन अर्थमा समझ-शक्ति भएको मानिस “सीधै आफ्नो लक्ष्यतिर” बढ्छ? आध्यात्मिक समझ-शक्ति तथा ईश्वरीय सिद्धान्तहरूअनुसार चल्दा धर्मी तथा सोझो जीवन बिताउन मदत पाउँछन्। बाइंग्टनको अनुवादले सोझै यसो भन्छ: “बुद्धि नभएको मानिसको लागि मूर्खता परमसुख हो तर बुद्धिमान मानिस सोझै अघि बढ्छ।” “समझ-शक्ति भएको मानिसल[ले]” आफ्नो बाटो सोझो बनाउँछ र जीवनमा परमेश्वरको वचन लागू गरेको हुँदा सही र गलत छुट्याउनसक्छ।—हिब्रू ५:१४; १२:१२, १३.
समझ-शक्तिको लागि सधैं यहोवाको मदत माग्नुहोस्
१५. हितोपदेश २:६-९ बाट हामी के सिक्छौं?
१५ धार्मिक जीवन बिताउन हामी सबैले आफ्नो असिद्धतालाई स्वीकार्नुपर्छ र आध्यात्मिक समझ-शक्तिको लागि यहोवासित मदत माग्नुपर्छ। हितोपदेश २:६-९ यसो भन्छ: “बुद्धि दिने परमप्रभुनै हुनुहुन्छ, र ज्ञान र समझ-शक्ति उहाँबाटनै आउँछन्। आफ्नो भण्डारबाट उहाँले सोझालाई योग्यता प्रदान गर्नुहुन्छ। निर्दोष जीवन व्यतीत गर्नेहरूको निम्ति उहाँ ढाल हुनुहुन्छ। किनभने उहाँले न्यायको मार्गको रक्षा गर्नुहुन्छ, र आफ्ना भक्त सेवकहरूको बाटोको हेरचाह गर्नुहुन्छ। तब जे ठीक र न्यायसंगत छ सो तैंले बुझ्नेछस्, र असल मानिसको बाटोमा मात्र तँ हिंड़नेछस्।”—याकूब ४:६ तुलना गर्नुहोस्।
१६. यहोवाको बुद्धि, समझ-शक्ति वा सरसल्लाहसित अरू कुनै पनि कुरा किन तुलना गर्न सकिंदैन?
१६ हामी यहोवामा भर पर्नुपर्छ भनेर स्वीकार्दै उहाँको वचनको गहिरो अध्ययनबाट उहाँको इच्छा बुझ्न सकोस् भनी उहाँसित नम्रतापूर्वक मदत मागौं। उहाँको बुद्धिलाई अरू केहीसित पनि तुलना गर्न सकिंदैन र उहाँको सल्लाह सधैं लाभदायी हुन्छ। (यशैया ४०:१३; रोमी ११:३४) भनौं भने, परमेश्वरको वचन विपरीत सल्लाह मूल्यहीन हुन्छ। हितोपदेश २१:३० यसो भन्छ: “परमप्रभुको सामने बुद्धि, समझ-शक्ति र युक्ति केही सीप लाग्दैन।” (हितोपदेश १९:२१ तुलना गर्नुहोस्।) “विश्वासी र बुद्धिमान दास[द्वारा]” प्रबन्ध गरिएका प्रकाशनहरूले आध्यात्मिक समझ-शक्ति विकास गर्न मदत गर्नेछन्। त्यसको अध्ययनबाट हामी आफ्नो जीवन सोझो मार्गमा डोऱ्याउन सक्नेछौं। (मत्ती २४:४५-४७) त्यसकारण यहोवाको सल्लाहअनुरूप जीवन बिताऔं र उहाँको वचनमा आधारित नभएको सल्लाह जतिसुकै राम्रो देखिए तापनि उहाँको सल्लाहको दाँजोमा आउन सक्दैन भनेर कहिल्यै नभुलौं।
१७. गलत सल्लाह दिंदा परिणाम के हुनसक्छ?
१७ सरसल्लाह परमेश्वरको वचनमा पूर्णतया आधारित हुनुपर्छ र कुनै प्रश्नको जवाफ दिनुअघि बाइबल अध्ययन गर्नुका साथै मनन गर्नुपर्छ भनी सल्लाह दिने समझदार मसीहीहरूले बुझेका हुन्छन्। (हितोपदेश १५:२८) गम्भीर विषयहरूबारे गलत जवाफ दियो भने ठूलो नोक्सानी हुनसक्छ। यसर्थ, मसीही प्राचीनहरूलाई आध्यात्मिक समझ-शक्ति चाहिन्छ र सँगी विश्वासीहरूलाई आध्यात्मिक मदत दिने प्रयास गर्नुअघि यहोवाको डोऱ्याइ माग्नुपर्छ।
आध्यात्मिक समझ-शक्तिमा भरपूर हुनुहोस्
१८. मण्डलीमा कुनै समस्या खडा हुँदा आध्यात्मिक सन्तुलन कायम गर्न आध्यात्मिक समझ-शक्तिले कसरी मदत गर्नसक्छ?
१८ यहोवालाई खुशी तुल्याउन हामीलाई “सब कुराहरूमा . . . समझ” चाहिन्छ। (२ तिमोथी २:७) बाइबलको गहिरो अध्ययन गर्नुका साथै परमेश्वरको आत्मा तथा संगठनको निर्देशनअनुरूप चल्यौं भने, हामीलाई गलत मार्गतर्फ डोऱ्याउनसक्ने परिस्थितिहरू सामना गर्नुपर्दा के गर्ने भनी समझ-शक्तिले मदत गर्नेछ। उदाहरणका लागि, मानि लिनुहोस् मण्डलीमा कुनै कुरा हामीले सोचेजस्तो ढंगमा भइरहेको छैन। यसो हुँदैमा यहोवाका जनहरूसित संगत गर्न छाडेर परमेश्वरको सेवा गर्न बन्द गर्नुपर्ने कुनै कारण छैन भनी बुझ्न आध्यात्मिक समझ-शक्तिले मदत गर्नेछ। यहोवाको सेवा गर्ने विशेषाधिकार, हामीले पाइरहेको आध्यात्मिक स्वतन्त्रता, राज्य उद्घोषकहरूका हैसियतमा सेवकाईबाट प्राप्त आनन्दलाई सम्झनुहोस्। आध्यात्मिक समझ-शक्तिले हामीलाई सही दृष्टिकोण राख्न मदत गर्छ। साथै, यसले हामी परमेश्वरप्रति समर्पित छौं र अरूले जेसुकै गरे तापनि उहाँ र हामीबीचको सम्बन्धलाई मूल्यवान् ठान्नुपर्छ भनेर बुझ्न पनि मदत गर्छ। कुनै समस्या सुल्झाउन हामीले ईश्वरतान्त्रिक ढंगमा गर्नसक्ने केही छैन भने, समस्या समाधानको लागि धैर्यपूर्वक यहोवाको बाटो हेर्नुपर्छ। संगत गर्न छाड्नु वा निराश हुनुको साटो “परमेश्वरमा आशा” राखौं।—भजन ४२:५, ११.
१९. (क) पावलले फिलिप्पीहरूका लागि गरेको प्रार्थनाको सार के थियो? (ख) हामीले कुनै कुरालाई राम्ररी बुझेका छैनौं भने आध्यात्मिक समझ-शक्तिले कसरी मदत गर्नसक्छ?
१९ आध्यात्मिक समझ-शक्तिले हामीलाई परमेश्वर र उहाँका जनहरूप्रति वफादार रहन मदत गर्छ। पावलले फिलिप्पीका मसीहीहरूलाई यसो भने: “म यही प्रार्थना गर्दछु, कि ज्ञान र सबै विवेकमा तिमीहरूको प्रेम झन् झन् प्रशस्त हुँदै जाओस्, यसैले कि, जुन जुन कुराले ख्रीष्टका दिनमा तिमीहरूलाई सच्चा र निर्दोषी तुल्याउनेहुन्छन्।” (फिलिप्पी १:९, १०) सही तर्क गर्न हामीलाई “ज्ञान र सबै विवेक” चाहिन्छ। यहाँ “विवेक” भनी अनुवाद गरिएको युनानी शब्दले “तीखो नैतिक समझ[लाई]” बुझाउँछ। हामीले कुनै कुरा सिकेपछि त्यसले परमेश्वर, ख्रीष्ट तथा हामीबीचको सम्बन्धलाई कस्तो असर गर्छ र यहोवाको व्यक्तित्व तथा प्रबन्धहरूको कसरी जयजयकार गर्छ भनी बुझ्न चाहन्छौं। यसले हाम्रो समझ-शक्तिलाई बढाउँछ अनि यहोवा परमेश्वर र येशू ख्रीष्टले हाम्रोनिम्ति जे जति गर्नुभएको छ, त्यसप्रति पनि मूल्यांकन बढाउँछ। हामीले कुनै कुरा राम्ररी बुझेनौं भन्दैमा परमेश्वर, ख्रीष्ट र ईश्वरीय उद्देश्यबारे हामीले सिकेका महत्त्वपूर्ण कुराहरूमाथिको विश्वासलाई त्याग्नु हुँदैन भनी बुझ्न समझ-शक्तिले मदत गर्नेछ।
२०. हामी आध्यात्मिक समझ-शक्तिमा कसरी भरपूर हुनसक्छौं?
२० हामीले सधैं परमेश्वरको वचनअनुसार सोच्यौं तथा गऱ्यौं भने हाम्रो आध्यात्मिक समझ-शक्ति झन् झन् तीखो हुनेछ। (२ कोरिन्थी १३:५) अरूको भलो हुने ढंगमा यसो गऱ्यौं भने हामी नम्र हुनसक्छौं र एकोहोरो जिद्दी नगर्न र अरूको आलोचना नगर्न मदत पाउँछौं। कसैले हामीलाई सच्याउँदा त्यसबाट सिक्न र बढी महत्त्वपूर्ण कुराहरूमा लागिरहन समझ-शक्तिले मदत गर्नेछ। (हितोपदेश ३:७) त्यसोभए, यहोवालाई खुशी पार्ने चाह गर्दै उहाँको वचनको सही ज्ञानमा भरपूर हुन खोजौं। यसले हामीलाई सही र गलत छुट्याउन, साँच्चै महत्त्वपूर्ण कुराहरू थाह पाउन र यहोवासितको हाम्रो अनमोल सम्बन्धलाई बलियोसित पक्रिराख्न मदत गर्नेछ। हामीले समझ-शक्तिमा मन लगायौं भने मात्र यी सबै सम्भव हुनेछ। यद्यपि, त्यति मात्र भएर पुग्दैन। समझ-शक्तिले हाम्रो रक्षा पनि गर्नुपर्छ।
तपाईं कस्तो जवाफ दिनुहुन्छ?
◻ हामीले समझ-शक्तिमा किन मन लगाउनुपर्छ?
◻ समझ-शक्तिले हाम्रो बोली र आचरणलाई कसरी असर गर्नसक्छ?
◻ समझ-शक्तिले हाम्रो मनोवृत्तिमा कस्तो असर पार्नसक्छ?
◻ समझ-शक्तिको लागि किन सधैं यहोवाको मदत माग्नुपर्छ?
[पृष्ठ १३-मा भएको चित्र]
समझ-शक्तिले हाम्रो मनोवृत्तिलाई नियन्त्रण गर्न मदत गर्छ
[पृष्ठ १५-मा भएको चित्र]
ख्यालठट्टाले वास्तवमा सन्तुष्टि दिंदैन भनेर समझदार राजा सुलेमानले बुझे