तिनीहरूले यहोवाको इच्छा गरे
विवेकी स्त्रीले विपत्ति रोकिन्
विवेकी स्त्रीको मूर्ख मानिससँग विवाह। यो हो अबीगेल र नाबालको कथा। “अबीगेल सुन्दरी र बुद्धिमानी स्त्री थिइन्।” त्यसको विपरीत नाबाल चाहिं ‘निष्ठूर र नीच थियो।’ (१ शमूएल २५:३) यो नसुहाउँदो जोडीसित सम्बन्धित घटनाले गर्दा, यी दुइको नाउँ बाइबलमा कहिल्यै नमेटिने गरी रह्यो। कसरी हो, आउनुहोस्, हामी हेरौं।
वैगुनी व्यवहार
कुरा सा.यु.पू. ११ औं शताब्दीतिरको हो। दाऊदलाई इस्राएल देशको भावी राजा नियुक्त गरिएको थियो। तर तिनी शासन गर्नुको साटो भागाभाग गर्दैथिए। किनभने तत्कालीन राजा, शाऊलले उनलाई मार्ने निधो गरेका थिए। त्यसैले, दाऊद भगुवा जीवन बिताइरहेका थिए। उनी र उनका अन्य ६०० जना जति मानिसहरू अन्ततः यहूदाको दक्षिणतिर र सीनै उजाडस्थान पट्टि पर्ने पारानको वनमा लुक्न गए।—१ शमूएल २३:१३; २५:१.
त्यहाँ तिनीहरूको नाबाल भन्ने मानिसका गोठालाहरूसँग भेटघाट भयो। धनी नाबाल कालेब वंशको थियो। तिनका ३,००० भेडा र १,००० बाख्रा थिए। हेब्रोनको दक्षिणतर्फ पर्ने शहर कर्मेलमा तिनी आफ्ना पशुहरूको ऊन कत्रन्थे। यो शहर पारानबाट करिब ४० किलोमिटर मात्र पर पर्छ।a वनबाट जाँदा दाऊद र उनका मानिसहरूले नाबालका बगाललाई उजाडस्थानहुँदो डुली हिंड्ने चोरहरूबाट जोगाउन गोठालाहरूलाई मदत गरे।—१ शमूएल २५:१४-१६.
केही समयपछि कर्मेलमा भेडाको ऊन कत्रने काम सुरु भयो। यो किसानहरूले मनाउने बाली भित्र्याउने एक किसिमको खुशीयाली उत्सवै थियो। त्यस उत्सवमा भेडाका मालिकहरूले आफ्ना भेडा हेरचाह गर्ने दासहरूलाई उदारताका साथ बक्सिस दिने चलन पनि थियो। अतः दाऊदले नाबालका बगालको रखवाली गरेबापत आफ्ना दश जना मानिसहरूलाई खानेकुरा माग्न पठाउनु अहंकारको कुरा थिएन।—१ शमूएल २५:४-९.
तर प्रत्युत्तरमा नाबालले भने अलिकति पनि उदारता झल्काएन। उल्टै उपहास गर्दै उसले सोध्यो, “दाऊद को हो?” त्यसपछि उसले, दाऊद र उनका मानिसहरू भागेर गएका दासहरू सिवाय अरू केही होइनन् भन्याजस्तो गरी सोध्यो: “के मेरो खानेकुरा, मेरो दाखमद्य र मेरा ऊन कत्रनेहरूलाई जुटाइदिएका मासु, अज्ञात मानिसहरूलाई मैले दिनु?” यी कुराहरू सुनेर दाऊदले आफ्ना मानिसहरूलाई भने: “सबैले आफ्नो आफ्नो तरवार भिर।” करिब ४०० जति मानिस लडाइँ गर्न तयार भए।—१ शमूएल २५:१०-१३.
अबीगेलको विवेक
नाबालले दाऊदको खिल्ली उडाएको कुरा उसकी पत्नी अबीगेलले थाह पाइन्। नाबालको तर्फबाट समस्या सुल्झाउन तिनले शान्तिदूतको काम गरेको शायद यो पहिलो घटना नहुन सक्छ। तर जे होस्, अबीगेलले बिलम्ब गरिनन्। नाबाललाई सुइँको नदिइकन तिनले सबैकुराको बन्दोबस्त मिलाइन्। पाँचवटा भेडा र प्रशस्त खानेकुरा लिएर तिनी दाऊदलाई भेट्न वनमा गइन्।—१ शमूएल २५:१८-२०.
दाऊदलाई देख्नेबित्तिकै अबीगेलले दण्डवत् गरिन्। “त्यस व्यर्थको मानिसको ख्याल किन गर्नुहुन्छ?” भन्दै तिनले बिन्ती गरिन्, ”म हजूरकी विनम्र दासीले ल्याएको सौगात यहाँ छ। हजुरका अधीनमा भएका जवान मानिसहरूलाई त्यो दिनुहोस्।” तिनले यसो पनि भनिन्, ‘यो घटना [नाबालको सम्बन्धमा] हजुरको निम्ति ढल्मलाउने अथवा ठक्कर लाग्ने कारण नहोस्।’ “ढल्मलाउनु” भनी अनुवाद गरिएको हिब्रू शब्दले दोषी अन्तस्करणको आवाजलाई संकेत गर्छ। यसप्रकार, अबीगेलले पछि पछुताउनु पर्ने किसिमको कार्य तुरुन्तै नगर्न दाऊदलाई सावधान गराइन्।—१ शमूएल २५:२३-३१.
दाऊदले अबीगेलको कुरा माने। उनले भने, “तिम्रो बुद्धि धन्यको हो, तिमी धन्यकी हौ, किनभने आज तिमीले मलाई हत्या र प्रतिशोधको दोषदेखि जोगायौ। . . . यदि तिमी मलाई भेट्न झट्टै नआएकी भए नाबालको परिवारको [“भित्तामा पिसाब गर्ने”, NW] एउटै बच्चा पनि बिहानसम्ममा जीवित रहने थिएन।“b—१ शमूएल २५:३२-३४.
हाम्रोलागि पाठ
बाइबलको यस विवरणले आवश्यक परेको बखतमा परमेश्वरका भक्त स्त्रीहरूले सुहाउँदो कदम चाल्नु गलत होइन भन्ने कुरा देखाउँछ। अबीगेलले आफ्नो पति नाबालको इच्छा विपरीत काम गरिन् तापनि बाइबलले त्यसको निन्दा गरेको छैन। बरु, तिनलाई बुद्धिमानी र विवेकी स्त्री भनेर प्रशंसा गरेको छ। त्यस संकटकालीन अवस्थामा अग्रसर भएर अबीगेलले धेरैलाई बचाइन्।
साधारणतया पत्नीले ईश्वरीय अधीनताको मनोभाव देखाउनुपर्ने भए तापनि सही सिद्धान्त नै खतरामा पर्न लागेको अवस्थामा भने तिनी आफ्नो पतिसँग सहमत नहुनु गलत नठहर्न सक्छ। निस्सन्देह, पत्नीले पक्कै पनि “नम्र र शान्त आत्मा” धारण गर्न प्रयत्न गर्नुपर्छ। द्वेष, घमण्ड र विद्रोहको कारण आफूखुशी गर्नु हुँदैन। (१ पत्रुस ३:४) तापनि, ईश्वरभक्त स्त्रीले कुनै कुरा पूर्णतया गलत वा बाइबल विपरीत हो भनेर थाह हुँदाहुँदै पनि त्यसै गर्नुपर्छ भन्ने दबाब महसुस गर्नु हुन्न। बाइबलले स्त्रीलाई दासीको स्थानमा राखेको छ भनेर जिद्दी गर्नेहरूलाई अबीगेलको विवरणले मुखभरिको जवाफ दिन्छ।
यस विवरणले हामीलाई आत्मसंयमको बारेमा पनि सिकाउँछ। कुनै कुनै घटनामा दाऊदले यो गुन पूर्णरूपमा झल्काए। उदाहरणको लागि, शाऊललाई मार्ने धेरै पटक मौका पाउँदा र तिनलाई मारेपछि उनले चैन पाउँछन् भन्ने थाह पाउँदा पाउँदै पनि प्रतिशोधी राजा शाऊललाई मार्न दाऊदले इन्कार गरे। (१ शमूएल २४:२-७) एउटा अर्कै परित्थितिमा, नाबालले उनको उपहास गरेर खिल्ली उडाउँदा भने बदला लिने अठोट गरेर आत्मसंयम देखाउन चुके। “खराबको बदला खराब“ गर्न खोज्ने मसीहीहरूका लागि यो स्पष्ट चेताउनी हो। जुनसुकै परिस्थितिमा पनि तिनीहरूले पावलको यो आग्रह पछ्याउनुपर्छ: “हुनसक्छ भने, सक्दोभर सबै मानिसहरूसँग शान्तिमा रहो। हे प्रिय हो, बदला नलेओ, तर परमेश्वरको क्रोधलाई स्थान देओ।”—रोमी १२:१७-१९.
[फुटनोटहरू]
a पारानको यस उजाडस्थान उत्तरतिर बेर्शेबासम्म फैलिएको मानिन्छ। यो ठाउँमा वस्तुभाउ चराउने प्रशस्त चरन थियो।
b “भित्तामा पिसाब गर्ने” भन्ने वाक्यांश हिब्रू उखान हो, पुरुषहरूलाई हेला गरेर ठाडो सम्बोधन गर्दा यसो भनिन्छ।—१ राजा १४:१०, NW तुलना गर्नुहोस्।
[पृष्ठ १५-मा भएको चित्र]
अबीगेल दाऊदलाई कोसेली ल्याइदिन्छिन्