तिनीहरूले यहोवाको इच्छा गरे
सामरी असल छिमेकी साबित हुन्छन्
येशूको समयमा यहूदी र अन्यजातिबीचको वैरभाव स्पष्ट देखिन्थ्यो। समयको दौडान यहूदी मिश्नाहमा इस्राएली आइमाईहरूले गैरयहूदी स्त्रीको लागि सुँडिनी हुन नपाउने नियमसमेत थपियो। किनभने यसो गर्दा एक अर्को अन्यजातिलाई संसारमा पैदा गराउन सघाउ पुग्थ्यो।—अब्बोदा जेरा २:१.
धार्मिक र जातीय दुवै आधारमा अन्यजातिभन्दा सामरीहरू यहूदीसित निकै मिल्दाजुल्दा थिए। यद्यपि, यहूदीहरू तिनीहरूलाई पनि बहिष्कार गर्थे। प्रेरित यूहन्नाले लेखे, “सामरीहरूसँग यहूदीहरू केही सम्बन्ध राख्दैनन्।” (यूहन्ना ४:९) वास्तवमा, ताल्मुदले “सुँगुरको मासुभन्दा सामरीले दिएको रोटीको टुक्रा झन् अशुद्ध हुन्छ” भनेर सिकायो। केही यहूदीहरूले तिरस्कार र निन्दा गर्न समेत “सामरी” शब्द प्रयोग गर्थे।—यूहन्ना ८:४८.
यस कुरालाई विचार गर्दा येशूले यहूदी व्यवस्थामा पोख्त मानिसलाई भन्नुभएका शब्दहरू एकदमै शिक्षाप्रद छन्। त्यस व्यक्तिले येशूकहाँ गएर सोधे: “हे गुरु, अनन्त जीवनको हकदार हुनालाई मैले के गर्नुपर्छ?” जवाफमा येशूले तिनको ध्यान मोशालाई दिइएको व्यवस्थातिर खिच्नुभयो, जसमा ‘यहोवालाई आफ्नो सारा हृदयले, प्राणले, शक्तिले र मनले,’ अनि ‘आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम’ गर्नू भनिएको छ। त्यसपछि, व्यवस्थाका त्यस अध्यापकले येशूलाई सोधे: “मेरो छिमेकी चाहिं को हो त?” (लूका १०:२५-२९; लेवी १९:१८; व्यवस्था ६:५) फरिसीहरूको सोचाइअनुसार “छिमेकी” शब्द अन्यजाति वा सामरीहरूलाई पटक्कै लागू हुँदैनथ्यो, मात्र यहूदी परम्परा मान्नेहरूलाई लागू हुन्थ्यो। यस्तो दृष्टिकोणलाई येशूले समर्थन गर्नुहुन्छ भन्ने सोचाइ यदि व्यवस्थाका त्यस अध्यापकले राखेका रहेछन् भने अब एकै छिनमा तिनी जिल्ल पर्नेथिए।
दयालु सामरी
उक्त व्यक्तिको प्रश्नको जवाफमा येशूले एउटा उखान भन्नुभयो।a उहाँले उखान थाल्नुभयो, “कोही एउटा मानिस यरूशलेमबाट यरीहोतिर” गइरहेका थिए। यरूशलेमबाट यरीहो लगभग २३ किलोमिटर टाढा थियो। यी दुई शहरलाई जोड्ने बाटो नागबेली परेको र ढिस्काहरूले भरिएको थियो। त्यसैले, चोरहरूलाई लुक्न, आक्रमण गर्न र भाग्न सजिलो हुन्थ्यो। त्यसकारण, येशूले भन्नुभएको उखानका यात्री “डाँकूहरूको फेला पऱ्यो, तिनीहरूले त्यसलाई नाङ्गै पारेर पीटे, र अधमरो पारी छाड़ेर गए।”—लूका १०:३०.
येशूले भन्दै जानुभयो, “संयोगले कोही एउटा पूजाहारी त्यही बाटो भएर ओर्लिरहेको थियो, औ त्यसलाई देखेर त्यो अर्कोपट्टिबाट तर्केर गयो। औ त्यसै गरी एउटा लेवी पनि त्यस ठाउँमा आएर त्यसलाई देखेपछि अर्कोपट्टिबाट तर्केर गयो।” (लूका १०:३१, ३२) यी पूजाहारी र लेवी व्यवस्थाका शिक्षकहरू थिए, जुन व्यवस्थामा छिमेकीलाई प्रेम गर्नुपर्ने नियम पनि थियो। (लेवी १०:८-११; व्यवस्था ३३:१, १०) निस्सन्देह, अरू मानिसले भन्दा तिनीहरूले झन् बढी ती घाइते यात्रीलाई मदत गर्नुपर्थ्यो।
येशूले भन्दै जानुभयो: “कोही एउटा सामरी उसको सफरमा त्यो भएको ठाउँमा आयो।” सामरी भन्नासाथ अवश्य व्यवस्थाका उक्त अध्यापकको जिज्ञासा झन् बढ्यो। के येशूले यस जातिप्रतिको नकारात्मक दृष्टिकोणलाई समर्थन गर्नुभयो? त्यसको सट्टा, त्यो बेहाल यात्रीलाई देखेर उक्त सामरीको “मन दयाले भरियो।” येशूले भन्नुभयो: “औ त्यसकहाँ गएर तेल र दाख-मद्य लगाएर त्यसका घाउहरू बाँधिदियो, र आफ्नै निज पशुमाथि चढ़ाएर त्यसलाई एउटा पौवामा [“धर्मशाला,” NW] ल्याई त्यसको हेरचाह गऱ्यो।b औ भोलिपल्ट उसले दुइ दिनार झिकेर पौवाका [“धर्मशाला,” NW] मालिकलाई दिएर भन्यो, ‘यिनको हेरचाह गर, र अरू बढ़ता खर्च परेको म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु।’ ”—लूका १०:३३-३५.
त्यसपछि, येशूले उक्त जिज्ञासुलाई सोध्नुभयो: “तिम्रो विचारमा यी तीन जनामा डाँकूहरूको फेला पर्नेको छिमेकी कुन चाहिं ठहरियो?” त्यो व्यवस्थाको अध्यापकलाई जवाफ थाह थियो र पनि “सामरी” भन्न तिनी हिचकिचाए। त्यसकारण, तिनले यसरी जवाफ दिए: “जसले त्यसमाथि दया देखायो, त्यही चाहिं।” तब येशूले भन्नुभयो: “जाऊ, तिमी पनि त्यसै गर।”—लूका १०:३६, ३७.
हाम्रोलागि पाठ
ती व्यवस्थाका अध्यापकले “आफैलाई धार्मिक ठहराउने इच्छा गरेर” येशूलाई प्रश्न सोधेका थिए। (लूका १०:२९) मोशालाई दिइएको व्यवस्थाप्रति तिनले देखाएको पूर्ण निष्ठालाई येशूले मूल्यांकन गर्नुहुन्छ भनेर तिनले सोचेका थिए होलान्। तर त्यस घमण्डी व्यक्तिले बाइबल हितोपदेशको यो सत्य सिक्नु खाँचो थियो: “मानिसले सधैं आफै चाहिं ठीकै छु भनी सम्झन्छ, तर मनको इच्छा परमप्रभुलेनै जाँच गर्नुहुन्छ।”—हितोपदेश २१:२.
येशूले भन्नुभएको उखानले परमेश्वरको व्यवस्था पालन गर्नुको अलावा उहाँका गुनहरू देखाउने व्यक्ति नै सदाचारी हो भनेर देखाउँछ। (एफिसी ५:१) उदाहरणका लागि बाइबल हामीलाई भन्छ, “परमेश्वरले मानिसहरूको पक्षपात गर्नुहुन्न।” (प्रेरित १०:३४) यस सन्दर्भमा के हामी परमेश्वरको अनुकरण गर्छौं? येशूले भन्नुभएको भावोत्तेजक कथाले एउटै जाति, संस्कृति र धार्मिक परिधिभित्रका व्यक्तिहरूलाई मात्र आफ्नो छिमेकी ठान्नु हुँदैन भनेर प्रस्ट्याउँछ। हो, मसीहीहरूलाई आफ्नै समाज, जात वा राष्ट्रको मानिस र सँगी विश्वासीहरूतर्फ मात्र नभई “सबै मानिसतर्फ भलाइको काम गर्न” निर्देशन दिइएको छ।—गलाती ६:१०.
यहोवाका साक्षीहरू उक्त धर्मशास्त्रीय चेताउनी पालन गर्न प्रयत्न गर्छन्। उदाहरणका लागि, प्राकृतिक प्रकोप आइपर्दा तिनीहरू सँगीविश्वासीलगायत गैरसाक्षीहरूलाई पनि परोपकार गर्छन्।c यसबाहेक, तिनीहरू मानिसहरूलाई बाइबलको उत्तम ज्ञान सिक्न मदत दिने कार्यमा प्रत्येक वर्ष एक अरबभन्दा बढी घण्टा बिताउँछन्। तिनीहरू प्रत्येक व्यक्तिलाई राज्य सन्देश सुनाउने प्रयत्न गर्छन्। किनभने परमेश्वरको इच्छा छ, “सबै मानिसहरूले उद्धार पाऊन् र तिनीहरू सत्यको ज्ञानमा आऊन्।”—१ तिमोथी २:४; प्रेरित १०:३५.
[फुटनोटहरू]
a उखान भनेको साधारणतया नैतिक वा आध्यात्मिक सत्य समेटेको काल्पनिक विवरण हो।
b प्राप्त प्रमाणअनुसार, येशूका समयमा केही धर्मशालाहरूले बासको अलावा भोजन र अन्य सेवाहरू पनि उपलब्ध गराउँथे। येशूले यस्तै खाले आवासगृह मनमा सम्झिराख्नुभएको हुनसक्छ किनभने “पौवा” भनी लूका २:७ मा उल्था गरिएको शब्द र यहाँ प्रयोग गरिएको युनानी शब्द एउटै होइन।
c उदाहरणका लागि, प्रहरीधरहरा, डिसेम्बर १, १९९६, पृष्ठ ३-८ र जनवरी १५, १९९८, पृष्ठ ३-७ हेर्नुहोस्।