हितोपदेश
२१ राजाको हृदय यहोवाको हातमा खोलाको पानीजस्तै हो,+
उहाँ त्यसलाई जता चाहनुहुन्छ, त्यतै मोड्नुहुन्छ।+
२ मानिसलाई आफ्नो सबै चाल ठीक लाग्छ+
तर हृदय* जाँच्नुहुने यहोवा नै हुनुहुन्छ।+
३ यहोवालाई बलिदानभन्दा
सही र न्यायोचित काम मन पर्छ।+
४ अहङ्कारी आँखा र घमन्डी हृदय पाप हुन्,
जसले दुष्टलाई बत्तीले झैँ बाटो देखाउँछ।+
५ मेहनती मानिसले बनाएको योजना सफल हुन्छ+
तर हतार गर्ने मानिसहरू कङ्गाल हुन्छन्।+
६ झूट बोलेर कमाएको सम्पत्ति
बिलाएर जाने कुहिरो र ज्यानमारा पासो हो।*+
७ दुष्टहरूको अत्याचारले तिनीहरूको आफ्नै हानि हुन्छ+
किनकि तिनीहरू अन्याय गर्न छोड्दैनन्।
८ दोषी मानिसको चाल टेढो हुन्छ
तर निर्दोष मानिसको चाल सोझो हुन्छ।+
९ झगडालु* पत्नीसित एउटै घरमा बस्नुभन्दा
कौसीको एउटा कुनामा बस्नु बेस हो।+
१० दुष्ट मानिस खराब काम गर्न खोजिरहन्छ;+
उसले छिमेकीलाई दयामाया देखाउँदैन।+
११ अरूको खिल्ली उडाउनेले सजाय पाएको देख्दा अनुभवहीन मानिस बुद्धिमान् हुन्छ;
बुद्धिमान् मानिसले अन्तर्दृष्टि* हासिल गर्दा उसको ज्ञान बढ्छ।+
१२ न्यायी परमेश्वरको नजर दुष्टको घरमा पनि हुन्छ;
उहाँले दुष्टलाई नाश गर्नुहुन्छ।+
१३ जसले दीनदुःखीको पुकारा सुन्दैन,
उसले पुकार्दा पनि कसैले सुन्नेछैन।+
१४ गुप्तमा दिएको उपहारले रिसलाई शान्त पार्छ+
अनि लुकाएर दिएको दानले* क्रोधलाई कम गर्छ।
१५ न्यायोचित काम गर्न धर्मी मानिसलाई खुसी लाग्छ+
तर दुष्ट काम गर्नेलाई भने असाध्यै दुःख लाग्छ।
१६ बुद्धिको* मार्गबाट तर्किने मानिसले
मृत्यु भोग्नुपर्ने हुन्छ।+
१७ मोजमस्तीमा डुबिरहने मानिस दरिद्र हुनेछ;+
मद्य र तेल मन पराउने मानिस धनी हुँदैन।
१८ धर्मी मानिसको लागि दुष्ट मानिसको फिरौती दिइनेछ
अनि सोझो मानिसको साटो छली मानिस लगिनेछ।+
१९ झगडालु* र घरीघरी रिसाइरहने पत्नीसित बस्नुभन्दा
अनकन्टार ठाउँमा बस्नु बेस हो।+
२० बुद्धिमान्को घरमा बहुमूल्य सम्पत्ति र तेल हुन्छ+
तर मूर्खले आफूसित भएको सबै उडाउँछ।*+
२१ जो धार्मिकता र अटल प्रेमको पछि लाग्छ,
ऊ परमेश्वरको नजरमा धर्मी ठहरिन्छ; उसले जीवन र प्रशंसा पाउँछ।+
२२ बुद्धिमान् मानिसले वीर योद्धाहरूको सहरलाई जित्छ
अनि जुन शक्तिमा तिनीहरूको भरोसा थियो, त्यसलाई तोडिदिन्छ।+
२३ आफ्नो मुख र जिब्रोलाई काबूमा राख्ने मानिस
समस्यामा फस्नदेखि जोगिन्छ।+
२४ घमन्डले फुलेर आवेगमा आउने मानिस
अहङ्कारी र धक्कुबाज कहलाइन्छ।+
२५ अल्छी मानिसलाई उसको आफ्नै लालसाले मार्छ
किनकि ऊ आफ्नो हातले काम गर्न चाहँदैन।+
२६ ऊ दिनभर केही न केही कुरा पाउने लालसा गरिरहन्छ
तर धर्मी मानिसले कन्जुस्याइँ नगरी दिन्छ।+
२७ दुष्टले चढाएको बलि घृणित हुन्छ,+
त्यसले खराब मनसायले* चढाएको बलि झन् कत्ति घृणित हुन्छ होला!
२८ झूटो साक्षी दिने मानिस नाश हुन्छ+
तर ध्यान दिएर सुन्ने मानिसले सही बयान दिन्छ।
२९ दुष्ट मानिसको अनुहारमा लाजसरम हुँदैन,+
सोझो मानिसले सही बाटो छोड्दैन।+
३० यहोवाको सामने कसैको बुद्धि, समझ र अर्तीको केही लाग्दैन।+