ख्रीष्टको मनोवृत्ति प्रतिबिम्बित गर्नुहोस्
“धीरज र शान्तिका परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूको अनुसार आपसमा एउटै मन [“मनोवृत्ति,” Nw] दिऊन्।”–रोमी १५:५.
१. व्यक्तिविशेषको जीवनलाई उसको मनोवृत्तिले कसरी असर गर्नसक्छ?
मनोवृत्तिले जीवनमा निकै ठूलो प्रभाव पार्छ। लापरवाही वा लगनशील मनोवृत्ति, सकारात्मक वा नकारात्मक मनोवृत्ति, झगडालु वा सहयोगी मनोवृत्ति, गनगने वा कृतज्ञ मनोवृत्ति आदिले कुनै पनि व्यक्तिले परिस्थितिको सामना कसरी गर्छ र अरू व्यक्तिले ऊप्रति कस्तो प्रतिक्रिया व्यक्त गर्छ, त्यसमा गहिरो प्रभाव पार्नसक्छ। सही मनोवृत्ति छ भने, गाह्रो परिस्थितिमा समेत आनन्दित हुन सकिन्छ। नराम्रो मनोवृत्ति भएको व्यक्तिलाई जे पनि खराबै मात्र लाग्छ—जीवन रमाइलो भए पनि नरमाइलै लाग्छ।
२. व्यक्तिविशेषले कसरी मनोवृत्ति सिक्नसक्छ?
२ असल होस् वा खराब, मनोवृत्ति सिक्न सकिन्छ। वास्तवमा, यो सिक्नैपर्ने कुरा हो। भर्खरै जन्मेको बच्चाबारे टिप्पणी गर्दै कलिएर्स इन्साइक्लोपीडिया यसो भन्छ: “भाषा वा अन्य सीप सिक्नु परेझैं उसले मनोवृत्ति पनि सिक्नु वा प्राप्त गर्नुपर्छ।” त्यसोभए, हामी मनोवृत्ति कसरी सिक्नसक्छौं? अरू थुप्रै कुराले मनोवृत्ति विकास गर्न मदत गरे तापनि वातावरण र संगतीचाहिं महत्त्वपूर्ण छन्। माथि उल्लिखित विश्वकोश यसो भन्छ: “हामीले घनिष्ठ सम्बन्ध राखेका व्यक्तिहरूको मनोवृत्ति स्पन्जले पानी सोसेझैं हामी सोस्छौं वा सिक्छौं।” हजारौं वर्षअघि बाइबलले त्यसै भनेको थियो: “बुद्धिमानीहरूको संगत गर्नाले बुद्धिमान होइन्छ मूर्खहरूसित लागे बरालिन्छ।”—हितोपदेश १३:२०; १ कोरिन्थी १५:३३.
उचित मनोवृत्तिको नमुना
३. मनोवृत्तिको सम्बन्धमा को उदाहरणीय हुनुहुन्छ र हामी कसरी उहाँको अनुकरण गर्नसक्छौं?
३ अरू कुराहरूमा जस्तै मनोवृत्तिको सम्बन्धमा पनि येशू ख्रीष्टले सर्वोत्तम नमुना बसाल्नुभयो। उहाँले यसो भन्नुभयो: “मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, र जसो मैले तिमीहरूका निम्ति गरें, तिमीहरूले पनि त्यसै गर।” (यूहन्ना १३:१५) येशूजस्तै हुन हामीले सर्वप्रथम उहाँबारे सिक्नैपर्छ।a प्रेरित पत्रुसले सिफारिस गरेको यो काम गर्ने मनसायले हामी येशूको जीवनी अध्ययन गर्छौं: “यसैको निम्ति तिमीहरू बोलाइएका हौ। किनभने तिमीहरूले उहाँको पाइलामा टेकेर हिंड़नालाई एक उदाहरण तिमीहरूलाई दिएर ख्रीष्टले पनि तिमीहरूका निम्ति दुःख भोग्नुभयो।” (१ पत्रुस २:२१) हाम्रो लक्ष्य यथासम्भव येशूजस्तै हुनु हो। यसमा उहाँको मनोवृत्ति खेती गर्नु पनि समावेश छ।
४, ५. रोमी १५:१-३ मा येशूको मनोवृत्तिको कुन पक्ष प्रकाश पारिएको छ र मसीहीहरूले कसरी उहाँको अनुकरण गर्नसक्छन्?
४ ख्रीष्ट येशूको मनोवृत्ति हासिल गर्नुमा के समावेश छ? पावलले रोमीहरूलाई लेखेको पत्रको अध्याय १५ मा यस प्रश्नको जवाफ दिइएको छ। उक्त अध्यायको सुरुका पदहरूमा पावल यसो भन्दै येशूको विशिष्ट गुणतर्फ संकेत गर्छन्: “हामी बलियाहरूले निर्धाहरूका निर्बलतालाई सहनु पर्दछ, आफ्नो खुशी मात्र गर्नुहुँदैन। हामी हरेकले आफ्नो छिमेकीलाई उसको भलाइको निम्ति सुधार्नालाई खुश तुल्याउनुपर्छ। किनभने ख्रीष्टले पनि आफैलाई खुश तुल्याउनुभएन, तर जसो लेखिएको छ, ‘तपाईंलाई गाली गर्नेहरूका गाली ममाथि पऱ्यो।’ ”—रोमी १५:१-३.
५ येशूको मनोवृत्ति अनुकरण गर्दै मसीहीहरूलाई आफैलाई मात्र खुसी तुल्याउने होइन तर विनम्रतासाथ अरूको आवश्यकता पूरा गर्न तत्पर हुन प्रोत्साहित गरिएको छ। वास्तवमा, अरूको सेवा गर्ने यस्तो विनम्र इच्छुकता ‘बलियाहरूको’ विशिष्ट गुण हो। अहिलेसम्म बाँचेका मानिसहरूमध्ये आध्यात्मिक तवरमा सबैभन्दा बलियो व्यक्ति येशू आफैले यसो भन्नुभयो: “मानिसको पुत्र पनि सेवा पाउनालाई होइन, तर सेवा गर्न र धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिनालाई आयो।” (मत्ती २०:२८) मसीहीहरूको नाताले हामी अरूलगायत ‘निर्धाहरूको’ सेवा गर्न अघि बढ्न चाहन्छौं।
६. विरोध तथा भर्त्सना गर्नेहरूप्रति येशूले देखाउनुभएको प्रतिक्रियाको हामी कसरी अनुकरण गर्नसक्छौं?
६ येशूले प्रकट गर्नुभएको अर्को राम्रो गुण सकारात्मक विचार अनि काम हो। उहाँले न कहिल्यै परमेश्वरको सेवा गर्ने आफ्नो असल मनोवृत्तिलाई अरूको नकारात्मक मनोवृत्तिले असर पार्न दिनुभयो, न त हामीले नै दिनुहुन्छ। विश्वासी भई येशूले परमेश्वरको उपासना गर्नुभएको देखेर अरूले भर्त्सना गर्दा वा सताउँदा उहाँले गनगन नगरीकन धीरजी भई सहनुभयो। आफ्ना छिमेकीहरूलाई ‘तिनको भलाइको निम्ति सुधारेर’ आनन्दित पार्न चाहनेहरूले तिनीहरूलाई विश्वास नगर्नेहरू तथा अबुझ संसारले सताउने नै छन् भनेर उहाँलाई थाह थियो।
७. येशूले कसरी धीरज देखाउनुभयो र हामीले पनि किन त्यसै गर्नुपर्छ?
७ येशूले अरू तरिकामा पनि उचित मनोवृत्ति देखाउनुभयो। उहाँ कहिल्यै यहोवादेखि अधीर हुनुभएन बरु, धीरजी भई उहाँका उद्देश्यहरू पूरा हुने समय पर्खिरहनुभयो। (भजन ११०:१; मत्ती २४:३६; प्रेरित २:३२-३६; हिब्रू १०:१२, १३) यसबाहेक, येशू आफ्ना अनुयायीहरूसित पनि अधीर हुनुभएन। उहाँले तिनीहरूलाई भन्नुभयो: “मसँग सिक।” उहाँ “विनयी” हुनुभएकोले उहाँले दिनुभएका निर्देशनहरू प्रोत्साहनदायी तथा स्फूर्तीदायी थिए। अनि उहाँ “नम्र हृदयको” पनि हुनुभएकोले उहाँ धाक जमाउने खालको वा अहंकारी स्वभावको हुनुहुन्थेन। (मत्ती ११:२९) पावल हामीलाई यसो भन्दै येशूको मनोवृत्तिका यी पक्षहरूको अनुकरण गर्न प्रोत्साहन दिन्छन्: “तिमीहरूमा यो मन [“मनोवृत्ति,” NW] होस्, जो ख्रीष्टमा पनि थियो। उहाँले परमेश्वरको स्वरूपमा भएर परमेश्वरसितै बराबरको हुनालाई, जोगाइराख्ने धन जस्तो सम्झनुभएन, तर आफूलाई रित्याईकन कमाराको रूप लिएर मानिसहरूको समानतामा हुनुभयो।”—फिलिप्पी २:५-७.
८, ९. (क) हामीले किन निःस्वार्थ मनोवृत्ति खेती गर्ने प्रयास गर्नुपर्छ? (ख) येशूले छोड्नुभएको नमुनाको पूर्णतया अनुकरण गर्न नसक्दा हामी किन निरुत्साहित हुनु हुँदैन र यस सम्बन्धमा पावल कसरी असल उदाहरण भए?
८ अरूको सेवा गर्न र अरूको आवश्यकतालाई हाम्रा आफ्नै आवश्यकताहरूभन्दा प्राथमिकता दिन चाहन्छौं भन्नु सजिलो छ। तर हामीले इमानदारीसाथ आफ्नो मानसिक मनोवृत्तिलाई जाँच्दा हामी आफ्नो हृदयमा पूर्णतया त्यस्तो झुकाउ नरहेको पाउनसक्छौं। किन? पहिलो कारण त, हामीले आदम र हव्वाबाट स्वार्थी बानीहरू वंशाणुगत तवरमा पाएका छौं र दोस्रो कारण, हामी स्वार्थी मनोवृत्तिलाई बढावा दिने संसारमा बाँचिरहेका छौं। (एफिसी ४:१७, १८) निःस्वार्थ मनोवृत्ति विकास गर्नुको अर्थ अक्सर आफ्ना जन्मजात गुणहरू विपरीत सोच्ने नमुना खेती गर्नु हो। अतः यसो गर्न दृढ संकल्पित हुनुपर्छ र प्रयास चाहिन्छ।
९ येशूले हाम्रो निम्ति छोड्नुभएको सिद्ध नमुनाको ठीक विपरीत प्रस्टै देखिने हाम्रो असिद्धताले कहिलेकाहीं निरुत्साही गराउनसक्छ। येशूसित भएको मनोवृत्ति खेती गर्न असम्भव छ जस्तो पनि हामीलाई लाग्नसक्छ। तर पावलका यी प्रोत्साहनदायी शब्दहरूलाई विचार गर्नुहोस्: “मलाई थाह छ, कि ममा, अर्थात् मेरो शरीरमा केही असल कुराले बास गर्दैन, किनभने इच्छा गर्ने चाहिं मसित हाजिरै छ, तर असल काम गर्ने भने छैन। किनभने असल काम जो म गर्नचाहन्छु, त्यो म गर्दिनँ, तर खराब काम जो म गर्नचाहन्न, त्यही म गर्नेगर्छु। किनकि म मेरो अन्तस्करणले परमेश्वरको व्यवस्थामा आनन्दित हुन्छु, तर मेरो बुद्धिको व्यवस्थाको विरुद्धमा लड़ाइँ गर्ने, र मेरा इन्द्रियहरूमा रहेको पापको अधीनमा भएको व्यवस्थाको बन्धनमा मलाई ल्याउने, मेरा इन्द्रियहरूमा भिन्नै व्यवस्था म देख्तछु।” (रोमी ७:१८, १९, २२, २३) हो, पावललाई तिनको आफ्नै असिद्धताले चाहेजस्तै गरी परमेश्वरको इच्छा पूरा गर्न बारम्बार बाधा पुऱ्यायो तर तिनको मनोवृत्ति अर्थात् परमेश्वर र उहाँको व्यवस्थाप्रति तिनको विचार तथा अनुभूति उदाहरणीय थियो। त्यसरी नै हाम्रो पनि उदाहरणीय हुनसक्छ।
गलत मनोवृत्ति सुधार्ने
१०. पावलले फिलिप्पीहरूलाई कस्तो मनोवृत्ति खेती गर्न प्रोत्साहन दिए?
१० के कसै कसैको गलत मनोवृत्ति सुधार्नु आवश्यक हुनसक्छ? सक्छ। हामीले पाएको प्रमाणअनुसार प्रथम शताब्दीका केही मसीहीहरूको मनोवृत्ति सुधार्नु आवश्यक देखिएको थियो। पावलले फिलिप्पीहरूलाई लेखेको पत्रमा सही मनोवृत्ति राख्नेबारे उल्लेख गरेका थिए। तिनले यसो लेखे: “मैले अघिनै हात पारिसकेको [पहिलो पुनरुत्थानद्वारा प्राप्त हुने स्वर्गीय जीवन], अथवा म अघिनै सिद्ध भैसकेको होइन तर जेको निम्ति पनि ख्रीष्ट येशूबाट मैले पक्राउ खाएँ, सो पक्रनसक्छु कि भनेर म अगि बढ़दैछु। ए भाइ हो, मैले पक्रिसकेको छु भनी म अझै सम्झन्नँ तर पछाड़िका कुराहरूलाई बिर्सेर अगाड़िका कुराहरूतिर लम्केर म एउटा काम गर्दछु, ख्रीष्ट येशूमा परमेश्वरको, माथिको बोलावटको पुरस्कारको निम्ति निशानातिर म अगाड़ि बढ़दछु। यसैकारण हामी सिद्ध हुनेहरूचाहिं सबै यस्तै मनका [ “मनोवृत्तिका,” NW] होऔं।”—फिलिप्पी ३:१२-१५.
११, १२. यहोवाले कुन कुन तरिकामा हामीलाई उचित मनोवृत्ति प्रकट गर्नुहुन्छ?
११ मसीही भइसकेर पनि उन्नति गर्न आवश्यक नठान्नु गलत मनोवृत्ति हो भनी पावलका शब्दहरूबाट देखिन्छ। त्यस्तो व्यक्तिले ख्रीष्टको मनोवृत्ति खेती गर्न सकेको हुँदैन। (हिब्रू ४:११; २ पत्रुस १:१०; ३:१४) तर के यस्तो अवस्थामा कुनै सुधार गर्नै सकिंदैन? त्यसो त पटक्कै होइन। हामी साँच्चै चाहन्छौं भने, परमेश्वर हामीलाई हाम्रो मनोवृत्ति परिवर्तन गर्न मदत गर्न सक्नुहुन्छ। पावल अझै यसो भन्छन्: “तिमीहरू केही केही कुरामा भिन्न विचारका छौ भने परमेश्वरले तिमीहरूलाई यो [उपरोक्त मनोवृत्ति] पनि प्रकट गरिदिनुहुनेछ।”—फिलिप्पी ३:१५.
१२ तथापि, यदि यहोवाले हामीलाई उचित मनोवृत्ति देखाऊन् भन्ने चाहन्छौं भने, हामीले आफ्नोतर्फबाट गर्नुपर्ने काम गर्नैपर्छ। “विश्वासी र बुद्धिमान दास[ले]” उपलब्ध गराएको मसीही प्रकाशनहरूको मदतद्वारा प्रार्थनापूर्वक परमेश्वरको वचन अध्ययन गऱ्यौं भने, “केही केही कुरामा भिन्न विचारका” भएकाहरूलाई उचित मनोवृत्ति विकास गर्न मदत मिल्नेछ। (मत्ती २४:४५) यस सन्दर्भमा, “परमेश्वरका मण्डलीमा चराउनलाई” परमेश्वरको पवित्र आत्माले अभिषेक भएका मसीही प्राचीनहरू मदत गर्न खुसी हुनेछन्। (प्रेरित २०:२८) हाम्रा असिद्धताहरूलाई ध्यानमा राख्दै हामीलाई मायालु तरिकामा मदत गर्न यहोवा अघि सर्नुभएकोमा हामी कत्ति कृतज्ञ छौं! आउनुहोस्, हामी यो मदतलाई स्वीकारौं!
अरूबाट सिक्ने
१३. अय्यूबबारे बाइबलमा दिइएको विवरणबाट हामी उचित मनोवृत्तिबारे के सिक्छौं?
१३ रोमी अध्याय १५ मा पावल ऐतिहासिक उदाहरणहरू मनन गरेर पनि हाम्रो मनोवृत्तिलाई छाँट्न सकिन्छ भनेर बताउँछन्। तिनी लेख्छन्: “जत्ति कुरा अघि लेखिए, ती सबै हाम्रो शिक्षाको निम्ति हो, कि धीरज र धर्मशास्त्रको शान्तिद्वारा हामीलाई आशा होस्।” (रोमी १५:४) विगतमा यहोवाका केही विश्वासी सेवकहरूले आ-आफ्नो मनोवृत्तिका केही खास पक्षहरूलाई छाँट्नु परेको थियो। उदाहरणका लागि, साधारणतः अय्यूबको मनोवृत्ति असलै थियो। तिनले खराब कुराको निम्ति कहिल्यै यहोवालाई दोष लगाएनन् न त परमेश्वरप्रतिको आफ्नो भरोसालाई नै कमजोर हुन दिए। (अय्यूब १:८, २१, २२) यद्यपि, तिनमा आफूलाई धर्मी ठहराउने झुकाउ थियो। अय्यूबको यस्तो झुकाउलाई सुधार्न यहोवाले एलीहूलाई चलाउनुभयो। बेइज्जती महसुस गर्नुको साटो अय्यूबले आफ्नो मनोवृत्तिमा गर्नुपर्ने सुधार विनम्रतासाथ स्वीकारे र राजीखुसीले सुधारे पनि।—अय्यूब ४२:१-६.
१४. हाम्रो मनोवृत्तिबारे अरूले सल्लाह दिंदा हामी कसरी अय्यूबजस्तै हुनसक्छौं?
१४ सँगी मसीहीले नम्रतासाथ हामीले गलत मनोवृत्ति देखाइरहेका छौं भन्दा के हामी अय्यूबले गरेजस्तै गर्छौं? अय्यूबको अनुकरण गर्दै हामी पनि कहिल्यै “परमेश्वरलाई अन्यायको दोष” नलगाऔं। (अय्यूब १:२२) यदि हामी अन्यायको सिकार भएका छौं भने पनि हाम्रा समस्याहरूका लागि कहिल्यै यहोवालाई दोषी नठहराऔं वा गनगन नगरौं। यहोवाको सेवा गर्ने जस्तोसुकै सुअवसर पाएकै किन नहोऔं, हामी “नालायक दास” मात्र हौं। त्यसकारण, आफूलाई धर्मी ठहराउनदेखि परै बसौं।—लूका १७:१०.
१५. (क) येशूका केही अनुयायीहरूले कस्तो गलत मनोवृत्ति प्रकट गरे? (ख) पत्रुसले कसरी असल मनोवृत्ति देखाए?
१५ प्रथम शताब्दीमा येशूको कुरा सुन्ने केही व्यक्तिहरूले अनुचित मनोवृत्ति प्रकट गरे। एक पटक येशूले भन्नुभएको कुरा बुझ्न निकै गाह्रो भयो। फलतः “यो सुनेपछि उहाँका चेलाहरूमध्ये धेरैले भने, ‘यो वचन कठोर छ, को यो सुन्नसक्तछ र?’ ” स्पष्ट छ, यसप्रकार कुरा गर्नेहरूको मनोवृत्ति गलत थियो। अनि तिनीहरूको यो गलत मनोवृत्तिले गर्दा तिनीहरूले येशूको कुरा सुनेनन्। उक्त घटनासम्बन्धी विवरण यसो भन्छ: “यसपछि उहाँका चेलाहरूमध्ये धेरै जना पछि हटे, औ उहाँसँग फेरि हिंड़डुल गरेनन्।” के सबैको मनोवृत्ति खराब थियो? अहँ, थिएन। विवरण अझै यसो भन्छ: “यसकारण येशूले बाह्रलाई भन्नुभयो, ‘के तिमीहरू पनि गइहाल्ने इच्छा गर्दछौ?’ शिमोन पत्रुसले जवाफ दिए, ‘हे प्रभु, हामी कसकहाँ जाऔं?’ ” वास्तवमा त्यसपछि पत्रुसले आफ्नो प्रश्नको जवाफ दिंदै यसो भने: “अनन्त जीवनका कुरा ता तपाईंसँग छन्।” (यूहन्ना ६:६०, ६६-६८) कस्तो असल मनोवृत्ति! धर्मशास्त्रको कुनै कुरा स्पष्ट पारिंदा वा संशोधन गरिंदा सुरुमा ती मानिलिन गाह्रो पर्ला। तर के पत्रुसले देखाएको जस्तै मनोवृत्ति हामीले पनि देखाउनु असल नहोला? सुरु सुरुमा कुनै कुरा बुझ्न गाह्रो भयो भन्दैमा यहोवाको सेवा गर्नै छोड्नु वा “पक्का कुराहरूको नमूना” विपरीत कुरा गर्नु कत्ति मूर्खता हुनेछ!—२ तिमोथी १:१३.
१६. येशूको समयका यहूदी धार्मिक नेताहरूले कस्तो घृणित मनोवृत्ति प्रकट गरे?
१६ प्रथम शताब्दीका यहूदी धार्मिक नेताहरूले येशूको जस्तो मनोवृत्ति प्रकट गरेनन्। येशूको कुरा सुन्दै नसुन्ने तिनीहरूको अठोट येशूले लाजरसलाई मृत्युबाट पुनरुत्थान गर्नुहुँदा देखियो। असल मनोवृत्ति हुने सबैका लागि यो चमत्कार, येशू नै परमेश्वरले पठाउनुभएको व्यक्ति हुनुहुँदो रहेछ भनेर मानिलिने ठोस आधार हुन सक्थ्यो। तथापि, हामी यस्तो लेखिएको पाउँछौं: “अब हामी के गरौं? किनभने यस मानिसले ता धेरै चिह्नहरू गरिरहेछ।” अनि यसको समाधान? “यस दिनदेखि तिनीहरूले उहाँलाई मार्ने मतो बाँधे।” येशूलाई मार्ने षड्यन्त्र गर्नुका साथै तिनीहरूले उहाँको चमत्कारको जीवित प्रमाणलाई पनि नाश गर्ने निर्णय गरे अर्थात् “मुख्य पूजाहारीहरूले लाजरसलाई समेत मार्नालाई मतो गरे।” (यूहन्ना ११:४७, ४८, ५३; १२:९-११) हामीले पनि यस्तै मनोवृत्तिलाई पोस्नु अनि खुसी हुनुपर्ने काम देखेर रमाउनुको साटो झोक्किनु वा रिसाउनु कत्ति घृणित हुनेछ! हो, कत्ति खतरनाक हुनेछ!
ख्रीष्टको सकारात्मक मनोवृत्ति अनुकरण गर्ने
१७. (क) कस्तो अवस्थामा दानियलले निडर मनोवृत्ति प्रकट गरे? (ख) येशूले कसरी साहस देखाउनुभयो?
१७ यहोवाका सेवकहरूले सकारात्मक मनोवृत्ति कायम गरेका छन्। दानियलका शत्रुहरूले एउटा नियम पारित गरेर षड्यन्त्र रचे। त्यस नियमअनुसार ३० दिनसम्म राजालाई बाहेक अन्य कुनै परमेश्वर वा मानिसलाई बिन्ती चढाउन नपाइने थियो। यस्तो षड्यन्त्रकारी नियमले परमेश्वरसितको आफ्नो सम्बन्धमा आँच पुऱ्याउँछ भनेर दानियललाई थाह थियो। के तिनले अब ३० दिनसम्म परमेश्वरलाई प्रार्थना गर्न नै छोड्ने थिए त? अहँ, छोड्ने थिएनन्। बरु, आफ्नो बानी भएअनुसार दानियलले नडराईकन यहोवालाई दिनको तीन पटक प्रार्थना गरिनैरहे। (दानिएल ६:६-१७) येशू पनि त्यसै गरी आफ्ना शत्रुहरू देखेर डराउनुभएन। एक चोटि विश्राम दिनमा सुकेको हात भएको मानिससित उहाँको भेट भयो। उहाँले त्यस रोगीलाई विश्राम दिनमा निको पार्नु भएमा त्यहाँ उपस्थित थुप्रै यहूदीहरू रिसाउने थिए भनी येशूलाई थाह थियो। यस सम्बन्धमा उहाँले तिनीहरूलाई आफ्नो राय व्यक्त गर्न लगाउनुभयो। तर तिनीहरूले आफ्नो राय व्यक्त नगरेपछि येशूले त्यस व्यक्तिलाई निको पार्नुभयो। (मर्कूस ३:१-६) आफूलाई उचित लागेको काम गर्नदेखि येशू कहिल्यै पछि हट्नुभएन।
१८. कसै कसैले किन हाम्रो विरोध गर्छन् तर तिनीहरूको नकारात्मक मनोवृत्ति देखेर हामीले कस्तो प्रतिक्रिया जनाउनुपर्ने हो?
१८ आज, यहोवाका साक्षीहरूले विरोधीहरूले देखाउनसक्ने नकारात्मक प्रतिक्रियादेखि कहिल्यै डराउनु हुँदैन भनेर बुझेका छन्। अन्यथा, तिनीहरूले येशूको मनोवृत्ति प्रदर्शित गरिरहेका हुनेछैनन्। थुप्रै मानिस यहोवाका साक्षीहरूको विरोध गर्छन्। कतिले तथ्य कुरा थाह नपाएर विरोध गर्छन्, कतिपयले चाहिं साक्षीहरू वा तिनीहरूको सन्देश मन नपराएर। तर हाम्रो सकारात्मक मनोवृत्तिलाई तिनीहरूको अमित्रैलो मनोवृत्तिले कहिल्यै असर गर्न नदेऔं। हामी कसरी उपासना गर्छौं, त्यसमा अरू व्यक्तिको प्रभाव कहिल्यै पर्न दिनु हुँदैन।
१९. हामी कसरी येशू ख्रीष्टकै जस्तो मनोवृत्ति देखाउनसक्छौं?
१९ जतिसुकै गाह्रो भए तापनि येशूले आफ्ना चेलाहरू र परमेश्वरका प्रबन्धहरूप्रति सधैं सकारात्मक मनोवृत्ति प्रकट गर्नुभयो। (मत्ती २३:२, ३) हामीले उहाँको उदाहरण अनुकरण गर्नुपर्छ। हो, हाम्रा भाइहरू असिद्ध छन् र हामी पनि असिद्ध नै छौं। हामीले असल मित्र तथा साँच्चै वफादार साथीहरू हाम्रो विश्वव्यापी भ्रातृत्वबीच नपाएर अन्त कता पाउँछौं होला र? यहोवाले अहिलेसम्म उहाँको लिखित वचनको पूर्ण समझ दिइसक्नुभएको छैन तर हामीले भन्दा अरू कुनचाहिं धार्मिक समूहले राम्ररी बुझेका छन् र? त्यसकारण, सधैं येशूसित भएजस्तै सही मनोवृत्ति कायम राखौं। अनि अन्य कुराहरूका साथै यसमा यहोवामाथि भरोसा गर्दा कसरी पर्खने, त्यो पनि समावेश छ। यो हामी अर्को लेखमा छलफल गर्नेछौं।
[फुटनोट]
a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष नामक प्रकाशनले येशूको जीवनी र सेवकाईबारे छलफल गर्छ।
के तपाईं व्याख्या गर्न सक्नुहुन्छ?
• हाम्रो जीवनलाई हाम्रो मनोवृत्तिले कसरी प्रभाव पार्छ?
• येशू ख्रीष्टको मनोवृत्ति वर्णन गर्नुहोस्।
• अय्यूबको मनोवृत्तिबाट हामी के सिक्नसक्छौं?
• वरोध आइपर्दा राख्नुपर्ने सही मनोवृत्ति के हो?
[पृष्ठ ७-मा भएका चित्रहरू]
सही मनोवृत्ति भएको मसीही अरूलाई मदत गर्न अघि सर्छन्
[पृष्ठ ९-मा भएको चित्र]
प्रार्थनापूर्वक परमेश्वरको वचन अध्ययन गर्नाले ख्रीष्टको मनोवृत्ति धारण गर्न मदत मिल्छ