‘विश्वासी दासले’ परीक्षा पार गर्छ!
“परमेश्वरकै परिवारबाट शुरू भएर इन्साफ हुने बेला आएको छ।” —१ पत्रुस ४:१७.
१. “दास[को]” जाँच गर्दा येशूले के पाउनुभयो?
येशूले सा.यु. ३३ पेन्तिकोसमा आफ्नो “परिवार[लाई]” ठीक समयमा खानाको प्रबन्ध गर्न “दास” नियुक्त गर्नुभयो। सन् १९१४ मा येशू राजाको रूपमा सिंहासनमा विराजमान हुनुभयो र चाँडै “दास[को]” जाँच गर्ने समय भयो। “दास” वर्गका अधिकांश सदस्यले आफूलाई “विश्वासी र बुद्धिमान” साबित गरेको उहाँले पाउनुभयो। यसर्थ, उहाँले तिनलाई “आफ्नो सारा सम्पत्तिमाथि” नियुक्त गर्नुभयो। (मत्ती २४:४५-४७) तथापि, एउटा दुष्ट दास पनि थियो जो नता विश्वासी थियो न बुद्धिमान नै।
“त्यस दुष्ट दास”
२, ३. “त्यस दुष्ट दास” कहाँबाट आयो र यसको विकास कसरी भयो?
२ “विश्वासी र बुद्धिमान दास[बारे]” बताउनुभएको लगत्तै येशूले त्यो दुष्ट दासबारे पनि बताउनुभयो। उहाँले यसो भन्नुभयो: “त्यस दुष्ट नोकरले [“दास,” NW] मेरा मालिक बियाँलो गर्छन् भनी मनमा ठानी, आफ्ना साथी नोकरहरूलाई पिट्न, र मतवालाहरूसित खान र पिउन लाग्यो भने, त्यस नोकरको [दास] मालिक, त्यसले आशा नगरेको दिन र नसम्झेको समयमा, आइपुग्नेछ। औ उसले त्यसलाई टुक्राटुक्रा पारी काट्नेछ [“कठोर दण्ड दिनेछ,” नयाँ संशोधित संस्करण], र त्यसलाई कपटीहरूका भाग दिनेछ। त्यहाँ रूवाबासी र दाह्रा किटाइ हुनेछ।” (मत्ती २४:४८-५१) “त्यस दुष्ट दास” भन्ने अभिव्यक्तिले विश्वासी र बुद्धिमान दासबारे येशूले सुरुमा भन्नुभएका शब्दहरूतर्फ ध्यान खिच्छ। हो, त्यो “दुष्ट दास” विश्वासी दासमध्येकै थियो।a कसरी?
३ सन् १९१४ अघि विश्वासी दास वर्गका थुप्रै सदस्यहरूले त्यही वर्ष स्वर्गमा दुलाहालाई भेट्ने उत्सुक प्रतीक्षा गरेका थिए तर तिनीहरूको आशा साकार भएन। यो तथा अन्य घटनाहरूले गर्दा थुप्रै निराश भए भने केही रुष्ट भए। यसो हुँदा कोही-कोहीले आफ्ना पहिलेका भाइहरूलाई मौखिक रूपमा ‘पिट्न’ थाले र “मतवालाहरू” अर्थात् मसीहीजगत्का धार्मिक समूहहरूसँग साठगाँठ बढाए।—यशैया २८:१-३; ३२:६.
४. “दुष्ट दास” र त्यसको जस्तै मनोभाव देखाउने सबैलाई येशूले के गर्नुभयो?
४ ती पहिलेका मसीहीहरू “दुष्ट दास[को]” रूपमा चिनिए र येशूले तिनीहरूलाई सजाय स्वरूप ‘कठोर दण्ड दिनुभयो।’ कसरी? उहाँले तिनीहरूलाई तिरस्कार गर्नुभयो र तिनीहरूले आफ्नो स्वर्गीय आशा गुमाए। तथापि, तिनीहरूलाई तुरुन्तै नाश भने गरिएन। तिनीहरूले पहिला मसीही मण्डली “बाहिरको अन्धकारमा” रुवाबासी र दाह्रा किटाइको समय सहनुपर्ने थियो। (मत्ती ८:१२) प्रारम्भिक समयदेखि ती अन्य केही अभिषिक्त व्यक्तिविशेषहरूले त्यस्तै दुष्ट मनोभाव देखाएर आफूलाई त्यस “दुष्ट दास[का]” भाग हौं भनेर चिनाएका छन्। “अरू भेडा[का]” कोही-कोहीले पनि तिनीहरूको अविश्वासीपनको अनुकरण गरेका छन्। (यूहन्ना १०:१६) ख्रीष्टका ती सबै शत्रुहरूले “बाहिरको” त्यही आध्यात्मिक “अन्धकार” भोग्छन्।
५. “त्यस दुष्ट दास” जस्तो नभई विश्वासी र बुद्धिमान दासले कस्तो प्रतिक्रिया देखाए?
५ यद्यपि, विश्वासी र बुद्धिमान दासले पनि “त्यस दुष्ट दास[ले]” जस्तै परीक्षाको सामना गर्नुपऱ्यो। तथापि, रुष्ट हुनुको साटो तिनीहरूले आफूलाई छाँटकाँट गरे। (२ कोरिन्थी १३:११) यहोवा र आफ्ना भाइहरूप्रति तिनीहरूको प्रेम सुदृढ भयो। फलस्वरूप, तिनीहरू गन्जागोलले भरिएको यो “आखिरी दिनमा” “सत्यको खामा र जग” भएका छन्।—१ तिमोथी ३:१५; २ तिमोथी ३:१.
बुद्धिमती र निर्बुद्धि कन्याहरू
६. (क) येशूले विश्वासी दास वर्गको बुद्धिलाई कसरी बुझाउनुभयो? (ख) सन् १९१४ अघि अभिषिक्त मसीहीहरूले कस्तो सन्देश उद्घोषणा गरे?
६ “त्यस दुष्ट दास[बारे]” बताउनुभएपछि येशूले किन कोही अभिषिक्त मसीहीहरूले आफूलाई विश्वासी र बुद्धिमान् प्रमाणित गर्नेछन् र किन कोहीले गर्नेछैनन् भनी देखाउन दुइटा दृष्टान्त बताउनुभयो।b बुद्धि भनेको के हो भनी बुझाउन उहाँले यसो भन्नुभयो: “स्वर्गको राज्य दश कन्याहरू जस्तो हो, जो आफ्नो आफ्नो बत्ती लिएर दुलहालाई भेट्न निस्के। तीमध्ये पाँच निर्बुद्धि, र पाँच चाहिं बुद्धिमती थिए। किनकि निर्बुद्धिहरूले बत्ती लिएर आफूसित तेल चाहिं लगेनन्। तर बुद्धिमतीहरूले चाहिं आफ्ना बत्तीसित भाँडाहरूमा तेल लगे।” (मत्ती २५:१-४) दस कन्याहरूले हामीलाई १९१४ अघिको अभिषिक्त मसीहीहरूको सम्झना गराउँछ। तिनीहरूले दुलाहा, येशू ख्रीष्ट देखापर्ने समय हुन लागेको छ भनेर हिसाब गरेका थिए। तसर्थ, “अन्यजातिहरूको समय” १९१४ मा अन्त हुनेछ भनेर निडरतासाथ प्रचार गर्दै तिनीहरू उहाँलाई “भेट्न निस्के।”—लूका २१:२४, नयाँ संशोधित संस्करण।
७. अभिषिक्त मसीहीहरू लाक्षणिक अर्थमा भन्ने हो भने कहिले र कसरी ‘निदाए’?
७ तिनीहरू सही थिए। सन् १९१४ मा अन्यजातिहरूको समय साँच्चै अन्त भयो र ख्रीष्ट येशूको नेतृत्वमा परमेश्वरको राज्यले आफ्नो कार्य थाल्यो। तर त्यो अदृश्य स्वर्गमा थियो। पृथ्वीमा मानवजातिले, भविष्यवाणी गरिएको “धिक्कार” अनुभव गर्न थाल्यो। (प्रकाश १२:१०, १२) परीक्षाको घडी सुरु भयो। कुरा राम्ररी नबुझेकाले अभिषिक्त मसीहीहरूले “दुलहाले बियाँलो” गरिरहेका छन् भन्ठाने। अलमल्लमा पर्नुका साथै संसारबाट द्वेष सामना गर्नुपरेकोले सामान्यतया तिनीहरू सुस्ताउन थाले र संगठित सार्वजनिक प्रचारकार्य त ठप्प जस्तै भयो। दृष्टान्तका कन्याहरू जस्तै आध्यात्मिक अर्थमा भन्ने हो भने तिनीहरू येशूका प्रेरितहरूको मृत्युपछि मसीही भनी दाबी गर्ने अविश्वासीहरू जस्तै “निद्राले लट्ठ भए, र निदाए।”—मत्ती २५:५; प्रकाश ११:७, ८; १२:१७.
८. कस्तो कारणले गर्दा “हेर दुलहा! उनलाई भेट्न आऊ” भन्ने आह्वान गरियो र यो अभिषिक्त मसीहीहरूको लागि के गर्ने समय थियो?
८ अनि १९१९ मा एउटा अप्रत्याशित कुरा भयो। हामी यस्तो पढ्छौं: “आधा रातमा ‘हेर दुलहा! उनलाई भेट्न आऊ’ भन्ने शब्द आयो। तब ती सबै कन्याहरूले उठेर आफ्ना आफ्ना बत्ती छाँटे।” (मत्ती २५:६, ७) अवस्था अत्यन्तै अन्धकारमय देखिएकै बेला सक्रिय हुने आह्वान आयो! सन् १९१८ मा “करारका ती दूत” येशू, यहोवाको आध्यात्मिक मन्दिर निरीक्षण गर्न र परमेश्वरको मण्डली सफा गर्न आउनुभएको थियो। (मलाकी ३:१) अब, अभिषिक्त मसीहीहरू त्यो मन्दिरको पार्थिव चोकमा चोकमा गएर उहाँलाई भेट्नुपर्ने थियो। तिनीहरू “प्रकाशमान” हुने समय भएको थियो।—यशैया ६०:१; फिलिप्पी २:१४, १५.
९, १०. सन् १९१९ मा किन कोही मसीहीहरू “बुद्धिमती” थिए र कोही “निर्बुद्धि”?
९ तर एकछिन! दृष्टान्तमा केही युवतीहरूलाई एउटा समस्या आइपऱ्यो। येशूले अझ यसो भन्नुभयो: “निर्बुद्धिहरूले बुद्धिमतीहरूलाई भने, ‘तिमीहरूको तेल हामीलाई पनि केही देओ किनभने हाम्रा बत्ती ता निभ्नलागे।’ ” (मत्ती २५:८) तेलविना बत्ती बल्दैन। अतः तेलले हामीलाई परमेश्वरको सत्य वचन र उहाँको पवित्र आत्माको सम्झना गराउँछ जसले साँचो उपासकहरूलाई ज्योतिवाहक हुने शक्ति दिन्छ। (भजन ११९:१३०; दानियल ५:१४) सन् १९१९ अघि बुद्धिमान् अभिषिक्त मसीहीहरूले आफ्नो क्षणिक कमजोर अवस्थाको बावजुद तिनीहरूको लागि परमेश्वरको इच्छा के हो भनी बुझ्न लगनशील प्रयास गरेका थिए। तसर्थ, प्रकाशमान हुन आह्वान गरिंदा तिनीहरू तयार थिए।—२ तिमोथी ४:२; हिब्रू १०:२४, २५.
१० तथापि, केही अभिषिक्त जनहरूसित दुलाहासँगै रहने निष्कपट इच्छा भए तापनि तिनीहरू त्यागहरू गर्न वा व्यक्तिगत तवरमा प्रयास गर्न तयार थिएनन्। त्यसैले सुसमाचारको प्रचारकार्यमा सक्रियतासाथ लाग्ने समय आउँदा तिनीहरू तयार थिएनन्। (मत्ती २४:१४) तिनीहरूले आफ्ना जोसिला सँगीहरूलाई समेत ढिलाइ गर्न लगाउने प्रयास गरे। भन्ने हो भने, तिनीहरूले उनीहरूको तेल माग्न थाले। येशूको दृष्टान्तमा बुद्धिमती कन्याहरूले कस्तो प्रतिक्रिया देखाए? तिनीहरूले यसो भने: “हामी र तिमीहरूलाई यो यथेष्ट छैन बरू पसलेकहाँ गएर आफ्नो लागि किन।” (मत्ती २५:९) त्यस्तै गरी वफादार अभिषिक्त मसीहीहरूले १९१९ मा प्रकाशमान हुने तिनीहरूको क्षमतालाई कमजोर पार्न सक्ने केही पनि कुरा गर्न इन्कार गरे। यसरी, तिनीहरूले जाँच पार गरे।
११. निर्बुद्धि कन्याहरूलाई के भयो?
११ येशूले निष्कर्षमा यसो भन्नुहुन्छ: “[निर्बुद्धि कन्याहरू] किन्न जाँदा दुलहा आइपुगिहाले, र तयार हुनेहरू तिनीसँग विवाहको भोजमा भित्र पसे, र ढोका बन्द भयो। पछिबाट ती कन्याहरू पनि यसो भन्दै आइपुगे ‘हे प्रभु, हे प्रभु, हामीलाई खोलिदिनुहोस्।’ तर उनले जवाफ दिएर भने, ‘म तिमीहरूलाई साँच्चै भन्दछु, म तिमीहरूलाई चिन्दिनँ।’ ” (मत्ती २५:१०-१२) हो, दुलाहा आउने समयको लागि कोही-कोही तयार थिएनन्। अतः तिनीहरू जाँचमा असफल भए र स्वर्गमा भएको विवाह भोजमा उपस्थित हुने सुअवसरबाट चुके। साँच्चै, कस्तो दुःखलाग्दो!
तोडाको दृष्टान्त
१२. (क) येशूले विश्वासीपनबारे बुझाउन कस्तो उदाहरण चलाउनुभयो? (ख) “परदेशतिर” जाने मानिस को थियो?
१२ बुद्धिको विषयमा बुझाउनुभएपछि विश्वासीपन भनेको के हो भनेर येशूले बुझाउन थाल्नुभयो। उहाँले यसो भन्नुभयो: “यो ता त्यो मानिसजस्तो हो, जसले परदेश जाँदा आफ्ना नोकरहरूलाई [दास] बोलाई आफ्ना धन-सम्पत्ति तिनीहरूलाई जिम्मा दिए। औ उसले हरेकलाई तिनीहरूका आफ्ना आफ्ना खूबी अनुसार, एउटालाई पाँच तोड़ा, अर्कोलाई दुइ, र अर्कोलाई एक तोड़ा दिएर परदेशतिर लागे।” (मत्ती २५:१४, १५) यस दृष्टान्तको मानिस येशू स्वयम् हुनुहुन्छ जो सा.यु. ३३ मा स्वर्ग उक्लनुहुँदा “परदेशतिर” लाग्नुभयो। तर उहाँ स्वर्गमा उक्लनुअघि ‘आफ्नो सम्पत्तिमाथि’ विश्वासी चेलाहरूलाई नियुक्त गर्नुभयो। कसरी?
१३. येशूले गतिविधिको ठूलो क्षेत्र कसरी तयार पार्नुभयो र आफ्ना “दास[हरूलाई]” व्यापार गर्न कस्तो अधिकार दिनुभयो?
१३ आफ्नो पार्थिव सेवकाईको दौडान येशूले इस्राएल राष्ट्रभरि परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्ने गतिविधिको ठूलो क्षेत्र तयार पार्नुभयो। (मत्ती ९:३५-३८) आफू “परदेशतिर” लाग्नुअघि उहाँले त्यो क्षेत्र आफ्ना विश्वासी चेलाहरूलाई सुम्पनुभयो र यसो भन्नुभयो: “यसकारण गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ। र हेर, म सब दिन, अँ, जगत्को अन्तसम्म तिमीहरूका साथमा छँदैछु।” (मत्ती २८:१८-२०) यी शब्दहरूद्वारा उहाँले आफ्ना “दास[हरूलाई]” उहाँ नफर्कुन्जेल “हरेकलाई . . . आफ्ना आफ्ना खूबी अनुसार” व्यापार गर्ने अधिकार दिनुभयो।
१४. सबैले उत्तिकै मात्रामा व्यापार गर्ने अपेक्षा किन राखिएको थिएन?
१४ त्यो अभिव्यक्तिले प्रथम शताब्दीका सबै मसीहीहरूसित समान परिस्थिति वा योग्यताहरू थिएनन् भनी सङ्केत गर्छ। पावल र तिमोथी जस्ता कोही-कोही आफ्नो परिस्थितिको कारण प्रचार तथा शिक्षण कार्यमा पूर्णतया भाग लिन सक्षम थिए। अरू भने आफ्नो परिस्थितिको कारण सीमित रूपमा मात्र त्यस कार्यमा भाग लिन सकेको हुन सक्छ। उदाहरणका लागि, कोही मसीहीहरू दास थिए र अरू कतिपय बिरामी, पाको उमेरका वा पारिवारिक जिम्मेवारीहरू भएका व्यक्तिहरू थिए। निस्सन्देह, मण्डलीमा केही खास सुअवसरहरू सबै चेलाहरूका लागि खुला थिएन। अभिषिक्त स्त्री तथा केही अभिषिक्त पुरुषहरूले मण्डलीमा सिकाउँदैनथे। (१ कोरिन्थी १४:३४; १ तिमोथी ३:१; याकूब ३:१) तैपनि, तिनीहरूको व्यक्तिगत परिस्थिति जस्तोसुकै भए तापनि ख्रीष्टका सबै अभिषिक्त चेलाहरू—पुरुष तथा स्त्रीहरूलाई—मसीही सेवकाईमा आफ्नो सुअवसर तथा परिस्थितिको सदुपयोग गर्दै व्यापारमा भाग लिन खटाइएको थियो। ख्रीष्टका वर्तमान समयका चेलाहरूले पनि त्यसै गर्छन्।
जाँचको समय सुरु हुन्छ
१५, १६. (क) हिसाब दिने समय कहिले थियो? (ख) विश्वासी जनहरूलाई ‘व्यापार गर्ने’ कस्ता नयाँ सुअवसरहरू दिइयो?
१५ दृष्टान्तमा अझ यसो भनिएको छ: “धेरै दिनपछि ती नोकरहरूका [दासहरूका] स्वामी आए, र तिनले तिनीहरूसँग हिसाब लिए।” (मत्ती २५:१९) सा.यु. ३३ को धेरै समयपछि—सन् १९१४ मा ख्रीष्ट येशूले आफ्नो राजकीय उपस्थिति सुरु गर्नुभयो। साढे तीन वर्षपछि, १९१८ मा उहाँ परमेश्वरको आध्यात्मिक मन्दिरमा आउनुभयो र पत्रुसका शब्दहरू पूरा गर्नुभयो: “परमेश्वरकै परिवारबाट शुरू भएर इन्साफ हुने बेला आएको छ।” (१ पत्रुस ४:१७; मलाकी ३:१) हिसाब दिनुपर्ने समय भएको थियो।
१६ येशूका अभिषिक्त भाइहरू अर्थात् दासहरूले राजाले दिएका “तोड़ा” के गरे? सा.यु. ३३ देखि यता, १९१४ भन्दाअघिका वर्षहरूमा थुप्रैले येशूको “व्यापारमा” मेहनत गरिरहेका थिए। (मत्ती २५:१६) प्रथम विश्वयुद्धको दौडानसमेत तिनीहरूले मालिकको सेवा गर्ने बलियो इच्छा देखाइसकेका थिए। अब विश्वासी जनहरूलाई ‘व्यापार गर्ने’ नयाँ सुअवसरहरू दिनु उपयुक्त थियो। यस दुष्ट रीतिरिवाजको अन्तको समय नजिक आइसकेको थियो। सुसमाचार विश्वभरि प्रचार गरिनुपर्ने थियो। “पृथ्वीको बाली” कटनी गर्नुपर्ने थियो। (प्रकाश १४:६, ७, १४-१६) गहुँ वर्गका अन्तिम सदस्यहरू भेट्टाउनुपर्ने थियो र अरू भेडाको “ठूलो भीड” जम्मा गर्नुपर्ने थियो।—प्रकाश ७:९; मत्ती १३:२४-३०.
१७. विश्वासी अभिषिक्त मसीहीहरू कसरी “आफ्ना मालिकसँगै खुसी” भए?
१७ कटनीको समय आनन्दमय समय हो। (भजन १२६:६) त्यसकारण येशूले १९१९ मा आफ्ना विश्वासी अभिषिक्त भाइहरूलाई थप जिम्मेवारी सुम्पनुहुँदा उहाँले यसो भन्नु उपयुक्त थियो: “तैंले थोरै कुरामा इमान देखाइस्, अब म तँलाई धेरै कुरामा नियुक्त गर्नेछु। तँ आफ्ना मालिकसँगै खुशी हो।” (छड्के अक्षर हाम्रो, मत्ती २५:२१, २३) परमेश्वरको राज्यको शासनारूढ नयाँ राजाको रूपमा नियुक्त हुँदा मालिकको आनन्द हामीले कल्पना गरेभन्दा कता हो कता धेरै छ। (भजन ४५:१, २, ६, ७) राजाको प्रतिनिधित्व गर्नुका साथै पृथ्वीमा उहाँको राज्यसम्बन्धी गतिविधि बढाएर विश्वासी दास वर्ग त्यस आनन्दमा भाग लिन्छन्। (२ कोरिन्थी ५:२०) तिनीहरूको आनन्द यशैया ६१:१० मा लिपिबद्ध भविष्यसूचक शब्दहरूमा देखिन्छ: “म परमप्रभुमा साह्रै आनन्दित हुनेछु। मेरो आत्माले मेरा परमेश्वरमा आनन्द मनाउनेछ, किनकि उहाँले मलाई मुक्तिको पोशाक पहिराउनुभएको छ।”
१८. किन कसै-कसैले जाँच पार गरेनन् र नतिजा कस्तो भयो?
१८ दुःखको कुरा, कसै-कसैले जाँच पार गरेनन्। हामी यस्तो पढ्छौं: “जसले एक तोड़ा पाएको थियो त्यसले पनि आएर भन्यो, ‘हजूर तपाईं कठोर मानिस र आफूले नरोपेको कुराको कटनी गर्ने, र ननिफनेको कुरा जम्मा गर्ने हुनुहुन्छ भन्ने मलाई थाह थियो। मलाई डर लाग्यो, र गएर तपाईंको तोड़ा भूइँमा लुकाइराखें। तपाईंको आफ्नो तोड़ा लिनुहोस्।’ ” (मत्ती २५:२४, २५) त्यस्तै गरी केही अभिषिक्त मसीहीहरूले “व्यापार” गरेका थिएनन्। सन् १९१४ अघि तिनीहरूले जोसका साथ आफ्नो आशा अरूसँग बाँडेका थिएनन् र १९१९ मा पनि तिनीहरू सुरु गर्न इच्छुक थिएनन्। तिनीहरूको घमण्डप्रति येशूले कस्तो प्रतिक्रिया देखाउनुभयो? उहाँले तिनीहरूबाट सबै सुअवसरहरू खोस्नुभयो। तिनीहरूलाई ‘बाहिरको अँध्यारोमा फालियो, त्यहाँ रूवाबासी र दाह्रा किटाइ हुनेछ।’—मत्ती २५:२८, ३०.
जाँच चलिरहन्छ
१९. कुन तरिकामा जाँचको प्रक्रिया अझै चलिरहन्छ र सबै अभिषिक्त मसीहीहरू के गर्न कटिबद्ध छन्?
१९ निस्सन्देह, सन् १९१८ मा येशूले आफ्नो जाँच सुरु गर्नुहुँदा अन्तको समयमा ख्रीष्टको अभिषिक्त दास हुने अधिकांश जनहरूले यहोवाको सेवा गर्न थालिसकेका थिएनन्। के तिनीहरूले जाँचिने सुअवसर गुमाए? पटक्कै गुमाएनन्। जाँचको प्रक्रिया १९१८/१९ मा मात्र सुरु भयो र त्यतिबेला विश्वासी र बुद्धिमान दासले एउटा वर्गको रूपमा जाँच पार गऱ्यो। अभिषिक्त मसीहीहरूलाई स्थायी रूपमा छाप नलगाइएसम्म तिनीहरूको व्यक्तिगत तवरमा जाँच भइरहन्छ। (प्रकाश ७:१-३) यो कुरा बुझेको हुनाले ख्रीष्टका अभिषिक्त भाइहरू विश्वासीपूर्वक ‘व्यापार गरिरहन’ कटिबद्ध छन्। बत्ती तेजसँग प्रकाशमान भइरहोस् भनेर तिनीहरू पर्याप्त मात्रामा तेल राखेर बुद्धिमानी हुन कटिबद्ध छन्। तिनीहरू आफ्नो जीवनको अन्तसम्मै विश्वासी रहेको खण्डमा येशूले आफ्ना स्वर्गीय वासस्थानमा तिनीहरूको स्वागत गर्नुहुनेछ भनी तिनीहरूलाई थाह छ।—मत्ती २४:१३; यूहन्ना १४:२-४; १ कोरिन्थी १५:५०, ५१.
२०. (क) आज अरू भेडा के गर्न कटिबद्ध छन्? (ख) अभिषिक्त मसीहीहरू कुन कुराबारे सजग छन्?
२० अरू भेडाको ठूलो भीडले आफ्ना अभिषिक्त भाइहरूको अनुकरण गरेका छन्। परमेश्वरको उद्देश्यबारे तिनीहरूको ज्ञानको कारण तिनीहरूले थप जिम्मेवारी पाउँछन् भनी तिनीहरूलाई थाह छ। (इजकिएल ३:१७-२१) तसर्थ, यहोवाको वचन र पवित्र आत्माको मदतले तिनीहरूले आफ्नो अध्ययन र संगतिबाट पर्याप्त मात्रामा तेल राखेका छन्। अनि तिनीहरूले प्रचार तथा शिक्षण कार्यमा भाग लिएर आफूलाई प्रकाशमान बनाएका छन् र यसरी आफ्ना अभिषिक्त भाइहरूसँगसँगै ‘व्यापार गरिरहेका’ छन्। तथापि, तोडा तिनीहरूको हातमा सुम्पिएको छ भनी अभिषिक्त मसीहीहरू पूरै सजग छन्। पृथ्वीमा प्रभुको सम्पत्ति कसरी प्रयोग गरिन्छ, त्यसको लागि तिनीहरूले हिसाब दिनै पर्छ। तिनीहरू संख्यामा थोरै भए तापनि आफ्ना जिम्मेवारीहरू ठूलो भीडको जिम्मामा छोड्न सक्दैनन्। यस कुरालाई मनमा राख्दै विश्वासी र बुद्धिमान दासले राजाको व्यापारमा नेतृत्व लिइरहेका छन् र ठूलो भीडका समर्पित सदस्यहरूले दिने समर्थनको लागि कृतज्ञ छन्। ठूलो भीडकाहरूले आफ्ना अभिषिक्त भाइहरूको जिम्मेवारीलाई बुझेका छन् र तिनीहरूको निरीक्षणमा काम गर्न पाउनु विशेष सुअवसर ठान्छन्।
२१. सन् १९१९ अघिदेखि आज हाम्रो दिनसम्म पनि कुन सल्लाह सबै मसीहीहरूमा लागू हुन्छ?
२१ अतः यी दुई दृष्टान्तले १९१९ वा त्यस वरपरका समयमा भएका घटनाहरूलाई प्रकाश पारे तापनि यस आखिरी दिनमा त्यसका सिद्धान्तहरू सबै साँचो मसीहीहरूलाई पनि लागू हुन्छ। यसरी दस कन्याहरूको दृष्टान्तको अन्तमा येशूले दिनुभएको सल्लाह १९१९ अघिको अभिषिक्त मसीहीहरूमा लागू हुनेभए तापनि सैद्धान्तिक रूपमा हेर्ने हो भने अझै पनि प्रत्येक मसीहीहरूमा लागू हुन्छ। त्यसकारण हामी सबैले येशूका शब्दहरू हृदयङ्गम गरौं: “यसकारण जागा रहो, किनकि तिमीहरू त्यो दिन र त्यो बेला थाह पाउँदैनौ।”—मत्ती २५:१३.
[फुटनोटहरू]
a त्यसरी नै, प्रेरितहरूको मृत्युपछि अभिषिक्त मसीही प्राचीनहरूबाट नै “डरलाग्दा ब्वाँसाहरू” निस्किए।—प्रेरित २०:२९, ३०.
b येशूको दृष्टान्तको थप छलफलको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित वर्ल्डवाइड सेक्युरिटी अन्डर द “प्रिन्स अफ पीस” पुस्तकको अध्याय ५ र ६ हेर्नुहोस्।
के तपाईं बुझाउन सक्नुहुन्छ?
• येशूले आफ्ना अनुयायीहरूको जाँच कहिले गर्नुभयो र उहाँले के पाउनुभयो?
• केही अभिषिक्त मसीहीहरूले किन “त्यस दुष्ट दास[को]” मनोवृत्ति विकास गरे?
• हामी आफू आध्यात्मिक तवरमा बुद्धिमान् भएको कसरी देखाउन सक्छौं?
• येशूका विश्वासी अभिषिक्त भाइहरूको अनुकरण गर्दै कुन तरिकामा हामी ‘व्यापार गरिरहन’ सक्छौं?
[पृष्ठ १६-मा भएको पेटी]
येशू कहिले आउनुहुन्छ?
मत्ती अध्याय २४ र २५ मा विभिन्न अर्थमा येशू ‘आउनुभयो’ भनिएको छ। उहाँ ‘आउन’ साँच्चै शाब्दिक अर्थमै यताउता जानुपर्दैन। बरु, अक्सर इन्साफको लागि मानिसजातितर्फ वा आफ्ना अनुयायीहरूतर्फ ध्यान दिने अर्थमा उहाँ ‘आउनुहुन्छ।’ त्यसैले १९१४ मा सिंहासनमा विराजमान राजाको हैसियतमा आफ्नो उपस्थिति सुरु गर्न उहाँ ‘आउनुभयो।’ (मत्ती १६:२८; १७:१; प्रेरित १:११) सन् १९१८ मा उहाँ करारका दूतको रूपमा ‘आउनुभयो’ र उहाँको सेवा गरेको दाबी गर्नेहरूको इन्साफ गर्न थाल्नुभयो। (मलाकी ३:१-३; १ पत्रुस ४:१७) आरमागेडोनमा उहाँ यहोवाका शत्रुहरू विरुद्ध न्याय गर्न ‘आउनुहुनेछ।’—प्रकाश १९:११-१६.
मत्ती २४:२९-४४ र २५:३१-४६ मा आउने (वा देखापर्ने) भनी थुप्रै चोटि सङ्केत गरिएको “महा सङ्कष्ट[मा]” हो। (प्रकाश ७:१४) अर्कोतर्फ, मत्ती २४:४५ देखि २५:३० मा सङ्केत गरिएको आउनुहुने चाहिं १९१८ यता उहाँको चेला भनी दाबी गर्नेहरूलाई इन्साफ गर्नेसित सम्बन्धित छ। येशू महासङ्कष्टमा ‘आउनुहुँदा’, उदाहरणका लागि विश्वासी दासलाई इनाम दिने, निर्बुद्धि कन्याहरूको इन्साफ र मालिकको तोडा लुकाउने अल्छी दासको इन्साफ हुनेछ भनी भन्नु तार्किक हुनेछैन। त्यसो भन्नु त त्यतिबेला थुप्रै अभिषिक्त जनहरू अविश्वासी हुनेछन् र तिनीहरूको प्रतिस्थापन गर्नुपर्नेछ भन्ने हुनेछ। तथापि, प्रकाश ७:३ ले त्यस समयसम्ममा ख्रीष्टका सबै अभिषिक्त दासहरूलाई स्थायी “छाप” लगाइसकेको हुनेछ भनी सङ्केत गर्छ।
[पृष्ठ १४-मा भएको चित्र]
त्यस “दुष्ट दासले” १९१९ मा कुनै आशिष् पाएन
[पृष्ठ १५-मा भएको चित्र]
बुद्धिमती कन्याहरू दुलाहा आइपुग्दा तयार थिए
[पृष्ठ १७-मा भएको चित्र]
विश्वासी दासले “व्यापार” गरेको थियो
अल्छी दासले गरेको थिएन
[पृष्ठ १८-मा भएका चित्रहरू]
अभिषिक्त तथा “ठूलो भीड” प्रकाशमान भइरहेका छन्