आफ्नो लागि नबाँच्ने
“[ख्रीष्ट] सबैका निम्ति मर्नुभयो, र अब बाँच्नेहरूले आफू आफू बाँच्ने होइन।” —२ कोरिन्थी ५:१५.
१, २. कुन धर्मशास्त्रीय आज्ञाले येशूका प्रथम शताब्दीका अनुयायीहरूलाई स्वार्थ हटाउन उत्प्रेरित गऱ्यो?
येशूले यस पृथ्वीमा बिताउनुहुने अन्तिम रात आइपुगेको थियो। केही घण्टापछि नै उहाँमाथि विश्वास गर्नेहरू सबैका निम्ति उहाँले आफ्नो जीवन दिनुहुने थियो। त्यस रात येशूले आफ्ना विश्वासी प्रेरितहरूलाई थुप्रै महत्त्वपूर्ण कुराहरू बताउनुभयो। ती कुराहरूमध्ये एउटा यस्तो गुणबारे दिइएको आज्ञा थियो जो उहाँका अनुयायीहरूको प्रमुख चिनारी बन्ने थियो। उहाँले यसो भन्नुभयो: “एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिंदैछु, कि तिमीहरू आपसमा प्रेम गर, जस्तो मैले तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरूले पनि आपसमा प्रेम गर। यदि तिमीहरूले आपसमा प्रेम गऱ्यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्नेछन्।”—यूहन्ना १३:३४, ३५.
२ साँचो मसीहीहरूले एकअर्काप्रति आत्म-त्यागी प्रेम देखाउनुपर्छ र आफ्नोभन्दा आफ्ना सँगी विश्वासीका आवश्यकताहरूलाई प्राथमिकता दिनुपर्छ। ‘आफ्ना मित्रहरूका लागि आफ्नो प्राण अर्पण गर्न’ समेत तिनीहरू पछि सर्नु हुँदैन। (यूहन्ना १५:१३) प्रारम्भिक मसीहीहरूले यो नयाँ आज्ञाप्रति कस्तो प्रतिक्रिया देखाए? दोस्रो शताब्दीका लेखक टर्टुलियनले आफ्नो प्रख्यात कृति अपोलोजी-मा मसीहीहरूबारे अरूको भनाइ यसरी उद्धरण गरे: ‘हेर, तिनीहरूबीच कस्तो प्रेम छ अनि तिनीहरू एकअर्काको निम्ति मर्न समेत तयार छन्।’
३, ४. (क) हामीले किन स्वार्थ विरुद्ध सङ्घर्ष गर्नुपर्छ? (ख) यस लेखमा हामी कुन कुराबारे विचार गर्नेछौं?
३ हामीले पनि ‘एउटाले अर्कोको भार उठाउनै पर्छ र यसरी ख्रीष्टको व्यवस्था पूरा गर्नै पर्छ।’ (गलाती ६:२) तथापि, ख्रीष्टले दिनुभएको व्यवस्था पालन गर्नुका साथै यहोवा ‘हाम्रा परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्न अनि आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्न’ सबैभन्दा प्रमुख बाधक स्वार्थ हो। (मत्ती २२:३७-३९) असिद्ध भएको हुनाकारण हामीमा आफ्नैबारे मात्र सोच्ने झुकाव हुन्छ। त्यसमाथि दैनिक जीवनको तनाव, स्कूल वा काम गर्ने ठाउँको प्रतिस्पर्धात्मक वातावरण र जिविकोपार्जनको लागि गर्नुपर्ने सङ्घर्षले यो जन्मजात झुकावलाई झनै तीव्र बनाउँछ। यो स्वार्थी झुकाव हराउँदै जाने कुनै छाँटकाँट छैन। “आखिरी दिनमा . . . मानिसहरू स्वार्थी” हुनेछन् भनी प्रेरित पावलले चेतावनी दिए।—२ तिमोथी ३:१, २.
४ आफ्नो पार्थिव सेवकाईको अन्ततिर येशूले आफ्ना चेलाहरूलाई तीनवटा चरण भएको एउटा प्रक्रियाबारे बताउनुभयो जसले तिनीहरूलाई स्वार्थ हटाउन मदत गर्न सक्थ्यो। यो के थियो अनि उहाँको निर्देशनबाट हामी कसरी लाभ उठाउन सक्छौं?
प्रभावकारी औषधी!
५. उत्तरी गालीलमा प्रचार गरिरहेको बेला येशूले आफ्ना चेलाहरूलाई कुन कुरा प्रकट गर्नुभयो र यसले तिनीहरूलाई किन विचलित बनायो?
५ येशू उत्तरी गालीलको सिजरिया फिलिप्पी नजिकै प्रचार गरिरहनुभएको थियो। यो शान्त र रमणीण ठाउँ आत्मत्यागबारे सिक्नभन्दा आराम गर्नको लागि उपयुक्त देखिएको हुन सक्छ। तथापि, त्यहाँ हुँदा येशूले चेलाहरूलाई आफू “यरूशलेममा जानु, र बूढा-प्रधान र मुख्य पूजाहारीहरू औ शास्त्रीहरूबाट धेरै शासना भोग्नु, र मारिनु, र तेस्रो दिनमा बौरनु आवश्यक छ” भनी प्रकट गर्न थाल्नुभयो। (मत्ती १६:२१) यो कुरा सुन्दा येशूका चेलाहरू कत्ति विचलित भएको हुनुपर्छ किनभने त्यतिबेलासम्म तिनीहरू आफ्नो नेताले यस पृथ्वीमा राज्य स्थापना गर्नुहुनेछ भन्ने आस गरिरहेका थिए!—लूका १९:११; प्रेरित १:६.
६. येशूले पत्रुसलाई किन बेसरी हप्काउनुभयो?
६ येशूले त्यसो भन्नेबित्तिकै पत्रुसले उहाँलाई “एकातिर लगेर जिद्दी गर्न र उहाँलाई हप्काउन लागे, ‘परमेश्वरको कृपा रहोस्, प्रभु, यस्तो कुरा तपाईंमाथि कदापि परिआउने छैन।’ ” येशूले कस्तो प्रतिक्रिया देखाउनुभयो? “उहाँले पत्रुसतिर फर्केर भन्नुभयो, ‘ए शैतान, मेरो सामनेबाट हटिजा, तँ मेरो निम्ति ठेस लाग्ने कारण रहेछस्। किनभने तँ परमेश्वरका होइन, तर मानिसहरूका कुराहरूमा ध्यान दिन्छस्।’ ” यी दुइटा दृष्टिकोणबीच कत्ति ठूलो भिन्नता! परमेश्वरले येशू सामु राखिदिनुभएको आत्म-त्यागी मार्ग उहाँले खुसीसाथ स्वीकार्नुभयो र यो मार्ग अपनाउँदा केही महिनाभित्रै उहाँ शासनाको खम्बामा मर्नुपर्ने थियो। पत्रुसले भने सजिलो मार्ग रोज्ने सल्लाह दिए। तिनले यसो भने: “परमेश्वरको कृपा रहोस्, प्रभु, यस्तो कुरा तपाईंमाथि कदापि परिआउने छैन।” हुन त पत्रुसको मनसाय राम्रै थियो। तैपनि येशूले तिनलाई हप्काउनुभयो किनभने त्यसबेला पत्रुस शैतानको सोचाइको नियन्त्रणमा परेका थिए। पत्रुसले “परमेश्वरका होइन तर मानिसहरूका कुराहरूमा” ध्यान दिए।—मत्ती १६:२२, २३.
७. मत्ती १६:२४ मा लिपिबद्ध गरिएअनुसार आफ्ना अनुयायीहरूले पछ्याउनुपर्ने कस्तो मार्गबारे येशूले बताउनुभयो?
७ पत्रुसले येशूलाई भनेका जस्तै शब्दहरू आज पनि सुनिन्छ। संसारले सामान्यतया ‘आफूप्रति कठोर नहुन’ वा ‘सबैभन्दा सजिलो मार्ग पछ्याउन’ सल्लाह दिन्छ। अर्कोतर्फ, येशूले भने एउटा बिलकुलै भिन्न खालको मानसिक झुकाव राख्ने सुझाव दिनुभयो। उहाँले आफ्ना चेलाहरूलाई यसो भन्नुभयो: “कोही मेरोपछि आउने इच्छा गर्दछ भने उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रूस [“शासनाको खम्बा,” NW ] उठाएर मेरोपछि लागोस्।” (मत्ती १६:२४) द न्यु इन्टरप्रेटर्स बाइबल यसो भन्छ: “यो चेला नबनेका व्यक्तिहरूलाई दिइएको निमन्त्रणा नभई ख्रीष्टको बोलावट स्वीकारिसकेकाहरूलाई चेला बन्नुको अर्थबारे मनन गर्न दिइएको निमन्त्रणा हो।” येशूमा विश्वास गर्नेहरूले त्यस पदमा उहाँले बताउनुभएको तीनवटा कदम पछ्याउनुपर्छ। आउनुहोस्, हरेक कदमलाई हामी एक-एक गरी विचार गरौं।
८. आफूलाई इन्कार गर्नुको अर्थ के हो, व्याख्या गर्नुहोस्।
८ पहिलो, हामीले आफूलाई इन्कार गर्नै पर्छ। “आफूलाई इन्कार गर्नु” भन्ने अर्थ बुझाउनको लागि चलाइएको युनानी शब्दले स्वार्थी इच्छाहरू वा व्यक्तिगत सुविधा नकार्ने इच्छुकतालाई सङ्केत गर्छ। आफूलाई इन्कार गर्नुको अर्थ आक्कलझुक्कल मात्र कुनै-कुनै मोजमज्जालाई त्याग्नु होइन; न त यसको अर्थ जोगी बन्नु वा आफूलाई हानि पुग्ने हदसम्म सम्पूर्ण कुराहरूबाट वञ्चित गराउनु नै हो। हामीले आफ्नो सारा जीवन र हामीले गर्ने सम्पूर्ण कामहरू खुसीसाथ यहोवालाई सुम्पिसकेको हुँदा अब हामी ‘आफ्नै होइनौं।’ (१ कोरिन्थी ६:१९, २०) हाम्रो जीवन आफ्नै इच्छाहरू पूरा गर्नमा मात्र केन्द्रित हुनुको सट्टा परमेश्वरमा केन्द्रित हुन्छ। आफूलाई इन्कार गर्नु भन्नाले परमेश्वरको इच्छा गर्ने कटिबद्धता बुझिन्छ र कहिलेकाहीं यो हाम्रो असिद्ध झुकावको ठीक विपरीत पनि हुन सक्छ। परमेश्वरप्रति समर्पण गरेर बप्तिस्मा लिंदा हामी उहाँप्रति मात्र भक्त छौं भन्ने कुरा देखाउँछौं। त्यसपछि हामी जीवनभर आफ्नो समर्पण अनुरूप जिउने कोसिस गर्छौं।
९. (क) येशू पृथ्वीमा हुनुहुँदा शासनाको खम्बाले कुन कुरालाई सङ्केत गर्थ्यो? (ख) हामी कुन अर्थमा आफ्नो शासनाको खम्बा उठाउँछौं?
९ दोस्रो कदम हो, हामीले आफ्नो शासनाको खम्बा उठाउनै पर्छ। प्रथम शताब्दीमा शासनाको खम्बाले दुःख, लाज र मृत्युलाई सङ्केत गर्थ्यो। साधारणतया, अपराधीहरूलाई मात्र शासनाको खम्बामा मृत्युदण्ड दिइन्थ्यो वा तिनीहरूको लासलाई खम्बामा झुण्ड्याइन्थ्यो। यस अभिव्यक्तिद्वारा येशूले एक जना मसीही सतावट, घृणा वा मृत्युसमेत स्वीकार्न तयार हुनुपर्छ भनेर देखाउनुभयो किनभने तिनी यस संसारका भाग होइनन्। (यूहन्ना १५:१८-२०) हाम्रो मसीही स्तरले हामीलाई अलग्गै छुट्ट्याउँछ, त्यसैले संसारले ‘हाम्रो विषयमा खराबी बोल्न’ सक्छ। (१ पत्रुस ४:४) स्कूलमा, काम गर्ने ठाउँमा वा परिवार भित्रै समेत यस्तो हुन सक्छ। (लूका ९:२३) यद्यपि, हामी संसारले गर्ने घृणा सहन तयार छौं किनभने हामी आफ्नो लागि बाँच्दैनौं। येशूले यसो भन्नुभयो: “धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूलाई मेरो खातिर निन्दा गर्नेछन्, र खेदो गर्नेछन्, र हरेक किसिमको खराबी कुरा तिमीहरूका विरुद्धमा बोल्नेछन्। तब रमाओ, र अत्यन्त खुशी होओ। किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ।” (मत्ती ५:११, १२) अवश्य पनि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको परमेश्वरको निगाह प्राप्त गर्नु हो।
१०. येशूको पछि लागिरहनुमा कुन कुरा समावेश छ?
१० तेस्रो, हामी उहाँको पछि लागिरहनै पर्छ भनी येशू ख्रीष्टले बताउनुभयो। डब्लु. ई. भाइनको एन एक्सपोजिटरी डिक्सनरी अफ न्यु टेस्टामेन्ट वर्डस्-अनुसार पछि लाग्नुको अर्थ साथी बन्नु अर्थात् “एउटै मार्गमा हिंड्नु” हो। पहिलो यूहन्ना २:६ यसो भन्छ: “[परमेश्वरमा] रहन्छु भन्नेले आफै पनि [ख्रीष्टको] चालअनुसार चल्नुपर्छ।” येशू कसरी चल्नुभयो अर्थात् हिंड्नुभयो? स्वर्गमा बस्नुहुने आफ्नो पिता र आफ्ना चेलाहरूप्रति येशूको प्रेममा स्वार्थको छाँयासमेत पनि थिएन। “ख्रीष्टले पनि आफैलाई खुश तुल्याउनुभएन” भनी पावलले लेखे। (रोमी १५:३) थकित महसुस गर्दा वा भोकाउँदा समेत येशूले अरूका आवश्यकताहरूलाई प्राथमिकता दिनुभयो। (मर्कूस ६:३१-३४) येशूले परमेश्वरको राज्यको प्रचार गर्ने तथा सिकाउने कार्य पनि मरिमेटेर गर्नुभयो। ‘सबै देशका जातिहरूलाई चेला बनाउने र येशूले आज्ञा गर्नुभएका सबै काम गर्न तिनीहरूलाई सिकाउने’ हाम्रो जिम्मेवारी जोसिलो भई पूरा गर्दा के हामीले उहाँको अनुकरण गर्नु पर्दैन र? (मत्ती २८:१९, २०) आफ्नो सबै आचरणमा ख्रीष्टले हाम्रो लागि एउटा उदाहरण छोड्नुभयो र हामी सकेसम्म हुबहु “उहाँको पाइलामा टेकेर” हिंड्नै पर्छ।—१ पत्रुस २:२१.
११. हामीले आफूलाई इन्कार गर्नु, आफ्नो शासनाको खम्बा उठाउनु र येशू ख्रीष्टको पछि लागिरहनु किन महत्त्वपूर्ण छ?
११ हामीले आफूलाई इन्कार गर्नु, आफ्नो शासनाको खम्बा उठाउनु र हाम्रो महान् उदाहरण येशू ख्रीष्टको पछि लागिरहनु अत्यावश्यक छ। यसो गर्दा हामी स्वार्थलाई हटाउन सक्छौं किनभने आत्म-त्यागी प्रेम देखाउनमा सबैभन्दा ठूलो अवरोध नै स्वार्थ हो। साथै, येशूले यसो भन्नुभयो: “जसले आफ्नो प्राण जोगाउने इच्छा गर्ला, उसले त्यो गुमाउनेछ, तर जसले आफ्नो प्राण मेरो निम्ति गुमाउला, उसले त्यो पाउनेछ। किनकि सिङ्गै पृथ्वी प्राप्त गरेर आफ्नो प्राण चाहिं गुमाउँछ भने, मानिसलाई के लाभ हुनेछ र? अथवा आफ्नो प्राणको बदलामा मानिसले के देला र?”—मत्ती १६:२५, २६.
हामी दुई मालिकको सेवा गर्न सक्दैनौं
१२, १३. (क) येशूसित सल्लाह माग्ने जवान शासक कुन कुरा थाह पाउन इच्छुक थिए? (ख) ती जवान मानिसलाई येशूले कस्तो सल्लाह दिनुभयो र किन?
१२ आफूलाई इन्कार गर्नुको आवश्यकताबारे येशूले आफ्ना चेलाहरूलाई बताउनुभएको केही महिनापछि एक जना धनी जवान शासक उहाँकहाँ आएर यसो भने: “हे गुरु, अनन्त जीवन पाउनलाई मैले के असल काम गर्नुपर्छ?” येशूले तिनलाई ‘आज्ञाहरू पालन गरिरह’ भन्नुभयो र ती आज्ञाहरूमध्ये केही उल्लेख गर्नुभयो। ती जवान मानिसले यसो भने: “यी सब ता मैले पालन गर्दै आएको छु।” यी मानिस निष्कपट देखिन्थे र दिलोज्यानले व्यवस्थाका आज्ञाहरू पालन गरेका थिए। त्यसैले तिनले सोधे: “अझ मैले के गर्न बाँकी छ र?” यसको प्रत्युत्तरमा येशूले ती जवान मानिसलाई एउटा अनौठो निमन्त्रणा दिंदै यसो भन्नुभयो: “तिमी सिद्ध [“पूर्ण,” न्यु अमेरिकन स्ट्याण्डर्ड बाइबल] हुने इच्छा गर्छौ भने गएर तिमीसित जो छ, सबै बेचेर दरिद्रहरूलाई देऊ, औ तिमीलाई स्वर्गमा धन मिल्नेछ र आएर मेरोपछि लाग।”—मत्ती १९:१६-२१.
१३ ती जवान मानिसले आफ्नो सारा प्राणले यहोवालाई सेवा गर्ने हो भने तिनले आफ्नो जीवनको सबैभन्दा ठूलो अवरोध अर्थात् आफ्नो भौतिक धनसम्पत्तिलाई पन्छाउनुपर्ने आवश्यकता येशूले देख्नुभयो। ख्रीष्टको साँचो चेलाले दुई मालिकको सेवा गर्न सक्दैनन्। तिनले “परमेश्वर र धन दुवैको चाकरी गर्न” सक्दैनन्। (मत्ती ६:२४) तिनीसित आध्यात्मिक कुराहरूमा केन्द्रित ‘निर्मल आँखा’ हुनुपर्छ। (मत्ती ६:२२) आफ्नो धनसम्पत्ति पन्छाउनु र ती गरिबहरूलाई दिनु आत्म-त्यागी काम हो। यो भौतिक त्यागको बदलामा येशूले ती जवान शासकलाई स्वर्गमा धनसम्पत्ति थुपार्ने अनमोल सुअवसर दिनुभयो—यो यस्तो धनसम्पत्ति थियो जसले तिनलाई अनन्त जीवन दिनुका साथै अन्ततः ख्रीष्टसित स्वर्गमा शासन गर्ने प्रत्याशातर्फ लैजाने थियो। ती जवान मानिस आफूलाई इन्कार गर्न तयार थिएनन्। “ती जवान मानिस . . . दुःखित भएर गइहाले किनकि तिनी धेरै धन-सम्पत्ति भएका मानिस थिए।” (मत्ती १९:२२) तथापि, येशूका अरू अनुयायीहरूले भने योभन्दा भिन्नै प्रतिक्रिया देखाए।
१४. आफ्नो पछि लाग्न येशूले दिनुभएको निमन्त्रणाप्रति चार जना जलाहारीले कस्तो प्रतिक्रिया देखाए?
१४ लगभग दुई वर्षअघि येशूले पत्रुस, अन्द्रियास, याकूब र यूहन्ना नाउँका चार जना जलाहारीलाई पनि यस्तै निमन्त्रणा दिनुभएको थियो। त्यतिबेला दुई जना माछा मार्दै थिए भने अरू दुई जना चाहिं आफ्नो जाल मर्मत गर्नमा व्यस्त थिए। येशूले तिनीहरूलाई यसो भन्नुभयो: “मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका जलाहारी तुल्याउनेछु।” पछि गएर ती चारै जनाले माछा मार्ने आफ्नो पेसा छोडे अनि बाँकी जीवनभर येशूको पछि लागे।—मत्ती ४:१८-२२.
१५. येशूको पछि लाग्न वर्तमान समयको एक जना यहोवाको साक्षीले कस्तो त्याग गरिन्?
१५ आज थुप्रै मसीहीहरूले त्यो धनी जवान शासकको नभई चार जना जलाहारीको उदाहरण अनुकरण गरेका छन्। यहोवाको सेवा गर्नको लागि तिनीहरूले यस संसारमा धनसम्पत्ति र नाउँ कमाउने मौकालाई त्यागेका छन्। “म २२ वर्षकी हुँदा मैले ठूलो निर्णय गर्नुपऱ्यो” भनी डेबोरा बताउँछिन्। तिनी यसो भन्छिन्: “मलै बाइबल अध्ययन गरेको लगभग छ महिना भएको थियो र म आफ्नो जीवन यहोवालाई समर्पण गर्न चाहन्थें तर मेरो परिवारले असाध्यै विरोध गऱ्यो। तिनीहरू करोडपति थिए र म साक्षी बनें भने तिनीहरूको सामाजिक प्रतिष्ठामा आँच आउनेछ भन्ठाने। सुखसयलको जीवन वा सच्चाइ—दुईमध्ये एक रोज्न तिनीहरूले मलाई २४ घण्टाको समय दिए। मैले साक्षीहरूसितको आफ्नो सबै सम्बन्ध नटुटाएमा मेरो परिवारले मलाई केही पनि अंश दिने थिएन। यहोवाले मलाई सही निर्णय गर्न मदत दिनुभयो अनि यो निर्णयअनुसार काम गर्ने बल पनि दिनुभयो। बितेका ४२ वर्ष मैले पूर्ण-समय सेवामा बिताएकी छु र मैले जुन निर्णय गरें, त्यसमा मलाई कुनै पछुतो छैन। स्वार्थी र विलासी जीवन शैलीप्रति पीठ फर्काएको कारण म आफ्नो परिवारका सदस्यहरूमा देखिनेजस्तो खोक्रोपना र दुःखबाट बचें। मेरो श्रीमान्सित मिलेर मैले सय जनाभन्दा बढी व्यक्तिलाई सच्चाइ सिक्न मदत गरेकी छु। यी आध्यात्मिक छोराछोरीहरू मेरो लागि कुनै पनि भौतिक धनसम्पत्तिभन्दा बहुमूल्य छन्।” यहोवाका अरू लाखौं साक्षीहरू तिनका भावनासित सहमत छन्। तपाईं नि?
१६. हामी आफ्नो लागि बाँच्दैनौं भन्ने कुरा हामी कसरी देखाउन सक्छौं?
१६ आफ्नो लागि नबाँच्ने तिनीहरूको इच्छाले हजारौं यहोवाका साक्षीहरूलाई अग्रगामी अर्थात् परमेश्वरको राज्यको पूर्ण-समय उद्घोषकको रूपमा सेवा गर्न उत्प्रेरित गरेको छ। आफ्नो परिस्थितिको कारण पूर्ण-समय सेवकाईमा भाग लिन नसक्ने अरूले भने अग्रगामी मनोभाव खेती गर्छन् र परमेश्वरको राज्यको प्रचार कार्यलाई आफ्नो क्षमताले भ्याएसम्म समर्थन गर्छन्। आफ्ना छोराछोरीहरूलाई आध्यात्मिक प्रशिक्षण दिन आफ्नो निकै समय दिएर तथा व्यक्तिगत इच्छाहरू त्यागेर आमाबाबुहरूले पनि यस्तै मनोभाव देखाउँछन्। परमेश्वरको राज्यसम्बन्धी गतिविधिलाई हामीले प्राथमिकता दिएका छौं भन्ने कुरा हामी सबैले कुनै न कुनै तरिकामा देखाउन सक्छौं।—मत्ती ६:३३.
कसको प्रेमले हामीलाई करमा पार्छ?
१७. कुन कुराले हामीलाई त्यागहरू गर्न उत्पेरित गर्छ?
१७ आत्म-त्यागी प्रेम देखाउनु सबैभन्दा सजिलो मार्ग होइन। तर कुन कुराले हामीलाई करमा पार्छ, त्यो विचार गर्नुहोस्। पावलले यस्तो लेखे: “ख्रीष्टको प्रेमले हामीलाई करमा पार्दछ, किनभने हामी यसरी विचार गर्छौं, कि . . . उहाँ सबैका निम्ति मर्नुभयो, र अब बाँच्नेहरूले आफू आफू बाँच्ने होइन, तर उहाँको निम्ति बाँच्नुपर्छ जो तिनीहरूका खातिर मर्नुभयो, र फेरि बिउँतनु पनि भयो।” (२ कोरिन्थी ५:१४, १५) ख्रीष्टको प्रेमले हामीलाई आफ्नो लागि नबाँच्न करमा पार्छ। कत्ति प्रभावशाली उत्प्रेरणा! ख्रीष्ट हाम्रो निम्ति मर्नुभएकोले के हामी उहाँको निम्ति बाँच्नुपर्ने नैतिक जिम्मेवारी महसुस गर्दैनौं र? वास्तवमा, परमेश्वर र ख्रीष्टले हामीप्रति देखाउनुभएको प्रेमको गहिराइले नै हामीलाई परमेश्वरमा आफ्नो जीवन समर्पण गर्न र ख्रीष्टको चेला बन्न उत्प्रेरित गऱ्यो।—यूहन्ना ३:१६; १ यूहन्ना ४:१०, ११.
१८. आत्म-त्यागी मार्ग किन सार्थक छ?
१८ आफ्नो लागि नबाँच्नु के सार्थक छ र? ख्रीष्टको निमन्त्रणा अस्वीकार गरेर धनी जवान शासक गइसकेपछि पत्रुसले येशूलाई यसो भने: “हेर्नुहोस् हामीले ता सबै थोक छोडेर तपाईंका पछि लाग्यौं हामीले के पाउनेछौं?” (मत्ती १९:२७) पत्रुस र अरू प्रेरितहरूले आफूलाई साँच्चै इन्कार गरेका थिए। तिनीहरूले कस्तो इनाम पाउने थिए? पहिला, तिनीहरूले येशूसित स्वर्गमा शासन गर्न पाउने सुअवसरबारे उहाँले बताउनुभयो। (मत्ती १९:२८) आफ्ना सबै अनुयायीहरूले आनन्द उठाउन सक्ने आशिष्हरूलाई पनि येशूले त्यति नै बेला बताउनुभयो। उहाँले यसो भन्नुभयो: “जसले मेरो खातिर र सुसमाचारको खातिर घर कि दाजुभाइ, कि दिदीबहिनी, कि आमा, कि बाबु, कि बालबच्चाहरू कि जग्गा-जमीन छोड्छ त्यसले खेदोको साथसाथ सय गुणा बढ्ता . . . अहिले यही समयमा पाउनेछ, र आउँदो जगत्मा अनन्त जीवन।” (मर्कूस १०:२९, ३०) हामी आफूले त्यागेका कुराहरूभन्दा पनि बढी पाउँछौं। हाम्रा आध्यात्मिक बुबा, आमा, दाजुभाइ, दिदीबहिनी र बालबच्चाहरू परमेश्वरको राज्यको खातिर हामीले त्यागेका कुनै पनि कुराभन्दा बढी मूल्यवान् छैनन् र? कसको जीवन बढ्ता इनामदायी थियो—पत्रुसको वा धनी जवान शासकको?
१९. (क) साँचो आनन्द कुन कुरामा निर्भर हुन्छ? (ख) अर्को लेखमा हामी कुन कुराबारे विचार गर्नेछौं?
१९ स्वार्थी झुकाव देखाउँदा नभई दिंदा र अरूको सेवा गर्दा आनन्द प्राप्त हुन्छ भन्ने कुरा येशूले आफ्नो वचन र कार्यहरूद्वारा देखाउनुभयो। (मत्ती २०:२८; प्रेरित २०:३५) आफ्नै लागि नबाँची ख्रीष्टको पछि लागिरहँदा अहिले हामी जीवनमा ठूलो सन्तुष्टि पाउँछौं भने भविष्यमा अनन्त जीवन पाउने प्रत्याशा राख्न सक्छौं। निस्सन्देह, हामीले आफूलाई इन्कार गर्दा यहोवा हाम्रो मालिक बन्नुहुन्छ। त्यसैले हामी परमेश्वरका दासहरू बन्छौं। यस्तो दासत्व किन इनामदायी छ? जीवनमा हामीले गर्ने निर्णयहरूलाई यसले कसरी असर गर्छ? अर्को लेखले यी प्रश्नहरूबारे छलफल गर्नेछ।
के तपाईंलाई याद छ?
• हामीले किन आफ्ना स्वार्थी झुकावहरू विरुद्ध सङ्घर्ष गर्नुपर्छ?
• आफूलाई इन्कार गर्नु, आफ्नो शासनाको खम्बा उठाउनु र येशूको पछि लागिरहनुको अर्थ के हो?
• आफ्नो लागि नबाँच्न हामीलाई कुन कुराले उत्प्रेरित गर्छ?
• आत्म-त्यागी जीवन किन सार्थक हुन्छ?
[पृष्ठ ११-मा भएको चित्र]
“परमेश्वरको कृपा रहोस्, प्रभु, यस्तो कुरा तपाईंमाथि कदापि परिआउने छैन”
[पृष्ठ १३-मा भएको चित्र]
कुन कुराले जवान शासकलाई येशूको पछि लाग्नदेखि रोक्यो?
[पृष्ठ १५-मा भएका चित्रहरू]
प्रेमले यहोवाका साक्षीहरूलाई परमेश्वरको राज्यका जोसिला उद्घोषकहरूको रूपमा सेवा गर्न उत्प्रेरित गर्छ