मर्कुसका अनुसार
१० त्यहाँबाट उठेर उहाँ यर्दन नदीपारि यहुदियाको सीमावर्ती इलाकाहरूतिर पुग्नुभयो अनि फेरि मानिसहरूको भीड उहाँकहाँ जम्मा भयो। उहाँले आफ्नो बानीअनुसार तिनीहरूलाई फेरि सिकाउन थाल्नुभयो।+ २ तब फरिसीहरू उहाँकहाँ आए अनि उहाँको परीक्षा लिन “के एक जना पुरुषले आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्नु ठीक हो” भनी सोधे।+ ३ उहाँले तिनीहरूलाई यस्तो जवाफ दिनुभयो: “मोसाले तिमीहरूलाई के आज्ञा दिएका थिए?” ४ तिनीहरूले भने: “मोसाले छोडपत्र लेखेर पत्नीसित सम्बन्धविच्छेद गर्ने अनुमति दिएका थिए।”+ ५ तर येसुले तिनीहरूलाई भन्नुभयो: “तिमीहरूको हृदय कठोर भएकोले+ मोसाले तिमीहरूका लागि यो आज्ञा लेखेका थिए।+ ६ तर सृष्टिको सुरुदेखि नै ‘उहाँले पुरुष र स्त्री बनाउनुभयो।+ ७ यसैकारण पुरुषले आफ्ना बुबा र आमालाई छोड्छ+ ८ र ती दुई एउटै शरीर हुन्छन्।’+ त्यसैले अब तिनीहरू दुई होइनन् तर एउटै शरीर हुन्। ९ त्यसकारण जसलाई परमेश्वरले एकसाथ जोड्नुभएको छ,* त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्।”+ १० उहाँहरू फेरि घरमा भएको बेला चेलाहरूले उहाँलाई यस विषयमा सोध्न थाले। ११ उहाँले तिनीहरूलाई भन्नुभयो: “जसले आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्छ र अर्कीसित विवाह गर्छ, उसले व्यभिचार* गरेर+ आफ्नी पत्नीको हक खोसेको ठहरिन्छ। १२ अनि यदि कुनै स्त्रीले आफ्नो पतिसित सम्बन्धविच्छेद गरेर अर्कोसित विवाह गर्छे भने उसले व्यभिचार गरेको ठहरिन्छ।”+
१३ उहाँले साना केटाकेटीलाई छोइदेऊन् भनेर मानिसहरूले तिनीहरूलाई उहाँकहाँ ल्याउन थाले तर चेलाहरूले उनीहरूलाई हप्काए।+ १४ यो देखेर येसु रिसाउनुभयो र चेलाहरूलाई यसो भन्नुभयो: “साना केटाकेटीलाई मकहाँ आउन देओ, तिनीहरूलाई रोक्न नखोज किनकि परमेश्वरको राज्य यिनीहरूजस्ताकै हो।+ १५ म तिमीहरूलाई साँच्चै भन्छु, जसले परमेश्वरको राज्यलाई एउटा सानो बालकले जस्तैगरि स्विकार्दैन, ऊ कुनै पनि हालतमा त्यहाँ पस्नेछैन।”+ १६ अनि उहाँले ती केटाकेटीलाई आफ्नो अङ्गालोमा लिनुभयो र तिनीहरूमाथि आफ्नो हात राखेर आशिष् दिन थाल्नुभयो।+
१७ उहाँ बाटोमा हिँडिरहनुभएको बेला एक जना मानिस दौडेर आयो र उहाँसामु घुँडा टेकेर सोध्यो: “हे असल गुरु, अनन्त जीवन पाउन मैले के गर्नुपर्छ?”+ १८ येसुले उसलाई भन्नुभयो: “तिमी किन मलाई असल भन्छौ? असल त परमेश्वरबाहेक अरू कोही छैन।+ १९ तिमीलाई यी आज्ञाहरू त थाहै होला: ‘हत्या नगर्नू,+ व्यभिचार नगर्नू,+ चोरी नगर्नू,+ झूटो साक्षी नदिनू,+ जालसाजी नगर्नू,+ तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू।’”+ २० त्यस मानिसले उहाँलाई भन्यो: “गुरुज्यू, यी सब त मैले सानैदेखि पालन गर्दै आएको छु।” २१ तब येसुले उसलाई हेर्नुभयो र उहाँको मनमा माया पलायो अनि उसलाई यसो भन्नुभयो: “तिमीमा एउटा कुरा अपुग छ। जाऊ, आफूसित भएको चिजबिज बेचेर गरिबहरूलाई बाँडिदेऊ र तिमीले स्वर्गमा धनसम्पत्ति पाउनेछौ अनि आएर मेरो पछि लाग।”+ २२ यो सुनेर ऊ दुःखी हुँदै आफ्नो बाटो लाग्यो किनकि ऊसित धेरै धनसम्पत्ति थियो।+
२३ वरपर हेरेपछि येसुले आफ्ना चेलाहरूलाई भन्नुभयो: “पैसावालहरूलाई परमेश्वरको राज्यमा पस्न साँच्चै कठिन हुनेछ!”+ २४ उहाँको कुरा सुनेर चेलाहरू छक्क परे। त्यसैले येसुले तिनीहरूलाई फेरि भन्नुभयो: “बाबु हो, परमेश्वरको राज्यमा पस्नु साँच्चै कठिन कुरा हो! २५ धनी मानिसलाई परमेश्वरको राज्यमा पस्नभन्दा त उँटलाई सियोको नाथ्रीबाट छिर्न नै सजिलो हुन्छ।”+ २६ यो सुनेर चेलाहरू झनै छक्क परे र उहाँलाई सोधे:* “त्यसोभए के कसैले उद्धार पाउन सक्ला त?”+ २७ येसुले सीधै तिनीहरूलाई हेरेर भन्नुभयो: “मानिसहरूको लागि यो असम्भव छ तर परमेश्वरको लागि छैन। किनकि परमेश्वरको लागि सबै कुरा सम्भव छ।”+ २८ तब पत्रुसले उहाँलाई भन्न थाले: “हेर्नुहोस्! हामी सबै कुरा छोडेर तपाईँको पछि लागेका छौँ।”+ २९ येसुले भन्नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, मेरो र सुसमाचारको खातिर जसले घर वा दाजुभाइ वा दिदीबहिनी वा आमा वा बुबा वा छोराछोरी वा जग्गा-जमिन छोड्छ,+ ३० उसले अहिले खेदोका साथै १०० गुणा घर, दाजुभाइ, दिदीबहिनी, आमा, छोराछोरी र जग्गा-जमिन पाउनेछ+ अनि आउने युगमा* अनन्त जीवन पाउनेछ। ३१ तर धेरै जना जो पहिला छन्, ती पछिल्ला हुनेछन् र जो पछिल्ला छन्, ती पहिला हुनेछन्।”+
३२ तिनीहरू यरुसलेमतर्फ उक्लँदै थिए र येसुचाहिँ तिनीहरूको अघिअघि हिँड्दै हुनुहुन्थ्यो। तिनीहरू छक्क परे अनि उहाँको पछिपछि आइरहेका मानिसहरू डराउन थाले। उहाँले फेरि ती १२ जनालाई अलग्गै लैजानुभयो र उहाँमाथि आइपर्न लागेका यी कुराहरू बताउन थाल्नुभयो:+ ३३ “हेर! हामी यरुसलेमतर्फ उक्लँदै छौँ, मानिसको छोरालाई मुख्य पुजारीहरू र शास्त्रीहरूको हातमा सुम्पिइनेछ अनि तिनीहरूले उसलाई मृत्युदण्ड दिनेछन् र अन्यजातिका मानिसहरूको हातमा सुम्पिनेछन् ३४ अनि तिनीहरूले उसको गिल्ला गर्नेछन्, उसलाई थुक्नेछन्, कोर्रा लगाउनेछन् र मार्नेछन् तर तीन दिनपछि ऊ ब्युँतनेछ।”+
३५ तब जब्दिका दुई छोरा याकुब र युहन्ना+ उहाँकहाँ आए र यसो भने: “हे गुरु, हामी तपाईँसित जे माग्छौँ, हाम्रो लागि त्यो पूरा गरिदिनुहोस् भन्ने हामी चाहन्छौँ।”+ ३६ उहाँले तिनीहरूलाई सोध्नुभयो: “मैले तिमीहरूका लागि के गरिदिएको तिमीहरू चाहन्छौ?” ३७ तिनीहरूले उहाँलाई भने: “तपाईँले महिमित ओहदा पाउनुहुँदा हामीमध्ये एक जनालाई तपाईँको दाहिने हाततिर र अर्कोलाई देब्रे हाततिर बस्न दिनुहोस्।”+ ३८ तर येसुले तिनीहरूलाई भन्नुभयो: “तिमीहरू के माग्दै छौ, त्यो तिमीहरू जान्दैनौ। मैले पिइरहेको कचौरा के तिमीहरू पिउन सक्छौ? अथवा मैले जुन बप्तिस्मा गरिरहेको छु, के तिमीहरू त्यो बप्तिस्मा गर्न सक्छौ?”+ ३९ तिनीहरूले उहाँलाई भने: “सक्छौँ।” अनि येसुले तिनीहरूलाई भन्नुभयो: “मैले पिउन लागेको कचौरा तिमीहरूले पिउनेछौ र मैले गर्न लागेको बप्तिस्मा तिमीहरूले पनि गर्नेछौ।+ ४० तर मेरो दाहिने वा देब्रे हाततिर बस्न दिने अधिकार मसित छैन। जसको लागि त्यो तयार पारिएको छ, ऊ नै त्यहाँ बस्नेछ।”
४१ जब बाँकी १० जनाले यो कुरा सुने, तब तिनीहरू याकुब र युहन्नासित असाध्यै रिसाए।+ ४२ तर येसुले तिनीहरूलाई आफूकहाँ बोलाएर यसो भन्नुभयो: “तिमीहरूलाई थाहै छ, संसारका शासकहरूले आफ्ना जनतामाथि हैकम चलाउँछन् र तिनीहरूका ठूलाबडाहरूले तिनीहरूमाथि अख्तियार जमाउँछन्।+ ४३ तर तिमीहरूबीच भने यस्तो हुनु हुँदैन; तिमीहरूमाझ जो ठूलो हुन चाहन्छ, ऊ तिमीहरूको सेवक हुनुपर्छ।+ ४४ अनि तिमीहरूमाझ जो पहिलो हुन चाहन्छ, ऊ सबैको दास हुनुपर्छ। ४५ किनकि मानिसको छोरा पनि सेवा पाउन होइन तर सेवा गर्न+ र धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिन आयो।”+
४६ तब उहाँहरू यरिहो पुग्नुभयो। अनि उहाँ, उहाँका चेलाहरू र मानिसहरूको भीड यरिहोबाट निस्कँदै गर्दा बर्तिमै (तिमैको छोरा) नाम गरेको अन्धो माग्ने बाटोको छेउमा बसिरहेको थियो।+ ४७ उसले नासरी येसु त्यही बाटो भएर हिँड्दै हुनुहुन्छ भनी सुनेपछि यसो भन्दै कराउन थाल्यो: “हे दाउदका छोरा+ येसु, ममाथि कृपा गर्नुहोस्!”+ ४८ अनि थुप्रै मानिसले उसलाई “चुप लाग्” भन्दै हप्काउन थाले तर ऊ भने यसो भन्दै झन् चिच्याइरह्यो: “हे दाउदका छोरा, ममाथि कृपा गर्नुहोस्!” ४९ त्यसैले येसु रोकिनुभयो र भन्नुभयो: “उसलाई मकहाँ बोलाओ।” अनि तिनीहरूले त्यस अन्धो मानिसलाई बोलाउँदै यसो भने: “साहस गर। उठ, उहाँले तिमीलाई बोलाउँदै हुनुहुन्छ।” ५० तब आफ्नो लुगा फ्याँक्दै बुर्लुक्क उफ्रेर ऊ येसुकहाँ गयो। ५१ येसुले उसलाई सोध्नुभयो: “मैले तिम्रो लागि के गरिदिएको तिमी चाहन्छौ?” त्यो अन्धो मानिसले भन्यो: “गुरुज्यू,* मैले फेरि दृष्टि पाऊँ।” ५२ येसुले उसलाई भन्नुभयो: “जाऊ, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।”+ अनि उत्तिखेरै उसले देख्न थाल्यो+ र ऊ उहाँको पछिपछि लाग्न थाल्यो।