अध्ययन लेख ४२
गीत १०३ गोठालाहरू—वरदानको रूपमा पुरुषहरू
‘वरदानको रूपमा दिइएका पुरुषहरूप्रति’ कृतज्ञ भएको देखाउनुहोस्
“उहाँ जब माथि उक्लनुभयो, . . . तब उहाँले वरदानको रूपमा पुरुषहरू दिनुभयो।”—एफि. ४:८.
सिक्न सकिने कुरा
सहायक सेवक, एल्डर र क्षेत्रीय निरीक्षकहरू हामीलाई कसरी मदत गर्छन्? हामी तिनीहरूप्रति कृतज्ञ भएको कसरी देखाउन सक्छौँ?
१. येसुले हामीलाई कस्ता उपहारहरू दिनुभएको छ?
उदारता देखाउने सन्दर्भमा येसुले उत्कृष्ट उदाहरण बसाल्नुभएको छ। पृथ्वीमा हुनुहुँदा उहाँले चमत्कारहरू गरेर मानिसहरूलाई मदत गर्नुभयो। (लुका ९:१२-१७) उहाँले हाम्रो लागि आफ्नो ज्यान अर्पण गर्नुभयो। हाम्रो लागि योभन्दा ठूलो उपहार अरू हुन सक्दैन। (युह. १५:१३) फेरि जीवित हुनुभएपछि पनि उहाँले उदारता देखाइरहनुभएको छ। हामीलाई सिकाउन र सान्त्वना दिन उहाँले यहोवासित पवित्र शक्ति मागिदिने प्रतिज्ञा गर्नुभएको थियो र त्यो प्रतिज्ञा उहाँले पूरा गर्नुभएको छ। (युह. १४:१६, १७, फुटनोट; १६:१३) सबै जातिका मानिसहरूलाई चेला बनाउन हामीलाई चाहिने मदत उहाँले सभाहरूमार्फत दिइरहनुभएको छ।—मत्ति २८:१८-२०.
२. एफिसी ४:७, ८ मा बताइएका ‘वरदानको रूपमा दिइएका पुरुषहरूमा’ को-को पर्छन्?
२ येसुले हामीलाई दिनुभएको अर्को एउटा उपहारबारे विचार गरौँ। येसु जब स्वर्गमा उक्लनुभयो, तब उहाँले “वरदानको रूपमा पुरुषहरू दिनुभयो” भनेर प्रेषित पावलले लेखे। (एफिसी ४:७, ८ पढ्नुहोस्।) उहाँले मण्डलीलाई विभिन्न तरिकामा मदत गर्न ती पुरुषहरू वरदानको रूपमा दिनुभयो भनेर तिनले बताए। (एफिसी १:२२, २३; ४:११-१३) ती पुरुषहरूमा सहायक सेवक, एल्डर र क्षेत्रीय निरीक्षकहरू पर्छन्।a हुनत तिनीहरू त्रुटिपूर्ण छन् र गल्तीहरू गर्छन्। (याकु. ३:२) तर हाम्रा प्रभु येसु ख्रिष्टले हामीलाई मदत गर्न तिनीहरूलाई प्रयोग गर्नुहुन्छ। त्यसैले तिनीहरू हाम्रो लागि वरदान हुन्।
३. ‘वरदानको रूपमा दिइएका पुरुषहरूलाई’ हामी कसरी सघाउन सक्छौँ, एउटा उदाहरण बताउनुहोस्।
३ येसुले ‘वरदानको रूपमा दिइएका पुरुषहरूलाई’ एउटा महत्त्वपूर्ण जिम्मेवारी सुम्पनुभएको छ। त्यो हो, मण्डलीलाई बलियो बनाउने। (एफि. ४:१२) तर यो महत्त्वपूर्ण काम पूरा गर्न हामी सबैले तिनीहरूलाई मदत गर्न सक्छौँ। उदाहरणको लागि, एउटा सभाभवन निर्माणकार्यलाई विचार गरौँ। कसै-कसैले सभाभवन निर्माण गर्दा साइटमै गएर काम गर्छन्। अरूले भने खानेकुरा पकाइदिएर, सामानहरू ओसारपसार गरेर र अरू विभिन्न कामहरू गरिदिएर त्यस कामलाई सघाउँछन्। त्यसरी नै हामीले आफ्नो बोली र व्यवहारद्वारा सहायक सेवक, एल्डर र क्षेत्रीय निरीक्षकहरूलाई सघाउन सक्छौँ। आउनुहोस्, हामी यी प्रश्नहरू विचार गरौँ: तिनीहरूको कडा मेहनतबाट हामी कसरी लाभ उठाउँछौँ? हामी तिनीहरूप्रति र हामीलाई “वरदानको रूपमा पुरुषहरू” दिनुहुने येसुप्रति कृतज्ञ भएको कसरी देखाउन सक्छौँ?
सहायक सेवकहरू “मदत” गर्छन्
४. प्रथम शताब्दीमा सहायक सेवकहरूले के-कस्ता कामहरूमा “मदत” गरे?
४ प्रथम शताब्दीमा केही भाइहरूलाई सहायक सेवक नियुक्त गरिएको थियो। (१ तिमो. ३:८) पावलले बताएको “मदत गर्नेहरू”-मा ती भाइहरू नै पर्थे जस्तो देखिन्छ। (१ कोरि. १२:२८) तिनीहरूले मण्डलीका विभिन्न महत्त्वपूर्ण कामकुरा सम्हाल्थे ताकि एल्डरहरूले सिकाउने र गोठालो गर्ने काममा ध्यान दिन सकून्। जस्तै: सहायक सेवकहरूले धर्मशास्त्रको प्रतिलिपि बनाउन मदत गरेका हुन सक्छन् वा त्यसको लागि आवश्यक सरसामान किन्न सघाएका हुन सक्छन्।
५. अहिले सहायक सेवकहरू मण्डलीमा के-कस्ता कामहरू गर्छन्?
५ अहिले सहायक सेवकहरूले मण्डलीमा के-कस्ता कामहरू गर्छन्, विचार गरौँ। (१ पत्रु. ४:१०) तिनीहरूलाई लेखा वा इलाकासम्बन्धी काम गर्न, साहित्य अर्डर गर्न, प्रकाशकहरूलाई साहित्य दिन, अडियो-भिडियो उपकरणहरू चलाउन, परिचारकको काम गर्न वा सभाभवन स्याहारसम्भार गर्न खटाइन सक्छ। मण्डली सुचारु रूपमा चल्न यी कामहरू नगरी हुँदैन। (१ कोरि. १४:४०) साथै केही सहायक सेवकहरूले जीवन र सेवा सभामा भाषण दिने वा छलफलको भाग सञ्चालन गर्ने जिम्मेवारी पाउँछन् र केहीले जनभाषण पनि दिन्छन्। कुनै-कुनै सहायक सेवकलाई समूह निरीक्षकको सहायकको रूपमा खटाइन सक्छ। कहिलेकाहीँ एल्डरहरूले योग्य सहायक सेवकहरूलाई आफूसितै गोठालो भेटमा लैजान्छन्।
६. हामी किन सहायक सेवकहरूप्रति कृतज्ञ छौँ?
६ सहायक सेवकहरूले मण्डलीमा गर्ने कामबाट केहीले कस्तो लाभ उठाएका छन्? बोलिभियाकी बेबर्लीb भन्छिन्: “म सहायक सेवकहरूलाई धन्यवाद दिन चाहन्छु। किनभने उहाँहरूले गर्दा मैले सभाहरूबाट पूरापूर लाभ उठाउन सकेकी छु। उहाँहरूले विभिन्न काम गर्नुभएकोले मैले सभामा गीतहरू गाउन, टिप्पणीहरू दिन, भाषणहरू सुन्न र भिडियो अनि चित्रहरूबाट सिक्न सकेकी छु। उहाँहरू सभामा आएका व्यक्तिहरूको सुरक्षामा ध्यान दिनुहुन्छ र सभाभवनमै उपस्थित हुन नसक्नेहरूलाई भिडियो कन्फरेन्समार्फत जोडिन मदत गर्नुहुन्छ। सभा सकिएपछि उहाँहरू सरसफाइको काममा नेतृत्व लिनुहुन्छ, लेखाको काम गर्नुहुन्छ अनि हामीले खोजेको साहित्य दिनुहुन्छ। म उहाँहरूप्रति साँच्चै कृतज्ञ छु!” लेस्ली बहिनी कोलम्बियामा बस्छिन्। तिनका पति एल्डर हुन्। तिनी यसो भन्छिन्: “मेरो श्रीमान् विभिन्न जिम्मेवारीहरू पूरा गर्न सहायक सेवकहरूको मदत लिनुहुन्छ। उहाँहरू नहुनुभएको भए मेरो श्रीमान् अझै व्यस्त हुनुहुने थियो। सहायक सेवकहरूको जोस र मदत गर्ने इच्छुकताको लागि म उहाँहरूलाई मनैदेखि धन्यवाद दिन चाहन्छु।” तपाईँ पनि पक्कै त्यस्तै महसुस गर्नुहुन्छ होला।—१ तिमो. ३:१३.
७. हामी सहायक सेवकहरूप्रति कृतज्ञ भएको कसरी देखाउन सक्छौँ? (चित्र पनि हेर्नुहोस्।)
७ हुनत हामी सहायक सेवकहरूप्रति कृतज्ञ महसुस गर्छौँ होला। तर बाइबलमा हामीलाई यस्तो आग्रह गरिएको छ: “तिमीहरू कृतज्ञ छौ भनी देखाओ।” (कल. ३:१५) फिनल्याण्डका एक एल्डर क्रिस्टोफ कसरी कृतज्ञता देखाउँछन्? तिनी यसो भन्छन्: “म सहायक सेवकहरूलाई कार्ड वा मेसेज पठाउँछु। त्यसमा म एउटा शास्त्रपद लेख्छु अनि तिनले गरेको कुन कामले गर्दा मैले प्रोत्साहन पाएको छु वा तिनले गरेका कस्ता कामहरूप्रति म कृतज्ञ छु भनेर तोकेरै लेख्छु।” न्यु क्यालेडोनियामा बस्ने पास्कल र जाएल सहायक सेवकहरूको लागि तोकेरै प्रार्थना गर्छन्। पास्कल यसो भन्छन्: “आजकाल हामी सहायक सेवकहरूको लागि मनैदेखि प्रार्थना गर्छौँ। उहाँहरू दिनुभएकोमा हामी यहोवालाई धन्यवाद दिन्छौँ र उहाँहरूलाई मदत गर्नुहोस् भनेर बिन्ती गर्छौँ।” यहोवा त्यस्ता प्रार्थनाहरू सुन्नुहुन्छ र मण्डलीका सबैले लाभ उठाउँछन्।—२ कोरि. १:११.
एल्डरहरू “कडा परिश्रम” गर्छन्
८. प्रथम शताब्दीका एल्डरहरू “कडा परिश्रम” गर्थे भनेर पावलले किन लेखे? (१ थिस्सलोनिकी ५:१२, १३)
८ प्रथम शताब्दीका एल्डरहरूले मण्डलीको लागि कडा परिश्रम गरे। (१ थिस्सलोनिकी ५:१२, १३ पढ्नुहोस्; १ तिमो. ५:१७) तिनीहरू सभाहरू सञ्चालन गरेर अनि एल्डरहरूको निकायको रूपमा विभिन्न निर्णयहरू गरेर मण्डलीमा “नेतृत्व” लिन्थे। मण्डलीलाई जोगाउन तोकेरै तर मायालु ढङ्गमा सल्लाह दिएर तिनीहरू भाइबहिनीलाई “सम्झाइबुझाइ” गर्थे। (१ थिस्स. २:११, १२; २ तिमो. ४:२) साथै एल्डरहरू आफ्नो परिवारको पालनपोषण गर्न र तिनीहरूलाई आध्यात्मिक रूपमा बलियो बनाइ राख्न मेहनत गर्थे।—१ तिमो. ३:२, ४; ति. १:६-९.
९. एल्डरहरू के-कस्ता जिम्मेवारीहरू सम्हाल्छन्?
९ एल्डरहरू व्यस्त छन्। तिनीहरू प्रचारकको काम गर्छन्। (२ तिमो. ४:५) तिनीहरू साक्षीकार्यमा जोसिलो भई नेतृत्व लिन्छन्, साक्षीकार्यलाई व्यवस्थित पार्छन् र प्रभावकारी तरिकामा सुसमाचार सुनाउन र सिकाउन हामीलाई तालिम दिन्छन्। तिनीहरू कृपालु र निष्पक्ष तरिकामा न्याय गर्ने काम पनि गर्छन्। कुनै भाइबहिनीले गम्भीर पाप गर्दा एल्डरहरू तिनलाई यहोवासितको सम्बन्ध सुधार्न मदत गर्छन्। त्यसको साथै गम्भीर पाप गर्ने व्यक्तिको नराम्रो असर मण्डलीमा नपरोस् भनेर पनि तिनीहरू होसियार हुन्छन्। (१ कोरि. ५:१२, १३; गला. ६:१) एल्डरहरूको मुख्य काम भनेको परमेश्वरको बगाललाई गोठालोले झैँ हेरचाह गर्नु हो। (१ पत्रु. ५:१-३) तिनीहरू राम्ररी तयारी गरेर बाइबलआधारित भाषणहरू दिन्छन्, मण्डलीका सबैलाई चिन्ने प्रयास गर्छन् अनि गोठालो भेटहरू गर्छन्। केही एल्डरहरू अरू विभिन्न काममा मदत गर्छन्। जस्तै: सभाभवनको निर्माण तथा स्याहारसम्भारमा, अधिवेशनको व्यवस्थापनमा, अस्पताल सम्पर्क समितिमा र बिरामी भेट्ने समूहमा। हो, एल्डरहरू हाम्रो लागि कडा मेहनत गर्छन्!
१०. हामी किन एल्डरहरूप्रति कृतज्ञ छौँ?
१० एल्डरहरूले हाम्रो साँच्चै ख्याल राख्नेछन् र हामी “कुनै कुरादेखि डराउनुपर्ने वा त्रसित हुनुपर्नेछैन” भनेर यहोवाले भविष्यवाणी गर्नुभएको थियो। (यर्मि. २३:४) फिनल्याण्डकी एउटी बहिनी योहानाले आफ्नी आमा सिकिस्त बिरामी पर्दा ती शब्दहरू सत्य रहेछन् भनेर महसुस गरिन्। तिनी भन्छिन्: “मलाई आफ्नो मनको कुरा अरूलाई बताउन गाह्रो लाग्छ। तर एक जना एल्डर, जसलाई मैले राम्रोसित चिनेकी पनि थिइनँ, उहाँले मेरो कुरा धीरजी भई सुन्नुभयो, मसँगै प्रार्थना गर्नुभयो र यहोवा मलाई प्रेम गर्नुहुन्छ भन्ने कुरामा ढुक्क हुन मदत गर्नुभयो। उहाँले ठ्याक्कै के भन्नुभयो, मलाई याद छैन। तर उहाँसित कुरा गरेपछि मैले ढुक्क महसुस गरेको चाहिँ याद छ। मलाई चाहिएकै बेला मदत गर्न यहोवाले उहाँलाई पठाउनुभयो जस्तो लाग्छ।” तपाईँले एल्डरहरूबाट कस्तो मदत पाउनुभएको छ?
११. हामी एल्डरहरूप्रति कसरी कृतज्ञता व्यक्त गर्न सक्छौँ? (चित्र पनि हेर्नुहोस्।)
११ एल्डरहरूले “गरिरहेको कामको खातिर” हामीले तिनीहरूप्रति मनैदेखि कृतज्ञता देखाएको यहोवा चाहनुहुन्छ। (१ थिस्स. ५:१२, १३) फिनल्याण्डकी हेन्रिएटा यसो भन्छिन्: “एल्डरहरू अरूलाई खुसीसाथ मदत गर्नुहुन्छ। तर त्यसको मतलब उहाँहरूसित हामीसित भन्दा धेरै समय र शक्ति छ भन्ने होइन अनि उहाँहरूको जीवनमा कुनै समस्यै छैन भन्ने पनि होइन। म उहाँहरूलाई यसो भन्छु, ‘तपाईँ एकदम राम्रो एल्डर हुनुहुन्छ। म तपाईँप्रति एकदमै आभारी छु।’ तुर्किएमाc बस्ने बहिनी सेरा भन्छिन्: “एल्डरहरूलाई आफ्नो काम गरिरहन ‘उर्जा’ चाहिन्छ। त्यसैले हामी उहाँहरूलाई कार्ड पठाउन, खाना खानको लागि बोलाउन वा उहाँहरूसँगै साक्षीकार्यमा भाग लिन सक्छौँ। के तपाईँ पनि मण्डलीमा कडा मेहनत गरिरहेका कुनै एल्डरप्रति एकदमै कृतज्ञ हुनुहुन्छ? हुनुहुन्छ भने तिनीप्रति कसरी कृतज्ञता व्यक्त गर्न सकिन्छ, सोच्नुहोस्।—१ कोरि. १६:१८.
क्षेत्रीय निरीक्षकहरू मण्डलीलाई सुदृढ पार्छन्
१२. प्रथम शताब्दीमा मण्डलीहरूलाई सुदृढ बनाउन कस्तो प्रबन्ध गरियो? (१ थिस्सलोनिकी २:७, ८)
१२ ‘वरदानको रूपमा दिइएका पुरुषहरूमध्ये’ केहीलाई येसु ख्रिष्टले अर्को जिम्मेवारी पनि सुम्पनुभएको छ। उहाँको निर्देशनमा यरुसलेमका एल्डरहरूले पावल, बर्णाबास र अरूलाई क्षेत्रीय निरीक्षकको रूपमा पठाए। (प्रेषि. ११:२२) किन? सहायक सेवक र एल्डरहरूले जस्तै मण्डलीलाई सुदृढ पार्न। (प्रेषि. १५:४०, ४१) ती क्षेत्रीय निरीक्षकहरूले आफ्नो सुखसुविधा त्यागे अनि तिनीहरू अरूलाई सिकाउन र प्रोत्साहन दिन आफ्नो ज्यान दिन समेत तयार भए।—१ थिस्सलोनिकी २:७, ८ पढ्नुहोस्।
१३. क्षेत्रीय निरीक्षकहरू के-कस्ता कामहरू गर्छन्?
१३ क्षेत्रीय निरीक्षकहरू अक्सर यात्रा गरिरहन्छन्। कोही-कोही एउटा मण्डलीबाट अर्को मण्डलीमा जान सयौँ किलोमिटर यात्रा गर्छन्। हरेक हप्ता क्षेत्रीय निरीक्षकले भाषणहरू दिन्छन्, गोठालो भेटहरू गर्छन् अनि अग्रगामी सभा, एल्डरहरूको सभा र क्षेत्र सेवाको सभा सञ्चालन गर्छन्। तिनी भाषणहरू तयारी गर्छन् अनि क्षेत्रीय सम्मेलन र अधिवेशनहरूलाई व्यवस्थित पार्न विभिन्न काम गर्छन्। तिनी अग्रगामी स्कुलमा सिकाउँछन्, अग्रगामीहरूको लागि विशेष सभाको प्रबन्ध मिलाउँछन्। यीबाहेक तिनी अरू महत्त्वपूर्ण कामहरू पनि सम्हाल्छन्। अनि कहिलेकाहीँ शाखा कार्यालयले अह्राएको अत्यन्तै जरुरी काम पनि गर्छन्।
१४. हामी किन क्षेत्रीय निरीक्षकहरूप्रति कृतज्ञ छौँ?
१४ क्षेत्रीय निरीक्षकहरूबाट मण्डलीका भाइबहिनीले कस्तो लाभ उठाएका छन्? तुर्किएका एक भाइ क्षेत्रीय निरीक्षकहरूको भ्रमणबारे यसो भन्छन्: “प्रत्येक भ्रमणपछि म भाइबहिनीलाई मदत गर्न अझ उत्प्रेरित हुन्छु। मैले थुप्रै क्षेत्रीय निरीक्षकहरूलाई भेटेको छु। तर उहाँहरूमध्ये कसैले पनि आफू असाध्यै व्यस्त भएको वा कुरा गर्न नचाहेको जस्तो महसुस गराउनुभएन।” अघि उल्लेख गरिएकी योहाना क्षेत्रीय निरीक्षकसित साक्षीकार्यमा गएकी थिइन्। तर उहाँहरू जानुभएको घरहरूमा कोही पनि थिएन। योहाना भन्छिन्: “तैपनि म त्यो दिन सधैँ सम्झिरहन्छु। त्यतिखेर मेरा दिदीहरू भर्खरै बसाइँ सर्नुभएको थियो। त्यसैले मलाई उहाँहरूको यादले सताइरहेको थियो। क्षेत्रीय निरीक्षक दाइले अहिले हामी आफ्नो परिवार र साथीभाइदेखि टाढिनुपरे पनि त्यो केही समयको लागि मात्र हो। तर नयाँ संसारमा हामीले उहाँहरूसित अनगिन्ती समय सँगै बिताउन पाउनेछौँ भनेर सम्झाउनुभयो। त्यस कुराबाट मैले निकै सान्त्वना पाएँ।” हामीसित पनि क्षेत्रीय निरीक्षकहरूबाट त्यसरी नै मदत पाएका मीठा सम्झनाहरू छन् होला।—प्रेषि. २०:३७–२१:१.
१५. (क) तेस्रो युहन्ना ५-८ अनुसार हामी क्षेत्रीय निरीक्षकहरूप्रति कसरी कृतज्ञता व्यक्त गर्न सक्छौँ? (चित्र पनि हेर्नुहोस्।) (ख) हामीले नियुक्त भाइहरूका पत्नीहरूप्रति किन कृतज्ञता व्यक्त गर्नुपर्छ र हामी कसरी त्यसो गर्न सक्छौँ? (“तिनीहरूका पत्नीहरूलाई सम्झनुहोस्” भन्ने पेटी पनि हेर्नुहोस्।)
१५ प्रेषित युहन्नाले मण्डलीलाई बलियो बनाउन आएका भाइहरूको अतिथि-सत्कार गर्नू भनेर गायसलाई प्रोत्साहन दिए। तिनले गायसलाई यसो भने: “तिनीहरूलाई यात्रामा पठाउन तिमी जे-जति गर्छौ, कृपया परमेश्वरलाई मन पर्ने तरिकामा गर।” (३ युहन्ना ५-८ पढ्नुहोस्।) हामीले त्यसो गर्न सक्ने एउटा तरिका भनेको क्षेत्रीय निरीक्षकहरूलाई खाना खान बोलाउनु हो। अनि अर्को तरिका उहाँले सञ्चालन गर्नुहुने क्षेत्र सेवाको सभामा उपस्थित हुनु हो। अगाडि उल्लेख गरिएकी लेस्ली अरू तरिकाहरूमा पनि कृतज्ञता व्यक्त गर्छिन्। तिनी यसो भन्छिन्: “उहाँहरूको आवश्यकता पूरा गरिदिनुहोस् भनेर म यहोवालाई प्रार्थना गर्छु। उहाँहरूको भ्रमणबाट हामीले कत्ति मदत पाएका छौँ भनेर बताउन म र मेरो श्रीमान्ले उहाँहरूलाई चिठी लेखेका छौँ।” नबिर्सनुहोस्, क्षेत्रीय निरीक्षकहरू पनि हामीजस्तै साधारण मानिसहरू हुन्। कहिलेकाहीँ तिनीहरू पनि बिरामी पर्छन्। तिनीहरूको जीवनमा पनि चिन्ता-फिक्री आइपर्छ र तिनीहरू निराश पनि हुन्छन्। तिनीहरूले मदतको लागि प्रार्थना गरेका हुन सक्छन् र तपाईँको दयालु बोली वा सानो उपहार तिनीहरूको प्रार्थनाको जवाफ हुन सक्छ।—हितो. १२:२५.
हामीलाई ‘वरदानको रूपमा दिइएका पुरुषहरू’ चाहिन्छ
१६. हितोपदेश ३:२७ अनुसार भाइहरूले आफैलाई कस्ता प्रश्नहरू सोध्न सक्छन्?
१६ संसारभरि नै ‘वरदानको रूपमा दिइएका पुरुषहरूको’ खाँचो छ। यदि तपाईँ बप्तिस्मा गरेका भाइ हुनुहुन्छ भने के तपाईँ अरूलाई “मदत गर्न” सक्नुहुन्छ? (हितोपदेश ३:२७ पढ्नुहोस्।) के तपाईँ सहायक सेवकको रूपमा सेवा गर्न इच्छुक हुनुहुन्छ? सहायक सेवक हुनुहुन्छ भने के तपाईँले एल्डरको रूपमा सेवा गर्ने लक्ष्य राख्नुभएको छ र त्यो हासिल गर्न कदम चाल्दै हुनुहुन्छ?d के तपाईँ राज्य प्रचारकहरूका लागि स्कुलको आवेदन दिन केही छाँटकाँट गर्न सक्नुहुन्छ? त्यस स्कुलबाट तपाईँले राम्रो तालिम पाउनुहुनेछ र येसुले तपाईँलाई सेवाको काममा अझ धेरै प्रयोग गर्नुहुनेछ। यदि तपाईँ अयोग्य महसुस गर्नुहुन्छ भने यहोवालाई प्रार्थना गर्नुहोस्। आफूले पाएका असाइनमेन्टहरू राम्रोसँग पूरा गर्न सकूँ भनेर उहाँसित पवित्र शक्ति माग्नुहोस्।—लुका ११:१३; प्रेषि. २०:२८.
१७. ‘वरदानको रूपमा दिइएका पुरुषहरू’ केको प्रमाण हुन्?
१७ येसुले ‘वरदानको रूपमा दिनुभएका पुरुषहरू’ यस अन्तको समयमा उहाँ हामीलाई डोऱ्याउँदै हुनुहुन्छ भन्ने कुराको प्रमाण हुन्। (मत्ति २८:२०) के तपाईँ यस्तो मायालु अनि उदार राजा पाएकोमा कृतज्ञ हुनुहुन्न र? उहाँले हाम्रो आवश्यकता बुझ्नुहुन्छ र नियुक्त भाइहरूलाई चलाएर ती पूरा गर्नुहुन्छ भनेर थाह पाउँदा उहाँप्रति आभारी हुनुहुन्न र? त्यसैले यी मेहनती भाइहरूप्रति कृतज्ञता व्यक्त गर्ने मौकाहरू खोज्नुहोस्। अनि “हरेक असल वरदान र हरेक उत्तम उपहार” दिनुहुने यहोवालाई धन्यवाद दिन पनि कहिल्यै नबिर्सनुहोस्।—याकु. १:१७.
गीत ९९ लाखौँ-हजारौँ भाइबहिनी
a परिचालक निकाय, त्यसका सहयोगीहरू, शाखा समितिका सदस्यहरू र अरू जिम्मेवारी पूरा गरिरहेका एल्डरहरू पनि ‘वरदानको रूपमा दिइएका पुरुषहरू’ हुन्।
b केही नाम परिवर्तन गरिएका छन्।
c पहिला टर्की भनिन्थ्यो।
d सहायक सेवक वा एल्डर हुन कसरी अघि बढ्न सक्नुहुन्छ भनेर थाह पाउन नोभेम्बर २०२४ अङ्कको प्रहरीधरहरा-को “भाइहरू हो—के तपाईँ सहायक सेवकको रूपमा सेवा गर्न अघि बढ्दै हुनुहुन्छ?” र “भाइहरू हो—के तपाईँ एल्डरको रूपमा सेवा गर्न अघि बढ्दै हुनुहुन्छ?” भन्ने लेखहरू पढ्नुहोस्।