लुकाका अनुसार
९ तब उहाँले ती १२ जनालाई एकसाथ बोलाउनुभयो र तिनीहरूलाई सबै प्रेत* धपाउने+ अनि रोगबिमार निको पार्ने शक्ति र अख्तियार दिनुभयो।+ २ अनि उहाँले तिनीहरूलाई परमेश्वरको राज्यको प्रचार गर्न र मानिसहरूलाई निको पार्न पठाउनुभयो ३ र भन्नुभयो: “यात्राको लागि केही नबोक; न लौरो न खाजाको पोको न रोटी न पैसा* न त दुईसरो लुगा।+ ४ तर जुन घरमा तिमीहरू पसौला, त्यो ठाउँ नछोडुन्जेल त्यसै घरमा बस।+ ५ अनि जुन ठाउँमा मानिसहरूले तिमीहरूलाई स्वागत गर्दैनन्, त्यस सहरबाट निस्कँदा तिनीहरूविरुद्ध साक्षीको निम्ति आफ्नो पैतालाको धुलो टकटक्याइदेओ।”*+ ६ त्यसपछि तिनीहरू एकपछि अर्को गाउँ हुँदै पूरै इलाकामा सुसमाचार सुनाउँदै र रोगबिमार निको पार्दै हिँडे।+
७ जब प्रान्तीय शासक हेरोदले* यी सबै घटनाबारे सुने, तब तिनी साह्रै अन्योलमा परे किनकि कसै-कसैले युहन्ना मृत्युबाट ब्युँताइएका हुन् भन्थे।+ ८ अनि अरू कसैले चाहिँ एलिया देखा परेका हुन् भन्थे र कोही-कोहीचाहिँ पहिले-पहिलेका भविष्यवक्ताहरूमध्ये कोही एक जना फेरि जीवित भएका हुन् भन्थे।+ ९ हेरोदले भने: “युहन्नाको त मैले टाउको काट्न लगाइसकेको थिएँ।+ त्यसोभए कसको विषयमा म यस्तो कुरा सुन्दै छु?” त्यसैले तिनले येसुलाई हेर्न खोजिरहेका थिए।+
१० प्रेषितहरू फर्केपछि तिनीहरूले आफूले गरेको कामबारे उहाँलाई बताए।+ तब उहाँ तिनीहरूलाई लिएर बेथसेदा नामको सहरमा सुटुक्क जानुभयो।+ ११ तर भीडले यो कुरा थाह पायो र उहाँको पछि लाग्यो। तब उहाँले तिनीहरूलाई न्यानो स्वागत गर्नुभयो र परमेश्वरको राज्यबारे सिकाउन थाल्नुभयो अनि उपचारको आवश्यकता भएकाहरूलाई निको पार्नुभयो।+ १२ जब दिन ढल्न थाल्यो, तब ती १२ जना उहाँकहाँ आएर भने: “भीडलाई बिदा गर्नुहोस् र नजिकैका गाउँबस्तीमा गएर तिनीहरूले आफ्नो निम्ति गाँसबासको बन्दोबस्त गरून् किनकि हामी यहाँ अनकन्टार ठाउँमा छौँ।”+ १३ तर उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरूले नै उनीहरूलाई केही खान देओ।”+ तिनीहरूले भने: “हामीसित पाँच वटा रोटी र दुई वटा माछाबाहेक अरू केही छैन। के हामी गएर यी मानिसहरूको लागि खानेकुरा किनेर ल्याऔँ?” १४ त्यहाँ लगभग ५ हजार पुरुष थिए। उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो: “तिनीहरूलाई ५०-५० जना जतिको समूह बनाएर बस्न लगाओ।” १५ तिनीहरूले त्यसै गरे र सबैलाई बस्न लगाए। १६ त्यसपछि उहाँले पाँच वटा रोटी र दुई वटा माछा लिई स्वर्गतिर हेरेर प्रार्थना गर्नुभयो अनि भीडलाई बाँड्नको लागि ती भाँचेर चेलाहरूलाई दिन थाल्नुभयो। १७ तिनीहरू सबैले पेटभरि खाए अनि उब्रेको टुक्राटाक्री जम्मा गर्दा १२ डाला भरिए।+
१८ पछि उहाँ एक्लै प्रार्थना गरिरहनुहुँदा चेलाहरू उहाँकहाँ आए र उहाँले तिनीहरूलाई सोध्नुभयो: “म को हुँ भन्नेबारे भीड के भन्दै छ?”+ १९ तिनीहरूले जवाफ दिए: “कसैले बप्तिस्मा गराउने युहन्ना, कसैले एलिया अनि कसै-कसैले चाहिँ पहिले-पहिलेका भविष्यवक्ताहरूमध्ये जीवित भएका कोही एक जना हो भन्छन्।”+ २० अनि उहाँले तिनीहरूलाई सोध्नुभयो: “तर तिमीहरूचाहिँ के भन्छौ, म को हुँ?” पत्रुसले जवाफ दिए: “परमेश्वरको ख्रिष्ट।”+ २१ अनि उहाँले तिनीहरूलाई यसबारे कसैलाई नभन्नू भनी कडा चेतावनी दिनुभयो+ २२ र भन्नुभयो: “मानिसको छोराले धेरै दुःख भोग्नु; धर्मगुरुहरू, मुख्य पुजारीहरू र शास्त्रीहरूबाट तिरस्कृत हुनु अनि मारिनु+ र तेस्रो दिनमा ब्युँताइनु आवश्यक छ।”+
२३ त्यसपछि उहाँले सबैलाई यसो पनि भन्नुभयो: “यदि कोही मेरो पछि आउन चाहन्छ भने उसले आफूलाई इन्कार गरोस्,+ दिनहुँ आफ्नो यातनाको खम्बा* उठाओस् र निरन्तर मेरो पछि लागोस्।+ २४ किनकि जसले आफ्नो ज्यान बचाउन चाहन्छ, उसले त्यो गुमाउनेछ तर जसले मेरो खातिर आफ्नो ज्यान गुमाउँछ, उसले त्यो बचाउनेछ।+ २५ हुन पनि कुनै मानिसले सारा संसार प्राप्त गर्छ तर आफ्नो ज्यान गुमाउँछ वा आफूलाई हानि पुऱ्याउँछ भने उसलाई के फाइदा हुन्छ र?+ २६ मेरो चेला बन्न र मेरा वचनहरूमा विश्वास गर्न जसले सरम मान्छ, मानिसको छोराले पनि आफ्नो, आफ्नो बुबाको र पवित्र स्वर्गदूतहरूको महिमासहित आउँदा उसलाई स्विकार्न सरम मान्नेछ।+ २७ तर म तिमीहरूलाई साँच्चै भन्छु, यहाँ उभिरहेकाहरूमध्ये कोही-कोही यस्ता छन्, जसले परमेश्वरको राज्य नदेखेसम्म कुनै हालतमा मृत्यु चाख्नेछैनन्।”+
२८ वास्तवमा यो कुरा भनेको लगभग आठ दिनपछि पत्रुस, युहन्ना र याकुबलाई लिएर उहाँ डाँडामा प्रार्थना गर्न जानुभयो।+ २९ उहाँले प्रार्थना गरिरहनुहुँदा उहाँको अनुहार बद्लियो अनि उहाँको पोसाक चम्किलो सेतो भयो। ३० अनि हेर! दुई जना उहाँसित कुराकानी गरिरहेका थिए, ती दुई मोसा र एलिया थिए। ३१ उनीहरू गौरवका साथ देखा परे र उहाँको बिदाइको विषयमा कुरा गर्न थाले, जुन यरुसलेममा हुन लागेको थियो।+ ३२ त्यसबेला पत्रुस र तिनीसित भएकाहरू निद्राले लट्ठ भएका थिए तर पूरै ब्युँझिएपछि तिनीहरूले येसुको गौरव अनि उहाँसँगै उभिरहेका ती दुई जनालाई देखे।+ ३३ ती दुई जनाले उहाँलाई छोडेर जान लाग्दा पत्रुसले येसुलाई भने: “गुरुज्यू, हामी यहाँ हुनु हाम्रो लागि खुसीको कुरा हो। त्यसैले हामीलाई तीन वटा पाल टाँग्न दिनुहोस्। एउटा तपाईँको लागि, एउटा मोसाको लागि अनि एउटा एलियाको लागि।” तर तिनलाई आफूले बोलिरहेको कुराको कुनै हेक्का थिएन। ३४ तिनले यो कुरा भन्दाभन्दै बादल आएर तिनीहरूलाई ढाक्न थाल्यो। बादलले आफूलाई छोपेको देखेर तिनीहरू डराए। ३५ तब बादलबाट यस्तो आवाज आयो:+ “यिनी मेरो प्यारो छोरा हुन्, जसलाई मैले रोजेको छु।+ उनको कुरा सुन।”+ ३६ जसै यो आवाज आयो, तिनीहरूले त्यहाँ येसुलाई एक्लै पाए। तर तिनीहरू चुपचाप बसे अनि आफूले देखेको कुरा केही समयको लागि कसैलाई बताएनन्।+
३७ त्यसको भोलिपल्ट उहाँहरू डाँडाबाट ओर्लेपछि एउटा ठूलो जमातसित उहाँको भेट भयो।+ ३८ अनि हेर! एक जना मानिस भीडबाट यसो भन्दै करायो: “हे गुरुज्यू, बिन्ती छ, एक चोटि मेरो छोरालाई हेरिदिनुहोस् किनकि ऊ मेरो एउटै सन्तान हो।+ ३९ हेर्नुहोस्! एउटा प्रेतले उसलाई वशमा पार्छ अनि ऊ अचानक चिच्याउँछ र त्यसले उसलाई यसरी अँठ्याउँछ कि उसले फीँज काढ्छ अनि त्यसले उसलाई घाइते बनाएपछि मात्र बल्लतल्ल छोड्छ। ४० त्यसैले मैले तपाईँका चेलाहरूलाई त्यसलाई धपाइदिन बिन्ती गरेको थिएँ तर तिनीहरूले सकेनन्।” ४१ तब येसुले जवाफ दिनुभयो: “ए अविश्वासी र टेढो पुस्ता,+ म तिमीहरूसित कतिन्जेल रहूँ? म तिमीहरूलाई कतिन्जेल सहूँ? तिम्रो छोरालाई यहाँ ल्याऊ।”+ ४२ ऊ आउँदाआउँदै प्रेतले उसलाई भुईँमा पछाऱ्यो र बेसरी अँठ्यायो। तर येसुले त्यस प्रेतलाई हप्काउनुभयो र त्यस केटोलाई निको पारेर उसको बुबाको जिम्मा लगाउनुभयो। ४३ तब परमेश्वरको अपार शक्ति देखेर तिनीहरू सबै छक्क परे।
उहाँले गरिरहनुभएका सबै काम देखेर तिनीहरू अचम्म मानिरहेको बेला उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो: ४४ “यो कुरा ध्यान दिएर सुन र कहिल्यै नबिर्स, मानिसको छोरालाई धोका दिइनेछ अनि मानिसहरूको हातमा सुम्पिइनेछ।”+ ४५ तर तिनीहरूले यो कुरा बुझेनन् किनकि यसको अर्थ तिनीहरूबाट लुकाइएको थियो। अनि तिनीहरू उहाँलाई यसको अर्थ सोध्न पनि डराए।
४६ तब आफूहरूमध्ये सबैभन्दा ठूलो को हो भनेर चेलाहरूमाझ बहस चल्न थाल्यो।+ ४७ तिनीहरूको हृदयको कुरा थाह पाएर येसुले एउटा सानो बालकलाई बोलाउनुभयो र आफ्नो छेउमा उभ्याएर ४८ तिनीहरूलाई भन्नुभयो: “जसले मेरो नाममा यो सानो बालकलाई स्विकार्छ, उसले मलाई पनि स्विकार्छ अनि जसले मलाई स्विकार्छ, उसले मलाई पठाउनुहुनेलाई पनि स्विकार्छ।+ जसले तिमीहरूबीच आफूलाई सबैभन्दा सानो सम्झेर व्यवहार गर्छ, उही ठूलो हो।”+
४९ तब युहन्नाले भने: “गुरुज्यू, एक जना मानिसले तपाईँको नाम लिएर प्रेतहरूलाई धपाइरहेको हामीले देख्यौँ र हामीले उसलाई रोक्न खोज्यौँ किनकि ऊ हामीसँग तपाईँको पछि लागेको छैन।”+ ५० तर येसुले तिनलाई भन्नुभयो: “तिमीहरू उसलाई रोक्न नखोज किनकि जो तिमीहरूको विरुद्धमा हुँदैन, ऊ तिमीहरूकै पक्षमा हुन्छ।”
५१ उहाँ स्वर्ग जाने+ बेला नजिकै आउन थालेपछि उहाँले यरुसलेम जाने अठोट गर्नुभयो। ५२ त्यसैले उहाँले आफ्नो अघिअघि सन्देशवाहकहरू पठाउनुभयो। तिनीहरू गए र उहाँको लागि बन्दोबस्त मिलाउन सामरियालीहरूको एउटा गाउँमा पसे। ५३ तर तिनीहरूले उहाँलाई बास दिएनन्+ किनकि उहाँले यरुसलेम जाने अठोट गर्नुभएको थियो। ५४ यो देखेर उहाँका दुई चेला याकुब र युहन्नाले+ भने: “प्रभु, तपाईँको इच्छा भए के हामी आकाशबाट आगो बर्सेर तिनीहरू भस्म होऊन् भनी आज्ञा गरौँ?”+ ५५ तर पछाडि फर्केर उहाँले तिनीहरूलाई हप्काउनुभयो। ५६ तब उहाँहरू अर्कै गाउँमा जानुभयो।
५७ उहाँहरू बाटोमा जाँदै गर्दा कोही एक जनाले उहाँलाई यसो भन्यो: “तपाईँ जहाँ-जहाँ जानुहुन्छ, म त्यहाँ-त्यहाँ तपाईँको पछि लाग्नेछु।” ५८ तर येसुले उसलाई भन्नुभयो: “फ्याउराहरूको ओडार हुन्छ र आकाशका चराचुरुङ्गीको गुँड तर मानिसको छोराको भने शिर ढल्काउने ठाउँसमेत छैन।”+ ५९ त्यसपछि उहाँले अर्को एक जनालाई भन्नुभयो: “मेरो पछि लाग।” त्यस मानिसले भन्यो: “हे प्रभु, पहिला मलाई गएर मेरो बुबालाई गाड्न दिनुहोस्।”+ ६० तर उहाँले उसलाई भन्नुभयो: “मुर्दाहरूलाई + मुर्दाहरूले नै गाडून् तर तिमी भने गएर सबैतिर परमेश्वरको राज्यको घोषणा गर।”+ ६१ अनि अर्को एक जनाले चाहिँ यसो भन्यो: “हे प्रभु, म तपाईँको पछि लाग्नेछु तर पहिला मेरो घरपरिवारसित बिदा माग्न दिनुहोस्।” ६२ येसुले उसलाई भन्नुभयो: “आफ्नो हात हलोमा राखेर पछाडि फर्केर हेर्ने + कोही पनि परमेश्वरको राज्यको लायक हुँदैन।”+