अय्युब
२३ अय्युबले यस्तो जवाफ दिए:
२ “म गुनासो गर्न छोड्दै छोड्दिनँ।+
किनकि सुस्केरा हाल्दा-हाल्दा म शिथिल भइसकेँ।
३ परमेश्वर कहाँ हुनुहुन्छ भनेर थाह भएको भए+
म सरासर उहाँको निवासमा जाने थिएँ।+
४ म आफ्नो मामिला उहाँसामु पेस गर्ने थिएँ
र तर्क गर्दै आफ्नो सफाइ दिने थिएँ।
५ अनि उहाँले कस्तो जवाफ दिनुहुँदो रहेछ, हेर्ने थिएँ
र के भन्नुहुँदो रहेछ, सुन्ने थिएँ।
६ के उहाँले आफ्नो सारा शक्ति लगाएर मसित प्रतिवाद गर्नुहुनेछ?
अहँ, बरु उहाँले पक्कै मेरो सफाइ सुन्नुहुनेछ।+
७ उहाँसामु निर्दोष मानिसको मुद्दाको छिनोफानो हुने थियो
र मेरा न्यायाधीशले मलाई पूरै दोषमुक्त गरिदिनुहुने थियो।
८ तर म पूर्वतिर लागे पनि उहाँलाई भेट्टाउन सक्दिनँ
र पश्चिमतिर गए पनि उहाँलाई फेला पार्न सक्दिनँ।
९ उहाँले उत्तरतिर काम गरिरहँदा पनि म उहाँलाई देख्न सक्दिनँ
अनि उहाँ दक्षिणतिर फर्कँदा पनि म उहाँलाई भेट्दिनँ।
१० तैपनि मैले रोजेको मार्ग उहाँलाई थाह छ।+
उहाँले मेरो जाँच गरिसकेपछि म खारिएको सुनजस्तै हुनेछु।+
११ मैले उहाँको पाइला-पाइला पछ्याएको छु।
दायाँबायाँ कतै नलागी उहाँको मार्गमा हिँडेको छु।+
१२ उहाँका आज्ञाहरूलाई मैले हल्कासित लिएको छैनँ।
उहाँले मबाट मागेभन्दा पनि धेरै मैले उहाँको वचनको मोल गरेको छु।+
१३ उहाँले केही गर्ने अठोट गर्नुभयो भने कसले उहाँलाई रोक्न सक्छ?+
जब उहाँ केही गर्न चाहनुहुन्छ, त्यो गरेरै छोड्नुहुन्छ।+
१४ मेरो विषयमा उहाँले जे-जे गर्ने निधो गर्नुभएको छ, ती सब पूरा गरेरै छोड्नुहुन्छ।
अनि उहाँले गर्न बाँकी रहेका कुरा अझ धेरै छन्।
१५ उहाँको कारण म बेचैन भएको छु।
उहाँबारे सोच्दा उहाँप्रतिको मेरो श्रद्धा बढ्छ।
१६ परमेश्वरले मेरो हृदयलाई कमजोर तुल्याइदिनुभएको छ,
सर्वशक्तिमान्ले मलाई त्रसित पार्नुभएको छ।
१७ तर मेरो वरिपरि अन्धकार छाए पनि
र मेरो अनुहार अँध्यारो भए पनि म अहिलेसम्म चुप लागेर बसेको छैनँ।