नोट
१ यहोवा
साँचो परमेश्वरको नाम यहोवा हो र यसको अर्थ “बन्ने र बनाउने उहाँ नै हुनुहुन्छ” भन्ने हो। यहोवा सर्वोच्च परमेश्वर हुनुहुन्छ र उहाँले नै सबै कुरा सृष्टि गर्नुभयो। उहाँसित आफूले चाहेको जुनसुकै कुरा गर्न सक्ने शक्ति छ।
हिब्रू भाषामा परमेश्वरको नाम चार वटा अक्षरमा लेखिन्थ्यो। त्यसलाई अङ्ग्रेजीमा YHWH वा JHVH लेखिन्छ। सुरुमा लेखिएको हिब्रू धर्मशास्त्रमा परमेश्वरको नाम लगभग ७ हजार चोटि प्रयोग गरिएको छ। संसारभरिका मानिसहरूले “यहोवा” नामलाई आ-आफ्नो भाषाअनुसार फरक-फरक तरिकामा उच्चारण गर्छन्।
२ बाइबल “परमेश्वरको प्रेरणाद्वारा लेखिएको हो”
बाइबल परमेश्वरले दिनुभएको किताब हो तर उहाँले यो लेख्न मानिसहरूलाई चलाउनुभयो। यो एक जना व्यापारीले सेक्रेटरीलाई चिठी लेख्न लगाएझैँ हो। चिठी लेख्ने सेक्रेटरी भए तापनि त्यसमा भएका विचारहरू व्यापारीकै हुन्छ। परमेश्वरले आफ्ना विचारहरू लेख्न पवित्र शक्तिमार्फत थुप्रै लेखकहरूलाई प्रेरणा दिनुभयो। पवित्र शक्तिमार्फत परमेश्वरले तिनीहरूलाई विभिन्न तरिकामा प्रेरणा दिनुभयो। जस्तै, तिनीहरूले दर्शनहरू तथा सपनाहरू देखे र तिनीहरूले आफूले देखेको कुरा लेखे।
३ प्रमोदवन
प्रमोदवन भनेको सुन्दर पार्क वा बगैँचा हो। सबैभन्दा सुरुको सुन्दर बगैँचा अदनमा थियो, जुन यहोवा परमेश्वरले पहिलो मानव जोडीको लागि बनाउनुभएको थियो। त्यहाँ कुनै रोगबिमार वा मृत्यु थिएन। यहोवा परमेश्वरले पृथ्वीमा फेरि त्यस्तै अवस्था ल्याउने प्रतिज्ञा गर्नुभएको छ।
४ सिद्धान्त
सिद्धान्त भनेको बाइबलका आधारभूत सत्यहरू हुन्, जसले हामीलाई सही निर्णय गर्न मदत गर्छ। उदाहरणको लागि, “नराम्रो सङ्गतले राम्रो आनीबानीलाई बिगार्छ” भन्ने सिद्धान्तले सङ्गत चाहे राम्रो होस् या नराम्रो, त्यसले हामीलाई असर गर्न सक्छ भनेर सिकाउँछ। (१ कोरिन्थी १५:३३) अनि “मानिसले जे छर्छ, त्यसैको कटनी पनि गर्नेछ” भन्ने सिद्धान्तले चाहिँ हामी जस्तो काम गर्छौँ, त्यस्तै नतिजा पाउँछौँ भनेर सिकाउँछ।—गलाती ६:७.
५ भविष्यवाणी
भविष्यवाणी भनेको परमेश्वरबाट आएको सन्देश हो। भविष्यवाणीमार्फत परमेश्वरले महत्त्वपूर्ण पाठ सिकाउनुहुन्थ्यो, आफ्नो इच्छा प्रकट गर्नुहुन्थ्यो, आफ्नो आज्ञा सुनाउनुहुन्थ्यो र न्यायको घोषणा गर्नुहुन्थ्यो। साथै भविष्यवाणीमार्फत उहाँ पछि हुने कुनै घटनाबारे पहिल्यै जानकारी दिनुहुन्थ्यो। बाइबलमा यस्ता थुप्रै भविष्यवाणी छन्, जुन पूरा भइसके।
६ मसीहबारे गरिएका भविष्यवाणीहरू
बाइबलमा मसीहबारे जति पनि भविष्यवाणी गरिएका छन्, ती सबै येसुमा पूरा भए। “मसीहबारे गरिएका भविष्यवाणीहरू” शीर्षकको पेटी हेर्नुहोस्।
▸ अध्या. २, अनु. १७, फुटनोट
७ पृथ्वीको लागि परमेश्वरको उद्देश्य
यहोवा परमेश्वरले पृथ्वी सुन्दर बगैँचा होस् र उहाँलाई प्रेम गर्ने मानिसहरू त्यहाँ बस्न सकून् भनेर पृथ्वी बनाउनुभयो। उहाँको उद्देश्य परिवर्तन भएको छैन। परमेश्वरले चाँडै सबै दुष्ट मानिस अनि तिनीहरूको खराब कामले गर्दा भएका नराम्रा कुराहरू हटाउनुहुनेछ र आफ्ना मानिसहरूलाई अनन्त जीवन दिनुहुनेछ।
८ सैतान अर्थात् दियाबल
सैतान सबैभन्दा पहिला परमेश्वरको विद्रोह गर्ने स्वर्गदूत हो। सैतानको अर्थ “विरोधी” हो किनकि त्यसले यहोवा परमेश्वरको विरोध गर्छ। त्यसलाई दियाबल पनि भनिएको छ, जसको अर्थ हो, “निन्दक।” त्यसले परमेश्वरबारे झूटो कुरा बताउँदै मानिसहरूलाई बहकाउने भएकोले त्यसलाई यो नाम दिइएको हो।
९ स्वर्गदूत
परमेश्वरले पृथ्वी सृष्टि गर्नुभन्दा धेरै अघि स्वर्गदूतहरू सृष्टि गर्नुभएको थियो। तिनीहरूलाई स्वर्गमा बस्नको लागि बनाइएको थियो। तिनीहरूको सङ्ख्या करोडौँ छ। (दानिएल ७:१०) तिनीहरू सबैको आ-आफ्नै नाम छ र व्यक्तित्व पनि फरक-फरक छ। मानिसहरूले तिनीहरूको उपासना गर्न खोज्दा वफादार स्वर्गदूतहरूले नम्र भई इन्कार गरे। तिनीहरूको ओहदा अनि जिम्मेवारी पनि फरक-फरक छ। जस्तै: यहोवाको सिंहासनअगाडि सेवा गर्ने, उहाँको सन्देश सुनाउने, पृथ्वीमा परमेश्वरका जनहरूको रक्षा गर्ने अनि उनीहरूलाई डोऱ्याउने, परमेश्वरले सुनाउनुभएको न्याय कार्यान्वयन गर्ने र सुसमाचार प्रचारकार्यमा साथ दिने। (भजन ३४:७; प्रकाश १४:६; २२:८, ९) भविष्यमा तिनीहरूले येसुसितै आरमागेडोनको युद्ध लड्नेछन्।—प्रकाश १६:१४, १६; १९:१४, १५.
१० पाप
पाप भनेको यहोवा परमेश्वरलाई मन नपर्ने सोचाइ, भावना वा काम हो। पापले यहोवा परमेश्वरसितको हाम्रो सम्बन्ध बिगार्छ। त्यसैले हामीले जानाजानी पाप नगरोस् भनेर उहाँले बाइबलमा नियम र सिद्धान्तहरू दिनुभएको छ। यहोवा परमेश्वरले सबै कुरा त्रुटिरहित बनाउनुभएको थियो। तर आदम र हव्वाले यहोवा परमेश्वरको आज्ञा उल्लङ्घन गरेर पाप गरे। अनि तिनीहरू त्रुटिपूर्ण भए। तिनीहरू बूढाबूढी भए र मरे। आदमको सन्तान भएकोले हामी पनि पापी भयौँ। त्यसैले हामी बूढाबूढी हुन्छौँ र मर्छौँ।
११ आरमागेडोन
आरमागेडोन यहोवा परमेश्वरले लड्नुहुने युद्ध हो। दुष्ट मानिसहरू अनि तिनीहरूको खराब कामले गर्दा भएका नराम्रा कुराहरू हटाउन उहाँले यो युद्ध लड्नुहुनेछ।
१२ परमेश्वरको राज्य
परमेश्वरको राज्य यहोवाले स्वर्गमा स्थापना गर्नुभएको सरकार हो। येसु ख्रिष्टले यस राज्यको राजाको रूपमा शासन गर्दै हुनुहुन्छ। भविष्यमा यो राज्यमार्फत यहोवा परमेश्वरले सबै दुष्ट मानिस अनि तिनीहरूको खराब कामले गर्दा भएका नराम्रा कुराहरू हटाउनुहुनेछ। परमेश्वरको राज्यले पृथ्वीमाथि शासन गर्नेछ।
१३ येसु ख्रिष्ट
यहोवा परमेश्वरको सबैभन्दा पहिलो सृष्टि येसु हुनुहुन्छ। सबै मानिसजातिका लागि आफ्नो जीवन अर्पण गर्नको लागि यहोवा परमेश्वरले येसुलाई पृथ्वीमा पठाउनुभयो। येसुको मृत्यु भएपछि यहोवा परमेश्वरले उहाँलाई फेरि जीवित पार्नुभयो। अहिले उहाँ परमेश्वरको राज्यको राजा हुनुहुन्छ र स्वर्गमा शासन गर्दै हुनुहुन्छ।
१४ सत्तरी हप्ताको भविष्यवाणी
मसीह कहिले देखा पर्नेछन् भनेर बाइबलमा भविष्यवाणी गरिएको थियो। उहाँ ६९ हप्ता बितेपछि देखा पर्नुहुने थियो। यो ६९ हप्ता ईसापूर्व ४५५ मा सुरु भएर इस्वी संवत् २९ मा टुङ्गियो।
यो ६९ हप्ता इस्वी संवत् २९ मा टुङ्गियो भनेर हामी कसरी भन्न सक्छौँ? ईसापूर्व ४५५ मा नहेम्याहले यरुसलेम फर्केर सहरको पुनर्निर्माण सुरु गरेपछि ६९ हप्ता सुरु भयो। (दानिएल ९:२५; नहेम्याह २:१, ५-८) “दर्जन” शब्दले १२ भनेर बुझाएझैँ “हप्ता” भन्ने शब्दले ७ भनेर बुझाउँछ। तर यस भविष्यवाणीमा बताइएका हप्ताहरू सात दिनको हप्ता नभई सात वर्षको हप्ता हो। यस भविष्यवाणीको हिसाब “एक वर्षको निम्ति एक दिन” भनेर बाइबलमा बताइएको कुरासित मेल खान्छ। (गन्ती १४:३४; इजकिएल ४:६) भनाइको मतलब, एक हप्ता बराबर सात वर्ष हुन्छ। त्यसैले ६९ हप्ताको अर्थ ४८३ वर्ष हो (६९ गुणा ७)। हामीले ईसापूर्व ४५५ देखि ४८३ वर्ष गन्यौँ भने हामी इस्वी संवत् २९ मा पुग्छौँ। त्यही वर्ष येसुले बप्तिस्मा गर्नुभयो र मसीह हुनुभयो!—लुका ३:१, २, २१, २२.
यस भविष्यवाणीमा अर्को एक हप्ताबारे पनि उल्लेख गरिएको छ, जुन थप सात वर्ष हो। त्यस समयावधिमा मसीह मारिने थिए, जुन कुरा इस्वी संवत् ३३ मा भयो। अनि परमेश्वरको राज्यको सुसमाचार यहुदीहरूलाई मात्र होइन अरू जातिका मानिसहरूलाई पनि सुनाइने थियो र यो काम इस्वी संवत् ३६ देखि सुरु भयो।—दानिएल ९:२४-२७.
१५ त्रिएकको झूटो शिक्षा
कुनै-कुनै चर्चले बुबा परमेश्वर हुनुहुन्छ, छोरा परमेश्वर हुनुहुन्छ र पवित्र आत्मा परमेश्वर हुनुहुन्छ तर तीन जना एउटै हुनुहुन्छ भनेर सिकाउँछ। यसलाई त्रिएकको शिक्षा भनिन्छ। तर बाइबलमा “त्रिएक” भन्ने शब्द कतै पाइँदैन। यो झूटो शिक्षा हो। यहोवा परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ र येसु उहाँको पहिलो सृष्टि हुनुहुन्छ भनेर बाइबल सिकाउँछ। (कलस्सी १:१५, १६) येसु ख्रिष्ट सर्वोच्च परमेश्वर हुनुहुन्न। उहाँले कहिल्यै आफू परमेश्वर बराबर भएको दाबी गर्नुभएन। वास्तवमा उहाँले यसो भन्नुभयो: “बुबा मभन्दा महान् हुनुहुन्छ।”—युहन्ना १४:२८; १ कोरिन्थी १५:२८.
पवित्र शक्ति परमेश्वरको सक्रिय शक्ति हो, जुन उहाँले आफ्नो इच्छा पूरा गर्न चलाउनुहुन्छ। पवित्र शक्ति कुनै व्यक्ति होइन। उदाहरणको लागि, सुरु-सुरुका ख्रिष्टियनहरू “पवित्र शक्तिले भरिपूर्ण भए” र यहोवा परमेश्वरले यसो भन्नुभयो: “म सबै मानिसमाथि आफ्नो पवित्र शक्ति खन्याउनेछु।”—प्रेषित २:१-४, १७.
१६ क्रस
साँचो ख्रिष्टियनहरूले परमेश्वरको उपासना गर्दा किन क्रस चलाउँदैनन्?
(१) धेरै पहिलादेखि झूटो उपासनामा क्रसको प्रयोग गरिँदै आएको छ। पुरातन समयमा प्रकृतिको उपासनामा र प्रजनन उपासनासित सम्बन्धित रीतिथितिमा क्रसको प्रयोग गरिन्थ्यो। तर ख्रिष्टियनहरूले येसुको मृत्यु भएको ३०० वर्षपछिसम्म पनि उपासनामा क्रस प्रयोग गरेको पाइँदैन। पछि रोमी सम्राट् कन्स्टान्टिनले क्रसलाई ख्रिष्टियन धर्मको प्रतीक बनाए। त्यसपछि ख्रिष्टियन धर्मलाई अझ लोकप्रिय बनाउन क्रसको प्रयोग गरिन थालियो। तर येसु ख्रिष्टसित क्रसको कुनै सम्बन्ध छैन। न्यु क्याथोलिक इन्साइक्लोपीडिया यसो भन्छ: “गैर-ख्रिष्टियन धर्महरूमा र ख्रिष्टियन धर्म सुरु हुनुभन्दा पहिलेका धर्महरूमा क्रस प्रयोग गरेको पाइन्छ।”
(२) येसुलाई क्रसमा मारिएको थिएन। वास्तवमा “क्रस” भनेर अनुवाद गरिएको ग्रीक शब्दले “सिङ्गो ठाडो खम्बा,” “सिङ्गो काठ” वा “सिङ्गो रूख”-लाई बुझाउँछ। द कमप्यानियन बाइबल यसो भन्छ: “[नयाँ नियम] लेख्न चलाइएको ग्रीक भाषामा दुई वटा काठलाई बुझाउने कुनै शब्द छैन।” येसुलाई ठाडो खम्बामा टाँगेर मारिएको थियो।
(३) यहोवा परमेश्वर हामीले कुनै प्रकारको चित्र वा प्रतीक प्रयोग गरेर उपासना गरेको चाहनुहुन्न।—प्रस्थान २०:४, ५; १ कोरिन्थी १०:१४.
१७ स्मरणार्थ उत्सव
येसुले आफ्ना चेलाहरूलाई उहाँको मृत्युको सम्झना गर्न आज्ञा दिनुभयो। हरेक वर्ष नीसान १४ मा तिनीहरू उहाँको मृत्युको सम्झनास्वरूप स्मरणार्थ उत्सव मनाउने गर्छन्। इस्राएलीहरूले त्यो दिन निस्तार चाड मनाउने गर्थे। स्मरणार्थ उत्सवमा येसुको शरीर र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्य उपस्थित सबैलाई पास गरिन्छ। येसुसँगै स्वर्गमा शासन गर्ने आशा पाएका व्यक्तिहरूले चाहिँ रोटी र दाखमद्य खान्छन्। पृथ्वीमा सधैँभरि बाँच्ने आशा हुनेहरू भने स्मरणार्थ उत्सवमा उपस्थित हुन्छन् तर रोटी र दाखमद्य खाँदैनन्।
१८ आत्मा
धेरैजसो नेपाली बाइबलमा हिब्रू शब्द रुवाक र ग्रीक शब्द न्युमा-लाई “आत्मा” भनेर अनुवाद गरिएको छ। तर यो अनुवाद सही होइन। किनभने यसले मानिस मरे पनि आत्मा मर्दैन भन्ने झूटो शिक्षालाई समर्थन गर्छ। रुवाक र न्युमा-को प्रसङ्गअनुसार फरक-फरक अर्थ हुन सक्छ। जस्तै, यी शब्दहरूले मानिस र जनावरको सासलाई, हावालाई, अदृश्य प्राणीहरूलाई र परमेश्वरको सक्रिय शक्ति अर्थात् पवित्र शक्तिलाई बुझाउन सक्छ।—प्रस्थान ३५:२१; भजन १०४:२९; मत्ति १२:४३; लुका ११:१३.
१९ गेहेन्ना
गेहेन्ना यरुसलेम नजिकैको एउटा बेँसीको नाम हो, जहाँ फोहोर जलाउने गरिन्थ्यो। येसुको समयमा यस बेँसीमा मानिस वा जनावरलाई जिउँदै जलाउने वा यातना दिने गरिन्थ्यो भन्ने कुनै प्रमाण छैन। त्यसैले गेहेन्नाले मानिस मरेपछि उसलाई सधैँभरि आगोमा तड्पाउने अदृश्य ठाउँलाई सङ्केत गरेको हुन सक्दैन। येसुले मानिसहरू गेहेन्नाको आगोमा फालिने विषयमा कुरा गर्नुहुँदा अनन्त विनाशबारे बताउँदै हुनुहुन्थ्यो।—मत्ति ५:२२; १०:२८.
२० प्रभुको प्रार्थना
येसुले आफ्ना चेलाहरूलाई सिकाउनुभएको नमुना प्रार्थनालाई प्रभुको प्रार्थना भन्ने गरिन्छ। येसुले यसरी प्रार्थना गर्न सिकाउनुभयो:
“तपाईँको नाम पवित्र पारियोस्”
यसो भन्नुको अर्थ यहोवा परमेश्वरलाई उहाँको नाममा लागेको सबै दोष, कलङ्क हटाउनुहोस् भनेर बिन्ती गर्नु हो। उहाँको नाम पवित्र पारिएपछि आकाश र पृथ्वीमा भएका सबैले परमेश्वरको नामको आदर गर्नेछन्।
“तपाईँको राज्य आओस्”
यसो भन्नुको अर्थ परमेश्वरको राज्यले सैतानको दुष्ट संसारलाई नाश गरेर पृथ्वीमाथि शासन गरोस् र पृथ्वीलाई प्रमोदवन बनाओस् भनेर बिन्ती गर्नु हो।
“तपाईँको इच्छा . . . पृथ्वीमा पनि पूरा होस्”
यसो भन्नुको अर्थ यहोवा परमेश्वरको उद्देश्य पूरा होस् र सबै आज्ञाकारी र त्रुटिरहित मानिसहरू प्रमोदवनमा सधैँभरि बाँच्न पाऊन् भनेर बिन्ती गर्नु हो।
२१ फिरौती
मानिसहरूलाई पाप र मृत्युबाट मुक्त गर्न यहोवा परमेश्वरले फिरौतीको प्रबन्ध गर्नुभयो। पहिलो मानिस आदमले गुमाएको त्रुटिरहित जीवन फेरि पाउन र यहोवा परमेश्वरसित बिग्रिएको सम्बन्धलाई सुधार्न फिरौती आवश्यक थियो। परमेश्वरले येसुलाई सबै पापीको लागि जीवन अर्पण गर्न पृथ्वीमा पठाउनुभयो। येसुको मृत्युले गर्दा सबै मानिसले त्रुटिरहित अवस्थामा सधैँभरि बाँच्ने मौका पाएका छन्।
२२ इस्वी संवत् १९१४ किन महत्त्वपूर्ण वर्ष हो?
दानिएल अध्याय ४ को भविष्यवाणीमा इस्वी संवत् १९१४ मा परमेश्वरले आफ्नो राज्य स्थापना गर्नुहुने विषयमा बताइएको छ।
भविष्यवाणी: यहोवा परमेश्वरले राजा नबुकद्नेजरलाई सपनामार्फत भविष्यमा हुने कुरा बताउनुहुन्छ। तिनले सपनामा एउटा ठूलो रूख देख्छन् र त्यो रूख काटिन्छ। अनि त्यो रूख “सात काल”-सम्म बढ्न नपाओस् भनेर त्यसको ठुटोलाई फलाम र तामाको पट्टाले कसेर राखिन्छ। त्यसपछि त्यो रूख फेरि बढ्ने थियो।—दानिएल ४:१, १०-१६.
यस भविष्यवाणीको अर्थ: यो रूखले परमेश्वरको शासनलाई बुझाउँछ। यहोवा परमेश्वरले इस्राएल राष्ट्रमाथि धेरै वर्षसम्म मानव राजाहरूमार्फत आफ्नो शासन चलाउनुभयो। ती राजाहरूले यरुसलेमबाट शासन गर्थे। (१ इतिहास २९:२३) तर ती राजाहरू यहोवा परमेश्वरप्रति वफादार भएनन्। अन्तमा तिनीहरूको शासनकाल सिद्धियो। ईसापूर्व ६०७ मा यरुसलेम विनाश भयो। त्यही वर्षदेखि “सात काल” सुरु भयो। (२ राजा २५:१, ८-१०; इजकिएल २१:२५-२७) “राष्ट्रहरूलाई दिइएको समय पूरा नभएसम्म ती राष्ट्रहरूले यरुसलेमलाई कुल्चीमिल्ची गर्नेछन्” भनेर येसुले भन्नुहुँदा उहाँले त्यही “सात काल”-बारे बताइरहनुभएको थियो। (लुका २१:२४) त्यसैले येसु पृथ्वीमा हुनुहुँदा “सात काल” सिद्धिएको थिएन। यहोवा परमेश्वरले “सात काल”-को अन्तमा एक जना राजालाई नियुक्त गर्ने प्रतिज्ञा गर्नुभएको थियो। ती नयाँ राजा येसुको शासनमा पृथ्वीभरिका सबै भक्त मानिसहरूले सधैँभरि प्रशस्त आशिष् पाउने थिए।—लुका १:३०-३३.
“सात काल” कति लामो छ: “सात काल” भनेको २,५२० वर्ष हो। ईसापूर्व ६०७ देखि २,५२० वर्ष गन्यौँ भने हामी इस्वी संवत् १९१४ मा पुग्छौँ। त्यही वर्ष यहोवा परमेश्वरले येसुलाई अर्थात् मसीहलाई आफ्नो राज्यको राजा बनाउनुभयो।
“सात काल” २,५२० वर्ष लामो थियो भनेर हामी कसरी भन्न सक्छौँ? साढे तीन काल भनेको १,२६० दिन हो भनेर बाइबलमा बताइएको छ। (प्रकाश १२:६, १४) अनि साढे तीन कालको दोबर सात काल हुन्छ। त्यसैले सात काल १,२६० दिनको दोबर अर्थात् २,५२० दिन हुन्छ। बाइबल भविष्यवाणीको हिसाबअनुसार “एक वर्षको निम्ति एक दिन” हुने भएकोले २,५२० दिन भनेको २,५२० वर्ष हो।—गन्ती १४:३४; इजकिएल ४:६.
२३ प्रधान-स्वर्गदूत माइकल
“प्रधान-स्वर्गदूत”-को अर्थ “स्वर्गदूतहरूको प्रमुख” हो। बाइबलमा एक जना प्रधान-स्वर्गदूतबारे मात्र बताइएको छ र उहाँको नाम माइकल हो।—दानिएल १२:१; यहुदा ९.
माइकल वफादार स्वर्गदूतहरू मिलेर बनेको परमेश्वरको सेनाको नाइके हुनुहुन्छ। प्रकाश १२:७ यसो भन्छ: “माइकल र उनका स्वर्गदूतहरूले त्यस अजिङ्गरसित अनि . . . त्यसका स्वर्गदूतहरू[सित] . . . युद्ध गरे।” प्रकाशको किताबमा परमेश्वरको सेनाको नाइके येसु हुनुहुन्छ भनी बताइएको छ। त्यसैले माइकल येसुको अर्को नाम हो भनेर हामी भन्न सक्छौँ।—प्रकाश १९:१४-१६.
२४ आखिरी समय
आखिरी समयले परमेश्वरको राज्यले सैतानको संसारलाई नाश गर्नुभन्दा अगाडिको समयावधिलाई बुझाउँछ, जुन बेला पृथ्वीमा ठूलठूला घटना हुने थिए। सोही समयावधिलाई बुझाउन बाइबलका भविष्यवाणीहरूमा “यस युगको आखिरी समयको चिन्ह” र “मानिसको छोराको उपस्थिति” जस्ता अभिव्यक्तिहरू चलाइएको छ। (मत्ति २४:३, २७, ३७) इस्वी संवत् १९१४ मा स्वर्गमा परमेश्वरको राज्यले शासन गर्न थालेपछि “अन्तको दिन” अर्थात् आखिरी समय सुरु भयो र आरमागेडोनमा सैतानको संसार नाश हुँदा त्यो “दिन” टुङ्गिनेछ।—२ तिमोथि ३:१; २ पत्रुस ३:३.
२५ मृत्युबाट फेरि जीवित पार्नु
बाइबलमा मृत्युबाट फेरि जीवित पारिएको नौ वटा घटनाबारे बताइएको छ। एलिया, एलिसा, येसु, पत्रुस र पावलले कसै-कसैलाई फेरि जीवित पारे। उनीहरूले परमेश्वरबाट शक्ति पाएर मात्र त्यस्तो काम गर्न सकेका थिए। परमेश्वरले पृथ्वीमा ‘धर्मी र अधर्मी दुवैलाई’ फेरि जीवित पार्ने प्रतिज्ञा गर्नुभएको छ। (प्रेषित २४:१५) बाइबलमा मृत्युबाट ब्युँताएर स्वर्ग लगिने मानिसहरूबारे पनि बताइएको छ। तिनीहरू परमेश्वरले छान्नुभएका वा अभिषेक गर्नुभएका मानिसहरू हुन्। जीवित भएपछि तिनीहरू येसुसँगै स्वर्गमा हुन्छन्।—युहन्ना ५:२८, २९; ११:२५; फिलिप्पी ३:११; प्रकाश २०:५, ६.
२६ प्रेतविद्या
प्रेतहरूसित सीधै वा धामी-झाँक्रीजस्ता माध्यममार्फत सम्पर्क राख्न खोज्नुलाई प्रेतविद्या भनिन्छ। मानिस मरे पनि उसको आत्मा मर्दैन र त्यो आत्माले हामीलाई मदत पुऱ्याउन वा हानि पुऱ्याउन सक्छ भन्ने झूटो शिक्षाले गर्दा मानिसहरू यसको पासोमा पर्छन्। ज्योतिषविद्या, जादुगरी, अन्धविश्वास, बोक्सीविद्या, जोखना हेर्नु जस्ता कुराहरू प्रेतविद्याका विभिन्न रूप हुन्। थुप्रै किताब, पत्रिका, राशिफल, चलचित्र, सङ्गीत, गेम र पोस्टरहरूमा प्रेतहरूसित सम्पर्क राख्नुलाई आकर्षक कुराको रूपमा प्रस्तुत गरिन्छ। प्रेतहरूसित सम्पर्क राख्नुमा मरेकाहरूको नाममा भोज गर्ने, उनीहरूको श्राद्ध गर्ने, बलि चढाउने जस्ता प्रचलनहरू पनि समावेश छ। प्रेतहरूसित सम्पर्क राख्न मानिसहरू अक्सर नशालु पदार्थ सेवन गर्छन्।—गलाती ५:२०; प्रकाश २१:८.
२७ यहोवा परमेश्वरको सार्वभौमिकता
यहोवा सर्वोच्च परमेश्वर हुनुहुन्छ र उहाँले सारा ब्रह्माण्ड सृष्टि गर्नुभयो। (प्रकाश १५:३) सबै थोक उहाँकै हो। त्यसैले उहाँ नै सार्वभौम हुनुहुन्छ अर्थात् उहाँसित मात्र सारा सृष्टिमाथि शासन गर्ने अधिकार छ। (भजन २४:१; यसैया ४०:२१-२३; प्रकाश ४:११) आफूले सृष्टि गरेको सबै थोकको निम्ति उहाँले नियम बनाउनुभएको छ। अरूलाई शासक नियुक्त गर्ने अधिकार पनि उहाँसित छ। परमेश्वरलाई माया गरेर अनि उहाँको आज्ञा पालन गरेर हामीले उहाँको सार्वभौमिकतालाई समर्थन गरिरहेका हुन्छौँ।—१ इतिहास २९:११.
२८ गर्भपतन
गर्भपतन गर्नु भनेको गर्भमा रहेको बच्चाको जानाजानी ज्यान लिनु हो। दुर्घटनामा परेर अथवा कुनै स्वाभाविक कारणले गर्दा गर्भ तुहियो भने त्यो गर्भपतन होइन। गर्भ बसेदेखि नै बच्चालाई परमेश्वरले छुट्टै व्यक्तिको रूपमा हेर्नुहुन्छ। त्यसैले गर्भमा भएको बच्चाको ज्यान लिनु गम्भीर पाप हो।
२९ रगत लिनु
यो एउटा उपचारविधि हो, जसमा बिरामीलाई रगत वा रगतका चार तत्त्वमध्ये कुनै तत्त्व दिइन्छ। बिरामीलाई दिइने त्यो रगत उसको आफ्नै वा अर्को व्यक्तिको रगत हुन सक्छ। प्लाज्मा, रातो रक्तकोष, सेतो रक्तकोष र प्लेट्लेटस् रगतका चार मुख्य तत्त्व हुन्।
३० अनुशासन
बाइबलमा चलाइएको अनुशासन भन्ने शब्दले सजाय दिनुलाई मात्र बुझाउँदैन। अनुशासन दिनु भनेको अर्ती दिनु, सिकाउनु र सुधार्नु हो। यहोवा परमेश्वरले कहिल्यै कठोर भएर अनुशासन दिनुहुन्न। (हितोपदेश ४:१, २, फुटनोट) उहाँले आमाबुबाको लागि राम्रो उदाहरण बसाल्नुभएको छ। उहाँले दिनुहुने अनुशासन प्रभावकारी हुने भएकोले अनुशासन पाउने व्यक्तिलाई उहाँको अनुशासन स्विकार्न सजिलो लाग्छ। (हितोपदेश १२:१) यहोवा परमेश्वर आफ्ना जनहरूलाई माया गर्नुहुन्छ, त्यसैले उहाँ तिनीहरूलाई तालिम दिनुहुन्छ। उहाँले दिनुहुने अर्तीको कारण तिनीहरूले गलत विचारहरू सच्याउँछन्। यसले गर्दा तिनीहरूले उहाँ प्रसन्न हुने तरिकामा सोच्न र काम गर्न सक्छन्। आमाबुबाले छोराछोरीलाई अनुशासन दिनुमा तिनीहरू आज्ञाकारी हुनुपर्ने कारण बुझाउनु समावेश छ। यसमा यहोवा परमेश्वरलाई अनि उहाँको वचन बाइबललाई प्रेम गर्न सिकाउनु र बाइबलमा पाइने सिद्धान्तहरू बुझ्न मदत गर्नु पनि समावेश छ।
३१ प्रेतहरू
प्रेतहरू भनेको मानिसहरूभन्दा धेरै शक्तिशाली अदृश्य दुष्ट स्वर्गदूतहरू हुन्। परमेश्वरको आज्ञा उल्लङ्घन गरेर तिनीहरूले आफूलाई परमेश्वरको शत्रु बनाए। (उत्पत्ति ६:२; यहुदा ६) सैतानले यहोवा परमेश्वरको विद्रोह गर्दा तिनीहरूले त्यसलाई साथ दिए।—व्यवस्था ३२:१७; लुका ८:३०; प्रेषित १६:१६; याकुब २:१९.