दोस्रो राजा
२५ सिदकियाहको शासनकालको नवौँ वर्षको १० औँ महिनाको १० औँ दिन बेबिलोनका राजा नबुकद्नेजर+ आफ्नो सारा फौज लिएर यरुसलेमलाई आक्रमण गर्न आए।+ तिनले यरुसलेमबाहिर छाउनी हाले र त्यसको चारैतिर पर्खाल खडा गरेर घेराबन्दी गरे।+ २ राजा सिदकियाहको शासनकालको ११ औँ वर्षसम्म यरुसलेम घेराबन्दीमा रह्यो। ३ चौथो महिनाको नवौँ दिनमा अनिकालले भयङ्कर रूप लियो।+ सहरमा एक गेडो अन्न बाँकी थिएन।+ ४ तब सहरको पर्खाल भत्काइयो।+ अनि कल्दियालीहरूले सहरलाई घेरिरहेकै बेला यरुसलेमका सबै सिपाही राती सहरबाट भागे। तिनीहरू राजाको बगैँचानजिकै भएका दुई वटा पर्खालबीचको ढोकाबाट छिरे अनि राजाचाहिँ अराबाह जाने बाटोतिर गए।+ ५ तर कल्दियाली सेनाले राजा सिदकियाहलाई खेद्यो र उनलाई यरिहोको मरुभूमिमा भेट्टायो। अनि सिदकियाहका सबै सिपाही तितरबितर भए। ६ त्यसपछि कल्दियालीहरूले सिदकियाहलाई पक्रेर+ रिब्लाहमा बेबिलोनका राजासामु हाजिर गराए। त्यहाँ तिनीहरूले उनलाई सजाय सुनाए। ७ तिनीहरूले सिदकियाहका छोराहरूलाई उनकै आँखाको सामुन्ने मारे। नबुकद्नेजरले सिदकियाहको आँखा फुटाइदिए अनि उनलाई तामाको साङ्लाले बाँधेर बेबिलोन लगे।+
८ पाँचौँ महिनाको सातौँ दिन अर्थात् बेबिलोनका राजा नबुकद्नेजरको शासनकालको १९ औँ वर्षमा तिनका सेवक—पहरेदारहरूका कप्तान नबुजरदान+ यरुसलेम आए।+ ९ तिनले यहोवा परमेश्वरको भवन,+ राजमहल+ र यरुसलेमका सबै घरमा+ आगो लगाइदिए। तिनले सहरका सबै गण्यमान्य मानिसको घरमा पनि आगो लगाइदिए।+ १० अनि पहरेदारहरूका कप्तानसित आएको कल्दियाली सेनाले यरुसलेमको चारैतिर भएका पर्खालहरू ढाल्यो।+ ११ पहरेदारहरूका कप्तान नबुजरदानले सहरभित्र बाँकी रहेका मानिसहरू, यहुदाका राजालाई छोडेर बेबिलोनका राजाकहाँ भागेर आएकाहरू र देशमा बाँकी रहेका अरू सबैलाई बेबिलोन लगे।+ १२ तर पहरेदारहरूका कप्तानले त्यहाँका असाध्यै गरिब मानिसहरूमध्ये केहीलाई अङ्गुर बगानमा काम गराउन र अनिवार्य सेवामा लगाउन त्यहीँ छोडिदिए।+ १३ अनि कल्दियालीहरूले यहोवा परमेश्वरको भवनमा भएका तामाका खम्बाहरू,+ ठेलागाडाहरू+ र ‘समुद्र’ भनिने तामाको विशाल खड्कुँलो+ टुक्राटुक्रा पारे। तिनीहरूले यहोवा परमेश्वरको भवनमा भएको तामा बेबिलोन लगे।+ १४ तिनीहरूले भाँडाहरू, साबेलहरू, सलेदो निभाउने साधनहरू, प्यालाहरू र मन्दिरको सेवामा प्रयोग गरिने तामाका सामानहरू पनि सबै लिएर गए। १५ पहरेदारहरूका कप्तानले निखुर सुन+ र निखुर चाँदीका+ सलेदोदानीहरू* र कचौराहरू पनि लगे। १६ सुलेमानले यहोवा परमेश्वरको भवनको लागि बनाएका दुई वटा खम्बा, विशाल खड्कुँलो र ठेलागाडाहरूमा प्रयोग गरिएको तामा जोखेर साध्यै थिएन।+ १७ दुवै खम्बाको उचाइ १८ हात*+ थियो अनि खम्बाहरूका शिर तामाका थिए। दुवै खम्बाको शिर तीन हात अग्लो थियो अनि शिरको चारैतिर भएका जाली र अनारका आकृति पनि तामाकै थिए।+ दुवै खम्बा उस्तै देखिन्थे।
१८ पहरेदारहरूका कप्तानले मुख्य पुजारी सिरायाहलाई,+ तिनीपछिका दोस्रो दर्जाका पुजारी सपन्याहलाई+ र तीन जना ढोकेलाई+ पनि लगे। १९ अनि तिनले सिपाहीहरूमाथि खटाइएका दरबारका अफिसरलाई र सहरमा भेट्टाइएका राजाका पाँच जना सल्लाहकारलाई पनि सँगै लगे। साथै सेनापतिका सचिव, जसले देशवासीलाई सैन्य सेवाको लागि बटुल्थे, उनलाई र सहरमा अझै बाँकी रहेका सर्वसाधारणबाट ६० जनालाई पनि पक्रेर लगे। २० पहरेदारहरूका कप्तान नबुजरदानले+ तिनीहरू सबैलाई पक्रेर रिब्लाहमा बेबिलोनका राजाकहाँ पुऱ्याए।+ २१ बेबिलोनका राजाले तिनीहरूलाई हमाथको+ रिब्लाहमा मारे। यसरी यहुदाका मानिसहरूलाई निर्वासनमा लगियो।+
२२ बेबिलोनका राजा नबुकद्नेजरले यहुदामा छोडिएका मानिसहरूमाथि सापानका+ नाति, अहिकामका+ छोरा गदल्याहलाई+ नियुक्त गरे।+ २३ बेबिलोनका राजाले गदल्याहलाई नियुक्त गरेका छन् भनेर थाह पाउनेबित्तिकै सबै सेनापति आफ्ना मानिसहरू लिएर मिस्पामा गदल्याहकहाँ गए। तिनीहरू नेथन्याहका छोरा इस्माएल, कारेहका छोरा योहानान, नेतोफाहवासी तन्हुमेथका छोरा सिरायाह र माकाथवासीका छोरा याजन्याह थिए।+ २४ गदल्याहले ती सेनापतिहरू र तिनीहरूका मानिसहरूसित शपथ खाए र यसो भने: “कल्दियालीहरूको सेवक बन्न नडराओ। यहीँ यहुदामा बस र बेबिलोनका राजाको सेवा गर। त्यसो गऱ्यौ भने तिमीहरूको भलो हुनेछ।”+
२५ एलिसामाका नाति, नेथन्याहका छोरा इस्माएल राजघरानाका सदस्य थिए।+ सातौँ महिनामा तिनी १० जना मानिससित आए अनि गदल्याहको हत्या गरे। तिनले मिस्पामा गदल्याहसँग भएका यहुदीहरू र कल्दियालीहरूलाई पनि मारे।+ २६ त्यसपछि सानादेखि ठूला सबै मानिस, यहाँसम्म कि सेनापतिहरूसमेत भागेर मिश्र गए+ किनकि उनीहरू कल्दियालीहरूसित डराएका थिए।+
२७ यहुदाका राजा यहोयाकिन+ निर्वासित भएको ३७ औँ वर्षको १२ औँ महिनाको २७ औँ दिनमा बेबिलोनका राजा एबिल-मरोदकले यहोयाकिनलाई कैदमुक्त गरे।+ २८ बेबिलोनका राजाले यहुदाका राजासित दयालु भई बोले र तिनीसितै बेबिलोनको कैदमा रहेका अन्य राजाहरूलाई भन्दा तिनलाई धेरै सम्मान दिए। २९ त्यसैले यहोयाकिनले झ्यालखानामा बस्दा लगाएको कैदीको लुगा फेरे। अनि तिनले आफ्नो बाँकी जीवनभरि बेबिलोनका राजासँगै भोजन गरे। ३० राजाले यहोयाकिनको मृत्यु नहोउन्जेल दिनहुँ तिनको लागि भोजनको प्रबन्ध मिलाइदिएका थिए।