ईश्वरीय शिक्षाको विरुद्धमा प्रेतहरूका शिक्षाहरू
“आत्मा र भूतात्माहरूका सिद्धान्ततिर मन लाएर कोही कोही विश्वासबाट पतित हुनेछन्।”—१ तिमोथी ४:१.
पूरै जीवन युद्धग्रसित क्षेत्रमा बिताउनु परे कस्तो होला, एक छिन कल्पना गर्नुहोस्। गोलाबारीको कोलाहलबीच सुत्नु पर्दा अनि बमको आवाजमा जाग्नु पर्दा हाम्रो हविगत कस्तो होला? दुःखलाग्दो कुरो, आज संसारका केही भागहरूमा मानिसहरूले यस्तै अवस्थामा जीवन बिताउनु परिरहेको छ। यद्यपि, आत्मिक अर्थमा भन्ने हो भने सबै मसीहीहरू त्यस्तै अवस्थामा बाँचिरहेका छन्। हाम्रो समयमा आएर चर्को रूप लिएको ६,००० वर्ष पुरानो ठूलो युद्धबीच तिनीहरू छन्। यति पुरानो कुन युद्ध हो यो? त्यो हो, झूट अनि सत्य, ईश्वरीय शिक्षा अनि प्रेतहरूका शिक्षाबीचको युद्ध। युद्धको विरोधी पक्षमध्ये एकको कर्तुतलाई मात्र विचार गर्ने हो भने यसलाई मानवजातिको इतिहासमा सबैभन्दा क्रूर अनि घातक युद्ध भन्नु त्यति अत्युक्ति नहोला।
२ तिमोथीलाई पत्र लेख्दा प्रेरित पावलले यस युद्धका दुवै पक्षको उल्लेख गरे: “पवित्र आत्मा प्रष्टै भन्नुहुन्छ, कि पछि आउने समयमा बहकाउने आत्मा र भूतात्माहरूका सिद्धान्ततिर मन लाएर कोही कोही विश्वासबाट पतित हुनेछन्।” (१ तिमोथी ४:१) याद गर्नुहोस्, प्रेतहरूका शिक्षाहरू विशेषगरि “पछि आउने समयमा” प्रभावकारी हुनेछन्। पावलको दिनको दृष्टिकोणअनुसार हामी त्यस्तै समयमा बाँचिरहेका छौं। यो पनि याद गर्नुहोस्, प्रेतहरूका शिक्षाहरूको विरोधी तत्त्व “विश्वास” हो। यहाँ “विश्वास” ले बाइबलमा भएको ईश्वर प्रेरित परमेश्वरको वचनमा आधारित ईश्वरीय शिक्षालाई चिह्नित गर्छ। यसप्रकारको विश्वास जीवनदायी हुन्छ। त्यसले एक जना मसीहीलाई परमेश्वरको इच्छाअनुरूप चल्न सिकाउँछ। अनि त्यो अनन्त जीवनतर्फ डोऱ्याउने सत्य हो।—यूहन्ना ३:१६; ६:४०.
३ यस्तो विश्वासदेखि तर्केर जाने जति सबैले अनन्त जीवन गुमाउँछन्। तिनीहरू युद्धमा शिकार हुने व्यक्तिहरू हुन्। प्रेतहरूका शिक्षाहरूको बहकाउमा पर्ने व्यक्तिहरूका लागि साँच्चै कति दुःखलाग्दो नतिजा! (मत्ती २४:२४) उसोभए युद्धको शिकार नहुने हो भने हामी प्रत्येकले के गर्न सक्छौं त? त्यसकालागि हामीले “भूतको मालिक” शैतान अर्थात् दियाबलको उद्देश्य पूरा गर्ने झूटा शिक्षाहरूलाई पूर्णतया इन्कार गर्नुपर्छ। (मत्ती १२:२४) यसमा कुनै शङ्का छैन, शैतानका शिक्षाहरू झूट हुन् किनभने शैतान “झूटको पिता हो।” (यूहन्ना ८:४४) हाम्रो प्रथम मातापितालाई भर्माउन त्यसले कस्तो चलाकीसाथ झूट बोल्यो, त्यसलाई विचार गर्नुहोस्।
प्रेतहरूका शिक्षाहरू प्रकटित
४ उक्त घटना बाइबलको उत्पत्ति ३:१-५ मा लेखबद्ध छ। सर्पलाई चलाएर शैतानले हव्वालाई यस्तो प्रश्न गऱ्यो: “के परमेश्वरले तिमीहरूलाई बगैंचाको कुनै रूखको फल [साँच्चै] नखानू भनी भन्नुभएको छ?” हेर्दा कुनै गलत मनसायले उक्त प्रश्न सोधिएको जस्तो नदेखिएला तर फेरि एकपल्ट सोच्नुहोस् त। “[साँच्चै] नखानू भनी भन्नुभएको छ?” मानौं ‘परमेश्वरले किन त्यसो भन्नु हुन्थ्यो र?’ भनेर शैतान छक्क परे जस्तो।
५ अनि आफ्नो अबोधतामा हव्वाले हो भनी जवाफ दिई। यस सम्बन्धमा तिनलाई ईश्वरीय शिक्षाको ज्ञान थियो। असल र खराबको ज्ञानको रूखको फल खाएमा तिनीहरू मर्नेछन् भनी परमेश्वरले आदमलाई भन्नुभएको थियो भनेर हव्वालाई थाहा थियो। (उत्पत्ति २:१६, १७) तर शैतानको प्रश्नले अवश्य तिनको मनमा कौतूहल जगायो। त्यसैकारण आफूले भन्न खोजेको मुख्य कुरा शैतानले बताउँदा तिनले सुनिन्: “साँपले स्त्रीलाई भन्यो, ‘तिमीहरू कदापि मर्दैनौ।’” कस्तो दुष्ट कुरा! सत्यको परमेश्वर, प्रेमको परमेश्वर अनि सृष्टिकर्त्ता यहोवाले आफ्नो मानव सन्तानसित झूट बोलेको आरोप शैतानले लगायो!—भजनसंग्रह ३१:५; १ यूहन्ना ४:१६; प्रकाश ४:११.
६ तर शैतान त्यतिमै सन्तुष्ट भएन। त्यसले अझ यसो भन्यो: “किनकि परमेश्वर जान्नुहुन्छ कि जुन दिन तिमीहरू त्यो खान्छौ त्यही दिन तिमीहरूका आँखा खुल्नेछन्, र असल र खराबको ज्ञान पाएर तिमीहरू पनि परमेश्वरजस्तै हुनेछौ।” शैतानको भनाइअनुसार उदारतासाथ दिनुहुने यहोवा परमेश्वरले हाम्रा प्रथम मातापितालाई एउटा अद्भुत कुरादेखि वञ्चित गर्न चाहनुहुन्थ्यो। त्यसको तर्कअनुसार मानिसहरू ईश्वरहरू जस्तै नहोउन् भनी उहाँ चाहनुहुन्थ्यो। यसप्रकार शैतानले परमेश्वरको भलाइलाई चुनौती दियो। स्वेच्छा तृप्ति र जानाजानी परमेश्वरको नियम उलङ्घन गर्ने कुरालाई पनि त्यसले प्रवर्द्धन गऱ्यो किनभने त्यसको भनाइअनुसार त्यसो गरे मानिसहरूकै फाइदा हुनेथियो। वास्तवमा भन्ने हो भने आफ्नो सृष्टिमाथि परमेश्वरको सार्वभौमिकतालाई शैतानले चुनौती दियो र मानव क्रियाकलापमाथि सीमा तोक्ने परमेश्वरको अधिकार छैन भनेर त्यसले आरोप लगायो।
७ शैतानले ती शब्दहरू बोलेदेखि प्रेतहरूका शिक्षाहरू सुनिन थाल्यो। ती दुष्ट शिक्षाहरूले अझै पनि त्यस्तै अईश्वरीय सिद्धान्तहरूको प्रवर्द्धन गर्छन्। अरू विद्रोही आत्माहरूको साथ पाएको शैतानले अदनको बगैंचामाझैं आज पनि परमेश्वरले कुनै पनि क्रियाकलापको स्तर तोक्नु हुने अधिकारमाथि चुनौती खडा गर्छ। त्यसले अझै पनि परमेश्वरको सार्वभौमिकताको विरोध गर्छ अनि आफ्नो स्वर्गीय पिताको आज्ञा पालन नगर्न मानिसहरूलाई प्रभाव पार्ने कोशिश गर्छ।—१ यूहन्ना ३:८, १०.
८ ईश्वरीय शिक्षा र प्रेतहरूका शिक्षाको त्यो पहिलो मुठभेडमा आदम र हव्वाले गलत निर्णय गरे र अनन्त जीवनको आशालाई गुमाए। (उत्पत्ति ३:१९) समय बित्दै जाँदा तिनीहरूको शरीर क्षीण हुँदै गयो र त्यसले अदनको बगैंचामा कसले झूट अनि कसले सत्य बोलेको रहेछ भनेर राम्ररी प्रष्टायो। तथापि, शारीरिक तवरमा मृत्यु हुनुभन्दा सयौं वर्षअघि आफ्नो जीवनको स्रोत, तिनीहरूको सृष्टिकर्त्ताबाट अलग भएदेखि तिनीहरू सत्य र झूटबीचको युद्धको पहिलो शिकार भइसकेका थिए। त्यही दिन तिनीहरू आत्मिक तवरमा मरे।—भजनसंग्रह ३६:९; एफिसी २:१ तुलना गर्नुहोस्।
वर्तमान समयमा प्रेतहरूका शिक्षा
९ प्रकाशको पुस्तकमा प्रेरित यूहन्ना प्रेरणाद्वारा “प्रभुको दिनमा” पुगे, जसको सुरुआत १९१४ मा भएको थियो। (प्रकाश १:१०) त्यस समयमा शैतान र त्यसका प्रेतहरू स्वर्गबाट पृथ्वीमा झारिएका थिए। हाम्रो महान सृष्टिकर्त्ताको विरोधीको लागि त्यो एउटा ठूलो अवरोध थियो। स्वर्गमा फेरि त्यसले यहोवाका सेवकहरूका विरुद्ध दिनरात दोष लगाएको आवाज सुनिएन। (प्रकाश १२:१०) यद्यपि, अदनको समयदेखि प्रेतहरूका शिक्षाहरूले पृथ्वीमा के कस्तो प्रगति गरे त? रेकर्डले यसो भन्छ: “त्यो अजिङ्गरजस्तै पशु तल फ्याँकियो त्यो वृद्ध साँप, दियाबल र शैतान भनिने, सारा संसारलाई ठग्ने।” (प्रकाश १२:९) पूरै संसार शैतानको झूटको फन्दामा परेको थियो! त्यसैकारण शैतानलाई “संसारको शासक” भन्नु कुनै आश्चर्यलाग्दो कुरा होइन!—यूहन्ना १२:३१; १६:११.
१० स्वर्गबाट खेदिएपछि के शैतानले आफ्नो हार स्वीकाऱ्यो? अहँ, स्वीकारेन! ईश्वरीय शिक्षा अनि ईश्वरीय शिक्षा पालन गर्ने व्यक्तिहरूसँग लडिरहन त्यो कटिबद्ध छ। स्वर्गबाट निकालिएपछि पनि शैतानले आफ्नो युद्ध जारी राख्यो: “अनि त्यो अजिङ्गरजस्तै पशु [शैतान] त्यस स्त्रीसँग क्रोधित भयो, र त्यससँग र परमेश्वरको आज्ञा पालन गर्ने, र येशूको साक्षी दिने, त्यसका बाँकी सन्तानहरूसँग युद्ध गर्न गयो।”—प्रकाश १२:१७.
११ परमेश्वरका सेवकहरूसँग युद्ध गर्नुको अलावा मानवजातिमाथि अधिकार जमाउने कोशिश गर्न शैतानले यस संसारमा अफवाह फैलाइरहेको छ। प्रभुको दिनमा देखेको प्रकाशका दर्शनहरूमध्ये एकमा प्रेरित यूहन्नाले तीन वटा जङ्गली जनावरहरू देखे जसले प्रतिकात्मक रूपमा शैतान, त्यसको पार्थिव राजनैतिक सङ्गठन र हाम्रो समयको प्रबल विश्व शक्तिलाई चित्रण गर्छ। यी तीनवटै जनावरहरूको मुखबाट भ्यागुताहरू निस्कन्छन्। यसले कुन कुरालाई चित्रण गर्छ? त्यसको जवाफ यूहन्नाले यसरी दिन्छन्: “चिह्नहरूका काम गर्ने ती भूतहरूका आत्मा हुन्। सर्वशक्तिमान परमेश्वरको ठूलो दिनको लडाइँको निम्ति जम्मै पृथ्वीका राजाहरूलाई जम्मा गर्नालाई तिनीहरू जान्छन्।” (प्रकाश १६:१४) स्पष्ट छ, प्रेतहरूका शिक्षाहरू पृथ्वीमा निकै सक्रिय छन्। शैतान र त्यसका प्रेतहरू अझै पनि ईश्वरीय शिक्षा विरुद्ध लड्दैछन् र मसीही राजा येशू ख्रीष्टले बलजफती नरोक्नु भएसम्म तिनीहरूले त्यसो गर्न बन्द गर्ने छैनन्।—प्रकाश २०:२.
प्रेतहरूका शिक्षाहरूको चिनारी
१२ ईश्वरभीरु मानिसहरूले के प्रेतहरूका शिक्षाहरूको विरोध गर्न सक्छन्? अवश्य सक्छन् र यसका दुई कारणहरू छन्। पहिलो, ईश्वरीय शिक्षा प्रेतहरूका शिक्षाभन्दा शक्तिशाली छ; अनि दोस्रो, हामीले शैतानको विरोध गर्न सकोस् भनेर यहोवाले शैतानका षडयन्त्रहरूको पर्दाफास गर्नुभएको छ। प्रेरित पावलले भनेझैं “त्यसका युक्तिहरूका विषयमा हामी अजान छैनौं।” (२ कोरिन्थी २:११) आफ्नो उद्देश्य पूरा गर्न शैतानले चलाउने एउटा उपाय सतावट हो भनेर हामीलाई थाहा छ। (२ तिमोथी ३:१२) यद्यपि, त्योभन्दा धूर्त तरिकामा त्यसले परमेश्वरका सेवकहरूको मन अनि हृदयलाई प्रभाव पार्ने प्रयास गर्छ। हव्वालाई भर्माएर त्यसले तिनको हृदय खराब इच्छाहरूले भरिदिएको थियो। आज पनि त्यसले त्यस्तै गर्ने कोशिश गर्छ। कोरिन्थीहरूलाई प्रेरित पावलले यसो भनेर लेखे: “जसरी सर्पले आफ्नो छलले हव्वालाई छकायो, त्यसरी ख्रीष्टतर्फका तिमीहरूका सीधापना र पवित्रताबाट तिमीहरूका विचारहरू भ्रष्ट होलान् कि भन्ने मलाई डर लागेको छ।” (२ कोरिन्थी ११:३) सर्वसाधारण मानिसहरूको सोचाइलाई त्यसले कसरी भ्रष्ट पारेको छ, त्यसलाई विचार गर्नुहोस्।
१३ यहोवाले झूट बोल्नुभएको आरोप लगाउँदै शैतानले हव्वालाई परमेश्वरको आज्ञा उलङ्घन गरेमा तिनीहरू पनि ईश्वर जस्तै हुनेछन् भने। तर आज मानिसहरूको पापी अवस्थाले यहोवा होइन तर शैतान झूटा थियो भनेर प्रमाणित गर्छ। मानिसहरू ईश्वरहरू भएका छैनन्! तथापि, शैतानले त्यो पहिलो झूटमाथि झूट बोल्यो। मानिसको आत्मा अमर, अविनाशी छ भन्ने विचारधारालाई त्यसले प्रकाशमा ल्यायो। यसप्रकार भिन्दै तरिकामा ईश्वरहरू जस्तै हुने सम्भाव्यतालाई त्यसले रहरलाग्दो ढङ्गमा मानवसमक्ष प्रस्तुत गऱ्यो। त्यसपछि त्यही झूटा शिक्षालाई आधार बनाएर त्यसले नरककुण्ड, पाप मोचनस्थान, प्रेतवाद र पितृ उपासनाको प्रवर्द्धन गऱ्यो। करोडौं मानिसहरू अझै पनि यही झूटहरूको दासत्वमा छन्।—व्यवस्था १८:९-१३.
१४ निस्सन्देह, यहोवाले आदमलाई भन्नुभएको कुरा सत्य थियो। परमेश्वर विरुद्ध पाप गरेपछि तिनी साँच्चै नै मरे। (उत्पत्ति ५:५) आदम र तिनका सन्तान मरेपछि तिनीहरू अचेत अनि निष्क्रिय मृत प्राणीहरू भए। (उत्पत्ति २:७; उपदेशक ९:५, १०; इजकिएल १८:४) आदमबाट प्राप्त पापको कारण सबै मानव प्राणीहरू मर्छन्। (रोमी ५:१२) तथापि, यहोवाले अदनको बगैंचामा दियाबलको कर्तुत विरुद्ध लड्नुहुने वंशबारे प्रतिज्ञा गर्नुभयो। (उत्पत्ति ३:१५) त्यो वंश परमेश्वरको एक मात्र पुत्र येशू ख्रीष्ट हुनुहुन्थ्यो। येशू पापरहित अवस्थामा मर्नुभयो र उहाँले बलिदान दिनुभएको शरीर मानवजातिलाई तिनीहरूको मरणशील अवस्थाबाट छुटाउने छुटकाराको मोल भयो। अतः ज-जसले आज्ञाकारी भएर येशूमाथि विश्वास गर्छ, त्यसले आदमले गुमाएको अनन्त जीवन प्राप्त गर्ने मौका पाउँछ।—यूहन्ना ३:३६; रोमी ६:२३; १ तिमोथी २:५, ६.
१५ छुटकाराको मोल, मृत्युपश्चात् आत्मा बाँच्छ भन्ने कुनै अस्पष्ट विचारधारा होइन बरु यो मानवजातिको वास्तविक आशा हो। यो एउटा ईश्वरीय शिक्षा अनि सत्य हो। साथै यो यहोवाको प्रेम अनि बुद्धिको अद्भुत प्रदर्शन पनि हो। (यूहन्ना ३:१६) यस्तो सत्य सिकेर त्यस्ता विषयहरूसित सम्बन्धित प्रेतहरूका शिक्षाहरूदेखि मुक्त हुन पाएकोमा हामी कति कृतज्ञ हुनुपर्छ!—यूहन्ना ८:३२.
१६ अदनको बगैंचामा झूट बोलेर शैतानले आदम र हव्वालाई परमेश्वरदेखि स्वतन्त्र हुन अनि आफ्नै बुद्धिमा भर पर्ने अभिलाषा राख्न प्रोत्साहित गऱ्यो। आज संसारमा अपराध, आर्थिक कठिनाइ, युद्ध अनि गम्भीर असमानतामा हामी त्यस झूटको दीर्घकालीन असर देख्दैछौं। त्यसकारण बाइबलले हामीलाई यसो भनेकोमा कुनै अचम्म छैन: “संसारको ज्ञान परमेश्वरको अगि मूर्खता हो”! (१ कोरिन्थी ३:१९) तापनि अधिकांश मानिसहरू यहोवाका शिक्षाहरूप्रति ध्यान दिनुभन्दा मूर्ख भएर दुःख भोग्न रूचाउँछन्। (भजनसंग्रह १४:१-३; १०७:१७) तर ईश्वरीय शिक्षा स्वीकार्ने मसीहीहरू भने त्यस्तो पासोमा फँस्नदेखि टाढै बस्छन्।
१७ पावलले तिमोथीलाई लेखे: “हे तिमोथी, अशुद्ध वकवादबाट र ‘ज्ञान’ कहलिएको झूटा विरोधबाट फर्केर तिमीलाई सुम्पिएको जो छ, त्यसको हिफाजत गर, जो कुनै कुनैले मानेर विश्वासबाट भ्रममा परेका छन्।” (१ तिमोथी ६:२०, २१) त्यस “ज्ञान” ले प्रेतहरूका शिक्षाहरूको पनि प्रतिनिधित्व गर्छ। पावलको समयमा सम्भवतः त्यसले मण्डलीका केही व्यक्तिहरूले प्रवर्द्धन गरेका धर्मत्यागी विचारधाराहरूलाई सङ्केत गरेको हुनुपर्छ। (२ तिमोथी २:१६-१८) पछि गएर नोष्टिसिज्म अनि युनानी दर्शन जस्ता कथित झूटा ज्ञानले मण्डलीलाई भ्रष्ट पाऱ्यो। आज संसारमा नास्तिकवाद, अज्ञेयवाद, विकासवादी सिद्धान्तहरू, बाइबलका उच्च आलोचना जस्ता कुराहरूका साथै आधुनिक धर्मत्यागीहरूले प्रवर्द्धन गरेका गैर शास्त्रीय विचारधाराहरू कथित झूटा शिक्षाका उदाहरणहरू हुन्। अनि शैतानको रीतिरिवाजलाई चिह्नित गर्ने नैतिक पतन, अधिकारी वर्गको व्यापक अनादर, बेइमानी, र स्वार्थ जस्ता कुराहरू कथित झूटा ज्ञानका फलहरू हुन्।
ईश्वरीय शिक्षा पालन गर्ने
१८ अदनको समयदेखि शैतानले यस पृथ्वीमा प्रेतहरूका शिक्षाहरूको प्रवाह गरिरहेको भए तापनि ईश्वरीय शिक्षाको खोजी गर्ने व्यक्तिहरू अवश्य छन्। आज त्यस्ता व्यक्तिहरू लाखौंको सङ्ख्यामा पुगेका छन्। स्वर्गीय राज्यमा येशूसँगै राज्य गर्ने आशा भएका शेष अभिषिक्त मसीहीहरू अनि त्यस राज्यको पार्थिव क्षेत्रमा बाँच्ने आशा भएका “अरू भेड़ा” का बढ्दो ठूलो भीड यसमा समावेश छ। (मत्ती २५:३४; यूहन्ना १०:१६; प्रकाश ७:३, ९) यिनीहरू आज एउटा विश्वव्यापी सङ्गठनको रूपमा खडा भएका छन् जसमा यशैयाका यी शब्दहरू लागू हुन्छ: “औ तेरा सबै छोरा-छोरीहरू परमप्रभुबाट सिकाइएका हुनेछन्, र तेरा छोरा-छोरीहरूलाई ठूलो शान्ति मिल्नेछ।”—यशैया ५४:१३.
१९ महत्त्वपूर्ण नै भए तापनि यहोवाबाट सिकाइएका हुन साँचो सिद्धान्तहरू मात्र जानेर पुग्दैन। कसरी जीवन बिताउने अनि हाम्रो व्यक्तिगत जीवनमा कसरी ईश्वरीय शिक्षा पालन गर्ने भनेर यहोवाले हामीलाई सिकाउनु हुन्छ। उदाहरणको लागि, हाम्रो वरपरको संसारमा बिगबिगी भएको स्वार्थ, अनैतिकता अनि स्वतन्त्रताको आत्मा जस्ता कुराहरूको हामी विरोध गर्छौं। यो संसारमा ज्यादै धन-सम्पत्तिको पछि लाग्नु मृत्युदायी छ भनेर हामीलाई थाहा छ। (याकूब ५:१-३) प्रेरित यूहन्नाका शब्दहरूमा प्रकटित ईश्वरीय शिक्षालाई हामी कहिल्यै भुल्दैनौं: “संसारलाई प्रेम नगर, नता संसारमा भएका कुनै चिजलाई प्रेम गर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने, पिताको प्रेम त्यसमा हुँदैन।”—१ यूहन्ना २:१५.
२० प्रेतहरूका शिक्षाहरूका शिकार हुनेहरूमाथि कस्तो असर पर्छ भन्ने कुरा पावलले कोरिन्थीहरूलाई लेखेका यी शब्दहरूमा देख्न सकिन्छ: “ख्रीष्ट, जो परमेश्वरको रूप हुनुहुन्छ, उहाँको महिमाको सुसमाचार तिनीहरूमाथि नचम्कोस् भनेर [शैतानले] अविश्वासीहरूको समझशक्तिलाई अन्धा तुल्याइदिएको छ।” (२ कोरिन्थी ४:४) शैतानले साँचो मसीहीहरूलाई पनि यस्तैगरि अन्धा बनाउन चाहन्छ। अदनको बगैंचामा परमेश्वरको सेवकहरूमध्ये एक जनालाई भर्माउन त्यसले सर्प चलाएको थियो। तर आज, त्यसले हिंस्रक वा अनैतिक चलचित्रहरू तथा टेलिभिजन कार्यक्रमहरूलाई चलाउँछ। त्यसले रेडियो, साहित्य अनि सङ्गीतको नाजायज फाइदा उठाउँछ। त्यसको शक्तिशाली हतियारहरूमध्ये एक खराब सङ्गत हो। (हितोपदेश ४:१४; २८:७; २९:३) ती सबै कुराहरू प्रेतहरूका शिक्षा अनि माध्यमहरू हुन् भनेर कहिल्यै नबिर्सनुहोस्।
२१ स्मरण रहोस्, शैतानले अदनको बगैंचामा बोलेका कुराहरू झूट थिए; तर यहोवाको वचन सत्य साबित भयो। त्यस समयदेखि आजसम्म त्यस्तै भइरहेको छ। शैतान सधैं झूट र ईश्वरीय शिक्षा अकाट्य सत्य साबित भएको छ। (रोमी ३:४) हामीले सधैं परमेश्वरको वचन पालन गऱ्यौं भने सत्य र झूटबीचको युद्धमा हामी सधैं विजयी पक्षमा हुनेछौं। (२ कोरिन्थी १०:४, ५) अतः हामी सबै जना प्रेतहरूका शिक्षाको विरोध गर्न कटिबद्ध होऔं। त्यसो गऱ्यौं भने सत्य र झूटबीचको युद्ध अन्त नभएसम्म हामी धीरजी हुनेछौं। सत्य विजयी हुनेछ। शैतान हुनेछैन। पृथ्वीमा केवल ईश्वरीय शिक्षा मात्र सुनिनेछ।—यशैया ११:९. (w94 4/1)
के तपाईं बताउन सक्नुहुन्छ?
▫ प्रेतहरूका शिक्षा पहिलो चोटि कहाँ सुनियो?
▫ शैतान अनि त्यसका प्रेतहरूले प्रवर्द्धन गरेका केही झूटहरू के के हुन्?
▫ आज कुन ढङ्गमा शैतान ज्यादै सक्रिय छ?
▫ प्रेतहरूका शिक्षाको प्रवर्द्धन गर्न शैतानले कुन कुरा चलाउँछ?
▫ ईश्वरीय शिक्षा पालन गर्नेहरूले कस्ता आशिषहरू पाउँछन्?
[अध्ययनका लागि प्रश्नहरू]
१. मसीहीहरू कुन युद्धको माझमा छन्?
२. (क) पावलअनुसार, कुन दुई पक्षहरू परस्पर विरोधी छन्? (ख) पावलले भन्न खोजेको “विश्वास” के हो?
३. (क) सत्य र झूटबीचको युद्धको शिकार हुनेहरूलाई के हुन्छ? (ख) प्रेतहरूका शिक्षाहरू पछाडि को छ?
४, ५. शैतानले हव्वालाई कस्तो झूट बोल्यो र त्यो झूट किन अति दुष्ट थियो?
६. यहोवाको भलाइ अनि सार्वभौमिकतालाई शैतानले कसरी चुनौती दियो?
७. प्रेतहरूका शिक्षाहरू प्रथम पटक कहाँ सुनियो र ती शिक्षाहरू कसरी आज पनि सुनिन्छन्?
८. अदनको बगैंचामा आदम र हव्वाले के गुमाए तर यहोवा कसरी सत्य साबित हुनुभयो?
९. शताब्दीयौंदेखि प्रेतहरूका शिक्षाहरू कति प्रभावकारी भएका छन्?
१०, ११. शैतान र त्यसका प्रेतहरू आज कसरी सक्रिय छन्?
१२. (क) प्रेतहरूका शिक्षाहरूको विरोध गर्न किन सम्भव छ? (ख) परमेश्वरका सेवकहरूमाथि आफ्नो कार्यसिद्ध गर्न शैतानले कसरी प्रयास गर्छ?
१३. मानवजातिलाई अदनको बगैंचादेखि शैतानले के झूट बोल्दै आएको छ?
१४, १५. मृत्यु अनि मानिसको भावी आशाको यथार्थ कुरा के हो?
१६. मानिसहरूले आफ्नै बुद्धिको पछि लाग्दा हुने दीर्घकालीन परिणामहरू के के हुन्?
१७. कस्ता “कथित झूटा ज्ञान” लाई शैतानले प्रवर्द्धन गरेको छ अनि त्यसका फलहरू के के हुन्?
१८. आज कसले ईश्वरीय शिक्षाको खोजी गर्छन्?
१९. यहोवाबाट सिकाइएको हुनुमा के समावेश छ?
२०, २१. (क) मानिसहरूलाई अन्धा बनाउने प्रयत्नमा शैतानले कुन कुरा चलाउँछ? (ख) ईश्वरीय शिक्षा पालन गर्नेहरूले कस्ता आशिषहरू पाउँछन्?
[पृष्ठ ८-मा भएको चित्र]
प्रेतहरूका शिक्षा पहिलो चोटि अदनको बगैंचामा सुनियो
[पृष्ठ १०-मा भएको चित्र]
छुटकाराको मोल अनि राज्यसित सम्बन्धित ईश्वरीय शिक्षाले मानवजातिलाई एक मात्र आशा प्रदान गर्छ