रगतको प्रयोग द्वारा जीवन बचाउने–कसरी?
“जीवननै रोज . . . उहाँको [परमेश्वरको] आज्ञा मान्दै . . ., किनकि यसो गर्नुनै तिमीहरूका निम्ति जीवन हो, र तिमीहरू दीर्घायु हुनेछौ।”—व्यवस्था ३०:१९, २०.
१. आफ्नो जीवनलाई आदर गर्नमा मसीहीहरू कसरी अरू भन्दा बेग्लै छन्?
मृत्युदण्ड, गर्भपात, वा शिकारबारे आफ्नो दृष्टिकोणलाई प्रमाणको रूपमा प्रस्तुत गर्दै, तिनीहरू जीवनलाई आदर गर्दछन् भनी धेरै मानिसहरू भन्दछन्। तथापि, सच्चा मसीहीहरूले जीवन प्रति आदर एउटा विशेष रूपमा देखाउँछन्। भजनसंग्रह ३६:९ भन्दछ: “जीवनको मूल तपाईंसँग [परमेश्वरसँग] छ।” जीवन परमेश्वरको वरदान भएको हुनाले, जीवन-रक्तबारे उहाँकै दृष्टिकोणलाई मसीहीहरूले अपनाउँदछन्।
२, ३. रगतको सम्बन्धमा परमेश्वरलाई ध्यान दिनु किन उचित हो? (प्रेरित १७:२५, २८)
२ हाम्रो जीवन रगतमाथि भर पर्दछ। रगतले हाम्रो सारा शरीरमा अक्सिजन लैजान्छ, कार्बन डायोक्साइड हटाउँछ, तापमानको उतार-चढ़ाव अनुकूल परिवर्तन ग्रहण गर्ने र रोगहरूसँग लड़ने हामीलाई मदत दिन्छ। हामीलाई जीवन दिनु हुनेले नै, जीवन धान्ने यो तरल पदार्थ पनि रचनु भयो र यसलाई हामी रगत भन्छौं। यसबाट मानव जीवनलाई बचाइराख्न उहाँले निरन्तर चासो लिनु हुन्छ भन्ने कुरा प्रकट हुन्छ।—उत्पत्ति ४५:५; व्यवस्था २८:६६; ३०:१५, १६.
३ मसीहीहरू र साधारणतया सबै मानिसहरूले आफूसित प्रश्न सोध्नु पर्दछ: ‘के रगतले त्यसको स्वाभाविक गुणहरू द्वारा मात्र मेरो जीवनलाई बचाउन सक्छ अथवा के रगतले अझै एउटा प्रगाढ़ रूपमा जीवनलाई बचाउँछ?’ धेरै मानिसहरूले जीवन र रगतको सामान्य कारवाईहरूका बीचको सम्बन्धलाई स्वीकारेता पनि, वास्तवमा त्यहाँ अझै बढ़ी कुराहरू बिथोलित छन्। मसीहीहरू, मुसलमानहरू र यहूदीहरूका नैतिक सिद्धान्तहरू एक जना जीवनदातामाथि केन्द्रित छन् जसले जीवन र रगतबारे आफ्नो दृष्टिकोण प्रकट गर्नु भएको छ। हो, रगत बारे भन्ने कुराहरू हाम्रा सृष्टिकर्तासँग धेरै छन्।
रगतको विषयमा परमेश्वरको दृढ़ अड़ान
४. मानव इतिहासको शुरुमा, रगतबारे परमेश्वरले के भन्नु भयो?
४ परमेश्वरको वचन, बाइबलमा ४०० भन्दा बढ़ी पटक रगतको उल्लेख भएको छ। सबैभन्दा पहिलेको उल्लेखमा यहोवाले दिनु भएको यो आदेश छ: “जीवित-जीवात् सबै तिमीहरूका आहारका निम्ति हुनेछन् . . . तर मासु त्यसको प्राणसमेत, अर्थात् रगतसमेत नखाओ।” उहाँले अझ भन्नुभयो: “तिमीहरूको रगत, अर्थात् प्राणको रगतको निम्ति म निश्चय लेखा लिनेछु।” (उत्पत्ति ९:३-५, न्यु इन्टरनैशनल भर्सन) यो कुरा यहोवाले मानव परिवारका पूर्वज नूहलाई भन्नु भएको थियो। यस प्रकार, सृष्टिकर्त्ताले रगतलाई जीवनको प्रतीक ठान्नु हुन्छ भनी सारा मानव जातिलाई सूचना दिइयो। परमेश्वरलाई जीवनदाता भनी स्वीकार गर्ने दाबी गर्ने हरेकले यो कुरा मान्नु पर्दछ कि जीवन टिकाउने रगतको प्रयोगबारे परमेश्वरले एउटा दृढ़ अड़ान लिनुहुन्छ।
५. इस्राएलीहरूले रगत नलिने मुख्य कारण के थियो?
५ इस्राएललाई व्यवस्था दिनुहुँदा परमेश्वरले फेरि रगतबारे कुरा गर्नुभयो। यहूदीहरूका तनाखमा, लेवी १७:१०, ११ लाई यस प्रकार लेखिएको छ: “इस्राएलीहरू वा तिनीहरूसँग बास गर्ने परदेशीहरूमा कसैले रगत खायो भने, त्यो रगत खानेको म विरोध गर्नेछु, र त्यसलाई आफ्ना मानिसहरूबाट वहिस्कृत गरिदिनेछु, किनकि जीवधारीको प्राण त्यसको रगतमा हुन्छ।” त्यस नियमबाट स्वास्थ्यलाई लाभहरू हुनसक्थ्यो, तर त्यसमा अझ धेरै कुराहरू विथोलित थिए। रगतलाई एउटा विशेष वस्तु ठान्दै, इस्राएलीहरूले यो देखाउनु परेको थियो कि तिनीहरू जीवनका निम्ति परमेश्वरमा भर पर्छन्। (व्यवस्था ३०:१९, २०) हो, तिनीहरूले रगत न खाने मुख्य कारण, रगत स्वास्थ्यका निम्ति हानिकारक हुन सक्छ भनेर होइन तर परमेश्वरका निम्ति रगतले विशेष अर्थ राख्तछ भन्ने कुरा हुनु परेको थियो।
६. रगतबारे परमेश्वरको अड़ानलाई येशूले कायम राख्नु भयो भनी हामी कसरी विश्वस्त हुन सक्तछौं?
६ रगतद्वारा मानव जीवन बचाउने कुरामा मसीही-धर्मको अड़ान के छ? उहाँका पिताले रगतको प्रयोगबारे भन्नु भएको कुरा येशूलाई थाह थियो। येशूले “नता कुनै पाप गर्नुभयो, न उहाँको मुखमा छलको कुरा पाइयो।” यसको अर्थ उहाँले व्यवस्थालाई अथवा रगत सम्बन्धी नियम समेतलाई, पूर्ण रूपले मान्नूभयो। (१ पत्रुस २:२२, नोक्स) यसप्रकार उहाँले आफ्ना अनुयायीहरूका निम्ति एउटा आदर्श छाड़नु भयो, जसमा जीवन र रगतका लागि देखाइने आदरबारे पनि एउटा आदर्श समावेश छ।
७, ८. रगतबारे परमेश्वरको नियम मसीहीहरूका निम्ति पनि प्रयोग हुन्छ भनी कसरी स्पष्ट भयो?
७ केही समय पछि मसीही सञ्चालक समितिले, इस्राएलका व्यवस्थाहरूलाई मसीहीहरूले मान्नु पर्छ कि पर्दैन भन्ने कुराको फैसला गर्दा, के भयो, सो इतिहासले देखाउँछ। ईश्वरीय निर्देशन अनुसार, तिनीहरूले भने कि, मसीहीहरूले मोशाको व्यवस्था मान्न जरुरी छैन तर “मूर्तिहरूलाई बलि चढ़ाएको प्रसाद, रगत, गला अँठ्याएर मारेको [रगत न निकालिएको] जन्तुको मासु र व्यभिचारबाट अलग रहन आवश्यक छ।” (प्रेरित १५:२२-२९) यसप्रकार तिनीहरूले स्पष्ट पारे कि नैतिक दृष्टिले रगतबाट अलग रहनु त्यतिकै महत्त्वपूर्ण छ जतिकि मूर्तिपूजा र घोर व्यभिचारबाट अलग रहन जरूरी छ।a
८ प्रारम्भिक मसीहीहरूले त्यस ईश्वरीय प्रतिबन्धलाई कायमै राखे। यसमाथि टिप्पणी गर्दै, ब्रिटिश विद्वान जोसेफ बेन्सनले भने: “नूह र उनका सन्तानलाई दिएको र पछि इस्राएलीहरूलाई दोहराइएको रगत नखानु भन्ने निषेधात्मक आज्ञा . . . कहिले पनि खारेज गरिएन, तर, त्यसको विपरीत, नया नियम अन्तर्गत, प्रेरित १५ मा त्यसलाई अझै पुष्टि दिइएको छ; र त्यसबाट त्यो सदाका निम्ति बाध्य भएको छ।” तापनि, बाइबलमा रगत बारे भनिएका कुराहरूले, के नूहको समयमा वा प्रेरितहरूको समयमा प्रयोगै नभएका रक्तक्षेपण जस्ता रगतको आधुनिक चिकित्सा सम्बन्धी प्रयोगलाई अप्रयोजनीय ठहराउँन सक्तछ?
औषधीमा वा औषधीको रूपमा रगत
९. मसीहीहरूको अड़ान भन्दा विपरीत, पुरातन समयमा रगतलाई औषधीको रूपमा कसरी प्रयोग गरिन्थ्यो?
९ औषधीको रूपमा रगतको प्रयोग कुनै नौलो कुरो होइन। रिए तानाहिलले लेखेका फ्लेश एन्ड ब्लड [रगत र मासु] भन्ने पुस्तकले सङ्केत गर्दछ कि लगभग २,००० वर्ष सम्म मिश्र र अन्य ठाउँहरूमा, “कोरका निम्ति रगतनै सर्वोच्च इलाज मानिन्थ्यो।” मानव रगत खाएमा छारे रोग निको हुन्छ भनी रोमीहरू विश्वास गर्दथिए। रगतलाई यस प्रकार “औषधीको” रूपमा प्रयोग गर्ने चलनबारे टरटुलिएनले लेखे: “रङ्गशालाका खेलमा, लोभपूर्ण प्यास लिएर दुष्ट अपराधीहरूको ताजा रगत थापेर . . . आफ्नो छारे रोग निको पार्न सो लैजानेहरूलाई ध्यान दिनु होस्।” मसीहीहरूले गरेको कुरा भन्दा यो बिल्कुलै विपरीत थियो: “हामी आफ्नो भोजनमा जनावरको रगतसम्म पनि खाँदैनौं . . . मसीहीहरूलाई पुर्पक्ष गर्दा तिनीहरूलाई तपाईंहरू रगतले भरिएको बोसे आन्द्रो (ससेज) खान दिनु हुन्छ। जब कि यो तिनीहरूको व्यवस्थाको विपरीत हो भनी तपाईंहरूलाई राम्रोसँग थाहा छ।” यसबाट बोध हुने कुरामाथि विचार गर्नु होस्: जीवनलाई प्रतिनिधित्व गर्ने रगत खानुको सट्टा, शुरुका मसीहीहरू मृत्युको खतराको सामना गर्न तयार थिए।—२ शमूएल २३:१५-१७ सङ्ग तुलना गर्नुहोस्.
१०, ११. रगत सम्बन्धी परमेश्वरको नियमले रक्तक्षेपणलाई अप्रयोजनीय पार्दछ भनी किन भन्न सकिन्छ?
१० हो, त्यस बेला रक्तक्षेपण गरिंदैन थियो, किनकि रक्तक्षेपणको प्रयोग १६वीं शताब्दी तिर मात्र शुरू भएको हो। तापनि, १७वीं शताब्दीमा, कोपेनहेगन विश्वविद्यालयका शरीर रचना विज्ञानका (एनाटोमी) एक जना प्राध्यापकले आपत्ति गर्दै भने: ‘रोगहरूको आन्तरिक उपचारहरूका निम्ति रगतलाई प्रयोग गर्नेहरूले त्यसको दुरुपयोग गर्दै घोर पाप गरे जस्तो देखिन्छ। मनुष्य-भक्षीहरू निन्दित हुन्छन्। आफ्नो घाँटीलाई मानव रगतले कलुषित पार्नेहरूलाई हामी किन घृणा गर्दैनौं? काटेको नशाबाट अर्काको रगत, चाहे मुखबाट वा रक्तक्षेपण गर्ने औजारहरू द्वारा लिनु, कुरा एउटै हो। यस प्रकारका कार्यका प्रवर्तकहरू ईश्वरीय नियमको सामने दोषी ठहरिन्छन्।”
११ हो, मुख र नशा, दुवैद्वारा रगत लिन परमेश्वरको नियमले वर्जित गर्दछ भनी बितेका शताब्दीहरूका मानिसहरूले पनि बुझेका थिए। यसलाई बुझिदिएमा, परमेश्वरको अड़ान सित मिल्ने यहोवाका साक्षीहरूले लिएको अड़ान बुझ्न, आज मानिसहरूलाई सजिलो हुनेथियो। जीवनलाई अति मूल्यवान ठान्दै, र चिकित्सा सेवाको मूल्याङ्कन गर्दै, सच्चा मसीहीहरूले जीवन सृष्टिकर्त्ताको एउटा वरदान हो भनी त्यसको आदर गर्छन् र रगत लिएर त्यसलाई टिकाउ दिने प्रयास गर्दैनन्।—१ शमूएल २५:२९.
जीवन बचाउने उपचार?
१२. रक्तक्षेपणका सम्बन्धमा समझदार व्यक्तिहरूले मनासिब ढङ्गमा के विचार गर्न सक्तछन्?
१२ रगतले जीवन बचाउँछ भनी वषौं देखि विशेषज्ञहरूले दावा गर्दै आएकाछन्। रगत कम भएको कुनै एउटा व्यक्तिलाई रगतक्षेपण गरियो र त्यस पछि त्यो निको भयो भनी चिकित्सकहरूले सुनाउने गर्न सक्छन्। अतः मानिसहरू सोंच्न सक्छन्: ‘मसीहीहरूको अड़ान चिकित्साको दृष्टिकोणबाट, कतिको बुद्धिमत्तापूर्ण वा मूर्ख हो?’ कुनै पनि गम्भीर चिकित्सा शुरु गर्नु भन्दा अघि, एउटा बुद्धिमान व्यक्तिले त्यस इलाजद्वारा हुन सक्ने लाभहरू र नोकसानीहरू, दुवैलाई राम्रोसँग विचार गर्नेछन्। रक्तक्षेपणबारे के भन्न सकिन्छ? वास्तविकता यो हो कि रक्तक्षेपण गर्दा धेरैनै खतराहरू छन्। त्यसबाट मृत्यु समेत हुनसक्तछ।
१३, १४. (क) रक्तक्षेपण खतरनाक हो भनी कुन कुन तरीकाबाट प्रमाणित भएको छ? (ख) पोपको अनुभवले रगतबाट स्वास्थ्यलाई हुने खतराहरू कसरी प्रदर्शित गऱ्यो?
१३ हालसालै, एल. टी. गुडनफ र जे. एम. शुक भन्ने चिकित्सकहरूले भने: “चिकित्सक समाजलाई धेरै समय देखिन् थाह छ कि रगतलाई हामीले आफ्नो बुद्धिले भ्याएसम्मको सुरक्षित तुल्याए तापनि, रक्तक्षेपण गर्दा सँधैनै खतरा रहन्छ। रक्तक्षेपण द्वारा सबै भन्दा बढ़ी मात्रामा अझ पनि आइ पर्ने जटिल समस्याहरू हुन् नोन-ए, नोन-बी कलेजोका रोग (एन.ए.एन.बी.एच); अरू सम्भाव्य जटिल समस्याहरू मध्य हेपटाइटिस (कलेजोको रोग) बी, एलोइमुनाइजेशन, रक्तक्षेपणको प्रतिक्रिया, रोगसँग लड़ने क्षमता शक्ति कम हुनु, र लौह धातु धेरै बढ़ी हुनु। ती मध्ये एउटा खतराको ‘सङ्कीर्ण’ अनुमान लगाउँदै, रिपोर्टमा यो कुरा थपिएको छ: “हरेक वर्ष अन्दाजी ४०,००० मानिसहरूमा [अमेरिकामा मात्र] एन.ए.एन.बी.एच. फस्टाउने छ र यी मध्य १० प्रतिशतमा कलेजोको रोग (सिरोसिस) वा कलेजामा क्यान्सर (हेपाटोमा) हुनसक्तछ।”—द अमेरिकन जर्नल आफ सर्जरी, जुन १९९०.
१४ रक्तक्षेपणबाट सर्ने रोगको विषयमा जति ज्ञान बढ्दै गएकोछ, त्यतिनै मानिसहरूले रक्तक्षेपणबारे आफ्नो दृष्टिकोणलाई पुनः विचार गरिरहेकाछन्। उदाहरणकालागि, १९८१ मा पोपलाई गोली लागे पछि, एउटा अस्पतालमा इलाज गराएर तिनी घर फर्के। पछि तिनी फेरि दुई महिनाका लागि अस्पताल फर्कनु पर्यो र तिनको स्थिति यति गम्भीर भयो कि अशक्त भएको हुनाकरण, तिनले पद त्याग्नु पर्ला जस्तै देखियो। किन? तिनलाई दिइएको रगतबाट साइटोमेगालोभाइरस भन्ने सरुवा रोग तिनलाई लाग्यो। कसै कसैले आश्चर्य मान्दै प्रश्न गर्लान् कि ‘पोपलाई दिइने रगत ता असुरक्षित छ भने, हामी साधारण मानिसहरूलाई दिने रक्तक्षेपणको के गति होला?’
१५, १६. रोगहरूकालागि रगतलाई जाँच गरिएता पनि रक्तक्षेपण गर्नु किन सुरक्षित छैन?
१५ तर कसै कसैले सोध्न सक्तछन्, ‘रगतलाई राम्ररी जाँचेर त्यसमा रोगहरू छन् कि छैनन् भनी थाहा गर्न सकिंदैन र?’ उदाहरणकालागि, हेपटाइटिस बी. का निम्ति गरिने जाँचलाई विचार गर्नु होस्। पेसेन्ट केअर (फरवरी २८, १९९०) भन्ने पत्रिकाले किटेर बतायो: “रगतलाई विश्वभरि यसका लागि जाँच गर्न थाले पछि, रक्तक्षेपण पश्चात् हेपटाइटिस (कलेजोको रोग) को मात्रा धेरैनै घटेर गयो। तापनि रक्तक्षेपण पश्चात हुने ५-१०% हेपाटाइटिसको मूल कारण अझ पनि हेपाटाइटिस बी नै छ।”
१६ यस प्रकारको जाँच दोषयुक्त हुनसक्ने कुरा एड्स द्वारा देखिन्छ जो रगतबाट सर्ने अर्को खतरा हो। संसारभरि फैलिएको यो एड्स रोगले मानो एउटा बदलाको भावनासाथ, दूषित रक्तको खतराबारे मानिसहरूलाई जागरुक बनाएको छ। हुन ता हो, रगतको राम्ररी जाँच गरिने नया जाँच प्रक्रियाहरू छन्। तथापि, सबै ठाउँहरूमा रगत जाँचिदैन, र वर्तमानमा जाँच गरिने तरिकाहरूबाट पता लाग्न न सक्ने गरी एड्सको किटाणु मानिसहरूले आफ्नो रगतमा वर्षौं सम्म लिएर हिंड़ि रहेको हुनसक्तछ। अतः जाँच गरी पास भएका रगतबाट पनि रोगीहरूले एड्स पाउन सक्तछन्—एड्स पाएकाछन्!
१७. रक्तक्षेपणले सम्भवतः तुरुन्तै नदेखिने हानि कसरी गर्न सक्तछ?
१७ गुडनफ र शुक भन्ने चिकित्सकहरूले “रोगसँग लड़ने क्षमता शक्ति कम हुने” कुरा पनि गरेका थिए। हो, राम्ररी जाँच गरिएको रगत लिनाले पनि रोगीको रोगसँग लड़ने क्षमता-शक्तिलाई हानि हुन सक्तछ, जसले गर्दा क्यान्सर र मृत्युको सम्भावना बढ़नु सक्छ। यसप्रकार, एउटा क्यानेडिएन अध्ययन अनुसार, “शिर र घाँटीमा क्यान्सरको ग्यान्टो निकाल्ने बेलामा रक्तक्षेपण लिएका रोगीहरूको, पछि गएर रोगसँग लड़ने क्षमता शक्ति बिल्कुलै घटेर गएको पाइयो।” (द मेडिकल पोस्ट, जुलाई १०, १९९०) दक्षिण क्यालिफोर्नियाको विश्वविद्यालयका चिकित्सकहरूले रिपोर्ट गरेकाछन्: “कण्ठ नलीमा हुने सबै प्रकारका क्यान्सरहरूका रोगीहरू जसले रक्तक्षेपण लिएका थिएनन्, तिनीहरूमा त्यो रोग फर्केर आउने सम्भावना १४ प्रतिशत थियो र जसले रक्तक्षेपण लिएका थिए, तिनीहरूमा रोग फर्केर आउने सम्भावना ६५ प्रतिशत थियो। गलनली, (फैरिंक्स) र नाक वा साइनसको क्यान्सरमा चाहिं रोग फर्केर आउने सम्भावना, बिना रक्तक्षेपण, ३१ प्रतिशत र रक्तक्षेपण सहित ७१% थियो।” (ऐनल्स आफ ओटोलोजी, राइनोलोजी एण्ड ल्यारिन्जोलोजी, मार्च १९८९) रोगसँग लड़ने क्षमता-शक्तिको कमीको एउटा लुकेको कारण, शल्य चिकित्साको समयमा दिइने रक्तक्षेपण पनि हो र यस प्रकारका रोगीहरूलाई बढ़ी मात्रामा रोग लाग्न सक्छ।”—पाना १० मा भएको बाकस हेर्नुहोस्.
रगतको कुनै विकल्प?
१८. (क) रक्तक्षेपणबाट हुने खतराहरूले गर्दा चिकित्सकहरूको ध्यान कता तिर जान थालेको छ? (ख) आफ्ना चिकित्सकलाई विकल्पहरूबारे के जानकारी तपाईं दिन सक्नु हुन्छ?
१८ कसै कसैले सम्झिन सक्तछन्, ‘रक्तक्षेपण खतरनाक हो तर यसको अरू केही विकल्प छ र?’ हामी निश्चय पनि एउटा उच्च स्तरको प्रभावकारी चिकित्सा चाहन्छौं, अतः रगतको प्रयोग नगरिकनै प्रभावकारी ढ़ङ्गले गम्भीर किसिमका चिकित्सा सम्बन्धी समस्याहरूको समाधान गर्न सकिन्छ र? हो, गर्न सकिन्छ। द न्यु इङ्गलैण्ड जरनल आफ मेडिसिनमा (जुन ७, १९९०) यो रिपोर्ट दिइएको छ: “रक्तक्षेपणद्वारा उत्पन्न हुने बढ़दो खतराहरू [एड्स जस्ता] र अन्य प्रकारका रोगहरूले गर्दा, चिकित्सकहरू रक्तक्षेपणबाट हुने लाभ र हानी दुवैबारे पुनः विचार गर्दैछन् र रक्तक्षेपणलाई बिल्कुलै प्रयोग नगर्ने किसिमका विकल्पहरूतर्फ ध्यान दिंदैछन्।”b
१९. रगत लिन इन्कार गर्नु भएर पनि तपाईं सफलतासाथ आफ्नो इलाज गराउन सक्नु हुन्छ भनी तपाईं कसरी विश्वस्त हुन सक्नु हुन्छ?
१९ यहोवाका साक्षीहरूले धेरै समय देखि रक्तक्षेपण लिन अस्वीकार गर्दै आएका छन्। यो मुख्यतः स्वास्थ्यको खतराको कारण नभएर रगतका सम्बन्धमा परमेश्वरको नियमको आज्ञाले गर्दा हो। (प्रेरित १५:२८, २९) तापनि, निपुण चिकित्सकहरूले रगतको प्रयोग नगरिकनै साक्षीहरू बिरामी पर्दा, सफलतापूर्वक तिनीहरूको हेरचाह गरेकाछन्। चिकित्सा साहित्यमा रिपोर्ट गरिएका धेरै उदाहरणहरू मध्य, एउटा अर्थात् रगतको प्रयोग बिना हार्ट-ट्रान्सप्लान्ट गर्ने प्रणालीलाई स्वीकार गर्न राजी भएका साक्षी रोगीहरूमा गरिएको हार्ट-ट्रान्सप्लान्ट बारे, आरकाइभ्स आफ सर्जरीले (नभेम्वर १९९०) छलफल गरेको थियो। रिर्पोट अनुसार: “२५ वर्ष देखि अधिक समयसम्म यहोवाका साक्षीहरूमाथि हृदयको शल्य-चिकित्सा गरिएको अनुभवको कारण, आज रगत भएका वस्तुहरू प्रयोग नगरिकनै सफलतापूर्वक हृदय बदलिने [हार्ट ट्रान्सप्लान्ट] शल्य-चिकित्सा गर्न सकिने भएको छ . . . यस प्रकारको शल्य-चिकित्साको समयमा रोगीको मृत्यु भएन र पछि यी रोगीहरूको अध्ययन गर्दा, शरीरमा सारिएको अर्काको अङ्ग धेरै मात्रामा न सहने न भएको पाइयो।”
सबै भन्दा मूल्यवान रगत
२०, २१. ‘रगत खराब औषधी हो’ भन्ने मनोवृत्तिलाई विकाश हुन नदिन मसीहीहरू किन होशियार हुनु पर्दछ?
२० तथापि, हामीमध्ये प्रत्येकले एउटा आत्मोद्दीपक प्रश्न आफूलाई सोध्नु परेकोछ। ‘मैले रक्तक्षेपणलाई अस्वीकार गर्ने फैसला गरेको छु भने, सो किन? इमान्दारीसाथ भन्ने हो भने, मेरो प्राथमिक, मौलिक कारण के हो?’
२१ रक्तक्षेपणसित जोड़िएका धेरैनै खतराहरूको सामना गर्न आवश्यक न पर्ने अरू धेरै प्रकारका प्रभावकारी विकल्पहरू छन् भन्ने कुरा हामीले भनिसकेका छौं। एड्स वा कलेजोको रोग (हेपटाइटिस) जस्ता खतराहरूले गर्दा, धेरैले गैर-धार्मिक कारणहरूका लागि पनि रगत न लिने गरेकाछन्। कोही ता यसबारे निकैनै खुल्लमखुल्ला कुरा गर्छन्, मानो तिनीहरू “रगत खराब औषधी हो” भन्ने अभियानमा हिंड़दै छन्। एक जना मसीहीले पनि त्यस प्रकारको अभियानमा भाग लिने सम्भावना हुन सक्तछ। तर यो टुङ्गो न लाग्ने एउटा अभियान हो। कसरी?
२२. जीवन र मृत्युबारे के वास्तविक दृष्टिकोण हामीले लिनु पर्दछ? (उपदेशक ७:२)
२२ कतिकै राम्रा अस्पतालहरूमा सर्वश्रेष्ट चिकित्सा गराइएता पनि, कुनै एक समयमा मानिसहरू मरी हाल्नेछन् भनी साँचो मसीहीहरूले स्वीकार्दछन्। रक्तक्षेपण गरे पनि वा नगरे पनि, मानिसहरू मर्दछन्। यसो भन्नुको अर्थ भाग्यवादी भइएको होइन। यो यथार्थवादी हुनु हो। आज मत्यु जीवनको एउटा वास्तविकता हो। रगत सम्बन्धी परमेश्वरको नियमलाई भङ्ग गर्ने मानिसहरूले तुरुन्तै वा अलिकता पछि भए पनि, अकसर नोकसानी अनुभव गर्दछन्। रक्तक्षेपण द्वारा दिइएको रगतको कारण कोही त मरी हाल्दछन्। तरै पनि, रक्तक्षेपणबाट बाँच्नेहरूले अनन्त जीवन पाएका छैनन् भनी हामीहरू सबैले बुझ्नु पर्दछ। अतः रगतले तिनीहरूको जीवन सदाका निम्ति बचाएको चाहिं छैन। बरु, धार्मिक र चिकित्सा सम्बन्धी कारणहरूले गर्दा रगत लिन अस्वीकार गर्ने, तर वैकल्पिक इलाज स्वीकार गर्ने धेरैजनालाई चिकित्साको दृष्टिबाट पनि धेरै राम्रो भएको छ। यसप्रकार तिनीहरूले आफ्नो जीवनलाई धेरै वर्षसम्म लम्याउन सक्छन्—तर अनन्तसम्म होइन।
२३. रगतबारे परमेश्वरका नियमहरू, हाम्रो पापी अवस्था र छुटकाराको आवश्यकतासँग कसरी सम्बन्धित छन्?
२३ आज बाँच्ने सबै मानिसहरू असिद्ध छन् र क्रमशः मर्दछन् भन्ने कुराले, रगतको सम्बन्धमा बाइबलमा उल्लेखित मुख्य बुँदातर्फ हाम्रो ध्यान आकर्षित गराउँदछ। परमेश्वरले रगत नखानु भनी सारा मानव जातिलाई भन्नुभयो। किन? किनकि यो जीवनको प्रतीक हो। (उत्पत्ति ९:३-६) व्यवस्थाको नियममा, सबै मानवहरू पापी हुन् भनी देखाउन उहाँले नियमहरू कायम गर्नुभयो। परमेश्वरले इस्राएलीहरूलाई भन्नुभयो कि जनावरको बलिदानहरू दिएर तिनीहरूले आफ्ना पापहरू छोप्ने आवश्यकता प्रकट गर्न सक्तछन्। (लेवी ४:४-७, १३-१८, २२-३०) यद्यपि आज हामीले पनि त्यही गरेको उहाँले चाहनु न भएता पनि, अहिले पनि त्यसको महत्त्व छ। विश्वास गर्ने सबैका पापहरूको प्रायश्चित गर्ने एउटा बलिदानको प्रबन्ध मिलाउने उद्देश्य उहाँले रचनु भयो, अर्थात्—छुटकाराको बलिदान। (मत्ती २०:२८) त्यसै कारण, रगत बारे परमेश्वरको दृष्टिकोण अपनाउनु हाम्रो निम्ति जरूरी छ।
२४. (क) रगतको सम्बन्धमा स्वास्थ्यका खतराहरूलाईनै केन्द्र-बिन्दु बनाउनु किन गलत हुनेछ? (ख) रगतको प्रयोग बारे हाम्रो मुख्य कारण के हुनु पर्दछ?
२४ रगतद्वारा हुने शारीरिक खतराहरू मै मुख्यतः आफ्नो ध्यान केन्द्रित गर्नु एउटा भूल हुनेछ, किनकि परमेश्वरको ध्यान त्यसमा केन्द्रित थिएन। रगत न खानु इस्राएलीहरूका स्वास्थ्यका लागि केही मात्रामा लाभदायक हुन सक्त थियो जस्तो कि सुँगुर वा सीनो खाने जनावरहरूको मासु नखानु पनि लाभदायक नै हुन सक्थ्यो होला। (व्यवस्था १२:१५, १६; १४:७, ८, ११, १२) तथापि, याद गर्नुहोस् कि परमेश्वरले नूहलाई मासु खाने अनुमति दिनुहुँदा, त्यस प्रकारका जनावरहरूको मासु खान निषेध गर्नु भएन। तर मानिसहरूले रगत चाहिं नखानु भनी आज्ञा दिनुभयो। परमेश्वरको दृष्टिकोण मुख्यतः सम्भाव्य स्वास्थ्य सम्बन्धी खतराहरू तर्फ केन्द्रित थिएन। रगतका सम्बन्धमा उहाँको आज्ञाको मुख्य बुँदा त्यो थिएन। उहाँका उपासकहरूले रगत द्वारा आफ्नो जीवन टिकाउन इनकार गर्नु परेका थिए; रगत स्वास्थ्यको निम्ति खराब हो भनी होइन, तर रगत लिनु अपवित्र हो भनेर। रगत दूषित हो भनेर होइन, तर रगत अमूल्य हो भनी त्यसलाई इन्कार गर्नु परेको थियो। बलिदानको रगत द्वारा मात्र तिनीहरूले क्षमा पाउन सक्ने थिए।
२५. रगतले कसरी जीवनलाई सदाका निम्ति बचाउन सक्तछ?
२५ हाम्रा निम्ति पनि सोही कुरा सही हुन्। एफिसी १:७ मा, प्रेरित पावलले व्याख्या गरे: “जसमा हामीलाई उहाँको (ख्रीष्टको) रगत बाट उद्धार, अर्थात् उहाँको अनुग्रहको धन अनुसार अपराधहरूको क्षमा हुन्छ।” परमेश्वरले कसैको पाप क्षमा गरिदिनु भएर त्यसलाई धर्मी ठान्नु हुन्छ भने, त्यस व्यक्तिले अनन्त जीवन पाउने सम्भावना छ। अतः छुटकाराको निम्ति येशूले चढ़ाउनु भएको रगतले जीवन बचाउन सक्तछ—सदाकालागि, यथार्थमा, अनन्तसम्म। (w91 6/15)
[फुटनोटहरू]
a आदेश यस प्रकार अन्त भयो: “जुन कुराहरूबाट अलग रहनुभयो भने बढ़िया हुनेछ। तपाईंको भलो होस्।” (प्रेरित १५:२९) “तपाईंको भलो होस्” भन्नुको अर्थ ‘रगत वा व्यभिचारबाट अलग रहनाले तपाईंको स्वास्थ्य राम्रो हुनेछ’ भन्दै कुनै प्रतिज्ञा गरिएको होइन।’ चिठ्ठी समाप्त गर्दा, “यतिकैमा बिदा” भने जस्तै हो।
b १९९० मा, वाचटावर बाइबल एण्ड ट्र्याक्ट सोसाइटी आफ न्यु योर्क, इनकरपरेटेड, द्वारा प्रकाशित हाउ कैन ब्लड सेभ योर लाइफ? (रगतले तपाईंको जीवन कसरी बचाउन सक्तछ?) भन्ने पुस्तिकामा रक्तक्षेपणको धेरै अन्य प्रभावकारी विकल्पहरूबारे छलफल गरिएको छ।
के तपाईं व्याख्या गर्न सक्नुहुन्छ?
▫ यहोवाका साक्षीहरूले रक्तक्षेपण इनकार गर्ने मुख्य कारण के हो?
▫ रगत सम्बन्धी बाइबलले लिएको अड़ान चिकित्साको दृष्टिले पनि अनुचित छैन भनी कुन प्रमाणले पुष्टि दिंदछ?
▫ रगत सम्बन्धी बाइबलको नियम, मानिसको छुटकाराको मोल सित कसरी जोड़िएको छ?
▫ रगतले जीवनलाई सदाका निम्ति बचाउन सक्ने एक मात्र तरिका के हो?
[पृष्ठ २६-मा भएको पेटी]
रक्तक्षेपण र रोगको सग्र्मण
रक्तक्षेपणको कारण, एउटा बिरामीलाई अझै अरू रोगले चाँड़ै प्रभावित गर्छ कि गर्दैन भन्ने कुरालाई विस्तारपूर्वक छलफल गरे पछि, डा. नील ब्लूमबर्ग यस निष्कर्षमा पुगे: “यस सम्बन्धमा गरिएका १२ वटा अध्ययनहरू मध्य १० वटा अध्ययन अनुसार, रक्तक्षेपण महत्त्वपूर्ण र स्वतन्त्र ढ़ङ्गले किटाणु-सग्र्मणसँग सम्बन्धित रहेछ . . . साथै, शल्य-चिकित्सा गर्नु भन्दा धेरै समय अघि रोगीले रक्तक्षेपण लिएको छ भने, कुनै कुनै अध्ययनहरूले सङ्केत गरे झैं, रक्तक्षेपणका असरहरू लामो समयसम्म रहेको खण्डमा, त्यसले बिरामीको रोगसँग लड़ने क्षमता शक्तिमाथि असर पार्न सक्तछ। . . . यी तथ्याङ्कलाई विस्तृत रूपमा पुष्टि दिन सकिन्छ भने, शल्य-चिकित्सा पछि हुने एउटा सबै भन्दा सामान्य र महत्त्वपूर्ण समस्या मानव रक्तक्षेपणसित सम्बन्धित हुनेछ।”—ट्रान्सफ्युजन मेडिसिन रिभ्युज, अक्तुबर १९९०.
[पृष्ठ २५-मा भएको चित्र]
ठूलो पारेर देखाइएका रगतका राता कोषहरू। “प्रत्येक माइक्रोलिटर (०.००००३ आउन्स) रगतमा ४० लाख देखि ६० लाख रगतका राता कोषहरू हुन्छन्।”—द वर्ल्ड बुक एनसाइक्लोपिडिया