कसलाई समर्पित?
“परमप्रभुले भन्नुभएका सबै कुरा हामी गर्नेछौं र आज्ञाकारी हुनेछौं।”—प्रस्थान २४:७.
१, २. (क) केही मानिसहरूले के कस्ता कुराका निम्ति आफूलाई समर्पण गरेका छन्? (ख) समर्पण भन्ने कुरा के धर्ममा रुचि लिनेहरूमा मात्र सीमित छ?
फेब्रुअरी १९४५-मा जापानको याटाबे फ्लायिंग कोर्प्सको जिरो फाइटर नामक वायुयानका चालकहरू सभागृहमा भेला भएका थिए। कामिकाजे आक्रमण वाहिनीको सदस्य हुन आफू तयार छन् कि छैनन् भनी लेख्न, उपस्थित सबैलाई कागतको सानो टुक्रा दिइयो। त्यहाँ उपस्थित एक जना अफसर भन्छन्: “राष्ट्रिय संकटको बेलामा आफूलाई अर्पण गर्ने मेरो निम्ति यो एउटा सुअवसर थियो। भावुक बाध्यताको वशमा परेर मैले आफूलाई उपलब्ध गराएँ। म उक्त काजका लागि राजी भएँ।” यी अफसरलाई ओहका (आत्मघाती रकेट यान) चलाउने तथा शत्रुहरूको रणपोतमाथि आफ्नो वायुयानलाई दुर्घटनाग्रस्त पार्ने प्रशिक्षण दिइयो। तथापि, उनले सो गर्दै आफ्नो देश र सम्राटको खातिर प्राण अर्पण गर्ने मौका पाउनुअघि नै युद्ध समाप्त भयो। जापान युद्धमा पराजित हुँदा सम्राटमाथि उनको विश्वास छिन्नभिन्न भयो।
२ एकताका जापानका धेरै मानिसहरू सम्राटका भक्त थिए। उनलाई तिनीहरूले जिउँदो ईश्वर ठान्थे। अन्य देशहरूमा पनि भक्तिका अझ अन्य पात्रहरू थिए र आज पनि छन्। लाखौं मानिसहरू मरियमका, बुद्धका अथवा अन्य देवताहरूका भक्त हुन्। भक्तिका उक्त पात्रहरूको प्रतिनिधित्व अक्सर मूर्तिहरूद्वारा गरिन्छ। अझ केही मानिसहरू चाहिं सनसनीपूर्ण वाक्शक्तिबाट प्रभावित हुँदै आफूले दुःख साथ कमाएको धन टीभी प्रचारकहरूको पाकेटमा हालिदिन्छन्। यसप्रकारको हार्दिक समर्थन पनि भक्ति सरह नै हो। निराश जापानीहरूले युद्धपछि आफूलाई समर्पित गर्न भक्तिको नयाँ पात्र खोजे। कसैकसैका लागि काम नै उक्त पात्र हुन गयो। पूर्वमा होस् वा पश्चिम, धेरैले आफूलाई धनको वेदीमा अर्पित गरेका छन्। जवान मानिसहरूले केही संगीतकाहरूलाई नै आफ्नो जीवनको मूल आदर्श बनाउँछन् तथा तिनीहरूकै जीवनशैली अनुकरण गर्छन्। मानिसहरू ठूलो संख्यामा म-पूजकहरू पनि भएका छन्। तिनीहरू आफ्नै अभिलाषालाई जीवनको केन्द्र-बिन्दु बनाउँछन्। (फिलिप्पी ३:१९; २ तिमोथी ३:२) तर के यस्ता चीजहरू तथा व्यक्तिहरू कसैको हार्दिक भक्ति पाउने योग्यका छन् र?
३. भक्तिका केही पात्रहरू कसरी बेकम्मा साबित भएका छन्?
३ वास्तविकताको सामना गर्नु पर्दा मूर्तिपूजकहरू अक्सर विचलित हुन्छन्। आफ्ना मूर्तिहरू “मानिसका हस्तकला” बाहेक अरू केही होइनन् भनी थाह पाउँदा मूर्तिपूजकहरू अक्सर हताश हुन्छन्। (भजन ११५:४) प्रसिद्ध धर्म प्रचारकहरूको दुराचार पर्दाफास हुँदा इमान्दार भक्तहरू निराशित हुन्छन्। क्षणभंगुर अर्थ व्यवस्थाहरूको ह्रास हुँदा जागिरदारहरू मानसिक अशान्तिको शिकार बन्छन्। हालसालैको व्यापारिक मन्दीले गर्दा धनका उपासकहरूलाई ठूलो धक्का लाग्यो। थुप्रै पैसा कमाउने उद्देश्यले लिएका ऋणहरू फिर्ता दिनै नसकिने बोझ हुन गयो। (मत्ती ६:२४) खुबै पुजिएका रक संगीतकाहरू तथा मनोरञ्जन संसारका अन्य व्यक्तिहरू मर्दा वा लोकप्रियताको मञ्चबाट लोप हुँदा तिनीहरूका उपासकहरू आफूलाई अनाथ महसुस गर्न थाल्छन्। अर्कोतिर, आत्म-विलासी मार्ग पहिल्याउनेहरूले चाहिं अक्सर अत्यन्त दुःखदायी परिणाम भोग्छन्।—गलाती ६:७.
४. व्यर्थका कुराहरूमा आफ्नो जीवन अर्पित गर्न मानिसहरूलाई कुन कुराले प्रेरित गराउँछ?
४ मानिसहरू आफ्नो जीवन यस्तो व्यर्थतालाई अर्पित गर्न कुन कुराले गर्दा प्रेरित हुन्छन्? विशेषतः शैतान अर्थात् दियाबल अधिनस्थ यो संसारको आत्माले गर्दा हो। (एफिसी २:२, ३) यस आत्माको प्रभाव बेग्लाबेग्लै ढंगहरूमा देखिन्छ। कुनै व्यक्ति आफ्ना पुर्खाहरूले मान्दै आएको परम्पराको जकडमा होलान्। शिक्षा र पालनपोषणले पनि मानिसको सोचाइमाथि गहिरो प्रभाव पर्न सक्छ। अथवा, काम गर्ने ठाउँको वातावरणले “निगमगत योद्धाहरू”-लाई कामै कामको अथाह सागरमा धकेलिदिएको छ र यसले तिनीहरूको ज्यानलाई समेत खतरामा पार्न सक्छ। संसारको भौतिकवादी प्रवृत्तिले गर्दा मानिसहरूमा झन् झन् धेरै चाहनाहरू जागृत हुन सक्छन्। धेरैका हृदयहरू भ्रष्ट भएका छन्। तिनीहरू आफ्नै स्वार्थी अभिलाषाहरूको वेदीमा स्वयंलाई अर्पित गर्छन्। यस्ता गतिविधिहरू भक्तिका योग्य छन् छैनन्, तिनीहरू सोच्दा पनि सोच्दैनन्।
समर्पित राष्ट्र
५. यहोवालाई ३,५०० वर्षअघि के कस्तो समर्पण गरिएको थियो?
५ करीब ३,५०० वर्षअघि एउटा राष्ट्रले भक्तिको धेरै नै योग्य पात्र फेला पारे। तिनीहरूले आफ्नो जीवन सर्वसत्ताधारी परमेश्वर यहोवालाई अर्पण गरे। सीनैको उजाडस्थानमा इस्राएली राष्ट्रले सामूहिक तवरमा परमेश्वरको सामु आफ्नो समर्पण घोषित गरे।
६. इस्राएलीहरूका लागि परमेश्वरको नाउँले के महत्त्व राख्नु थियो?
६ सो गर्न इस्राएलीहरू कुन कुराले गर्दा उत्प्रेरित भए? तिनीहरूलाई मिस्रको दासत्वबाट मुक्त पार्न यहोवाले मोशालाई पठाउनु भयो। तर उनलाई पाउने परमेश्वरको वर्णन कसरी गर्ने भनी मोशाले सोध्दा, परमेश्वरले “म हुँ जो म हुँ” भन्दै आफ्नो परिचय दिनु भयो। उहाँले मोशालाई इस्राएलीहरूकहाँ गएर यसो भन्न अह्राउनु भयो: “म हुँ भन्नेले तिमीहरूकहाँ मलाई पठाउनु भएको छ।” (प्रस्थान ३:१३, १४) अर्थात् आफ्नो उद्देश्य पूर्तिका लागि जे आवश्यक हुन्छ, सोही कुरा यहोवा बन्न सक्नुहुन्छ। त्यतिखेर उहाँले स्वयंलाई प्रतिज्ञाहरूको पूर्तिकर्त्ताको रूपमा प्रकट गर्न लाग्नु भएको थियो। उहाँले यो रूप इस्राएलीहरूलाई पुर्खाहरूको सामु कहिल्यै धारण गर्नु भएको थिएन।—प्रस्थान ६:२, ३.
७, ८. यहोवा तिनीहरूको भक्तिको योग्य हुनुहुन्छ भनी इस्राएलीहरूसित के प्रमाणहरू थिए?
७ दश विपत्तीहरूले मिस्र देश र त्यहाँका बासिन्दाहरूलाई पीडित पारेको इस्राएलीहरूले देखे। (भजन ७८:४४-५१) यसपछि, आइमाई तथा केटाकेटीहरू लगायत सम्भवतः तीस लाखभन्दा बढी इस्राएलीहरू आफ्ना मालसामान बाँधेर गोशेनबाट एकै रातमा रवाना भए। यो गर्न सक्नु पनि एउटा अद्भुत कुरा थियो। (प्रस्थान १२:३७, ३८) तत्पश्चात् “योद्धा”-को रूप धारण गर्नु हुँदै यहोवाले लाल समुद्रमा आफ्ना जनहरूलाई फिरऊन्का सेनाहरूबाट बचाउनु भयो। उहाँले लाल समुद्रको पानीलाई दुई भाग पार्नु भएर इस्राएलीहरूलाई पार तरन दिनु भयो। तर तिनीहरूको पछिपछि आउने मिस्रीहरूलाई डुबाउन उहाँले लाल समुद्रको पानीलाई फेरि एकै ठाउँमा पार्नु भयो। परिणामस्वरूप “परमप्रभुले मिस्रीहरूमाथि गर्नुभएको त्यो ठूलो काम इस्राएलले देखे, र मानिसहरूले परमप्रभुको भय माने। औ मानिसहरूले परमप्रभु र उहाँका दास मोशामाथि विश्वास गरे।”—प्रस्थान १४:३१; १५:३; भजन १३६:१०-१५.
८ तापनि, इस्राएलीहरूले परमेश्वरको नाउँको अर्थबारे यथेष्ट प्रमाण नपाए जस्तै व्यवहार गरे। खाने कुरा र पिउने पानीको अभाव भयो भन्दै तिनीहरूले यहोवा र उहाँको प्रतिनिधि मोशाको विरुद्धमा गन्गन् गर्न थाले। यहोवाले बटेर चराहरू पठाउनु भयो, मन्ना वर्षाउनु भयो र मेरीबामा चट्टानबाट पानीको मूल फुटाउनु भयो। (प्रस्थान १६:२-५, १२-१५, ३१; १७:२-७) यहोवाले इस्राएलीहरूलाई अमालेकीहरूको आक्रमणबाट पनि बचाउनु भयो। (प्रस्थान १७:८-१३) यहोवाले पछि मोशाद्वारा घोषणा गर्नु भएको निम्नलिखित कुरालाई इस्राएलीहरूले कुनै हालतमा पनि अस्वीकार गर्न सक्तैन थिए: “परमप्रभु, नै टिठाउनमा भरिपूर्ण र दयालु परमेश्वर, रीस गर्नमा ढीलो, र कृपा र सत्यतामा प्रशस्त हुनुहुन्छ, हजारौं हजारमाथि कृपा देखाउनुहुने, दुष्टता, अपराध र पाप क्षमा गर्नुहुने।” (प्रस्थान ३४:६, ७) यहोवाले साँच्चै नै आफूलाई तिनीहरूको भक्तिको योग्य पात्र साबित गर्नु भयो।
९. यहोवाले इस्राएलीहरूलाई स्वेच्छासाथ उहाँको सेवा गर्ने इच्छा प्रकट गर्न किन दिनु भयो र तिनीहरूले कस्तो प्रतिक्रिया देखाए?
९ इस्राएलीहरूलाई मिस्रबाट यहोवाले स्वयं मुक्त गराउनु भएको हुनाकारण तिनीहरूमाथि उहाँले स्वतः हक जमाउन सक्नु हुन्थ्यो। तर उहाँले यसो गर्नु भएन। उहाँ कृपालु तथा दयावन्त परमेश्वर हुनु हुन्छ। उहाँले तिनीहरूलाई स्वेच्छासाथ उहाँको सेवा गर्ने मनसाय व्यक्त गर्न दिनु भयो। (व्यवस्था ७:७, ८; ३०:१५-२०) उहाँले आफू र इस्राएलीहरूबीचको वाचाका शर्तहरू तिनीहरू समक्ष राखिदिनु भयो। (प्रस्थान १९:३-८; २०:१–२३:३३) मोशाले यी शर्तहरू प्रस्तुत गर्दा, इस्राएलीहरूले यसो भने: “परमप्रभुले भन्नुभएका सबै कुरा हामी गर्नेछौं र आज्ञाकारी हुनेछौं।” (प्रस्थान २४:३-७) तिनीहरू स्वेच्छाले सर्वसत्ताधारी प्रभु यहोवाका समर्पित राष्ट्र भए।
मूल्यांकनको भावले समर्पण तर्फ लैजान्छ
१०. यहोवामा हाम्रो समर्पण कुन कुरामा आधारित हुनु पर्छ?
१० सृष्टिकर्ता यहोवा आज पनि हाम्रो हार्दिक भक्तिको योग्य हुनुहुन्छ। (मलाकी ३:६; मत्ती २२:३७; प्रकाश ४:११) तथापि, हाम्रो भक्ति होहोरे, क्षण-भंगुर भावना अथवा अर्काको वा आफ्नै आमा-बाबुको करकापमा आधारित हुनु हुँदैन। हाम्रो भक्ति यहोवाको सत्यताको सही ज्ञान र उहाँले हाम्रो निम्ति गर्नु भएका जम्मै कुराहरूको मूल्यांकनमाथि अडेको हुनुपर्छ। (रोमी १०:२; कलस्सी १:९, १०; १ तिमोथी २:४) जसरी यहोवाले इस्राएलीहरूलाई आफ्नो समर्पण स्वेच्छासाथ प्रकट गर्ने मौका दिनु भयो, त्यसरी नै हामीले पनि सो समर्पण स्वेच्छासाथ गरेर खुलेआम जनाउ दिने मौका उहाँबाट पाएका छौं।—१ पत्रुस ३:२१.
११. हामीले बाइबल अध्ययनद्वारा यहोवाबारे के थाह लाउन सकेका छौं?
११ बाइबल अध्ययनद्वारा हामी परमेश्वरलाई व्यक्तिगतरूपमा चिन्न सक्छौं। उहाँको वचनले हामीलाई सृष्टिमा प्रतिबिम्बित उहाँका गुणहरू बुझ्ने मदत दिन्छ। (भजन १९:१-४) उहाँ कुनै रहस्यमय अथवा बुझ्नै नसकिने त्रिएक भगवान हुनुहुन्न भनी उहाँको वचनबाट देख्न सकिन्छ। नता उहाँ युद्धहरूमा पराजित हुने अथवा आफ्नो ईश्वरत्व नै त्याग्न बाध्य हुने भगवान हुनुहुन्छ। (प्रस्थान १५:११; १ कोरिन्थी ८:५, ६; प्रकाश ११:१७, १८) उहाँले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नु भएको छ। जसले गर्दा उहाँको सुन्दर नाउँको अर्थ हामी बारम्बार सम्झिरहन्छौं। उहाँ उद्देश्यहरूको महान रचयिता हुनुहुन्छ। (उत्पत्ति २:४; भजन ८३:१८; यशैया ४६:९-११) उहाँ स्पष्टतः कति विश्वासयोग्य र भरपर्दो हुनुहुन्छ, सो हामी बाइबल अध्ययनद्वारा राम्ररी बुझ्न सक्छौं।—व्यवस्था ७:९; भजन १९:७, ९; १११:७.
१२. (क) हामीलाई यहोवाप्रति कुन कुराले आकर्षित गराउँछ? (ख) बाइबलमा उल्लिखित साँचो घटनाहरूबाट हामी यहोवाको सेवा गर्न कसरी उत्प्रेरित हुन्छौं? (ग) यहोवाको सेवा गर्ने सन्बन्धमा तपाईंको के विचार छ?
१२ हामीलाई यहोवाप्रति आकर्षित गराउने सबैभन्दा मुथ्य कुरा उहाँको मायालु व्यक्तित्व हो। मानिसहरूसित व्यवहार गर्दा उहाँ कति मायालु, क्षमावन्त र कृपालु हुनुहुन्छ, सो बाइबलमा प्रदर्शित गरिएको छ। सोच्नुहोस्, अय्यूबले विश्वासपूर्वक आफ्नो निष्ठा कायम राख्दा उनलाई यहोवाले कति सम्पन्न पार्नु भयो। यहोवा “टिठाइमा भरपूर र कृपालु हुनुहुन्छ” भन्ने तथ्यलाई अय्यूबको अनुभवले विशेष जोड दिन्छ। (याकूब ५:११; अय्यूब ४२:१२-१७) सोच्नुहोस्, दाऊदले व्यभिचार र हत्या गर्दा यहोवाले उनीसित कस्तो व्यवहार गर्नु भयो। हो, पाप गर्ने व्यक्ति यहोवासमक्ष “चूर्ण र पश्चातापी हृदय” लिएर आउँदा उहाँ गम्भीर पापहरूलाई समेत क्षमा गर्न तयार हुनुहुन्छ। (भजन ५१:३-११, १७) सोच्नुहोस्, परमेश्वरका जनहरूलाई पहिले क्रूरतासाथ सताउने तार्ससको सावलसित पनि यहोवाले कस्तो व्यवहार गर्नु भयो। यी उदाहरणहरूबाट परमेश्वरको दया र पश्चातापी जनहरूलाई समेत प्रयोग गर्ने उहाँको उदारता झल्किन्छ। (१ कोरिन्थी १५:९; १ तिमोथी १:१५, १६) यस्तो मायालु परमेश्वरको सेवामा पावल आफ्नो ज्यान समेत गुमाउन तयार थिए। (रोमी १४:८) तपाईं नि?
१३. यहोवाद्वारा प्रदर्शित प्रेमको कुन महान अभिव्यक्तिले गर्दा असल हृदय हुनेहरू उहाँमा समर्पित हुन बाध्य हुन्छन्?
१३ यहोवाले इस्राएलीहरूलाई मिस्रको दासत्वबाट मुक्ति दिने बाटो खोल्नु भयो। त्यसरी नै उहाँले हामीलाई पनि पाप र मृत्युको बन्धनबाट बचाउने उपाय तयार पार्नु भएको छ। यो उपाय हो येशू ख्रीष्टले चढाउनु भएको छुडौतीको बलिदान। (यूहन्ना ३:१६) पावल भन्छन्: “परमेश्वरले हामीतर्फको उहाँको आफ्नो प्रेम उहाँमा यसैमा प्रमाणित गर्नुहुन्छ, कि हामी पापी छँदै, ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।” (रोमी ५:८) यो मायालु प्रबन्धले गर्दा असल हृदय भएकाहरू येशू ख्रीष्टद्वारा यहोवामा आफूलाई समर्पित गर्न बाध्य हुन्छन्। “किनकि ख्रीष्टको प्रेमले हामीलाई करमा पार्दछ, किनभने हामी यसरी विचार गर्छौं, कि सबैका निम्ति एक जना मर्नुभएको हुनाले सबै मरे, औ उहाँ सबैका निम्ति मर्नुभयो, र अब बाँच्नेहरूले आफू आफू बाँच्ने होइन, तर उहाँको निम्ति बाँच्नुपर्छ जो तिनीहरूका खातिर मर्नुभयो, र फेरि बिउँतनु पनि भयो।”—२ कोरिन्थी ५:१४, १५; रोमी ८:३५-३९.
१४. यहोवाको व्यवहारबारे आफूसित ज्ञान हुँदैमा के हामी उहाँमा आफ्नो जीवन समर्पण गर्न प्रेरित हुन्छौं होला र? व्याख्या गर्नुहोस्।
१४ तर यहोवाको व्यक्तित्व र उहाँले मानिसजातिसित राख्नु भएको सम्पर्कबारे आफूसित ज्ञान भएर मात्र पुग्दैन। यहोवाका लागि व्यक्तिगत मूल्यांकन बढाउनु पर्छ। अब यो कसरी गर्ने? परमेश्वरको वचनलाई प्रयोगमा ल्याएर तथा त्यसमा भएका सिद्धान्तहरू वास्तवमा कति प्रभावकारी छन्, सो आफ्नै जीवनमा अनुभव गरेर। (यशैया ४८:१७) यहोवाले हामीलाई शैतान अधीनस्थ यो दुष्ट संसारको दलदलबाट बचाउनु भएको हामी कहिल्यै बिर्सनु हुँदैन। (१ कोरिन्थी ६:११-तुलना गर्नुहोस्।) सही कुराका लागि संघर्ष गर्दा हामी यहोवामाथि भर पर्न सिक्छौं र यहोवा “प्रार्थना सुन्नु हुने” जीवित परमेश्वर हुनुहुन्छ भनी स्वयं अनुभव गर्नेछौं। (भजन ६२:८; ६५:२) चाँडै उहाँसित एउटा घनिष्ठ सम्बन्ध महसुस गर्न थाल्छौं। आफ्ना आन्तरिक भावनाहरू पनि उहाँ समक्ष पोखाउन सक्छौं। यहोवाका लागि हामीमा न्यानो प्रेम बढ्दै जान्छ। अन्ततः हामी उहाँलाई आफ्नो जीवन समर्पण गर्न निःसन्देह अघि बढ्छौं।
१५. आफ्नो पेशामा समर्पित मानिसलाई कुन कुराले यहोवाको सेवा गर्ने प्रेरणा दियो?
१५ यी मायालु परमेश्वर यहोवालाई धेरैले चिनेर उहाँको सेवा गर्न आफ्नो जीवन समेत अर्पण गरी सकेका छन्। चल्तापुर्जा व्यापार भएको एक जना विद्युत कालिगडको उदाहरण लिनुहोस्। उनी कहिलेकाहीं बिहानदेखि दिनभरि काम गरेर भोलिपल्ट बिहान पाँच बजेतिर मात्र घर फर्कन्थे। एक घण्टाजति आराम गरेपछि उनी फेरि अर्को काममा गई हाल्थे। उनले पछि यसो भने: “मैले आफ्नो काममा आफूलाई समर्पित गरी दिएको थिएँ।” तर उनकी पत्नीले बाइबल अध्ययन सुरु गर्न थालेपछि त्यसमा उनी पनि सामेल भए। उनी भन्छन्: “मैले त्यतिखेरसम्म चिनेका जम्मै देवताहरू हामीबाट सेवा पाउने प्रतीक्षामा मात्र बसेका थिए। हाम्रो हितका लागि केही गर्न अघि सर्दैन थिए। तर यहोवाले भने ठूलो व्यक्तिगत त्याग गरेर आफ्नो एक मात्र पुत्र पठाउने कदम चाल्नु भयो।” (१ यूहन्ना ४:१०, ११) दश महिना भित्र नै यी मानिस यहोवामा समर्पित भए। त्यसपछि जीवित परमेश्वरको सेवा गर्नमा नै उनले आफ्नो सारा ध्यान केन्द्रित गरे। उनी पूर्णसमय सेवक भए र अझ बढी खाँचो परेको ठाउँमा आफ्ना बसाइ सारे। प्रेरितहरूले झैं उनी पनि “सबै थोक छाडेर” येशूको पछि लागे। (मत्ती १९:२७) दुई महिनापछि उनी र उनकी पत्नीलाई तिनीहरू बसोबास गर्ने देशको वाच टावर बाइबल एन्ड ट्रेक्ट सोसाइटीको शाखा कार्यालयमा सेवा गर्न बोलाहट भयो। त्यहाँ उनले विद्युतसम्बन्धी काममा सघाउ पुऱ्याउन सके। अब उनले सोही शाखामा आफूलाई मन पर्ने काम २० वर्षभन्दा बढी समयदेखि गर्दै आएका छन्। केवल यस पटक चाहिं उनले सो काम आफ्नो निम्ति नभएर यहोवाको निम्ति गरिरहेका छन्।
आफ्नो समर्पणको आम घोषणा गर्नुहोस्
१६. यहोवालाई जीवन समर्पण गर्ने निर्णय लिंदा हामीले चाल्नु पर्ने केही कदमहरू के हुन्?
१६ केही समयसम्म बाइबल अध्ययन गरेपछि जवान र बूढा, दुवै तिनीहरूका निम्ति यहोवाले गरी दिनु भएका कुराहरूको मूल्यांकन गर्न उत्प्रेरित हुन्छन्। यसले गर्दा तिनीहरू परमेश्वरलाई आफ्नो जीवन अर्पण गर्न प्रोत्साहित हुन्छन्। तिनीहरूमध्ये सम्भवतः तपाईं पनि एक जना हुनुहुन्छ होला। अब यहोवालाई तपाईं आफ्नो जीवन कसरी अर्पण गर्नु हुन्छ? प्रथमतः तपाईंले बाइबलबाट सही ज्ञान लिनु पर्छ। त्यो ज्ञानलाई व्यवहारमा ल्याउँदै तपाईंले यहोवा र येशू ख्रीष्टमाथि विश्वास प्रकट गर्नु पर्छ। (यूहन्ना १७:३) तपाईंले पश्चाताप गर्नु पर्छ र बितेको हर पापपूर्ण पद्धतिलाई त्याग्नु पर्छ। (प्रेरित ३:१९) यसपछि तपाईं समर्पणको कदम बढाउन तयार हुनुहुनेछ। सो कदम चाल्ने आफ्नो इच्छा तपाईंले यहोवालाई गम्भीरतापूर्वक प्रार्थनाद्वारा प्रकट गर्नु पर्छ। यो प्रार्थनाले निःसन्देह तपाईंको हृदयमा गहिरो छाप पार्नेछ। किनकि यहोवा र तपाईंबीच स्थापित हुने नयाँ सम्बन्ध यहींबाट आरम्भ हुन्छ।
१७. (क) भर्खरै समर्पित व्यक्तिहरूसित बसेर प्राचीनहरूले पूर्व तयार गरिएका प्रश्नहरूको पुनः विचार किन गर्छन्? (ख) समर्पण गर्नासाथै कुन महत्त्वपूर्ण कदम चाल्नु अत्यावश्यक हुन्छ र कुन उद्देश्यले?
१७ मोशाले इस्राएलीहरूलाई यहोवासित बाँध्ने वाचाका शर्तहरू बताएका थिए। त्यसरी नै यहोवामा हालसालै समर्पित जनहरूलाई समर्पण गर्दा कुन-कुन कुरा विथालित हुन्छ, सो बुझ्ने मदत यहोवाका साक्षीहरूका मण्डलीय प्राचीनहरूले दिन्छन्। बाइबलका मूलभूत शिक्षाहरूसित ती प्रत्येक नयाँ व्यक्ति राम्ररी परिचित छन्-छैनन् तथा यहोवाको साक्षी हुनमा केके विथोलित छन्, तिनीहरूले बुझेका छन्-छैनन्, सो कुराहरू थाह गर्न यी प्राचीनहरूले अगावै तयार पारिएका प्रश्नहरूको प्रयोग गर्छन्। तत्पश्चात् विधिपूर्वक समर्पणको आम घोषणा गर्नु उपयुक्त हुन्छ। सम्भवतः आफू र यहोवाबीच यो विशेष सम्बन्ध कायम भएको कुरा अरूलाई बताउन यी भर्खरै समर्पित जन पनि इच्छुक हुन्छन्। (यर्मिया ९:२४-तुलना गर्नुहोस्।) यसकारण आफ्नो समर्पणलाई चित्रित गर्दै पानी बप्तिस्मा लिनु उचित हुन्छ। पानीमा निमज्जन गर्नु र फेरि पानीबाट बाहिर निस्कनुको अर्थ आफ्नो पुरानो स्वार्थी जीवनपद्धतिलाई त्यागेर नयाँ जीवन-शैली पछ्याउन अर्थात् परमेश्वरको इच्छा गर्न बिउँतनु हो। यो कुनै धर्मविधि वा शिन्टो धर्मको मिसोगी जस्तो रीति पनि होइन जसमा पानीले मानिसलाई शिद्ध पार्छ भन्ने धारणा छ।a बरु बप्तिस्मा त पहिले नै प्रार्थनाद्वारा गरी सकिएको समर्पणको आम घोषणा मात्र हो।
१८. हाम्रो समर्पण व्यर्थ जाने छैन भनी हामी किन विश्वस्त हुन सक्छौं?
१८ यो गम्भीर अवसर एउटा अविस्मरणीय अनुभव हो। यसले परमेश्वरको नयाँ सेवकलाई यहोवासितको आफ्नो स्थायी सम्बन्धबारे सधैं सम्झना गराउँनेछ। यहोवालाई गरिएको यो समर्पण ती कामिकाजे वायुयान चालकले आफ्नो देश र सम्राटको लागि गरेको समर्पणजस्तो व्यर्थ हुने छैन। किनकि यहोवा सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ। आफूले गर्न थाल्नु भएका सबै कुरा उहाँ पूरा गरी छाड्नु हुन्छ। उहाँ मात्र हाम्रो पूर्ण भक्ति पाउने योग्यको हुनुहुन्छ।—यशैया ५५:९-११.
१९. आउँदो लेखमा कुन कुराको छलफल गरिनेछ?
१९ तथापि, समर्पण गर्नमा अझ अरू कुराहरू पनि विथोलित छन्। उदाहरणका लागि, समर्पणले हाम्रो दैनिक जीवनमा के कस्तो असर पार्छ? यसको छलफल आउँदो लेखमा गरिनेछ।
[फुटनोट]
a वाचटावर बाइबल एन्ड ट्रेक्ट सोसाइटी द्वारा प्रकाशित म्यानकाइन्ड्स सर्च फर गड्, पृष्ठ १९४-५ पनि हेर्नुहोस्।
के तपाईंलाई स्मरण छ?
◻ सांसारिक समर्पणहरू किन निराशाजनक भएका छन्?
◻ इस्राएलीहरूलाई यहोवामा समर्पित हुन कुन कुराले उत्प्रेरित गरायो?
◻ यहोवामा समर्पित हुन आज हामीलाई कुन कुराले प्रेरणा दिन्छ?
◻ हामीले आफूलाई यहोवामा कसरी समर्पित गर्छौं?
◻ पानीमा बप्तिस्मा लिनुको महत्त्व के हो?
[पृष्ठ १०-मा भएको चित्र]
सीनैमा इस्राएलले आफूलाई यहोवाका लागि समर्पित गर्छन्