परमेश्वरको भलाइको अद्भुत विशालता
परमेश्वर भलो हुनु हुन्छ! यी शब्दहरू तपाईंले कति पटक सुनी सक्नु भएको छ र ती शब्दहरू तपाईं स्वयंले पनि कति पटक प्रयोग गर्नु भएको होला। तर तपाईंका लागि परमेश्वरले दर्साउनु भएको भलाइको पूर्ण विशालता बारे के कहिले सोच्नु भएको छ? यस्तो चिंतन द्वारा, हामीले उपासना गरेको परमेश्वर प्रति हाम्रो मुल्याङ्कन अझ गहिरो हुनेछ।
तथापि, सर्व प्रथम, हामीले भलाइको अर्थ बुझ्नु आवश्यक छ। भलाइको अर्थ दुष्ट हुनुको सट्टा भलो हुने गुण हो। तर भलाइको अर्थ त्यत्ति मात्र होइन। यो एउटा सकृय गुण हो। भला मानिसले भलो गर्ने गर्छ। परमेश्वरले पनि, उहाँको भलाइपनलेगर्दा, हाम्रा निम्ति अनेक भलो कुराहरू गर्नु हुन्छ जसले गर्दा हाम्रो हृदय उहाँ तिर आकर्षित हुन्छ।
परमेश्वरको भलाइको विशालता उहाँले मोशालाई सिनै पर्वतमा भन्नु भएका शब्दहरूमा देखिन्छ। त्यहाँ उहाँले आफ्नो विश्वासी सेवकलाई एसो भन्नु भयो: “म तेरै सामने मेरो सारा वैभव [NW भलाइ] देखाउनेछु।” यो प्रतिज्ञा पुरा गर्नु हुँदै र आफ्नो नाउँको पनि प्रयोग गर्नु हुँदै, परमेश्वरले अझ एसो भन्नु भयो: “यहोवानै [NW] टिठाउनमा भरिपूर्ण र दयालु परमेश्वर, रीस गर्नमा ढीलो, र कृपा र सत्यतामा प्रशस्त हुनुहुन्छ। हजारौं हजारमाथि कृपा देखाउनुहुने, दुष्टता, अपराध र पाप क्षमा गर्नुहुने, दोषीलाई कुनै किसिमले पनि निर्दोष नठहराउनुहुने।”—प्रस्थान ३३:१९; ३४:६, ७.
यसकारण, परमेश्वरको भलाइमा उहाँको दया, प्रेम, कृपा र सत्यता सबै समावेश छन्। यस बाहेक, उहाँ “रीस गर्नमा ढीलो” अथवा धीरज हुनु भएकोमा पनि उहाँको भलाइ देखिन्छ। तर यसको अर्थ, उहाँ आवश्यकता भन्दा बढ़ी क्षमाशील हुने कुनै बाबू जस्तो भएर पापलाई सधैं छुट दिनु हुने छैन। पश्चाताप नगर्ने पापीहरू अथवा “दोषीलाई कुनै किसिमले पनि निर्दोष” ठहराउनु हुनेछैन। एउटा भलो परमेश्वरले दुष्टतालाई सधैं छुट दिन सक्नु हुन्न।
परमेश्वरको भलाइको प्रशस्तता
परमेश्वरले भलाइ देखाउनु भएका केही उदाहरणहरूमा विचार गर्नु होस्। सबै भन्दा पहिले, पृथ्वी सृजनु हुँदा, उहाँले मानिसहरूका लागि भलाइ गर्नु भयो। उहाँले मानव जीवनकालागि आवश्यक कुराहरूको मात्र प्रबन्ध गर्नु भएन। यस ग्रहमा जीवन बिताउन वास्तवमा एउटा रमाइलो अनुभव होस् भनेर उहाँले यसलाई हर प्रकारको कुराले सुसज्जित् पारि दिनु भयो। उहाँले मनोरम विभिन्नता भएका जीव-जन्तु र चरा चुरुङ्गीहरू सृजनु भयो र हाम्रो वातावरणलाई रङ्गीन र सुन्दर बनाउने फूलहरूको पनि सृजना गर्नु भयो। यतिले न पुगेर, हेर्दा रमाइलो लाग्ने विभिन्न प्रकारका दृश्यहरू बनाउनु भयो। हो, प्रत्यक पटक तेजस्वी सूर्यास्त अथवा बादलहरूको वैभवशाली आकार देख्दा, हामी परमेश्वरको भलाइको प्रमाण देख्छौं!
नर र नारीको सृष्टि गर्नु हुँदा, परमेश्वरको भलाइ फेरि स्पष्ट देखियो। उहाँले आदम र हव्वालाई सिद्ध र स्वस्थकर शरीर दिनु भएर, दुवैलाई अदनको बगैंचामा राख्नु भयो। यस पछि उहाँले तिनीहरूलाई एउटा चुनौतीयुक्त र रोमाञ्चकारी जिम्मेवारी सुम्पनु भयो: “पृथ्वीमा भरिंदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ।” यस प्रकार उहाँले तिनीहरूको सामने प्रमोदवन रूपी पृथ्वीमा, आफ्ना धेरै सन्तानहरू सँग, सधैंभरि जीवन बिताउने मौका प्रस्तुत गर्नु भयो। (उत्पत्ति १:२६-२८; २:७-९) प्रथम मानव दम्पत्तिले आफ्नो विवाहको दिनमा, उहाँबाट वास्तवमा कति सुन्दर उपहार पाए!
आदम र हव्वाले पछि विरोध गरेता पनि, परमेश्वरले तिनीहरूलाई पूर्णतया त्याग्नु भएन। त्यति खेरै, उहाँले तिनीहरूलाई तुरन्तै मार्नु भएको भए पनि, उहाँले कुनै अन्याय गरेको हुने थिएन। तर उहाँले ती पापी मानव दम्पत्ति प्रति भलाइ नै गर्नु भयो। उहाँले तिनीहरूलाई केही समयका लागि बाँच्न दिनु भयो र बच्चाहरू पैदा गर्ने मौका दिनु भयो।—उत्पत्ति ५:१-५.
यस बाहेक, परमेश्वरले त्यस बेला देखिन् पतित् मनुष्यजातिका लागि भलाइ गर्न छाड़नु भएको छैन। दाऊद राजाले भने झैं: “यहोवा [NW] सबैमाथि भलो हुनुहुन्छ र उहाँको कोमल कृपा उहाँका कार्यहरूमा श्रेष्ठ छन्।” (भजन संग्रह १४५:९) मानव जीवन चली रहोस् भनेर, उहाँले आफ्नो सम्पत्ति, पृथ्वीमा, प्रशस्त मात्रामा आवश्यक कुराहरूको बन्दोबस्त गर्नु भएको छ। येशूले आफ्ना दिनका यहूदीहरूलाई एसो भन्नु भयो: “तिमीहरूका स्वर्गका पिताले . . . दुष्ट र सज्जन दुवैका निम्ति घाम लगाइदिनुहुन्छ र धर्मी र पापी दुवैमाथि वृष्टि दिनुहुन्छ।” (मत्ती ५:४५) वर्तमान भोक र गरीबीको कारण, परमेश्वरले मानिसको निम्ति प्रशस्त मात्रमा आवश्यक थोक दिन न सक्नु भएर होइन। यसको कारण मानिसहरूको भ्रष्टाचार, क्रूरता र अयोग्यता हो।
परमेश्वरले मानिस-जातिलाई पृथ्वीका धातुहरूको धनराशी खन्न दिनु भएको छ र तारा मण्डल र शारीरिक कुराहरूको बनौटको ज्ञान केही मात्रामा पनि मानिसबाट लुकाइ राख्नु भएको छैन। साँच्चै नै, धेरैले अहङ्कारपूर्वक परमेश्वर हुनुहुन्ना भनेता पनि र कतिले चाहिं आफ्नो स्वार्थ-सिद्धिका लागि परमेश्वरको भलाइको दुरूपयोग गर्दै अरू मानिसहरूमाथि अत्याचार गरेता पनि, यहोवाले मानिस जाति प्रति भलाइ नै गर्नु भएको छ।—भजन संग्रह १४:१.
विश्वासीहरू प्रति परमेश्वरको भलाइ
परमेश्वरले सरदर मानिस जाति प्रति भलो गर्नु भएको छ भने, विश्वासगर्नेहरूका लागि उहाँले गर्नु भएको भलाइले ता हृदय गद्गद् नै पारि दिन्छ। सर्व प्रथम, आदम र हव्वाले पहिलो पटक विद्रोह गर्दा, अन्तत्वगत्वा तिनीहरूको पापको कुअसर हटाउने “सन्तान” आउनेछ भनेर उहाँले भविष्यद्वाणी गर्नु भएको थियो। (उत्पत्ति ३:१५) समय बित्दै जाँदा, आदमका धेरै जना सन्तानले आफू असिद्ध भएतापनि, विश्वासी भएर परमेश्वरको उपासना गरे र शुरूको यो अगमवाणीले तिनीहरूलाई एउटा उत्तम भविष्यको आशा दियो। यी विश्वासी उपासकहरू मध्य अब्राहाम थिए जो “यहोवाको [NW] मित्र” पनि कहलाए।—याकूब २:२३.
अब्राहामको सन्तानको बृद्धि भएर धेरै राष्ट्रहरू बनिनेछन् र तिनका सन्तानको प्रमुख वंशले कनान देश अधिकार गर्नेछ भनेर परमेश्वरले अब्राहामलाई प्रतिज्ञा गर्नु भयो। यही प्रतिज्ञाको पूर्तिमा, अब्राहामका सन्तान अर्थात् इस्राएलीहरू पछि गएर एउटा राष्ट्रमा सङ्गठित् भए। (उत्पत्ति १७:३-८; प्रस्थान १९:६) फेरि परमेश्वरले यो जातिलाई मिश्रको दासत्वबाट छुटकारा दिनु भएर, उजाड़ स्थानमा सुरक्षित् राख्नु हुँदै, तिनीहरूका लागि व्यवस्था र पुजारीहरूको प्रबन्ध गरी दिनु भयो। यस पछि, उहाँले तिनीहरूलाई कनानको उर्वरा भूमि अधिकार गर्न दिनु भयो।
अन्तत्वगत्वा, इस्राएल एउटा राज्य बनियो र यहोवाले त्यसको तेस्रो राजा सुलेमानलाई यरूशलेममा मन्दिर निमार्ण गर्ने काम सुम्पिनु भयो। त्यो मन्दिर यहोवाको उपासनाको विश्व-व्यापी केन्द्र हुने थियो। निमार्णको काम समाप्त भए पछि, एउटा भव्य चाड़ र आनन्दमय उत्सव मनाएर मन्दिर समर्पण गरियो। उल्लेख अनुसार, इस्राएलीहरूले “राजालाई अशिष दिए र यहोवाले [NW] दिनु भएको सबै उन्नतिको निम्ति खुशी र मनमा हर्षित हुँदै आफ्नो आफ्नो घरमा गए।” (१ राजा ८:६६) अरू पनि धेरै त्यस्ता अवसरहरू थिए जब परमेश्वरले गर्नु भएको भलाइको कारण इस्राएलीहरूको हृदय आनन्दले बिह्वल हुन् थियो।
तर दुःखको कुरा के हो भने, तिनीहरूले एक मात्र साचों परमेश्वरको उपासना गर्ने आफ्नो सौभाग्यको सधैं मोल गरेनन्। आखिरमा, इस्राएलीहरू सामूहिक रूपमा अविश्वासी भए र इ. पू. ६०७ मा यहोवाले तिनीहरूलाई बाबेलमा कैदी भएर लग्न दिनु भयो। परमेश्वरले मोशालाई भन्नु भए झैं, आफ्नो भलाइको कारण उहाँले “दोषीलाई कुनै किसिमले पनि निर्दोष” ठहराउनु हुनेछैन।—प्रस्थान ३४:७.
तथापि, ७० वर्ष पश्चात्, परमेश्वरले दयापूर्वक, बाँकी रहेका इस्राएलीहरूलाई आफ्नो देशमा फर्काएर ल्याउनु भयो। उहाँले एसो किन गर्नु भयो? उहाँको भलाइको कारण। यर्मियाले इस्राएलीहरू फर्केर आउने कुरा बारे यो अगमवाणी गरेका थिए: “तिनीहरू आएर सियोनको टाकुरामा गाउनेछन्, औ यहोवाको भलाइको [NW] कारण . . . तिनीहरू अति हर्षित हुनेछन्।” अगमवक्ताले एसो पनि भने: “‘मेरो प्रजा मेरो भलाइले तृप्त हुनेछ’” यहोवा [NW] भन्नु हुन्छ।—यर्मिया ३१:१२, १४.
अन्तत्वगत्वा, येशू पृथ्वीमा आउनु भयो र अदनमा अगमवाणी गरिएको “सन्तान” साबित हुनु भयो। (उत्पत्ति ३:१५) बाइबलले एसो भन्छ: “परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एक मात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने प्रत्यक नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।” (यूहन्ना ३:१६) मानिसहरूलाई किनेर पापबाट बाहिर निकाल्न र तिनीहरूलाई सिद्धतामा पुनःस्थापित गर्न, येशूको मृत्यु छुटकाराको मोल भयो। यस प्रकार आदमको पापको कुअसर पूर्ण-रूपले हटाइने थियो। पावलले रोमीहरूलाई लेखे झैं: “किनकि जसरी एउटै मानिसको अनाज्ञाकारिताले धेरै जना पापी ठहरिए, त्यसैगरी एकै जनाको आज्ञाकारिताद्वारा धेरै जना धार्मिक ठहरिनेछन्।” (रोमी ५:१९) असल हृदय भएका मानिसहरूले अब अनन्त जीवन प्राप्त गर्ने आशा पाएकोमा परमेश्वरको भलाइलाई धन्यबाद छ। तिनीहरू अब अब्राहाम झैं, परमेश्वरको मित्र पनि हुन सक्ने भए।
आज पनि परमेश्वरले आफ्ना उपासकहरूका निम्ति भलाइ गर्न छाड़नु भएको छैन। उहाँले तिनीहरूलाई बाइबलको उपदेश द्वारा तिनीहरूका समस्याहरूको समाधान गर्ने मदद दिनु हुन्छ। (भजन संग्रह ११९:१०५) उहाँका धार्मिक विधानहरू अनुसार हिड़न सकून भनेर, उहाँले तिनीहरूलाई पवित्र आत्माको वरदान दिनु हुन्छ। तिनीहरूलाई उहाँले आफ्नो उद्देश्य पनि बताउने गर्नु हुन्छ, जसले गर्दा, यो पुरानो संसार बितेर गए पछि, धार्मिकताको एउटा नया संसार आउनेछ भनेर साँचो मसीहीहरू प्रतिक्षा गर्छन्। (हितोपदेश ४:१८; २ पत्रुस ३:१३) मसीहीहरू यी कुराहरू बारे निश्चित छन् किनभने, परमेश्वरले आफ्नो भलाइको कारण, यी कुराहरू उहाँको अटल वचनमा प्रकट गरी दिनुभएको छ।—२ तिमोथी ३:१६.
हो, परमेश्वरको भलाइ बारे सोचेर ल्याउँदा, हाम्रो हृदय उहाँ तिर आकर्षित हुन्छ। तर यसले एउटा अर्को प्रश्न पनि खड़ा गर्दछ:
परमेश्वरको भलाइबाट तपाईंले कहाँ सम्म लाभ उठाउनु हुनेछ?
तपाईं जो सुकै हुनु भएतापनि, तपाईंले परमेश्वरको भलाइबाट लाभ उठाइरहनु भएकै छ। तपाईं स्वास लिनु हुन्छ, खानु हुन्छ, पिउनु हुन्छ, जीवनमा आनन्द उठाउनु हुन्छ—र यी जम्मै परमेश्वरले दिनु भएका वरदानहरू हुन्। तर के तपाईंले पूर्णरूपमा लाभ उठाउनु हुँदैछ? याद राख्नु होस्, पाप गरे पछि, आदम र हव्वा प्रति परमेश्वरको भलाइ सीमित हुन गयो। त्यसरी नै, हामीले उहाँको दया प्रति उचित प्रतिकृया व्यक्त गरेनौं भने, हाम्रा लागि पनि उहाँले सीमित् रूपमा मात्र भलाइ गर्नु हुनेछ। तर हामी उचित प्रतिकृया कसरी व्यक्त गर्न सक्छौं?
भजन संग्रहका लेखकले एसो भन्दै प्रार्थना गरे: “मलाई असल विवेक शक्ति र ज्ञान सिकाउनु होस्। किनकि मैले तपाईंका आज्ञाहरूमा विश्वास गरेको छु।” (भजन संग्रह ११९:६६) हामीले पनि त्यसरीनै प्रार्थना गर्न उचित हुनेछ। परमेश्वर भलो हुनु भएको कारण, हामी पनि उहाँ जस्तै भलो हुन सिक्नु आवश्यक छ। पावलले यस प्रकार अनुरोध गरे: “प्रिय बालकहरू झैं, परमेश्वरका देखा-सिकी गर्ने होओ।”—एफिसी ५:१.
एसो गर्नका लागि, हामीले सर्व-प्रथम, बाइबल अध्ययन द्वारा भलाइको अर्थ सिक्नु पर्छ। त्यस पछि, आफूमा यो गुण बढ़ाउनका लागि, हामीले परमेश्वरसँग मदद माँगछौं। “प्रेम, आनन्द, शान्ति, धीरज, दया . . . विश्वास र संयम” साथ साथै, भलाइ पनि पवित्र आत्माको एउटा फल हो। (गलाती ५:२२, २३) परमेश्वरको आत्मामा भरोसा राख्दै, त्यसको प्रेरणा द्वारा लेखिएको बाइबल अध्ययन गर्दै, परमेश्वर सँग प्रार्थनामा सहायता माँगदै र यस्तै मन भएका मसीहीहरूको सङ्गत गर्दै हामीले यी गुणहरूको बृद्धि गर्न सक्छौं।—भजन संग्रह १:१-३; १ थिस्सलोनिकी ५:१७; हिब्रू १०:२४, २५.
बाइबलले एसो पनि भन्छ: “तिनीहरूले तपाईंको ठूलो भलाइको सम्झनामा बोलेर प्रकाश गर्नेछन्, र तपाईंको धार्मिकताको विषयमा गाउनेछन्।” (भजन संग्रह १४५:७) हो, हामीले परमेश्वरको भलाइ बारे अरूसँग कुरा गरेको उहाँ चाहनु हुन्छ। हामीहरूले आफ्नो स्वर्गमा हुनुहुने पिताबारे सधैं खुलारूपले कुरा गर्नु पर्दछ।
साथै हामीले उहाँको भलाइको नाजायज फायदा उठाउन खोज्नु हुँदैन। हो, पापीहरूलाई यहोवा क्षमा गर्नु हुन्छ। दाऊद राजाले पनि निश्चिन्त भएर यस प्रकार प्रार्थना गरे: “मेरो जवानी अवस्थाका पापहरू र मेरा अपराधहरू नसम्झनुहोस्। हे यहोवा [NW], तपाईंको भलाइको खातिर, आफ्नो करूणा अनुसार मलाई सम्झनुहोस्।” (भजन संग्रह २५:७) के यस्को अर्थ, परमेश्वरबाट क्षमा पाइन्छ भन्दैमा, हामीले पाप गरी रहनु हुन्छ? पटक्कै हुँदैन। याद गर्नुहोस्, परमेश्वरको भलाइको अर्थ, जानी-बुझीकन पापगर्ने “दोषीलाई कुनै किसिमले निर्दोष” नठहराउनु हो।
परमेश्वरको भलाइबाट आनन्द उठाउनु
पूर्णरूपमा परमेश्वरको भलाइ अनुभव गर्न थाले पछि, उहाँ सँगको हाम्रो सम्बन्ध कत्ति न्यानो हुनेछ! प्रेरित पावलको यो असल सल्लाह मान्न हामीलाई प्रोत्साहित गरिएको छ: “ज्योतिका सन्तान झैं हिड़डुल गर, किनभने ज्योतिको फल सबै भलाइ, धार्मिकता र सत्यतामा हुन्छ।”—एफिसी ५:८, ९.
हाम्रा लागि परमेश्वरको प्रेमपूर्ण दया बारे हामी प्रत्यक दिन सचेत छौं। हर प्रकारका कठिन परिस्थितिहरूमा पनि, उहाँलाई प्रेम गर्नेहरूलाई उहाँले त्यागनु हुनेछैन भनी हामी जान्दछौं। हो, हामीले मनमा त्यो महान शान्ति अनुभव गर्ने छौं, जसको विषयमा भजन संग्रहका लेखकले यस प्रकार लेखे: “निश्चय मेरो जीवनभरि भलाइ र करूणा मपछि लाग्नेछ। र यहोवाको [NW] घरमा म सदा रहनेछु।”—भजन संग्रह २३:६. (w89 12/1)