बाइबलले दशांश चढाउनेबारे के भन्छ?
बाइबलको जवाफ
साँचो उपासनालाई टेवा पुऱ्याउन पुरातन इस्राएलीहरूलाई अनुदानस्वरूप दशांशa अर्थात् वर्षभरिको आम्दानीको दस भागको एक भाग चढाउन आज्ञा दिइएको थियो। परमेश्वरले तिनीहरूलाई यसो भन्नुभयो: “तिमीहरूले हरेक वर्ष आफ्नो खेतमा हुने सबै उब्जनीबाट दशांश दिन नबिर्सनू।”—व्यवस्था १४:२२.
दशांश चढाउनुपर्ने आज्ञा मोसाको व्यवस्थाको भाग थियो। यो व्यवस्था परमेश्वरले पुरातन इस्राएललाई दिनुभएको थियो। ख्रिष्टियनहरू मोसाको व्यवस्थाको अधीनमा छैनन्। त्यसैले तिनीहरूले दशांश चढाइरहनु आवश्यक छैन। (कलस्सी २:१३, १४) बरु हरेक ख्रिष्टियनले “आफ्नो मनमा निर्णय गरेबमोजिम” आर्थिक सहयोग गर्न सक्छन् तर “मन नलागी-नलागी वा करकापमा परेर होइन किनकि खुसीसाथ दिनेलाई परमेश्वर प्रेम गर्नुहुन्छ।”—२ कोरिन्थी ९:७.
“पुरानो नियम”-मा दशांश
दशांशबारे बाइबलको पुरानो नियम भनिने भागमा थुप्रै चोटि उल्लेख गरिएको छ। प्रायजसो विवरण इस्राएलले मोसामार्फत व्यवस्था (मोसाको व्यवस्था) पाएपछिको समयसित सम्बन्धित छ। तर कुनै-कुनै विवरण भने त्यो समयभन्दा अघिका पनि छन्।
मोसाको व्यवस्था दिइनुअघि
बाइबलमा उल्लेख गरिएको दशांश चढाउने पहिलो व्यक्ति अब्राम (अब्राहाम) थिए। (उत्पत्ति १४:१८-२०; हिब्रू ७:४) अब्रामले सालेमका राजा जो पुजारी पनि थिए, तिनलाई एकचोटि उपहारस्वरूप दशांश दिए। त्यसपछि अब्राहाम वा तिनका सन्तानले दशांश चढाएको विवरण बाइबलमा पाइँदैन।
बाइबलमा उल्लेख गरिएको दशांश चढाउने दोस्रो व्यक्ति अब्राहामका नाति याकुब थिए। यदि परमेश्वरले आशिष् दिनुभयो भने आफूले पाएको “सबै थोकको दस भागको एक भाग” चढाउने भाकल तिनले गरे। (उत्पत्ति २८:२०-२२) केही बाइबलविद्अनुसार याकुबले सायद दशांशको रूपमा जनावरहरूको बलिदान चढाए। याकुबले आफ्नो भाकलअनुसारै दशांश चढाए तापनि तिनले आफ्नो परिवारलाई भने दशांश चढाउन कर गरेनन्।
मोसाको व्यवस्था दिइएपछि
पुरातन इस्राएलीहरूलाई धार्मिक गतिविधिलाई सघाउन दशांश चढाउने आज्ञा दिइएको थियो।
दशांशले पुजारीहरूलगायत अरू लेवीहरू जो पूर्ण-समय धार्मिक कामकुरामा व्यस्त थिए, तिनीहरूको आवश्यकता पूरा गर्न मदत गर्थ्यो। किनभने तिनीहरूसित खेतीपाती गर्नका लागि आफ्नो जमिन थिएन। (गन्ती १८:२०, २१) पुजारीको जिम्मेवारी नपाएका लेवीहरूले अरू इस्राएलीबाट दशांश पाउँथे र त्यसको पनि सर्वोत्तम भाग “दशांश”-को रूपमा पुजारीहरूलाई दिन्थे।—गन्ती १८:२६-२९.
हरेक वर्ष दोस्रो किसिमको दशांश पनि चढाइन्थ्यो जस्तो देखिन्छ। यसबाट लेवीहरूले मात्र होइन, अरूले पनि लाभ उठाउँथे। (व्यवस्था १४:२२, २३) विशेष चाडपर्वको बेला इस्राएली परिवारले यस्तो दशांश छुट्ट्याउने गर्थे अनि तोकिएको कुनै खास वर्षमा तिनीहरूले उब्जनीबाट छुट्ट्याएको दशांशको भाग गरिबहरूलाई पनि दिन्थे।—व्यवस्था १४:२८, २९; २६:१२.
दशांशको हिसाब कसरी निकालिन्थ्यो? इस्राएलीहरूले हरेक वर्ष आफ्नो उब्जनीको दसौँ भाग छुट्ट्याउने गर्थे। (लेवी २७:३०) यदि तिनीहरूले दशांशको भागको सट्टा पैसा दिन चाहेमा तिनीहरूले त्यसमा २० प्रतिशत थपेर दिनुपर्थ्यो। (लेवी २७:३१) तिनीहरूलाई “गाईवस्तु वा भेडाबाख्राको बगालबाट दशांश” चढाउने आज्ञा पनि दिइएको थियो।—लेवी २७:३२.
गाईवस्तु वा भेडाबाख्रा दशांशको रूपमा चढाउन इस्राएलीहरूले गोठबाट निस्कने प्रत्येक दसौँ जनावरलाई छान्नुपर्थ्यो। व्यवस्थाअनुसार तिनीहरूले त्यो जनावर राम्रो छ कि छैन भनेर जाँच्न र त्यसको सट्टा अर्को जनावर चढाउन पाउँदैनथे। साथै त्यो जनावर आफैले किन्न पनि मिल्दैनथ्यो। (लेवी २७:३२, ३३) तर वार्षिक चाडको बेला चढाउनुपर्ने दोस्रो किसिमको दशांशको भागचाहिँ बेच्न सकिन्थ्यो। चाडपर्वमा भाग लिन लामो यात्रा गर्नुपर्ने इस्राएलीहरूलाई सुविधा होस् भनेर यस्तो प्रबन्ध मिलाइएको थियो।—व्यवस्था १४:२५, २६.
इस्राएलीहरूले दशांश कहिले चढाउँथे? इस्राएलीहरूले हरेक वर्ष दशांश चढाउने गर्थे। (व्यवस्था १४:२२) तर सातौँ वर्षमा भने तिनीहरूले दशांश चढाउनु पर्दैनथ्यो। सातौँ वर्ष भनेको विश्राम वर्ष अर्थात् जमिनले आराम गर्ने वर्ष थियो। त्यो वर्ष इस्राएलीहरूले खेतीपाती गर्दैनथे। (लेवी २५:४, ५) त्यसैले विश्राम वर्षमा इस्राएलीहरूले कुनै दशांश दिनु पर्दैनथ्यो। विश्राम वर्षको चक्रअनुसार हरेक तेस्रो र छैटौँ वर्षमा इस्राएलीहरूले दोस्रो किसिमको दशांश गरिब र लेवीहरूसँग बाँड्थे।—व्यवस्था १४:२८, २९.
दशांश नचढाउनेले कस्तो जरिबाना तिर्नुपर्थ्यो? दशांश नचढाउनेले जरिबाना तिर्नुपर्ने कुरा मोसाको व्यवस्थामा उल्लेख गरिएको थिएन। दशांश चढाउनुलाई इस्राएलीहरू आफ्नो कर्तव्य ठान्थे। दशांश चढाइसकेपछि इस्राएलीहरूले परमेश्वरसामु आफूले दशांश चढाएको कुरा घोषणा गर्नुपर्थ्यो र उहाँको आशिष् माग्नुपर्थ्यो। (व्यवस्था २६:१२-१५) दशांश नचढाउनु भनेको परमेश्वरको कुनै कुरा चोरी गर्नुसरह थियो।—मलाकि ३:८, ९.
के दशांश चढाउनु इस्राएलीहरूको लागि बोझ थियो? अहँ, थिएन। तिनीहरूले दशांश चढाएको खण्डमा कुनै कमी नै नहुनेगरि आशिष् बर्साउँछु भनेर परमेश्वरले प्रतिज्ञा गर्नुभयो। (मलाकि ३:१०) अर्कोतर्फ तिनीहरूले दशांश नचढाउँदा दुःख भोग्नुपऱ्यो। तिनीहरूले परमेश्वरको आशिष् गुमाए। साथै तिनीहरूबाट दशांश नपाएको कारण पुजारीहरू र लेवीहरूले अर्को काम गर्नुपऱ्यो अनि उनीहरूले इस्राएलीहरूलाई परमेश्वरको उपासना गर्न मदत गर्ने काममा ध्यान दिन सकेनन्।—नहेम्याह १३:१०; मलाकि ३:७.
“नयाँ नियम”-मा दशांश
येसुको समयमा पनि परमेश्वरका उपासकहरूले दशांश चढाउनुपर्थ्यो। तर येसुको मृत्युपछि भने त्यो प्रबन्ध खारेज भयो।
येसुको समयमा
बाइबलको नयाँ नियम भन्ने भागअनुसार येसु यस पृथ्वीमा हुनुहुँदा पनि इस्राएलीहरूले दशांश चढाइरहेका थिए। दशांश चढाउनु तिनीहरूको जिम्मेवारी हो भन्ने कुरालाई उहाँले इन्कार गर्नुभएन तर कपटी भएर दशांश चढाउने धर्मगुरुहरूको उहाँले निन्दा गर्नुभयो, जसले “न्याय, कृपा र वफादारी जस्ता व्यवस्थाका गहकिला कुराहरूलाई बेवास्ता” गर्थे।—मत्ति २३:२३.
येसुको मृत्युपछि
येसुको मृत्युपछि दशांश चढाउन आवश्यक भएन। येसुको बलिदानले “दशांश उठाउने आज्ञा”-सहित मोसाको पूरै व्यवस्थालाई रद्द वा खारेज गरिदियो।—हिब्रू ७:५, १८; एफिसी २:१३-१५; कलस्सी २:१३, १४.
a दशांश भनेको “कुनै खास कामको लागि छुट्ट्याइएको कसैको आम्दानीको दस भागको एक भाग हो। . . . साधारणतया बाइबलमा उल्लेख गरिएको दशांश धार्मिक कार्यको लागि प्रयोग गरिन्थ्यो।”—हार्परको बाइबल शब्दकोश, पृष्ठ ७६५.