यहोवा करारहरूका परमेश्वर हुनुहुन्छ
“म इस्राएलको घराना र याकूबको घरानासित एउटा नयाँ करार बाँध्नेछु।”—यर्मिया ३१:३१.
१, २. (क) सा.यु. ३३ नीसान १४ को रात येशूले कुन उत्सव प्रारम्भ गर्नुभयो? (ख) आफ्नो मृत्युसित सम्बन्धित कुन करार येशूले उल्लेख गर्नुभयो?
नीसान १४, सा.यु. ३३ को रात आफ्ना १२ प्रेरितहरूसित येशूले निस्तार चाड मनाउनुभयो। त्यसपछि, चेलाहरूसँग बसेर फेरि कहिल्यै खान पाउनेछैन र शत्रुहरूको हातबाट आफ्नो मृत्यु हुनेछ भन्ने कुरा थाह भएको हुँदा येशूले त्यस मौकाको फाइदा उठाउँदै आफ्ना घनिष्ठ चेलाहरूलाई थुप्रै गहकिला कुराहरू बताउनुभयो।—यूहन्ना १३:१–१७:२६.
२ त्यही रात, येशूले यहूदा इस्करयोतीलाई बाहिर पठाइसक्नुभएपछि मसीहीहरूले मनाउनुपर्ने एक मात्र वार्षिक धार्मिक उत्सव अर्थात् उहाँको मृत्युको स्मरणार्थ उत्सव स्थापित गर्नुभयो। यस सम्बन्धमा यसो लेखिएको छ: “तिनीहरूले खाइरहेको बेलामा येशूले रोटी लिएर आशीर्वाद गरी भाँच्नुभयो, र चेलाहरूलाई दिएर भन्नुभयो, ‘लेओ, खाओ, यो मेरो शरीर हो।’ तब कचौरा पनि लिएर धन्यवाद गरी उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, ‘तिमीहरू सबैले यसबाट पिओ। किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैको निम्ति पापको प्रायश्चितको लागि, बहाइन्छ।” (मत्ती २६:२६-२८) येशूका चेलाहरूले उहाँको मृत्युलाई सरल ढंगमा, गहिरो सम्मानका साथ मनाउनुपर्थ्यो। अनि येशूले सोही अवसरमा आफ्नो मृत्युसित सम्बन्धित करारको उल्लेख गर्नुभयो। लूकाको विवरणमा यसलाई “नयाँ करार” भनिएको छ।—लूका २२:२०.
३. नयाँ करारबारे कस्ता प्रश्नहरू उठ्छन्?
३ यो नयाँ करार के हो? यो नयाँ करार हो भने के पुरानो करार पनि छ? अनि यो नयाँ करारसित सम्बन्धित अरू करारहरू पनि छन् कि? यी प्रश्नहरू महत्वपूर्ण छन्। किनकि येशूले करारको रगत “पापको प्रायश्चितको लागि” बहाइन्छ भन्नुभएको थियो र हामी सबैलाई त्यस्तो क्षमा चाहिन्छ।—रोमी ३:२३.
अब्राहामसित गरिएको करार
४. कुन पुरातन प्रतिज्ञाले नयाँ करारलाई बुझ्न मदत गर्छ?
४ नयाँ करारलाई बुझ्ने हो भने येशूले आफ्नो पार्थिव सेवकाई सुरु गर्नुभन्दा झन्डै २,००० वर्षअघि अब्राम (पछि अब्राहाम), अब्रामकी पत्नी साराईलगायत (पछि सारा) तेरह र तिनका बाँकि परिवार समृद्धशाली शहर ऊर छोडेर मेसोपोटामियाको उत्तरतर्फ पर्ने कल्दीहरूको हारान भन्ने ठाउँतिर यात्रा गरिरहेको समयमा पुग्नुपर्छ। तेरहको मृत्यु नहोउञ्जेल तिनीहरू हारानमै बसेका थिए। त्यसपछि, यहोवाको आज्ञा पालन गर्दै ७५ वर्षीय अब्राहाम युफ्रेटिस नदी तरेर दक्षिण-पश्चिमहुँदो कनान देशमा गए र पालहरूमा बसेर जीवन बिताए। (उत्पत्ति ११:३१–१२:१, ४, ५; प्रेरित ७:२-५) यो थियो सा.यु.पू. १९४३ को कुरा। अब्राहाम हारानमै छँदा यहोवाले तिनलाई यसो भन्नुभएको थियो: “म तँबाट एउटा ठूलो जाति खड़ा गर्नेछु। म तँलाई आशिष दिनेछु र तेरो नाउँ प्रसिद्ध गराउनेछु। तँ आशिषको मूल भएस्। तँलाई आशिष दिनेहरूलाई म आशिष दिनेछु, र तँलाई सराप दिनेहरूलाई म सराप दिनेछु। तँमानै पृथ्वीका सबै कुलले आशिष पाउनेछन्।” पछि, अब्राहामले कनान देश पार गरेपछि यहोवाले यसो पनि भन्नुभयो: “म तेरा सन्तानलाई यो देश दिनेछु।”—उत्पत्ति १२:२, ३, ७.
५. यहोवाले अब्राहामसित गर्नुभएको प्रतिज्ञा कुन ऐतिहासिक भविष्यवाणीसित सम्बन्धित छ?
५ अब्राहामसित गरिएको यो प्रतिज्ञा यहोवाको अर्को प्रतिज्ञासित सम्बन्धित थियो। निस्सन्देह, यही प्रतिज्ञाले गर्दा अब्राहाम मानव इतिहासको महत्त्वपूर्ण व्यक्ति अनि सबैभन्दा पहिलो लिखित प्रतिज्ञाको पूर्तिको कडी बन्न पुगे। अदनको बगैंचामा आदम र हव्वाले पाप गरेपछि यहोवाले तिनीहरू दुवैलाई दण्ड सुनाउनुभयो। अनि त्यसै बखत हव्वालाई बहकाउने शैतानलाई उहाँले यसो भन्नुभयो: “तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्।” (उत्पत्ति ३:१५) यहोवाले अब्राहामसित बाँध्नुभएको करारले शैतानका कामहरू नष्ट पार्ने सन्तान कुलपिता अब्राहामकै सन्तानबाट आउनेछ भनेर औंल्यायो।
६. (क) यहोवाले अब्राहामसित गर्नुभएको प्रतिज्ञा को मार्फत पूरा हुनेथियो? (ख) अब्राहामको करार के हो?
६ यहोवाको प्रतिज्ञा सन्तानसित सम्बन्धित भएको हुँदा अब्राहामको सन्तान हुनु नितान्त आवश्यक थियो। तर अब्राहाम र तिनकी पत्नी सारा निस्सन्तान थिए अनि बूढाबूढी पनि भइसकेका थिए। यद्यपि, अन्ततः चमत्कारपूर्ण ढंगमा तिनीहरूको प्रजनन शक्ति फिर्ता गराउनुभएर यहोवाले तिनीहरूलाई आशिष् दिनुभयो। अनि साराले अब्राहामबाट छोरो जन्माइन् र सन्तानबारे आफूले गरेको प्रतिज्ञालाई यहोवाले कायमै राख्नुभयो। (उत्पत्ति १७:१५-१७; २१:१-७) वर्षौंपछि, यहोवाले अब्राहामको विश्वास जाँच्नुहुँदा अब्राहाम आफ्ना प्रिय पुत्र इसहाकलाई बलि चढाउनसमेत तत्पर भए। त्यतिखेर यहोवाले फेरि आफ्नो प्रतिज्ञा दोहऱ्याउनुभएर अब्राहामलाई यसो भन्नुभयो: “तेरो सन्तानको वृद्धि गरेर आकाशका तारा र समुद्र किनारका बालुवासरह तुल्याउनेछु। औ तेरो सन्तानले आफ्ना शत्रुहरूका शहरहरू कब्जा गर्नेछ। तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन्, किनकि तैंले मेरो वचन पालन गरिस्।” (उत्पत्ति २२:१५-१८) परमेश्वरले सुरुमा गर्नुभएको प्रतिज्ञाको यो थप स्पष्टिकरणलाई सामान्यतया अब्राहामको करार भनिन्छ र पछि यही करारसित नयाँ करारको घनिष्ठ सम्बन्ध हुनेथियो।
७. अब्राहामको सन्तान कसरी वृद्धि हुनथाल्यो र कुन बाध्यताले गर्दा तिनीहरू मिश्रमा बसाइँ सर्नुपऱ्यो?
७ केही समयपछि इसहाकका दुई जुम्ल्याह छोराहरू भए, एसाव र याकूब। यी दुईमध्ये याकूबलाई प्रतिज्ञाकृत सन्तानको पुर्खा बनाउन यहोवाले रोज्नुभयो। (उत्पत्ति २८:१०-१५; रोमी ९:१०-१३) याकूबका १२ छोराहरू थिए। निस्सन्देह, अब भने अब्राहामको सन्तानको वृद्धि हुनेथियो। अनिकालको कारण मिश्र देश जान बाध्य हुनुपरेको समयसम्म त याकूबका छोराहरूले बिहेबारी गरी आ-आफ्ना घरजम बसालिसकेका थिए। मिश्र देशमा ईश्वरीय निर्देशनद्वारा याकूबका छोरा यूसुफले पहिल्यै बाटो तयार पारिसकेका थिए। (उत्पत्ति ४५:५-१३; ४६:२६, २७) केही वर्षपछि कनानको अनिकाल सकियो। तर याकूबका सन्तान मिश्र देशमै बसे—पहिले पाहुना पछि दास भएर। अब्राहामले युफ्रेटिस नदी तरेको ४३० वर्षपछि अर्थात् सा.यु.पू. १५१३ पुगेपछि मात्र मोशाले याकूबका सन्तानहरूलाई मिश्र देशबाट छुटाए। (प्रस्थान १:८-१४; १२:४०, ४१; गलाती ३:१६, १७) यहोवाले यतिखेर अब्राहामसित गर्नुभएको बाचालाई विशेष ध्यान दिनु हुने थियो।—प्रस्थान २:२४; ६:२-५.
“पुरानो करार”
८. सीनै पर्वतमा यहोवाले याकूबका सन्तानसित कुन करार बाँध्नुभयो र अब्राहामको करारसित त्यसको के सम्बन्ध थियो?
८ याकूब र तिनका छोराहरू मिश्र देशमा बसाइँ सर्दा तिनीहरूको संयुक्त परिवार थियो तर मिश्र देश छोड्दा तिनीहरूका सन्तान बहुसंख्यक जाति भइसकेका थिए। (प्रस्थान १:५-७; १२:३७, ३८) यहोवाले तिनीहरूलाई कनान देशमा ल्याउनुअघि दक्षिणतर्फ अरबको होरेब (वा सीनै) पर्वतको फेदमा पुऱ्याउनुभयो। त्यहाँ उहाँले तिनीहरूसित करार बाँध्नुभयो। पछि “नयाँ करार” बाँधिएको हुँदा यो करार चाहिं “पुरानो करार” को नाउँले चिनिन थाल्यो। (२ कोरिन्थी ३:१४, NW) पुरानो करारद्वारा यहोवाले अब्राहामसित गर्नुभएको प्रतिज्ञाको प्रतीकात्मक पूर्ति गर्नुभयो।
९. (क) अब्राहामसित करार बाँध्नुहुँदा यहोवाले कुन चार कुरा प्रतिज्ञा गर्नुभयो? (ख) यहोवाले इस्राएलसित गर्नुभएको करारले गर्दा अरू के सम्भावनाहरू प्रकाशमा आए र कुन शर्तमा?
९ यहोवाले इस्राएल जातिलाई आफ्नो करारका शर्तहरू यसरी खुलाउनुभयो: “यदि तिमीहरूले मेरा कुरा साँच्चैनै सुन्यौ र मेरो करार पालन गऱ्यौ भने समस्त मानिसहरूमध्ये तिमीहरू चाहिं मेरो एक निज धन हुनेछौ, किनकि सारा पृथ्वी मेरै हो। तिमीहरू मेरा निम्ति पूजाहारीहरूको एक राज्य, र एक पवित्र जाति हुनेछौ।” (प्रस्थान १९:५, ६) अब्राहामको सन्तान (१) ठूलो जाति हुनेछ, (२) शत्रुहरूमाथि विजयी हुनेछ, (३) कनान देशमाथि अधिकार गर्नेछ र (४) जाति जातिहरू आशिषित हुने माध्यम हुनेछ भनेर यहोवाले प्रतिज्ञा गर्नुभएको थियो। तर यहाँ उहाँले के पनि प्रकट गर्नुभयो भने उहाँका आज्ञाहरू मानेको खण्डमा तिनीहरूले यी आशिष्हरू उहाँको विशेष जाति अर्थात् “पूजाहारीहरूको एक राज्य, र एक पवित्र जाति,” इस्राएलको रूपमा पाउनसक्नेछन्। तर के इस्राएलीहरू यस्ता करारमा बाँधिन चाहे त? तिनीहरूले एकै स्वरमा यसो भने: “परमप्रभुले भन्नुभएका सबै कुराहरू हामी पालन गर्नेछौं।”—प्रस्थान १९:८.
१०. यहोवाले इस्राएलीहरूलाई कसरी राष्ट्रको रूपमा गठन गर्नुभयो र उहाँले तिनीहरूबाट कुन कुराको आशा गर्नुभयो?
१० तसर्थ, यहोवाले इस्राएलीहरूलाई एउटा राष्ट्रको रूपमा गठन गर्नुभयो। उहाँले तिनीहरूलाई उपासनासम्बन्धी तथा नागरिकले पालन गर्नुपर्ने व्यवस्था दिनुभयो। उहाँले बासस्थान (पछि यरूशलेमको मन्दिर) र त्यहाँ पवित्र सेवा चढाउनका लागि पूजाहारीको प्रबन्ध पनि गर्नुभयो। इस्राएलीहरूले यहोवासित गरिएको करार पालन गर्नुको मतलब उहाँको व्यवस्था र त्यसमध्ये अझ विशेषगरि उहाँको मात्र उपासना गर्नुपर्ने आज्ञा पालन गर्नुपर्थ्यो। यहोवाले इस्राएलीहरूलाई दिनुभएको यस व्यवस्थाको मुख्य आशय अर्थात् दस आज्ञाको पहिलो आज्ञा यसप्रकार थियो: “म तेरा परमेश्वर हुँ, जसले तँलाई मिश्र देश, अर्थात् दासत्वको घरबाट निकालेर ल्याएँ। मेरो सामने तैंले अरू कुनै देवता—देवीहरू नमान्नू।”—प्रस्थान २०:२, ३.
व्यवस्थाको करारद्वारा आशिष्
११, १२. पुरानो करारका प्रतिज्ञाहरू कसरी इस्राएलमाथि पूरा भए?
११ के इस्राएलसित गरिएका व्यवस्थाको करारका प्रतिज्ञाहरू पूरा भए? के इस्राएल “पवित्र जाति” भयो? आदमका सन्तान भएको हुँदा इस्राएलीहरू पापी थिए। (रोमी ५:१२) तिनीहरू पापी नै भए तापनि व्यवस्थाअनुसार तिनीहरूको पाप क्षमाको लागि बलिदान चढाइन्थ्यो। वार्षिक प्रायश्चितका दिन चढाइने बलिदानहरूबारे यहोवाले यसो भन्नुभयो: “[यस] दिन तिमीहरूलाई शुद्ध पार्नलाई तिमीहरूका निम्ति प्रायश्चित गरिन्छ, र परमप्रभुको सामने सबै पापबाट तिमीहरू शुद्ध हुनेछौ।” (लेवी १६:३०) तसर्थ, वफादार रहुञ्जेल इस्राएल यहोवाको सेवाको निम्ति शुद्ध पारिएको पवित्र जाति थियो। तथापि, तिनीहरू तबसम्म पवित्र जाति हुनसक्थे, जबसम्म तिनीहरूले परमेश्वरको व्यवस्था मानेर निरन्तर बलिदान चढाइरहन्थे।
१२ के इस्राएल “पूजाहारीहरूको एक राज्य” भयो त? परमेश्वरले करार गर्नुभएको समयदेखि नै इस्राएल एउटा राज्य थियो र यहोवा तिनीहरूका स्वर्गीय राजा हुनुहुन्थ्यो। (यशैया ३३:२२) यसबाहेक, व्यवस्थाको करारले मानिसलाई राजा बनाउने छुट पनि दिएको थियो। त्यसैकारण त पछि यहोवाको प्रतिनिधित्व गर्दै मानव राजाहरूले यरूशलेममाथि शासन गरे। (व्यवस्था १७:१४-१८) तर इस्राएल पूजाहारीहरूको राज्य थियो त? हुन त त्यस राज्यको बासस्थानमा पवित्र सेवा चढाउने पूजाहारीगिरी थियो। बासस्थान (पछि मन्दिर) इस्राएलीहरू तथा गैरइस्राएलीका निम्ति शुद्ध उपासना चढाउने प्रमुख केन्द्र थियो। अनि मानवजातिका लागि सत्य कुरा प्रकट गर्ने एक मात्र माध्यम इस्राएल राष्ट्र नै थियो। (२ इतिहास ६:३२, ३३; रोमी ३:१, २) लेवी कुलका पूजाहारीहरू मात्र नभई सबै वफादार इस्राएलीहरू यहोवाका “साक्षी” थिए। इस्राएल, यहोवाको “प्रशंसा” गर्न छानिएका “दास” थिए। (यशैया ४३:१०, २१) यहोवाले आफ्ना जनहरूका लागि गर्नुभएका शक्तिशाली कामहरू देखेर थुप्रै विनम्र विदेशीहरू साँचो उपासनातर्फ आकर्षित भएर यहूदीधर्म अपनाए। (यहोशू २:९-१३) तर इस्राएलको एउटै कुलले मात्र अभिषिक्त पूजाहारीको काम गर्थ्यो।
इस्राएलमा यहोवाको उपासना गर्ने यहूदीधर्म अपनाउनेहरू
१३, १४. (क) यहोवाको उपासना गर्ने यहूदीधर्म अपनाउनेहरू व्यवस्था बाचाका हकदार थिएनन् भनेर हामी किन भन्नसक्छौं? (ख) यहोवाको उपासना गर्ने यहूदीधर्म अपनाउनेहरू कसरी व्यवस्था बाचाको अधीनमा परे?
१३ यस्ता यहूदीधर्म अपनाउनेहरूको इस्राएलमा कस्तो स्थान हुन्थ्यो? यहोवाले करार बाँध्नुहुँदा इस्राएलसित मात्र गर्नुभएको थियो। त्यतिखेर “एक मिश्रित-दल” तिनीहरूसँगै भए तापनि उनीहरूलाई करारको भागेदार बनाइएन। (प्रस्थान १२:३८; १९:३, ७, ८) इस्राएलको पहिलौठोका निम्ति छुटकाराको मोलको हिसाब गर्दा यी यहूदीधर्म अपनाउनेका पहिलौठो सन्तानको गन्ती गरिएन। (गन्ती ३:४४-५१) दशकौंपछि कनान देशको अंशबण्डा गर्दा यहोवाको उपासना गर्ने गैरइस्राएलीहरूका निम्ति कुनै अंश छुटाइएन। (उत्पत्ति १२:७; यहोशू १३:१-१४) किन? किनभने यहोवाको उपासना गर्ने यहूदीधर्म अपनाउनेहरूसित व्यवस्थाको करार बाँधिएको थिएन। तथापि, यहोवाको उपासना गर्ने गैरइस्राएली पुरुषहरूको भने व्यवस्थाअनुसार खतना गरिन्थ्यो। यी पुरुषहरूले व्यवस्थाका नीतिनियमहरू पालन गर्थे र व्यवस्थाले गरेका प्रबन्धहरूको लाभ पनि उठाउँथे। समष्टिगत रूपमा भन्ने हो भने यहोवाको उपासना गर्ने इस्राएली तथा गैरइस्राएली दुवै व्यवस्था करारको अधीनमा हुन्थ्यो।—प्रस्थान १२:४८, ४९; गन्ती १५:१४-१६; रोमी ३:१९.
१४ उदाहरणका लागि, गैरइस्राएलीले अनजानमा कसैको ज्यान लिएको खण्डमा इस्राएलीजस्तै शरण नगरमा भाग्नसक्थ्यो। (गन्ती ३५:१५, २२-२५; यहोशू २०:९) वार्षिक प्रायश्चितको दिन “इस्राएलका जम्मै समुदायको निम्ति” बलिदान चढाइन्थ्यो। गैरइस्राएलीहरू पनि समुदायकै सदस्य भएको हुनाले तिनीहरूले पनि बलिदान चढाउने विधि अपनाउने र त्यस्तो किसिमको बलिदानद्वारा तिनीहरूले पनि आफ्नो पापको क्षमा पाउँथे। (लेवी १६:७-१०, १५, १७, २९; व्यवस्था २३:७, ८) व्यवस्था अन्तर्गत गैरइस्राएली र इस्राएलीबीच यति घनिष्ठ सम्बन्ध थियो कि सा.यु. ३३ पेन्तिकोसको दिन यहूदीहरूका निम्ति ‘राज्यको [पहिलो] साँचो’ प्रयोग हुँदा यहूदी मत मान्ने गैरइस्राएलीहरू पनि लाभान्वित भए। फलतः “एन्टिओकको यहूदी मत मान्ने निकोलाउस” मसीही भए र तिनी यरूशलेम मण्डलीका खाँचो पूरा गर्न नियुक्त “नाउँ चलेका सात जना मानिस[मध्ये]” एक थिए।—मत्ती १६:१९; प्रेरित २:५-१०; ६:३-६; ८:२६-३९.
यहोवाले अब्राहामको सन्तानलाई आशिष् दिनुहुन्थ्यो
१५, १६. यहोवाले अब्राहामसित बाँध्नुभएका करार व्यवस्थाको करार अन्तर्गत कसरी पूरा भए?
१५ अब्राहामका सन्तानहरूलाई व्यवस्थाअनुसार राष्ट्रको रूपमा गठन गरिसक्नुभएपछि यहोवाले तिनीहरूका पुर्खासित गर्नुभएको प्रतिज्ञाबमोजिम आशिष् दिनुभयो। सा.यु.पू. १४७३ मा मोशाका उत्तराधिकारी यहोशूले इस्राएललाई कनान देशसम्म डोऱ्याए। कनान देशमा पुगेपछि इस्राएलका कुलहरूबीच अंशबण्डा गरियो र यसप्रकार अब्राहामका सन्तानले देश अधिकार गर्नेछ भन्ने यहोवाको प्रतिज्ञा पूरा भयो। इस्राएल वफादार रहुञ्जेल यहोवाले आफ्नो प्रतिज्ञाअनुसार तिनीहरूलाई शत्रुमाथि विजय गराउनुभयो। विशेषगरि दाऊद राजाको समयमा हामी यो कुरा पूरा भएको पाउँछौं। अब्राहामसित बाँध्नुभएको करारको तेस्रो पक्ष पनि दाऊदका छोरा सुलेमानको समयमा पूरा भयो। “यहूदा र इस्राएलका मानिसहरू समुद्रका बालुवाझैं असंख्य थिए।”—१ राजा ४:२०.
१६ तथापि, कसरी अब्राहामको सन्तानले इस्राएलद्वारा आशिष् पाउनेछन्? माथि उल्लेख भएझैं इस्राएल राष्ट्र यहोवाको विशेष जाति, उहाँको प्रतिनिधि थियो। इस्राएल कनानमा प्रवेश गर्नुभन्दा केही समयअघि मोशाले यसो भनेका थिए: “हे अन्यजाति हो, उहाँका प्रजाको प्रशंसा गर।” (व्यवस्था ३२:४३) थुप्रै विदेशीहरूले यो आह्वान सुने। मिश्र देशबाट निस्कँदा नै “एक मिश्रित-दल” इस्राएलको पछि पछि लागिसकेका थिए। तिनीहरूले उजाडस्थानमा यहोवाको शक्तिको प्रदर्शन देखे अनि मोशाले दिएको रमाउने निमन्त्रणा पनि स्वीकारे। (प्रस्थान १२:३७, ३८) पछि मोआबी स्त्री रूथले इस्राएली बोआजसित विवाह गरिन् र मसीहको पुर्खा भइन। (रूथ ४:१३-२२) त्यस्तैगरि थुप्रै जन्मजात इस्राएलीहरू विद्रोही हुँदा केनी यहोनादाब र तिनका सन्तान अनि कूशी एबेदमेलेक सही मार्गमा चले। (२ राजा १०:१५-१७; यर्मिया ३५:१-१९; ३८:७-१३) फारसी साम्राज्यका थुप्रै विदेशीहरूले यहूदी मत अपनाए र आफ्ना शत्रुसित इस्राएल लड्दा तिनीहरूले पनि इस्राएलको पक्ष लिएर लडे।—एस्तर ८:१७, पादटिप्पणी, NW.
नयाँ करारको आवश्यकता
१७. (क) यहोवाले इस्राएलका उत्तरी तथा दक्षिणी राज्यलाई किन तिरस्कार गर्नुभयो? (ख) कुन कुराले गर्दा अन्ततः यहोवाले यहूदीहरूलाई पनि त्याग्नुभयो?
१७ यी सबका बावजूद परमेश्वरका प्रतिज्ञाहरू पूर्णतया पूरा भएको देख्न परमेश्वरको विशेष जाति वफादार रहनुपर्थ्यो। तर तिनीहरू वफादार भएनन्। हो, कुनै कुनै इस्राएलीहरूको गजबको विश्वास थियो। (हिब्रू ११:३२–१२:१) तर त्यसो भए तापनि इस्राएल राष्ट्र भौतिक लाभको लालचमा परेर धेरैचोटी विदेशी देवताहरूको पछि लागे। (यर्मिया ३४:८-१६; ४४:१५-१८) इस्राएलीहरूले व्यवस्थाको गलत प्रयोग गरे वा त्यसलाई एकातर्फ पन्छाए। (नहेम्याह ५:१-५; यशैया ५९:२-८; मलाकी १:१२-१४) सुलेमानको मृत्युपछि इस्राएल उत्तरी र दक्षिणी राज्यमा विभाजित भयो। उत्तरी राज्य घोर विद्रोही हुँदा यहोवाले यसो भन्नुभयो: “किनभने तिमीहरूले ज्ञानलाई अस्वीकार गऱ्यौ। म पनि तिमीहरूलाई मेरा पूजाहारी हुनदेखि अस्वीकार गर्नेछु।” (होशे ४:६) यहोवासित बाँधेको करारअनुसार नचलेको हुँदा दक्षिणी राज्यले पनि कठोर दण्ड पायो। (यर्मिया ५:२९-३१) यहूदीहरूले येशूलाई मसीह मान्न इन्कार गर्दा यहोवाले तिनीहरूलाई पनि त्यसरी नै त्याग्नुभयो। (प्रेरित ३:१३-१५; रोमी ९:३१–१०:४) अन्ततः अब्राहामसित बाँध्नुभएको करार पूरा गर्न यहोवाले एउटा नयाँ प्रबन्ध मिलाउनुभयो।—रोमी ३:२०.
१८, १९. अब्राहामसित बाँध्नुभएको करार पूरा गर्न यहोवाले कुन नयाँ प्रबन्ध मिलाउनुभयो?
१८ त्यो नयाँ प्रबन्ध थियो, नयाँ करार। यहोवाले यो नयाँ करारबारे यसरी पूर्ववाणी गर्नुभएको थियो: “परमप्रभु भन्नुहुन्छ, ‘हेर, दिन आउँदैछ, जब म इस्राएलको घराना र याकूबको घरानासित एउटा नयाँ करार बाँध्नेछु, . . . ती दिनपछि जुन करार म इस्राएलको घरानासित बाँध्नेछु, त्यो यही हो, ‘म मेरो व्यवस्था तिनीहरूको अन्तस्करणमा हालिदिनेछु तिनीहरूको हृदयमा म त्यो लेखिदिनेछु। औ म तिनीहरूका परमेश्वर हुनेछु, तिनीहरू मेरा प्रजा हुनेछन्।”—यर्मिया ३१:३१-३३.
१९ येशूले सा.यु. ३३ नीसान १४ को दिन उल्लेख गर्नुभएको नयाँ करार यही थियो। त्यस रात येशूले, प्रतिज्ञा गरिएको करार उहाँका चेलाहरू र यहोवाबीच बाँधिनेछ र उहाँ चाहिं मध्यस्थकर्ता हुनुहुनेछ भनेर प्रकट गर्नुभयो। (१ कोरिन्थी ११:२५; १ तिमोथी २:५; हिब्रू १२:२४) यो नयाँ करारद्वारा यहोवाले अब्राहामसित गर्नुभएका प्रतिज्ञा अझ गौरवशाली तथा चिरस्थायी ढंगमा पूरा हुनेथिए, जुन हामी अर्को लेखमा छलफल गर्नेछौं।
के तपाईं जवाफ दिनसक्नुहुन्छ?
◻ अब्राहामसित करार बाँध्नुहुँदा यहोवाले के प्रतिज्ञा गर्नुभयो?
◻ अब्राहामसित बाँध्नुभएको करार इस्राएल जातिमाथि यहोवाले कसरी पूरा गर्नुभयो?
◻ यहोवाको उपासना गर्ने यहूदीधर्म अपनाउनेहरू कसरी पूरानो करारबाट लाभान्वित भए?
◻ नयाँ करार किन चाहियो?
[पृष्ठ ९-मा भएको चित्र]
अब्राहामसित गर्नुभएको करारका प्रतीकात्मक कुराहरू व्यवस्थाको करारद्वारा यहोवाले पूरा गर्नुभयो