एहूद—विश्वासी तथा साहसी पुरुष
इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा पसेको निकै वर्ष बितिसकेको थियो। मोशा र तिनका उत्तराधिकारी, यहोशूको मृत्यु भएको पनि निकै समय भइसकेको थियो। त्यस्ता विश्वासी जनहरू नभएकोले शुद्ध उपासनाको मूल्यांकन कम हुँदै जान थाल्यो। इस्राएलीहरूले बाल तथा पवित्र थामहरूको उपासनासमेत गर्न थालिसकेका थिए।a फलस्वरूप, यहोवाले आफ्ना जनहरूलाई आठ वर्षसम्म अरामीहरूको हातमा सुम्पनुभयो। त्यसपछि इस्राएलीहरूले सहायताको लागि परमेश्वरलाई पुकारे। दया देखाउँदै उहाँले तिनीहरूको बिन्ती सुन्नुभयो। यहोवाले आफ्ना जनहरूलाई छुटकारा दिन न्यायकर्ता ओत्निएललाई खडा गर्नुभयो।—न्यायकर्त्ता ३:७-११.
इस्राएलीहरूले यहोवाका आदेशहरू मान्दा आशिष् र नमान्दा सराप पाइन्छ भन्ने आधारभूत सत्य यी घटनाबाट सिक्नुपर्थ्यो। (व्यवस्था ११:२६-२८) तर इस्राएलीहरूले यो पाठ सिकेनन्। चालीस वर्षसम्म शान्ति छाएपछि तिनीहरूले फेरि शुद्ध उपासनालाई त्यागे।—न्यायकर्त्ता ३:१२.
मोआबीहरूको आक्रमण
यस पटक यहोवाले आफ्ना जनहरूलाई मोआबका राजा एग्लोनको हातमा पर्न दिनुभयो। बाइबलले तिनलाई “साह्रै मोटो मानिस” भनेर बताउँछ। एग्लोनले अम्मोनीहरू र अमालेकीहरूको मदत लिएर इस्राएलमाथि आक्रमण गरे र “खजूरका रूखहरूको बेंसी” अर्थात् यरीहोमा आफ्नो महल बनाए। पहिला, इस्राएलले कब्जा गरेको कनानी शहर अहिले झूटो देवता कमोशका उपासकहरूको मुख्यालय हुनु कत्ति हास्यास्पद कुरा!b—न्यायकर्त्ता ३:१२, १३, १७.
एग्लोनले त्यसपछि इस्राएलीहरूलाई करको भार लदाएर १८ वर्षसम्म दबाए। नियमित महसूलको माग गर्दै मोआबले इस्राएलको धनसम्पत्ति सखाप पारेर आफ्नो ढुकुटी टनाटन भरे। स्पष्टतया, यहोवाका जनहरूले उद्धारको भीख मागे र उहाँले फेरि तिनीहरूको पुकारा सुन्नुभयो। यस पटक चाहिं उहाँले तिनीहरूको उद्धार गर्न एहूद नाउँ गरेको बिन्यामिनीलाई खडा गर्नुभयो। एहूदले अर्को पालिको कर उठाउने समय पारेर इस्राएलमाथि एग्लोनको निरंकुश शासन खतम गर्ने योजना बनाए।—न्यायकर्त्ता ३:१४, १५.
एहूदले आफ्नो साहसिक अभियानको तयारीमा एक हात लामो दुइधारे तरवार बनाए। यदि यो छोटो हातको नापमा हो भने लगभग १५ इञ्च लामो हुनुपर्छ। कसै कसैले त्यसलाई चूपी भन्ठान्नसक्छन्। स्पष्टतया, धार र बिंडको बीचमा काँजो लगाइएको थिएन। तसर्थ, एहूदले त्यो चूपी आफ्नो लुगाभित्र लुकाउनसक्थे। त्यसबाहेक, एहूद देब्रे हाते भएकोले तिनले तरवार दाहिनेतिर भिर्नेथिए। साधारणतया, त्यतापट्टि हतियार भिरिंदैन।—न्यायकर्त्ता ३:१५, १६.
एहूदको यो योजना जोखिमपूर्ण थियो। उदाहरणका लागि, राजाका परिचारकहरूले एहूदको तलाशी लिएका भए? तिनीहरूले त्यसो नगरे तापनि तिनीहरूले कुनै इस्राएलीसित आफ्नो राजालाई एक्लै निश्चयै छाड्नेथिएनन्! तिनीहरूले राजालाई एक्लै छाडेर एहूदले तिनलाई मार्नसक्लान् रे, तर एहूद कसरी उम्कने? एग्लोनका परिचारकहरूले त्यो घटना थाह नपाइञ्जेल तिनी कति टाढासम्म भाग्नसक्थे?
निस्सन्देह, त्यहाँ आइपर्नसक्ने खतराजनक थुप्रै परिणामहरूको शायद अडकल लगाउँदै एहूदले त्यसबारे सोचेको हुनुपर्छ। तैपनि, साहस बटुल्दै र यहोवामा विश्वास गर्दै तिनले आफ्नो योजनालाई अघि बढाए।
एहूद एग्लोनलाई भेट्छन्
कर तिर्ने समय आइपुग्यो। एहूद र तिनका मानिसहरू राजाको महलमा प्रवेश गरे। एकैक्षणपछि तिनीहरू राजा एग्लोनको सामु उभिरहेका थिए। तर आक्रमण गर्ने समय अझै भइसकेको थिएन। कर टक्राइसकेपछि एहूदले कर बोकेर ल्याउनेहरूलाई फर्काए।—न्यायकर्त्ता ३:१७, १८.
एग्लोनलाई मार्न एहूदले किन ढिलो गरे? के तिनी डराए? पटक्कै होइन! एहूदले आफ्नो योजना फत्ते गर्न राजासित एकान्तमा कुराकानी गर्नुपर्थ्यो। यो तिनको पहिलो भेट थियो। त्यसबाहेक, एहूदले तुरुन्तै भागीहाल्ने बाटो खोज्नुपर्थ्यो। कर बोकेर ल्याउनेहरूसित भाग्नुभन्दा एक्लै भाग्नु एकदमै सजिलो हुनेथियो। तसर्थ, एहूदले मौका कुरेर बसे। तिनले एग्लोनलाई एकक्षण भेट्दैमा महलको बनावट र राजाको सुरक्षाबारे थाह पाउनसके।
“गिलगालमा भएको खोपेका ढुङ्गाहरूको ठाउँमा” पुगेपछि एहूदले आफ्ना मानिसहरूलाई पठाइदिए र आफू चाहिं एग्लोनको महलमा फर्के। फर्किंदा पार गर्नुपर्ने लगभग २ किलोमिटरको दूरीमा एहूदले आफ्नो अभियानबारे सोच्ने र यहोवालाई आशिष्को निम्ति प्रार्थना गर्ने अलिकति भए पनि समय पाए।—न्यायकर्त्ता ३:१९.
एहूद फर्कन्छन्
स्पष्टतया, एहूदलाई महलमा स्वागत गरियो। शायद तिनले त्यसअघि उदारतासाथ टक्राएको करले गर्दा एग्लोन तिनीसित प्रफुल्लित थिए। त्यसैले गर्दा, एहूदको पहिलो भेट क्षणिक भए तापनि अहिले तिनले राजासित घनिष्ठ सम्पर्क राख्ने पर्याप्त मौका पाएको हुनुपर्छ। जे होस्, एहूद फेरि एग्लोनकहाँ पुगे।
एहूदले भने, “हे महाराज, मैले हजूरलाई गुप्तीमा केही भन्नुछ।” कुरा के हो भने, तिनी टाढाबाट आउनुले नै तिनलाई यहोवाले डोऱ्याइरहनुभएको थियो भनेर देखायो। तैपनि, एउटा समस्या थियो। एहूदले “गुप्तीमा” भन्नुपर्ने कुरा राजाका परिचारकहरूको सामु बताउन सकिंदैन थियो। त्यस अप्ठ्यारो स्थितिमा यहोवाले मदत गर्नुहुँदैथियो भने एहूदलाई त्यो मदत तुरुन्तै चाहिएको थियो। राजाले “चूप लाग्ने” आदेश दिए। एग्लोनले आफ्ना सेवकहरूलाई बाहिर पठाए किनभने यो “गुप्तीमा” भन्नुपर्ने कुरा अरूले सुनेको तिनी चाहँदैनथे। यसो सोच्नुहोस् त, एहूद कत्ति ढुक्क भए होलान्!—न्यायकर्त्ता ३:१९.
एग्लोन महलको कौसीको कोठामा बसिरहेको बेला एहूदले आएर यसो भने: “परमेश्वरबाट हजूरलाई मैले एउटा कुरा भन्नुछ।” के एहूदले “परमेश्वर” भनेर कमोशको उल्लेख गरिरहेका थिए? एग्लोनले त्यही सोचे होलान्। एग्लोन उत्सुक हुँदै आफ्नो आसनबाट उठे। राजालाई आफूमाथि आक्रमण होला भन्ने कुरामा शंका हुन नदिन शायद एहूद होशियारीसाथ राजाको नजीक गए होलान्। त्यसपछि, एकै निमेषमा “एहूदले आफ्नो देब्रे हातले दाहिनेतिर भएको चूपी निकाले, र [एग्लोनको] भुँड़ीमा रोपिदिए। चूपी बेड़समेत पस्यो, र बोसोले चूपीलाई छोप्यो। तिनले चूपी निकालेनन्, तर त्यतिकै वारपार भएकै अवस्थामा छोड़िराखे।”—न्यायकर्त्ता ३:२०-२२.
बाहिर नजीकै त्यसै हल्लिरहेका राजाका परिचारकहरूलाई यसको सुईंकोसम्म भएन। तैपनि एहूद जोखिम स्थितिमा नै थिए। कुनै पनि समयमा एग्लोनका परिचारकहरू भित्र पस्नसक्थे र आफ्नो राजाको मृत शरीर भेट्टाउनसक्थे। एहूद तुरुन्तै भागिहाल्नुपर्थ्यो! तिनले ढोकाहरूमा ताल्चा मारेर कौशीको दलानबाट भागे।—न्यायकर्त्ता ३:२३, २४क.
खोजी र पराजय
एग्लोनका चाकरहरू अब धेरैबेर कुर्ने स्थितिमा रहेनन्। तैपनि, राजाको निजी भेटघाटमा बाधा दिएर तिनलाई अप्रसन्न पार्ने तिनीहरूको हिम्मत भएन। तब तिनीहरूले कौशीका ढोकाहरूमा ताल्चा मारेको देखे। तिनीहरूले “राजा आफ्नो महलको शीतल-कोठामा दिसामा बसिरहनुभएको होला” भन्ठाने। तथापि, समय ढल्किंदै जाँदा तिनीहरूको उत्सुक हृदयभित्र चिन्ताको भेल उर्लन थाल्यो। अब भने एग्लोनका चाकरहरूले धेरैबेर पर्खन सकेनन्। “तब तिनीहरूले साँचो लिएर [कौशीका कोठाहरूका] ढोकाहरू खोले।”—न्यायकर्त्ता ३:२४ख, २५.
त्यतिञ्जेल, एहूदले सुइँकुच्चा ठोकिसकेका थिए। तिनी गिलगालका खोपेका ढुंगाहरूको ठाउँबाट छिरेर अन्ततः सीरा भन्ने ठाउँमा पुगे। त्यो ठाउँ एप्रैमको पहाडी भेग थियो। एहूदले इस्राएलीहरूलाई भेला गराए र मोआबीहरूमाथि संयुक्त आक्रमण गर्न नेतृत्व लिए। विवरणले बताएअनुसार “तिनीहरूले त्यस दिन दश हजार मोआबीहरूलाई मारे। ती सबै बलिया बलिया र शूरवीर पुरुषहरू थिए। एक जना पनि उम्कन पाएन।” यसरी इस्राएलीहरूले मोआबलाई वशमा पारेपछि इस्राएलमा ८० वर्षसम्म शान्ति छाइरह्यो।—न्यायकर्त्ता ३:२६-३०.
एहूदको उदाहरणबाट सिक्ने
परमेश्वरप्रतिको विश्वासले एहूदलाई उत्प्रेरित गरेको थियो। हिब्रू अध्याय ११ ले तिनलाई तोकेरै ती व्यक्तिको हैसियतमा उल्लेख गर्दैन “जसले विश्वासद्वारा राज्यहरू कब्जा गरे, . . . लड़ाइँमा वीर भए, विदेशीहरूका फौजलाई भगाए।” (हिब्रू ११:३३, ३४) तैपनि, एहूदले विश्वासअनुसार काम गर्दा र इस्राएललाई राजा एग्लोनको निरंकुश शक्तिबाट छुटकारा दिंदा तिनलाई यहोवाले सहयोग गर्नुभयो।
एहूदका गुनहरूमध्ये साहस एउटा थियो। घातक ढंगमा चूपी प्रहार गर्न तिनी साहसी हुनुपर्थ्यो। परमेश्वरका वर्तमान समयका सेवकहरूको हैसियतमा हामी यस्तो चूपी चलाउँदैनौं। (यशैया २:४; मत्ती २६:५२) यद्यपि, हामी “आत्माको तरवार” अर्थात् परमेश्वरको वचन चलाउँछौं। (एफिसी ६:१७) एहूद चूपी चलाउन सिपालु थिए। हामी पनि परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्दा उहाँको वचन प्रयोग गर्नमा सिपालु हुनुपर्छ। (मत्ती २४:१४) व्यक्तिगत बाइबल अध्ययन गरेर, मसीही सभाहरूमा नियमित उपस्थित भएर, सेवकाईमा जोसिलो भई भाग लिएर अनि स्वर्गमा हुनुहुने हाम्रो पितामाथि प्रार्थनापूर्वक भरोसा राखेर हामी पनि विश्वासी तथा साहसी पुरुष एहूदको अनुसरण गर्नसक्छौं।
[फुटनोटहरू]
a यी पवित्र थामहरू लिंगको प्रतीक हुनसक्छन्। ती थामहरू घोर अनैतिक पर्वहरूसित सम्बन्धित थिए।—१ राजा १४:२२-२४.
b कमोश मोआबीहरूको प्रधान देवता थियो (गन्ती २१:२९; यर्मिया ४८:४६) सधैं नभए तापनि कुनै कुनै अवसरहरूमा तिनीहरूले घृणित झूटा देवताहरूलाई आफ्ना छोराछोरी बलि चढाएको हुनुपर्छ।—२ राजा ३:२६, २७.
[पृष्ठ ३१-मा भएका चित्र]
एहूद र तिनका मानिसहरूले राजा एग्लोनलाई कर टक्राए
[स्रोत]
Illustrirte Pracht - Bibel/Heilige Schrift des Alten und Neuen Testaments, nach der deutschen Uebersetzung D. Martin Luther’s बाट निकालिएको