आफ्नो भारी सधैं यहोवालाई सुम्पनुहोस्
हिजोआज थुप्रै मानिसहरू बोझले दबिएको महसुस गर्छन्। शोषण अनि अत्याचारले गर्दा भोग्नु परेको पीडा र दुःखलगायत आर्थिक कठिनाइ, चिन्ताजनक पारिवारिक समस्या, स्वास्थ्य समस्याजस्ता थुप्रै वेदना हाम्रो घाँटीमा जाँतोसरह झुण्डिएका छन्। यी बाह्य दबाबहरूबाहेक आफ्नो असिद्धताको कारण असफल हुँदा केही मानिसहरू आफैलाई मूल्यहीन ठान्छन्। कति त यी दबाबहरूले गर्दा हार मान्छन्। बोझ असह्य देखिंदा तपाईं कसरी त्यसको सामना गर्न सक्नुहुन्छ?
एक पटक इस्राएलका राजा दाऊदले असह्य बोझ महसुस गरेका थिए। भजन ५५ अनुसार आफ्ना शत्रुहरूको दबाब र वैमनस्यले गर्दा तिनलाई असाध्यै छटपटी भएको थियो। तिनले आफ्नो हृदय छियाछिया भएको महसुस गरे। तिनी त्रसित थिए। आफ्नो वेदनाले गर्दा तिनी कराउनबाहेक अरू केही गर्न सक्दैनन् थिए। (भजन ५५:२, ५, १७) तथापि, यी सबका बावजूद तिनले सहने बाटो पाए। कसरी? तिनले परमेश्वरमाथि भरोसा गरे। अतः आफूजस्तै पीडित मानिसहरूलाई तिनले यस्तो सुझाउ दिए: “तेरो भारी परमप्रभुमा राख्।”—भजन ५५:२२.
तर “तेरो भारी परमप्रभुमा राख्” भनेर तिनले के भन्न खोजेका हुन्? के यहोवालाई प्रार्थना मार्फत आफ्नो चिन्ता व्यक्त गरे मात्र पुग्छ? अथवा हामी आफैले परिस्थितिलाई साम्य पार्न केही गर्नसक्छौं कि? अनि यहोवालाई प्रार्थना गर्न असाध्यै अयोग्य महसुस भयो भने नि? दाऊदले उक्त कुरा लेख्दा आफ्नो विगतका अनुभवहरू झलझली सम्झे होलान्। त्यसकारण आउनुहोस्, तिनले भन्न खोजेका कुरा बुझ्न तिनका केही अनुभवहरूलाई विचार गरौं।
यहोवामा भरोसा राखेर कामहरू गर्नुहोस्
गोल्यतले गर्दा इस्राएलका लडाकूहरू कति भयभीत भए के तपाईंलाई सम्झना छ? नौ फुट अग्लो राक्षसजस्तो मान्छे देखेर तिनीहरू थरथर काँपेका थिए। (१ शमूएल १७:४-११, २४) तर दाऊद डराएनन्। किन? किनभने तिनले आफ्नै बलमा भरोसा गरेर गोल्यतसित भिड्ने कोसिस गरेनन्। इस्राएलको भावी राजा नियुक्त भएदेखि तिनी परमेश्वरको पवित्र आत्माको निर्देशनअनुरूप चल्थे र कुनै पनि काम गर्नुपर्दा त्यसमै भरोसा गर्थे। (१ शमूएल १६:१३) त्यसैकारण तिनले गोल्यतलाई यसो भने: “म तँसँग लड़न तैंले धम्क्याएका इस्राएलको फौजका परमेश्वर, सेनाहरूका परमप्रभुको नाउँमा आएको छु। आजको दिन परमप्रभुले तँलाई मेरो हातमा सुम्पिदिनुहुनेछ।” (१ शमूएल १७:४५, ४६) दाऊद घुयेंत्रो चलाउन सिपालु थिए। तथापि, यहोवाको पवित्र आत्माको डोऱ्याइले गर्दा नै तिनले गोल्यतमाथि प्रहार गरेको ढुंगा अझ घातक साबित भयो भन्ने कुरामा दुइ मत छैन।—१ शमूएल १७:४८-५१.
परमेश्वरले सहारा अनि बल दिनुहुनेछ भनी भरोसा गरेको हुँदा दाऊदले यो असीम चुनौतीलाई स्वीकार्नुका साथै विजयी हुनसके। तिनले परमेश्वरसित असल भरोसायोग्य सम्बन्ध गाँसेका थिए। निस्सन्देह, यहोवाले यसअघि पनि तिनलाई बचाउनुभएकोले त्यो सम्बन्ध अझ बलियो भएको थियो। (१ शमूएल १७:३४-३७) दाऊदले जस्तै तपाईं पनि यहोवासित बलियो व्यक्तिगत सम्बन्ध गाँस्न सक्नुहुन्छ र जस्तोसुकै परिस्थितिमा उहाँले तपाईंलाई बल दिन सक्नुहुन्छ र दिन इच्छुक हुनुहुन्छ भनेर ढुक्क हुन सक्नुहुन्छ।—भजन ३४:७, ८.
यथाशक्य समस्या समाधान गर्ने कोसिस गर्नुहोस्
तथापि, त्यसो भन्दैमा हामीले कहिल्यै असह्य पीडा, चिन्ता वा डरको सामना गर्नु पर्दैन भन्ने होइन। भजन ५५ ले त्यही कुरा प्रष्ट्याउँछ। उदाहरणका लागि, दाऊदले त्यति बेला यहोवामाथि निर्भयतापूर्वक भरोसा देखाएका भए तापनि केही वर्षपछि शत्रुहरूको सामना गर्नुपर्दा असाध्यै डराए। राजा शाऊलको अनुमोदन गुमाउँदा तिनी आफ्नो ज्यान जोगाउन भाग्नुपऱ्यो। यसले गर्दा दाऊदले कस्तो भावनात्मक अशान्ति महसुस गरे होलान् अनि यहोवाको उद्देश्यप्रति कस्ता शंकाहरू उब्जे होलान्, कल्पना गर्नुहोस्। इस्राएलको भावी राजाको रूपमा अभिषिक्त मानिस उजाडस्थानमा भगुवाजस्तो बाँच्नु पर्दा, जंगली जनावर खेदिएजस्तो खेदिनुपर्दा जो पनि भरंग हुनसक्छ। गोल्यतको जन्मस्थल गातमा शरण लिन खोज्दा तिनको भेद खोलियो। नतिजा? तिनी “असाध्यै डराए” भनी अभिलेखले बताउँछ।—१ शमूएल २१:१०-१२.
तर डर र गहिरो चिन्तामा पर्दा पनि तिनले यहोवासित मदत माग्न छाडेनन्। भजन ३४ (यस्तो अनुभवबाट पाएको नतिजाको आधारमा लेखेको भजन) अनुसार दाऊदले यसो भने: “मैले परमप्रभुको खोजी गरें, र उहाँले मलाई जवाफ दिनुभयो, र मलाई मेरा सबै डरहरूबाट छुटाउनुभयो। यस दुःखी मानिसले पुकारा गऱ्यो, र परमप्रभुले सुन्नुभयो, र त्यसलाई त्यसको सबै दुःखबाट बचाउनुभयो।”—भजन ३४:४, ६.
यहोवाले अवश्य तिनलाई सहारा दिनुभयो। तर नबिर्सनुहोस्, दाऊदले आफ्नो सारा भारी यहोवालाई बोकाएर आफू चाहिं हात बाँधेर बसेनन्। कठिन परिस्थितिबाट मुक्त हुन आफूले पनि यथाशक्य प्रयास गर्नुपर्ने आवश्यकतालाई तिनले बुझे। आफूलाई बचाउने यहोवा नै हुनुहुन्छ भनेर स्वीकारे तापनि बच्ने काम चाहिं आफैले गरे। त्यसैकारण गातका राजाले नमारोस् भनेर तिनले बौलाहाको अभिनय गरे। (१ शमूएल २१:१४–२२:१) यहोवाले कहिले बचाउनुहोला भनेर पर्खेर बस्नुको साटो हामीले पनि आफ्नो बोझ हल्का पार्ने यथाशक्य कोसिस गर्नुपर्छ।—याकूब १:५, ६; २:२६.
बोझमाथि बोझ नथप्नुहोस्
पछि दाऊदले अर्को, योभन्दा पीडाजनक पाठ सिके। के थियो त्यो? त्यो हो, कहिलेकाहीं हामी बोझमाथि बोझ थप्छौं। पलिश्तीहरूमाथिको विजयपश्चात् दाऊदले वाचाको सन्दुकलाई यरूशलेम लैजान खोज्दा तिनले गलती गर्न पुगे। यस विषयमा ऐतिहासिक विवरणले हामीलाई यसो भन्छ: “सारा सेनाका साथमा परमेश्वरको सन्दूक ल्याउनलाई दाऊद बालाथयहूदामा गए। . . . [तर] तिनीहरूले परमेश्वरको सन्दूक एउटा नयाँ गाड़ामा राखे, . . . औ अमीनादाबका छोराहरू उज्जा र अहीयोले गाड़ालाई हाँक्दै लगे।”—२ शमूएल ६:२, ३.
यसरी सन्दुकलाई गाडामा लैजानु यहोवाको निर्देशन विपरीत थियो। किनभने सन्दुकमा जडिएका विशेष मुन्द्रामा नोल छिराएर लेवी कुलको कहातका छोराहरूले मात्र त्यसलाई काँधमा बोक्नू भनी पहिल्यै स्पष्टसित बताइसकेको थियो। (प्रस्थान २५:१३, १४; गन्ती ४:१५, १९; ७:७-९) यी निर्देशनहरू बेवास्ता गर्दा विपत्ति आइलाग्यो। बाटोमा गोरुले ठेस खाएर सन्दुक खस्न लाग्दा उज्जाले आफ्नो हात बढाएर त्यसलाई थामे। हुन त उज्जा लेवी कुलकै थिए होलान् तर पूजाहारी भने अवश्य थिएनन्। अतः तिनको श्रद्धाहीन कार्यले गर्दा यहोवाले तुरुन्तै तिनलाई प्रहार गर्नुभयो।—२ शमूएल ६:६, ७.
राजा भइसकेका दाऊद केही हदसम्म त्यसका लागि जिम्मेवार थिए। त्यसपछि तिनले जुन प्रतिक्रिया देखाए त्यसले के देखाउँछ भने, यहोवासँग राम्रो सम्बन्ध गाँस्ने मानिसहरूले समेत कठिन परिस्थिति आइपर्दा कहिलेकाहीं गलत काम गर्नसक्छ। सुरुमा दाऊद रीसाए। त्यसपछि तिनी डराए। (२ शमूएल ६:८, ९) यहोवासित तिनले गाँसेको भरोसायोग्य सम्बन्धको ठूलो जाँच भयो। यहोवाको आज्ञा उल्लंघन हुँदा दाऊदले यस पटक चाहिं आफ्नो भारी उहाँलाई सुम्पन सकेनन् जस्तो छ। के कहिलेकाहीं हामी पनि त्यसै गर्छौं? यहोवाको निर्देशन वास्ता नगरेकोले समस्याहरू उत्पन्न हुँदा के हामी उहाँलाई दोष लाउँछौं?—हितोपदेश १९:३.
दोषी भावनाको बोझसित सामना गर्ने
पछि, यहोवाका नैतिक स्तरहरू विपरीत गम्भीर पाप गरेर दाऊदले आफ्नै पिठिउँमा दोषी भावनाको गह्रौं बोझ लादे। राजाको हैसियतमा तिनले रणभूमिमा आफ्नो सेनाको नेतृत्व लिनुपर्ने थियो तर तिनी घरमै बसे। आफ्ना सेनाहरू लडिरहेको बेला तिनी चाहिं यरूशलेममै थिए। फलस्वरूप तिनी गम्भीर समस्यामा फसे।—२ शमूएल ११:१.
राजा दाऊदले सुन्दरी बेतशेबा नुहाइरहेकी देखे। तिनले तिनीसित अनैतिक सम्बन्ध राखे र तिनी गर्भवती भइन्। (२ शमूएल ११:२-५) आफ्नो दुराचारलाई ढाकछोप गर्न तिनले बेतशेबाका पति उरियाहलाई रणभूमिबाट यरूशलेम डाके। तर इस्राएल रणभूमिमा व्यस्त भएको बेला तिनले आफ्नी पत्नीसँग शारीरिक सम्बन्ध राख्न मानेनन्। (२ शमूएल ११:६-११) यहाँनिर दाऊदले आफ्नो पापलाई ढाकछोप गर्न दुष्ट अनि धूर्त चाल चले। तिनले युद्ध मच्चिरहेको ठाउँमा उरियाहका सँगी सिपाहीहरूलाई पछि हट्न लगाएर उरियाहलाई चाहिं मर्न पठाए। कति घिनलाग्दो अनि गम्भीर पाप!—२ शमूएल ११:१२-१७.
निस्सन्देह, पछि दाऊदको पाप धुरीबाट करायो। तिनको पाप उदांग भयो। (२ शमूएल १२:७-१२) आफ्नो कामेच्छाले गर्दा कहाँसम्म भूल गर्न पुगें भनी झसंग हुँदा दाऊदले कति दोष र शोक खपे होलान्, कल्पना गर्ने कोसिस गर्नुहोस्। तिनी सम्भवतः संवेदनशील अनि भावुक व्यक्ति भएकोले विफलताको भावनाले अत्तालिए होलान्। तिनले आफूलाई पूर्णतया बेकार सम्झे होलान्!
तथापि, दाऊदले तुरुन्तै भूल स्वीकारे र नातान अगमवक्तालाई यसो भने: “मैले परमप्रभुको विरुद्धमा पाप गरें।” (२ शमूएल १२:१३) त्यसपछि दाऊदले कस्तो महसुस गरे अनि आफूलाई शुद्ध पार्न अनि क्षमा पाउन तिनले यहोवा परमेश्वरलाई कसरी बिन्ती गरे, त्यसबारे भजन ५१ ले हामीलाई बताउँछ। तिनले यसो भन्दै प्रार्थना गरे: “मेरो अधर्मबाट मलाई सफासँग धुनुहोस्, र मेरो पापबाट मलाई शुद्ध गर्नुहोस्। किनकि म आफ्ना अपराधहरू स्वीकार गर्छु। मेरो पाप सदा मेरै सामनेमा छ।” (भजन ५१:२, ३) तिनले चोखो पश्चात्ताप गरेको हुँदा यहोवासित फेरि घनिष्ठ सम्बन्ध राख्न सके। दाऊद पश्चात्ताप वा मूल्यहीनताको भावनामा डुबेर बसिरहेनन्। विनम्रतापूर्वक आफ्नो गलती स्वीकारेर, निष्कपटतापूर्वक पश्चात्ताप गरेर अनि यहोवासित तीव्र प्रार्थनाद्वारा क्षमा मागेर तिनले यहोवालाई आफ्नो भारी सुम्पे। फलतः तिनले पुनः परमेश्वरको अनुमोदन प्राप्त गरे।—भजन ५१:७-१२, १५-१९.
धोखाको सामना गर्ने
अब हामी दाऊदलाई भजन ५५ लेख्न उत्प्रेरित गर्ने अन्तिम बुँदा विचार गरौं। तिनी असाध्यै तनाउग्रस्त थिए। “मेरो मनले मभित्र ज्यादै कष्ट पाएको छ, र मृत्युको डर ममाथि आइलागेको छ,” तिनले लेखे। (भजन ५५:४) तिनको यस्तो कष्टको कारण के थियो? दाऊदका छोरा अब्शालोमले दाऊदको सिंहासन हत्याउने षड्यन्त्र रचेका थिए। (२ शमूएल १५:१-६) आफ्नै छोराले धोका दिएकोले सहनै नसकिरहेको बेला झन् सबैभन्दा भरपर्दो सल्लाहकार अहीतोपेलले समेत अब्शालोमको पक्ष लिंदा दाऊदलाई घाउमा नून छर्केझैं भयो। दाऊदले भजन ५५:१२-१४ मा अहीतोपेलको वर्णन गरिरहेका थिए। षड्यन्त्र र धोकाले गर्दा दाऊद यरूशलेमबाट भाग्नुपऱ्यो। (२ शमूएल १५:१३, १४) तिनको मन कति भतभती पोल्यो होला!
तैपनि तीव्र भावना र शोकमा परेर दाऊदले यहोवामाथिको विश्वास अनि भरोसा गुमाएनन्। आफ्ना षड्यन्त्रकारीहरूको योजनालाई विफल तुल्याइ दिऊन् भनी तिनले यहोवालाई प्रार्थना गरे। (२ शमूएल १५:३०, ३१) यहाँ फेरि पनि दाऊदले यहोवामाथि सारा भारी सुम्पेर आफू चाहिं हात बाँधेर बसेनन्। मौका पाउनेबित्तिकै तिनले अब्शालोमको षड्यन्त्र विफल तुल्याउन आफ्नो दिमागले भ्याएजति गरे। तिनले आफ्नो अर्को सल्लाहकार हूशैलाई षड्यन्त्रकारीको भेषमा यरूशलेम पठाए। वास्तवमा हूशै अब्शालोमको षड्यन्त्र विफल तुल्याउन त्यहाँ गएका थिए। (२ शमूएल १५:३२-३४) यहोवाको समर्थन पाएको हुनाले तिनको योजना सफल भयो। फलतः दाऊदले आफ्नो प्रतिरक्षाका लागि मानिसहरू संगठित गर्न सके।—२ शमूएल १७:१४.
यहोवाले यसप्रकार दाऊदलाई बारम्बार बचाउनुभयो, धैर्य धारण गर्नुभयो अनि स्वेच्छापूर्वक क्षमा गर्नुभयो। अवश्य दाऊदले जीवनभर त्यसको मूल्यांकन गरेको हुनुपर्छ! (भजन ३४:१८, १९; ५१:१७) यस्ता अनुभवहरूले गर्दा नै दाऊदले हामीलाई पनि कष्टमा पर्दा यहोवासित मदत माग्न अनि ‘यहोवालाई आफ्नो भारी सुम्पन’ निर्धक्क भएर प्रोत्साहन दिन्छन्।—तुलना गर्नुहोस् १ पत्रुस ५:६, ७.
यहोवासित बलियो अनि भरोसायोग्य सम्बन्ध गाँसेर त्यसलाई कायम राख्नुहोस्
दाऊदले यहोवासित गाँसेको सम्बन्धले गर्दा ठूलो परीक्षा र संकटसित डट्न सके। त्यसोभए हामी पनि कसरी यहोवासित त्यस्तै सम्बन्ध गाँस्नसक्छौं? त्यसका लागि हामीले परमेश्वरको वचन, पवित्र बाइबल लगनशील भएर अध्ययन गर्नुपर्छ। त्यसो गर्दा हामीले उहाँको नियम, सिद्धान्त तथा व्यक्तित्व सिकिरहेका हुन्छौं। (भजन १९:७-११) अनि परमेश्वरको वचनमा जति मनन गर्दै जान्छौं, त्यति नै उहाँसित घनिष्ठ हुन्छौं र उहाँमाथि पूर्ण भरोसा गर्न सिक्छौं। (भजन १४३:१-५) सँगी उपासकहरूसित संगत गरेर यहोवाबाट अझ धेरै निर्देशन प्राप्त गर्न खोज्दा हाम्रो सम्बन्ध गहिरो अनि दरिलो हुन्छ। (भजन १२२:१-४) साथै हृदयस्पर्शी प्रार्थनाद्वारा यहोवासितको त्यस्तो सम्बन्धलाई अझ घनिष्ठ बनाउँछौं।—भजन ५५:१.
हो, कहिलेकाहीं परिस्थितिवश यहोवासित सम्बन्ध बलियो नहुँदा हामीजस्तै दाऊद पनि निराश भएका थिए। शोषणले हाम्रो ‘मति बिग्रनसक्छ।’ (उपदेशक ७:७) तर यहोवाले हाम्रो परिस्थिति अनि हाम्रो हृदयको कुरा जान्नुहुन्छ। (उपदेशक ४:१; ५:८) अतः यहोवासित बलियो सम्बन्ध कायम राख्न हामीले कडा मेहनत गर्नुपर्छ। तब मात्र हाम्रो भारी यहोवालाई सुम्पनसक्छौं र उहाँले हामीलाई दबाबमुक्त पार्नुहुनेछ वा परिस्थितिको सामना गर्न बल दिनुहुनेछ भनी भरोसा गर्नसक्छौं। (फिलिप्पी ४:६, ७, १३) त्यसकारण यहोवासित घनिष्ठ भएर बस्नु अत्यावश्यक छ। त्यसो गर्दा दाऊद पूर्णतः सुरक्षित भए।
तसर्थ, तपाईंको परिस्थिति जस्तोसुकै होस्, दाऊदले भनेझैं आफ्नो भारी सधैं यहोवालाई सुम्पनुहोस्। त्यसो गऱ्यौं भने, हामीले पनि यो प्रतिज्ञा पूरा भएको अनुभव गर्नेछौं: “उहाँले तँलाईं सम्हाल्नुहुनेछ, र उहाँले धर्मात्मालाई कहिल्यै डग्नदिनुहुनेछैन।”—भजन ५५:२२.