अध्ययन लेख २५
तनावपूर्ण अवस्थाको सामना गर्नुपर्दा यहोवामा भर पर्नुहोस्
“म साह्रै निराश भएकी छु।”—१ समु. १:१५.
गीत ३० यहोवा नै मेरा बुबा, ईश्वर र साथी
परिचयa
१. हामीले किन येसुको चेतावनी सुन्नुपर्छ?
अन्तको दिनबारे भविष्यवाणी गर्नुहुँदा येसुले यसो भन्नुभयो: “तिमीहरू आफ्नो विषयमा होसियार बस ताकि . . . जीवनको फिक्रीको बोझले” अर्थात् जीविकोपार्जनको चिन्ताले वा दैनिक जीवनको चिन्ताले “तिमीहरूको हृदयलाई दबाउन नपाओस्।” (लुका २१:३४) हामीले यो चेतावनी सुन्नुपर्छ। किन? किनकि अहिले हामीले पनि सबैले भोग्ने जस्तै किसिमका तनावपूर्ण अवस्थाहरूको सामना गर्नुपर्छ।
२. हाम्रा दाजुभाइ दिदीबहिनीले कस्ता तनावपूर्ण अवस्थाहरूको सामना गरिरहेका छन्?
२ कहिलेकाहीँ हामीमाथि समस्याको ओइरो लाग्न सक्छ, जसले गर्दा हामीलाई धेरै तनाव हुन्छ। यी उदाहरणहरू विचार गर्नुहोस्। जोनb नाम गरेका एक साक्षीलाई मल्टिपल स्क्लेरोसिस भन्ने रोग (केन्द्रीय स्नायु प्रणालीमा हुने विकार) लागेको छ। त्यति मात्र होइन, विवाह भएको १९ वर्षपछि तिनकी पत्नीले तिनलाई छोडेर गइन्। त्यतिबेला तिनी असाध्यै निराश भए। पछि तिनका दुई जना छोरीले पनि यहोवाको सेवा गर्न छोडे। अर्को दम्पति, बब र लिन्डाले चाहिँ बेग्लै किसिमका चुनौतीहरू सामना गरे। उनीहरू दुवैले जागिर गुमाए अनि उनीहरूले आफू बसिरहेको घर पनि छोड्नुपर्ने भयो। यी समस्याहरूको अलावा लिन्डालाई मुटुसम्बन्धी प्राणघातक रोग लागेको पत्ता लाग्यो। अनि तिनलाई अर्को रोग पनि लाग्यो, जसले गर्दा तिनको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदै गयो।
३. फिलिप्पी ४:६, ७ बाट हामी कुन कुरामा ढुक्क हुन सक्छौँ?
३ तनावले हामीलाई कुन हदसम्म असर गर्छ भन्ने कुरा हाम्रा सृष्टिकर्ता र मायालु बुबा यहोवालाई राम्ररी थाह छ भनेर हामी ढुक्क हुन सक्छौँ। अनि उहाँ हामीलाई समस्याहरूसित जुझ्न मदत पनि दिन चाहनुहुन्छ। (फिलिप्पी ४:६, ७ पढ्नुहोस्) परमेश्वरको वचनमा विभिन्न चुनौतीहरू सहेका परमेश्वरका सेवकहरूको विवरण पाइन्छ। तनावपूर्ण परिस्थितिको सामना गर्न यहोवाले तिनीहरूलाई कसरी मदत दिनुभयो भन्ने कुरा पनि बाइबलमा रेकर्ड गरिएको छ। आउनुहोस्, केही विवरण छलफल गरौँ।
एलिया—“हाम्रो जस्तै भावना भएका मानिस”
४. एलियाले कस्ता चुनौतीहरू सामना गर्नुपऱ्यो? तिनले यहोवाबारे कस्तो महसुस गरे?
४ एलियाले असाध्यै गाह्रो अवस्थामा यहोवाको सेवा गरेका थिए। त्यस दौडान तिनले ठूलठूला चुनौतीहरू सामना गर्नुपऱ्यो। इस्राएलका एक जना अवफादार राजा आहाबले ईजेबेलसित विवाह गरेका थिए। ईजेबेल असाध्यै दुष्ट थिइन् र बाआल देवताको उपासना गर्थिन्। आहाब र ईजेबेलले देशभरि बाआल उपासना फैलाए र यहोवाका थुप्रै भविष्यवक्ताको हत्या गरे। तर एलिया तिनीहरूको हातबाट उम्के। देशमा घोर अनिकाल पर्दा समेत तिनी यहोवामाथि भर परेकोले तिनको ज्यान जोगियो। (१ राजा १७:२-४, १४-१६) बाआल देवताका भविष्यवक्ताहरू र उपासकहरूको अगाडि खडा हुनुपर्दा पनि तिनी यहोवामा भर परे। तिनले इस्राएलीहरूलाई यहोवाको सेवा गर्न आग्रह गरे। (१ राजा १८:२१-२४, ३६-३८) ती तनावपूर्ण परिस्थितिहरूको दौडान यहोवाले साथ दिइरहनुभएको छ भन्ने कुराको थुप्रै प्रमाण एलियाले पाए।
५-६. पहिलो राजा १९:१-४ अनुसार एलियाले कस्तो महसुस गरे? यहोवाले एलियालाई माया गरेको कुरा कसरी देखाउनुभयो?
५ पहिलो राजा १९:१-४ पढ्नुहोस्। तर रानी ईजेबेलले मार्ने धम्की दिँदा भने एलिया डराए। त्यसैले तिनी भागेर बेर्सेबा गए। तिनी यत्ति निराश भए कि “तिनले मर्न पाऊँ भनी परमेश्वरलाई बिन्ती गर्न थाले।” तिनले किन त्यस्तो महसुस गरे? एलिया पनि हामीजस्तै त्रुटिपूर्ण र “हाम्रो जस्तै भावना भएका मानिस” थिए। (याकु. ५:१७) तिनलाई असाध्यै तनाव भएको हुन सक्छ र तिनी शारीरिक रूपमा पनि लखतरान भएका हुन सक्छन्। शुद्ध उपासनालाई अघि बढाउन आफूले गरेको प्रयास बेकार गयो, इस्राएलमा एक छेउ पनि सुधार आएन अनि यहोवाको सेवा गरिरहने आफू मात्र बाँकी छु जस्तो एलियालाई लागेको हुन सक्छ। (१ राजा १८:३, ४, १३; १९:१०, १४) यी वफादार भविष्यवक्ताको प्रतिक्रिया देख्दा हामीलाई अचम्म लाग्न सक्छ। तर यहोवाले भने तिनको भावना बुझ्नुभयो।
६ एलियाले आफ्नो भावना पोखाउँदा यहोवाले तिनलाई गाली गर्नुभएन। बरु तिनलाई फेरि बलियो हुन मदत दिनुभयो। (१ राजा १९:५-७) पछि यहोवाले आफ्नो अपार शक्ति प्रदर्शित गरेर दयालुपूर्वक एलियाको सोचाइ सच्याउनुभयो। त्यसपछि उहाँले इस्राएलमा बाआलको उपासना गर्न इन्कार गर्ने ७ हजार जना मानिस अझै बाँकी छन् भनेर बताउनुभयो। (१ राजा १९:११-१८) यसरी यहोवाले एलियालाई माया गरेको कुरा देखाउनुभयो।
यहोवाले हामीलाई कसरी मदत गर्नुहुनेछ?
७. यहोवाले एलियालाई मदत दिनुभएको तरिकाबारे विचार गर्दा हामी कुन कुरामा ढुक्क हुन सक्छौँ?
७ के तपाईँ पनि तनावपूर्ण अवस्थाको सामना गर्दै हुनुहुन्छ? यहोवाले एलियाको भावना बुझ्नुभयो भन्ने कुरा थाह पाउनु साँच्चै सान्त्वनादायी छ! हामीले भावनात्मक रूपमा कस्तो सङ्घर्ष गर्दै छौँ, त्यो यहोवा बुझ्नुहुन्छ भन्ने कुरामा पनि हामी ढुक्क हुन सक्छौँ। उहाँलाई हाम्रो सीमितता थाह छ; हामीले के सोचिरहेका छौँ अनि कस्तो महसुस गर्दै छौँ, त्यो समेत उहाँलाई थाह छ। (भज. १०३:१४; १३९:३, ४) एलियाजस्तै यहोवामा भर पऱ्यौँ भने उहाँले हामीलाई तनावपूर्ण अवस्थाको सामना गर्न मदत दिनुहुनेछ।—भज. ५५:२२.
८. तनावपूर्ण अवस्थाको सामना गर्न यहोवाले तपाईँलाई कसरी मदत दिनुहुनेछ?
८ तनावमा पर्दा अब आफ्नो परिस्थिति कहिल्यै सुध्रँदैन जस्तो हामीलाई लाग्न सक्छ र हामी असाध्यै निरुत्साहित हुन पुग्छौँ। कुनै बेला तपाईँलाई पनि त्यस्तै लाग्यो भने यहोवाले तनाव सहन मदत दिनुहुन्छ भन्ने कुरा नबिर्सनुहोस्। उहाँले तपाईँलाई कसरी मदत दिनुहुनेछ? उहाँ तपाईँलाई आफ्नो भावना पोखाउन आग्रह गर्नुहुन्छ र तपाईँले उहाँलाई मदतको लागि गुहार्दा उहाँले तपाईँको पुकारा सुन्नुहुनेछ। (भज. ५:३; १ पत्रु. ५:७) त्यसैले आफ्ना समस्याहरूबारे परमेश्वरलाई बारम्बार प्रार्थना गर्नुहोस्। हुनत उहाँ तपाईँसित एलियासित जस्तो सीधै बोल्नुहुन्न। तर उहाँ आफ्नो वचन बाइबल र आफ्नो सङ्गठनमार्फत भने तपाईँसित बोल्नुहुनेछ। बाइबलका विवरणहरूले तपाईँलाई सान्त्वना र आशा दिन्छ। साथै ख्रिष्टियन दाजुभाइ दिदीबहिनीले पनि तपाईँलाई प्रोत्साहन दिन सक्छन्।—रोमी १५:४; हिब्रू १०:२४, २५.
९. भरोसायोग्य साथीले तपाईँलाई कस्तो मदत दिन सक्छ?
९ यहोवाले एलियालाई आफूले पूरा गरिरहेको केही जिम्मेवारी एलिसालाई सुम्पिन भन्नुभयो। यसरी यहोवाले एलियालाई चाहिएकै बेलामा एक जना असल साथी दिनुभयो, जसले तिनलाई भावनात्मक पीडा सहन पक्कै मदत दिए। त्यसैगरि हामीले पनि आफ्नो भरोसायोग्य साथीलाई आफ्नो भावना पोखायौँ भने तिनले हामीलाई भावनात्मक पीडा सहन मदत गर्न सक्छन्। (२ राजा २:२; हितो. १७:१७) यदि तपाईँलाई आफ्नो कुरा सुनिदिने कोही पनि छैन जस्तो लागिरहेको छ भने यहोवालाई प्रार्थना गर्नुहोस् र तपाईँलाई भावनात्मक मदत दिन सक्ने परिपक्व ख्रिष्टियन साथी भेट्टाउन सकूँ भनेर बिन्ती गर्नुहोस्।
१०. एलियाको अनुभवले हामीलाई कसरी आशा दिन्छ? अनि यसैया ४०:२८, २९ मा लेखिएको प्रतिज्ञाले हामीलाई कसरी मदत दिन सक्छ?
१० यहोवाले एलियालाई तनावको सामना गर्न र वर्षौँसम्म वफादार भई उहाँको सेवा गर्न मदत दिनुभयो। एलियाको अनुभवले हामीलाई पनि आशा दिन्छ। हामीले पनि अत्यन्तै तनावपूर्ण अवस्थाहरूको सामना गरिरहेका हुन सक्छौँ, जसले गर्दा हामी शारीरिक र भावनात्मक रूपमा लखतरान हुन्छौँ। तर यहोवामा भर पऱ्यौँ भने उहाँले हामीलाई उहाँको सेवा गरिरहन चाहिने बल दिन सक्नुहुन्छ।—यसैया ४०:२८, २९ पढ्नुहोस्।
हन्ना, दाउद र एक जना भजनरचयिता यहोवामा भर परे
११-१३. परमेश्वरका तीन जना सेवकलाई तनावपूर्ण अवस्थाले कस्तो असर गऱ्यो?
११ अन्य बाइबल पात्रहरूले पनि तनावपूर्ण अवस्थाको सामना गरे। उदाहरणको लागि, हन्ना निस्सन्तान थिइन् र त्यसबेलाको समाजमा बाँझी स्त्रीलाई अक्सर हेला गरिन्थ्यो। त्यसमाथि उनको सौताले उनको दिनरात खिल्ली उडाउँथिन्। (१ समु. १:२, ६) अत्यन्तै तनाव भएकोले गर्दा हन्ना यत्ति लाचार भएकी थिइन् कि उनी केही नखाई रोएर बसिरहन्थिन्।—१ समु. १:७, १०.
१२ राजा दाउद पनि कहिलेकाहीँ तनावपूर्ण अवस्थाले घेरिएका थिए। तिनले के-कस्ता चुनौतीहरूसित सङ्घर्ष गरे, विचार गर्नुहोस्। आफूले थुप्रै गल्ती गरेकोले तिनलाई दोषी भावनाले पिरोल्यो। (भज. ४०:१२) साथै दाउदले माया गरेको छोरा अब्सालोम तिनीविरुद्ध उठे र नतिजास्वरूप अब्सालोमको ज्यान गयो। (२ समु. १५:१३, १४; १८:३३) अनि दाउदको एक जना घनिष्ठ साथीले तिनलाई धोका दिए। (२ समु. १६:२३–१७:२; भज. ५५:१२-१४) दाउदले आफ्ना थुप्रै भजनमा आफूले महसुस गरेको निराशा र यहोवामाथिको अटल भरोसा व्यक्त गरेको पाउँछौँ।—भज. ३८:५-१०; ९४:१७-१९.
१३ पछि एक जना भजनरचयिता दुष्ट मानिसहरूको जीवनशैली देखेर डाही हुन पुगे। तिनी लेवी आसापका सन्तान हुन सक्छन् र तिनी “परमेश्वरको शानदार पवित्र स्थानमा” सेवा गर्थे। ती भजनरचयिताले भावनात्मक पीडा महसुस गरे, जसले गर्दा तिनी दुःखी र असन्तुष्ट भए। परमेश्वरको सेवा गर्दा पाइने आशिष्मा समेत तिनलाई शङ्का लाग्न थाल्यो।—भज. ७३:२-५, ७, १२-१४, १६, १७, २१.
१४-१५. मदतको लागि यहोवामा भर पर्ने सन्दर्भमा तीन जना बाइबल पात्रको उदाहरणबाट हामी के सिक्न सक्छौँ?
१४ भर्खरै उल्लेख गरिएका यी तीन जना साँचो उपासक मदतको लागि यहोवामा भर परे। तिनीहरूले यहोवालाई व्यग्र प्रार्थना गरेर आफ्नो चिन्ता उहाँलाई पोखाए। के कारणले गर्दा आफूलाई अत्यन्तै तनाव भइरहेको छ भनेर तिनीहरूले परमेश्वरलाई खुलस्त बताए। अनि तिनीहरू यहोवाको उपासनास्थलमा जान छोडेनन्।—१ समु. १:९, १०; भज. ५५:२२; ७३:१७; १२२:१.
१५ यहोवाले दयालु हुँदै तिनीहरू प्रत्येकलाई आवश्यक मदत दिनुभयो। हन्नाले फेरि मनोशान्ति पाउन सकिन्। (१ समु. १:१८) दाउदले यस्तो लेखे: “धर्मी मानिसले धेरै दुःखकष्ट झेल्नुपर्छ तर यहोवाले उसलाई ती सबैबाट बचाउनुहुन्छ।” (भज. ३४:१९) अनि सुरुमा डाही भएका ती भजनरचयिताले यहोवाले तिनको “दाहिने हात समात्नुभएको छ” र मायालु सल्लाह दिएर तिनलाई डोऱ्याउँदै हुनुहुन्छ भनेर महसुस गरे। तिनले यस्तो भजन रचे: ‘मेरो लागि भने परमेश्वरको नजिक जानु उत्तम छ। ब्रह्माण्डका मालिक यहोवालाई मैले आफ्नो शरणस्थान बनाएको छु।’ (भज. ७३:२३, २४, २८) यी व्यक्तिहरूको उदाहरणबाट हामी के सिक्न सक्छौँ? कहिलेकाहीँ विभिन्न समस्या झेल्नुपरेकोले हामीलाई पनि अत्यन्तै तनाव हुन सक्छ। तर यहोवाले अरूलाई कसरी मदत गर्नुभएको छ भनेर मनन गऱ्यौँ, प्रार्थना गरेर उहाँमा भर पऱ्यौँ र उहाँले भन्नुभएअनुसारै गऱ्यौँ भने हामी त्यस्तो अवस्थाको सफलतापूर्वक सामना गर्न सक्नेछौँ।—भज. १४३:१, ४-८.
यहोवामा भर पर्नुहोस् र सफल हुनुहोस्
१६-१७. (क) हामीले किन आफूलाई अलग्याउनु हुँदैन? (ख) हामी कसरी फेरि बलियो हुन सक्छौँ?
१६ ती तीन जनाको उदाहरणबाट हामी अर्को महत्त्वपूर्ण पाठ सिक्न सक्छौँ: हामीले आफूलाई यहोवा र उहाँका जनहरूबाट अलग्याउनु हुँदैन। (हितो. १८:१) न्यान्सी बहिनीलाई तिनको पतिले छोडेर गएकोले तिनले निकै तनावको सामना गर्नुपऱ्यो। तिनी भन्छिन्: “कति दिन त मलाई कसैसित भेट्न वा कुरा गर्न पनि मन लागेन। तर जति एक्लै बस्यो, उति नै निराश हुन्थेँ।” तर जब तिनले गाह्रो परिस्थितिको सामना गरिरहेका अरूलाई मदत गर्ने प्रयास गर्न थालिन्, तब तिनी पहिलाजस्तो दुःखी हुन छोडिन्। तिनी भन्छिन्: “अरूले आफ्नो सङ्घर्षबारे बताउँदा मैले ध्यान दिएर सुनेँ। अरूको भावना बुझ्न जति धेरै प्रयास गरेँ, निराशामा नडुब्न त्यति नै मदत पाएको मैले महसुस गरेँ।”
१७ मण्डलीका सभाहरूमा उपस्थित भएर हामी फेरि बलियो हुन सक्छौँ। सभामा उपस्थित हुँदा हामीले यहोवालाई हाम्रो “मदतगार र सान्त्वनादाता” बन्ने थप कारण दिइरहेका हुन्छौँ। (भज. ८६:१७) सभामा यहोवा आफ्नो पवित्र शक्ति, आफ्नो वचन र आफ्ना मानिसहरूलाई चलाएर हामीलाई बलियो पार्नुहुन्छ। सभामा हामी “एकअर्कालाई प्रोत्साहन” दिने मौका पाउँछौँ। (रोमी १:११, १२) सोफिया नाम गरेकी बहिनीले यसो भनिन्: “यहोवा र हाम्रा भाइबहिनीको मदतले गर्दा मैले हरेस खाएकी छैनँ। सभाहरू मेरो लागि सबैभन्दा महत्त्वपूर्ण साबित भयो। प्रचारकार्य अनि मण्डलीको गतिविधिमा जति धेरै भाग लियो, आफ्नो तनाव अनि फिक्रीसित जुझ्ने बल पनि त्यति नै धेरै पाइने रहेछ भनेर मैले महसुस गरेँ।”
१८. हामी निराश हुँदा यहोवाले के गर्नुहुन्छ?
१८ निराश हुँदा हामी यो कुरा कहिल्यै नबिर्सौँ: यहोवाले भविष्यमा सदाको लागि निराशा हटाउने प्रतिज्ञा मात्र गर्नुभएको छैन बरु अहिले निराशाको सामना गर्न पनि उहाँ हामीलाई मदत गर्न चाहनुहुन्छ। उहाँले हामीमा निराशाको सामना गर्ने “इच्छा पैदा गर्नुहुन्छ” र त्यो सामना गर्ने “शक्ति पनि दिनुहुन्छ।”—फिलि. २:१३.
१९. रोमी ८:३७-३९ ले हामीलाई कस्तो आश्वासन दिन्छ?
१९ रोमी ८:३७-३९ पढ्नुहोस्। परमेश्वरको प्रेमबाट हामीलाई कुनै पनि कुराले अलग पार्न सक्दैन भनेर प्रेषित पावल हामीलाई आश्वासन दिन्छन्। तनावको सामना गर्न सङ्घर्ष गरिरहेका भाइबहिनीलाई हामी कसरी मदत गर्न सक्छौँ? हाम्रा भाइबहिनीले तनावको सामना गर्नुपर्दा हामी कसरी यहोवाको अनुकरण गर्दै तिनीहरूलाई दया देखाउन र साथ दिन सक्छौँ भनेर अर्को लेखमा विचार गर्नेछौँ।
गीत ४४ दुःखी मानिसको प्रार्थना
a धेरै तनाव हुँदा वा लामो समयसम्म तनावपूर्ण अवस्थाको सामना गर्नुपर्दा हामीलाई शारीरिक र भावनात्मक रूपमा नकारात्मक असर पर्न सक्छ। त्यस्तो अवस्थामा यहोवा हामीलाई कसरी मदत गर्नुहुन्छ? यस लेखमा तनावको सामना गर्न यहोवाले एलियालाई कसरी मदत दिनुभयो भनेर बुझ्नेछौँ। यस लेखमा छलफल गरिने अन्य बाइबल उदाहरणहरूले तनावको सामना गर्नुपर्दा कसरी यहोवामा भर पर्न सक्छौँ भनेर बुझ्न मदत दिनेछ।
b यस लेखमा नामहरू परिवर्तन गरिएका छन्।
c चित्रको व्याख्या: यहोवाका स्वर्गदूतले एलियालाई निद्राबाट बिस्तारै जगाउँछन् अनि रोटी र पानी दिन्छन्।
d चित्रको व्याख्या: एक भजनरचयिता, जो आसापका सन्तान हुन सक्छन्, तिनी भजनहरू रच्दै छन् अनि आफ्ना लेवी दौँतरीहरूसित रमाई-रमाई गाउँदै छन्।