तिनीहरूको विश्वास अनुकरण गर्नुहोस्
तिनले परमेश्वरबाट सान्त्वना पाए
कालो बादल मडारिरहेको अनि मुसलधारे पानी परिरहेको बेला एलिया दौडिरहेका थिए। तिनको उमेर ढल्किसकेको थियो र यिज्रेलसम्म पुग्न लामो बाटो पार गर्नुपर्ने थियो। तैपनि तिनी नथाकीकन दगुरिरहे किनभने तिनीमाथि “परमप्रभुको हात” थियो। तिनले अहिलेजस्तो तागतिलो पहिला कहिल्यै महसुस गरेका थिएनन्। हुन पनि, तिनी राजा आहाब चढेको रथ तान्ने घोडाहरूलाई समेत उछिनेर अघि पुगिसकेका थिए।—१ राजा १८:४६.
राजा आहाब एलियाभन्दा निकै पछि परिसकेका थिए तैपनि अझै लामो यात्रा बाँकी नै थियो। कल्पना गर्नुहोस् त, आफ्नो जीवनको अत्यन्तै महत्त्वपूर्ण दिनबारे सोच्दै एलिया ठूलो पानीमा आँखा झिमझिम गरेर दौडँदैछन्। निस्सन्देह, यो एलियाको परमेश्वर यहोवा र साँचो उपासनाको लागि महान् विजय थियो। आँधीले गर्दा आकाश अँध्यारो भएकोले कर्मेल डाँडा ओझेलमा परिसकेको थियो। त्यही डाँडामा यहोवाले बाल उपासनाविरुद्ध शक्तिशाली र चमत्कारपूर्ण प्रहार गरेर त्यसलाई खतम पार्न एलियालाई प्रयोग गर्नुभएको थियो। बालका सयौं भविष्यवक्ताहरू दुष्ट ठगहरूको रूपमा पर्दाफास भए र त्यसको सजायस्वरूप तिनीहरूलाई मार्नु जायज थियो। तब त्यहाँ साढे तीन वर्षसम्म चलेको खडेरी अन्त गर्न एलियाले यहोवालाई प्रार्थना गरे। अनि बल्ल पानी पऱ्यो!a—१ राजा १८:१८-४५.
ठूलो पानीमा छप्ल्याङछुप्लुङ गर्दै ३० किलोमिटर यात्रा गरेर यिज्रेल पुग्दा एलियालाई बल्ल केही राम्रो कुरा हुने भयो जस्तो लागेको थियो होला। आहाब आफ्नो जीवन परिवर्तन गर्न उत्प्रेरित हुनेछन् भनी तिनले ठानेका थिए होलान्। त्यत्रो घटना देखिसकेपछि आहाबले बाल उपासना त्याग्नु, आफ्नी रानी ईजेबेललाई रोक्नु अनि यहोवाका सेवकहरूको खेदो गर्न छोड्नु सिवाय अर्को विकल्प थिएन।
कामकुरा आफूले सोचेजस्तो हुँदा सबै कुरा राम्रै हुनेछ भनी सोच्नु स्वाभाविक हो। हाम्रो अवस्था राम्रो हुँदै जानेछ, सायद हामीलाई असाध्यै पिरोलेका समस्याहरू अब हट्नेछन् जस्तो लाग्छ होला। एलियाले पनि त्यस्तो सोचेका भए त्यसमा हामी छक्क मान्नु पर्दैन किनभने तिनी “हामीजस्तै मानिस नै थिए।” (याकूब ५:१७) तर वास्तवमा भन्ने हो भने एलियाका समस्याहरू सिद्धिएको थिएन। केही घण्टापछि नै एलिया अत्यन्तै भयभीत र निराश हुनेथिए। यहाँसम्म कि, तिनलाई मर्न पाए पनि हुन्थ्यो जस्तो लाग्नेथियो। किन? यहोवाले आफ्नो भविष्यवक्ताको विश्वास र साहसलाई ताजा बनाउन कसरी मदत गर्नुभयो? आउनुहोस्, हामी हेरौं।
समयले कोल्टो फेर्छ
आहाब यिज्रेल पुग्दा के तिनी परिवर्तन भएको अनि परमेश्वरप्रति तिनको लगाब बढेको कुनै प्रमाण देखियो? यस्तो लेखिएको छ: “एलियाले गरेका सबै काम र तिनले सबै अगमवक्ताहरूलाई तरवारले मारेको कुरो आहाबले ईजेबेललाई सुनाइदिए।” (१ राजा १९:१) याद गर्नुहोस्, त्यस दिनको घटनाबारे बताउँदा आहाबले एलियाको परमेश्वर यहोवाबारे उल्लेख गरेनन्। मानव दृष्टिकोण राख्ने आहाबले ती चमत्कारपूर्ण घटनालाई केवल एक जना मानिसको काम सम्झे। तिनले “एलियाले गरेका सबै काम” भने। स्पष्ट छ, तिनले यहोवा परमेश्वरको आदर गर्न सिकेका थिएनन्। बदलाको भाव राख्ने ईजेबेलले कस्तो प्रतिक्रिया देखाइन्?
उनी रिसले चूर भइन्! रिसले आगो भएकी ईजेबेलले एलियालाई यस्तो सन्देश पठाइन्: “जसरी तैंले तिनीहरूको प्राण लिइस् त्यसरीनै भोलि यही बेलासम्म तेरो प्राण पनि मैले लिइनँ भने देवताहरूले मलाई त्यसै गरून्, अँ, त्यसभन्दा पनि बढी गरून्।” (१ राजा १९:२) यो ज्यान मार्ने खतरनाक धम्की थियो। भनौं भने, बालका भविष्यवक्ताहरू मार्ने एलियालाई भोलिसम्ममा मार्न सकिनन् भने बरु आफै मर्नेछु भनी ईजेबेलले कसम खाएकी थिइन्। ठूलो आँधी चलेको त्यस रात बास बसेको बेला ईजेबेलको उक्त सन्देशले झसङ्ग ब्यूँझनुपर्दा एलियालाई कस्तो भयो होला, कल्पना गर्नुहोस् त!
निराशा र डरले छोप्दा
एलिया बाल उपासनाविरुद्धको युद्ध सिद्धियो भन्ठानेर दङ्ग परेका भए तिनको आशा चकनाचूर हुनेवाला थियो। ईजेबेल परिवर्तन भएकी थिइनन्। एलियाका विश्वासी साथीहरूमध्ये थुप्रैको ईजेबेलको आदेशबमोजिम हत्या भइसकेको थियो र अब भने एलियाको पालो जस्तो देखिन्थ्यो। बाइबल यसो भन्छ: “एलिया डराए।” ईजेबेलले आफूलाई कस्तो क्रूर तरिकामा मार्ने होला भनेर एलियाले कल्पना गरेका थिए कि? तिनी त्यस्तो सोचाइमा डुबिरहेका भए साहस त पक्कै आउने थिएन। जे होस्, एलिया “आफ्नो प्राण बचाउनलाई भागे।”—१ राजा १८:४; १९:३.
मानिसको डरले छोपेका विश्वासी पुरुष एलिया मात्र थिएनन्। धेरै पछि प्रेषित पत्रुसले पनि यस्तै अवस्था सामना गरेका थिए। उदाहरणको लागि येशूले पत्रुसलाई आफू सँगै पानीमा हिंड्ने आज्ञा दिंदा तिनी “आँधी चलिरहेको देखेर” डराए। त्यसपछि तिनको साहस गुम्यो र तिनी डुब्न थाले। (मत्ती १४:३०) पत्रुस र एलियाको उदाहरणबाट हामी महत्त्वपूर्ण पाठ सिक्न सक्छौं। यदि साहसी भइरहन चाहन्छौं भने हामीलाई डर लाग्ने कुराहरूबारे सोचिरहनु हुँदैन। हामीले आशा र बलको स्रोतमा ध्यान केन्द्रित गर्नुपर्छ।
“बस भयो!”
डरले थुरथुर भएका एलिया दक्षिणपश्चिमतिर भाग्दै १५० किलोमिटर पर यहूदाको दक्षिणी सीमा बेर्शेबा पुगे। तब तिनले आफ्नो चाकरलाई त्यहीं छोडेर आफूचाहिं उजाडस्थानभित्र पसे। विवरणले बताएअनुसार तिनी “एक दिनको बाटो” हिंडे। आफूसित केही खानेकुरा नबोकी तिनी बिहान सबेरै हिंड्न थालेको दृश्य हामी कल्पना गर्न सक्छौं। निराश भएका अनि डराएका एलिया टन्टलापुर घाममा उजाडस्थानमा हिंडिरहे। साँझको रातो घाम डुब्न लाग्दा तिनी लखतरान भइसकेका थिए। थकाइले चूर भएको हुँदा तिनी अम्लिसोको झाडीमुनि बसे। यस उजाडस्थानमा ओत लाग्न यसबाहेक अरू कुनै ठाउँ पनि त थिएन।—१ राजा १९:४.
सबै आस गुमाएका एलियाले प्रार्थना गरे। तिनले बरु मर्न पाए बेस हुन्थ्यो भनी बिन्ती गरे। तिनले भने: “म मेरा अघि-अघिका पिता-पुर्खाहरूभन्दा असल छैनँ!” तिनका पिता-पुर्खाहरू अहिले मरिसकेका हुँदा तिनीहरूको हड्डी मात्र चिहानमा बाँकी छ अनि तिनीहरूले कसैलाई केही असल गर्न सक्दैनन् भनी एलियालाई थाह थियो। (उपदेशक ९:१०) एलियाले पनि आफूलाई केही असल गर्न नसक्ने बेकारको ठाने। त्यसैले तिनी यसरी कराए: “बस भयो!” यस्तो अवस्थामा पनि के बाँचिरहनु?
परमेश्वरप्रति भक्त मानिसले यत्तिको हरेस खाएको थाह पाउँदा के हामी जिल्ल पर्छौं? अहँ पर्दैनौं। बाइबलमा उल्लिखित केही विश्वासी पुरुष तथा स्त्रीले असाध्यै दुःखी भएर बरु मर्न पाए बेस हुन्थ्यो भन्ने भावना व्यक्त गरे; जस्तै: रिबेका, याकूब, मोशा र अय्यूब।—उत्पत्ति २५:२२; ३७:३५; गन्ती ११:१३-१५; अय्यूब १४:१३.
आज हामी बाँचिरहेको समय “असाध्यै कठिन” छ। (२ तिमोथी ३:१) त्यसैले थुप्रै मानिस र त्यसमध्ये परमेश्वरका विश्वासी सेवकहरूले समेत कहिलेकाहीं निराश महसुस गर्दा छक्क मान्नु पर्दैन। तपाईं कथम्कदाचित् यस्तो कठिन अवस्थामा पर्नुभयो भने एलियाको यो उदाहरण पछ्याउनुहोस्: मनको बह परमेश्वरलाई पोख्नुहोस् किनभने यहोवा नै “सबै सान्त्वनाका परमेश्वर” हुनुहुन्छ। (२ कोरिन्थी १:३) के उहाँले एलियालाई सान्त्वना दिनुभयो?
यहोवाले आफ्नो भविष्यवक्तालाई सँभाल्नुभयो
यहोवाले स्वर्गबाट तल हेर्दा आफ्नो प्यारो भविष्यवक्ता उजाडस्थानमा अम्लिसोको झाडीमुनि बसेर आफ्नो मृत्युको भीख मागिरहेको देख्दा उहाँले कस्तो महसुस गर्नुभयो होला? जवाफ स्पष्ट छ। एलिया निदाएपछि यहोवाले तिनीकहाँ एक जना स्वर्गदूत पठाउनुभयो। स्वर्गदूतले तिनलाई बिस्तारै घचघच्याउँदै भने: “उठेर खाऊ।” एलियाले त्यसै गरे किनभने स्वर्गदूतले तिनको लागि तात्तातो फुलौरा र पानी तयार गरिदिएका थिए। के एलियाले स्वर्गदूतलाई धन्यवाद दिए त? विवरणअनुसार खाई-पिई गरेपछि एलिया फेरि सुते। के तिनी बोल्नै नसक्ने गरी निराश भएका थिए? जे होस्, स्वर्गदूतले तिनलाई सायद बिहान उज्यालो हुनै लाग्दा फेरि दोस्रो खेप ब्यूँझाए। यस पटक पनि स्वर्गदूतले एलियालाई “उठेर खाऊ” भने। साथै माया देखाउँदै यसो पनि भने: “यात्रा तिम्रो निम्ति साह्रै लामो छ।”—१ राजा १९:५-७.
धन्न, परमेश्वरले दिनुभएको अन्तरदृष्टिले गर्दा एलिया कहाँ जाँदैछन् भनेर स्वर्गदूतलाई थाह थियो। एलियाले आफ्नै तागतको भरमा त्यति लामो यात्रा गर्न सक्नेछैनन् भनेर पनि स्वर्गदूतलाई थाह थियो। हामी आफैले भन्दा राम्ररी हाम्रो मनसाय र सीमितता बुझ्नुहुने परमेश्वरको सेवा गर्न पाउनु कस्तो सान्त्वनादायी! (भजन १०३:१३, १४) त्यो भोजन खाएपछि एलियालाई के भयो?
यस्तो लेखिएको छ: “तिनी उठेर खाइ-पिई गरे। औ यही भोजनको बलले तिनी चालीस दिन र चालीस रात परमेश्वरको पर्वत होरेबसम्म हिंडेर गए।” (१ राजा १९:८) आफूभन्दा लगभग छ शताब्दीअघिका मोशा र झन्डै दस शताब्दीपछिका येशूजस्तै एलिया पनि चालीस दिन र चालीस रात उपवास बसे। (प्रस्थान ३४:२८; लूका ४:१, २) त्यो भोजन खानेबित्तिकै तिनको सबै समस्या हराएर गएन तर त्यसले तिनलाई चमत्कारपूर्ण ढङ्गमा सँभाल्यो। कल्पना गर्नुहोस्, ती बूढो मानिस त्यस उजाडस्थानमा दिनैपिच्छे, हप्तैपिच्छे गरी झन्डै साढे एक महिनासम्म भौंतारिरहे!
यहोवाले आज पनि आफ्ना सेवकहरूलाई सँभाल्नुहुन्छ। चमत्कारपूर्ण ढङ्गमा भोजनको प्रबन्ध गरेर त होइन तर त्योभन्दा महत्त्वपूर्ण तरिकामा। परमेश्वरले आफ्ना सेवकहरूको लागि आफ्नो वचनबाट भोजन प्रदान गर्नुहुन्छ। (मत्ती ४:४) परमेश्वरको वचन र बाइबलमा पूर्णतया आधारित प्रकाशनहरूबाट परमेश्वरबारे सिक्दा उहाँसितको हाम्रो सम्बन्ध बलियो भइरहन्छ। परमेश्वरको वचनबाट त्यस्तो पोषण लिंदैमा हाम्रा समस्याहरू रातारात हराउँदैनन् तर अन्यथा सहनै नसक्ने अवस्थाहरू सहन भने मदत पाउन सक्छौं। यसले हामीलाई “अनन्त जीवन”-तर्फ पनि डोऱ्याउँछ।—यूहन्ना १७:३.
झन्डै ३२० किलोमिटर हिंडेपछि एलिया बल्ल होरेब पर्वतमा पुगे। त्यहाँ धेरै अघि यहोवा परमेश्वर स्वर्गदूतमार्फत बलिरहेको पोथ्रामा मोशासामु देखा पर्नुभएको थियो। अनि उहाँले त्यहीं इस्राएलसित व्यवस्थाको करार बाँध्नुभएको थियो। एलियाले यही पर्वतको ओडारमा रात बिताए।
यहोवाले आफ्नो भविष्यवक्तालाई सान्त्वना र बल दिनुभयो
होरेबमा यहोवाको “वचन” स्वर्गदूतले ल्याए अनि तिनलाई यो सरल प्रश्न सोधे: “हे एलिया, तँ किन यहाँ छस्?” यो प्रश्न मायालु ढङ्गमा सोधिएको हुनुपर्छ किनभने एलियाले यसलाई आफ्नो भावना पोखाउने आग्रहको रूपमा लिए। अनि तिनले मनको बह साँच्चै पोखे पनि! तिनले भने: “परमप्रभु सेनाहरूका परमेश्वरको निम्ति मेरो ठूलो जोशले गर्दा हो। इस्राएलका मानिसहरूले तपाईंका करार त्यागे। तपाईंका वेदीहरू भत्काइदिए र तपाईंका अगमवक्ताहरूलाई तरवारले मारे। केवल म मात्रै बाँकी रहेको छु, र तिनीहरू मेरो प्राण लिन चाहन्छन्।” (१ राजा १९:९, १०) एलियाले हरेस खानुका तीन वटा कारण तिनका शब्दहरूले प्रकट गर्छ।
पहिलो, एलियाले आफ्नो काम बेकार गएको ठाने। तिनले वर्षौंदेखि “ठूलो जोशले” यहोवाको सेवा गरेका थिए, परमेश्वरको पवित्र नाम र उपासनालाई अरू सबै कुराभन्दा उच्च स्थानमा राखेका थिए। तैपनि अवस्था झन्-झन् खस्कँदै गएको एलियाले देखे। मानिसहरू अझै पनि अविश्वासी र विद्रोही थिए अनि झूटो उपासनाको बिगबिगी थियो। दोस्रो, एलियाले एक्लो महसुस गरे। यहोवाको सेवा गर्ने व्यक्ति इस्राएलमा आफू एक जना मात्र बाँकी रहेजस्तै गरी तिनले भने, “केवल म मात्रै बाँकी रहेको छु।” तेस्रो, एलिया डराए। तिनका सङ्गी भविष्यवक्ताहरू थुप्रै मारिएका थिए अनि अब चाहिं आफ्नै पालो हो भन्ने कुरामा तिनलाई कुनै शङ्का थिएन। एलियाको मनमा लागेका यी भावनाहरू व्यक्त गर्न सजिलो त भएन होला तर ती व्यक्त गर्नदेखि तिनलाई घमन्ड वा लाजले रोकेन। परमेश्वरलाई प्रार्थनामा आफ्ना भावनाहरू पोखेर तिनले सबै विश्वासी मानिसको लागि राम्रो उदाहरण छोडेका छन्।—भजन ६२:८.
यहोवाले एलियाको डर र चिन्ता हटाउन के गर्नुभयो? स्वर्गदूतले एलियालाई ओडारको मुखमा उभिन भने। स्वर्गदूतले भनेअनुसारै तिनले गरे तर के हुनेवाला छ भनेर तिनलाई थाह थिएन। ठूलो बतास चल्यो! यो चर्को गर्जनजस्तो सुनिएको हुनुपर्छ किनभने यो प्रचण्ड बतासले पहाडहरू फुटायो र चटानहरू चिऱ्यो। तेज बतास चल्दा एलियाले आँखा जोगाउन खोजेको अनि रौंले बनेको आफ्नो लुगा हावाले उडाउला भनेर च्याप्प च्यापेको दृश्य कल्पना गर्नुहोस्। तिनलाई नधरमराई दह्रोसित उभिन गाह्रो भयो किनभने भुइँचालो आयो र जमिन हल्लिन थाल्यो! जसोतसो उभिरहेको बेला आगो दन्किन थाल्यो। यो आगोको रापबाट जोगिन तिनी फेरि ओडारभित्र पसे।—१ राजा १९:११, १२.
प्रत्येक अवस्थामा प्राकृतिक शक्ति वैभवशाली ढङ्गमा प्रकट हुँदा यहोवा त्यसमा हुनुहुन्नथ्यो भनी विवरण बताउँछ। एलियालाई यहोवा बालजस्तो कुनै काल्पनिक प्रकृति देव होइन भनेर थाह थियो। बालका उपासकहरू आफ्नो देवतालाई “बादलमा चढ्ने,” अर्थात् पानी पार्ने देवको रूपमा झूटो विश्वास गर्थे। प्रकृतिमा पाइने भयानक शक्तिको साँचो स्रोत यहोवा हुनुहुन्छ तर आफूले बनाएको कुनै पनि कुराभन्दा उहाँ कता हो कता महान् हुनुहुन्छ। स्वर्गमा समेत उहाँ अटाउनुहुन्न! (१ राजा ८:२७) तर यी कुराहरूले एलियालाई कसरी मदत गऱ्यो? तिनी डराउनुको कारण सम्झनुहोस् त। यहोवाजस्तो परमेश्वर आफ्नो साथमा हुनुहुन्छ अनि उहाँ विस्मयकारी शक्तिको स्रोत हुनुहुन्छ भनी थाह भएपछि एलिया आहाब र ईजेबेलसित डराउनुपर्ने कुनै कारण थिएन।—भजन ११८:६.
आगो गएपछि सन्नाटा छायो अनि एलियाले “एक सानो मधुर आवाज” सुने। त्यो आवाजले एलियालाई तिनको भावना फेरि व्यक्त गर्न भन्यो। तिनले दोस्रो पटक पनि आफ्नो मनको बह पोखे।b सायद त्यसले गर्दा तिनले अझ हलुका महसुस गरे होलान्। तर त्यो “सानो मधुर आवाज”-ले त्यसपछि भनेको कुराद्वारा एलियाले अझ बढी सान्त्वना पाए भन्ने कुरामा कुनै शङ्का छैन। यहोवाले एलियालाई तिनी बेकारको मान्छे होइनन् भन्ने आश्वासन दिनुभयो। कसरी? इस्राएलमा बाल उपासनाविरुद्धको लडाइँसम्बन्धी आफ्नो भावी उद्देश्यबारे परमेश्वरले धेरै कुरा बताउनुभयो। स्पष्ट छ, एलियाको काम बेकार गएको थिएन किनभने परमेश्वरको उद्देश्य जोडतोडले अघि बढिरहेको थियो। साथै, त्यस उद्देश्यमा एलियाको भूमिका थियो किनभने यहोवाले तिनलाई केही खास निर्देशन दिएर थप जिम्मेवारी पूरा गर्न अह्राउनुभयो।—१ राजा १९:१२-१७.
तर एलियाले एक्लो महसुस गरेको विषयमा के भन्न सकिन्छ? यहोवाले दुइटा कुरा गर्नुभयो। पहिलो, उहाँले एलियालाई पछि गएर तिनको उत्तराधिकारीको रूपमा काम गर्ने भविष्यवक्ताको रूपमा एलीशालाई अभिषेक गर्नू भन्नुभयो। यी जवान मानिस वर्षौंसम्म एलियाको साथी र सहयोगी हुनेथिए। यो कस्तो व्यावहारिक सान्त्वना थियो! दोस्रो, यहोवाले यो रोमाञ्चकारी सन्देश प्रकट गर्नुभयो: “बालको सामने आफ्नो घुँडा नटेक्ने, जसका ओठले त्यसलाई चुम्बन गरेको छैनौ, तिनीहरूका सात हजार जनालाई म इस्राएलमा बचाइराख्नेछु।” (१ राजा १९:१८) एलिया पटक्कै एक्लो थिएनन्। बालको उपासना गर्न इन्कार गर्ने हजारौं विश्वासी मानिसबारे सुन्दा तिनको मन पक्कै गद्गद भएको हुनुपर्छ। प्रायजसो मानिस यहोवाको विरुद्ध खडा भइरहेको समयमा उहाँप्रति वफादार भई उहाँको सेवा गरिरहन तिनीहरूलाई एलियाको मदत चाहिन्थ्यो, तिनको राम्रो उदाहरण चाहिन्थ्यो। यहोवाको दूतद्वारा परमेश्वरको यस्तो “सानो मधुर आवाज” सुन्न पाउँदा एलियाको मन छोएको हुनुपर्छ।
एलियाजस्तै हामी पनि सृष्टिमा देखिने विशाल प्राकृतिक शक्तिले गर्दा अवाक् हुन सक्छौं र वास्तवमा, त्यस्तो हुनु उचित हो। सृष्टिमा सृष्टिकर्ताको शक्ति छर्लङ्गै देखिन्छ। (रोमी १:२०) आफ्ना विश्वासी सेवकहरूलाई मदत गर्न यहोवा अहिले पनि आफ्नो असीमित शक्ति देखाउन रुचाउनुहुन्छ। (२ इतिहास १६:९) तर परमेश्वर हामीसित अझ विस्तृत तवरमा उहाँको वचन बाइबलमार्फत बोल्नुहुन्छ। (यशैया ३०:२१) यस अर्थमा बाइबललाई “सानो मधुर आवाज” भन्न सकिन्छ। यसैमार्फत यहोवा आज हामीलाई डोऱ्याउनुहुन्छ, सच्याउनुहुन्छ, प्रोत्साहन दिनुहुन्छ अनि आफ्नो प्रेमको आश्वासन दिनुहुन्छ।
के यहोवाले होरेब पर्वतमा दिनुभएको सान्त्वना एलियाले स्वीकारे? अवश्य स्वीकारे! तिनी तुरुन्तै काममा लागे, फेरि साहसी भए अनि झूटो उपासनाको दुष्टताविरुद्ध खडा हुने विश्वासी भविष्यवक्ता साबित भए। त्यसरी नै हामीले पनि परमेश्वरको प्रेरित वचन, “धर्मशास्त्रबाट पाइने सान्त्वना”-लाई मनमा लियौं भने एलियाको विश्वास अनुकरण गर्न सक्नेछौं।—रोमी १५:४. (w11-E 07/01)
[फुटनोटहरू]
a प्रहरीधरहरा (अङ्ग्रेजी) २००८ को जनवरी १ र अप्रिल १ अङ्कमा छापिएका “तिनीहरूको विश्वास अनुकरण गर्नुहोस्” शृङ्खलाअन्तर्गत “तिनी शुद्ध उपासनाको पक्षमा खडा भए” र “तिनले हेरे अनि पर्खे” भन्ने लेखहरू हेर्नुहोस्।
b “सानो मधुर आवाज”-को स्रोत र १ राजा १९:९ मा उल्लिखित यहोवाको “वचन” सुनाउने दूत दुवै एउटै हुनुपर्छ। उजाडस्थानमा इस्राएललाई डोऱ्याउन यहोवाले चलाउनुभएको दूतबारे हामीलाई सम्झना छ होला, जसबारे परमेश्वरले भन्नुभयो: “तिनैमा मेरो नाउँ छ।” (प्रस्थान २३:२१) हामी पूरै यकिनका साथ त भन्न सक्दैनौं तर येशू स्वर्गमा छँदा यहोवाका सेवकहरूको लागि विशेष प्रवक्ता भएर “वचन”-को रूपमा उहाँले पूरा गर्नुभएको भूमिका उल्लेखनीय छ।—यूहन्ना १:१.
[पृष्ठ १५-मा भएको चित्र]
यहोवाले एलियालाई सजिलो-गाह्रो जस्तोसुकै अवस्थामा प्रशस्त आशिष् दिइरहनुभयो
[पृष्ठ १६-मा भएको चित्र]
असाध्यै कठिन अवस्थामा पर्दा एलियाले यहोवालाई आफ्नो मनको बह पोखे
[पृष्ठ १७-मा भएको चित्र]
एलियालाई सान्त्वना र प्रोत्साहन दिन यहोवाले आफ्नो विस्मयकारी शक्ति चलाउनुभयो