“सिरियाली उजाडस्थानकी कालो केश भएकी मालिकनी”
उनी गहुँ गोरी थिइन्। मोतीझैं चम्कने दाँत र आँखा टलटल टल्कने अनि काला थिए। उनी शिक्षित र अनेकौं भाषाहरूमा निपुण थिइन्। यी योद्धा रानी क्लीयोपात्राभन्दा बुद्धिमती र सायद तिनी जत्तिकै सुन्दरी थिइन्। आफ्नो समयको शक्तिशाली विश्वशक्तिको सामना गर्न साहस गरेकी हुँदा उनले धर्मशास्त्रीय नाटकमा भविष्यसूचक भूमिका निर्वाह गरिन्। उनको मृत्यु भएको धेरै समयपछि पनि लेखकहरूले उनको प्रशंसा गरे र चित्रकारहरूले उनलाई अझ सुन्दरी बनाए। एक १९ औं शताब्दीका कविले उनलाई “सिरियाली उजाडस्थानकी कालो केश भएकी मालिकनी” नाउँ दिए। यस्तो उच्च सम्मान पाएकी महिला जेनोबी अर्थात् पाल्मीराको सिरियाली शहरकी रानी थिइन्।
जेनोबीले यस्तो प्रतिष्ठा कसरी पाइन्? कस्तो प्रकारको राजनैतिक वातावरणले गर्दा उनी यति धेरै शक्तिशाली भइन्? उनको चरित्र कस्तो थियो? यस रानीले कुन भविष्यसूचक भूमिका निर्वाह गरिन्? सर्वप्रथम यो धारणाको भौगोलिक पृष्ठभूमिलाई विचार गरौं।
मरुभूमिको छेउमा रहेको शहर
जेनोबीको शहर, पाल्मीरा, सिरियाली मरुभूमिको उत्तरी किनारा दमास्कसभन्दा २१० किलोमिटर उत्तरपूर्वमा अवस्थित छ र यहींबाट एन्टि-लेबनान पहाडहरूको भीर सुरु हुन्छ। यस मरुद्यान शहर भूमध्यसागरको पश्चिम र यूफ्रेटिस नदीको पूर्वतिर बीच भागमा अवस्थित छ। राजा सुलेमानले यसलाई तद्मोर नाउँले चिनेको हुनुपर्छ र यो ठाउँ राज्यको हितको दृष्टिकोणमा दुइटा कारणका लागि महत्त्वपूर्ण थियो: उत्तरी सीमानाको सुरक्षाको लागि फौज तैनाथ गर्न र लहरै अवस्थित शहरहरूको महत्त्वपूर्ण पुलसरह काम गर्न। त्यसकारण, सुलेमानले “उजाड़स्थानको तद्मोर . . . पुनर्निर्माण गरे।”—२ इतिहास ८:४.
राजा सुलेमानको शासनकालको एक हजार वर्षपछिको इतिहासले तद्मोरबारे केही बताउँदैन। यो साँच्चै पाल्मीरासितै गाँसिएको शहर हो भने सा.यु.पू. ६४ मा सिरिया, रोमी साम्राज्यको बाहिरी चौकीको रूपमा खडा भएपछि यसको नाउँ चल्न थाल्यो। “रोमको लागि पाल्मीरा महत्त्वपूर्ण हुनुका दुई पक्षहरू छन्, आर्थिक तथा सैनिक” भनी रिचर्ड स्टोनम्यानले पाल्मीरा र यसको साम्राज्य—रोमविरुद्ध जेनोबीको विद्रोह (अंग्रेजी) नामक पुस्तकमा बताए। यी खजुरका बोटहरू भएको शहर रोमदेखि मेसोपोटामिया र पूर्वलाई जोड्ने प्रमुख व्यापारिक मालतालहरूजस्तै पूर्वी भारतीय भेगको मसला, चीनको रेशम तथा फारस, तल्लो मेसोपोटामिया र भूमध्यसागर वरपरका अन्य मालहरू लगिन्थ्यो। यस्ता मालतालहरूको आयातमा रोमको व्यापार निर्भर थियो।
सैन्य दृष्टिकोणले भन्ने हो भने रोम र फारसको विरोधी शक्तिहरू बीचको मध्यवर्ती प्रान्त सिरिया थियो। सामान्य युगको सुरुको २५० वर्षमा यूफ्रेटिस नदीले रोमलाई यसका पूर्वी छिमेकीहरूबाट छुट्याएको थियो। पाल्मीरा मरुभूमि पारी, यूफ्रेटिसको डुरा-युरोपोस शहरको पश्चिम किनारामा थियो। यसको अति महत्त्वपूर्ण स्थानलाई ध्यानमा राख्दै हेड्रियन र भ्यालेरियनजस्ता रोमी सम्राटहरूले पाल्मीराको भ्रमण गरेका थिए। हेड्रियनले यसको वास्तुकला पक्षलाई अझ शोभायमान बनाउन थुप्रै चन्दा दिए। भ्यालेरियनले पाल्मीरानिवासी आदिनाथस अर्थात् जेनोबीका पतिलाई सा.यु. २५८ मा रोमको अधिकृत पदमा पदोन्नति गरे किनभने तिनले फारसमाथि विजय हासिल गरेर रोमी साम्राज्यको सिमाना मेसोपोटामियासम्म फैलाएका थिए। जेनोबीका पति सत्तामा आउनुको पछाडि उनको महत्त्वपूर्ण भूमिका छ। इतिहासकार एड्वर्ड गिबनले यस्तो लेखे: “आदिनाथसको सफलताको श्रेय निकै हदसम्म उनको [जेनोबीको] अतुलनीय होसियारी तथा धीरज हो।”
त्यतिञ्जेल फारसका राजा शापुरले रोमको श्रेष्ठतालाई चुनौती दिएर फारसका सारा प्रान्तहरूमाथि आफ्नै सार्वभौमिकता स्थापित गर्न खोजे। भयानक सैन्य दलको नेतृत्व गरेर तिनी पश्चिमतिर लम्के, रोमी सैनिक गढहरू निसिबस तथा कारेमाथि (हारान) आक्रमण गरेर उत्तरी सिरिया तथा सिलिसिया तहसनहस गरे। सम्राट भ्यालेरियन स्वयंले आक्रमणकारी सेनाको प्रतिरोध गरे तर तिनीहरू हारे अनि फारसीहरूको पक्राउमा परे।
आदिनाथसले फारसी राजालाई बहुमूल्य उपहार दिनु तथा शान्तिको सन्देश पठाउनु अनुकूल सम्झे। राजा शापुर अहंकारी भएर सबै उपहारहरू यूफ्रेटिसमा फ्याल्न लगाए अनि आदिनाथसलाई बन्दी निवेदकको हैसियतमा राजाको सामु हाजिर हुन आदेश दिए। त्यसको जवाफमा पाल्मीरावासीहरूले मरुभूमिका घुमन्ते तथा बाँकी रहेका रोमी सेनाहरूलाई भेला गरेर फर्किरहेका फारसीहरूलाई खतम पार्न खोजे। मार्ने अनि दौड्ने मरुभूमि योद्धाहरूको नीतिको विरुद्ध लखतरान भएका तथा लुटपाटका मालताल टन्न बोकेका शापुरका सेना लाचार भएर केही गर्न सकेनन् अनि भाग्न बाध्य भए।
शापुरमाथि विजयको लागि मान्यता प्रदान गर्न भ्यालेरियनका छोरा तथा उत्तराधिकारी ग्यालिनसले आदिनाथसलाई कोरेक्टर टोट्यस ओर्यन्टस (पूर्वका सबै प्रान्तको राज्यपाल) उपाधि दिए। समयको दौडान आदिनाथसले आफैलाई “राजाहरूका राजा” भन्ने पद्वी पनि दिए।
जेनोबी साम्राज्य बनाउने आकांक्षा गर्छिन्
आफ्नो पेसाको पराकाष्ठामा पुगेको बेला आदिनाथस र तिनका उत्तराधिकारीको हत्या सा.यु. २६७ मा गरियो र यो हत्या तिनको ईखालु भानिजले गरेको हुनुपर्छ। जेनोबीले छोरा सानै भएकोले आफ्नो पतिको स्थान ओगटिन्। मरिसकेका पतिसँगसँगै काम गरिसकेकी राम्री, महत्त्वाकांक्षी र सुयोग्य प्रशासक तथा थुप्रै भाषा बोल्न जान्ने जेनोबीले आफ्ना प्रजाहरूको आदर र सहयोग पाउन सकिन्। यसो गर्नसक्नु बेडोइनहरूको माझमा कुनै चानचुने कुरा होइन। जेनोबी नयाँ नयाँ कुराहरू सिक्न इच्छुक भएकीले बुद्धिजीवीहरूलाई नियुक्त गर्न थालिन्। उनको एक जना सल्लाहकार दार्शनिक तथा कुशल वक्ता क्यासियस लंगिनस थिए भनिन्छ, तिनीसित “संग्रहालय तथा ज्ञानको भण्डार” थिए। लेखक स्टोनम्यान भन्छन्: “आदिनाथसको मृत्यु भएको पाँच वर्षभित्र . . . जेनोबी आफ्ना मानिसहरूको माझमा पूर्वकी मालिकनी नाउँले चिनिन्थिन्।”
जेनोबीको अधीनमा एकातिर आफू र आफ्नो पतिले कमजोर तुल्याएको फारस थियो भने अर्कोतिर झन् झन् अस्थिर बन्दै गइरहेको रोम थियो। त्यतिबेलाको रोमी साम्राज्यको अवस्थाबारे इतिहासकार जे. एम. रबट्स यसो भन्छन्: “तेस्रो शताब्दी . . . रोमको लागि पूर्व र पश्चिम दुवैतिर नराम्रो समय थियो र रोममै पनि गृहयुद्ध तथा आन्तरिक विवादहरूको नयाँ युग सुरु भइरहेको थियो। त्यो समयावधिमा बाइस जना सम्राटले (ढोंगीहरूबाहेक) शासन गरे।” अर्कोतिर सिरियाली मालिकनी आफ्नो क्षेत्रमा स्वायत्त शासक थिइन्। स्टोनम्यान यसो भन्छन्, “दुइटा साम्राज्यहरू [फारस र रोम] आफ्नो नियन्त्रणमा राख्दै उनले यी दुवैलाई अधीनमा राख्ने तेस्रो साम्राज्य निर्माण गर्ने आकांक्षा गर्न सक्थिन्।”
रोमी शासनमाथि प्रश्न उठाउने ढोंगी शासक मिश्रमा देखा परेपछि सा.यु. २६९ मा जेनोबीले आफ्नो शाही शक्ति अझ विस्तार गर्ने मौका पाइन्। जेनोबीको सेना तुरुन्तै मिश्रतिर लम्के र विद्रोहीहरूलाई खतम पारेर त्यो देशलाई कब्जा गरे। आफूलाई मिश्रकी रानी घोषणा गरेर उनले सिक्काहरूमा आफ्नो नाउँ कुँद्न लगाइन्। अब उनको राज्य नील नदीदेखि यूफ्रेटिस नदीसम्म फैलियो। उनले यस चरणमा दानियलको बाइबल भविष्यवाणीमा उल्लिखित “दक्षिणको राजाको” भूमिका निर्वाह गरिन् किनभने त्यतिबेला उनको राज्यले दानियलको मातृभूमिको दक्षिणी इलाकामाथि अधिकार जमायो। (दानियल ११:२५, २६) उनले एसिया माइनरका थुप्रै इलाकाहरूमाथि पनि विजय हासिल गरिन्।
जेनोबीले आफ्नो राजधानी पाल्मीरालाई असाध्यै बलियो बनाएर सुसज्जित पारिन् र यसले गर्दा यो शहर रोमी संसारका ठूल्ठूला शहरहरू सरह भयो। यसको जनसंख्या १,५०,००० भन्दा बढी पुगेको अनुमान गरिएको छ। परिधि २१ किलोमिटर भएको पर्खालले घेरिएको शहरभित्र भव्य सार्वजनिक भवन, मन्दिर, बगैंचा, खाँबा तथा स्मारकहरू थिए। पन्ध्र मिटरभन्दा अग्ला सालाखाला १,५०० कोरिन्थी स्तम्भहरू प्रमुख बाटोहरूमा लहरै निर्माण गरिएका थिए। शहरमा साहसी तथा धनी परोपकारीहरूको मूर्ति तथा अर्धप्रतिमाहरू प्रशस्त थिए। सा.यु. २७१ मा जेनोबीले आफू र आफ्ना मृत पतिको एक जोडा प्रतिमा निर्माण गर्न लगाइन्। उक्त प्रतिमा मरुभूमिको किनारामा अवस्थित पाल्मीरा मणिजस्तो टल्कन्थ्यो।
पाल्मीराका राम्रा आकृतिहरूमध्ये सूर्य मन्दिर पनि एउटा थियो अनि यसले त्यो शहरको धार्मिक पक्षमा प्रभुत्व जमाएको थियो। सम्भवतः जेनोबीले पनि सूर्य देवसित सम्बन्धित देवताको उपासना गर्थिन्। तथापि, तेस्रो शताब्दीताक सिरियामा थुप्रै धर्म थिए। जेनोबीको शासनकालमा मसीही भनौंदा, यहूदी, ज्योतिषी तथा सूर्य चन्द्रमाका उपासकहरू थिए। आफ्नो क्षेत्रमा व्याप्त यी विभिन्न प्रकारका उपासनाहरूप्रति उनको धारणा कस्तो थियो? लेखक स्टोनम्यान भन्छन्: “बुद्धिमान् शासकले आफ्ना मानिसहरूलाई उचित लाग्ने कुनै पनि प्रचलनको बेवास्ता गर्दैनन्। देवताहरू . . . पाल्मीराको पक्षमा भएको आशा गरिन्थ्यो।” जेनोबीले सबैलाई धार्मिक स्वतन्त्रता दिएकी देखिन्छ। तर के साँच्चै देवताहरू “पाल्मीराको पक्षमा” थिए त? पाल्मीरा र यसको “बुद्धिमान् शासकलाई” निकट भविष्यमा के हुन लागेको थियो?
एक सम्राटले जेनोबी विरुद्ध “युद्धको धावा उठाउनेछ”
सा.यु. २७० मा एरेलियन रोमको सम्राट भए। तिनका सेनाहरू उत्तरका असभ्य मानिसहरूको विरोध गर्न तथा तिनीहरूलाई तह लगाउन सफल भए। अब दानियलको भविष्यवाणीअनुसार “उत्तरको राजाको” प्रतिनिधित्व गर्ने एरेलियन सा.यु. २७१ मा जेनोबीले प्रतिनिधित्व गर्ने ‘दक्षिणको राजाको विरुद्धमा ठूलो सेना भएर’ गए। (दानियल ११:२५क) एरेलियनले आफ्नो केही फौजलाई सोझै मिश्र पठाए र आफ्नो मुख्य सेनालाई पूर्वतिर एसिया माइनरमा पठाए।
जेनोबीको नेतृत्वमा गएका दक्षिणका राजा एरेलियन विरुद्ध युद्ध गर्न दुई सेनापति जब्दास र जबाईको नेतृत्वमा “एउटा साह्रै ठूलो र अंसख्य सेनाको साथ” गए। (दानियल ११:२५ख) तर एरेलियनले मिश्रमाथि विजय हासिल गरेर आफ्नो सेनालाई एसिया माइनर तथा सिरियातिर केन्द्रित गरे। जेनोबीले एमीसामा (अहिले होम्स) हार सहनुपऱ्यो र उनी पाल्मीरा फर्किन्।
एरेलियनले पाल्मीरामाथि कब्जा गर्दा मदत पाउने आशा लिएर आफ्नो छोरासहित फारसतिर भागे तर उनी यूफ्रेटिस नदीमा रोमीहरूको पक्राउमा परिन्। पाल्मीरावासीहरूले सा.यु. २७२ मा आत्मसमर्पण गरे। एरेलियनले त्यहाँका वासीहरूसित उदारतासाथ व्यवहार गरे, सूर्य देवको मन्दिरको मूर्तिलगायत थुप्रै धनसम्पत्ति थुपारे र रोम गए। रोमी सम्राटले जेनोबीको ज्यान लिएनन् र सा.यु. २७४ मा रोमको विजय यात्रामा उनलाई प्रमुख आकर्षण बनाए। उनले आफ्नो बाँकी जीवन रोमी मेट्रनको हैसियतमा बिताइन्।
मरुभूमि शहरको विनाश
एरेलियनले पाल्मीरामाथि कब्जा गरेको केही महिनापछि पाल्मीरावासीहरूले त्यहाँ बाँकी रहेको रोमी फौजको आमहत्या गरे। एरेलियनले यस्तो विद्रोहको खबर सुनेपछि आफ्नो फौजलाई फेरि आक्रमण गर्ने आदेश थिए र यस पालि भने त्यहाँका जनसमुदायसित कठोर व्यवहार गरे। क्रूर हत्याबाट बचेकाहरू दासत्वमा लगिए। यो भव्य शहर तहसनहस भयो र अपूरणीय क्षति भोग्नुपऱ्यो। फलस्वरूप निकै चहलपहल हुने महानगर पहिलेकै अवस्थामा खस्कियो अर्थात् “उजाडस्थानको तद्मोर” भयो।
जेनोबीले हिम्मत नहारी रोमको सामना गर्दा उनी र सम्राट एरेलियनले चालै नपाई “दक्षिणको राजा” र “उत्तरको राजाको” भूमिका निर्वाह गरे अनि फलस्वरूप यहोवाको अगमवक्ताले लगभग ८०० वर्षअघि गरेको भविष्यवाणी पूरा भयो। (दानियल अध्याय ११) उनको आकर्षक व्यक्तित्वले गर्दा जेनोबीले थुप्रैबाट प्रशंसा पाइन्। तथापि, उनले निर्वाह गरेको सबैभन्दा उल्लेखनीय भूमिका दानियलको भविष्यवाणीमा उल्लिखित राजनैतिक शत्रुको थियो। उनको शासनकाल पाँच वर्ष पनि रहेन। जेनोबीको राज्यको राजधानी पाल्मीरा अहिले एउटा सानो गाउँ मात्र छ। पराक्रमी रोमी साम्राज्य पनि अस्तित्वबाट हराएको निकै भइसक्यो अनि त्यसको ठाउँ वर्तमान राज्यहरूले ओगटेका छन्। यी शक्तिहरूको भविष्य कस्तो हुनेछ? तिनीहरूको भविष्य पनि बाइबलमा भविष्यवाणी गरिएजस्तै हुनेछ।—दानियल २:४४.
[पृष्ठ २९-मा भएको पेटी]
जेनोबीले छोडेकी पैतृक-सम्पत्ति
पाल्मीराकी रानी, जेनोबीलाई परास्त गरेर रोम फर्केपछि सम्राट एरेलियनले सूर्यको नाउँमा एउटा मन्दिर बनाए। यसमा तिनले जेनोबीको शहरबाट ल्याएका सूर्य-देवको प्रतिमा राखे। त्यसपछि भएका घटनाहरूबारे अहिलेको इतिहास (अंग्रेजी) पत्रिका यसो भन्छ: “एरेलियनका कार्यहरूमध्ये सबैभन्दा चिरस्थायी भन्नु नै सा.यु. २७४ मा स्थापना गरेको सूर्यको वार्षिक उत्सव होला र त्यो डिसेम्बर २५ का दिन पर्छ। यो पछि मसीही साम्राज्य बनेपछि पुराना चाडपर्वहरू मनाउने मानिसहरूको लागि यो नयाँ धर्म बढी स्वागत योग्य बनाउन ख्रीष्टको जन्म मिति अर्कै मितिमा तय गरियो। तर अचम्मको कुरा के छ भने अन्ततः साम्राज्ञी जेनोबीले गर्दा . . . [मानिसहरू] क्रिसमस मनाइरहेका छन्।”
[पृष्ठ २८, २९-मा भएको नक्सा/चित्र]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
भूमध्य सागर
सिरिया
एन्टिओक
एमीसा (होम्स)
पाल्मीरा
दमास्कस
मेसोपोटामिया
यूफ्रेटिस
कारी (हारान)
निसिबिस
दूरा-युरोपस
[स्रोत]
Map: Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc.
Colonnade: Michael Nicholson/Corbis
[पृष्ठ २९-मा भएको चित्र]
सम्भवतः एरेलियनको चित्र भएको रोमी सिक्का
[पृष्ठ ३०-मा भएको चित्र]
पाल्मीरामा सूर्यको मन्दिर
[स्रोत]
The Complete Encyclopedia of Illustration/J. G. Heck
[पृष्ठ ३१-मा भएको चित्र]
आफ्ना सिपाहीहरूलाई सम्बोधन गरिरहेकी रानी जेनोबी
[स्रोत]
Giovanni Battista Tiepolo, Queen Zenobia Addressing Her Soldiers, Samuel H. Kress Collection, Photograph © Board of Trustees, National Gallery of Art, Washington
[पृष्ठ २८-मा भएको स्रोत]
Detail of: Giovanni Battista Tiepolo, Queen Zenobia Addressing Her Soldiers, Samuel H. Kress Collection, Photograph © Board of Trustees, National Gallery of Art, Washington