यरूशलेम, नाउँअनुसारकै शहर
“मैले सृष्टि गरेको कुरामा सदा सर्वदा आनन्द गर र हर्ष मनाऊ। किनकि हेर, म यरूशलेमलाई हर्षित . . . तुल्याउनेछु।”—यशैया ६५:१८.
१. परमेश्वरले छान्नुभएको शहरप्रति एज्रा कस्तो महसुस गर्थे?
परमेश्वरको वचनको होनहार विद्यार्थी भएकोले यहूदी पूजाहारी एज्रा, कुनै समय यरूशलेम र यहोवाको शुद्ध उपासनाबीच जुन सम्बन्ध थियो, त्यसको साह्रै मूल्यांकन गर्थे। (व्यवस्था १२:५; एज्रा ७:२७) प्रेरणाद्वारा तिनले लेखेका बाइबल किताबका पहिलो अनि दोस्रो इतिहास र एज्रामा परमेश्वरको शहरप्रति तिनको प्रेम प्रष्ट देखिन्छ। सम्पूर्ण बाइबलभरि यरूशलेम नाउँ ८०० पटक प्रयोग गरिएको भए तापनि त्यसको एक चौथाई, एज्राले लेखेको उक्त ऐतिहासिक विवरणमा पाइन्छ।
२. यरूशलेम नाउँको विशेषतामा हामी कुन भविष्यसूचक अर्थ देख्नसक्छौं?
२ बाइबलीय हिब्रूमा “यरूशलेम” हिब्रू भाषाको द्वय भनी चिनिने रूप थियो भनेर बुझ्न सकिन्छ। द्वय रूप अक्सर आँखा, कान, हात र खुट्टा जस्ता एक जोडी कुराहरूमा प्रयोग हुन्छ। यो रूपमा यरूशलेमको नाउँलाई परमेश्वरका जनहरूले दुई अर्थमा अर्थात् आध्यात्मिक तथा शारीरिक तवरबाट अनुभव गर्ने भविष्यसूचक शान्ति मान्न सकिन्छ। एज्राले यो कुरा पूर्णतया बुझे वा बुझेनन्, त्यो त धर्मशास्त्रले बताउँदैन तथापि, पूजाहारीको हैसियतमा यहूदीहरूलाई परमेश्वरसितको शान्तिको आनन्द उठाउन यथासक्दो मदत गरे। यरूशलेम आफ्नो नाउँअनुसारकै अर्थात् “द्वय शान्तिको आधिपत्य रहेको [अथवा, जग]” रह्यो।—एज्रा ७:६.
३. एज्राको हालखबर फेरि थाह पाउञ्जेल कति वर्ष बित्यो र पछि तिनलाई कस्तो अवस्थामा भेट्टाउँछौं?
३ एज्रा यरूशलेम जाँदा र नहेम्याह त्यस शहर आइपुग्दा १२ वर्ष बितिसकेको थियो र त्यतिञ्जेल एज्रा कहाँ थिए, त्यसबारे बाइबलले केही पनि बताएको छैन। त्यतिखेर इस्राएल राष्ट्रको आध्यात्मिकता असाध्यै नराम्रो भएकोले एज्रा त्यहाँ थिएनन् भन्न सकिन्छ। यद्यपि, यरूशलेम शहरको पर्खाल पुनर्निर्माण हुने बित्तिकै एज्राले फेरि विश्वासी पूजाहारीको रूपमा सेवा गर्न थालिसकेको पाउँछौं।
स्मरणीय सम्मेलन दिन
४. इस्राएलको सातौं महिनाको पहिलो दिनको के महत्त्व थियो?
४ इस्राएलीहरूको धार्मिक पात्रोअनुसार सातौं महिना तिशरीमा हुने महत्त्वपूर्ण चाड आइपुग्ने बेलामा यरूशलेमको पर्खाल बनाउन पनि ठ्याक्कै सिद्धियो। तिशरीको पहिलो दिन विशेष औंसीको दिन मनाइने चाडलाई तुरही बजाउने चाड भनिन्छ। त्यसदिन, यहोवालाई बलि चढाउँदै गर्दा पूजाहारीहरूले तुरही बजाउँथे। (गन्ती १०:१०; २९:१) तिशरीको १० औं दिनमा पर्ने वार्षिक पश्चात्तापको समय र त्यही महिनाको १५ औं देखि २१ औं दिनसम्म जम्मा गर्ने रमाइलो चाडको निम्ति त्यो दिनले इस्राएलीहरूलाई तयार पार्थ्यो।
५. (क) एज्रा र नहेम्याहले “सातौं महीनाको पहिलो दिन[को]” सदुपयोग कसरी गरे? (ख) इस्राएलीहरू किन रोए?
५ “सातौं महीनाको पहिलो दिनमा” सायद नहेम्याह र एज्राको प्रोत्साहन पाएर “मानिसहरू” जम्मा भएका थिए। पुरुष, स्त्री र “बुझ्नेहरू” सबै जम्मा भएका थिए। यसरी, केटाकेटीहरू पनि भेला भएका थिए र एज्रा मञ्चमा खडा भएर “बिहानदेखि मध्य दिनसम्म” व्यवस्था पढ्दा तिनीहरूले ध्यान दिएर सुने। (नहेम्याह ८:१-४) बीच बीचमा हुने मध्यान्तरमा लेवीहरूले मानिसहरूलाई पढिएको कुरा बुझ्न मदत गर्थे। फलतः इस्राएलीहरूले आफू र आफ्ना पुर्खा परमेश्वरको व्यवस्थाप्रति आज्ञाकारी हुनदेखि चुकेको थाह पाएपछि धुरूधुरू रोए।—नहेम्याह ८:५-९.
६, ७. यहूदीहरूलाई नहेम्याहले गरेको व्यवहारबाट मसीहीहरूले के सिक्नसक्छन्?
६ तर यो दुःखी भएर रुने समय थिएन। त्यो चाडको समय थियो र मानिसहरूले भर्खरै मात्र यरूशलेमको पर्खाल पुनर्निर्माण गरिसिध्याएका थिए। तसर्थ, नहेम्याहले तिनीहरूलाई यसो भन्दै आ-आफ्नो मनोवृत्ति सच्याउन मदत गरे: “अब तिमीहरू जाऊ। स्वादिष्ट भोजन खाऊ र मीठो दाखमद्य पिएर ताजा होऊ। आफ्नो निम्ति जुटाउन नसक्नेहरूलाई पनि भाग पठाइदेऊ। किनभने आजको दिन हाम्रा परमप्रभुको निम्ति पवित्र छ। उदास नहोऊ, किनभने परमप्रभुको आनन्दनै तिमीहरूको बल हो।” आज्ञाकारी हुँदै “सबै मानिसहरू खान-पीन गर्न, अरूहरूलाई भाग पठाइदिन र धूमधामसित उत्सव मनाउन गए। किनभने तिनीहरूलाई सम्झाएको कुरा तिनीहरूले बुझे।”—नहेम्याह ८:१०-१२.
७ यो विवरणबाट आज परमेश्वरका जनहरूले थुप्रै कुरा सिक्नसक्छन्। सभा तथा सम्मेलनहरूमा भाग पाउने सुअवसर पाएकाहरूले माथि उल्लिखित नमुनालाई मनमा ठप्प राख्नुपर्छ। कहिलेकाहीं आवश्यक पर्ने कहिलेकाहीं आवश्यक पर्ने सुधारक सल्लाहका साथै यस्ता अवसरहरूले परमेश्वरले चाहनुहुने मागहरू पूरा गर्दा हुने लाभ तथा पाइने आशिष्हरू प्रकाश पार्छन्। असल कामको निम्ति सराहना गरिन्छ र धीरज धारण गरिरहन प्रोत्साहन दिइन्छ। परमेश्वरको वचनबाट उत्थानदायी निर्देशनहरू पाएको हुँदा परमेश्वरका जनहरू यस्ता जमघटहरूबाट घर फर्कंदा हर्षित भएको हुनुपर्छ।—हिब्रू १०:२४, २५.
अर्को रमाइलो जमघट
८, ९. सातौं महिनाको दोस्रो दिन कस्तो विशेष सभा भयो र परमेश्वरका जनहरूलाई त्यसले के फाइदा गऱ्यो?
८ विशेष महिनाको दोस्रो हप्तामा “सारा मानिसहरूका घराना घरानाका मुख्य मुख्य मानिसहरू, पूजाहारीहरू र लेवीहरूका साथमा व्यवस्थाको अध्ययन गर्न शास्त्री एज्राको सामने भेला भए।” (नहेम्याह ८:१३) यो सभा सञ्चालन गर्न एज्रा योग्यका थिए किनकि तिनले “परमप्रभुको व्यवस्था अध्ययन गर्न र पालन गर्न औ इस्राएलमा धर्म-विधि र धार्मिकविचार सिकाउन मन दिएका थिए।” (एज्रा ७:१०) निस्सन्देह, यो सभाले परमेश्वरका जनहरूलाई परमेश्वरको व्यवस्थाअनुरूप अझ राम्ररी चल्न सुधार ल्याउनुपर्ने क्षेत्रहरूबारे प्रस्ट पाऱ्यो। तथापि, आउँदै गरेको झुप्रोबासको चाडको उचित तयारीका लागि तुरुन्तै विचार गर्नु आवश्यक थियो।
९ यो हप्तादिन लामो चाड सबै जनाले विभिन्न रूखहरूका हाँगा तथा पातहरूले बनेका अस्थायी छाप्रोमा बसेर सही तरिकामै मनाए। मानिसहरूले आ-आफ्नो घरको सम्म परेको छानामा, आँगनमा, मन्दिरको चोकमा र यरूशलेमका डबलीहरूमा यी झुप्रोहरू खडा गरे। (नहेम्याह ८:१५, १६) मानिसहरूलाई यसरी भेला गराएर तिनीहरूलाई परमेश्वरको वचनबाट पढेर सुनाउनका लागि यो साँच्चै ठूलो सुअवसर थियो! (व्यवस्था ३१:१०-१३ तुलना गर्नुहोस्।) चाडको बेला “पहिलो दिनदेखि पछिल्लो दिनसम्म” दिनहुँ त्यसरी वचन पढेर सुनाइन्थ्यो। फलतः परमेश्वरका जनहरूबीच “असाध्य ठूलो रमाहट भयो।”—नहेम्याह ८:१७, १८.
हामीले परमेश्वरको घरलाई बेवास्ता गर्नु हुँदैन
१०. सातौं महिनाको २४ औं दिनमा विशेष जमघटको आयोजना किन गरियो?
१० परमेश्वरका जनहरूबीच पनि गम्भीर गल्तीहरू सुधार्ने उचित समय तथा ठाउँ हुन्छ। त्यो यस्तै समय थियो भनी देखिएको हुँदा एज्रा र नहेम्याहले तिशरी महिनाको २४ औं दिनमा उपवास बस्ने प्रबन्ध मिलाए। फेरि परमेश्वरको व्यवस्था पढियो र मानिसहरूले आ-आफ्नो पाप स्वीकारे। परमेश्वरले आफ्ना भड्किएका जनहरूसित गर्नुभएको दयालु व्यवहारको लेवीहरूले पुनरावलोकन गरे, मीठा मीठा शब्दहरूद्वारा यहोवाको प्रशंसा गरे अनि “लिखित रूपमा” वाचा बाँध्दै शासक लेवी र पूजाहारीहरूले सही-छाप लगाए।—नहेम्याह ९:१-३८.
११. यहूदीहरूले आफैलाई कस्तो “लिखित” वाचामा बाँधे?
११ प्रायः सबैले नै त्यस “लिखित” वाचाअनुरूप गर्न कबूल गरे। तिनीहरूले ‘परमेश्वरको व्यवस्था मान्ने वचन दिए’ “विदेशी मानिसहरू[सित]” विवाह बन्धनमा नबाँधिने प्रण पनि गरे। (नहेम्याह १०:२८-३०) यसबाहेक, यहूदीहरूले विश्राम दिन मान्न, साँचो उपासनाका लागि वार्षिक अनुदान दिन, बलिदान चढाउने बेदीको निम्ति दाउरा उपलब्ध गर्न, आफ्नो बगालका जनावर तथा पंक्षीहरूको पहिलौठो फल बलि चढाउन र आफ्नो खेतबारीको पहिलो उब्जनी मन्दिरमा ल्याउने वचन दिए। स्पष्टतया, तिनीहरूले ‘परमेश्वरको भवनलाई नत्याग्ने’ निधो गरेका थिए।—नहेम्याह १०:३२-३९.
१२. आज परमेश्वरको भवनलाई बेवास्ता नगर्नुमा के समावेश छ?
१२ आज, परमेश्वरका जनहरू यहोवाको महान् आत्मिक मन्दिरको चोकमा ‘पवित्र सेवा चढाउने’ विशेषाधिकारलाई बेवास्ता नगर्न होसियार हुनैपर्छ। (प्रकाश ७:१५) यसमा यहोवाको उपासनालाई अघि बढाउन नियमित हार्दिक प्रार्थना गर्नु समावेश छ। यस्ता प्रार्थनाहरूबमोजिम जीवन यापन गर्नु भनेको मसीही सभाहरूको निम्ति तयारी गर्नु र भाग लिनु, सुसमाचार प्रचार कार्यमा भाग लिनु र चासो देखाउनेहरूलाई मदत गर्न फेरि भेट्नु अनि सम्भव भए तिनीहरूसित बाइबल अध्ययन थाल्नु समावेश छन्। परमेश्वरको भवनलाई बेवास्ता गर्न नचाहने थुप्रैले प्रचार कार्य तथा साँचो उपासना गर्ने स्थानहरूको मर्मतका लागि अनुदानहरू दिन्छन्। सभा भवनहरू अत्यावश्यक परेका ठाउँहरूमा ती बनाउन र ती भवनहरूलाई स्वच्छ सफा राखिराख्न पनि हामी सहयोग गर्नसक्नेछौं। परमेश्वरको आत्मिक भवनको निम्ति माया देखाउने महत्त्वपूर्ण तरिका सँगी विश्वासीहरूमाझ शान्ति कायम राख्ने कोसिस गर्नु र भौतिक वा आध्यात्मिक मदत चाहिएकाहरूलाई सहयोग गर्नु हो।—मत्ती २४:१४; २८:१९, २०; हिब्रू १३:१५, १६.
रमाइलो समुद्घाटन
१३. यरूशलेमको पर्खाल समुद्घाटन गर्नुअघि कुन महत्त्वपूर्ण विषयमा ध्यान दिनु जरुरी थियो र थुप्रैले कस्तो असल नमुना बसाले?
१३ नहेम्याहको समयमा “लिखित रूपमा” बाँधिएको वाचाले परमेश्वरका पुरातन समयका जनहरूलाई यरूशलेमको पर्खाल समुद्घाटन हुने दिनको निम्ति तयार पाऱ्यो। तर अर्को महत्त्वपूर्ण विषयमा ध्यान दिनु त बाँकी नै थियो। बाह्रवटा ढोका भएको बडेमाको पर्खालले घेरिएको यरूशलेममा जनसंख्या बढाउनु परेको थियो। केही इस्राएलीहरू त्यहाँ बस्ने गरेका भए तापनि “शहर ठूलो र विस्तृत थियो। त्यसमा मानिसहरू थोरै थिए।” (नहेम्याह ७:४) यो समस्या समाधान गर्न मानिसहरूले “दश जनापिच्छे एक जनालाई पवित्र शहर यरूशलेममा रहनलाई चिट्ठा हाले।” यो प्रबन्धअनुरूप “यरूशलेममा बस्न राजीहुनेहरूलाई” मानिसहरूले आशिष् दिन उत्प्रेरित भए। (नहेम्याह ११:१, २) परिपक्व मसीहीहरूको मदत बढी आवश्यकता परेका ठाउँमा सर्न परिस्थितिले साथ दिने साँचो उपासकहरूको निम्ति कत्ति असल नमुना!
१४. यरूशलेमको पर्खालको समुद्घाटनका दिन के भयो?
१४ यरूशलेमको पर्खाल उद्घाटन गर्ने महान् दिनको निम्ति महत्त्वपूर्ण तयारीहरू सुरु गरिए। यहूदा वरपरका शहरहरूबाट वाद्यवादक तथा गायकगायिकाहरू जम्मा गरिए। धन्यवादको स्तुति चढाउन यिनीहरूको दुई दल बनाइयो र प्रत्येकको पछि पछि शोभा यात्रा गर्ने मानिसहरूको व्यवस्था पनि गरिए। (नहेम्याह १२:२७-३१, ३६, ३८) मन्दिरबाट सबैभन्दा पर पर्ने पर्खाल, सायद बेंसीको मूल-ढोकाबाट सुरु भएको त्यो गायक दल तथा शोभायात्रा दुई विपरीत दिशातिर लम्कंदै अन्तमा परमेश्वरको भवनमा एकअर्कालाई भेट्न पुग्यो। “त्यस दिन एउटा ठूलो बलिदानको उत्सव मनाइयो। औ परमप्रभु परमेश्वरले तिनीहरूलाई रमाहट गर्ने अवसर दिनुभएकोले तिनीहरू सबैले आनन्द मनाए। स्त्रीहरू र बालक-बालिकाहरूले पनि तिनीहरूसँग आनन्द मनाए। औ यरूशलेमको आनन्द-उत्सव टाढ़ा टाढ़ासम्म पनि सुनियो।”—नहेम्याह १२:४३.
१५. यरूशलेमको पर्खालको समर्पण किन चिरस्थायी आनन्दको कारण हुनसकेन?
१५ बाइबलले यो रमाइलो उत्सवको मिति दिएको छैन। निस्सन्देह, यो यरूशलेमको पुनर्स्थापनाको चरमोत्कर्ष नभए तापनि विशेषता भने अवश्य थियो। हो, शहरभित्र थुप्रै निर्माण गर्नु त बाँकी नै थियो। तथापि, समयमा यरूशलेमका बासिन्दाहरूले आफ्नो उत्तम आध्यात्मिकता गुमाए। उदाहरणका लागि नहेम्याहले दोस्रो पटक शहरको भ्रमण गर्दा परमेश्वरको भवनलाई बेवास्ता गरिएको र इस्राएलीहरूले फेरि विदेशी स्त्रीहरूसित विहे गरेको भेट्टाए। (नहेम्याह १३:६-११, १५, २३) यस्तै दुरावस्थाबारे अगमवक्ता मलाकीले पनि आफ्नो लेखोटमा पुष्टि गरेका छन्। (मलाकी १:६-८; २:११; ३:८) यसरी यरूशलेमको पर्खालको समर्पण चिरस्थायी आनन्दको कारण हुनसकेन।
अनन्त आनन्दको कारण
१६. परमेश्वरका जनहरू चरमोत्कर्षमा पुऱ्याउने कस्ता घटनाहरू पर्खिरहेका छन्?
१६ आज यहोवाका जनहरू परमेश्वरले आफ्ना सबै शत्रुहरूमाथि विजय प्राप्त गर्नुहुने समयको निकै चाह गर्छन्। यो “महान् बेबिलोन” अर्थात् सबै झूटा धर्मलाई अंगालेकी लाक्षणिक शहर नाश हुँदा सुरु हुनेछ। (प्रकाश १८:२, ८) आउँदै गरेको महा संकष्टको पहिलो चरण, झूटो धर्मको विनाश हुनेछ। (मत्ती २४:२१, २२) हामीसमक्ष पनि साँच्चै महत्त्वपूर्ण घटना छ र त्यो “नयाँ यरूशलेम[का]” १,४४,००० बासिन्दा अर्थात् आफ्नी दुलहीसित प्रभु येशू ख्रीष्टको स्वर्गीय विवाह हो। (प्रकाश १९:७; २१:२) यो स्वर्गीय विवाह कहिले हुनेछ त्यो तोकेरै त भन्न सक्दैनौं, तर त्यो पक्कै पनि आनन्ददायी अवसर हुनेछ।—प्रहरीधरहरा, (अंग्रेजी) अगस्त १५, १९९०, पृष्ठ ३०-१ हेर्नुहोस्।
१७. नयाँ यरूशलेम पूरा हुने सम्बन्धमा हामीलाई के थाह छ?
१७ नयाँ यरूशलेम पूरा हुने समय असाध्यै नजिक छ भनेर हामीलाई थाह छ। (मत्ती २४:३, ७-१४; प्रकाश १२:१२) पार्थिव यरूशलेम शहर जस्तो यो कहिल्यै निराशाको कारण हुनेछैन। किनकि यसका सारा बासिन्दाहरू येशू ख्रीष्टका जाँचिएका, खारिएका आत्म-अभिषिक्त अनुयायीहरू हुन्। मृत्युसम्मै विश्वासी भएपछि, प्रत्येकले ब्रह्माण्डका सर्वसत्ताधारी यहोवा परमेश्वरप्रति अनन्तकालसम्मका लागि आफूलाई वफादार प्रमाणित गरिसकेका हुनेछन्। बाँकी रहेका जीवित तथा मृत, सम्पूर्ण मानिसजातिको निम्ति यसको महत्त्व छ!
१८. हामीले किन सदासर्वदा आनन्द गर्नु र हर्ष मनाउनुपर्छ?
१८ येशूको छुटकाराको बलिदानमा विश्वास गर्ने मानवतर्फ नयाँ यरूशलेमले ध्यान केन्द्रित गर्दा के हुनेछ, विचार गर्नुहोस्। प्रेरित यूहन्नाले लेखे, “हेर, परमेश्वरको बासस्थान मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहाँका मानिसहरू हुनेछन्। औ परमेश्वर आफै तिनीहरूसँग भएर तिनीहरूका परमेश्वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्।” (प्रकाश २१:२-४) यसबाहेक परमेश्वरले यो शहररूपी प्रबन्धको प्रयोग मानिसजातिलाई मानव सिद्धतामा उकास्नुहुनेछ। (प्रकाश २२:१, २) ‘परमेश्वरले अहिले सृष्टि गरिरहनुभएको कुरामा सदासर्वदा आनन्द गर्ने र हर्ष मनाउने’ कत्ति आश्चर्यपूर्ण कारणहरू!—यशैया ६५:१८.
१९. मसीहीहरू जम्मा गरिएको आध्यात्मिक प्रमोदवन के हो?
१९ तथापि, पश्चात्तापी मानवहरूले परमेश्वरबाट मदत पाउन त्यो समयसम्म पर्खिरहनुपर्दैन। सन् १९१९ मा यहोवाले १,४४,००० का बाँकी सदस्यहरूलाई प्रेम, आनन्द र शान्ति जस्ता परमेश्वरको आत्माका फलहरू प्रशस्त भएको आध्यात्मिक प्रमोदवनमा जम्मा गर्न थाल्नुभयो। (गलाती ५:२२, २३) यो आध्यात्मिक प्रमोदवनको उल्लेखनीय पक्ष अभिषिक्त निवासीहरूको विश्वास साबित भएको छ, जसले सारा पृथ्वीभरि परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्ने काममा फलदायी नेतृत्व लिइरहेका छन्। (मत्ती २१:४३; २४:१४) फलतः पार्थिव आशा भएका ६० लाखभन्दा बढी “अरू भेड़ा[ले]” यो आध्यात्मिक प्रमोदवनमा प्रवेश गर्ने अनुमति पाएका छन् र फलदायी कामको आनन्द उठाउन पाएका छन्। (यूहन्ना १०:१६) परमेश्वरको पुत्र येशू ख्रीष्टले दिनुभएको छुडौतीको बलिदानमा विश्वास गर्नुका साथै आफ्नो जीवन यहोवा परमेश्वरलाई समर्पण गरेर तिनीहरू यसो गर्न योग्य भएका छन्। नयाँ यरूशलेमका भावी सदस्यहरूसितको तिनीहरूको संगति पक्कै पनि आशिष् साबित भएको छ। यसप्रकार अभिषिक्त मसीहीहरूसित गर्नुभएको व्यवहारबाट यहोवाले “नयाँ पृथ्वीको” दह्रो जग बसाल्नुभएको छ, उक्त “नयाँ पृथ्वी” स्वर्गीय राज्य शासनअन्तर्गत पृथ्वीमा बस्न पाउने ईश्वरभीरु मानवहरूको समाज हो।—यशैया ६५:१७; २ पत्रुस ३:१३.
२०. नयाँ यरूशलेम कसरी आफ्नो नाउँअनुसार रहिरहनेछ?
२० यहोवाका जनहरूले अहिले आध्यात्मिक प्रमोदवनमा शान्तिमय वातावरणको आनन्द उठाइरहेका छन्, जुन अब चाँडै भौतिक पार्थिव प्रमोदवनमा पनि उठाइनेछ। नयाँ यरूशलेम मानिसजातिलाई आशिष् दिन स्वर्गबाट ओर्लंदा त्यसो हुनेछ। परमेश्वरका जनहरूले दुई अर्थमा यशैया ६५:२१-२५ मा प्रतिज्ञा गरिएको शान्तिको आनन्द उठाउनेछन्। एकताबद्ध भई यहोवाको उपासना गरिरहेका अभिषिक्त जनहरू आध्यात्मिक प्रमोदवनमा स्वर्गीय नयाँ यरूशलेममा आफ्नो ठाउँ लिन बाँकी नै छ भने, अर्कोतिर रहेका अभिषिक्त जनहरू तथा “अरू भेड़ा[ले]” अहिले परमेश्वरले दिनुभएको शान्तिको आनन्द उठाइरहेका छन्। जब परमेश्वरको इच्छा स्वर्गमा झैं यस पृथ्वीमा पनि पूरा हुनेछ’ तब यस्तो शान्ति भौतिक प्रमोदवनमा पनि फैलिनेछ। (मत्ती ६:१०) हो, परमेश्वरको महिमित स्वर्गीय शहर त्यसको नाउँअनुसारकै अर्थात् यरूशलेम नाउँको अर्थअनुरूप ‘द्वय शान्तिको जग’ हुनेछ। अनन्तसम्म यसले यसको महान् सृष्टिकर्ता यहोवा परमेश्वर र दुलहा राजा येशू ख्रीष्टको महिमा गरी नै रहनेछ।
के तपाईंले सम्झनुभएको छ?
◻ नहेम्याहले मानिसहरूलाई यरूशलेममा जम्मा गर्दा कस्तो उपलब्धि हासिल भयो?
◻ परमेश्वरको भवनलाई बेवास्ता नगर्न पुरातन समयका यहूदीहरूले के गर्नुपर्थ्यो र हामीलाई के गर्ने आह्वान गरिएको छ?
◻ अनन्तकालीन आनन्द र शान्ति ल्याउने कुरामा “यरूशलेम” कसरी बिथोलित छ?
[पृष्ठ २३-मा भएको नक्सा]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
यरूशलेमका मूल-ढोकाहरू
संख्याले वर्तमान उचाइलाई मिटरमा संकेत गर्छ
मत्स्य-मूल-ढोका
पुरानो शहरको मूल-ढोका
एप्रैमको मूल-ढोका
कुने-मूल-ढोका
चौडा पर्खाल
चोक
बेंसीको मूल-ढोका
दोस्रो टोल
पुरानो उत्तरी पर्खाल
दाऊदको शहर
घुऱ्याने-मूल-ढोका
हिन्नोमको बेंसी
किल्ला
भेडा-ढोका
गारदको ढोका
मन्दिर इलाका
सेना जम्मा हुने ढोका
अश्व-मूल-ढोका
ओपेल
चोक
पानी-मूल-ढोका
गीहोनको नदी
फोहोरा-मूल-ढोका
राजाको बगैंचा
एन्रोगेल
टाइरोपोअनको
(केन्द्रिय)
बेंसी
किद्रोनको खोल्चा
७४०
७३०
७३०
७५०
७७०
७७०
७५०
७३०
७१०
६९०
६७०
६२०
६४०
६६०
६८०
७००
७२०
७४०
७३०
७१०
६९०
६७०
यरूशलेम शहर नाश हुँदा र नहेम्याहले पर्खालको पुनर्निर्माण सुरु गर्दा पर्खालको सम्भाव्य क्षेत्रफल