ख्रीष्टअघिको व्यवस्था
“तपाईंको व्यवस्थालाई म कस्तो प्रेम गर्दछु! दिनभरि मेरो ध्यान त्यसैमा रहन्छ।”—भजन ११९:९७.
१ आकाशीय पिण्डहरूको गतिलाई के ले नियन्त्रण गर्छ?
अय्यूब बाल्यकालदेखि नै छक्क र मख्ख पर्दै ताराहरू शायद एक टक लाएर हेर्नेगर्थे। सम्भवतः तिनका आमाबाबुले तिनलाई यी विशाल नक्षत्रहरूका नाउँ र आकाशमा यी नक्षत्रहरूको गतिविधि नियन्त्रित गर्ने व्यवस्थाबारे आफूले थाह पाएजति सबै सिकाएको हुनुपर्छ। जे होस्, पुरातन समयका मानिसहरू यी विशाल, रमणीय नक्षत्रहरूका अपरिवर्तनशील गतिद्वारा ऋतु पत्ता लगाउँथे। तर छक्क पर्दै हर बखत आकाशमा यी ताराहरू हेर्ने अय्यूबलाई यिनीहरूको समूहलाई एकै ठाउँमा राख्ने शक्ति कुन हो, त्यो भने थाह थिएन। त्यसैकारण, यहोवाले अय्यूबलाई “आकाशलाई शासन गर्ने नियमहरू के तैंले बुझेको छस्?” भनेर सोध्नुहुँदा तिनले जवाफ दिन सकेनन्। (अय्यूब ३८:३१-३३, द न्यु जेरूशलेम बाइबल) हो, ताराहरू व्यवस्थाद्वारा नियन्त्रित छन्। र यी व्यवस्थाहरू यत्ति सही र जटिल छन्, आजका वैज्ञानिकहरूले त्यसलाई पूर्णतया बुझ्नसकेका छैनन्।
२. सम्पूर्ण सृष्टि व्यवस्थाद्वारा नियन्त्रित छ भनेर किन भन्न सकिन्छ?
२ यहोवा ब्रह्माण्डको सर्वोच्च व्यवस्थादाता हुनु- हुन्छ। उहाँका सम्पूर्ण कार्यहरू व्यवस्थाद्वारा नियन्त्रित छन्। उहाँको प्रिय पुत्र, “सारा सृष्टिको जेठो[ले]” यस भौतिक ब्रह्माण्ड सृजनुभन्दा पहिलेदेखि आफ्नो पिताको व्यवस्था विश्वासी भई पालन गर्नुहुन्थ्यो। (कलस्सी १:१५) स्वर्गदूतहरू पनि व्यवस्थाद्वारा निर्देशित छन्। (भजन १०३:२०) जनावरहरू व्यवस्थामा बाँधिएका छन्, किनभने तिनीहरू पनि आफ्नो सृष्टिकर्ताले दिनुभएको सहज-ज्ञानअनुरूप चल्छन्। र यो सहज-ज्ञान पालन गर्दा ती जनावरहरू व्यवस्थाद्वारा निर्देशित हुन्छन्।—हितोपदेश ३०:२४-२८; यर्मिया ८:७.
३. (क) मानिसजातिलाई व्यवस्था किन चाहिन्छ? (ख) यहोवाले इस्राएल राष्ट्रलाई कुन तरिकाले नियन्त्रण गर्नुभयो?
३ अनि मानिसजातिबारे के भन्न सकिन्छ? बुद्धि, नैतिकता र आध्यात्मिकताजस्ता वरदानहरू हामीसित भए तापनि यी क्षमताहरू प्रयोग गर्न हामीलाई अझै केही ईश्वरीय व्यवस्था चाहिन्छ। हाम्रा प्रथम आमाबाबु आदम र हव्वा सिद्ध थिए। त्यसैकारण तिनीहरूलाई निर्देशन दिन थोरै व्यवस्थाहरू मात्रै आवश्यक थिए। स्वर्गमा हुनुहुने आफ्नो पिताप्रतिको प्रेमले तिनीहरूलाई हाँसीखुशी आज्ञा पालन गर्न प्रशस्त कारण दिएको हुनुपर्छ। तर तिनीहरू अनाज्ञाकारी भए। (उत्पत्ति १:२६-२८; २:१५-१७; ३:६-१९) परिणामस्वरूप तिनीहरूका सन्तान पापी प्राणी भए। र तिनीहरूलाई निर्देशन दिन अझ धेरै व्यवस्थाहरू आवश्यक पर्न गयो। समयको क्रममा यहोवाले प्रेमपूर्वक यो आवश्यकता पूरा गर्नुभयो। उहाँले नूहलाई विशिष्ट व्यवस्थाहरू दिनुभयो। ती व्यवस्थाहरू नूहले आफ्नो परिवारलाई सुम्पनुपर्थ्यो। (उत्पत्ति ९:१-७) शतकौंपछि मोशा मार्फत परमेश्वरले नयाँ राष्ट्र इस्राएललाई विस्तृत लिखित व्यवस्थासंग्रह दिनुभयो। यहोवाले त्यस सम्पूर्ण राष्ट्रलाई ईश्वरीय व्यवस्थाद्वारा नियन्त्रित गर्नुभएको यो पहिलो चोटि थियो। त्यो व्यवस्थालाई जाँच्यौं भने ईश्वरीय व्यवस्थाले आज मसीहीहरूको जीवनमा खेल्ने अत्यावश्यक भूमिका बुझ्ने मदत पाउनेछौं।
मोशालाई दिइएको व्यवस्था—त्यसको उद्देश्य
४. अब्राहामका छानिएको सन्तान मार्फत प्रतिज्ञा गरिएको वंश जन्मनु किन चुनौती हुनसक्थ्यो?
४ व्यवस्थाको गहिरो अध्ययन गर्ने विद्यार्थी प्रेरित पावलले यसरी सोधे: “तब व्यवस्था के रहेछ ता?” (गलाती ३:१९) त्यसको जवाफका लागि यहोवाले आफ्नो मित्र अब्राहामसित गर्नुभएको वाचा सम्झनु आवश्यक छ। त्यस वाचाअनुसार अब्राहामको सन्तान हुने त्यस प्रतिज्ञा गरिएको वंशद्वारा नै सारा राष्ट्रले महान् आशिष्हरू प्राप्त गर्नेछ। (उत्पत्ति २२:१८) तर यहाँ एउटा चुनौती खडा हुन्छ: अब्राहामका छानिएको सन्तान अर्थात् इस्राएलीहरू सबैले यहोवालाई प्रेम गरेनन्। समयको क्रममा धेरैजसो हठी र विद्रोही स्वभावका भए। तिनीहरूमध्ये कोही कोही नियन्त्रण गर्न नसकिने हदसम्म पुगे! (प्रस्थान ३२:९; व्यवस्था ९:७) जन्मजात कारणले गर्दा मात्र ती व्यक्तिहरू परमेश्वरका जनहरू भएका थिए, अन्यथा तिनीहरू परमेश्वरका जनहरू हुन चुनिने थिएनन्।
५. (क) मोशालाई दिइएको व्यवस्थाद्वारा यहोवाले इस्राएलीहरूलाई के सिकाउनुभयो? (ख) व्यवस्थापालकहरूको आचरणलाई प्रभाव पार्ने ढंगमा व्यवस्था कसरी तयार गरिएको थियो?
५ यस्ता मानिसहरूले प्रतिज्ञा गरिएको वंश जन्माएर उहाँद्वारा कसरी लाभान्वित होलान्? यहोवाले तिनीहरूलाई यन्त्रमानवलाई जस्तो नियन्त्रण गर्नुको साटो व्यवस्था मार्फत सिकाउनुभयो। (भजन ११९:३३-३५; यशैया ४८:१७) वास्तवमा “व्यवस्था” बुझाउने हिब्रू शब्द तोरह-को अर्थ “निर्देशन” हो। यसले के सिकायो? मुख्यतः यसले इस्राएलीहरूलाई आ-आफ्नो पापी अवस्थाबाट मोल तिरेर तिनीहरूलाई किन्ने व्यक्ति अर्थात् मसीहको खाँचो छ भनेर सिकायो। (गलाती ३:२४) व्यवस्थाले ईश्वरीय भय र आज्ञाकारिता पनि सिकायो। अब्राहामलाई गरेको प्रतिज्ञाअनुरूप इस्राएलीहरू अन्य राष्ट्रसमक्ष यहोवाका साक्षीहरू हुनुपर्थ्यो। त्यसकारण व्यवस्थाले यहोवालाई राम्ररी प्रतिबिम्बित गर्ने उच्च तथा श्रेष्ठ आचारसंहिता तिनीहरूलाई सिकाउनुपर्थ्यो। यसले इस्राएललाई वरपरका राष्ट्रहरूको भ्रष्ट रीतिहरूबाट अलग्ग हुन मदत गर्थ्यो।—लेवी १८:२४, २५; यशैया ४३:१०-१२.
६. (क) मोशालाई दिइएको व्यवस्थामा कति ऐनहरू थिए र त्यसलाई किन धेरै भन्नु मिल्दैन? (पादटिप्पणी हेर्नुहोस्।) (ख) मोशालाई दिइएको व्यवस्था अध्ययन गरेर हामीले कस्तो अन्तरदृष्टि प्राप्त गर्नसक्छौं?
६ अतः मोशालाई दिइएको व्यवस्थामा ६०० भन्दा धेरै ऐनहरू हुनु कुनै अनौठो कुरा होइन।a यस लिखितसंग्रहले उपासना, सरकार, नैतिकता, न्यायलगायत खाना र सुस्वास्थ्यसम्बन्धी कुराहरूमा समेत नियन्त्रण गर्थ्यो। त्यसोभए यसको अर्थ व्यवस्था भावशून्य विधिविधायन तथा रूखा आज्ञाहरू मात्र थिए त? कदापि थिएनन्! यस व्यवस्थासंग्रहको अध्ययनद्वारा यहोवाको मायालु व्यक्तित्वबारे अपार अन्तरदृष्टि पाउन सकिन्छ। केही उदाहरणहरू विचार गर्नुहोस्।
करुणा र दया प्रष्टै झल्कने व्यवस्था
७, ८. (क) व्यवस्थाले करुणा र दयालाई कसरी जोड दियो? (ख) दाऊदको सन्दर्भमा यहोवाले करुणामयी हुँदै कसरी व्यवस्था लागू गर्नुभयो?
७ व्यवस्थाले विशेषगरि दीनदुःखी वा कमजोरप्रति करुणा र दया देखाउन जोड दिन्छ। विधवाहरू तथा अनाथहरू सुरक्षा प्रदान गर्न छुट्याइएका थिए। (प्रस्थान २२:२२-२४) काममा लगाइने जनावरहरू पनि क्रूरताबाट जोगाइएका थिए। आधारभूत स्वामित्व हकहरूको आदर गरिन्थ्यो। (व्यवस्था २४:१०; २५:४) व्यवस्थाले हत्यारालाई मृत्युदण्ड तोकेको भए तापनि संयोगवश मारिएको मुद्दामा करुणा देखाउँथ्यो। (गन्ती ३५:११) स्पष्ट छ, केही अपराधीहरूलाई दण्ड सुनाउँदा त्यस अपराधीको मनोवृत्तिलाई आधार मान्दै इस्राएली न्यायकर्ताहरू अलि स्वतन्त्र भएर निर्णय गर्नसक्थे।—प्रस्थान २२:७ र लेवी ६:१-७ तुलना गर्नुहोस्।
८ आवश्यकताअनुसार कडाइसाथ न्याय गर्नुभएर अनि सम्भव भएको बेला करुणा प्रदर्शन गर्नुभएर यहोवाले न्यायकर्ताहरूको निम्ति उदाहरण बसाल्नुभयो। राजा दाऊदले जारी गरेका थिए, हत्या गरेका थिए तैपनि तिनीप्रति करुणा देखाइयो। यसको अर्थ तिनले दण्ड पाएनन् भनेको होइन। यहोवाले तिनलाई तिनको पापको दुःखदायी नतिजा भोग्न दिनुभयो। यद्यपि, राज्य करारको कारण र दाऊदको करुणामयी स्वभावका साथै गहिरो पश्चात्तापी मनोवृत्तिले गर्दा तिनी मारिएनन्।—१ शमूएल २४:४-७; २ शमूएल ७:१६; भजन ५१:१-४; याकूब २:१३.
९. मोशालाई दिइएको व्यवस्थामा प्रेमले कस्तो भूमिका निर्वाह गऱ्यो?
९ यसको अतिरिक्त मोशालाई दिइएको व्यवस्थाले प्रेममा जोड दिन्थ्यो। आज कुनै एउटा राष्ट्रको व्यवस्थासंग्रहले वास्तवमा प्रेम माग गरेको कल्पना गर्नुहोस्! यसरी मोशालाई दिइएको व्यवस्थाले हत्यामाथि प्रतिबन्ध लगाउनुका साथै “आफ्नो छिमेकीसँग आफैलाई झैं प्रेम गर” भन्ने आज्ञा पनि दियो। (लेवी १९:१८) यसले प्रवासीहरूप्रति अन्यायी व्यवहार गर्न निषेध मात्र गरेन तर “तिमीहरूले त्यसलाई आफूलाई झैं प्रेम गर्नू, किनभने तिमीहरू पनि मिश्रमा परदेशी थियौ” भन्ने आज्ञा पनि दियो। (लेवी १९:३४) यसले जारीलाई अवैध ठान्नुका साथै पतिले आफ्नी पत्नीलाई सुखी राखोस् भन्ने आज्ञा पनि दियो। (व्यवस्था २४:५) व्यवस्थाको पुस्तकमा मात्रै प्रेमको गुणस्तरलाई संकेत गर्ने हिब्रू शब्दहरू झन्डै २० पटक प्रयोग भएको छ। यहोवाले इस्राएलीहरूलाई विगतमा गर्नुभएको, वर्तमानमा गरिरहनुभएको र भविष्यमा गर्नुहुने प्रेमबारे आश्वासन दिनुभयो। (व्यवस्था ४:३७; ७:१२-१४) वास्तवमा मोशालाई दिइएको व्यवस्थाको सर्वमहत्त्वपूर्ण आज्ञा थियो: “तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सम्पूर्ण मनले, आफ्नो सम्पूर्ण प्राणले र आफ्नो सम्पूर्ण शक्तिले प्रेम गर।” (व्यवस्था ६:५) आफ्नो छिमेकीलाई प्रेम गर्नुलगायत सम्पूर्ण व्यवस्था यस आज्ञामा अडिएको छ भनेर येशूले बताउनुभयो। (लेवी १९:१८; मत्ती २२:३७-४०) त्यसैकारण भजनरचयिताले “तपाईंको व्यवस्थालाई म कस्तो प्रेम गर्दछु! दिनभरि मेरो ध्यान त्यसैमा रहन्छ,” भनेर लेख्नु अनौठो कुरा होइन।—भजन ११९:९७.
व्यवस्थाको दुरुपयोग
१०. यहूदीहरूले मोशालाई दिइएको व्यवस्थाको अधिकांश भागहरूलाई के गरे?
१० दुःखको कुरा, इस्राएलीहरूले मोशालाई दिइएको व्यवस्थाको पटक्कै कदर गरेनन्! मानिसहरूले व्यवस्था मानेनन्, त्यसलाई बेवास्ता गरे वा बिर्से। अन्य राष्ट्रका घीनलाग्दा धार्मिक रीतिहरूद्वारा तिनीहरूले शुद्ध उपासनालाई दूषित पारे। (२ राजा १७:१६, १७; भजन १०६:१३, ३५-३८) अनि तिनीहरूले अरू तरिकाहरूमा पनि व्यवस्थालाई धोका दिए।
११, १२. (क) एज्राको शेषपछि धार्मिक नेताहरूको कुन समूहले कसरी क्षति पुऱ्यायो? (पेटी हेर्नुहोस्।) (ख) पुरातन समयका रब्बीहरूले “व्यवस्थालाई बार हाल्नु” किन आवश्यक ठाने?
११ व्यवस्था सिकाउने र त्यसको संरक्षण गर्ने दाबी गर्नेहरूले नै व्यवस्थालाई सबैभन्दा क्षति पुऱ्याए। यो सा.यु.पू. पाँचौं शताब्दीका विश्वासी शास्त्री एज्राको शेषपछि भएको थियो। अन्य राष्ट्रहरूका भ्रष्ट प्रभावहरू विरुद्ध एज्रा निकै लडे र व्यवस्था पढ्न तथा सिकाउन तिनले निकै जोड दिए। (एज्रा ७:१०; नहेम्याह ८:५-८) व्यवस्थाका केही गुरुहरूले एज्राको पदचिह्नलाई पछ्याएको दाबी गरे र “महान्” भनिने “सभाधरहरू” खडा गरे। तिनीहरूको भनाइमा यो निर्देशन पनि समावेश थियो: “व्यवस्थालाई बार हाल्नू।” यी गुरुहरूले व्यवस्था बहुमूल्य बगैंचाजस्तै हो भन्ने तर्क गरे। त्यसैकारण कसैले पनि यो बगैंचाको व्यवस्था उल्लंघन गर्दै हस्तक्षेप गर्न नपाओस् भनेर तिनीहरूले थप व्यवस्थाहरू अर्थात् मानिसले त्यस्तो भूल नगरोस् भनेर “मौखिक व्यवस्था” बनाए।
१२ यहूदी नेताहरूले यस्तो महसुस गर्नु उचित थियो भनेर कसैले तर्क गर्लान्। एज्राको समयपछि यहूदीहरू विदेशी शक्ति विशेषगरि युनानको आधिपत्यमा परे। युनानी दर्शन र संस्कृतिको प्रभावसित लड्न यहूदीहरूबाट धार्मिक नेताहरूका समूहहरू देखा परे। (पृष्ठ १० को पेटी हेर्नुहोस्।) समयमा यी समूहहरूले व्यवस्थाका शिक्षक लेवी पूजाहारीत्वसित प्रतिद्वन्द्व गरेर तिनीहरूलाई उछिने। (मलाकी २:७ तुलना गर्नुहोस्।) सा.यु.पू २०० सम्ममा मौखिक व्यवस्थाले यहूदी जनजीवनमा असर पार्न थालिसकेको थियो। यी नियमहरूलाई लिखित व्यवस्था बराबर ठानिएला भन्ने डरको कारण सुरुमा यी लेखिएनन्। तर बिस्तारै मानव विचारले ईश्वरीय विचारको ठाउँ ओगट्न थाल्यो र आखिरमा रक्षाको निम्ति बनाइएको “बार[ले]” “बगैंचा[लाई]” नै भताभुंग पाऱ्यो।
फरिसीवादको प्रदूषण
१३. आफूले बनाएका थुप्रै नियमहरूको पक्षमा केही यहूदी धार्मिक नेताहरूले कस्तो तर्क पेश गरे?
१३ तोरह अर्थात् मोशालाई दिइएको व्यवस्था सिद्ध भएको हुँदा त्यसले हर प्रश्नहरूको जवाफ दिनुपर्छ भन्ने तर्क रब्बीहरूले गरे। यो विचार साँच्चै श्रद्धेय थिएन। वास्तवमा यसले रब्बीहरूलाई चलाखीसाथ मानव तर्क प्रयोग गर्ने स्वतन्त्रता दियो। र व्यक्तिगत तथा नगन्य विषयलगायत सबै थोकका लागि बनाइएका नियमहरूको आधार परमेश्वरको वचन हो भन्ने भान पर्न दियो।
१४. (क) अन्य राष्ट्रहरूसित अलग हुन दिइएको धर्मशास्त्रका साधारण नियमहरूलाई यहूदी धार्मिक नेताहरूले बंग्याएर कसरी अचाक्ली गरे? (ख) रब्बीहरूले बनाएका व्यवस्थाहरूले यहूदीहरूलाई मूर्तिपूजक प्रभावबाट जोगाउन सकेन भनेर के ले देखाउँछ?
१४ धार्मिक नेताहरूले धर्मशास्त्रका साधारण नियमहरूलाई बंग्याएर अचाक्ली गरे। उदाहरणका लागि, मोशालाई दिइएको व्यवस्थाले अन्य राष्ट्रहरूसित अलग हुन प्रोत्साहन दिएको थियो तर रब्बीहरूले प्रत्येक गैरयहूदी कुराहरूलाई अतार्किक हुँदै तिरस्कार गर्न सिकाए। अन्यजातिहरू “पशुसंभोग गर्छन् भन्ने शंका[को]” कारण यहूदीले आफ्नो बस्तुभाउलाई अन्यजातिको होटेलमा छोड्नु हुँदैन भनेर तिनीहरूले सिकाए। एउटी यहूदी आइमाईले अन्यजाति स्त्रीलाई प्रसव वेदनाको बेला मदत गर्न पाउँदिनन् थिइन्। किनकि यसो गरेर तिनले “मूर्तिपूजा गर्न एउटा बालकलाई जन्माउन मदत गरिरहेकी” हुनेथिइन्। युनानी जिम्नास्टिकबारे शंका गर्नु ठीक थियो। त्यसैकारण रब्बीहरूले खेलका सम्पूर्ण व्यायाममाथि प्रतिबन्ध लगाए। तर यी कुराहरूले यहूदीहरूलाई अन्यजातिहरूको विश्वासबाट जोगाउन सकेन भनेर इतिहास साक्षी छ। भनौं भने, फरिसीहरूले नै प्राण अमर छ भन्ने मूर्तिपूजक युनानी शिक्षा सिकाउन थाले!—इजकिएल १८:४.
१५. शुद्धीकरण र हाडनाताकरणीबारे दिइएका व्यवस्थाहरूलाई यहूदी धार्मिक नेताहरूले कसरी बंग्याए?
१५ शुद्धीकरणको व्यवस्थालाई पनि फरिसीहरूले बंग्याए। भनिन्छ, मौका मिले सूर्यलाई समेत फरिसीहरूले शुद्ध गर्ने थिए। “शौच जान” बियाँलो हुँदा मानिस अशुद्ध हुन्छ भन्ने व्यवस्था तिनीहरूले बनाएका थिए! कुन हात पहिला धुने र कसरी भन्ने नियमहरूले गर्दा हात धुनु एक जटिल धार्मिक विधि हुनगयो। आइमाईहरूलाई विशेषगरि अशुद्ध ठानिन्थ्यो। कुनै पनि नजीकको साइनुपर्ने व्यक्तिसित “नजीक” नजान (वास्तवमा हाडनाताकरणी विरुद्धको व्यवस्था) दिइएको धर्मशास्त्रीय आज्ञाको आधारमा रब्बीहरूले पति आफ्नी पत्नीको पछि हिंड्नु हुन्न नता तिनीसित बजारमा कुरा गर्नु हुन्छ भन्ने नियम बनाए।—लेवी १८:६.
१६, १७. साप्ताहिक विश्राम दिन मनाउनू भन्ने आज्ञालाई मौखिक व्यवस्थाले कसरी तन्कायो र यसको परिणाम के भयो?
१६ मौखिक व्यवस्था विश्राम दिनको व्यवस्थामा आधारित छ भनेर गरिएको आध्यात्मिक उपहास विशेषगरि कुख्यात छ। परमेश्वरले इस्राएललाई एउटा साधारण आज्ञा दिनुभएको थियो: हप्ताको सातौं दिन कुनै पनि काम नगर्नू। (प्रस्थान २०:८-११) तथापि, गाँठो बाँध्नु वा फुकाउनु, दुइ टाँका सिउनु, दुइ हिब्रू अक्षर कोर्नु र त्यस्तै केही ३९ विभिन्न प्रकारका निषेधित कार्यहरू थपेर मौखिक व्यवस्था विस्तृत पारियो। अनि यी प्रत्येक निषेधित कार्यको लागि टुंगो नलाग्ने थुप्रै नियमहरू चाहिन्थ्यो। कस्तो गाँठो निषेधित थियो र कस्तो थिएन? त्यसबारे मौखिक व्यवस्थाले मनमानी विधिविधायनहरू बनायो। रोग निदान गर्नुलाई पनि निषेधित कार्यको रूपमा लिइन्थ्यो। उदाहरणका लागि, विश्राम दिनमा हातखुट्टा भाँच्यो भने जोड्न पाइन्नथियो। दाँत दुखेको व्यक्तिले आफ्नो खानामा स्वादको लागि अमिलो हाल्न सक्थ्यो तर दाँतबाट अमिलो चुस्नु हुँदैनथियो। यसो गर्दा त्यस व्यक्तिको दाँत दुखेको निको हुन्थ्यो!
१७ मानव-निर्मित सयौं नियमहरूको बोझले दबिएर अधिकांश यहूदीहरूको कारण विश्राम व्यवस्थाको आध्यात्मिक अर्थ नै हरायो। “विश्राम-दिनको प्रभु” येशू ख्रीष्टले विश्राम दिनमा हृदयग्राही सनसनीपूर्ण चमत्कार गर्नुहुँदा शास्त्री तथा फरिसीहरूको हृदय पग्लेन। उहाँले तिनीहरूका विधिविधायनहरूलाई बेवास्ता गर्नुभयो भन्नुमा बाहेक तिनीहरूले अरू कुनै कुरामा मुख फोरेनन्।—मत्ती १२:८, १०-१४.
फरिसीहरूको भूलबाट पाठ सिक्ने
१८. मोशालाई दिइएको व्यवस्थामा मौखिक व्यवस्था तथा परम्पराहरू थप्नाले परिणाम के भयो? उदाहरण दिनुहोस्।
१८ सारांशमा भन्ने हो भने, जहाजमा बार्नाकल टाँसिएजस्तै यी थप व्यवस्था तथा परम्पराहरू मोशालाई दिइएको व्यवस्थामा टाँसिए। समस्या निम्त्याउने ती समुद्री जीवहरूलाई आफ्नो जहाजबाट खुर्केर हटाउन जहाजमालिकले निकै प्रयास गर्नुपर्छ। नत्रता ती जीवहरूले जहाजको गतिलाई धीमा पार्नुका साथै त्यसको खियाबाट बचाउने रङ नै उप्काइदिन्छ। त्यसैगरि मौखिक व्यवस्था तथा परम्पराहरूले व्यवस्थालाई असजिलो गहौं भारी बनाउनुका साथै दुरुपयोग हुन र मक्किन दियो। तथापि, यस्ता बाह्य व्यवस्थाहरूलाई खुर्कनुको साटो रब्बीहरू ती धमाधम थप्दैथिए। अनि व्यवस्था पूरा गर्न मसीह आउनु हुँदा त “बार्नाकल[ले]” टम्मै ढाकेर “जहाज” डुब्न मात्र बाँकी थियो! (हितोपदेश १६:२५ तुलना गर्नुहोस्।) व्यवस्थाको करारलाई सुरक्षित पार्नुको साटो यी धार्मिक नेताहरूले यसलाई धोका दिएर मूर्खता गरे। यद्यपि, के कारणले गर्दा तिनीहरूका नियमहरूको “बार” भत्कियो?
१९. (क) “व्यवस्थालाई बार हाल्नु” किन असफल भयो? (ख) यहूदी धार्मिक नेताहरूसित साँचो विश्वासको कमी थियो भनी के ले देखाउँछ?
१९ यहूदी मतका नेताहरूले भ्रष्टाचार विरुद्ध युद्ध हृदयमा लडिन्छ, व्यवस्थापुस्तकहरूका पृष्ठहरूमा होइन भनी बुझेनन्। (यर्मिया ४:१४) विजयी हुने कुञ्जी प्रेम अर्थात् यहोवा, उहाँको व्यवस्था र उहाँको धार्मिक सिद्धान्तहरूको लागि प्रेम हो। यस्तो प्रेमले हामीलाई यहोवाले घृणा गर्नुहुने कुरा घृणा गर्न लगाउँछ। (भजन ९७:१०; ११९:१०४) तसर्थ, प्रेमले हृदय भरिएकाहरू यस भ्रष्ट संसारमा पनि यहोवाका व्यवस्थाहरूप्रति विश्वासी भइरहन्छन्। यहूदी धार्मिक नेताहरूसित यस्तो प्रकारको प्रेमलाई बढावा दिन र उत्प्रेरित गर्न मानिसहरूलाई सिकाउने ठूलो सुअवसर थियो। तर तिनीहरू किन असफल भए? स्पष्ट छ, तिनीहरूसित विश्वास थिएन। (मत्ती २३:२३, NW, पादटिप्पणी) यहोवाको आत्माले विश्वासी मानिसहरूको हृदयमा काम गर्नसक्छ भन्ने विश्वास तिनीहरूमा भएको भए, तिनीहरूले कठोर भई अरूको जीवनलाई नियन्त्रण गर्ने थिएनन्। (यशैया ५९:१; इजकिएल ३४:४) विश्वासको कमीले गर्दा तिनीहरूले अरूसित विश्वास बाँड्नसकेनन्। बरु, तिनीहरूले मानिसहरूलाई मानव-निर्मित आज्ञाहरूको भारी बोकाए।—मत्ती १५:३, ९; २३:४.
२०, २१. (क) परम्परालाई जोड दिने मानसिकताले यहूदी मतलाई मोटामोटी रूपमा कस्तो असर गऱ्यो? (ख) यहूदी मतमा भएको घटनाबाट हामी के पाठ सिक्नसक्छौं?
२० ती यहूदी नेताहरूले प्रेमलाई बढावा दिएनन्। तिनीहरूको परम्पराले ढोंगी धर्म खडा गऱ्यो जसका देखावटी यान्त्रिक आज्ञाकारिताले कपट मौलाउने उर्वरा भूमि तयार पाऱ्यो। (मत्ती २३:२५-२८) तिनीहरूका विधिविधायनहरूले अरूको न्याय गर्ने अनगिन्ती कारणहरू प्रस्तुत गरे। त्यसैकारण घमण्डी, अरूको न्याय गर्न रुचाउने फरिसीहरूले येशू ख्रीष्टलाई नै आलोचना गर्न गलत ठानेनन्। तिनीहरूले व्यवस्थाको मूल उद्देश्य नै गुमाए र एक मात्र साँचो मसीहलाई तिरस्कार गरे। परिणामस्वरूप उहाँले त्यस यहूदी राष्ट्रलाई यसो भन्नुपऱ्यो: “हेर तिमीहरूको घर तिमीहरूका निम्ति उजाड़ छोड़िनेछ।”—मत्ती २३:३८; गलाती ३:२३, २४.
२१ यसबाट हामी कस्तो पाठ सिक्नसक्छौं? प्रष्ट छ, कठोर, परम्परालाई जोड दिने मानसिकताले यहोवाको शुद्ध उपासनालाई बढावा दिंदैन! तर के यसको अर्थ यहोवाका उपासकहरूले धर्मशास्त्रमा लेखेकोबाहेक अन्य नियम नै बनाउनु हुँदैन भनेको हो? होइन। यसको पूर्ण जवाफको लागि, मोशालाई दिइएको व्यवस्थालाई येशू ख्रीष्टले नयाँ र उत्तम व्यवस्थाद्वारा कसरी प्रतिस्थापन गर्नुभयो, अर्को पटक छलफल गरौं।
[फुटनोट]
a तैपनि आधुनिक राष्ट्रहरूका कानुन प्रणालीको तुलनामा त्यो अवश्य अति थोरै छ। उदाहरणका लागि, सन् १९९० दशकको प्रारम्भमा संयुक्त राज्य अमेरिकाको १,२५,००० पृष्ठे संघीय व्यवस्था थियो र वर्षेनी हजारौं नयाँ व्यवस्थाहरू त्यसमा थपिन्छ।
के तपाईं व्याख्या गर्न सक्नुहुन्छ?
◻ सम्पूर्ण सृष्टि ईश्वरीय व्यवस्थाद्वारा कसरी नियन्त्रित छ?
◻ मोशालाई दिइएको व्यवस्थाको मुख्य उद्देश्य के थियो?
◻ मोशालाई दिइएको व्यवस्थाले करुणा र दयामा जोड दिन्थ्यो भनी के ले देखाउँछ?
◻ यहूदी धार्मिक नेताहरूले मोशालाई दिइएको व्यवस्थामा किन अनगिन्ती नियमहरू थपे र यसको परिणाम के भयो?
[पृष्ठ १०-मा भएको पेटी]
यहूदी धार्मिक नेताहरू
शास्त्रीहरू: तिनीहरू आफूलाई एज्राको उत्तराधिकारी र व्यवस्था व्याख्या गर्नेहरूको रूपमा लिन्थे। यहूदीहरूको इतिहास (अंग्रेजी) पुस्तकअनुसार “शास्त्रीहरू त्यति आदरणीय थिएनन्। तिनीहरूले व्यवस्थामा लुकेका अर्थ पत्ता लगाउने प्रयास गर्दा अक्सर अर्थहीन नियम तथा बेकार प्रतिबन्धहरूको सूत्रपात भयो। यी प्रतिबन्धहरूलाई रीतिरिवाजले टेवा दियो र चाँडै यसले शोषण गर्न थाल्यो।”
हासिडीवाद: यस नाउँको अर्थ “पवित्र जनहरू” वा “सन्तहरू” हो। सा.यु.पू. २०० तिर पहिलो पटक वर्गको रूपमा उल्लेख भएको यो समूह राजनैतिक क्षेत्रमा शक्तिशाली र निरंकुश युनानी प्रभाव विरुद्ध व्यवस्थाको शुद्धताका कट्टर समर्थकहरू थिए। हासिडीवाद तीन समूहमा विभाजित भयो: फरिसीहरू, सदुकीहरू र एसेनीहरू।
फरिसीहरू: “छुट्याइएका जनहरू” वा “छुट्याइएकाहरू” भन्ने शब्दबाट यो नाउँ लिइएको हो भन्ने केही शास्त्रज्ञहरूको विश्वास छ। तिनीहरू गैरयहूदीहरूबाट छुट्टै देखिन चाहन्थे र यसका लागि तिनीहरू निकै हठधर्मी थिए। तर तिनीहरूले आफ्नो समूहलाई मौखिक व्यवस्थाको जटिलता नबुझ्ने साधारण यहूदी जनताबाट अलग वा उच्च पारे। एक इतिहासकारले फरिसीहरूबारे यसो भने: “साधारणतया तिनीहरूले पुरुषहरूलाई बच्चालाई जस्तो व्यवहार गर्थे र सानोभन्दा सानो धार्मिक प्रथा पनि व्याख्या गर्थे।” अर्को शास्त्रज्ञ यसो भन्छन्: “हरेक परिस्थितिको सामना गर्न फरिसीवादले थुप्रै कानुनी व्यवस्थाहरू बनाए। र यसको परिणामस्वरूप तिनीहरूले तुच्छ कुराहरूमा विवाद गरेर महत्त्वपूर्ण कुराहरूलाई तुच्छ तुल्याए (मत्ती २३:२३)।”
सदुकीहरू: कुलीनवर्ग र पूजाहारीत्वसित यस समूहको घनिष्ठ सम्बन्ध थियो। लिखित व्यवस्थाको जति मौखिक व्यवस्थाको मान्यता छैन भन्दै यिनीहरू शास्त्री र फरिसीहरूको घोर विरोध गर्थे। तर यिनीहरूले यो युद्ध हारे भनी मिश्नाहले नै देखाउँछ: “[लिखित] व्यवस्थाका शब्दहरूअनुसार [नगर्नेलाई] भन्दा सदुकीहरूका शब्दहरूअनुसार [गर्नेलाई] सख्त कारबाही गरिनेछ।” थुप्रै मौखिक व्यवस्थाका टिप्पणीहरू समावेश भएको ताल्मुदमा पछि यसो समेत लेखियो: “सदुकीहरूका शब्दहरू . . . तोरहका शब्दहरूभन्दा बहुमूल्य छन्।”
एसेनीहरू: बेग्लै सम्प्रदाय बनाउने सन्यासीहरूको समूह। द इन्टरप्रेटर्स डिक्शनरी अफ द बाइबल-अनुसार एसेनीहरू फरिसीहरूभन्दा धेरै कट्टर थिए। कहिलेकाहीं त तिनीहरू फरिसीहरूका पनि फरिसीहरू हुन्थे।”
[पृष्ठ ८-मा भएको चित्र]
सम्भवतः अय्यूबका आमाबाबुले तिनलाई नक्षत्रहरू नियन्त्रण गर्ने व्यवस्थाबारे सिकाए