तपाईंको जीवनमा सर्वमहत्त्वपूर्ण कुरा के हो?
“जुन मार्गमा मैले चल्नुपर्छ, त्यो मलाई जान्नदिनुहोस्।”—भजन १४३:८.
१. मानव कार्य तथा उपलब्धिहरूबारे राजा सुलेमान कस्तो निष्कर्षमा पुगे?
जीवन, क्रियाकलाप तथा चिन्ताहरूले भरिपूर्ण छ भनेर त तपाईंलाई थाहै होला। यसबारे सोच्नुहुँदा तीमध्ये कुनै कुनै कुरा अत्यावश्यक पनि पाउन सक्नुहुन्छ। अन्य क्रियाकलाप तथा चिन्ताहरू कम महत्त्वका वा व्यर्थसमेत पनि हुन्छन्। यो तथ्य बुझ्नुको अर्थ, तपाईं आजसम्मका सबैभन्दा बुद्धिमान पुरुषहरूमध्ये एक, राजा सुलेमानसित सहमत हुनुहुन्छ। जीवनका क्रियाकलापहरूलाई विस्तृत तवरमा नियालेपछि अन्तमा तिनले यसो भने: “[“साँचो,” NW] परमेश्वरको भय राख् र उहाँका आज्ञा पालन गर्। योबाहेक मानिसले गर्नुपर्ने अरू केही छैन।” (उपदेशक २:४-९, ११; १२:१३) आज हाम्रोनिम्ति यसको अर्थ के हो?
२. ईश्वरभीरु व्यक्तिहरूले आफैलाई कुन मूल प्रश्न र त्यससित सम्बन्धित अन्य कस्ता प्रश्नहरू सोध्नुपर्छ?
२ यदि तपाईं ‘साँचो परमेश्वरको भय राख्न र आज्ञा पालन गर्न’ चाहनुहुन्छ भने आफैलाई यस्तो चुनौतीपूर्ण प्रश्न सोध्नुहोस्, ‘मेरो जीवनमा सर्वमहत्त्वपूर्ण कुरा के हो?’ हो, तपाईंले दिनहुँ त्यस प्रश्नमाथि गौर नगर्नुभएको हुनसक्छ। त्यसो हो भने, त्यसबारे अहिले विचार गर्नुभए कसो होला? वास्तवमा यसले ‘के म आफ्नो जागिर वा पेशा वा भौतिक कुराहरूमा अचाक्ली जोड दिइरहेको हुनसक्छु? मेरो जीवनमा घरपरिवार तथा प्रियजनहरूले कस्तो स्थान ओगट्छन्?’ जस्ता केही सम्बन्धित प्रश्नहरू मनमा उत्पन्न गराउँछ। जवान व्यक्तिले चाहिं आफैलाई यसरी सोध्नसक्छन्, ‘म कुन हदसम्म शिक्षामा आफ्नो ध्यान र समय लगाउँछु? सोख, खेलकुद अथवा कुनै मनोरञ्जन वा प्रविधि के साँच्चै मेरो जीवनको प्रमुख चासोको विषय हो?’ अनि उमेर वा परिस्थिति जस्तोसुकै होस्, हामीले सोध्न उपयुक्त प्रश्न चाहिं यो हो, ‘मेरो जीवनमा परमेश्वरको सेवाले कुन स्थान पाएको छ?’ प्राथमिकता छुट्याउनु आवश्यक छ भनेर त तपाईं पक्कै पनि सहमत हुनुहुन्छ होला। तर हाम्रा प्राथमिकताहरू बुद्धिमानीपूर्वक निर्धारण गर्न कसरी र कहाँ मदत पाउनसक्छौं?
३. प्राथमिकताहरू निर्धारण गर्न मसीहीहरूले के के गर्नुपर्छ?
३ “सर्वमहत्त्वपूर्ण” शब्दले मूलतः सबैभन्दा अघि आउने वा सबैभन्दा पहिले विचार गर्नुपर्ने कुरालाई बोध गराउँछ। तपाईं चाहे यहोवाको साक्षी हुनुहोस् वा तिनीहरूसित संगत गरिरहेका परमेश्वरको वचनका लाखौं इमानदार विद्यार्थीहरूमध्ये नै हुनुहोस्, यो सत्यलाई विचार गर्नुहोस्: “सबै कुराको लागि एउटा समय छ, औ संसारमा सबै कामको बेला छ।” (उपदेशक ३:१) यसमा पारिवारिक सम्बन्धहरूप्रति मायालु चासो देखाउनु समावेश छ भन्नु अनुचित हुनेछैन। (कलस्सी ३:१८-२१) जागिर खाएर परिवारका आवश्यकताहरू इमानदारीसाथ प्रबन्ध गर्नु यसमा विथोलित छ। (२ थिस्सलोनिकी ३:१०-१२; १ तिमोथी ५:८) अनि जीवनको दौडमा केही परिवर्तन ल्याउन तपाईंले कुनै सोख वा कहिलेकाहीं मनोरञ्जन वा मोजमज्जाका लागि केही समय निकाल्नुहुन्छ होला। (मर्कूस ६:३१ तुलना गर्नुहोस्।) तथापि, गम्भीरतापूर्वक विचार गर्नुभयो भने, यीमध्ये कुनै पनि कुरा जीवनमा सर्वमहत्त्वपूर्ण छैन भनी तपाईंले थाह पाउनुहुन्छ, होइन र? अरू नै कुरा अझ महत्त्वपूर्ण छ।
४. हामीले प्राथमिकता निर्धारण गर्नुसित फिलिप्पी १:९, १० कसरी सम्बन्धित छ?
४ प्राथमिकता निर्धारण गर्न र बुद्धिमानी निर्णयहरू गर्न बाइबलका निर्देशनमूलक सिद्धान्तहरू निकै मूल्यवान् सहायकहरू हुन् भनेर तपाईंले बुझ्नुभएकै होला। उदाहरणका लागि, फिलिप्पी १:९, १० मा मसीहीहरूलाई “ज्ञान र सबै विवेकमा . . . झन् झन् प्रशस्त हुँदै” जान आग्रह गरिएको छ। तर कुन हदसम्म? प्रेरित पावलले अझै यसो भने: “यसरी अझ महत्त्वपूर्ण कुरा के हो, त्यसमा पक्का हुनसकोस्।” (NW) के यो ठीकै कुरा होइन र? सही ज्ञानको आधारमा बुद्धिमान मसीहीले जीवनमा पहिलो स्थान अर्थात् सर्वमहत्त्वपूर्ण कुरा के हो, त्यो निश्चित गर्नसक्छन्।
सर्वमहत्त्वपूर्ण कुरा के हो त्यसको नमुना
५. मसीहीहरूका निम्ति बसालिएको नमुनाबारे व्याख्या गर्दा येशूको जीवनमा सर्वमहत्त्वपूर्ण कुरा के थियो, धर्मशास्त्रले कसरी देखाउँछ?
५ प्रेरित पत्रुसका यी शब्दहरूमा हामी ज्ञानको बहुमूल्य पक्ष भेट्टाउछौं: “यसैको निम्ति तिमीहरू बोलाइएका हौ। किनभने तिमीहरूले उहाँको पाइलामा टेकेर हिंड़नालाई एक उदाहरण तिमीहरूलाई दिएर ख्रीष्टले पनि तिमीहरूका निम्ति दुःख भोग्नुभयो।” (१ पत्रुस २:२१) हो, जीवनमा सर्वमहत्त्वपूर्ण कुरा के हो भन्ने भेउ पाउन हामी येशू ख्रीष्टको विचारलाई जाँच्नसक्छौं। भजन ४०:८ ले उहाँबारे भविष्यसूचक ढंगमा यसो भन्यो: “हे मेरा परमेश्वर, तपाईंको इच्छाबमोजिम गर्न म प्रसन्न छु। तपाईंको व्यवस्था मेरो हृदयमा छ।” यही विचारलाई उहाँले यसप्रकार व्यक्त गर्नुभयो: “मलाई पठाउनेको इच्छा पूरा गर्नु, र उहाँको काम पूरा गर्नुनै मेरो भोजन हो।”—यूहन्ना ४:३४; हिब्रू १२:२.
६. परमेश्वरको इच्छालाई प्रथम स्थानमा राख्दा येशूले पाउनुभएका जस्तै परिणामहरू हामीले पनि कसरी प्राप्त गर्नसक्छौं?
६ त्यो कुञ्जीलाई ध्यान दिनुहोस्—परमेश्वरको इच्छा पूरा गर्नु। आफ्ना चेलाहरूले जीवनमा सर्वमहत्त्वपूर्ण स्थान दिनुपर्ने कुरा कुन थियो, येशूको उदाहरणले जोड दिन्छ किनकि उहाँकै शब्दअनुसार “हरेक निपुण भएपछि आफ्ना गुरु जत्तिकै हुनेछ।” (लूका ६:४०) अनि पिताको उद्देश्यअनुसारकै मार्गमा हिंड्नुभएर उहाँले के देखाउनुभयो भने, परमेश्वरको इच्छा पूरा गर्नु सर्वमहत्त्वपूर्ण कुरा मात्र नभई “आनन्दको भरपूरी” पनि थियो। (भजन १६:११; प्रेरित २:२८) के तपाईंले यसको मतलब बुझ्नुभयो? येशूका अनुयायीहरूले जीवनको सर्वमहत्त्वपूर्ण कुराको रूपमा परमेश्वरको इच्छा पूरा गर्ने छनौट गर्दा तिनीहरू “आनन्द[ले] भरपूरी” भएर साँच्चैको जीवनको आनन्द उठाउनेछन्। (१ तिमोथी ६:१९) अतः परमेश्वरको इच्छालाई हाम्रो जीवनमा प्राथमिकता दिनुको कारण एउटा मात्रै छैन अरू पनि छन्।
७, ८. येशूले कस्ता परीक्षाहरूको सामना गर्नुभयो र यसबाट हामी के सिक्नसक्छौं?
७ येशूले परमेश्वरको इच्छा पूरा गर्न आफैलाई अर्पण गर्ने बित्तिकै दियाबलले उहाँको मन फिराउन खोज्यो। कसरी? तीन क्षेत्रहरूमा प्रलोभन देखाएर। प्रत्येक पटक येशूले धर्मशास्त्रबाट सुस्पष्ट जवाफ दिनुभयो। (मत्ती ४:१-१०) तर सतावट, गिल्ला, यहूदाद्वारा धोका, झूटा आरोपहरू र अन्तमा शासनाको काठमा मृत्युजस्ता अन्य परीक्षाहरूले उहाँलाई पर्खिरहेका थिए। तैपनि यीमध्ये कुनै पनि परीक्षाले परमेश्वरको वफादार पुत्रलाई आफ्नो मार्गबाट विचलित पार्नसकेन। एउटा अत्यन्तै कठिन परि- स्थितिमा येशूले यसरी प्रार्थना गर्नुभयो: “मेरो इच्छाबमोजिम होइन, तर तपाईंको इच्छा बमोजिम होस्। . . . तपाईंकै इच्छा पूरा होस्।” (मत्ती २६:३९, ४२) येशूको भक्तिको नमुनाको यो पक्षले के हामी सबैमाथि अमेट छाप पारेर “प्रार्थनामा अटूटसँग लागि[रहन]” उत्प्रेरित गर्नुपर्ने होइन र?—रोमी १२:१२.
८ हो, आफ्नो जीवनमा प्राथमिकता निर्धारण गर्दा ईश्वरीय निर्देशन विशेषगरि मदतकारी हुन्छ। र सत्यका शत्रुहरू तथा परमेश्वरको इच्छाका विरोधीहरूको सम्मुख पर्दा त यो झनै मदतकारी हुन्छ। विश्वासी राजा दाऊदले शत्रुहरूको विरोध खप्नुपर्दा निर्देशनको निम्ति कसरी बिन्ती गरे, सम्झनुहोस् त। भजन १४३ का केही अंशलाई विचार गर्दा हामी यो बुझ्नेछौं। यसले हामीलाई यहोवासितको आफ्नो व्यक्तिगत सम्बन्धलाई कसरी बलियो पार्नसक्छौं अनि हाम्रो जीवनमा परमेश्वरको इच्छा निरन्तर पूरा गर्न कसरी सुदृढ हुनसक्छौं, त्यो बुझ्न मदत गर्नुपर्ने हो।
यहोवाले हाम्रा प्रार्थनाहरू सुन्नुहुन्छ र त्यसको जवाफ दिनुहुन्छ
९. (क) दाऊद पापी भए तापनि तिनका शब्द तथा कामहरूबाट के प्रकट हुन्छन्? (ख) जे सही छ, त्यो गर्न किन हरेस खानु हुँदैन?
९ दाऊद मरणशील पापी मानिस भए तापनि यहोवाले तिनको बिन्ती सुन्नुहुन्छ भन्ने विश्वास तिनलाई थियो। तिनले नम्रतापूर्वक यस्तो बिन्ती गरे: “हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस् मेरो बिन्तीमा कान थाप्नुहोस्। आफ्नो सत्यता र धार्मिकतामा मलाई जवाफ दिनुहोस्। आफ्नो दासको विरुद्धमा मामिला नउठाउनुहोस्। किनकि तपाईंको दृष्टिमा कुनै जीवित मानिस निर्दोष ठहरिनेछैन।” (भजन १४३:१, २) दाऊद आफ्नो असिद्धताबारे अनभिज्ञ थिएनन्। यद्यपि, तिनको हृदय पूर्णतया परमेश्वरप्रति अर्पित थियो। अतः धार्मिकतामा जवाफ पाउनेछु भनी तिनी विश्वस्त थिए। के यसले हामीलाई प्रोत्साहन दिंदैन र? परमेश्वरको धार्मिकताअनुरूप चल्न नसके तापनि हाम्रो हृदय पूर्णतया उहाँप्रति छ भने उहाँले हाम्रो प्रार्थना सुन्नुहुन्छ भनी हामी विश्वस्त हुनसक्छौं। (उपदेशक ७:२०; १ यूहन्ना ५:१४) प्रार्थनामा अटुटसँग लागिरहँदा यी दुष्ट दिनहरूमा हाम्रो उद्देश्य “खराबीलाई भलाईले [जित्न]” दत्तचित्त हुनैपर्छ।—रोमी १२:२०, २१; याकूब ४:७.
१०. दाऊद कस्ता तनाउग्रस्त अवस्थाहरूबाट गुज्रनु परेको थियो?
१० हाम्रोजस्तै दाऊदका पनि शत्रुहरू थिए। शाऊलको पञ्जाबाट उम्कन अनकन्टार ठाउँहरूमा शरण लिन बाध्य हुँदा वा राजा भइकन पनि शत्रुहरूबाट हैरान हुनुपर्दा दाऊद तनाउग्रस्त भएका थिए। यसले पारेको प्रभावबारे तिनले यसरी व्याख्या गरे: “शत्रुले मेरो प्राणको खेदो गरेको छ। . . . त्यसले मलाई अँध्यारा ठाउँहरूमा बस्न लगाएको छ। . . . यसकारण मेरो आत्मा मभित्र खिन्न भएको छ, मेरो हृदय मभित्रै दिक्क भएको छ।” (भजन १४३:३, ४) के तपाईंले पनि कुनै कारणवश यस्तै अनुभव गर्नुभएको छ?
११. परमेश्वरका आधुनिक सेवकहरूले कस्ता तनाउग्रस्त परिस्थितिहरू सामना गर्नुपरेका छन्?
११ शत्रुहरूको दबाब, कमजोर आर्थिक अवस्था, गम्भीर रोग वा अन्य चिन्तालाग्दो समस्याहरूजस्ता परीक्षाहरूले गर्दा परमेश्वरका केही जनहरूले अब अझै थाम्न नसकिएको महसुस गरेका छन्। कहिलेकाहीं तिनीहरूको हृदय मानौं शून्य भएका छन्। तिनीहरू व्यक्तिगत तवरमा यसरी चिच्याउँछन् जस्तै देखिन्छ: “तपाईं जसले [म]लाई धेरै ठूला ठूला कष्टहरू देखाउनुभयो, [म]लाई फेरि जीवित पार्नुहुनेछ, . . . र मलाई सान्त्वना दिनुहोस्।” (भजन ७१:२०, २१) तर तिनीहरूले कसरी मदत पाएका छन्?
शत्रुहरूका प्रयासहरूको सामना कसरी गर्ने
१२. राजा दाऊदले खतरा र परीक्षाहरूको सामना कसरी गरे?
१२ खतरा तथा ठूल-ठूला परीक्षाहरूले घेरिंदा दाऊदले के गरे, त्यसको संकेत भजन १४३:५ ले दिन्छ: “म उहिले उहिलेका दिनहरू सम्झन्छु। म तपाईंका सारा कार्यहरूमा ध्यान लगाउँछु। म तपाईंका हातको काममा विचार गर्छु।” परमेश्वरले आफ्ना सेवकहरूसित गर्नुभएको व्यवहार र तिनी आफैले अनुभव गरेको छुटकारा दाऊदले सम्झे। आफ्नो महान् नाउँको निम्ति यहोवाले गर्नुभएका कुराहरूमाथि तिनले मनन गरे। हो, दाऊदले परमेश्वरका कार्यहरूमा चिन्तनमनन गरिरहे।
१३. परीक्षा सम्मुख पर्दा पुरातन र आधुनिक समयका विश्वासी सेवकहरूको उदाहरण सम्झ्यौं भने धैर्यधारण गर्न कसरी मदत पाउँछौं?
१३ के हामीले पनि परमेश्वरले आफ्ना जनहरूसित गर्नुभएको व्यवहार अक्सर सम्झेका छैनौं र? अवश्य! यसमा मसीहीपूर्व समयका ‘गवाहीका मेघको’ अभिलेख पनि समावेश छ। (हिब्रू ११:३२-३८; १२:१) प्रथम शताब्दीका अभिषिक्त मसीहीहरूलाई पनि ‘अघाड़िका दिनहरू सम्झन’ तथा तिनीहरूले सहेका कुराहरू स्मरण गर्न प्रोत्साहन दिइएको थियो। (हिब्रू १०:३२-३४) अनि यहोवाका साक्षीहरू—परमेश्वरको राज्यका उद्घोषकहरू-जस्ता (अंग्रेजी) प्रकाशनहरूमा बेलिविस्तार दिइएका परमेश्वरका आधुनिक समयका सेवकहरूको अनुभव नि?a त्यस पुस्तकमा र अन्य प्रकाशनहरूमा दिइएका विवरणहरूले प्रतिबन्ध, जेल सजाय, दंगाफसादलगायत यातना तथा दास-श्रम शिविरहरूमा धैर्यधारण गर्न यहोवाले आफ्ना जनहरूलाई कसरी मदत गर्नुभयो, त्यो स्मरण गर्न मदत गर्छ। बुरूण्डी, रूवाण्डा, लाइबेरिया र पहिलेको युगोस्लाभियाजस्ता युद्धग्रस्त मुलुकहरूमा पनि परीक्षाहरू आइपरेका थिए। परमेश्वरसित बलियो सम्बन्ध कायम गरेको कारण विरोध आइपर्दा पनि परमेश्वरका सेवकहरूले धैर्यधारण गर्नसके। जीवनमा परमेश्वरको इच्छालाई सर्वमहत्त्वपूर्ण स्थान दिनेहरूलाई उहाँले सँभाल्नुभयो।
१४. (क) शायद हामीले जस्तै परिस्थिति भोगिरहेकी व्यक्तिलाई परमेश्वरले सँभाल्नुभएको एउटा उदाहरण के हो? (ख) त्यो उदाहरणबाट तपाईं के सिक्नुहुन्छ?
१४ तथापि, तपाईं भन्नु होला, यस्ता क्रूर दुर्व्यवहार त मैले भोग्नु परेको छैन र तपाईंलाई त्यस्तो कहिल्यै हुनैछैन जस्तो पनि लाग्ला। यद्यपि, परमेश्वरले नाटकीय परिस्थितिहरूमा मात्रै आफ्ना जनहरूलाई सहयोग गर्नुहुन्छ भन्ने धारणा केहीले राखेका होलान् तर सधैं त्यसो भएको छैन। उहाँले थुप्रै “साधारण” व्यक्तिविशेषहरूलाई “सामान्य” परिस्थितिहरूमा पनि सहयोग गर्नुभएको छ। त्यस्ता धेरै उदाहरणहरूमध्ये एउटा यहाँ प्रस्तुत छ: डिसेम्बर १, १९९६ को प्रहरीधरहरा-मा पेनलपी माकरिसको वृत्तान्त छापिएको थियो। मसीही निष्ठाको कस्तो अत्युत्तम उदाहरण! तिनले छरछिमेकीको हातबाट के कस्तो सतावट सहिन्, आफ्नो गम्भीर शारीरिक अशक्ततासित कसरी जुझिन् र पूर्ण-समय सेवकाईमा लागिरहन कस्ता प्रयासहरू गरिन्, के तपाईं सम्झन सक्नुहुन्छ? अनि मिटेलेनेको इनामदायी अनुभव नि? भन्न खोजिएको कुरा के हो भने, यस्ता उदाहरणहरूले हामी सबैलाई प्राथमिकताहरू निर्धारण गर्न र जीवनमा परमेश्वरको इच्छा पूरा गर्नुलाई प्रथम स्थान दिन मदत गर्छ भनेर के तपाईंले विचार गर्नुभएको छ?
१५. हामीले मनन गर्नुपर्ने यहोवाका केही कार्यहरू के हुन्?
१५ दाऊदले जस्तै यहोवाका क्रियाकलापहरूमा मनन गर्न यसले हामीलाई बल दिन्छ। आफ्नो उद्देश्य पूरा गर्न यहोवाले आफ्नो पुत्रको मृत्यु, पुनरुत्थान र महिमा मार्फत छुटकाराको प्रबन्ध गर्नुभयो। (१ तिमोथी ३:१६) उहाँले स्वर्गमा आफ्नो राज्य स्थापना गर्नुभएको छ, शैतान र उसका प्रेतहरूलाई धपाएर स्वर्ग सफा पार्नुभएको छ र पृथ्वीमा साँचो उपासना पुनर्स्थापित गर्नुभएको छ। (प्रकाश १२:७-१२) उहाँले आध्यात्मिक प्रमोदवन निर्माण गर्नुभएको छ र आफ्ना जनहरूको वृद्धि गराउनुभएको छ। (यशैया ३५:१-१०; ६०:२२) उहाँका जनहरू अहिले अर्थात् महासंकष्ट सुरु हुनु अगावै अन्तिम पटक साक्षी दिइरहेका छन्। (प्रकाश १४:६, ७) हो, हामीले मनन गर्नुपर्ने थुप्रै कुराहरू छन्।
१६. कुन कुरामा चिन्तन गर्न हामीलाई प्रोत्साहन दिइएको छ र यसले हामीमाथि कस्तो अमेट छाप पार्नेछ?
१६ मानिसका प्रयत्नहरूमा भुलिनुको साटो परमेश्वरको हातका कार्यहरूमा मनन गरिरह्यौं भने यसले यहोवाको शक्ति अत्यन्तै आकर्षक हुँदो रहेछ भन्ने अमेट छाप हामीमा पार्छ। यद्यपि, उहाँका कार्यहरू स्वर्ग र पृथ्वीको अद्भुत भौतिक सृष्टिहरूमा मात्र सीमित छैनन्। (अय्यूब ३७:१४; भजन १९:१; १०४:२४) उहाँका अद्भुत कार्यहरूमा अत्याचारी शत्रुहरूको पञ्जाबाट आफ्ना जनहरू- लाई छुटाउनुभएका कार्यहरू पनि समावेश छन्। र यो पुरातन समयमा उहाँका जनहरूका अनुभवहरूमा प्रकट भयो।—प्रस्थान १४:३१; १५:६.
कुन मार्गमा हिंड्नुपर्ने हो, त्यो थाह पाउने
१७. दाऊदको लागि यहोवा कत्तिको वास्तविक हुनुहुन्थ्यो र यो कुराबाट हामीले कसरी आश्वासन पाउनसक्छौं?
१७ जीवन नै सुक्ने हो कि भन्ने डरले गर्दा दाऊदले सहायताको लागि यसरी प्रार्थना गरे: “म मेरा हात तपाईंतिर पसार्छु। मेरो प्राण बाँझो जमीनझैं तपाईंको निम्ति तिर्खाउँछ। मलाई जवाफ दिन चाँडो गर्नुहोस्। हे परमप्रभु, आफ्नो मुख मबाट नलुकाउनुहोस्, नत्रता मेरो आत्मा निराश हुन्छ। नत्रता म खाड़लमा पर्नेहरूझैं हुनेछु।” (भजन १४३:६, ७) पापी दाऊदलाई तिनको परिस्थितिसित परमेश्वर अनभिज्ञ हुनुहुन्न भनेर थाह थियो। (भजन ३१:७) कहिलेकाहीं हामीलाई पनि आफ्नो आध्यात्मिकता निकै खस्किएको जस्तो लाग्नसक्छ। तर आशा मार्नु पर्दैन। हाम्रो प्रार्थना सुन्नुहुने यहोवाले मायालु प्राचीनहरू, हाम्रैनिम्ति तयार पारिएझैं लाग्ने प्रहरीधरहरा-का लेखहरू वा सभाहरूको कुनै भाग मार्फत हामीलाई फेरि स्फूर्ति दिन बियाँलो गर्नुहुनेछैन।—यशैया ३२:१, २.
१८, १९. (क) यहोवालाई हामीले कस्तो निष्कपट बिन्ती गर्नुपर्छ? (ख) कुन कुरामा हामी पक्का हुनसक्छौं?
१८ यहोवामाथिको भरोसाले उहाँसित यस्तो बिन्ती गर्न हामीलाई उत्प्रेरित गर्छ: “तपाईंको करुणा मलाई सुन्नलाउनुहोस्। किनकि तपाईंमानै म भरोसा गर्छु। जुन मार्गमा मैले चल्नुपर्छ, त्यो मलाई जान्नदिनुहोस्। किनकि म मेरो मन तपाईंतिर लगाउँछु।” (भजन १४३:८) के उहाँले ग्रीसको द्वीपमा कुनै सहयोगीबिना एक्लै परेकी बहिनी माकरिसलाई निराश तुल्याउनुभयो र? त्यसोभए, उहाँको इच्छाअनुसार चल्नुलाई नै तपाईं आफ्नो जीवनमा सर्वमहत्त्वपूर्ण कुरा बनाउनुहुन्छ भने के उहाँले तपाईंलाई निराश तुल्याउनुहुन्छ होला र? परमेश्वरको राज्यको उद्घोषणा गर्ने हाम्रो कार्यलाई दियाबल र त्यसका दूतहरूले बाधा दिन वा पूर्णतया रोक्न चाहन्छ। अतः, सामान्यतः साँचो उपासना गर्न अनुमति दिइएको ठाउँमा अथवा प्रतिबन्ध लागिएको ठाउँमा सेवा गरिरहेका छौं भने तापनि हाम्रो एकताबद्ध प्रार्थनाहरू दाऊदको यो अर्जबिन्तीसित मेल खान्छ: “हे परमप्रभु, मलाई मेरा शत्रुहरूबाट छुटकारा दिनुहोस्। म लुक्न भनी तपाईंकहाँ भाग्दै आउँछु।” (भजन १४३:९) परमप्रधानको गुप्त ठाउँमा बस्नु नै आध्यात्मिक विपत्तिबाट जोगिने ठूलो सुरक्षा हो।—भजन ९१:१.
१९ सर्वमहत्त्वपूर्ण कुरा के हो भन्ने हाम्रो आस्था ठोस कुरामा आधारित छ। (रोमी १२:१, २) अतः यस संसारले मानव योजनाअनुसार महत्त्वपूर्ण देखिएका कुराहरू तपाईंमाथि पनि थोपर्ने प्रयास गरेमा त्यसको विरोध गर्नुहोस्। परमेश्वरको इच्छा गर्नु नै सर्वमहत्त्वपूर्ण कुरा हो भनेर थाह पाइसकेको हुनाले जीवनको हरेक पक्षमा त्यो प्रतिबिम्बित गरिरहनुहोस्।—मत्ती ६:१०; ७:२१.
२०. (क) भजन १४३:१-९ पढेर हामीले दाऊदबारे के सिकेका छौं? (ख) आज मसीहीहरूले दाऊदको भावना कसरी झल्काउँछन्?
२० भजन १४३ का प्रथम नौ पदहरूले परमेश्वर र दाऊदबीचको घनिष्ठ सम्बन्धमाथि जोड दिन्छन्। शत्रुहरूको घेराउमा पर्दा तिनले नहिचकिचाई परमेश्वरसित निर्देशन मागे। सही मार्गमा हिंड्ने मदत खोज्दै तिनले आफ्नो मनको बह पोखे। आज पृथ्वीमा रहेका आत्मा-अभिषिक्त शेष जनहरू र तिनीहरूका सहयोगीहरू पनि त्यसै गर्छन्। यहोवासितको आफ्नो सम्बन्धलाई बहुमूल्य ठान्दै तिनीहरू निर्देशनको लागि उहाँलाई बिन्ती गर्छन्। दियाबल र यस संसारका दबाबहरूको बावजूद परमेश्वरको इच्छा गर्नुलाई नै तिनीहरू सबैभन्दा पहिलो स्थानमा राख्छन्।
२१. अरूलाई तिनीहरूको जीवनमा सर्वमहत्त्वपूर्ण कुरा के हो भनी सिकाउने हो भने हामीले असल उदाहरण कायम गर्नु किन महत्त्वपूर्ण छ?
२१ यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गरिरहेका लाखौं मानिसहरूले पनि परमेश्वरको इच्छा गर्नु नै सर्वमहत्त्वपूर्ण कुरा रहेछ भनेर बुझ्नु आवश्यक छ। ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ भन्ने पुस्तकको अध्याय १३ छलफल गर्दा हामी तिनीहरूलाई यो कुरा बुझ्ने मदत दिनसक्छौं।b किनकि उक्त अध्यायले वचन पालन गर्ने व्यक्ति बन्नुमा के कस्ता सिद्धान्तहरू विथोलित छन्, त्यसमा जोड दिन्छ। निस्सन्देह, हामीले सिकाइरहेको कुरा हामीले नै पालन गरिरहेको पनि तिनीहरूले देख्नुपर्छ। त्यसो गऱ्यौं भने, आफू हिंड्नुपर्ने मार्ग कुन रहेछ, त्यो बुझ्न तिनीहरूलाई बेर लाग्नेछैन। अनि आफ्नो जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा के रहेछ, व्यक्तिगत तवरमा बुझेपछि यी लाखौं व्यक्तिहरूमध्ये धेरै जना समर्पण र बप्तिस्मा लिन उत्प्रेरित हुनेछन्। त्यसपछि मण्डलीले तिनीहरूलाई जीवनको मार्गमा हिंडिरहन मदत दिनसक्छ।
२२. यसपछिको लेखमा के कस्ता प्रश्नहरूबारे छलफल गरिनेछ?
२२ आफ्नो जीवनमा परमेश्वरको इच्छा नै सर्वमहत्त्वपूर्ण कुरा हुनुपर्ने हो भनेर धेरैले सहजै स्वीकार्छन्। यद्यपि, यहोवाले आफ्नो इच्छाअनुसार चल्न सिकाउन आफ्ना सेवकहरूलाई कसरी प्रगतिशील ढंगमा सिकाउनुहुन्छ? त्यसो गरेमा तिनीहरूलाई के कस्ता फाइदाहरू हुन्छ? यसपछिको लेखमा मूल पद भजन १४३:१० को साथसाथै यी प्रश्नहरूमाथि पनि छलफल गरिनेछ।
[फुटनोटहरू]
a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा सन् १९९३ मा प्रकाशित।
b वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा सन् १९९५ मा प्रकाशित।
तपाईंको जवाफ के छ?
◻ फिलिप्पी १:९, १० प्रयोग गर्दै हामी कसरी प्राथमिकता तय गर्नसक्छौं?
◻ आफ्नो जीवनमा सर्वमहत्त्वपूर्ण कुरा के हो, येशूले कसरी देखाउनुभयो?
◻ दाऊदले परीक्षामा पर्दा जे गरे, त्यसबाट हामी के सिक्नसक्छौं?
◻ भजन १४३:१-९ ले हामीलाई आज कुन ढंगमा मदत गर्छ?
◻ हाम्रो जीवनमा सर्वमहत्त्वपूर्ण कुरा के हुनुपर्छ?
[पृष्ठ १०-मा भएको चित्र]
दाऊदका कार्यहरूले तिनी यहोवामा भर पर्थे भन्ने प्रमाण दिए
[स्रोत]
Reproduced from Illustrirte Pracht - Bibel/Heilige Schrift des Alten und Neuen Testaments, nach der deutschen Uebersetzung D. Martin Luther’s