यहोवाको वचन जीवित छ
भजनसंग्रहको दोस्रो खण्डका विशेषताहरू
हामी यहोवाका सेवक हौं। त्यसकारण हामीमाथि अनेकौं परीक्षा आइपर्न सक्छ। प्रेरित पावलले लेखे: “ख्रीष्ट येशूमा भक्तिसँग जीवन बिताउन इच्छा गर्नेहरू ता सबै जना खेदोमा पर्नेछन्।” (२ तिमोथी ३:१२) कुन कुराले हामीलाई परीक्षा र सतावट सहन अनि परमेश्वरप्रति निष्ठावान् रहिरहन मदत गर्न सक्छ?
भजनसंग्रहका पाँचवटा खण्डमध्ये दोस्रो खण्डले यस्तो मदत दिन्छ। डटेर परीक्षाहरूको सामना गर्न चाहन्छौं भने, यहोवामाथि पूर्ण भरोसा राख्नै पर्छ र छुटकाराको लागि उहाँको बाटो हेर्न सिक्नै पर्छ। हाम्रो लागि कत्ति अमूल्य पाठ, हैन र? भजनसंग्रहको दोस्रो खण्डमा पाइने सन्देश, परमेश्वरको वचनका अरू सन्देशजस्तै आज पनि “जीवित र प्रबल” छ।—हिब्रू ४:१२.
“परमेश्वर हाम्रो शरणस्थान र बल हुनुहुन्छ”
एक जना लेवी निर्वासनमा छन्। यहोवाको मन्दिरमा गएर उहाँको उपासना गर्न नपाएकोमा तिनको मन खिन्न छ। त्यसैले तिनी आफूलाई यसो भनेर सान्त्वना दिन्छन्: “हे मेरो आत्मा, तँ किन मभित्रै खिन्न हुन्छस्? . . . परमेश्वरमा आशा राख्।” (भजन ४२:५, ११; ४३:५) यही पद भजन अध्याय ४२ र ४३ मा घरीघरी दोहोरिएर एउटा कविता बनेको छ। भजन अध्याय ४४ मा यहूदा राष्ट्रको लागि गरिएको बिन्ती छ। राजा हिजकियाहको पालामा अश्शूरीहरूले आक्रमण गर्लान् भन्ने डरले होला त्यस राष्ट्रलाई आपत् परेको छ।
भजन अध्याय ४५ मा राजाको विवाहबारे रचिएको गीत मसीही राजालाई सङ्केत गर्ने भविष्यसूचक गीत हो। यसपछिका तीनवटा भजनमा यहोवालाई “शरणस्थान र बल”, “सारा पृथ्वीभरिका महाराजाधिराज” र “अल्गा अल्गा शरणस्थान[को]” रूपमा चित्रण गरिएको छ। (भजन ४६:१; ४७:२; ४८:३) भजन अध्याय ४९ मा चाहिं “कसैले पनि कुनै किसिमले आफ्ना भाइलाई मोल तिरेर छुटाउनसक्तैन” भन्ने कुरा सुन्दर ढङ्गमा वर्णन गरिएको पाइन्छ। (भजन ४९:७) दोस्रो खण्डका पहिलो आठवटा भजन कोरहका छोराहरूले लेखेका हुन् भने, भजन अध्याय ५० अर्थात् नवौं भजनचाहिं आसापले रचेका हुन्।
धर्मशास्त्रीय प्रश्नहरूको जवाफ:
४४:१९—“स्यालहरूका ठाउँ” के थियो? भजनहारले रणभूमिलाई सङ्केत गरिरहेको हुनुपर्छ, जहाँ मरेका मानिसको लास स्यालहरूले खान्छन्।
४५:१३, १४क—“राजाकहाँ पुऱ्याइने” “राजकुमारी” को हुन्? तिनी “महाराजा” यहोवा परमेश्वरकी छोरी हुन्। (प्रकाश १५:३) त्यस राजकुमारीले १,४४,००० मसीही मिलेर बनेको महिमित मण्डलीलाई चित्रण गर्छ। यहोवाले १,४४,००० लाई आफ्नो आत्माद्वारा अभिषेक गरेर छोराछोरीको रूपमा स्वीकार्नुहुन्छ। (रोमी ८:१६) “पतिको निम्ति दुलही जस्तैगरी सिंगारिएर तयार पारिराखेकी” यहोवाका “राजकुमारी” अर्थात् छोरीलाई दुलाहा मसीही राजाकहाँ ल्याइनेछ।—प्रकाश २१:२.
४५:१४ख, १५—“कुमारी सहेलीहरू[ले]” कसलाई चित्रण गर्छ? यसले साँचो उपासकहरूको ‘ठूलो भीडलाई’ चित्रण गर्छ, जसले पृथ्वीमा बाँकी रहेका अभिषिक्त जनहरूसित सम्मिलित भएर उनीहरूलाई सहायता गर्छन्। तिनीहरू जिउँदै ‘महा सङ्कष्टबाट आउने’ भएकाले स्वर्गमा मसीही राजाको विवाह सिद्धिंदा तिनीहरू पृथ्वीमा हुनेछन्। (प्रकाश ७:९, १३, १४) त्यतिखेर उनीहरू “खुशी र आनन्द[ले]” गद्गद हुनेछन्।
४५:१६—कुन अर्थमा पुर्खाका सट्टामा छोराहरू हुनेछन्? येशू पृथ्वीमा जन्मिनुहुँदा उहाँका पार्थिव पुर्खाहरू थिए। आफ्नो हजार वर्षे शासनकालमा येशूले ती पुर्खाहरूको पुनरुत्थान गर्नुहुँदा उनीहरू उहाँका छोराहरू हुनेछन्। तीमध्ये कोही-कोही “पृथ्वीभरिका राजकुमार” नियुक्त हुनेछन्।
५०:२—यरूशलेमलाई “परम सुन्दर” भनिएको छ, किन? सहरको बाहिरी रूपले गर्दा यरूशलेमलाई परम सुन्दर भनिएको थिएन। बरु, यहोवाले प्रयोग गर्नुभएको कारण र मन्दिर खडा गर्नुका साथै आफूले अभिषेक गरेका राजाहरूको राजधानी बनाउनुभएकोले यरूशलेमलाई परम सुन्दर भनिएको थियो।
हाम्रो लागि पाठ:
४२:१-३. सुक्खा ठाउँमा मुडुली मृगले पानीको तिर्सना गरेझैं लेवीले पनि यहोवाको तिर्सना गरे। यहोवाको मन्दिरमा उहाँको उपासना गर्न नपाउँदा ती लेवी यत्ति उदास भए कि ‘तिनको आँसु रातदिन तिनको आहारा भए।’ अर्को शब्दमा भन्नुपर्दा, तिनलाई केही खानै मन लागेन। के हामीले पनि सँगी भाइबहिनीसँग मिलेर यहोवाको उपासना गर्ने त्यस्तै गहिरो इच्छा जगाउनु पर्दैन र?
४२:४, ५, ११; ४३:३-५. हाम्रो वशबाहिरको कुराले गर्दा केही समयको लागि मसीही मण्डलीदेखि टाढिनुपऱ्यो भने पहिला-पहिला मण्डलीमा उपस्थित हुँदा प्राप्त गरेको मीठो सम्झानाले हामीलाई सम्हाल्न सक्छ। मण्डलीदेखि टाढिनुपर्दा सुरु-सुरुमा साह्रै एक्लो महसुस हुन सक्छ तर यसले हामीलाई यहोवा हाम्रो शरणस्थान हुनुहुन्छ र छुटकाराको लागि उहाँको बाटो हेर्नुपर्छ भनेर सम्झाउनेछ।
४६:१-३. हामीमाथि जस्तोसुकै विपत्ति आइपरोस्, “परमेश्वर हाम्रो शरणस्थान र बल हुनुहुन्छ” भनेर हामीले दृढ विश्वास गर्नै पर्छ।
५०:१६-१९. छली कुरा गर्ने र खराब काम गर्ने व्यक्तिलाई परमेश्वरबारे कुरा गर्ने हक छैन।
५०:२०. अरूको गल्तीबारे कुरा गर्दै हिंड्नुको सट्टा त्यसलाई वास्ता नगर्ने प्रयास गर्नुपर्छ।—कलस्सी ३:१३.
“ए मेरो आत्मा, . . . परमेश्वरको बाटो हेरिरह”
भजनसंग्रहको यो समूह बेतशेबासित पाप गरेपछि दाऊदले हृदयबाटै गरेको प्रार्थनाबाट सुरु हुन्छ। भजन अध्याय ५२ देखि ५७ सम्म लेखिएका कुराले आफ्नो बोझ यहोवामाथि बिसाउने र छुटकाराको लागि उहाँको बाटो हेर्नेहरूलाई उहाँ बचाउनुहुन्छ भन्ने कुरा देखाउँछ। भजन अध्याय ५८ देखि ६४ मा उल्लिखित कुराबाट चाहिं संकष्टमा परेको बेला दाऊदले यहोवालाई आफ्नो शरणस्थान बनाए भन्ने कुरा थाह हुन्छ। दाऊद यसो भन्दै गाउँछन्: “ए मेरो आत्मा, तँचाहिं केवल परमेश्वरको बाटो हेरिरह, किनकि मेरो आशा उहाँमै छ।”—भजन ६२:५.
हाम्रा मुक्तिदाता यहोवासितको आत्मीयताले हामीलाई “उहाँको नाउँको महिमाको स्तुति” गाउन झकझकाउनुपर्ने हो। (भजन ६६:२) भजन अध्याय ६५ मा उदारचित्तले दिनुहुने परमेश्वरको रूपमा यहोवाको प्रशंसा गरिएको छ। भजन अध्याय ६७ र ६८ मा उहाँलाई छुटकारा दिने परमेश्वर भनिएको छ भने, भजन अध्याय ७० र ७१ मा चाहिं मुक्ति दिने परमेश्वरको रूपमा वर्णन गरिएको छ।
धर्मशास्त्रीय प्रश्नहरूको जवाफ:
५१:१२—दाऊदले कसको “राजी-खुशीको आत्माले” मलाई सँभाल्नुहोस् भनिरहेका थिए? यसले न त दाऊदलाई मदत गर्ने परमेश्वरको इच्छालाई बुझाउँछ न उहाँको पवित्र आत्मालाई नै। यसले त दाऊदको मनस्थितिलाई बुझाउँछ। जे कुरा असल छ त्यही गर्ने इच्छा मलाई दिनुहोस् भनेर तिनले परमेश्वरलाई प्रार्थना गरिरहेका छन्।
५३:१—परमेश्वर हुनुहुन्न भन्ने व्यक्ति कसरी “मूर्ख” हुन्छ? यहाँ प्रयोग भएको मूर्ख शब्दले बुद्धि नभएको व्यक्तिलाई सङ्केत गर्दैन। यसले त नैतिक रूपमा मूर्ख व्यक्तिलाई सङ्केत गर्छ। नैतिकता पतन भयो भने के-के हुन्छ भन्ने कुरा भजन ५३:१-४ सम्म पढेर थाह पाउन सक्छौं।
५८:३-५—कुन अर्थमा दुष्टहरू सर्पजस्तै हुन्छन्? दुष्टहरूले अरूबारे फैलाउने झूटो कुरा सर्पको विषजस्तै हुन्छ। तिनीहरूले अरूको असल नाउँलाई धुलोमा मिलाइदिन्छन्। “बहिरा साँबे सर्पजस्तै” तिनीहरू अरूले दिएको सल्लाह सुन्दैनन् अथवा आफूलाई सच्च्याउन तयार हुँदैनन्।
५८:७—कसरी दुष्टहरू “लगातार बगेर गएको पानीजस्तै हराइ” जान्छन्? दाऊदले प्रतिज्ञा गरिएको देशका बेंसीहरूमा पानी उर्लेर आएको सम्झिरहेका हुन सक्छन्। एकैछिन मुसलधारे पानी पर्दा बेंसीमा भेल उर्लेर आउँछ र एकछिनमै कता पुग्छ कता! दुष्टहरूको सर्वनाश पनि त्यसै गरी छिटो होस् भनेर दाऊदले प्रार्थना गरिरहेका थिए।
६८:१३—“ढुकुरका चाँदीले ढाकेका पखेटा र सुनौला प्वाँख[को]” अर्थ के हो? नीलो-निलो र खरानी-खरानी रङ्गका कुनै-कुनै ढुकुरको केही भुत्ला इन्द्रेणी रङ्गजस्तै टल्किन्छ। घामको सुनौलो किरणमा तिनीहरूको प्वाँख धातुजस्तै टल्किन्छ। दाऊदले लडाइँबाट फर्केका इस्राएलका विजयी योद्धाहरूलाई बेतोडले उड्ने र सुन्दर देखिने यस्तो ढुकुरसित तुलना गरिरहेका हुन सक्छन्। कतिपय बाइबलविद्हरूको भनाइअनुसार यो विवरण युद्धमा जितेर ल्याएका कलाकृति अथवा पुरस्कारसित पनि मेल खान्छ। कुरा जेहोस्, यहोवाले दाऊदका मानिसलाई शत्रुहरूमाथि विजयी हुन मदत गर्नुभएको थियो। दाऊदले त्यही कुरालाई सङ्केत गरिरहेका थिए।
६८:१८—“मानिसहरूका बीचमा . . . उपहार” को थिए? प्रतिज्ञा गरिएको देशबाट बन्दी बनाएर ल्याइएका मानिसहरू नै ती उपहार थिए। पछि, ती मानिसहरूलाई लेवीहरूको काममा सघाउन खटाइयो।—एज्रा ८:२०.
६८:३०, NRV—“नर्कटहरूका बीचमा रहने पशुलाई हप्काउनुहोस्” भन्नुको मतलब के हो? यहोवाका शत्रुहरूलाई लाक्षणिक अर्थमा पशुसित तुलना गर्दै दाऊदले ती शत्रुहरूलाई हप्काउनुहोस् भनेर परमेश्वरसित बिन्ती गरे अथवा हानि गर्ने तिनीहरूको शक्ति नियन्त्रण गर्न आग्रह गरे।
६९:२३—‘शत्रुहरूको तिग्रा निरन्तर कामिरहने तुल्याउनुहोस्’ भन्नुको अर्थ के हो? बलको काम गर्न, जस्तै—गह्रौं भारी उचाल्न र बोक्न तिग्रा अर्थात् नितम्ब वरपरका मांशपेशी नभई हुँदैन। नितम्ब पुष्ट नहुनुले बल कम छ भन्ने कुरा सङ्केत गर्छ। आफ्ना शत्रुहरूको बल घटिजाओस् भनेर दाऊदले प्रार्थना गरे।
हाम्रो लागि पाठ:
५१:१-४, १७. पाप गर्दा यहोवा परमेश्वरसितको सम्बन्ध खत्तम भइहाल्छ भन्ने छैन। पश्चात्ताप गऱ्यौं भने उहाँको दया पाउने कुरामा ढुक्क हुन सक्छौं।
५१:५, ७-१०. हामीले पाप गरेका छौं भने, यहोवासँग क्षमा माग्न सक्छौं किनभने हामी जन्मजात पापी छौं। साथै, हामीलाई शुद्ध पार्न, उहाँसित पुनः सम्बन्ध जोड्न, मनबाट पापी झुकाव हटाउन र स्थिर रहन मदत गर्नुहोस् भनेर पनि प्रार्थना गर्नुपर्छ।
५१:१८. दाऊदको पापले गर्दा सारा राष्ट्रमाथि खतरा आइपऱ्यो। त्यसकारण तिनले सियोनको भलाइ गर्नुहोस् भनेर परमेश्वरलाई प्रार्थना गरे। हामीले गम्भीर पाप गर्दा यहोवाको नाउँ र मण्डलीको बदनाम हुन्छ। हामीले जे-जति बिगार गऱ्यौं त्यसलाई पुनः सपार्न परमेश्वरलाई प्रार्थना गर्नु आवश्यक छ।
५२:८. हामी “परमेश्वरको भवनमा भएको हरियो भद्राक्षको बोटजस्तै” हुन सक्छौं अर्थात् यहोवाको आज्ञा पालन गरेर अनि उहाँले दिनुहुने अनुशासन राजीखुसीसाथ स्वीकारेर हामी यहोवाको नजिक र उहाँको सेवामा फलदायी हुन सक्छौं।—हिब्रू १२:५, ६.
५५:४, ५, १२-१४, १६-१८. आफ्नै छोरा अब्शालोमले रचेको षड्यन्त्र अनि भरपर्दो सल्लाहकार अहितोपेलले विश्वासघात गरेको कारण दाऊदलाई ज्यादै भावनात्मक पीडा भयो। तरैपनि, यहोवामाथि दाऊदले गरेको भरोसा रत्तीभर ढलपल भएन। परमेश्वरमाथिको हाम्रो भरोसालाई भावनात्मक पीडाले कमजोर हुन दिनु हुँदैन।
५५:२२. हामी कसरी आफ्नो भारी यहोवामा राख्न सक्छौं? (१) चिन्ता लागेको कुरा प्रार्थनामा राखेर (२) डोऱ्याइ अनि मदतको लागि उहाँको वचन र संगठनमा भर परेर अनि (३) आफ्नो अवस्था सुधार्न आफ्नोतर्फबाट सकेजति गरेर हामी यसो गर्न सक्छौं।—हितोपदेश ३:५, ६; ११:१४; १५:२२; फिलिप्पी ४:६, ७.
५६:८. यहोवालाई हाम्रो अवस्था मात्र होइन तर त्यसको भावनात्मक पीडाले हामीलाई पार्ने असरसमेत थाह हुन्छ।
६२:११. शक्तिको लागि यहोवा अरू कसैमाथि भर पर्नु आवश्यक छैन। उहाँ स्वयम् शक्तिको स्रोत हुनुहुन्छ। “शक्ति परमेश्वरकै हो।”
६३:३. परमेश्वरको “करुणा जीवनभन्दा उत्तम छ” किनभने उहाँको करुणाविनाको जीवन अर्थहीन र उद्देश्यहीन हुन्छ। यहोवासित मित्रता गाँस्नुमा हाम्रै भलाइ छ।
६३:६. सुनसान र केही कुराले नखलबल्याउने रातको पहर मननको लागि उत्तम समय हुन सक्छ।
६४:२-४. अरूको निन्दोचर्चो गर्दा निर्दोष व्यक्तिको इज्जत माटोमा मिल्न सक्छ। हामीले यस्तो निन्दोचर्चो सुन्नु पनि हुँदैन, अरूसित गर्नु पनि हुँदैन।
६९:४. गल्ती गरेका छैनौं भने पनि शान्ति कायम गर्न क्षमा मागेर “फिर्ता” गर्नु कहिलेकाहीं बुद्धिमानी हुन सक्छ।
७०:१-५. मदतको लागि हामीले व्यग्रतासाथ गर्ने पुकारा यहोवा सुन्नुहुन्छ। (१ थिस्सलोनिकी ५:१७; याकूब १:१३; २ पत्रुस २:९) परमेश्वरले कुनै-कुनै परीक्षा रहिरहन दिनुभए तापनि उहाँले हामीलाई परिस्थितिसित जुझ्ने बुद्धि र परीक्षा सहने बल दिनुहुनेछ। हामीले सहन नसक्ने किसिमको परीक्षामा पर्न दिनुहुनेछैन।—१ कोरिन्थी १०:१३; हिब्रू १०:३६; याकूब १:५-८.
७१:५, १७. पलिश्ती राक्षस गोल्यतसित भिड्नुअघि नै अर्थात् बाल्यकालमै यहोवामाथि भरोसा राखेको कारण दाऊद साहसी र बलवान् हुन सके। (१ शामूएल १७:३४-३७) आफूले गर्ने हरेक कुरामा जवानहरू यहोवामाथि भर पर्नुपर्छ।
“सारा पृथ्वी उहाँको महिमाले भरपूर होस्”
भजनसंग्रहको दोस्रो खण्डको अन्तिम गीत भजन अध्याय ७२ सुलेमानको शासनसित सम्बन्धित छ। तिनको शासन येशू ख्रीष्टले पृथ्वीमा शासन गर्नुहुँदा अवस्था कस्तो हुनेछ भन्ने कुराको पूर्वझलक हो। ती गीतमा अद्भुत आशिष्हरूबारे बयान गरिएको छ। जस्तै—चौतर्फी शान्ति, थिचोमिचो र हिंसाको अन्त्य र पृथ्वीमा प्रशस्त अन्न! के हामी यस्ता आशिष्लगायत परमेश्वरको राज्यमा पाइने अरू आशिष् उपभोग गर्ने व्यक्तिहरूमध्ये हुनेछौं? अवश्य! तर यसको लागि भजनहारले जस्तै हामीले पनि यहोवालाई आफ्नो शरणस्थान र बलको स्रोत मान्दै उहाँको बाटो हेर्नुपर्छ।
“दाऊदका प्रार्थनाहरू” यी शब्दहरूमा आएर टुङ्गिन्छन्: “परमप्रभु, इस्राएलका परमेश्वर धन्यका होऊन्, उहाँले मात्र उदेकको काम गर्नुहुन्छ। उहाँको पराक्रमी नाऊँ सदा सर्वदै धन्यको होस्। सारा पृथ्वी उहाँको महिमाले भरपूर होस्। आमेन, आमेन।” (भजन ७२:१८-२०) यसै गरी हामी पनि तनमनले यहोवालाई धन्यको भनौं र उहाँको महिमित नाउँको प्रशंसा गरौं। (w06 6/1)