के तपाईं अझ बढी सेवा गर्ने चाहना गर्नुहुन्छ?
“मलाई यहोवासँग रीस उठेको थियो,” लोरा भन्छिन्। “हाम्रो आर्थिक समस्या हल गरेर अग्रगामी कार्यमै लागिरहन मैले मदतको निम्ति प्रार्थना गर्नुसम्म गरें तर समस्या भने समाधान नै भएन। आखिरमा अग्रगामी सेवा छोड्न करै लाग्यो। अरूले अग्रगामी सेवा गरिरहेको देख्दा मलाई ईर्ष्या लागेको कुरा पनि नकार्न सक्दिनँ।”
यहोवाका साक्षीहरूको एउटा मण्डलीको सेवकाई सेवक माइकललाई पनि विचार गर्नुहोस्। तिनी निरीक्षकको कार्य गर्न खोजिरहेका थिए। (१ तिमोथी ३:१) निकै वर्ष बित्दा पनि आफ्नो चाहना पूरा नभएपछि तिनी यति रुष्ट भए कि त्यस सुअवसरको लागि तिनको नाउँ सिफारिस गरेको समेत चाहँदैनन् थिए। तिनी भन्छन्, “म फेरि निराश हुन चाहँदिन थिएँ।”
के तपाईंले पनि त्यस्तै अनुभव गर्नुभएको छ? के तपाईंले पनि आफूलाई प्रिय लाग्ने कुनै ईश्वरतान्त्रिक सुअवसर त्याग्नु परेको छ? उदाहरणका लागि, के तपाईंले परमेश्वरको राज्यको पूर्ण-समय उद्घोषक अर्थात् अग्रगामीको हैसियतमा सेवा गर्न छोड्नु परेको छ? वा अरू कसैलाई सुम्पिएको खास मण्डलीय जिम्मेवारीहरूको चाहना गर्नुहुन्छ? शायद बेथेलमा वा मिसनरीको रूपमा सेवा गर्न तपाईं असाध्यै इच्छुक हुनुहुन्छ होला तर तपाईंको परिस्थिति भने अनुकूल नहुनसक्छ।
हितोपदेशको पुस्तकले “आशा साकार नहुँदा मन मर्छ” भन्ने कुरा मानी लिन्छ। (हितोपदेश १३:१२) तपाईंले आशा गर्नुभएकै सुअवसर अरूले पाउँदा त झन् यो सही हुनसक्छ। यस्तो निराशा अनुभव गर्नेहरूलाई के परमेश्वरको वचनले अन्तरदृष्टि, सान्त्वना र आशा प्रदान गर्छ? अवश्य गर्छ। वास्तवमा ८४ औं भजनले यहोवाको यस्तै एक जना सेवकका भावनाहरू व्यक्त गर्छ। तिनको पनि परमेश्वरको सेवामा अझ बढी गर्ने धोकोहरू थिए तर ती पूरा भएनन्।
एक लेवीको मूल्यांकन
कोरहका छोराहरूले चौरासीऔं भजन रचेका थिए। यी लेवीहरू यहोवाको मन्दिरमा सेवा गर्थे र सेवाको त्यस सुअवसरलाई एकदमै बहुमूल्य सम्झन्थे। एक जनाले यस्तो उद्गार गरे: “हे सेनाहरूका परमप्रभु, तपाईंका बासस्थानहरू कति प्रिय छन्! परमप्रभुका दरवारका निम्ति मेरो आत्माले अति इच्छा गर्छ, मुर्छा पनि खान्छ, मेरो तन र मन दुवै जीवित परमेश्वरको निम्ति चर्को सोरले गाउँछन्।”—भजन ८४:१, २.
त्यस लेवीलाई यहोवाको मन्दिरमा सेवा गर्ने यति तीव्र इच्छा लागेको थियो कि यरूशलेम जाने बाटोमा देखिने साधारण दृश्यहरूसमेत तिनलाई आकर्षक लाग्थ्यो। तिनले यसो भने: “रूने बेंसीमा जाँदाहुँदि तिनीहरूले त्यो पानीका मूल भएको जग्गा बनाउँछन्, शुरूको झरीले आशिष भएर त्यसलाई ढाक्छ।” (भजन ८४:६) हो, साधारणतया सुक्खा रहने भूमिसमेत तिनको लागि पानीको मूल भएको ठाउँझैं थियो।
यस भजनरचयिता पूजाहारीवर्गमा नपर्ने लेवी भएको हुँदा प्रत्येक छ महिनामा एक हप्ता मात्र तिनले मन्दिरमा सेवा गर्न पाउँथे। (१ इतिहास २४:१-१९; २ इतिहास २३:८; लूका १:५, ८, ९) अरू बेला चाहिं तिनी कुनै एउटा लेवीहरूको शहरमा समय बिताउँथे। अतः, तिनले यसरी गाए: ‘तपाईंकै वेदीमा, भङेराले पनि आफ्नो निम्ति एउटा बास र गौंथलीले आफ्नो बच्चा राख्न आफ्नो निम्ति एउटा गुँड़ पाएका छन्, हे सेनाहरूका परमप्रभु, हे मेरा राजा, र मेरा परमेश्वर।’ (भजन ८४:३) भङेराहरूले जस्तै मन्दिरमा स्थायी बास पाएको भए ती लेवी कत्ति दंग पर्थे होलान्!
मन्दिरमा आफूले चाहे जति सेवा गर्न सुअवसर नपाएकोमा ती लेवी रुष्ट हुने कारणहरू थिए। तर तिनी परमेश्वरलाई यथाशक्य सेवा चढाउन पाएकोमा खुशी भए र यहोवाप्रति पूर्ण हृदयले भक्ति देखाउन प्रयास गर्नु मात्रै पनि यथेष्ट छ भनी तिनले पक्कै बुझेको हुनुपर्छ। आफूले जे जति सेवा गर्ने सुअवसर पाएको थियो, त्यसैमा सन्तुष्ट रहन ती विश्वासी लेवीलाई कुन कुराले मदत गऱ्यो?
सन्तुष्ट हुन सिक्नुहोस्
ती लेवीले यसो भने: “तपाईंको दरवारमा एक दिन हजार दिनभन्दा असल छ। दुष्टका पालहरूमा बस्नभन्दा ता बरू परमेश्वरको भवनको ढोके हुन मलाई मनपर्छ।” (भजन ८४:१०) यहोवाको घरमा एक दिन बिताउनु पनि अनमोल सुअवसर हो भनी तिनले मूल्यांकन गरे। अनि त्यस लेवीले मन्दिरमा पक्कै पनि एक दिनभन्दा बढी नै सेवा गर्न पाउँथे। यही सुअवसरप्रति सन्तुष्ट हुँदै तिनले आनन्दको भजन गाउनसके।
हामी नि? के हामी आफूले पाएका आशिष्हरू मूल्यवान् ठान्छौं वा यहोवाको सेवामा पाइरहेका सुअवसरहरू नगण्य ठान्छौं? यहोवाप्रति भक्ति देखाएको कारण उहाँले आफ्ना जनहरूलाई विभिन्न प्रकारका सुअवसर तथा जिम्मेवारीहरू सुम्पनुभएको छ। यसमा निरीक्षण गर्ने, गोठालो गर्ने, सिकाउनेजस्ता गहन जिम्मेवारीहरूका साथै पूर्ण-समय सेवकाईका विभिन्न पक्षहरू समावेश छन्। तर यसमा यहोवाको उपासनासित सम्बन्धित अरू बहुमूल्य कुराहरू पनि समावेश छन्।
उदाहरणका लागि, मसीही सेवकाईलाई लिनुहोस्। सुसमाचार प्रचार गर्ने हाम्रो सुअवसरलाई प्रेरित पावल ‘माटाको भाड़ामा भएको धनझैं’ हो भन्छन्। (२ कोरिन्थी ४:७) के तपाईं त्यस्तो सेवालाई अनमोल धनको रूपमा लिनुहुन्छ? राज्य प्रचारकार्यमा नेतृत्व लिनुहुने येशू ख्रीष्टले त्यस सुअवसरलाई अनमोल धनको रूपमा लिनुभयो र हाम्रोनिम्ति नमुना बसाल्नुभयो। (मत्ती ४:१७) पावलले यसो भने: “हामीसँग यो सेवा भएको हुनाले हामी हरेस खाँदैनौं।”—२ कोरिन्थी ४:१.
मसीही सभा पनि अर्को एउटा पवित्र प्रबन्ध हो जसलाई हामीले हल्कासित लिनु हुँदैन। सभाहरूमा हामी महत्त्वपूर्ण निर्देशनहरू पाउँछौं र आवश्यक संगतिको आनन्द उठाउँछौं। सभाहरूमा नियमित रूपमा टिप्पणी दिएर तथा अन्य तरिकाले कार्यक्रमहरूमा भाग लिएर आफ्नो विश्वास र आशा खुल्लमखुल्ला व्यक्त गर्नसक्छौं। (हिब्रू १०:२३-२५) निस्सन्देह, सभाहरू एउटा त्यस्तो प्रबन्ध हो जसलाई हामीले मूल्यवान् ठान्नुपर्छ!
माथि उल्लिखित माइकल यी आशिष्हरूलाई एकदमै मूल्यवान् ठान्नुका साथै मूल्यांकन गर्थे। तर प्राचीनको रूपमा सेवा गर्न नपाएकोले तिनी हतोत्साहित भए, जसको फलस्वरूप केही क्षणको लागि त्यस्ता सुअवसरहरूको मूल्यांकनै गर्न सकेनन्। तथापि, ती कुराहरूमा आफ्नो ध्यान पुनः केन्द्रित गरेर तिनले फेरि सन्तुलन कायम गर्नसके अनि धीरजी भई यहोवालाई नै पर्खिरहे।
केही खास सुअवसरहरू नपाउँदा असन्तुष्ट हुनुको साटो यहोवाले हामीलाई कुन तरिकामा आशिष्हरू दिइरहनुभएको छ भनेर भजनरचयिताले जस्तै पुनः एक चोटि केलाउनु बेस हुन्छ।a कुनै ठोस कुरा देखेनौं भने परमेश्वरलाई प्रार्थना गर्दै आफूले पाएका सुअवसरहरू फेरि एक चोटि केलाउनु बेस हुनेछ।—हितोपदेश १०:२२.
यसबाहेक, निरीक्षकजस्ता विशेष सुअवसरहरूका लागि विशेष योग्यताहरू पनि चाहिन्छ भनी बुझ्नु आवश्यक छ। (१ तिमोथी ३:१-७; तीतस १:५-९) अतः, हामीले आफूले आफूलाई जाँच गर्नुपर्छ; कुन क्षेत्रमा आफूले उन्नति गर्नुपर्ने हो, विचार गर्नुपर्छ अनि उन्नति गर्ने यथाशक्य प्रयास गर्नुपर्छ।—१ तिमोथी ४:१२-१५.
हतोत्साहित नुहुनुहोस्
केही खास सुअवसर पाएनौं भने, त्यो सुअवसर पाउने व्यक्तिलाई यहोवाले बढी माया गर्नुभएको वा हामीलाई असल कुराबाट वञ्चित गर्नुभएको भन्ने निष्कर्षमा पुग्नु हुँदैन। तिनीहरूले ईश्वरतान्त्रिक नियुक्तिबाट होइन तर अनुचित ढंगमा मानव कृपावादबाट ती सुअवसरहरू पाएको हो भनी अड्कल लाउँदै पक्कै पनि ईर्ष्या गर्नु हुँदैन। त्यस्तै कुरा मात्रै सोचिरह्यौं भने यसले डाह, कलह ल्याउनुका साथै आफूले पाइरहेको सुअवसरहरूसमेत त्याग्न लगाउनसक्छ।—१ कोरिन्थी ३:३; याकूब ३:१४-१६.
सुरुमा उल्लिखित लोराले हार मानिनन्। अन्ततः तिनले आफ्नो रीस र ईर्ष्यालाई काबूमा राखिन्। अग्रगामी गर्न नसक्दा उत्पन्न भएका नकारात्मक विचारहरू हटाउन मदतको निम्ति परमेश्वरलाई निरन्तर प्रार्थना गरिन्। तिनले मण्डलीका योग्य पुरुषहरूसित मदत पनि मागिन् र परमेश्वरको प्रेमको आश्वासन पाइन्। तिनले यसो भनिन्: “यहोवाले मलाई मनोशान्ति दिनुभयो। मेरो पति र मैले अहिले अग्रगामी गर्न नसके तापनि बितेका दिनहरूमा बटुलेका अनुभवहरू साँचेर राखेका छौं र त्यसबाट बल प्राप्त गर्छौं। आफ्नो हुर्किसकेको छोरालाई अग्रगामी काममा लागिरहन मदत पनि दिन्छौं।” लोरा अहिले सन्तुष्ट छिन्, अग्रगामी गरेर ‘आनन्द गर्ने अरूसँगसँगै आनन्द’ गर्छिन्।—रोमी १२:१५.
हासिल गर्न सकिने लक्ष्यहरू राख्नुहोस्
अहिले पाइरहेको सेवाको सुअवसरमा सन्तुष्ट हुनुको अर्थ थप ईश्वरतान्त्रिक लक्ष्यहरू राख्दै नराख्नु भनेको होइन। स्वर्गीय पुनरुत्थानबारे छलफल गर्दा पावलले “अगाड़िका कुराहरूतिर लम्क[नेबारे]” कुरा गरे। तिनले यसो पनि भने: “केवल जहाँसम्म हामी पुगिसकेका छौं, त्यहीबमोजिम हामी चलौं।” (फिलिप्पी ३:१३-१६) ईश्वरतान्त्रिक लक्ष्यले हामीलाई अगाडि लम्कन मदत गर्नसक्छ। तथापि, त्यसलाई प्रयोगमा ल्याउनसक्नु चुनौतीको कुरा हो।
प्रयोगमा ल्याउन सकिने लक्ष्यहरू व्यवहारिक र हासिल गर्न सकिने हुन्छन्। (फिलिप्पी ४:५) भन्नुको अर्थ, फेरि केही वर्ष परिश्रम गरेमा मात्र पाउन सकिने लक्ष्य अव्यवहारिक हुन्छ भनेको होइन। त्यस्ता दीर्घकालीन लक्ष्यहरू बिस्तारै हासिल गर्न सकिन्छ, त्यसको लागि अहिल्यै स-साना लक्ष्यहरू एक एक गर्दै राख्नुपर्छ। यसले आध्यात्मिक प्रगतिमा महत्त्वपूर्ण भूमिका खेल्नसक्छ। अनि त्यसरी क्रमशः हरेक खुड्किलो सफलतापूर्वक पार गऱ्यौं भने निराश हुनुको साटो सन्तुष्ट हुनेछौं।
असल सन्तुलन
तथापि, हाम्रो परिस्थिति र सीमितताले गर्दा केही सुअवसरहरू हासिल गर्न सक्दैनौं भनी बुझ्नु आवश्यक छ। त्यस्ता कुराहरूलाई आफ्नो लक्ष्यको रूपमा राख्दा हतोत्साहित र निराश मात्र हुन्छौं। त्यस्ता लक्ष्यहरूलाई केही समयको लागि मात्र भए पनि पन्छाउनुपर्छ। ईश्वरीय सन्तुष्टिको लागि प्रार्थना गर्नुका साथै यहोवाको इच्छालाई नै आफ्नो जीवनको प्रमुख चिन्ताको विषय बनायौं भने, यसो गर्नु गाह्रो हुनेछैन। सुअवसरहरूका लागि अग्रसर हुँदा आफ्नो व्यक्तिगत उपलब्धि होइन तर यहोवाको महिमा महत्त्वपूर्ण हुनुपर्छ। (भजन १६:५, ६; मत्ती ६:३३) बाइबल यस्तो उपयुक्त सल्लाह दिन्छ: “आफूले गर्ने सबै काम परमप्रभुलाई सुम्पिदेऊ, र तिम्रा योजनाहरू सफल हुनेछन्।”—हितोपदेश १६:३.
चौरासीऔं भजनलाई विचार गर्दा भजनरचयिताले सेवाका सुअवसरहरूप्रति त्यस्तै मनोवृत्ति प्रकट गरेको देख्छौं। अनि यहोवाले तिनलाई प्रचुर मात्रामा आशिष् दिनुभयो। यसबाहेक, यहोवाका जनहरूले अहिले पनि त्यस भजनबाट लाभ उठाइरहेका छन्।
प्रार्थनापूर्वक यहोवामा भर पर्दै तपाईंले थप सुअवसरहरूको चाहना र अहिले पाइरहनुभएका सुअवसरहरूबीच सन्तुलन कायम राख्न सक्नुहुन्छ। अझ बढी गर्ने चाहनाले गर्दा अहिले पाइरहेका सुअवसरहरूको मूल्यांकन र यहोवालाई सधैंभरि सेवा गर्दा पाइने आनन्द नै हरण हुन नदिनुहोस्। यहोवामा भरोसा गर्नुहोस् किनभने ती लेवीले भनेझैं यसैबाट तपाईंले आनन्द पाउन सक्नुहुन्छ। तिनी भन्छन्: “हे सेनाहरूका परमेश्वर, तपाईंमा भरोसा राख्ने मानिस धन्यको हो।”—भजन ८४:१२.
[फुटनोट]
a कृपया, जून १५, १९८८, प्रहरीधरहरा-मा (अंग्रेजी) “के तपाईं पवित्र कुराहरूको मूल्यांकन गर्नुहुन्छ?” भन्ने लेख हेर्नुहोस्।
[पृष्ठ ९-मा भएको चित्र]
व्यक्तिगत लक्ष्यहरू राख्दा परमेश्वरको इच्छालाई प्राथमिकता दिनुहोस्
[पृष्ठ ११-मा भएको पेटी]
हामीले राख्नसक्ने लक्ष्यहरू
दिनहुँ बाइबल पढ्ने।—यहोशू १:८; मत्ती ४:४
धर्मशास्त्रीय प्रशिक्षणद्वारा हाम्रो ज्ञानेन्द्रिय शक्तिहरूको उन्नति गर्ने।—हिब्रू ५:१४
परमेश्वरसित घनिष्ठ सम्बन्ध विकास गर्ने।—भजन ७३:२८
आत्माका प्रत्येक फलहरू खेती गर्ने।—गलाती ५:२२, २३
प्रार्थनाको गुणस्तर बढाउने।—फिलिप्पी ४:६, ७
प्रचार र शिक्षण कार्यमा अझ बढी प्रभावशाली हुने।—१ तिमोथी ४:१५, १६
प्रहरीधहरा र ब्यूँझनुहोस्! पत्रिकाको प्रत्येक अंक पढ्ने र मनन गर्ने।—भजन ४९:३