यहोवा, आश्चर्यकामहरूका कर्त्ता
“तपाईं महान हुनुहुन्छ, र आश्चर्यकामहरू गर्नुहुन्छ। तपाईं मात्र परमेश्वर हुनुहुन्छ।”—भजनसंग्रह ८६:१०.
१, २. (क) मानिसका आविष्कारहरूले संसारमाथि के प्रभाव पारेका छन्? (ख) अझ असल कुराहरूका लागि आशा हामी कहाँ पाउन सक्तछौं?
आधुनिक मानिसले आफ्ना आविष्कारहरू—अर्थात् विद्युतद्वारा सञ्चालित उपकरणहरू, दूर-सञ्चार सेवा, भिडियो, मोटर कार, यात्रामा जेट-विमानको प्रयोग, र कम्प्युटरद्वारा सञ्चालित तकनिकीज्ञान—सबै आश्चर्यमय कार्यहरू हुन् भनी घमण्ड गर्न सक्छन्। यी कुराहरूले गर्दा, सारा संसार एउटै छिमेक जस्तो भएको छ। तर यो कस्तो छिमेक हो! शान्ति, समृद्धि र सबैलाई उपलब्ध हुने प्रशस्तताको सट्टा काटमारले भरिएका युद्धहरू, अपराध, आतंकवाद, प्रदूषण, रोग र गरिबीको कारण मानवजाति पीडित छन्। र संसारभरि फैलिएका आणविक हतियारहरूको मात्रा कम गरिएको भए तापनि, तिनले मानवजातिलाई नष्ट गर्न सक्तछ। मृत्युका व्यापारीहरू अथवा हात-हतियारका उत्पादकहरूले पृथ्वीमा सबैभन्दा ठूलो व्यापार सञ्चालित गरी नै रहेका छन्। धनीहरू झन झन धनी र गरिब झन झन गरिब हुँदै जाँदै छन्। के यसको समाधान कसैसित छ?
२ छ! छुटकाराको निश्चित आशा दिनु हुने एक जना हुनु हुन्छ। उहाँ “सबैभन्दा ठूला अधिकारी” यहोवा परमेश्वर हुनुहुन्छ। (उपदेशक ५:८) सङ्कष्टमा परेको बेला हामीलाई धेरै नै सान्त्वना र बुद्धिले भरिएको सल्लाह दिने भजनसंग्रह उहाँ कै प्रेरणाद्वारा लखिएको हो। ती मध्ये एउटा भजन ८६ हो जसको सुरुमा यो सरल उपशीर्षक पाइन्छ: “दाऊदको प्रार्थना।” यस प्रार्थनालाई तपाईंले आफ्नो व्यक्तिगत प्रार्थना बनाउन सक्नु हुन्छ।
पीडित तर वफादार
३. यी समयहरूमा दाऊदले हाम्रालागि के प्रोत्साहनपूर्ण उदाहरण कायम गर्दछन्?
३ दाऊदले यो भजन सङ्कष्टमा परेको बेलामा लेखेका थिए। शैतानको रीतिरिवाजको “आखिरी दिन”-का यो “डरलाग्दो समय”-मा बाँचेका हामीहरूले पनि त्यस्तै प्रकारका कठिनाइहरूको सामना गर्दछौं। (२ तिमोथी ३:१; मत्ती २४:९-१३ पनि हेर्नु होस्।) दाऊदले पनि उनीमाथि आइ परेका समस्याहरूको कारण चिन्ता र मानसिक खिन्नता अनुभव गरे। तर ती कठिनाइहरूको कारण तिनले कहिले पनि आफ्ना सृष्टिकर्ताप्रति आफ्नो वफादारी र भरोसालाई कमजोर हुन दिएनन्। तिनले यसो भन्दै पुकारा गरे: “हे परमप्रभु, कान थापेर मलाई जवाफ दिनुहोस्। किनकि म दुःखी र दरिद्र छु। मेरो प्राणलाई जोगाउनुहोस्, किनकि म ईश्वरभक्त छु। हे मेरा परमेश्वर, तपाईंमा भरोसा गर्ने आफ्नो दासलाई बचाउनुहोस्।”—भजनसंग्रह ८६:१, २.
४. हामीले आफ्नो विश्वस्तता कसरी देखाउनु पर्दछ?
४ “सान्त्वनाका परमेश्वर” यहोवाले पृथ्वीतिर कान फर्काउनु भएर हाम्रा विनम्र प्रार्थनाहरू सुनी दिनु हुने छ। यसबारे हामी दाऊद झैं विश्वस्त हुन सक्तछौं। (२ कोरिन्थी १:३, ४) हाम्रा परमेश्वरमाथि सम्पूर्णतया भरोसा राख्दै, हामी दाऊदको यस सल्लाहलाई अनुसरण गर्न सक्तछौं: “तेरो भारी परमप्रभुमा राख, र उहाँले तँलाई सह्माल्नुहुनेछ, र उहाँले धर्मात्मालाई कहिल्यै डग्नदिनु हुनेछैन।”—भजनसंग्रह ५५:२२.
यहोवासँगको घनिष्ठता
५. (क) यहूदी लेखनदासहरूले गरेका गल्तीहरूलाई सावधानीपूर्वक गरिएका कुनै कुनै अनुवादहरूले कसरी सच्याएका छन्? (ख) भजनसंग्रह ८५ र ८६-ले यहोवालाई कसरी महिमीत पार्दछ? (पाद टिप्पणी हेर्नुहोस्।)
५ दाऊदले ८६औं भजनमा, “हे परमप्रभु [यहोवा, न्यु व०]” भन्ने अभिव्यक्ति ११ पटक प्रयोग गर्दछन्। र दाऊदको प्रार्थना कति भावनापूर्ण र यहोवासितको तिनको सम्बन्ध कति घनिष्ठ छ! परमेश्वरको नाउँलाई यति आत्मीयतका साथ प्रयोग गर्नु यहूदी लेखनदासहरूलाई, विशेष गरी सोफेरिमहरूलाई पछि गएर मन परेन। तिनीहरूले परमेश्वरको नाउँको दुरुपयोग होला भन्ने एउटा अन्धविश्वासको सृजना गरे। मानिसहरू परमेश्वरकै स्वरूपमा सृजिएका थिए र मानिसहरूमा भएका गुणहरूको स्रोत परमेश्वर नै हुनुहुन्छ भनेर मान्न तिनीहरूले अस्वीकार गरे। अतः, यो एउटा भजनको हिब्रू अनुवादमा, ईश्वरको नाउँ ११ ठाउँहरूमा प्रयोग भएको थियो। तर ७ ठाउँहरूमा चाहिं तिनीहरूले YHWH (यहोवा) नाउँको सट्टा एढो-ने (प्रभु) प्रयोग गरी दिए। तर न्यु वर्ल्ड ट्रान्स्लेशन अफ दी होलि स्क्रिपचर्स (New Word Translation of the Holy Scriptures) र साथै विचारपूर्वक गरिएका अन्य अरू अनुवादहरूले ईश्वरको नाउँलाई त्यसको उचित स्थानमा अथवा परमेश्वरको वचनमा पुनःस्थापित गरी दिएका लागि हामी कृतज्ञ हुन सक्छौं। किनकि यसले गर्दा, यहोवासित जुन प्रकारको हाम्रो सम्बन्ध हुनु पर्ने हो, त्यसले महत्त्व पाएको छ।a
६. यहोवाको नाउँ हाम्रालागि बहुमूल्य छ भनेर हामी कसरी देखाउन सक्तछौं?
६ दाऊदको प्रार्थनाले अझ यसो भन्छ: “हे परमप्रभु, ममाथि अनुग्रह गर्नुहोस्। किनकि दिनभरि म तपाईंमा पुकारा गरिरहन्छु। आफ्नो दासको मनलाई खुशी पार्नुहोस्, किनकि, हे परमप्रभु, म आफ्नो आत्मालाई [प्राण, न्यु व०] उचाल्छु।” (भजनसंग्रह ८६:३, ४) दाऊदले यहोवालाई “दिनभरि” पुकारी रहेको कुरालाई विचार गर्नुहोस्। उजाड स्थानमा भागी हिंड्नु परेको बेलाहरूमा पनि तिनले अक्सर सारा रात प्रार्थनामा बिताउँद थिए। (भजनसंग्रह ६३:६, ७) त्यस्तै गरी आज पनि, बलात्कार अथवा कुनै अपराधीको आक्रमण जस्ता खतराहरूको सामना गर्नु पर्दा, केही साक्षीहरूले चर्को स्वरमा यहोवालाई पुकारेका छन्। कुनै कुनै बेला यसको आनन्ददायक नतिजाको कारण तिनीहरू छक्क पनि परेका छन्।b “येशू ख्रीष्ट, दाऊदको पुत्र,” पृथ्वीमा हुनुहुँदा, उहाँका लागि यहोवाको नाउँले ठूलो महत्त्व राख्त थियो। त्यसरी नै यहोवाको नाउँले हाम्रालागि पनि ठूलो महत्त्व राख्त छ। येशूले आफ्ना चेलाहरूलाई यहोवाको नाउँ पवित्र गरिओस् भनेर प्रार्थना गर्न सिकाउनु भयो र त्यो नाउँ के को प्रतीक हो भन्ने कुरा पनि तिनीहरूलाई बताइ दिनुभयो।—मत्ती १:१; ६:९; यूहन्ना १७:६, २५, २६.
७. यहोवाले आफ्ना सेवकहरूको प्राणलाई कसरी उचाल्नु भएको छ?
७ दाऊदले आफ्नो प्राण अथवा आफूलाई सम्पूर्ण रूपमा यहोवाकहाँ उचाले। तिनले हामीलाई पनि सोही गर्ने प्रोत्साहन दिंदै, भजनसंग्रह ३७:५-मा यसो भन्छन्: “आफ्नो मार्ग परमप्रभुलाई सुम्पी, उहाँमा अति नै भरोसा राख, अनि उहाँले सो पुर्याइ दिनुहनेछ।” अतः, हाम्रो प्राणलाई आनन्दित तुल्याइ दिनु होस् भनेर हामीले यहोवासित गरेको बिन्ती व्यर्थ जाने छैन। कठिनाइ, सतावट र रोग-बिरामीहरूको बावजूद, यहोवाका धेरै सेवकहरूले अझ पनि उहाँको सेवामा ठूलो आनन्द अनुभव गर्दछन्। अफ्रिकामा, अङ्गोला, लाइबेरिया, मोजाम्बिक र जायेर जस्ता युद्धले ग्रसित ठाउँहरूमा पनि हाम्रा भाइहरूले यहोवाको सेवालाई आफ्नो जीवनमा प्रथम स्थान निरन्तर दिने गरिरहेका छन्।c उहाँले तिनीहरूलाई एउटा साँच्चै नै ठूलो आत्मिक फसलद्वारा आनन्दित तुल्याइ दिनु भएको छ। जसरी तिनीहरूले धैर्य धारण गरेका छन्, सोही ढङ्गमा हामीले पनि धैर्य धारण गर्नुपर्दछ। (रोमी ५:३-५) र धैर्य धारण गर्दै जाँदा, हामीलाई सो आश्वासन दिइएको छ: “त्यो दर्शन ठहराएको समयमा पूरा हुनेछ, त्यो पूरा हुने बेला चाँडै आउँदैछ, त्यसले धोका दिंदैन। त्यो पूरा हुनु ढीलो भए तापनि त्यसको बाटो हेर्दै बस, किनभने त्यो निश्चय पूरा हुनेछ, त्यसले ढीलो गर्नेछैन।” (हबकूक २:३) यहोवामाथि सम्पूर्ण भरोसा र विश्वास राखेर, हामी पनि “अन्तसम्मै हाँप्दै [न्यु व०]” अघि बढौं।
यहोवाको भलाइ
८. यहोवासित हामीले कुन प्रकारको घनिष्ठ सम्बन्ध राख्न सक्छौं र उहाँले आफ्नो भलाइ कसरी प्रदर्सित गरी दिनु भएको छ?
८ यसपछि दाऊदले एउटा अर्को हार्दिक बिन्ती गर्दछन्: “किनकि हे परमप्रभु, तपाईं भलो र क्षमा गर्नु हुनुहुन्छ, र तपाईंमा पुकारा गर्नेहरू माथि तपाईं अति कृपालु हुनुहुन्छ। हे परमप्रभु [यहोवा, न्यु व०] मेरो प्रार्थनातिर आफ्नो कान थाप्नुहोस्, र मेरो अन्तरबिन्तीको सोरलाई सुन्नुहोस्। मेरो दुःखको दिनमा म तपाईंको पुकारा गर्नेछु। किनकि तपाईंले जवाफ दिनुहुनेछ।” (भजनसंग्रह ८६:५-७) “हे यहोवा”—यो आत्मीयतापूर्ण अभिव्यक्ति सुनेर बारम्बार हाम्रो हृदय आनन्दले गद्गद् हुन्छ! यो एउटा यस्तो आत्मीयता हो जसलाई निरन्तर प्रार्थनाद्वारा विकास गर्न सकिन्छ। दाऊदले एउटा अर्को अवसरमा पनि यसप्रकार प्रार्थना गरे: “मेरो जवानी अवस्थाका पापहरू र मेरा अपराधहरू नसम्झनुहोस्। हे परमप्रभु [यहोवा, न्यु व०] तपाईंको भलाइको खातिर, आफ्नो करुणाअनुसार मलाई सम्झनुहोस्।” (भजनसंग्रह २५:७) यहोवा भलाइको साक्षात रूप हुनुहुन्छ। उहाँले येशूद्वारा हाम्रा छुटकाराका लागि बलिदान उपलब्ध गराइ दिनुभयो, पश्चाताप गर्ने पापीहरूका निम्ति दया दर्साउनु भयो र आफ्ना वफादार र मूल्याङ्कनको भाव व्यक्त गर्ने साक्षीहरूका लागि प्रेमपूर्ण करुणा प्रकट गर्नुभयो।—भजनसंग्रह १००:३-५; मलाकी ३:१०.
९. कुन आश्वासनलाई पश्चाताप गर्ने पापीहरूले गम्भीरतापूर्वक ध्यान दिनु पर्दछ?
९ के हामीले बितेका समयमा गरेका गल्तीहरू सम्झेर खिन्न मान्नु उचित हो? पश्चातापको भाव व्यक्त गर्ने मानिसहरूलाई “प्रभु [यहोवा, न्यु व०] बाट आराम” पाउन सकिन्छ भनेर प्रेरित पत्रुसले आश्वासन दिएका थिए। हामीले आफ्ना मार्गहरूमा सुधार ल्याउँदै छौं भने ती शब्दहरू हाम्रालागि पनि उत्साहवर्धक हुन सक्छन्। (प्रेरित ३:१९) हाम्रा मुक्तिदाता येशूद्वारा प्रार्थना गर्दै, हामी यहोवासित आत्मीयता कायम राखौं किनकि स्वयं येशूले प्रेमसहित यसो भन्नु भएको थियो: “हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा तिमी आफैले बोक, र मसँग सिक। किनभने म विनयी, र नम्र हृदयको छु। अनि तिमीहरूले आफ्ना आफ्ना आत्मामा विश्राम पाउनेछौ।” अतः यहोवासित येशूको बहुमूल्य नाउँमा प्रार्थना गर्दा आज वफादार साक्षीहरूले साँच्चै नै आराम अनुभव गरिरहेका छन्।—मत्ती ११:२८, २९; यूहन्ना १५:१६.
१०. यहोवाको करुणालाई भजनसंग्रहको पुस्तकले कस्तो महत्त्व दिन्छ?
१० भजनसंग्रहको पुस्तकले सय पटक भन्दा बढी यहोवाको “करुणा”-को चर्चा गर्दछ। यस प्रकारको करुणा निश्चय नै प्रशस्त मात्रामा पाइन्छ! भजनसंग्रह ११८-का प्रथम चारवटा पद्यहरूले यहोवालाई धन्यवाद चढाउन परमेश्वरका सेवकहरूलाई आग्रह गर्दछ र “उहाँको करुणा सदा सर्वदा रहिरहन्छ” भन्ने अभिव्यक्ति चार पटक दोहोऱ्याउँद छ। भजनसंग्रहको १३६-ले “उहाँको करुणा”-को वाञ्छनीयतालाई २६ पटक महत्त्व दिन्छ। याकूब ३:२ भन्दछ: “धेरै कुरामा हामी चुक्तछौं।” यसकारण, हामीबाट जस्तो सुकै गल्ती भएको भए तापनि, यहोवाको दया र करुणाबारे विश्वस्त भएर हामी सधैं उहाँको क्षमा माँग्न तयार रहौं। उहाँले हाम्रालागि व्यक्त गर्नु हुने वफादार प्रेमको एउटा अभिव्यक्ति उहाँको करुणा हो। हामीले वफादारीका साथ परमेश्वरको इच्छा गरिरह्यौं भने हामीलाई प्रत्येक कठिनाइ झेल्ने बल दिनका लागि उहाँले पनि हाम्रा निम्ति आफ्नो वफादार प्रेम प्रकट गर्नुहुनेछ।—१ कोरिन्थी १०:१३.
११. आफूलाई दोषी ठहराउने किसिमका भावनाहरू हटाउनका लागि प्राचीनहरूले के मद्दत दिन सक्छन्?
११ कुनै कुनै बेला हामीले अरूहरूको कारण ठोकर खान सक्छौं। केटा-केटी छँदा अनुभव गरिएका कुनै मानसिक अथवा शारीरिक चोटको कारण कसै कसैले आफूलाई दोषी अथवा अयोग्य ठान्न सक्छन्। यस प्रकारका भावनाहरूको शिकार भएको व्यक्तिले यहोवालाई पुकार्नु सक्छ र उहाँले सुनी दिनु हुने छ भनी ऊ विश्वस्त रहन सक्छ। (भजनसंग्रह ५५:१६, १७) साथै, बितेका समयमा भएका ती कुराहरूका लागि ऊ दोषी होइन भनेर बुझ्ने मद्दत कुनै दयावन्त प्राचीनले त्यस पीडित व्यक्तिलाई सम्भवतः दिन सक्छन्। त्यस व्यक्तिले आफ्नो ‘भार उठाउन’ नसकुञ्जेलसम्म, समय समयमा ती प्राचीनले मित्रताको भाव दर्साउदै उसलाई फोन गरिरहनु उचित हुने छ।—गलाती ६:२, ५.
१२. विपत्तीहरू कसरी बढदै गएका छन् र हामीले तिनीहरूको सफलतापूर्वक सामना कसरी गर्न सक्ने छौं?
१२ यहोवाका जनहरूले आज सामना गर्नु पर्ने अन्य अरू धेरै कष्टदायक परिस्थितिहरू छन्। १९१४-मा प्रथम विश्व युद्ध पश्चात् यस पृथ्वीमाथि ठूला ठूला विपत्तीहरू आइ पर्न थाले। येशूले गर्नु भएका अग्रिमवाणीअनुसार, ती “सब ता कष्टका शुरु” थिए। जसै हामी “जगतको अन्त” तिर अघि बढदै गएका छौं, कष्टहरू पनि झन-झन बढदै गएका छन्। (मत्ती २४:३, ८) दियाबलको “अल्प समय” त्यसको अन्तको चरम-सीमातिर गर्ल्यामगुर्लुम ओरालो लागी रहेको छ। (प्रकाश १२:१२) शिकारको खोजीमा हिंड्ने एउटा “गर्जने सिंह”-ले झैं, त्यो ठूलो विरोधीले हामीलाई परमेश्वरको बगालबाट अलग्ग्याएर नष्ट पार्न हर निहुँको प्रयोग गरिरहेको छ। (१ पत्रुस ५:८) तर त्यो सफल हुने छैन! किनभने दाऊदले झैं, हामीले हाम्रा एक मात्र परमेश्वर यहोवामाथि आफ्नो सम्पूर्ण भरोसा राखेका छौं।
१३. यहोवाको भलाइबाट आमा-बाबुहरू र तिनीहरूका छोरा-छोरीहरूले कसरी लाभ उठाउन सक्छन्?
१३ यहोवाको भलाइमाथि भरोसा राख्ने आवश्यकता निःसन्देह दाऊदले आफ्नो छोरा सुलेमानको हृदयमा बसाएका थिए। जसले गर्दा, सुलेमानले पनि आफ्नो छोरालाई यस प्रकार सल्लाह दिन सके: “तेरा सारा भरोसा परमेश्वरमा राख, र तेरो आफ्नै समझ-शक्तिमा भरोसा नगर। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ। आफैलाई बुद्धिमान नसम्झी, तर परमप्रभुको भय मान, र दुष्कर्मबाट अलग बस।” (हितोपदेश ३:५-७) यस्तै गरी आज आमा-बाबुहरूले पनि आफ्ना छोरा-छोरीहरूलाई यहोवामाथि भरोसा राखेर प्रार्थना गर्न सिकाउनु पर्दछ। साथै मायादया नभएको संसारका आक्रमणहरू अर्थात् स्कूलमा साथीसङ्गीहरूको दबाउ र अनैतिक कामकुरा गर्ने परीक्षा जस्ता कुराहरूको सामना कसरी गर्न सकिन्छ, सो तिनीहरूलाई बुझाउनु आवश्यक छ। दिन दिनै आफ्ना छोरा-छोरीहरू सित बाइबलका सिद्धान्तहरू अनुसार जीवन बिताउने गर्नुहोस्। यस प्रकार, यहोवाका लागि साँचो प्रेम र उहाँमाथि प्रार्थनापूर्वक भरोसा राख्ने आवश्यकताले तिनीहरूका कलिलो हृदयमा गहिरो छाप पार्न सक्छ।—व्यवस्थाविवरण ६:४-९; ११:१८, १९.
यहोवाका अतुलनीय कार्यहरू
१४, १५. यहोवाका केही अतुलनीय कार्यहरू के के हुन्?
१४ गहिरो विश्वासका साथ दाऊद भन्छन्: “हे परमप्रभु, देवहरूमा तपाईंजस्तै अरू कोही छैन। तपाईंका कामहरूजस्ता अरू कुनै कामहरू छैनन्।” (भजनसंग्रह ८६:८) यहोवाका कार्यहरू यति महान, यति भव्य र यति तेजोमय छन्, कि कुनै पनि मानिसले तिनको कल्पना गरेर साद्धे छैन। सृजिएको यो ब्रह्माण्ड—यसको विशालता, एकरूपता र प्रभा—दाऊदले सोचेको भन्दा अति नै विस्मयकारी रहे छ भनेर आधुनिक विज्ञानद्वारा साबित भएको छ। तापनि, दाऊद यसो भन्न उत्प्रेरित भएका थिए: “आकाशले परमेश्वरको महिमाको वर्णन गर्छ।”—भजनसंग्रह १९:१.
१५ दिन र रात, ऋतुहरू, बिउ छर्ने र फसल काट्ने समय र मानिसले भविष्यमा उपभोग गर्न सक्ने अनगन्ती आनन्दहरूको प्रबन्ध यहोवाले मिलाउनु भएको छ। यी प्रबन्धहरू पनि यहोवाका अद्भुत कार्यहरूका प्रतिबिम्ब हुन्। साथै, हामी कति अद्भुत रीतिले बनिएका र सुसज्जीत छौं। यसले गर्दा हाम्रा वरिपरि भएका यहोवाका कार्यहरूबाट हामी आनन्द उठाउन सक्षम भएका छौं!—उत्पत्ति २:७-९; ८:२२; भजनसंग्रह १३९:१४.
१६. यहोवाको भलाइको सबैभन्दा महान अभिव्यक्ति के हो र यसबाट अझ कुन कुन अतुलनीय कार्यहरू सम्पन्न हुन सक्यो?
१६ हाम्रा प्रथम आमा-बाबुले परमेश्वरको आज्ञा उल्लङ्घन गरेपछि, आजसम्म पृथ्वीलाई पीडित पार्ने विपत्तीहरूको आरम्भ भयो। तापनि, यहोवाले आफ्नो प्रेमको कारण पृथ्वीमा परमेश्वरको राज्यको घोषणा गर्न र छुटकाराको बलिदान दिन आफ्नो पुत्र पठाउनु भएर एउटा अद्भुत कार्य गर्नु भयो। र यसमा सबैभन्दा उदेक लाग्दो कुरा के हो भने, यहोवाले ख्रीष्टलाई उहाँसित राज्य गर्ने राजाको रूपमा पुनःजीवित पार्नु भयो! वफादार मानिसहरू मध्येबाट परमेश्वरले एउटा “नयाँ सृष्टि” पनि रोज्नु भएको छ। यिनीहरूले ख्रीष्टसित एउटा दयावन्त “नयाँ स्वर्गको” हैसियतमा “नयाँ पृथ्वी” अथवा नयाँ मानव समाजमाथि शासन गर्नेछन् जसमा पुनरुत्थान भएर आउने अरबौं मानिसहरू पनि सम्मिलित हुनेछन्। (२ कोरिन्थी ५:१७; प्रकाश २१:१, ५-७; १ कोरिन्थी १५:२२-२६) यस प्रकार, यहोवाका कार्यहरू एउटा महिमावान चरमबिन्दु तिर अघि बढने छ! साँच्चै नै हामी यो उद्घोषण गर्न सक्छौं: “. . . तपाईंसँग डराउनेहरूका निम्ति राख्नु भएको तपाईंको भलाइ कति ठूलो छ!”—भजनसंग्रह ३१:१७-१९.
१७. यहोवाका कार्यहरूको सम्बन्धमा भजनसंग्रह ८६:९ आहिले कसरी पूरा भइ रहेको छ?
१७ यहोवाका वर्तमान कार्यहरू दाऊदले भजनसंग्रह ८६:९-मा गरेका वर्णनमा समावेश छन्: “हे परमप्रभु तपाईंले बनाउनु भएका सब जाति तपाईंको अगि आएर दण्डवत् गर्नेछन्। र तिनीहरूले तपाईंको नाउँको महिमा गर्नेछन्।” मानिसजाति मध्येबाट यहोवाले उहाँको नयाँ सृष्टि अथवा “सानो बगाल”-का राज्याधिकारीहरूका बाँकी जनहरूलाई छानी सक्नु भएको छ। तर त्यसपछि उहाँले “सब जातिहरूबाट” लाखौं अरू भेडाहरूको “एक ठूलो भीड” जम्मा गर्नु हुँदै छ र यिनीहरूले पनि येशूको बगेको रगतमा विश्वास गर्दछन्। यिनीहरूलाई उहाँले एउटा सक्रिय सङ्गठनमा परिणत गराउनु भएको छ। भनौं भने, पृथ्वीमा आज शान्तिका प्रेमीहरूको यो एक मात्र विश्व समाज हो। यो कुरा स्वीकार्दै स्वर्गका दूतहरूले पनि यहोवाका सामुन्ने दण्डवत् गर्दै यो उद्गार गर्छन्: “हाम्रा परमेश्वरलाई प्रशंसा, महिमा, ज्ञान, धन्यवाद, आदर, शक्ति र सामर्थ्य सदा सर्वदा होस्।” ठूलो भीडले पनि यहोवाको नाउँलाई महिमित पार्दछन्। तिनीहरूले “दिन रात” उहाँको सेवा गर्दै यो संसारको अन्तलाई पार गरेर एउटा पार्थिव प्रमोदवनमा बस्ने आशा राख्छन्।—लूका १२:३२; प्रकाश ७:९-१७; यूहन्ना १०:१६.
यहोवाको महानता
१८. उहाँ ‘मात्र परमेश्वर’ हुनुहुन्छ भन्ने कुरा यहोवाले कसरी प्रदर्शित गर्नु भएको छ?
१८ दाऊदले यहोवाको ईश्वरत्वमाथि ध्यान आकर्षित गर्दै, यसो भन्छन्: “तपाईं महान हुनुहुन्छ, र आश्चर्यकामहरू गर्नुहुन्छ। तपाईं मात्र परमेश्वर हुनुहुन्छ।” (भजनसंग्रह ८६:१०) प्राचीन कालदेखि नै, यहोवाले वास्तवमा उहाँ ‘मात्र परमेश्वर’ हुनुहुन्छ भन्ने कुरा प्रदर्शित गर्दै आउनु भएको छ। मिस्रको एक जना कठोर फिरऊनले घमण्डसाथ मोशालाई यो चुनौती दिए: “परमप्रभु को हो, र म तिनको कुरा सुनेर इस्राएलीहरूलाई जानदिऊँ? परमप्रभुलाई म चिन्दिनँ।” तर यहोवा कतिको महान हुनुहुन्छ, तिनले चाँडै नै बुझे! सर्वशक्तिमान परमेश्वरले मिस्रमा विध्वंसकारी विपत्तीहरू पठाउनु भयो, त्यहाँका जेठा छोराहरूलाई मारिदिनु भयो र फिरऊन र तिनका विशिष्ट फौजलाई लाल समुद्रमा नाश गरी दिनुभयो। यस प्रकार, उहाँले मिस्रका देवताहरूलाई र तन्त्रमन्त्र गर्ने पुजाहारीहरूलाई होच्याउनु भयो। साँच्चै नै, ईश्वरहरू मध्ये यहोवा जस्तो कोही छैन!—प्रस्थान ५:२; १५:११, १२.
१९, २०. (क) प्रकाश १५:३, ४-को गीतको सबैभन्दा भव्य पूर्ति कहिले हुने छ? (ख) यहोवाको कार्यमा हामी कसरी आज पनि भाग लिन सक्छौं?
१९ आधुनिक मिस्र अर्थात् शैतानको संसारबाट उहाँका आज्ञाकारी उपासकहरूलाई छुटकारा दिने तयारीको सिलसिलामा यहोवाले एक मात्र परमेश्वरको हैसियतमा आश्चर्यकामहरू गर्न लाग्नु भएको छ। उहाँले इतिहासको सबैभन्दा विस्तृत प्रचार अभियानद्वारा आफ्नो ईश्वरीय न्यायको घोषणा गराउनु भएको छ र यस प्रकार मत्ती २४:१४-मा उल्लेखित येशूको भविष्यवाणी पूरा गर्नु भएको छ। अवश्य “अन्त” चाँडै नै आउने छ। तब यहोवाले पृथ्वीबाट सबै दुष्टता मेटाउनु हुँदै, आफ्नो महानतालाई एउटा अपूर्व रीतिले प्रदर्सित गर्नु हुने छ। (भजनसंग्रह १४५:२०) अनि मोशाको र थुमाको गीत चर्को स्वरमा गुञ्जायमान हुने छ: “हे परमप्रभु, परमेश्वर सर्वशक्तिमान, तपाईंका काम ठूला र आश्चर्यपूर्ण छन्। तपाईं युगयुगका महाराजा, तपाईंका मार्ग धार्मिक र सत्य छन्। हे परमप्रभु, तपाईंको डर कसले मान्दैन? र तपाईंको नाउँको महिमा कसले गर्दैन? किनकि तपाईं मात्र पवित्र हुनुहुन्छ?”—प्रकाश १५:३, ४.
२० परमेश्वरका यी प्रभावकारी उद्देश्यहरू बारे कुरा गर्न हामी सधैं नै जोसिला होऊँ। (प्रेरित २:११-सँग तुलना गर्नु होस्।) यहोवाले यी महान आश्चर्यकामहरू हाम्रा दिनमा र भविष्यमा पनि गरी नै रहनु हुने छ र यसको वर्णन हाम्रो आउँदो लेखले गर्ने छ। (w92 12/15)
[फुटनोट]
a सन् १८७४ मा, बाइबल सम्बन्धी एउटा लेखमा, एन्ड्रु ए० बोनारका यी शब्दहरूलाई उद्धृत गरिएको छ: “यो अन्तिम [८५ वौं] भजनको अन्ततिर, परमेश्वरको विशेष स्वभाव अथवा उहाँको महिमायुक्त नाउँलाई अति नै विशेष मात्रामा प्रकाशित गरिएको छ। सायद यसैकारण होला यहोवाको स्वभावलाई यति नै महत्त्व दिने अर्को भजन अर्थात् ‘दाऊदको प्रार्थना’ पनि यसको ठीक पछि प्रस्तुत गरिएको छ। यो [८६ वौं] भजनको मुख्य-ध्येय यहोवाको नाउँ हो।”
b वाचटावर बाइबल एन्ड ट्र्याक्ट सोसाइटी अफ न्यु योर्क, इन्करपरेटेड द्वारा प्रकाशित, जून २२, १९८४-को अवेक! पत्रिका, पाना २८ हेर्नुहोस्।
c विस्तृत विवरणका लागि “यहोवाका साक्षीहरूका १९९२ वार्षिक सेवा रिर्पोट” हेर्नुहोस्। यो रिर्पोट जनवरी १, १९९३-को प्रहरीधरहरा-मा पाउनु हुने छ।
के तपाईंलाई सम्झना छ?
◻ हामीले भजनसंग्रह ८६-को प्रार्थनालाई आफ्नो व्यक्तिगत प्रार्थना किन बनाउनु पर्दछ?
◻ यहोवासित हामीले घनिष्ठता कसरी कायम गर्न सक्छौं?
◻ यहोवाले उहाँको भलाइ हामीप्रति कसरी व्यक्त गर्नु हुन्छ?
◻ यहोवाका केही अतुलनीय कार्यहरू के के हुन्?
◻ महानताको सम्बन्धमा, कसरी यहोवा ‘मात्र परमेश्वर’ हुनुहुन्छ?
[पृष्ठ २३-मा भएको चित्र]
आउने “नयाँ पृथ्वीमा यहोवाका आश्चर्यकामहरूले उहाँको महिमा र भलाइको साक्षी दिने छ