यहोवाको भयमा आनन्द प्राप्त गर्न सिक्नु
“आऊ, हे बालक हो, मेरा कुरा सुन, म तिमीहरूलाई परमप्रभुको डर मान्न सिकाउनेछु।”—भजनसंग्रह ३४:११.
१. परमेश्वरको राज्यले भयलाई कसरी हटाउनेछ तर त्यसको मतलब के सारा भय हटाइनेछ भनेको हो?
मानिसहरू जताततै हिंसा र अपराधको भय, बेरोजगारको भय, गम्भीर अस्वस्थताको भयबाट स्वतन्त्रता चाहन्छन्। परमेश्वरको राज्यअन्तर्गत त्यो स्वतन्त्रता वास्तविक हुने दिन कस्तो महान् हुनेछ! (यशैया ३३:२४; ६५:२१-२३; मीका ४:४) यद्यपि, त्यतिबेला सबै प्रकारको भय हराउने छैनन् नता अहिले हाम्रो जीवनबाट सबै भय हटाउने प्रयास गर्न खोज्नु नै मनासिब हो। असल भय र खराब भय भन्ने कुरा पनि हुन्छ।
२. (क) कस्तो प्रकारको भय नराम्रो र कस्तो भय मनपर्दो हुन्छ? (ख) ईश्वरीय भय भनेको के हो र उद्धरित शास्त्रपदहरूले यो कसरी संकेत गर्छ?
२ भय भनेको मानिसको तार्किक शक्तिलाई लट्याउन सक्ने मानसिक विष हुन सक्छ। यसले साहसलाई बेकाम तुल्याउन र आशालाई भताभुंग पार्न सक्छ। शत्रुले शारीरिक तवरमा धम्क्याइरहँदा त्यस्तो भय अनुभव हुन सक्छ। (यर्मिया ५१:३०) केही प्रभावकारी व्यक्तिहरूको अनुमोदन प्राप्त गर्नु असाध्यै महत्त्वपूर्ण ठान्नेहरूले पनि त्यस्तो भय महसुस गर्न सक्छन्। (हितोपदेश २९:२५) तर स्वस्थकर भय पनि हुन्छ, जसले कुनै सोचविचार नपुऱ्याइकन लापरवाहीपूर्वक आफूलाई हानि पुऱ्याउनबाट रोक्छ। तर ईश्वरीय भयमा त्योभन्दा बढी कुरा समावेश छ। यो यहोवाप्रतिको विस्मय अनि गहिरो श्रद्धा तथा उहाँलाई अप्रसन्न तुल्याउने स्वस्थकर त्रास हो। (भजनसंग्रह ८९:७) परमेश्वरको करुणा तथा भलाइप्रति मूल्यांकनसहित उहाँलाई अप्रसन्न तुल्याउने भय पैदा हुन्छ। (भजनसंग्रह ५:७; होशे ३:५) उहाँको आज्ञा पालन गर्न नचाहनेहरूलाई मृत्युदण्ड समेत दिनसक्ने शक्ति भएको सर्वोच्च न्यायकर्त्ता र सर्वशक्तिमान यहोवा नै हुनुहुन्छ भन्ने सजगता पनि यसमा समावेश छ।—रोमी १४:१०-१२.
३. यहोवाको भय र अन्य मूर्तिपूजक देवताहरूबीच कस्तो भिन्नता छ?
३ ईश्वरीय भय अस्वस्थकर नभई स्वस्थकर भय हो। गलत कार्यहरूमा सम्झौता नगरिकन सही कुरा गर्न यसले प्रेरित गर्छ। त्रास जगाउने दुष्ट पुरातन युनानी देवता फोबोससित सम्बन्धित भयजस्तो यो होइन। अनि यो हिन्दू देवी कालीजस्तो पनि होइन, जसलाई अक्सर लाश, सर्प र खप्पर गहना लगाउने रक्तपिपासुको रूपमा चित्रण गरिन्छ। ईश्वरीय भयले आकर्षण गर्छ, विकर्षण होइन। यो प्रेम र मूल्यांकनसित बाँधिएको हुन्छ। यसप्रकार ईश्वरीय भयले हामीलाई यहोवातर्फ खिंच्छ।—व्यवस्था १०:१२, १३; भजनसंग्रह २:११.
ईश्वरीय भय किन कसैसित हुन्छ र कसैसित हुँदैन
४. प्रेरित पावलले देखाएझैं मानवजाति कुन अवस्थामा खस्केको छ र यसका कारणहरू के के हुन्?
४ सम्पूर्ण मानवजाति ईश्वरीय भयद्वारा प्रेरित भएका छैनन्। मानवहरू सुरुको सिद्धताबाट कतिको पतित भइसके भन्ने कुरा प्रेरित पावलले रोमी ३:९-१८ मा वर्णन गरेका छन्। सबै पापको अधीनमा छन् भनी बताएपछि पावल यसो भन्दै भजनसंग्रहबाट उद्धरण गर्छन्: “असल गर्ने कोही छैन।” (भजनसंग्रह १४:१ हेर्नुहोस्।) त्यसपछि परमेश्वरको खोजी गर्नुमा मानवजातिको बेवास्ता, दयाको अभाव, छली बोली, सराप्ने बानी र रक्तपातजस्ता कुराहरू तिनी उल्लेख गर्छन्। वर्तमान संसारको कस्तो उचित वर्णन! अधिकांश मानिसहरू परमेश्वर र उहाँका उद्देश्यहरूबारे केही चासो राख्दैनन्। मानिसहरू प्रायः देखावटी दया देखाउँछन् र त्यो पनि केही फाइदा हुनेजस्तो देखिएमा मात्र। झूट र छाडा बोली जताततै व्याप्त छ। रक्तपात समाचारमा मात्र नभई मनोरञ्जनमा पनि प्रस्तुत गरिन्छ। यस्तो परिस्थितिका कारणहरू के के हुन्? हो, हामी सबै पापी आदमका सन्तानहरू हौं तर प्रेरित पावलले उल्लेख गरेको जीवनशैली मानिसहरूले अपनाउँदा त्यति मात्रै समावेश हुँदैन। त्यो के हो भनी पद १८ ले यसरी वर्णन गर्छ: “तिनीहरूका आँखाको सामने परमेश्वरको भय छैन।”—भजनसंग्रह ३६:१ हेर्नुहोस्।
५. केही व्यक्तिहरूमा ईश्वरीय भय हुनु र केहीमा नहुनुको कारण के हो?
५ तापनि केही व्यक्तिहरूमा ईश्वरीय भय हुनु र केहीमा नहुनुको कारण के हो? सरल भाषामा भन्ने हो भने, केही व्यक्तिहरूले ईश्वरीय भय खेती गर्छन् र कसैले गर्दैनन्। जन्मजात कसैमा पनि ईश्वरीय भय हुँदैन तर हामी सबैमा त्यो आर्जन गर्ने योग्यता छ। ईश्वरीय भय भनेको हामीले सिक्नुपर्ने कुरा हो। अतः त्यसलाई हाम्रो जीवनको प्रभावकारी शक्ति बनाउन हामीले त्यसको खेती गर्नुपर्छ।
मनमोहक निमन्त्रणा
६. भजनसंग्रह ३४:११ मा लिपिबद्ध आह्वान कसको हो र ईश्वरीय भय सिक्नुपर्ने कुरा हो भनी उक्त पदले कसरी देखाउँछ?
६ यहोवाको भय सिक्ने मनमोहक निमन्त्रणा हामीलाई भजनसंग्रह ३४ मा दिइएको छ। यो दाऊदको भजन हो। अनि दाऊदले कसको पूर्वसंकेत गर्छन्? निस्सन्देह प्रभु येशू ख्रीष्टको। प्रेरित यूहन्नाले येशूलाई नै तोकेर उल्लेख गरेको भविष्यवाणी यो भजनको २० पदमा लिपिबद्ध गरिएको छ। (यूहन्ना १९:३६) हाम्रो समयमा त्यस्तो प्रकारको निमन्त्रणा येशूले पद ११ मा यसप्रकार दिनुहुन्छ: “आऊ, ए बालक हो, मेरा कुरा सुन, म तिमीहरूलाई परमप्रभुको डर मान्न सिकाउनेछु।” ईश्वरीय भय सिक्नुपर्ने कुरा हो भनी यसले स्पष्टसित देखाउँछ। अनि यस्तो भय सिकाउन येशू ख्रीष्ट सबैभन्दा निपुण हुनुहुन्छ। त्यसो किन?
७. ईश्वरीय भय विशेषगरि किन येशूबाट सिक्नुपर्छ?
७ येशू ख्रीष्टलाई ईश्वरीय भयको महत्त्व थाहा छ। उहाँबारे हिब्रू ५:७ ले यसो भन्छ: “आफ्नो शरीरका दिनमा जसले बेसरी कराई, आँसु बगाएर उहाँलाई मृत्युबाट बचाउन सक्नुहुनेसँग प्रार्थना र अन्तरबिन्ती गर्नुभयो, र उहाँको भक्तिको भयले गर्दा उहाँको सुनाइभयो।” शूलीमा मृत्युको सामना गर्नुअघि पनि येशू ख्रीष्टले ईश्वरीय भय देखाउनुभयो। स्मरण रहोस्, बुद्धिको मूर्त रूपमा परमेश्वरको पुत्रलाई हितोपदेश ८ अध्यायमा चित्रण गरिएको छ। अनि हितोपदेश ९:१० मा हामीलाई यसो भनिएको छ: “परमप्रभुको डर मान्नु बुद्धिको प्रथम खुड़किलो हो।” अतः परमेश्वरको पुत्र पृथ्वीमा आउनुभन्दा निकै समयअघि नै उहाँको व्यक्तित्वको आधारभूत भाग ईश्वरीय भय थियो।
८. यशैया ११:२, ३ मा हामी यहोवाको भयबारे के सिक्छौं?
८ यसबाहेक, मसीह राजाको हैसियतमा येशूबारे यशैया ११:२, ३ ले यसो भन्छ: “परमप्रभुको आत्मा उहाँमाथि रहनुहुनेछ—बुद्धि र समझको आत्मा, सल्लाह र शक्तिको आत्मा, ज्ञान र परमप्रभुप्रतिको श्रद्धाको आत्मा।” कति सुन्दर ढंगमा त्यो व्यक्त गरिएको छ! यहोवाको भयमा अप्रिय कुरा केही छैन। यो सकारात्मक र रचनात्मक हुन्छ। राजाको हैसियतमा ख्रीष्टले शासन गर्नुहुने सम्पूर्ण क्षेत्रमा यो गुण व्याप्त हुनेछ। उहाँ अहिले शासन गर्दैहुनुहुन्छ र आफ्ना प्रजाहरू हुन जम्मा गरिएका सबैलाई उहाँले यहोवाको भय मान्न सिकाउँदै हुनुहुन्छ। तर कसरी?
९. यहोवाको भय राख्न येशू ख्रीष्टले हामीलाई कसरी सिकाउँदै हुनुहुन्छ र हामीले के सिकेको उहाँ चाहनुहुन्छ?
९ मण्डलीका सभा अनि सम्मेलनहरूद्वारा मण्डलीको शिर तथा मसीह राज्यको राजाको हैसियतमा ईश्वरीय भय भनेको के हो र त्यो किन त्यत्तिको लाभकारी छ भनी बुझ्न येशूले हामीलाई मदत दिनुहुन्छ। यसप्रकार उहाँ आफूले जस्तै हामीले पनि यहोवाको भयबाट आनन्द उठाउन सिकून् भनेर हाम्रो प्रशंसालाई गहिरो बनाउने प्रयास गर्नुहुन्छ।
के तपाईंले प्रयास गर्नुहुनेछ?
१०. मसीही सभाहरू धाउँदा यहोवाको भय बुझ्ने हो भने, हामीले के गर्नुपर्छ?
१० निस्सन्देह, बाइबल पढ्दैमा वा राज्य भवनमा सभाहरू धाउँदैमा हामीसित ईश्वरीय भय हुन्छ भन्ने ग्यारेन्टी छैन। वास्तवमा यहोवाको भय बुझ्न हामीले के गर्नुपर्छ भनी यहाँ ध्यान दिनुहोस्। हितोपदेश २:१-५ ले यसो भन्छ: “हे मेरो छोरो, यदि तैंले मेरा वचन हृदयमा लिइस् र मेरा आज्ञा तेरो मनमा राखिस् भने बुद्धिमा तेरो ध्यान र तेरो मन समझ-शक्तिमा लगाइस् भने, तैंले विवेक माग्छस् भने समझ-शक्तिलाई पुकार्। यदि तैंले त्यसलाई चाँदीझैं खोजिस् र गाड़ धनझैं त्यो खनिस् भने, तैंले परमेश्वरको ज्ञान प्राप्त गर्नेछस्।” अतः सभामा उपस्थित हुँदा हामीले ध्यान दिएर सुन्नुपर्छ, मुख्य बुँदाहरूमा ध्यान केन्द्रित गर्न र ती सम्झन प्रयत्न गर्नुपर्छ। साथै यहोवाप्रति हाम्रा भावनाहरू कस्तो हुनुपर्छ भनी सल्लाह पाउँदा आफूले राख्नुपर्ने दृष्टिकोणबारे गहिरिएर सोच्न हाम्रो हृदय खोल्नुपर्छ। त्यसपछि हामीले यहोवाको भय बुझ्नेछौं।
११. ईश्वरीय भय खेती गर्न हामीले व्यग्रतापूर्वक र बारम्बार के गर्नुपर्छ?
११ भजनसंग्रह ८६:११ ले अर्को महत्त्वपूर्ण तत्त्वमाथि हाम्रो ध्यानाकर्षण गर्छ। त्यो हो, प्रार्थना। भजनरचयिताले यसरी प्रार्थना गरे: “हे परमप्रभु, मलाई तपाईंको मार्ग सिकाउनुहोस्, र म तपाईंको सत्यतामा हिंड़नेछु। तपाईंको नाउँको डर राख्न मेरो मन एक चित्तको पार्नुहोस्।” यहोवाले त्यो प्रार्थना स्वीकार्नुभएको हुँदा उहाँले यो बाइबलमा अभिलेख गर्न लगाउनुभयो। ईश्वरीय भय खेती गर्न हामीले पनि मदतको निम्ति यहोवालाई प्रार्थना गर्नुपर्छ। व्यग्रतापूर्वक अनि बारम्बार प्रार्थना गर्दा हामीले लाभ उठाउनेछौं।—लूका १८:१-८.
तपाईंको हृदय मुछिएको छ
१२. हृदयलाई किन विशेष ध्यानको खाँचो पर्छ र त्यसमा कुन कुरा समावेश छ?
१२ भजनसंग्रह ८६:११ मा हामीले सम्झनु पर्ने अर्को कुरा पनि छ। परमेश्वरको भय राख्न भजनरचयिताले केवल बौद्धिक समझ मागिरहेका थिएनन्। तिनले आफ्नो हृदय उल्लेख गर्छन्। ईश्वरीय भय खेती गर्नुमा लाक्षणिक हृदय पनि समावेश छ। यसलाई विशेष ध्यानको खाँचो पर्छ किनभने हाम्रो दैनिक क्रियाकलापमा भित्री मनुष्यत्व प्रकट हुनुको साथै यसमा हाम्रो विचार, मनोवृत्ति, इच्छा, प्रवृत्ति र लक्ष्यहरू समावेश हुन्छ।
१३. (क) कुनै व्यक्तिको हृदय विभाजित छ भनेर कुन कुराले संकेत गर्छ? (ख) ईश्वरीय भय खेती गर्दा कस्तो लक्ष्य राख्नुपर्छ?
१३ मानिसको हृदय विभाजित हुन सक्छ भनी बाइबलले हामीलाई चेतावनी दिन्छ। यो छली हुन्छ। (भजनसंग्रह १२:२; यर्मिया १७:९) यसले हामीलाई मण्डलीका सभाहरू र क्षेत्र सेवकाईमा जाने जस्ता स्वस्थकर क्रियाकलापमा भाग लिन प्रेरित गर्न सक्छ तर यसले सांसारिक जीवनशैलीका केही पक्षहरूलाई प्रेम गर्न पनि सक्छ। भित्री मनदेखि राज्यसम्बन्धी कामकुराहरू प्रवर्धन गर्न यसले हामीलाई रोकिरहेको हुन सक्छ। अनि छली हृदयले हामीलाई त्यसो गर्न जोड दिन सक्छ किनभने राज्यसम्बन्धी कार्यमा अरू थुप्रैले जति त गरिरहेकै हुन्छौं नि। अथवा शायद स्कूल वा सांसारिक कार्यस्थलमा मानिसको भयले हाम्रो हृदयलाई असर गरिरहेको हुन सक्छ। परिणामस्वरूप हामी यहोवाका साक्षी हौं भनी त्यस्ता व्यक्तिहरूसमक्ष आफूलाई चिनाउन हिचकिचाउन सक्छौं। अनि मसीहीहरूका लागि अनुपयुक्त काम पनि गर्न सक्छौं। तथापि, पछि अन्तस्करणले हामीलाई दुःख दिन सक्छ। हामी त्यस्तो व्यक्ति हुन चाहँदैनौं। तसर्थ भजनरचयिता सँगसँगै हामी पनि यसरी यहोवालाई प्रार्थना गर्छौं: “तपाईंको नाउँको डर राख्न मेरो मन एक चित्तको पार्नुहोस्।” हाम्रो जीवनको सम्पूर्ण क्रियाकलापमा झल्कने हाम्रो भित्री मनुष्यत्वले ‘परमेश्वरको भय मान्छौं र उहाँको आज्ञा पालन’ गर्छौं भन्ने प्रमाण दिन चाहन्छौं।—उपदेशक १२:१३.
१४, १५. (क) बाबेलको दासत्वबाट इस्राएललाई पुनर्स्थापना गर्ने भविष्यवाणी गर्नुहुँदा यहोवाले आफ्ना जनहरूलाई के दिने प्रतिज्ञा गर्नुभयो? (ख) आफ्ना जनहरूको हृदयमा परमेश्वरको भय रोप्ने उद्देश्य राखेर यहोवाले के गर्नुभयो? (ग) यहोवाका मार्गहरूबाट इस्राएल किन तर्क्यो?
१४ आफ्ना जनहरूलाई त्यस्तो ईश्वरभीरु हृदय दिनेछु भनी यहोवाले प्रतिज्ञा गर्नुभएको छ। उहाँले इस्राएलको पुनर्स्थापनाबारे भविष्यवाणी गर्नुभयो जुन कुरा हामी यर्मिया ३२:३७-३९ मा यसप्रकार पढ्छौं: “म तिनीहरूलाई फेरि यस देशमा फर्काएर ल्याउनेछु र सुरक्षितसाथ बसाल्नेछु। औ तिनीहरू मेरा प्रजा हुनेछन् र म तिनीहरूका परमेश्वर हुनेछु। म तिनीहरूलाई एउटै मन दिनेछु र तिनीहरू एउटै चालमा चल्नेछन्, र तिनीहरूले आफ्नै र तिनीहरूका भावी सन्तानको भलाइको निम्ति सधैंभरि मेरो डर मान्नेछन्।” पद ४० मा परमेश्वरको आज्ञा पुनः जोड दिइएको छ: “तिनीहरू मदेखि फर्केर नजाऊन् भनी मेरो डर म तिनीहरूका हृदयमा हालिदिनेछु।” आफूले प्रतिज्ञा गर्नुभएअनुसार यहोवाले सा.यु.पू. ५३७ मा तिनीहरूलाई यरूशलेममा अवश्य ल्याउनुभयो। तर उहाँले ‘तिनीहरूलाई एक मन दिनुहुनेछ’ भन्ने बाँकि भविष्यवाणीबारे के भन्न सकिन्छ? उहाँले बाबेलबाट फर्काइसक्नुभएपछि पनि पुरातन इस्राएल राष्ट्र किन यहोवाबाट तर्किए? फलतः सा.यु.पू. ७० मा भत्काइएको मन्दिर तिनीहरूले कहिल्यै पुनर्निमाण गर्न सकेनन्।
१५ यो यहोवाको असफलताले गर्दा भएको थिएन। निस्सन्देह, आफ्ना जनहरूको हृदयमा परमेश्वरको भय राख्न यहोवाले आवश्यक कदमहरू चाल्नुभयो। उहाँको दयाको कारण बाबेलबाट तिनीहरूलाई बचाउनुका साथै मातृभूमिमा पुनर्स्थापित गर्नुभएर उहाँप्रति गम्भीर श्रद्धा राख्ने प्रशस्त कारणहरू दिनुभयो। हाग्गै, जकरिया र मलाकी अगमवक्ताहरू मार्फत सम्झौटा, सल्लाह तथा ताडना दिनुका साथै शिक्षकको हैसियतमा पठाइएका एज्रा, बडा-हाकिम नहेम्याह र परमेश्वरको पुत्र स्वयंले जोड दिए। कहिलेकाहीं मानिसहरूले सुने। हाग्गै र जकरियाको आग्रहमा यहोवाको मन्दिर पुननिर्माण गर्दा तथा एज्राको समयमा आफ्ना विदेशी पत्नीहरूलाई फिर्ता पठाउँदा तिनीहरूले परमेश्वरको कुरा सुने। (एज्रा ५:१, २; १०:१-४) तर प्रायजसो तिनीहरूले आज्ञा पालन गरेनन्। तिनीहरूले लगातार ध्यान दिएनन्; सल्लाहप्रति तिनीहरू सधैं ग्रहणशील भएनन्; तिनीहरूले आफ्नो हृदय खुला राखेनन्। इस्राएलीहरूले ईश्वरीय भय खेती गरिरहेका थिएनन् र फलस्वरूप यो तिनीहरूको जीवनमा शक्तिशाली प्रेरणादायी शक्ति साबित भएन।—मलाकी १:६; मत्ती १५:७, ८.
१६. कसको हृदयमा यहोवाले ईश्वरीय भय रोपिदिनु भएको छ?
१६ यद्यपि, ईश्वरीय भय आफ्ना जनहरूको हृदयमा राखिदिने यहोवाको प्रतिज्ञा विफल भएन। आफूसमक्ष स्वर्गीय आशा भएका मसीहीहरू अर्थात् आध्यात्मिक इस्राएलसित उहाँले नयाँ करार बाँध्नुभयो। (यर्मिया ३१:३३; गलाती ६:१६) सन् १९१९ मा उहाँले तिनीहरूलाई महान् बाबेल अर्थात् झूटो धर्मको विश्व-साम्राज्यको दासत्वबाट मुक्त गर्नुभयो। तिनीहरूको हृदयमा उहाँले आफ्नो भय गहिरो गरी रोप्नुभएको छ। यसले तिनीहरूलगायत राज्यको पार्थिव प्रजा अर्थात् “ठूलो भीड[लाई]” समेत प्रशस्त आशिष्हरू ल्याएको छ। (यर्मिया ३२:३९; प्रकाश ७:९) तिनीहरूको हृदयमा पनि यहोवाको भय पैदा भएको छ।
ईश्वरीय भय हाम्रो हृदयमा कसरी रोपिन्छ
१७. हाम्रो हृदयमा यहोवाले ईश्वरीय भय कसरी राखिदिनुभएको छ?
१७ हाम्रो हृदयमा यहोवाले ईश्वरीय भय कसरी रोपिदिनुभएको छ? उहाँको आत्माको कार्यद्वारा। अनि पवित्र आत्माको फलस्वरूप हामीसित के छ? परमेश्वरको प्रेरित वचन, बाइबल। (२ तिमोथी ३:१६, १७) उहाँले अतीतमा गर्नुभएका कुराहरू, उहाँको भविष्यसूचक वचनको पूर्तिअनुरूप अहिले आफ्ना सेवकहरूसित गर्नुभएको व्यवहार र पछि हुने कुराहरूको भविष्यवाणीद्वारा ईश्वरीय भय खेती गर्ने राम्रो आधार यहोवाले प्रदान गर्नुहुन्छ।—यहोशू २४:२-१५; हिब्रू १०:३०, ३१.
१८, १९. ईश्वरीय भय आर्जन गर्न सम्मेलन तथा मण्डलीका सभाहरूले कसरी मदत गर्छ?
१८ व्यवस्था ४:१० मा लिपिबद्ध गरिएअनुसार यहोवाले मोशालाई भन्नुभएको यो कुरा उल्लेखनीय छ: “मानिसहरूलाई मेरो नजीक भेला गरा, र तिनीहरूलाई मेरो वचन सुनाउनेछु, र तिनीहरू यस पृथ्वीमा जति दिन जीवित रहनेछन् तिनीहरूले मेरो डर मानून्, र तिनीहरूले यही कुरो आफ्ना छोरा-छोरीहरूलाई सिकाऊन्।” त्यस्तैगरि आज पनि आफ्ना जनहरूलाई उहाँको भय राख्ने मदत दिन यहोवाले पर्याप्त प्रबन्धहरू गर्नुभएको छ। साना-ठूला सम्मेलन तथा मण्डलीका सभाहरूमा हामी यहोवाको दया र भलाइ सम्झन्छौं। आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक पढ्दा हामीले त्यही गरेका थियौं। त्यस अध्ययनले यहोवाप्रति तपाईं र तपाईंको मनोवृत्तिलाई कसरी असर गऱ्यो? हाम्रो स्वर्गमा हुनुहुने पिताको महान् व्यक्तित्वको विभिन्न पक्ष उहाँको पुत्रमा प्रतिबिम्बित भएको देख्दा परमेश्वरलाई कहिल्यै दुःखी नतुल्याउने तपाईंको इच्छालाई के त्यसले सुदृढ बनाएन र?—कलस्सी १:१५.
१९ विगतमा यहोवाले आफ्ना जनहरूलाई बचाउनुभएका विवरणहरू पनि हामी हाम्रा सभाहरूमा सिक्छौं। (२ शमूएल ७:२३) प्रकाश—यसको चरमोत्कर्ष निकट! पुस्तकको मदतद्वारा हामीले बाइबलको पुस्तक, प्रकाश अध्ययन गर्दा अहिले २० औं शताब्दीमा पूरा भइसकेका भविष्यसूचक दर्शनहरू र डरलाग्दा घटनाहरूबारे सिक्छौं। परमेश्वरका त्यस्ता कार्यहरूबारे भजनसंग्रह ६६:५ ले यसो भन्छ: “आओ, परमेश्वरका कार्य हेर, मानिसको सन्तानसित गर्नुभएको व्यवहारमा उहाँ भयानक हुनुहुन्छ।” हो, सही दृष्टिकोण राखेर हेर्दा परमेश्वरका यी कार्यहरूले हाम्रो हृदयमा यहोवाको भय र उहाँप्रति गम्भीर श्रद्धा रोपिदिन्छ। यसप्रकार यहोवाले आफ्नो प्रतिज्ञा कसरी पूरा गर्नुहुन्छ भनी हामी बुझ्न सक्छौं: “तिनीहरू मदेखि फर्केर नजाऊन् भनी मेरो डर म तिनीहरूका हृदयमा हालिदिनेछु।”—यर्मिया ३२:४०.
२०. हाम्रो हृदयमा ईश्वरीय भय गहिरो गरी रोप्न हामीले के गर्नुपर्छ?
२० तर कुनै प्रयास नगरिकन ईश्वरीय भय हाम्रो हृदयमा आउँदैन भन्ने कुरा स्पष्ट छ। परिणामहरू स्वतः हुँदैनन्। यहोवाले आफ्नो काम गर्नुहुन्छ। ईश्वरीय भय खेती गरेर हामीले आफ्नो काम पूरा गर्नुपर्छ। (व्यवस्था ५:२९) प्राकृतिक इस्राएल त्यसो गर्न असफल भयो। तर यहोवामा भरोसा राख्दै आध्यात्मिक इस्राएल र तिनीहरूका सहचरहरूले ईश्वरभीरु मानिसहरूले पाउने प्रशस्त आशिष्हरूको फाइदा उठाइरहेका छन्। आउँदो लेखमा यीमध्ये केही आशिष्हरू हामी छलफल गर्नेछौं।
तपाईं कसरी जवाफ दिनुहुन्छ?
◻ ईश्वरीय भय के हो?
◻ यहोवाको भयमा आनन्द प्राप्त गर्न हामीलाई कसरी सिकाइएको छ?
◻ ईश्वरीय भय आर्जन गर्न हामीले कस्तो प्रयास गर्नुपर्छ?
◻ ईश्वरीय भय खेती गर्नुमा किन लाक्षणिक हृदयको सबै पक्ष समावेश छ?
[पृष्ठ १२, १३-मा भएका चित्रहरू]
यहोवाको भय बुझ्न लगनशील अध्ययन आवश्यक हुन्छ