एकाग्रचित्तका साथ हिंड्न
“हे परमप्रभु, मलाई सिकाउनुहोस्, . . . तपाईंको नाउँको डर राख्न मेरो मन एक चित्त पार्नु होस्।”—भजनसंग्रह ८६:११.
१. यहोवाले उहाँका भक्त जनहरूको देखरेख कसरी गर्नुहुन्छ?
‘हे यहोवा तपाईं मात्र परमेश्वर हुनुहुन्छ।’ (भजनसंग्रह ८६:८, १०) दाऊदले प्रफुल्लित हृदयबाट मूल्याङ्कन गर्दै परमेश्वरको प्रशंसा गरे। सारा इस्राएलमाथि राजा हुनुभन्दा अघि नै, यहोवाले तिनलाई शाऊल र पलिश्तीहरूको हातबाट बचाउनु भएको थियो। अतः तिनले यस प्रकार गाउन सके: “परमप्रभु मेरा गढी, किल्ला र उद्धारक हुनुहुन्छ। भक्तसँग तपाईं भक्त देखा पर्नुहुन्छ।” यहोवाले उहाँका वफादार सेवकलाई धेरै कठिनाइहरू बाट बचाउनु भएको थियो। दाऊदले आफ्नो भरोसा र विश्वास तिनको वफादार परमेश्वरमाथि राख्न सक्त थिए। तर तिनलाई निरन्तर निर्देशनको खाँचो थियो। दाऊदले अब परमेश्वरलाई यस प्रकार बिन्ती गरे: “हे परमप्रभु मलाई तपाईंको मार्ग सिकाउनुहोस्।”—भजनसंग्रह ८६:११.
२. हामीलाई सिकाउनका लागि यहोवाले के प्रबन्ध गरी दिनु भएको छ?
२ सांसारिक दर्शनहरू र विचारहरूबाट दाऊदले आफूलाई सम्पूर्णतया अलग्ग राख्न चाहन्थे। दाऊद “परमप्रभुबाट सिकाइएका” हुन चाहन्थे र यो विचार परमेश्वरका अगमवक्ताले पनि पछि व्यक्त गरे। (यशैया ५४:१३) तिनको जीवनकालमा उपलब्ध बाइबलका नौंवटा पुस्तकहरूमा मात्र दाऊदले सम्भवतः मनन् गर्न सक्त थिए। तापनि, यहोवाबाट आएको त्यो शिक्षा तिनका लागि बहुमूल्य थियो! सिकाइने सम्बन्धमा, आज हामीले बाइबलका जम्मै ६६ वटा पुस्तकहरूका स्वाद लिन सक्तछौं। साथै, “विश्वासी र बुद्धिमान दास” द्वारा प्रशस्त मात्रामा राज्य सम्बन्धी प्रकाशनहरू उपलब्ध छन्। (मत्ती २४:४५) “परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नु भएका कुराहरू” अर्थात् “परमेश्वरका [गहिरा, न्यु व०] कुराहरू”-को खोजी गर्न हामीलाई उहाँको आत्माले मद्दत दिन सकोस् भनेर हामीले, दाऊदले झैं यहोवामाथि पुकारा गरौं।—१ कोरिन्थी २:९, १०.
३. बाइबलमा पाइने उपदेश हाम्रालागि कसरी लाभदायक हुन सक्छ?
३ हाम्रो जीवनमा आइ पर्न सक्ने हरेक प्रश्न र समस्याको जवाफ बाइबलमा पाउन सकिन्छ। “किनकि जत्ति कुरा अघि लेखिए, ती सबै हाम्रो शिक्षाको निम्ति हो, कि धीरज र धर्मशास्त्रको शान्तिद्वारा हामीलाई आशा होस्।” (रोमी १५:४) यहोवाबाट आउने शिक्षालाई हामीले हृदयङ्गम गऱ्यौं भने, त्यसले हामीलाई कठिनाइहरू आइ पर्दा धैर्य धारण गर्ने बल दिनेछ, निरुत्साहको माझमा आश्वासन प्रदान गर्ने छ र राज्यको आशालाई हाम्रो हृदयमा सधैं उज्यालो बनाइ राख्ने छ। हामी परमेश्वरको वचन पढनमा र “दिन रात” त्यसमा मनन गर्नमा आनन्द लिने गरौं। किनभने, बाइबलमा आधारित बुद्धि “त्यसलाई समात्नेहरू सबैका निम्ति त्यो जीवनको सहारा हो, र त्यसलाई बलियो गरी समात्नेहरू सुरक्षित रहन्छन्।”—भजनसंग्रह १:१-३; हितोपदेश ३:१३-१८; यूहन्ना १७:३ पनि हेर्नुहोस्।
४. हाम्रा गतिविधि सम्बन्धी के उदाहरण येशूले कायम गरी दिनु भयो?
४ “दाऊदको पुत्र” पनि कहलाइनु हुने परमेश्वरका पुत्र, येशूले सधैं नै यहोवाबाट शिक्षा लिन चाहनु हुन्थ्यो। (मत्ती ९:२७)a उहाँले यसो भन्नुभयो: “साँचो साँचो म तिमीहरूलाई भन्दछु, पिताले जे गर्नुहुन्छ, त्यो नदेखेसम्म पुत्र आफैले केही गर्नसक्तैन, किनभने उहाँ जे गर्नुहुन्छ, पुत्रले पनि तिनै काम त्यही किसिमले गर्छ।” “म आफै केही गर्दिन, तर जसो पिताले मलाई सिकाउनुभयो तिनै कुरा बोल्दछु।” (यूहन्ना ५:१९; ८:२८) हामीले येशूको “पाइलामा टेकेर हिंड्नालाई एक उदाहरण” उहाँले हाम्रालागि छाडेर जानु भएको छ। (१ पत्रुस २:२१) यसो कल्पना गर्नुहोस्! येशूले अध्ययन गर्नु भएको जस्तै गरी, हामीले पनि अध्ययन गर्यौं भने, हर परिस्थितिमा हामी यहोवाको इच्छानुसार काम गर्न सक्ने छौं। यहोवाको मार्ग सधैं नै सही मार्ग हुन्छ।
५. “सत्य” के हो?
५ दाऊद यसपछि यो घोषणा गर्छन्: “म तपाईंको सत्यतामा हिंड्नेछु।” (भजनसंग्रह ८६:११) हजार वर्षपछि, दाऊदको पुत्र, येशूलाई सम्बोधन गर्दै पिलातसले यो प्रश्न गरे: “सत्य के हो?” तर येशूले भर्खरै मात्र उहाँको राज्य “यो संसारको होइन” भन्नु हुँदै त्यस प्रश्नको जवाफ पिलातसलाई दिइसक्नु भएको थियो। उहाँले अब यो कुरा पनि थप्दै यसो भन्नु भयो: “म राजा हुँ भनी तपाईं नै भन्नुहुन्छ। यसैको निम्ति म जन्मेको हुँ, र त्यसैको [सत्यको निम्ति, न्यु व०] निम्ति गवाही दिऊँ भनेर म यस संसारमा आएको हुँ।” (यूहन्ना १८:३३-३८) अतः सत्यता चाहिं मसीही राज्यमा केन्द्रित छ भनेर येशूले यहाँ जाहेर गर्नु भयो। र वास्तवमा बाइबलको सम्पूर्ण ध्येय नै त्यो राज्यद्वारा यहोवाको नाउँलाई पवित्र पार्नु हो।—इजकिएल ३८:२३; मत्ती ६:९, १०; प्रकाश ११:१५.
६. सत्यतामा हिंड्दा, हामी कुन कुराबारे होशियार हुनु पर्दछ?
६ सत्यतामा हिंड्नुको अर्थ के हो? यसको अर्थ राज्यको आशालाई नै आफ्नो जीवनको मुख्य चासोको विषय बनाउनु हो। हामीले राज्यसम्बन्धी सत्यता अनुसार जीवन बिताउनु पर्दछ। एकाग्रचित्तका साथ राज्य सम्बन्धी कुराहरूलाई प्रथम स्थान दिनु पर्दछ। मौका पाउना साथै राज्यको सत्यताबारे साक्षी दिन हामी येशू झैं जोसिलो हुनु पर्दछ। (मत्ती ६:३३; यूहन्ना १८:३७) हामी नाउँका लागि मात्र सेवा गर्ने तर ज्यादा समय चाहिं आफूलाई आनन्दित तुल्याउने मनोरञ्जन अथवा भएभरको समय लिने जागिर अर्थात् “धनको . . . चाकरी” गर्नमा बिताउने गर्दै, केही समयका निम्ति मात्र सत्यतामा हिंड्नु उचित होइन। (मत्ती ६:२४) मूल बाटो छाडेर जाने ती गोरेटोहरूमा हामी हराउन सक्तछौं र ‘जीवन तर्फ लैजाने साँघुरो बोटो’-मा हामी फेरि कहिले फर्केर आउन न सकौंला। यस मूल-बाटोलाई हामी कहिले नछाडौं! (मत्ती ७:१३, १४) हाम्रा महान शिक्षक, यहोवाले उहाँको वचनद्वारा त्यस बाटोलाई उज्यालो पार्नु हुँदै, यसो भन्नुहुन्छ: “तिमीहरू दाहिने-देब्रे लाग्दा तिमीहरूका कानले तिमीहरूका पछिल्तिर यसो भन्ने शब्द सुन्ने छौ, ‘बाटो यही हो, यसैमा तिमीहरू हिंड्।’”—यशैया ३०:२१.
एउटा उचित भय
७. हामी “एक चित्त”-को कसरी हुन सक्तछौं?
७ दाऊदको प्रार्थना ११ पद्यमा अझ यस प्रकार अघि बढदछ: “तपाईंको नाउँको डर राख्न मेरो मन एक चित्तको पार्नु होस्।” दाऊदको जस्तै, परमेश्वरको इच्छा गर्नमा आफ्नो हृदय अविभाजित र सम्पूर्ण होस् भन्ने चाहना हामीमा पनि हुनु पर्दछ। यो विचार मोशाको सल्लाहअनुसार हो: “यसै कारण अब हे इस्राएली हो, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूबाट चाहनुभएका कुरा यिनै हुन्—तिमीहरूले आफ्ना परमप्रभुको डर मान, उहाँका सबै मार्गमा हिंड्, उहाँलाई प्रेम गर, औ आफ्ना पूरा मन र प्राणले परमप्रभु तिमीहरूका परमेश्वरको सेवा गर। आज तिमीहरूका हितका लागि मैले तिमीहरूलाई आदेश गरेका परमप्रभुका आज्ञा र विधिहरू मान।” (व्यवस्थाविवरण १०:१२, १३) यहोवाको सेवा हामीले आफ्नो सारा हृदय र तनमनले गर्नु वास्तवमा हाम्रै भलाइका लागि हो। यस प्रकार हामीले उहाँको उत्कृष्ट नाउँको उचित डर राख्द छौं। यहोवाको नाउँको अक्षरशः अर्थ हो, “कर्ता उहाँ नै हुनुहुन्छ।” यो विशेषगरी उहाँका महान उद्देश्यहरूको पूर्तिसित सम्बन्धित छ। सारा ब्रह्माण्डमाथि उहाँको सर्वोच्च अख्तियारको यो नाउँ एउटा प्रतीक हो। परमेश्वरको राजसत्ताको श्रद्धा एवं डर मान्दै सेवा गर्यौं भने, हामीलाई मरणशील मानिसको डरले ढलपल पार्न सक्ने छैन। हामी दोमनका हुने छैनौं। बरु, यहोवा अथवा सर्वोच्च न्यायाधीश र सार्वभौम प्रभुलाई अप्रसन्न पार्ने कुनै पनि कुरा गर्नदेखि हामी डराउने छौं।—यशैया १२:२; ३३:२२.
८, ९. (क) ‘संसारको सहभागी’ नहुनुको अर्थ के हो? (ख) हामीहरू एउटा “तमाशा” भएको हुनाकारण के कदम चाल्नु पर्दछ?
८ निन्दा र सतावटको सामने पनि हामी येशूको निडर उदाहरण अनुकरण गर्दै हाम्रो वरिपरिको यो दुष्ट संसारको सहभागी हुने छैनौं। (यूहन्ना १५:१७-२१) यसको अर्थ, येशूका चेलाहरू सन्यासीहरू भएर अथवा कुनै गुफामा लुकेर बस्नु पर्छ भनेको होइन। येशूले उहाँका पितालाई प्रार्थनामा यसो भन्नु भएको थियो: “तपाईंले तिनीहरूलाई संसारबाट लैजानुहोस् भनी म बिन्ती गर्दिन, तर तिनीहरूलाई दुष्टबाट जोगाइराख्नुहोस्। जस्तो म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन्! सत्यले तिनीहरूलाई पवित्र गर्नुहोस्, तपाईंको वचन सत्य हो। जसरी तपाईंले मलाई संसारमा पठाउनु भयो, मैले पनि तिनीहरूलाई संसारमा पठाएँ।” (यूहन्ना १७:१५-१८) येशूलाई झैं, हामीलाई पनि राज्यको सत्यताको घोषणा गर्न पठाइएको हो। मानिसहरू येशूकहाँ गएर कुरा गर्न हिचकिचाउँदैन थिए। उहाँको शिक्षा प्रणालीले मानिसहरूलाई प्रफुल्लित पार्द थियो। (मत्ती ७:२८, २९; ११:२८, २९; यूहन्ना ७:४६ सित तुल्ना गर्नु होस्।) हामी पनि त्यस्तै हुनुपर्छ।
९ हाम्रो मित्रैलो स्वभाव, भद्र किसिमको कोरी-बाटी र रूपरङ्ग, दयावन्त र शुद्ध कुराकानीले हामी र हाम्रो सन्देशलाई असल हृदय भएका मानिसहरूको सामुन्ने ग्रहणयोग्य तुल्याउनु पर्दछ। हामी हेर्नमा झुत्रो-झाम्रे हुनु हुँदैन। साथै, उत्ताउला किसिमको पोशाक, सांसारिक कामकुरामा फँसाउने सङ्गत र हाम्रा वरिपरि देखा पर्ने छाडा र सिद्धान्तहीन जीवनशैलीबाट हामी अलग्ग बस्नु पर्छ। हामीहरू “संसार, स्वर्गदूतहरू र मानिसहरूका निम्ति तमाशा भएका” छौं। यसकारण हामी प्रति दिन २४ घण्टै सतर्क हुनु पर्दछ र अनुकरणीय मसीहीहरू भएर जीवन बिताउनु पर्छ। (१ कोरिन्थी ४:९; एफिसी ५:१-४; फिलिप्पी ४:८, ९; कलस्सी ४:५, ६) यसो गर्न सक्नका लागि हामी एक चित्तको हुनु पर्दछ।
१०. पवित्र सेवामा एकचित्त हुनेहरूलाई यहोवाले कसरी सम्झनु हुन्छ?
१० यहोवाको नाउँको डर राख्दै उहाँका महान उद्देश्यहरूमा मनन गर्ने र आफ्नो सारा जीवन पवित्र सेवामा बिताउनेहरूलाई यहोवाले बिर्सनु हुनेछैन। “जसका हृदय उहाँप्रति भक्त छन् तिनीहरूलाई सहायता र सान्त्वना दिन सारा पृथ्वीभरिनै परमप्रभुको दृष्टि रहिरहन्छ।” (२ इतिहास १६:९) भविष्यवाणीद्वारा हाम्रो दिनलाई सङ्केत गर्दै, मलाकी ३:१६-मा यसो भनिएको छ: “तब परमप्रभुको डर मान्नेहरूले आपसमा कुरा गरे, औ परमप्रभुले तिनीहरूका कुरा ध्यानसित सुन्नुभयो, औ उहाँको डर मान्नेहरू र उहाँको नाउँको सोच गर्नेहरूका नाउँ सम्झनाको पुस्तकमा उहाँकै सामने लेखियो।” यहोवाको उचित डर मान्दै हामी पनि एकचित्तका हौं!
यहोवाको प्रेमपूर्ण करुणा
११. वफादार जनहरू प्रति यहोवाको करुणा कसरी प्रकट गरिने छ?
११ दाऊदको प्रार्थना कति हृदयस्पर्शी छ! तिनी अझ यसो भन्छन्: “हे परमप्रभु, मेरा परमेश्वर, मेरो सारा हृदयले म तपाईंको प्रशंसा गर्नेछु। र म तपाईंको नाउँको महिमा सदाको निम्ति गर्नेछु। किनकि मप्रति तपाईंको कृपा महान् छ। र तपाईंले मेरो प्राणलाई पातालबाट छुटाउनुभएको छ।” (भजनसंग्रह ८६:१२, १३) यस भजनमा, दोस्रो पटक दाऊदले यहोवाको प्रेमपूर्ण करुणा अथवा उहाँको विश्वासयोग्य प्रेमको प्रशंसा गर्दछन्। यो प्रेम यति महान छ कि आशै नदेखिने स्थितिहरूमा पनि त्यसले बचाउन सक्तछ। शाऊलले उजाडस्थानमा दाऊदको खेदो गर्दा, दाऊदलाई कुनै कुनामा लुकेर मर्नै मन लाग्यो होला। दाऊदको निम्ति ता शिओलको सबैभन्दा तल्लो भाग अथवा चिहानका गहिराइको माझमा पुगे सरह भएको हुन सक्छ। तापनि यहोवाले तिनलाई बचाउनु भयो! यस्तै गरी, आधुनिक समयका आफ्ना सेवकहरूलाई पनि यहोवाले अद्भुत ढङ्गहरूमा छुटकारा प्रदान गर्नु भएको छ। साथै, मृत्युसम्मै आफ्नो सम्पूर्ण निष्ठा कायम राख्नेहरूलाई उहाँले सामर्थी तुल्याउनु भएको छ। सबै वफादार जनहरूले—पुनरुत्थानद्वारा नै भए तापनि—तिनीहरूको पुरस्कार पाउने छन्।—अय्यूब १:६-१२; २:१-६, ९, १०; ४२:१०; हितोपदेश २७:११; मत्ती २४:९, १३; प्रकाश २:१०.b
१२. पादरीहरू कसरी घमण्डी र अत्याचारी भएका छन् र तिनीहरूले के नतिजा भोग्ने छन्?
१२ सताउने र विरोध गर्ने मान्छेहरू बारे दाऊदले यो उदगार गर्छन्: “हे परमेश्वर, घमण्डीहरू मेरो विरुद्धमा उठेका छन्। र उपद्रव गर्ने मानिसहरूको समुदायले मेरो प्राणको खोजी गरेको छ, र तिनीहरूले तपाईंलाई आफ्ना सामु राखेका छैनन्।” (भजनसंग्रह ८६:१४) आजका ती सताउने विरोधीहरूमा मसीही जगतका पादरीवर्ग पनि समावेश छन्। यिनीहरूले परमेश्वरको उपासना गर्ने दाबी त गर्छन्। तर उहाँको पवित्र नाउँको ठाउँमा “प्रभु” जस्तो पदवीको प्रयोग गर्दछन् अथवा बाइबलमा कतै पनि नपाइने रहस्यमय त्रिएकको रूपमा उहाँलाई प्रस्तुत गर्ने गर्छन्। यो कस्तो दुस्साहस हो! यतिले नपुगेर, यहोवाका साक्षीहरूलाई गैरकानुनी घोषित गर्न अथवा झ्यालखानमा थुनीदिन तिनीहरू राजनैतिक शक्तिहरूलाई उक्साउने प्रयास गर्दछन्। छक्क पर्ने कुरा के हो भने, आज पृथ्वीभरि थुप्रै देशहरूमा यस प्रकारको स्थिति कायम नै छ। पादरीको पोशाक धारण गरेर ईश्वरको नाउँको निन्दा गर्ने यी व्यक्तिहरूका साथसाथै महान बेबिलोनका वेश्या जस्ता सबै भागहरूले तिनीहरूको फल भोग्ने छन्।—प्रकाश १७:१, २, १५-१८; १९:१-३.
१३. आफ्नो भलाइ प्रकट गर्नु हुँदा, यहोवाले कुन कुन गुणहरू प्रदर्शित गर्नु भएको छ?
१३ तर अर्कोतिर, एउटा आनन्दमय भाव व्यक्त गर्दै दाऊदको प्रार्थना अझ यस प्रकार जारी रहन्छ: “तर हे परमप्रभु, तपाईं दया र अनुग्रहले पूर्ण भएका परमेश्वर हुनु हुन्छ, रीस गर्नमा धीरजी, कृपा र सत्यतामा भरिपूर्ण हुनुहुन्छ।” (भजनसंग्रह ८६:१५) हाम्रा परमेश्वरका यी गुणहरू साँच्चै नै कति उच्च छन्। यी शब्दहरूले हामीलाई सीनै पर्वतको घटना स्मरण गराउँदछ जब मोशाले यहोवाको महिमा हेर्न पाउँ भनी बिन्ती गरेका थिए। यहोवाले प्रत्युत्तरमा यसो भन्नुभएको थियो: “म तेरै सामने मेरो सारा वैभव देखाउनेछु, र तेरै सामने ‘परमप्रभु’ नाउँको घोषणा गर्नेछु।” तर उहाँले मोशालाई यो चेताउनी पनि दिनु भयो: “तैंले मेरो अनुहार हेर्नसक्तैनस्, किनकि मेरो अनुहार हेरेर मानिस जीवित रहनसक्तैन।” यसपछि, यहोवा तल बादलमा यो घोषणा गर्दै आउनु भयो: “परमप्रभु नै टिठाउनमा भरिपूर्ण र दयालु परमेश्वर, रीस गर्नमा ढीलो, र कृपा र सत्यतामा प्रशस्त हुनुहुन्छ।” (प्रस्थान ३३:१८-२०; ३४:५, ६) दाऊदले यी शब्दहरू आफ्नो प्रार्थनामा उद्धृत गरे। कुनै शारीरिक रूपभन्दा पनि यी गुणहरू हाम्रालागि धेरै नै महत्त्वपूर्ण छन्! यी असल गुणहरू द्वारा यहोवाको भलाइ प्रदर्सित भएको हामीले स्वयं अनुभव गरेका हुनाकारण, के हामी त्यसको मूल्याङ्कन गर्दैनौं र?
“शुभ लक्षण”
१४, १५. यहोवाले आफ्ना सेवकहरूलाई एउटा “शुभ लक्षण” कसरी दिनुहुन्छ?
१४ दाऊदले फेरि यहोवाको आशिष पाउँ भनेर बिन्ती गर्दछ: “मतिर फर्कनुहोस् र मलाई अनुग्रह गर्नुहोस्। तपाईंको शक्ति आफ्नो दासलाई दिनुहोस्, र आफ्नो दासीको छोरालाई बचाउनु होस्। मलाई शुभलक्षण देखाउनुहोस्। र मलाई घृणा गर्नेहरू त्यो देखेर शर्ममा परून्, किनकि हे परमप्रभु, तपाईंले मलाई सहायता गर्नुभएको छ, र सान्त्वना दिनु भएको छ।” (भजनसंग्रह ८६:१६, १७) यहोवाको ‘दासीको एउटा छोरा’ भएको हुनाकारण, तिनी पनि यहोवाकै सम्पत्ति हुनुपर्छ भनेर दाऊदले स्वीकार्दछन्। आज यहोवालाई उहाँको सेवा गर्न आफ्नो जीवन समर्पण गरी सकेका व्यक्तिहरूको विषयमा पनि यही भन्न सकिन्छ। हामीलाई यहोवाको पवित्र आत्माद्वारा उहाँको बचाउने शक्ति चाहिन्छ। अतः हामीले हाम्रा परमेश्वरसँग एउटा “शुभ लक्षण” माँग्द छौं। यहोवाका भलाइमा हामीले अहिले मात्र छलफल गरेका असल गुणहरू सम्मिलित छन्। यसको आधारमा यहोवाबाट हामीले के लक्षण अथवा चिन्हको आशा गर्न सक्तछौं?
१५ यहोवा “हरेका असल दान र हरेक उत्तम वरदान”-को दाता हुनुहुन्छ। र येशूले हामीलाई विश्वास दिलाउनु भए झैं, “उहाँलाई माँग्नेहरूलाई . . . पवित्र आत्मा” उदारताका साथ उहाँले दिने गर्नुहुन्छ। (याकूब १:१७; लूका ११:१३) पवित्र आत्मा—यहोवाबाट पाउन सकिने कति बहुमूल्य वरदान हो त्यो! पवित्र आत्माद्वारा यहोवाले सतावट आइ परेको बेलामा पनि हाम्रो हृदयलाई आनन्दित पारिदिन सक्नु हुन्छ। त्यसैले त, परमेश्वरलाई शासकको रूपमा स्वीकार्दै उहाँको आज्ञा पालन गर्नेहरूलाई परमेश्वरले पवित्र आत्मा दिनुहुन्छ भनेर येशूका प्रेरितहरूले, आफ्नो प्राण खतरामा परेको बेलामा पनि, आनन्दपूर्वक भन्न सके। (प्रेरित ५:२७-३२) पवित्र आत्माको आनन्द तिनीहरूका लागि निरन्तर एउटा “शुभ लक्षण” थियो।—रोमी १४:१७, १८.
१६, १७. (क) यहोवाले पावल र बर्णाबासलाई आफ्नो भलाइको के चिन्ह दिनुभयो? (ख) सतावटमा परेका थिस्सलोनिकीका मसीहीहरूलाई के चिन्ह दिइयो?
१६ एशिया माइनर भएर जाँदा, पावल र बर्णाबासले तिनीहरूको मिसनरी यात्राको दौडानमा धेरै कठिनाइहरू अथवा कडा सतावट समेत सामना गर्नु पऱ्यो। तिनीहरूले पिसिदियाको एन्टिओकमा प्रचार गर्दा, यहूदीहरूले तिनीहरूको सन्देशलाई अस्वीकार गरे। अतः तिनीहरू अन्य जातिका मानिसहरू कहाँ गए। यसको परिणाम? “जब अन्यजातिहरूले यी कुरा सुने, तब तिनीहरू खुशी भए, र परमेश्वरको वचनको महिमा गर्नलागे, र अनन्त जीवनका लागि नियुक्त भएकाहरू जत्तिले विश्वास गरे।” तर यहूदीहरूले गोलमाल मचाए र ती मिसनरीहरूलाई देशबाट बाहिर लघारी दिए। के तिनीहरू र विश्वासमा भर्खरै आएकाहरू यस घटनाले गर्दा निराशित भए? कदापि भएनन्! बरु, “चेलाहरू आनन्द र पवित्र आत्माले परिपूर्ण भए।” (प्रेरित १३:४८, ५२) हो, यहोवाले तिनीहरूलाई उहाँको भलाइको त्यो चिन्ह दिनु भयो!
१७ केही समयपछि, थिस्सलोनिकीको नयाँ मण्डलीमाथि सतावट आइ पर्यो। यसले गर्दा, प्रेरित पावलले तिनीहरूकहाँ एउटा सान्त्वनापूर्ण पत्र लेखी पठाए। सङ्कष्टको सामने तिनीहरूले देखाएका धैर्यको तिनले सऱ्हाना गरे। तिनीहरूले “ज्यादै कष्टमा वचन ग्रहण” गरेका थिए।” (१ थिस्सलोनिकी १:६) टिठाउनमा भरिपूर्ण, दयालु, रीस गर्नमा ढीलो र कृपा र सत्यतामा प्रशस्त हुने परमेश्वरको तर्फबाट आएको एउटा प्रत्यक्ष चिन्हको रूपमा, “पवित्र आत्माको आनन्द”-ले तिनीहरूलाई बल दिइनै रह्यो।
१८. पूर्वी युरोपमा भएका हाम्रा भाइहरूले यहोवाका भलाइका लागि कसरी मूल्याङ्कन व्यक्त गरेका छन्?
१८ हालसालैमा, पूर्वीय युरोपमा बस्ने हाम्रा विश्वासी भाइहरू तर्फ यहोवाले आफ्नो भलाइ प्रकट गर्नु भएको छ। यस प्रकार, तिनीहरूलाई घृणा गर्नेहरू अर्थात् सताउनेहरूलाई उहाँले लाजमर्दो पारिदिनु भयो। कयौं दशकदेखि चली आएको दबाउबाट भर्खरै छुटकारा पाए तापनि, यी प्यारा भाइहरूले अझ पनि धैर्य धारण गर्नु पर्छ। ती मध्ये धेरैका सामने कडा आर्थिक कठिनाइहरू छँदै नै छ। तथापि, “पवित्र आत्माको आनन्दले” तिनीहरूलाई सान्त्वाना दिने गर्छ। अझ विस्तृत रूपमा साक्षी दिनका लागि भर्खरै प्राप्त स्वतन्त्रतालाई प्रयोग गर्न पाउनु भन्दा अझ ठूलो आनन्द तिनीहरूका लागि के होला र? सम्मेलनहरू र बप्तिस्माका सङ्खयाहरूको रिपोर्ट अनुसार तिनीहरूलाई धेरै मानिसहरूले सुनी रहेका छन्।—प्रेरित ९:३१; १३:४८.
१९. भजनसंग्रह ८६:११-का शब्दहरूलाई हामी कसरी हृदयङ्गम गर्न सक्छौं?
१९ यो र अघिको लेखमा छलफल गरिएका कुराहरूमा, दाऊदले यहोवासित गरेको यो हार्दिक प्रार्थना दोहोरिन्दछ: “हे परमप्रभु मलाई सिकाउनुहोस् . . . तपाईंको नाउँको डर राख्न मेरो मन एक चित्त पार्नुहोस्।” (भजनसंग्रह ८६:११) १९९३-को हाम्रो वार्षिक पद्यका ती शब्दहरूलाई हामी हृदयङ्गम गरौं र राज्य सम्बन्धी कार्यहरूलाई तनमनले समर्थन गर्दै हाम्रो एक मात्र परमेश्वर, सार्वभौम प्रभु यहोवाको कहिले नसिद्धिने भलाइको मूल्याङ्कन गरी रहौं। (w92 12/15)
[फुटनोटहरू]
a प्रतिज्ञा गरिएको “सन्तान”-को हैसियतमा, येशू दाऊदको राज्यको उत्तराधिकारी पनि हुनुहुन्थ्यो। अतः उहाँ दुवै शारीरिक र आत्मिक तवर्मा “दाऊदको पुत्र” हुनुहुन्थ्यो।—उत्पत्ति ३:१५; भजनसंग्रह ८९:२९, ३४-३७.
b आधुनिक उदाहरणहरूका लागि, यहोवाका साक्षीहरूका वार्षिक पुस्तक हेर्नुहोस्। १९७४-को संस्करण, पाना ११३-२१२; १९८५-को संस्करण, पाना १९४-७; १९८६-को संस्करण, पाना २३७-८; १९८८-को संस्करण, पाना १८२-५; १९९०-को संस्करण, पाना १७१-२; १९९२-को संस्करण, पाना १७४-८१.
तपाईंले कसरी जवाफ दिनुहुन्छ?
◻ “हे परमप्रभु, मलाई सिकाउनुहोस्” भनेर प्रार्थना गर्दा, हामीले कुन कुरा जाहेर गर्दछौं?
◻ यहोवाको नाउँको डर राख्न हामी एक चित्त हुनुको अर्थ के हो?
◻ सबै वफादार जनहरू प्रति यहोवाले उहाँको करुणा कसरी देखाउनु हुनेछ?
◻ यहोवाले हाम्रा लागि एउटा “शुभ लक्षण”-को प्रबन्ध कसरी गरी दिनुहुन्छ?
[पृष्ठ २८-मा भएको पेटी]
१९९३-का लागि वार्षिक पद्य: “हे यहोवा, मलाई सिकाउनुहोस् . . . तपाईंको नाउँको डर राख्न मेरो मन एक चित्तको पार्नुहोस्।” —भजनसंग्रह ८६:११.
[पृष्ठ २७-मा भएको पेटी]
सत्यतामा सोझो भएर हिंड्नेहरूका लागि यहोवा एउटा गढी र किल्ला हुनुहुन्छ
[पृष्ठ ३०-मा भएको पेटी]
जुन महिनामा, सेन्ट पिटर्सबर्ग, रूसमा आयोजित यहोवाका साक्षीहरूका “ज्योति वाहक” अन्तर्राष्ट्रिय सम्मेलनमा ४६,२१४ उपस्थित थिए र ३,२५६-ले बप्तिस्मा लिए। यिनीहरूले “पवित्र आत्माको आनन्दका साथ” यहोवाको भलाइबाट कति राम्ररी लाभ उठाइ रहेका छन्!