“हे मेरो आत्मा, परमप्रभुलाई धन्य भन्”
न्यान्सी भन्छिन्, “हालैका महिनाहरूमा मेरो सेवकाई नीरस लाग्न थालेको छ।”a लगभग दस वर्षदेखि तिनले सुसमाचारको पूर्ण-समय उद्घोषक अर्थात् अग्रगामीको काम गर्दै आएकी छिन्। तापनि, तिनी भन्छिन्: “म आफ्नो सेवकाईबारे जे महसुस गर्दैछु त्यो मलाई मन परेको छैन। हृदयबाट होइन तर एकोहोरो ढंगले राज्य सन्देश सुनाइरहेकी छु जस्तो मलाई लाग्छ। अब म के गरूँ?”
यहोवाका साक्षीहरूका मण्डलीको प्राचीन, किथलाई पनि विचार गर्नुहोस्। तिनकी पत्नीले यसो भन्दा तिनी छक्क परे: “तपाईंको मनमा केही कुराहरू खेलिरहेको हुनुपर्छ। यो खाना खाने समय होइन। तापनि भर्खरैको प्रार्थनामा तपाईंले खानाको निम्ति धन्यवाद दिनुभयो!” किथ भन्छन्: “मेरा प्रार्थनाहरू एकोहोरो भएको मैले महसुस गरें।”
निस्सन्देह, यहोवा परमेश्वरको प्रशंसा भावशून्य भएको वा विना सोच विचार गरेको तपाईं चाहनुहुन्न। बरु, भित्री हृदयदेखि कृतज्ञता व्यक्त गर्ने खालको भएको चाहनुहुन्छ। तथापि, लुगालाई जस्तै भावनाहरूलाई पनि मन लागे लगाउनु नलागे फुकाल्नु मिल्दैन। मानिसको भित्री हृदयदेखि यो निस्कनुपर्छ। त्यसोभए हृदयबाट नै कृतज्ञता कसरी व्यक्त गर्न सकिन्छ? यस सन्दर्भमा भजन १०३ अध्यायले अन्तरदृष्टि प्रदान गर्छ।
भजन १०३ अध्यायको रचयिता पुरातन इस्राएलका राजा दाऊद हुन्। तिनले आफ्नो भजनको सुरुमै यसो भनेका छन्: “हे मेरो आत्मा, परमप्रभुलाई धन्य भन्। र ममा भएका जे जति छन् ती सबैले उहाँको पवित्र नाउँलाई धन्यको भनून्।” (भजन १०३:१) एउटा किताब भन्छ, “परमेश्वरलाई धन्य भन्नुले प्रशंसा गर्नु, भित्री हृदयदेखि उहाँप्रतिको स्नेह जाहेर गर्नुका साथसाथै कृतज्ञताको भाव देखाउनु बुझाउँछ।” माया र मूल्यांकनले ओतप्रोत भई यहोवाको प्रशंसा गर्न मन लागेकोले दाऊदले आफ्नो प्राण अर्थात् आफैलाई “परमप्रभुलाई धन्य भन्” भनी आग्रह गर्छन्। तर आफूले उपासना गर्ने परमेश्वरप्रति दाऊदको मनमा यस्तो न्यानो भावना कसरी पलायो?
दाऊद अझ भन्छन्: “उहाँका [यहोवाका] सबै उपकारहरू नबिर्सी।” (भजन १०३:२) यहोवाप्रति कृतज्ञ हुनको लागि “उहाँका उपकारहरू” मूल्यांकनको हृदयले मनन गर्नुपर्छ। त्यसोभए यहोवाका कुन उपकारहरू दाऊदको मनमा थिए? निस्सन्देह, सफा रातमा ताराहरूले भरिएको आकाशजस्ता यहोवा परमेश्वरका सृष्टिहरूलाई हेर्दा सृष्टिकर्ताको निम्ति हाम्रो हृदय कृतज्ञताले भरिन्छ। ताराहरूले भरिएको आकाशले दाऊदको हृदय छोएको थियो। (भजन ८:३, ४; १९:१) तथापि, भजन १०३ अध्यायमा दाऊद यहोवाका अन्य उपकारहरू पनि सम्झन्छन्।
यहोवाले “तेरा सबै अधर्महरू क्षमा गर्नुहुन्छ”
यस भजनमा दाऊद परमेश्वरका करुणामय कार्यहरूको विवरण दिन्छन्। यीमध्ये प्रमुख कार्यलाई औंल्याउँदै तिनी गाउँछन्: यहोवाले “तेरा सबै अधर्महरू क्षमा गर्नुहुन्छ।” (भजन १०३:३) आफ्नो पापी अवस्थाबारे दाऊदलाई राम्ररी थाह थियो। दाऊदले बेतशेबासँग गरेको व्यभिचारबारे अगमवक्ता नातानले होस दिलाएपछि दाऊदले यो कुरा स्वीकारे: “[यहोवा] तपाईंको विरुद्धमा, केवल तपाईंकै विरुद्धमा मैले पाप गरेको छु, र तपाईंको दृष्टिमा जो खराबी छ, त्यही गरेको छु।” (भजन ५१:४) चूर्ण हृदयले तिनले यस्तो बिन्ती गरे: “तपाईंको करुणाअनुसार ममाथि अनुग्रह गर्नुहोस्, हे परमेश्वर। तपाईंको कोमल कृपाअनुसार मेरा अपराधहरू मेटिदिनुहोस्। मेरो अधर्मबाट मलाई सफासँग धुनुहोस्, र मेरो पापबाट मलाई शुद्ध गर्नुहोस्।” (भजन ५१:१, २) क्षमा पाउँदा दाऊद कत्ति कृतज्ञ भए होलान्! असिद्ध भएकोले तिनले आफ्नो जीवनमा अन्य पापहरू पनि गरे तर त्यसको पश्चात्ताप गर्न, अनुशासन स्वीकार्न र आफ्नो मार्ग सच्याउन तिनी कहिल्यै चुकेनन्। परमेश्वरले तिनको निम्ति गर्नुभएका अद्भुत कृपाहरूमाथि विचार गरेकोले यहोवालाई धन्यको भन्न तिनी प्रेरित भए।
के हामी पापी छैनौं? (रोमी ५:१२) प्रेरित पावलले पनि यसरी विलाप गरे: “किनकि म मेरो अन्तस्करणले परमेश्वरको व्यवस्थामा आनन्दित हुन्छु, तर मेरो बुद्धिको व्यवस्थाको विरुद्धमा लड़ाइँ गर्ने, र मेरा इन्द्रियहरूमा रहेको पापको अधीनमा भएको व्यवस्थाको बन्धनमा मलाई ल्याउने, मेरा इन्द्रियहरूमा भिन्नै व्यवस्था म देख्तछु। हाय, म कस्तो दु:खी मानिस! यस मृत्युको शरीरबाट मलाई कसले बचाउला?” (रोमी ७:२२-२४) हाम्रा पापहरूलाई यहोवाले सम्झनुहुनेछैन भन्ने जानेर हामी कत्ति कृतज्ञ हुनसक्छौं! हामीले पश्चात्ताप गरेर क्षमा माग्यौं भने उहाँले खुसीसित ती पापहरूलाई मेटाइदिनुहुन्छ।
दाऊद आफैलाई याद दिलाउँछन्: “[यहोवाले] तेरा सबै रोगहरू निको पार्नुहुन्छ।” (भजन १०३:३) निको पार्नु भनेको सुस्वास्थ्य प्रदान गर्नु भएकोले यसमा गलत कार्यको क्षमा गर्नु मात्र समावेश छैन। “रोगहरू” अर्थात् हामीले रोजेका मार्गको खराब परिणामहरू हटाउनु पनि यसमा समावेश छ। निस्सन्देह, आफ्नो नयाँ संसारमा यहोवाले रोग अनि मृत्युजस्ता पापका शारीरिक नतिजाहरू हटाउनुहुनेछ। (यशैया २५:८; प्रकाश २१:१-४) तथापि, अहिले पनि परमेश्वरले हाम्रा आध्यात्मिक रोगहरू निको पार्नुहुँदैछ। आध्यात्मिक रोग भन्नाले कसैको निम्ति खराब अन्तस्करण वा उहाँसित तोडिएको सम्बन्ध हुन्छ। यस सन्दर्भमा व्यक्तिगत तवरमा यहोवाले हामी प्रत्येकको निम्ति गर्नुभएका कुराहरू हामीले ‘बिर्सनुहुँदैन’।
उहाँले “तेरो जीवनलाई . . . मुक्त गर्नुहुन्छ”
दाऊद गाउँछन्, “[यहोवाले] तेरो जीवनलाई मृत-लोकबाट मुक्त गर्नुहुन्छ।” (भजन १०३:४ नयाँ संशोधित संस्करण) “मृत-लोकले” मानिसजातिको चिहान अर्थात् शिओल वा हेडिसलाई बुझाउँछ। इस्राएलको राजा हुनअघि पनि दाऊदले मृत्युको सामना गर्नुपरेको थियो। उदाहरणका लागि, इस्राएलका राजा शाऊलले दाऊदलाई हत्या गर्ने हदसम्म घृणा गर्थे र धेरै चोटि मार्ने प्रयास पनि गरे। (१ शमूएल १८:९-२९; १९:१०; २३:६-२९) पलिश्तीहरूले पनि दाऊदलाई मार्न चाहन्थे। (१ शमूएल २१:१०-१५) तर यहोवाले तिनलाई सधैं “मृत-लोकबाट” बचाउनुभयो। यहोवाले गर्नुभएका यी उपकारहरू सम्झंदा दाऊद कत्ति कृतज्ञ भए होलान!
तपाईं नि? तपाईं निराश हुनुभएको बेला वा तपाईंको प्रियजनको मृत्यु हुँदा के यहोवाले तपाईंलाई सम्हाल्नुभएको छ? अथवा हाम्रो समयमा आफ्ना विश्वासी साक्षीहरूलाई शिओलमा पुग्नदेखि बचाउनुभएको घटनाहरू तपाईंले सुन्नुभएको छ कि? सायद यस पत्रिकामा उहाँले गर्नुभएका उद्धारका कार्यहरूबारे पढेर तपाईंको हृदय छोइसकेको होला। साँचो परमेश्वरले गर्नुभएका यी उपकारहरूलाई मूल्यांकनको हृदयले सोचविचार गर्न समय निकाल्नुभए कसो होला? अनि भनिरहनु नपर्ला, पुनरुत्थानको आशाको निम्ति यहोवाप्रति कृतज्ञ हुने हामी सबैसित कारण छ।—यूहन्ना ५:२८, २९; प्रेरित २४:१५.
यहोवाले हामीलाई जीवन मात्र होइन तर त्यसलाई रमाइलो तथा अर्थपूर्ण बनाउने कुराहरू पनि दिनुहुन्छ। परमेश्वरले “तँलाई करुणा र कोमल कृपाको मुकुट लगाइदिनुहुन्छ” भनी भजनरचयिता घोषणा गर्छन्। (भजन १०३:४) हामीलाई खाँचो परेको समयमा यहोवाले हामीलाई त्याग्नुहुन्न तर आफ्नो दृश्य संगठन र नियुक्त प्राचीनहरू अथवा मण्डलीमा भएका गोठालाहरू मार्फत हाम्रो मदत गर्नुहुन्छ। यस्तो मदतले आत्मसम्मान तथा मर्यादा नगुमाइकन कठिन परीक्षाको सामना गर्न हामीलाई बल प्रदान गर्छ। मसीही गोठालाहरू आफ्ना बगालका निकै हेरचाह गर्छन्। बिरामी परेका अनि निराश भएकाहरूलाई प्रोत्साहन दिनुका साथै विश्वासमा कमजोर भएकाहरूलाई पहिलेको जस्तै सुस्वास्थ्य बनाउन तिनीहरू हर प्रयास गर्छन्। (यशैया ३२:१, २; १ पत्रुस ५:२, ३; यहूदा २२, २३) यहोवाको आत्माले यी गोठालाहरूलाई आफ्ना बगालप्रति दयालु र मायालु हुन प्रेरित गर्छ। साँच्चै, उहाँका “करुणा र कोमल कृपा” हामीलाई सिंगार्ने र मर्यादा दिने मुकुटजस्तै छन्! त्यसकारण, उहाँले गर्नुभएका उपकारहरू सधैं याद राख्दै यहोवा र उहाँको पवित्र नाउँलाई धन्यको भनौं।
आफैलाई सम्झाउँदै भजनरचयिता दाऊद अझ गाउँछन्: “[यहोवाले] तेरो मुखलाई उत्तम कुराहरूले तृप्त गराउनुहुन्छ। यसैले कि, तेरो जवानी गरुड़जस्तो नयाँ भइहाल्छ।” (भजन १०३:५) यहोवाले दिनुहुने जीवन सन्तोषजनक र आनन्दमय हुन्छ। नहोस् पनि कसरी, किनकि सत्यको ज्ञान स्वयम् अतुलनीय खजाना र ठूलो आनन्दको स्रोत हो! यहोवाले हामीलाई दिनुभएको प्रचार गरेर चेला बनाउने काम कत्ति सन्तोषजनक छ, त्यो पनि विचार गर्नुहोस्। साँचो परमेश्वरबारे सिक्न इच्छुक व्यक्ति भेट्टाउनु र यहोवालाई चिन्न र धन्यको भन्न तिनीहरूलाई मदत गर्न पाउनु साँच्चै कत्ति आनन्दमय छ! तथापि, हाम्रा क्षेत्रका मानिसहरूले सुनोस् वा नसुनोस् यहोवाको नाउँ पवित्र गर्ने र उहाँको सार्वभौमिकतालाई उच्च पार्ने काममा भाग लिनु हाम्रो ठूलो सुअवसर हो।
परमेश्वरको राज्य सन्देश सुनाउने काममा भाग लिइरहनाले कसलाई थकित वा खिन्न महसुस हुँदैन र? तर यहोवाले आफ्ना सेवकहरूलाई आकाशमा उँभो उँभो उड्नसक्ने शक्तिशाली पखेटा भएका ‘चीलझैं’ बनाएर तिनीहरूलाई अझ बलियो बनाइरहनु हुन्छ। दिनहुँ हामी आफ्नो सेवकाईमा विश्वासीपूर्वक लागिरहोस् भन्ने हेतुले स्वर्गमा हुनुहुने हाम्रा मायालु पिताले हाम्रो निम्ति “शक्ति” प्रदान गर्नुभएकोमा हामी कत्ति कृतज्ञ हुनसक्छौं!—यशैया ४०:२९-३१.
उदाहरणका लागि: क्लाराले पूर्ण-समय जागिर खानुको साथै हरेक महिना क्षेत्र सेवकाईमा पनि ५० घण्टा बिताउँछिन्। तिनी भन्छिन्: “कहिलेकाहीं मलाई थकाइ लाग्छ र क्षेत्र सेवकाईमा जान अरूसित समय मिलाएकोले मात्र म जबरजस्ती जाने गर्छु। तर क्षेत्रमा निस्केपछि म नयाँ स्फूर्ति पाउँछु।” मसीही सेवकाईमा ईश्वरीय मदतले गर्दा पाएको स्फूर्ति तपाईंले पनि महसुस गर्नुभएको होला। दाऊदले आफ्नो भजनको सुरुमा भनेका यी शब्दहरू भन्न तपाईं पनि प्रेरित होऊन्: “हे मेरो आत्मा, परमप्रभुलाई धन्य भन्। र ममा भएका जो जति छन् ती सबैले उहाँको पवित्र नाउँलाई धन्यको भनून्।”
यहोवा आफ्ना जनहरूलाई बचाउनुहुन्छ
भजनरचियता यसरी पनि गाउँछन्: “थिचोमिचोमा परेकाहरू सबैका निम्ति परमप्रभुले धर्म र न्यायका काम गर्नुहुन्छ। उहाँले मोशालाई आफ्नो मार्ग, र इस्राएलीहरूलाई आफ्नो काम प्रकट गर्नुभयो।” (भजन १०३:६, ७) मोशाको समयमा मिश्री अत्याचारीहरूले इस्राएलीहरूलाई “थिचोमिचो” गरेको घटना दाऊदको मनमा थियो होला। इस्राएलीहरूलाई कसरी छुट्कारा दिलाउँछु भन्नेबारे यहोवाले मोशालाई बताएको कुरा मनन गरेर दाऊदको हृदय कृतज्ञताले भरेको हुनुपर्छ।
परमेश्वरले इस्राएलीसित गर्नुभएको व्यवहार चिन्तन गर्नाले हामी पनि त्यस्तै कृतज्ञ हुन प्रेरित हुनसक्छौं। तर यहोवाका साक्षीहरू—परमेश्वरको राज्यका उद्घोषकहरू नामक (अंग्रेजी) पुस्तकको अध्याय २९ र ३० मा यहोवाका वर्तमान सेवकहरूबारे दिएका अनुभवहरूमा पनि ध्यान दिनु आवश्यक छ। त्यस पुस्तक र वाचटावर सोसाइटीका अन्य प्रकाशनहरूमा दिइएका विवरणहरू पढ्नाले वर्तमान समयमा यहोवाले आफ्ना जनहरूलाई जेल सजाय, दंगाफसाद, प्रतिबन्ध, यातना तथा दास-श्रम शिविरहरूमा सहन कसरी मदत दिनुभएको छ, त्यसबारेमा थाह पाउन सक्छौं। बुरूण्डी, लाइबेरिया, रूवाण्डा र पूर्व युगोस्लाभियाजस्ता युद्धग्रस्त ठाउँहरूमा कठिन परीक्षाहरूको सामना गर्नुपरेको छ। सतावट आउँदा यहोवाले आफ्ना विश्वासी सेवकहरूलाई सधैं सम्हाल्नु भएको छ। मिश्रबाट आफ्ना जनलाई छुटाउनुभएको विवरण मनन गर्दा दाऊदलाई जस्तो असर परेको थियो त्यस्तै असर हाम्रा महान् परमेश्वर यहोवाले गर्नुभएको उपकारमा मनन गर्नाले हामीलाई हुनसक्छ।
पापको बोझबाट यहोवाले हामीलाई कसरी कोमलतापूर्वक मुक्ति दिनुहुन्छ, त्यो पनि विचार गर्नुहोस्। हाम्रा ‘विवेकलाई शक्तिहीन कामहरूबाट शुद्ध पार्न’ उहाँले ‘ख्रीष्टको रगतको’ प्रबन्ध गर्नुभएको छ। (हिब्रू ९:१४) येशूले बगाउनुभएको रगतको आधारमा हामीले गरेका पापको पश्चात्ताप गरेर क्षमा माग्यौं भने “पश्चिमबाट पूर्व जत्ति टाढ़ा छ” त्यतिकै टाढा परमेश्वरले हाम्रा पापहरूलाई लगेर हामीलाई पुनः ग्रहण गर्नुहुन्छ। मसीही सभा, उत्थानदायी संगती, मण्डलीका गोठाला तथा “विश्वासी र बुद्धिमान दास”-द्वारा हामीले पाउने बाइबल आधारित प्रकाशनहरू मार्फत यहोवाले गरिदिनुभएको प्रबन्धहरूबारे सोच्नुहोस्। (मत्ती २४:४५) के यहोवाका यी उपकारहरूले उहाँसितको हाम्रो सम्बन्धलाई बलियो बनाउने मदत दिंदैन र? दाऊद घोषणा गर्छन्: “परमप्रभु दयासागर र अनुग्रही, रीसमा ढीला र अति करुणामय हुनुहुन्छ। . . . उहाँले हामीसँग हाम्रा पापअनुसारको व्यवहार गर्नुभएको छैन, नता हाम्रा अधर्मअनुसार हामीलाई बदला दिनुभएको छ।” (भजन १०३:८-१४) निस्सन्देह, यहोवाको मायालु हेरचाहबारे मनन गर्नाले उहाँको महिमा गर्न र उहाँको नाउँलाई उच्च पार्न हामी प्रेरित हुनसक्छौं।
“हे परमप्रभुका सारा सृष्टि हो, परमप्रभुलाई धन्यको भन्”
“आदि-अनन्तका परमेश्वर” यहोवाको अमरत्वअघि “मानिसको आयु घाँसको जस्तो” छोटो छ। तर मूल्यांकनको हृदयले दाऊद भन्छन्: “परमप्रभुको कृपा भने उहाँको भय मान्नेहरूमाथि युगयुगसम्म रहन्छ, र उहाँको धार्मिकता छोरा-नातिसम्मै रहन्छ। अर्थात् तिनीहरूमाथि, जस जसले उहाँको करार पालन गर्दछन्, र उहाँका आदेशहरू स्मरण गरेर त्यहीबमोजिम चल्छन्।” (उत्पत्ति २१:३३; भजन १०३:१५-१८) उहाँको भय राख्नेलाई यहोवा बिर्सनुहुन्न। समयमा उहाँले तिनीहरूलाई अनन्त जीवन दिनुहुनेछ।—यूहन्ना ३:१६; १७:३.
यहोवाको राज्याधिकारको मूल्यांकन गर्दै दाऊद भन्छन्: “परमप्रभुले ता आफ्नो सिंहासन स्वर्गमा स्थापित गराउनुभएको छ। र उहाँको राज्य सबैमाथि छ।” (भजन १०३:१९) इस्राएली राज्य मार्फत यहोवाको शासन केही समयको लागि सञ्चालन भए तापनि वास्तवमा उहाँको सिंहासन स्वर्गमा छ। सृष्टिकर्ता हुनुभएकोले यस ब्रह्माण्डको सार्वभौम शासक यहोवा हुनुहुन्छ र आफ्नै उद्देश्य अनुरूप स्वर्ग र पृथ्वीमा आफ्नो ईश्वरीय इच्छा पूरा गर्नुहुन्छ।
स्वर्गदूतहरूलाई पनि दाऊद आग्रह गर्दै यसरी गाउँछन्: “हे परमप्रभुका दूत हो, हे शक्तिमान वीर हो, जसले उहाँको वचन शिरोपर गर्दछ, उहाँकै वचनको शब्द सुन्दै उहाँलाई धन्यको भन। हे परमप्रभुका सारा सेना हो, हे उहाँका सेवक हो, जो उहाँको इच्छाबमोजिम गर्दछौ, परमप्रभुलाई धन्यको भन। हे परमप्रभुका सारा सृष्टि हो, उहाँको साम्राज्यका सबै ठाउँहरूमा उहाँलाई धन्यको भन, हे मेरो आत्मा, परमप्रभुलाई धन्यको भन्।” (भजन १०३:२०-२२) यहोवाले हाम्रो निम्ति गर्नुभएका करुणामय कार्यहरू चिन्तन गरेर उहाँलाई धन्यको भन्न के हामी पनि प्रेरित हुनु पर्दैन र? अवश्य! अनि परमेश्वरको प्रशंसा गर्न हामीले आफ्नो स्वर उठाउँदा धर्मी स्वर्गदूतहरू पनि सामेल भएका प्रशंसकहरूको विशाल समूहमा गुञ्जयामान हुनेछ भनी हामी निर्धक्क हुनसक्छौं। उहाँबारे सधैं राम्रो कुरा गर्दै भित्री हृदयदेखि स्वर्गमा हुनुहुने हाम्रा पिताको प्रशंसा गरौं। दाऊदका यी शब्दहरूलाई सधैं हाम्रो मनमा राखिरहौं: “हे मेरो आत्मा, परमप्रभुलाई धन्य भन्।”
[फुटनोट]
a केही नाउँहरू परिवर्तन गरिएका छन्।
[पृष्ठ २३-मा भएको चित्र]
दाऊदले यहोवाका करुणामय कार्यहरू मनन गरे। के तपाईं गर्नहुन्छ?