यहोवासित घनिष्ठता बढाउनुहोस्
“परमेश्वरको नजीक आओ, र उहाँ तिमीहरूका नजीक आउनुहुनेछ” भनी चेला याकूबले लेखे। (याकूब ४:८) अनि भजनरचयिता दाऊदले यसरी गाए: “उहाँसँग डराउनेहरूसँगनै परमप्रभुको घनिष्ठता रहन्छ।” (भजन २५:१४) यहोवाले हामी उहाँसित घनिष्ठ भएको चाहनुहुन्छ भन्ने स्पष्ट छ। तथापि, परमेश्वरको उपासना गर्ने तथा व्यवस्था पालन गर्नेहरू सबैले नै उहाँसित नजिक भएको महसुस गर्छन् भन्ने छैन।
तपाईं नि? के परमेश्वरसित तपाईंको व्यक्तिगत सम्बन्ध घनिष्ठ छ? तपाईं उहाँको नजिक हुन चाहनुहुन्छ भन्ने कुरामा कुनै शंका छैन। उसोभए हामीले परमेश्वरसित कसरी घनिष्ठता बढाउन सक्छौं त? यसले हाम्रोलागि कस्तो अर्थ राख्छ? यसको जवाफ हितोपदेशको तेस्रो अध्यायले दिन्छ।
दया र सत्यता झल्काउनुहोस्
पुरातन इस्राएलका राजा सुलेमानले हितोपदेश तेस्रो अध्याय यसरी सुरु गर्छन्: “हे मेरो छोरो, मेरो अर्तीलाई नभूल्, तर मेरो आज्ञालाई तेरो हृदयमा जोगाइराख्। किनभने त्यसले तँलाई दीर्घायु र धेरै वर्ष र तँलाई उन्नति पनि दिन्छन्।” (हितोपदेश ३:१, २) सुलेमानले ईश्वरीय प्रेरणा पाएर लेखेका हुनाले एक जना बाबुले छोरालाई दिने सल्लाह यहोवा परमेश्वरले हाम्रालागि दिनुहुन्छ। हामीलाई यहाँ परमेश्वरका सम्झौटोहरू अर्थात् बाइबलमा पाइने उहाँको व्यवस्था वा शिक्षा अनि उहाँका आज्ञाहरू पालन गर्ने सल्लाह दिइएको छ। त्यसो गऱ्यौं भने, हामीलाई “दीर्घायु र धेरै वर्ष र उन्नति” पनि प्राप्त हुनेछ। हो, अहिले पनि हामी शान्तिमय जीवनको आनन्द उठाउन सक्छौं र दुष्टहरूमाथि आइपर्ने अकाल मृत्युको पासोमा पर्नदेखि जोगिनसक्छौं। यसबाहेक, हामीले शान्तिमय नयाँ संसारमा अनन्त जीवनको आशा राख्न सक्छौं।—हितोपदेश १:२४-३१; २:२१, २२.
त्यसपछि, सुलेमान अझ यसो भन्छन्: “तेरा दृढ़ विश्वास र भक्तिले [ दया र सत्यताले, NW] तँलाई कहिल्यै नछोडून्, तर ती तैंले आफ्नो गलामा बाँधिराख्। [ आफ्नो हृदयको पाटीमा ती लेखिराख्।, NW] यसरी परमेश्वर र मानिसको दृष्टिमा तैंले निगाह र सफलता प्राप्त गर्नेछस्।”—हितोपदेश ३:३, ४.
यहाँ “दया” भनेर चलाइएको शब्दलाई मौलिक भाषामा “वफादार प्रेम” भनेर पनि प्रयोग गरिएको छ र यसमा इमानदारी, एकता र वफादारी समावेश छ। जस्तोसुकै परिस्थिति आइपरे पनि यहोवासित घनिष्ठ भइरहन के हामी कटिबद्ध छौं? के हामी संगी विश्वासीहरूसित व्यवहार गर्दा दया देखाउँछौं? के हामी तिनीहरूसित नजिक भइरहन प्रयास गर्छौं? तिनीहरूसितको दैनिक व्यवहार र अझ भनौं भने, कठिन परिस्थितिमा समेत हामीले ‘आफ्नो शिक्षाको सार दयाले भरिएको’ देखाउँछौं?—हितोपदेश ३१:२६.
यहोवा दयालु हुनुभएकोले उहाँ “क्षमा गर्न तयार हुनुहुन्छ।” (भजन ८६:५) हामीले विगतका पापहरूका लागि पश्चात्ताप गऱ्यौं र हाम्रो मार्गलाई सीधा बाटोमा डोऱ्याएका छौं भने यहोवाबाट “आरामको समय” आउनेछ भनेर हामी ढुक्क हुनसक्छौं। (प्रेरित ३:१९) अरूको कसूरहरू क्षमा गरेर हामीले पनि परमेश्वरको अनुकरण गर्नुपर्दैन र?—मत्ती ६:१४, १५.
यहोवा “सत्य परमेश्वर” हुनुहुन्छ अनि उहाँसित घनिष्ठ हुनचाहनेहरूबाट पनि “सत्यता” चाहनुहुन्छ। (भजन ३१:५) आफ्नो वास्तविक चालढाल लुकाएर मसीही सरसंगतिमा एउटा रूप अनि तिनीहरूले नदेख्ने ठाउँमा चाहिं अर्कै तौरतरिका गरेर “व्यर्थका मानिसहरू” जस्तै दोहोरो जीवन बिताउँछौं भने के हामी यहोवाको मित्र हुने आशा गर्नसक्छौं र? (भजन २६:४) त्यो कस्तो मूर्खता हुनेछ किनकि यहोवाको “नजरको सामने सब कुराहरू स्पष्ट र खुला राखिएका छन्।”—हिब्रू ४:१३.
दया र सत्यता ‘हाम्रो घाँटीमा झुन्ड्याउनु पर्ने’ बहुमूल्य हारहरू हुन्। किनभने ती गुणहरूले हामीलाई ‘परमेश्वर र मानिसको दृष्टिमा निगाह पाउन’ मदत गर्छ। हामीले ती गुणहरू बाहिर देखाउने मात्र होइन तर हाम्रो व्यक्तित्वकै अभिन्न भाग बनाएर ‘हृदयमा कुँद्नुपर्छ।’
यहोवामा पूर्ण भरोसा बढाउनुहोस्
बुद्धिमान् राजा अझ यसो भन्छन्: “तेरो सारा भरोसा परमेश्वरमा राख्, र तेरो आफ्नै समझ-शक्तिमा भरोसा नगर्। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।”—हितोपदेश ३:५, ६.
यहोवालाई हामी पूरा भरोसा गर्नसक्छौं। सृष्टिकर्ता हुनुभएकोले उहाँमा “शक्तिको बड़प्पन” छ र उहाँ नै ‘सामर्थ्यमा पनि बलियो हुनुहुन्छ।’ (यशैया ४०:२६, २९) आफूले रच्नुभएका उद्देश्यहरू उहाँ पूरा गर्न सक्नुहुन्छ। अनि उहाँको नाउँको शाब्दिक अर्थ पनि “उहाँले गराउनुहुन्छ” भएकोले उहाँले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुनेछ भनेर हामी ढुक्क हुनसक्छौं! “परमेश्वरलाई झूट बोल्नु असम्भव छ” भन्ने तथ्यले गर्दा उहाँ सच्चाइको अत्युत्तम नमुना हुनुहुन्छ भन्ने प्रस्टै हुन्छ। (हिब्रू ६:१८) उहाँको प्रमुख गुण प्रेम हो। (१ यूहन्ना ४:८) उहाँ “आफ्ना सब मार्गमा धार्मिक र आफ्ना सारा व्यवहारमा अनुग्रही हुनुहुन्छ।” (भजन १४५:१७) उसोभए, हामीले परमेश्वरलाई भरोसा नगरेर अरू कसलाई गर्ने त? हो, हामीले बाइबलबाट सिकेका कुराहरू हाम्रो व्यक्तिगत जीवनमा लागू गरेर पाएका राम्रा परिणामहरूबारे विचार गर्दै ‘उहाँ कस्तो भलो हुनुहुन्छ भनेर पारख गरेर हेऱ्यौं’ भने उहाँमाथि भरोसा बढाउन सक्छौं।—भजन ३४:८.
हामीले ‘आफ्नो सबै चालमा कसरी परमेश्वरलाई सम्झन’ सक्छौं? प्रेरित भजनरचयिता यसो भन्छन्: “म तपाईंका सबै कामहरूमा पनि ध्यान गर्नेछु, र तपाईंका कार्यहरूमा घोरिन्छु।” (भजन ७७:१२) परमेश्वर अदृश्य हुनुभएकोले उहाँसित घनिष्ठता बढाउन उहाँका महान् कार्यहरू तथा आफ्ना मानिसहरूसित उहाँले गर्नुभएको व्यवहारमा मनन गर्नु आवश्यक छ।
यहोवालाई सम्झन प्रार्थना गर्नु पनि महत्त्वपूर्ण छ। राजा दाऊद यहोवालाई “दिनभरि” पुकारा गरिरहन्थे। (भजन ८६:३) दाऊद उजाडस्थानमा भागी हिंड्दा प्रायजसो रातभर प्रार्थना गर्थे। (भजन ६३:६, ७) प्रेरित पावलले “हर समय आत्मामा प्रार्थना” गर्न प्रोत्साहन दिए। (एफिसी ६:१८) हामी कति चोटि प्रार्थना गर्छौं? के हामी परमेश्वरसित व्यक्तिगत हृदयस्पर्शी कुराकानी गर्छौं? कुनै कठिन परिस्थितिको सामना गर्नुपर्दा मदतका लागि उहाँलाई बिन्ती गर्छौं? के हामी कुनै महत्त्वपूर्ण निर्णयहरू गर्नुअघि प्रार्थना गरेर उहाँको निर्देशन खोज्छौं? हामीले यहोवालाई हार्दिक प्रार्थना गर्दा हामी उहाँको प्रिय हुनेछौं। अनि उहाँले हाम्रो प्रार्थना सुन्नुहुनेछ र ‘हाम्रो मार्ग सोझो’ पारिदिनुहुनेछ भन्ने आश्वासन हामीले पाएका छौं।
हामीले यहोवालाई पूर्ण भरोसा गर्नसक्दा सक्दै पनि संसारका प्रतिष्ठित मानिसहरू वा आफ्नै ‘समझशक्तिमा भर गर्नु’ साह्रै ठूलो मूर्खता हो! सुलेमान भन्छन्, “आफैलाई बुद्धिमान नसम्झी।” बरु, तिनी यस्तो अर्ती दिन्छन्: “परमप्रभुको भय मान्, र दुष्कर्मबाट अलग बस्। तँलाई स्वस्थ्य राख्नलाई त्यही तेरो निम्ति औषधि, तेरा हात-खुट्टाका निम्ति मलहम हो।” (हितोपदेश ३:७, ८) मेरो कार्यले परमेश्वर खुसी हुनुहुन्न कि भन्ने स्वस्थकर भयले हाम्रा कार्य, विचार तथा भावनाहरू सबैलाई असर गर्नुपर्छ। त्यस्तो श्रद्धेय भयले हामीलाई गलत कार्य गर्नदेखि जोगाउँछ अनि यो आध्यात्मिक औषधी र मलहम हो।
यहोवालाई सबैभन्दा उत्तम कुरा दिनुहोस्
अरू कुन तरिकामा हामी यहोवाको नजिक हुनसक्छौं? ती राजा यस्तो निर्देशन दिन्छन्: “आफ्नो धन-सम्पत्तिले परमप्रभुको आदर गर् र तेरा सबै आम्दानीको सबैभन्दा पहिलो अंशले परमप्रभुको इज्जत गर्।” (हितोपदेश ३:९) यहोवालाई आदर गर्नुको अर्थ उहाँलाई श्रद्धा गर्नु र जनउद्घोषणा कार्यमा भाग लिएर वा सहयोग गरेर उहाँलाई जनसमक्ष महिमित पार्नु हो। हामीले यहोवालाई आदर गर्ने बहुमूल्य चीजहरू हाम्रो समय, सीप, बल तथा भौतिक सम्पत्तिहरू हुन्। यी सबै हाम्रो पहिलो फल अर्थात् सर्वोत्तम कुरा हुनुपर्छ। हाम्रो व्यक्तिगत स्रोतहरूको प्रयोगले ‘पहिले परमेश्वरको राज्य र उहाँको धार्मिकता खोजी’ गर्छौं भन्ने हाम्रो संकल्प झल्काउनु पर्दैन र?—मत्ती ६:३३.
हाम्रो बहुमूल्य चीजहरूबाट यहोवाको आदर गरेको अवश्य खेर जानेछैन। सुलेमान यस्तो आश्वासन दिन्छन्, “तब तेरा ढुकुटीहरू अन्नले भरिपूर्ण हुनेछन्, र तेरा मसक नयाँ दाखमद्यले भरिभराउ हुनेछन्।” (हितोपदेश ३:१०) आध्यात्मिक सम्पन्नताका साथसाथै भौतिक सम्पन्नता पनि पाइन्छ भन्ने होइन। तर हाम्रा सम्पत्तिहरू यहोवाको आदर गर्न प्रयोग गरिरहँदा प्रशस्त आशिष् पाउनेछौं। परमेश्वरको इच्छा पूरा गर्नु येशूका लागि “भोजन” सरह थियो। (यूहन्ना ४:३४) त्यस्तै गरी, यहोवाको महिमा गर्न प्रचार तथा चेला बनाउने कार्यमा भाग लिंदा हामी पोषण पाउँछौं। त्यस कार्यमा लागिरहँदा हाम्रा आध्यात्मिक ढुकुटीहरू भरिभराउ हुनेछन्। हाम्रो आनन्दलाई संकेत गर्ने नयाँ दाखमद्य भरिएर पोखिनेछ।
के हामी हर दिन भौतिक भोजनको प्रबन्धका लागि यहोवामा भर पर्ने र उहाँलाई प्रार्थना गर्ने गर्दैनौं र? (मत्ती ६:११) हामीसित भएका जम्मै कुराहरू वास्तवमा स्वर्गमा हुनुहुने मायालु पिताबाटै पाउँछौं। अतः उहाँको प्रशंसा गर्न हामी जति धेरै यी अमूल्य कुराहरू चढाउँछौं त्यति नै बढी आशिष्हरू यहोवाले दिनुहुनेछ।—१ कोरिन्थी ४:७.
यहोवाको अनुशासन स्वीकार्नुहोस्
यहोवासित घनिष्ठ हुन अनुशासनको महत्त्व देखाउँदै इस्राएलका ती राजा हामीलाई यस्तो सल्लाह दिन्छन्: “हे मेरो छोरो, परमप्रभुको अनुशासनलाई अवहेलना नगर्, अथवा उहाँको ताड़नादेखि चित्त नदुःखा। किनभने जसलाई परमप्रभु प्रेम गर्नुहुन्छ तिनीहरूलाईनै उहाँले हप्काउनुहुन्छ, र आफ्ना प्यारो छोरालाई उहाँले दण्ड दिनुहुन्छ।”—हितोपदेश ३:११, १२.
तथापि, हामीलाई अनुशासन स्वीकार्न सजिलो नहुनसक्छ। “सबै अनुशासन हालको निम्ति मजाको हुँदैन, तर दुःखको हुन्छ, तापनि सहेर परिपक्व भएकाहरूलाई पछिबाट शान्तिको फल, अर्थात् धार्मिकताको फल दिइन्छ” भनी प्रेरित पावलले लेखे। (हिब्रू १२:११) ताडना तथा अनुशासन हामीलाई परमेश्वरको नजिक ल्याउने प्रशिक्षणको आवश्यक भाग हो। चाहे आमाबाबु, मसीही मण्डली, वा व्यक्तिगत अध्ययनको दौडान धर्मशास्त्रमाथि मनन गर्दा नै किन नहोस् यहोवाले हामीलाई सच्याउनु हुँदा हामीप्रति उहाँको प्रेम प्रकट हुन्छ। हामीले त्यसलाई स्वीकार्नु बुद्धिमानी हुनेछ।
बुद्धि तथा समझशक्ति पक्रिराख्नुहोस्
त्यसपछि, परमेश्वरसित नजिकको सम्बन्ध बढाउन बुद्धि तथा समझशक्तिको महत्त्वमाथि सुलेमान जोड दिन्छन्। तिनी यस्तो घोषणा गर्छन्: “बुद्धि पाउने र समझ-शक्ति प्राप्त गर्ने मानिस सुखी रहन्छ। किनभने बुद्धि चाँदीभन्दा धेरै लाभदायक हुन्छ, र त्यसबाट हुने फायदा सुनभन्दा बढ़ी हुन्छ। . . . त्यसलाई समात्नेहरू सबैका निम्ति त्यो जीवनको सहारा हो, र त्यसलाई बलियोगरी समात्नेहरू सुरक्षित रहन्छन्।”—हितोपदेश ३:१३-१८.
यहोवाको सृष्टिमा उहाँका बुद्धि तथा समझशक्ति झल्किन्छ भन्ने सम्झना दिलाउँदै राजा यसो भन्छन्: “बुद्धिलेनै परमप्रभुले पृथ्वीको जग बसाल्नुभयो, र समझ-शक्तिले उहाँले आकाशलाई त्यसको ठाउँमा राख्नुभयो। . . . हे मेरो छोरो, आफ्नो योग्यता र विवेकको रक्षा गरिराख्, तेरो दृष्टिबाट ती फुत्केर नजाउन्। ती तेरो आत्माको प्राण र तेरो छातीमा हारझैं हुनेछन्।”—हितोपदेश ३:१९-२२.
बुद्धि तथा समझशक्ति ईश्वरीय गुणहरू हुन्। हामीले यी गुणहरू बढाउन मात्र होइन धर्मशास्त्रको लगनशील अध्ययन गर्न र सिकेका कुराहरू प्रयोगमा ल्याउन हेलचेक्य्राइँ नगरीकन पक्रिराख्नु पनि पर्दछ। “तब तँ आफ्नो बाटोमा निष्फिक्री हिंड़्नेछस्,” भन्दै सुलेमान बताउँछन्, “र तेरा खुट्टाले ठेस खानेछैनन्।” तिनी फेरि भन्छन्, “तँ बस्ता डराउनुपर्ने छैन। तँ सुत्दा तँलाई मीठो निद्रा लाग्नेछ।”—हितोपदेश ३:२३, २४.
हो, हामी शैतानको दुष्ट संसारमाथि चोरझैं ‘अचानकसँग आइलाग्ने विनाशको’ दिनको प्रतिक्षा गरिरहँदा निष्फिक्रीसँग हिंड्न र शान्तिसित सुत्नसक्छौं। (१ थिस्सलोनिकी ५:२, ३; १ यूहन्ना ५:१९) आउनै लागेको महान् विनाशको दौडान पनि हामी यस्तो सान्त्वना पाउनसक्छौं: “मूर्खहरू भयभित हुँदा अथवा दुष्टहरूमाथि विनाश आइलाग्दा तँ नडरा। किनभने परमप्रभु तेरा छेवैमा हुनुहुनेछ, उहाँले तेरो खुट्टालाई पासोदेखि जोगाउनुहुनेछ।”—हितोपदेश ३:२५, २६; मत्ती २४:२१.
जे असल छ, त्यही गर्नुहोस्
सुलेमान यस्तो सल्लाह दिन्छन्, “मानिसलाई दिने तेरो औकात छ भने त्यसलाई दया देखाउन अस्वीकार नगर।” (हितोपदेश ३:२७) अरूप्रति भलाइ गर्नुमा आफ्नो सम्पत्ति तिनीहरूका खातिर प्रयोग गर्नु समावेश छ र यसका थुप्रै पक्षहरू छन्। तर यस “अन्तको समय[मा]” अरूका लागि गर्नसक्ने अत्युत्तम कुरा भनेको तिनीहरूलाई साँचो परमेश्वरसित नजिकको सम्बन्ध बनाउन मदत गर्नु होइन र? (दानियल १२:४) उसोभए, यी दिनहरू राज्य प्रचार तथा चेला बनाउने कार्यमा जोसिलो भई भाग लिनुपर्ने समय हो।—मत्ती २८:१९, २०.
हामीले त्याग्नुपर्ने केही बानीहरूबारे पनि यस बुद्धिमान् राजाले यस्तो सल्लाह दिंदै भन्छन्: “तँसित छ भने तेरो मित्रलाई, ‘फेरि आऊ, भोलि दिनेछु,’ भनी नभन्। शंकै नगरेको तेरो छिमेकी, आफ्नो मित्रको विरुद्धमा षड़यन्त्र नरच्। तेरो विरुद्धमा कुनै मानिसले केही खराबी गरेको छैन भने विनाकारण त्यससित झगड़ा नगर्। उपद्रव गर्ने मानिसको अनुसरण नगर्। त्यसकै चालमा चल्ने इच्छा नगर्।”—हितोपदेश ३:२८-३१.
आफूले सल्लाह दिनुको कारणलाई निचोडमा सुलेमान यसो भन्छन्: “जो सोझो छैन, त्यसलाई परमप्रभु घीन गर्नुहुन्छ, तर सोझा मानिसहरू परमेश्वरका विश्वास-पात्र हुन्छन्। दुष्ट काम गर्नेको घरमा परमप्रभुको सराप पर्छ, तर धर्मीको घरलाई उहाँले आशिष दिनुहुन्छ। अभिमानी मानिससित परमेश्वरले त्यस्तै व्यवहार गर्नुहुन्छ, तर नम्रहरूमाथि उहाँले निगाह गर्नुहुन्छ। बुद्धिमानको भाग आदर हो, तर मूर्खहरूको चाहिं अपमान।”—हितोपदेश ३:३२-३५.
हामी पनि यहोवासित घनिष्ठ भएर आनन्दित हुन चाहन्छौं भने उपद्रवपूर्ण अनि खराब षड्यन्त्रहरू रच्नु हुँदैन। (हितोपदेश ६:१६-१९) हामीले परमेश्वरको दृष्टिमा असल काम गऱ्यौं भने मात्र उहाँको निगाह तथा आशिष् पाउने छौं। अरूले हामी ईश्वरीय बुद्धिअनुसार कार्य गरिरहेको देख्दा हामीले आशै नगरेको आदर पाउने छौं। तसर्थ, हामी यस दुष्ट तथा हिंस्रक संसारका खराब मार्गहरू इन्कार गरौं। हामी सोझो मार्गमा हिंड्ने प्रयास गरौं र यहोवासित घनिष्ठता बढाऔं!
[पृष्ठ २५-मा भएका चित्रहरू]
“आफ्नो धन-सम्पत्तिले परमप्रभुको आदर गर्”