‘स्वर्गको अन्नबाट’ फाइदा उठाउने
मिस्रबाट चमत्कारी तरिकामा छुटकारा पाएको केही समय नबित्दै इस्राएलीहरूले आफ्नो उद्धारक यहोवाप्रति विश्वासको कमी देखाए। फलतः यहोवाले तिनीहरूलाई सीनैको उजाडस्थानमा ४० वर्षसम्म भौतारिन लगाउनुभयो। त्यस अवधिभरि इस्राएली तथा तिनीहरूसँग गएका विदेशीहरूको “एक मिश्रित-दल[ले]”“अघाउञ्जेल” खाए अनि पिए। (प्रस्थान १२:३७, ३८) यो कसरी सम्भव भयो, त्यसबारे भजन ७८:२३-२५ यसो भन्छ: “उहाँले [यहोवाले] माथि आकाशलाई हुकूम गर्नुभयो, र स्वर्गका ढोकाहरू खोलिदिनुभयो। औ उहाँले तिनीहरूलाई खानालाई मन्न वर्षाउनुभयो, र तिनीहरूलाई स्वर्गको अन्न दिनुभयो। स्वर्गदूतहरूको रोटी हरेकले खायो। उहाँले तिनीहरूलाई अघाउञ्जेल खानेकुरो दिनुभयो।”
आफूले पनि मन्न खाएको हुनाले मोशाले यो अनुपम खानाबारे उल्लेख गरे। तिनले लेखे, बिहान “जब त्यो शीत सुक्यो तब जमीनमा परेको तुसारोझैं ससाना डल्ला उजाड़-स्थानभरि रहेछन्। इस्राएलीहरूले त्यो देखेर आपसमा भन्नलागे, ‘यो के हो?’ ” अथवा हिब्रूमा, “मान हु?” यो अभिव्यक्ति नै इस्राएलीहरूले नाउँ दिएको उक्त खाना, “मन्न”-को मूल हुनसक्छ। मोशाले भने: “त्यो धनियाँजस्तो तर सेतो थियो। त्यसको स्वाद चाहिं महमा बनाएको बाबरजस्तो थियो।”—प्रस्थान १६:१३-१५, ३१.
मन्न, कसै कसैले भनेझैं प्राकृतिक तवरमा पाइने खाना होइन। अलौकिक शक्तिद्वारा यसको प्रबन्ध गरिएको थियो। उदाहरणका लागि, यो कुनै खास ठाउँ अथवा खास ऋतुमा मात्र पाइने खाना थिएन। रातभर राख्दा त्यसमा कीरा लाग्थ्यो र गन्हाउन थाल्थ्यो। यद्यपि, साप्ताहिक विश्राम दिनको अघिल्लो दिन प्रत्येक परिवारले जम्मा गरेको दुगुना मन्नचाहिं रातभर राख्दा पनि कुहिंदैनथ्यो। त्यसैले, मन्न देखा नपर्ने दिन अर्थात् विश्राम दिनमा त्यो मन्न खान सकिन्थ्यो। पक्कै पनि मन्न चमत्कारी प्रबन्ध थियो।—प्रस्थान १६:१९-३०.
भजन ७८ मा “स्वर्गदूतहरूको” उल्लेख गर्नुले यहोवाले मन्न प्रबन्ध गर्न स्वर्गदूत प्रयोग गर्नुभएको हुनसक्छ भनी औंल्याउँछ। (भजन ७८:२५) जे होस्, मानिसहरूसित परमेश्वरलाई उहाँको दयाको निम्ति धन्यवाद दिने प्रशस्त कारण थिए। तथापि, मिस्रको दासत्वबाट छुटकारा दिनुहुनेप्रति थुप्रैले अकृतज्ञ मनोभाव देखाए। हामीले पनि यहोवाको प्रबन्धलाई हल्कासित लिनसक्छौं वा उहाँको करुणामाथि मनन गर्न असफल भयौं भने कृतघ्नसमेत हुनसक्छौं। अतः, यहोवाले इस्राएललाई दिनुभएको छुटकारा अनि त्यसपछिका घटनाहरू “हाम्रो शिक्षाको निम्ति” रेकर्ड गराउनुभएकोमा हामी कृतज्ञ हुनसक्छौं।—रोमी १५:४.
इस्राएललाई दिइएको पाठबाट मसीहीहरूले फाइदा उठाउनसक्छन्
यहोवाले मन्न उपलब्ध गराउनुहुँदा लगभग ३० लाख इस्राएलीहरूको शारीरिक आवश्यकता पूरा गर्ने कुरालाई मात्र ध्यान दिनुभएको थिएन। उहाँ तिनीहरूकै भलाइको निम्ति तिनीहरूलाई खार्नुका साथै अनुशासन दिनु भएर‘ तिनीहरूलाई नम्र तुल्याउन र जाँच्न चाहनुहुन्थ्यो।’ (व्यवस्था ८:१६; यशैया ४८:१७) यसरी खार्दा र अनुशासन दिंदा तिनीहरूले सकारात्मक प्रतिक्रिया देखाएमा तिनीहरूलाई प्रतिज्ञा गरिएको देशमा शान्ति, समृद्धि तथा आनन्द दिएर ‘पछि तिनीहरूकै हित हुने’ काम गर्न यहोवा आनन्दित हुनुहुने थियो।
“मानिस भोजनले मात्र होइन, तर परमप्रभुको मुखबाट निस्केको प्रत्येक वचनले जिउँछ” भन्ने महत्त्वपूर्ण कुरा तिनीहरूले सिक्नु अत्यावश्यक थियो। (व्यवस्था ८:३) परमेश्वरले मन्न उपलब्ध नगराउनुभएको भए, मानिसहरू भोकभोकै मर्थे र यो तथ्यलाई तिनीहरूले सहर्ष स्वीकारेका थिए। (प्रस्थान १६:३, ४) मूल्यांकन गर्ने इस्राएलीहरूलाई यहोवामा पूर्णतया भरोसा राख्नुपर्छ भनेर दिनहुँ सम्झाइन्थ्यो र यसरी तिनीहरूलाई नम्र तुल्याइन्थ्यो। प्रतिज्ञा गरिएको देशमा प्रवेश गरेपछि त्यहाँको भौतिक सुखसुविधाले गर्दा तिनीहरूले यहोवा र उहाँमाथि भर पर्नुपर्ने कुरा बिर्सने सम्भावना ज्यादै कम थियो।
इस्राएलीहरूले जस्तै मसीहीहरूले आफ्नो जीवनका आवश्यकताहरू अर्थात् शारीरिक वा आध्यात्मिक आवश्यकताहरूका लागि परमेश्वरमा भर पर्नुपर्छ भनेर बुझ्नुपर्छ। (मत्ती ५:३; ६:३१-३३) दियाबलले गरेका परीक्षाहरूमध्ये एउटाको जवाफमा येशू ख्रीष्टले व्यवस्था ८:३ को मोशाका यी शब्दहरू उद्धरण गर्नुभयो: “यस्तो लेखिएको छ, ‘मानिस भोजनले मात्र होइन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्तछ।’ ” (मत्ती ४:४) हो, परमेश्वरका साँचो उपासकहरू बाइबलमा पाइने यहोवाका अभिव्यक्तिहरू पढेर पोषण प्राप्त गर्छन्। यसको अतिरिक्त, परमेश्वरसँगै हिंड्दा र उहाँको राज्यलाई प्राथमिकता दिंदा ती अभिव्यक्तिहरूका लाभप्रद असरहरू आफ्नो जीवनमा महसुस गर्छन्। यसो गर्दा तिनीहरूको विश्वास अझ बलियो हुन्छ।
असिद्ध मानिसहरूले आफ्नो जीवनमा दिनहुँजस्तो गर्नुपर्ने कामकुराहरूप्रति अर्थात् तिनमा यहोवाको मायालु चिन्ता प्रतिबिम्बित गर्ने कुराहरू नै समावेश भए तापनि त्यसप्रतिको मूल्यांकन गुमाउनसक्छन्। उदाहरणका लागि, मन्नको अलौकिक प्रबन्धले सुरुमा इस्राएलीहरूलाई अचम्मित र सन्तुष्ट पारे तापनि पछि थुप्रैले गनगन गर्न थाले। “यस तुच्छ खानेकुरादेखि हामीलाई वाक्कै लागिसक्यो” भनेर तिनीहरूले अनादरपूर्वक बिलौना गरे। यसो गर्नु तिनीहरू ‘परमेश्वरबाट टाढिन’ थालेको संकेत थियो। (गन्ती ११:६; २१:५; हिब्रू ३:१२) त्यसकारण, तिनीहरूको उदाहरण “हाम्रो चेताउनीको निम्ति लेखिएका हुन्, जसमाथि पुस्ताहरूको अन्त हुनलागेको छ।”—१ कोरिन्थी १०:११.
यो चेताउनीमूलक उदाहरणलाई हामी कसरी पालन गर्नसक्छौं? यसो गर्ने एउटा तरिका, बाइबलका शिक्षाहरू वा विश्वासी र बुद्धिमान् दासवर्ग मार्फत हामीले पाएका प्रबन्धहरूलाई कहिल्यै पनि सामान्य वा मामुली नठान्नु हो। (मत्ती २४:४५) यहोवाले दिनु भएका उपहारहरूलाई हल्कासित लिन थाल्यौं वा ती उपहारहरूको बेवास्ता गर्न थाल्यौं भने उहाँसितको हाम्रो सम्बन्ध बिग्रन थाल्छ।
असलै कारणका लागि यहोवाले उत्सुकता जगाउने नयाँ जानकारीहरू हामीमाथि लगातार बर्षाउनुहुन्न। बरु, उहाँले आफ्ना वचनका कुराहरू विस्तारै अनि क्रमबद्ध तरिकामा झन् झन् चहकिलो बनाउनुहुन्छ। (हितोपदेश ४:१८) फलतः उहाँका जनहरूले आफूले सिकेका कुराहरू बुझ्न अनि प्रयोगमा ल्याउनसकेका छन्। येशूले आफ्ना प्रारम्भिक चेलाहरूलाई सिकाउनुहुँदा आफ्नो पिताको उदाहरण पछ्याउनुभयो। तिनीहरूले “सुन्न सकेसम्म” वा कुनै कुनै अनुवादअनुसार “बुझ्न सकेसम्म” उहाँले परमेश्वरको वचन व्याख्या गर्नुभयो।—मर्कूस ४:३३; तुलना गर्नुहोस् यूहन्ना १६:१२.
परमेश्वरले गर्नुभएका प्रबन्धहरूप्रति आफ्नो मूल्यांकन बलियो बनाउनुहोस्
येशूले दोहऱ्याई तेहऱ्याई बताउनुहुन्थ्यो। उदाहरणका लागि, कुनै खास बुँदा अर्थात् बाइबलको कुनै सिद्धान्त दिमागले तुरुन्तै बुझ्ला तर सांसारिक तौरतरिका तथा मनोवृत्तिहरूले बलियोसित जरा गाडेको छ भने त्यसलाई हृदयमा ठप्प बसाल्न र मसीहीको “नयाँ मानिस[को]” भाग बनाउन अलि समय लाग्नसक्छ। (एफिसी ४:२२-२४) येशूका चेलाहरूलाई पनि घमण्डमाथि विजयी हुन र नम्रता विकास गर्न समय लागेको थियो। येशूले तिनीहरूलाई बारम्बार नम्रताबारे सिकाउनुपऱ्यो। उहाँले ती कुराहरू तिनीहरूको मनमा गडोस् भन्ने हेतुले हरेक पटक एउटै मूल कुरालाई भिन्नाभिन्नै कोणबाट सिकाउनुहुन्थ्यो। यसरी सिकाएको कुरा अन्ततः तिनीहरूको मनमा गढ्यो पनि।—मत्ती १८:१-४; २३:११, १२; लूका १४:७-११; यूहन्ना १३:५, १२-१७.
आधुनिक समयमा मसीही सभाहरू तथा वाच टावर प्रकाशनहरूले एउटै कुरा विचारपूर्वक दोहऱ्याई तेहऱ्याई भन्ने सन्दर्भमा येशूको नमुना पछ्याएका छन्। अतः, यसलाई परमेश्वरले हामीप्रति देखाउनुभएको मायालु चासोको रूपमा मूल्यांकन गरौं र इस्राएलीहरू मन्नदेखि वाक्क भएझैं हामीले पाएका कुराहरूदेखि कहिल्यै वाक्क नहोऔं। निस्सन्देह, यहोवाले दिनुहुने नियमित सम्झौटाहरूलाई ग्रहण गर्दै धीरजी भई प्रयोग गऱ्यौं भने आफ्नो जीवनमा राम्रा राम्रा फलहरू फलेको देख्नसक्ने छौं। (२ पत्रुस ३:१) यस्तो मूल्यांकनले हाम्रो हृदयका साथसाथै मस्तिष्कले परमेश्वरको वचन साँच्चै ‘बुझेको’ छ भनी देखाउँछ। (मत्ती १३:१५, १९, २३) यस सम्बन्धमा, हाम्रोनिम्ति भजनरचयिता दाऊदको राम्रो उदाहरण छ। आज हामीले जस्तै थरीथरीका आध्यात्मिक खाना नपाए तापनि तिनले यहोवाको व्यवस्थालाई “मह र महको चाकाभन्दा पनि गुलियो” भनी व्याख्या गरे।—भजन १९:१०.
अनन्त जीवन दिने “मन्न”
येशूले यहूदीहरूलाई भन्नुभयो: “जीवनको रोटी मनै हुँ। तिमीहरूका पिता-पुर्खाहरूले वनमा मन्न खाए, र मरे। . . . स्वर्गबाट ओर्लेको जीवित रोटी मनै हुँ, यो रोटी कोही मानिसले खायो भने सधैंभरि जिउनेछ . . . त्यो रोटी, जो म संसारको जीवनको लागि दिनेछु, मेरो देह हो।” (यूहन्ना ६:४८-५१) वास्तविक रोटी वा मन्नले अनन्त जीवन दिएन नत दिनसक्छ। तर येशूको छुटकाराको बलिदानमा विश्वास गर्नेहरूले अन्ततः अनन्त जीवनको आशिष् पाउनेछन्।—मत्ती २०:२८.
येशूको छुटकाराको बलिदानबाट फाइदा उठाउने अधिकांश मानिसहरूले पार्थिव प्रमोदवनमा अनन्त जीवनको आनन्द उठाउनेछन्। तिनीहरूले बनिएको “एक ठूलो भीड़” अर्थात् मिस्रबाट इस्राएलीहरूसँगसँगै प्रस्थान गर्ने विदेशीहरूको “एक मिश्रित-दल[ले]” पूर्व चित्रित गरेका मानिसहरू पृथ्वीका सम्पूर्ण दुष्टता हटाउने आउँदै गरेको “महा सङ्कष्टबाट” जोगिनेछन्। (प्रकाश ७:९, १०, १४; प्रस्थान १२:३८) अनि इस्राएलीहरूले चित्रण गरेकाहरूले त अझ ठूलो इनाम पाउनेछन्। प्रेरित पावलले यी १,४४,००० मिलेर परमेश्वरको आध्यात्मिक इस्राएल बन्नेछ भने। तिनीहरूको इनाम, मृत्युपछि पुनरुत्थान भएर स्वर्गमा जानु हो। (गलाती ६:१६; हिब्रू ३:१; प्रकाश १४:१) त्यहाँ येशूले तिनीहरूलाई विशेष किसिमको मन्न दिनुहुनेछ।
“गुप्तमा रहेको मन्न[को]” अर्थ
पुनरुत्थान हुनुभएका येशूले आत्मिक इस्राएललाई भन्नुभयो, “जसले जित्छ, त्यसलाई गुप्तमा रहेको मन्न दिनेछु।” (प्रकाश २:१७) यो प्रतिकात्मक गुप्त मन्नले परमेश्वरले मोशालाई करारको पवित्र सन्दुकभित्र सुनको भाँडोमा मन्न राख्ने आदेश दिनुभएको कुरा स्मरण गराउँछ। यो सन्दुक बासस्थानको महा पवित्रस्थानमा राखिएको थियो। त्यहाँ त्यो देख्न सकिन्न थियो, अर्को शब्दमा भन्ने हो भने गुप्तमा थियो। सम्झनास्वरूप मन्नको नमुना सन्दुकमा राखुञ्जेल उक्त मन्न कुहिएन र यसरी त्यो मन्नले नकुहिने खाद्यान्नलाई संकेत गर्नु उपयुक्त हुन्थ्यो। (प्रस्थान १६:३२; हिब्रू ९:३, ४, २३, २४) ती १,४४,००० लाई गुप्त मन्न दिनुहुँदा तिनीहरूले परमेश्वरको आत्मिक पुत्रको रूपमा अमर तथा अविनाशी जीवन पाउनेछन् भनी येशूले ग्यारेन्टी दिनुभयो।—यूहन्ना ६:५१; १ कोरिन्थी १५:५४.
भजनरचयिताले यसो भने, “जीवनको मूल तपाईसँग छ।” (भजनसंग्रह ३६:९) यस आधारभूत सत्यलाई वास्तविक अनि लाक्षणिक दुवै अर्थमा मन्नको प्रबन्धले फेरि निश्चित गराउँछ! परमेश्वरले पुरातन इस्राएललाई दिनुभएको मन्न, येशूको शरीरको रूपमा उहाँले हाम्रोनिम्ति प्रबन्ध गर्नुभएको लाक्षणिक मन्न अनि येशू मार्फत १,४४,००० लाई दिनुभएको प्रतिकात्मक गुप्त मन्न सबैले हामीलाई हाम्रो जीवन पूर्णतया परमेश्वरमा निर्भर छ भनेर स्मरण गराउँछ। (भजनसंग्रह ३९:५, ७) आउनुहोस्, नम्र र विनयी भएर नियमित तवरमा यो निर्भरता स्वीकारौं। यसो गऱ्यौं भने, यहोवाले ‘पछि हाम्रै हित’ गर्नुहुनेछ।—व्यवस्था ८:१६.
[पृष्ठ २६-मा भएका चित्रहरू]
अनन्त जीवन पाउन सारा मानवजाति “स्वर्गबाट ओर्लेको जीवित रोटी[मा]” भर पर्नुपर्छ
[पृष्ठ २८-मा भएका चित्रहरू]
मसीही सभाहरूमा उपस्थित हुनुले यहोवाका सम्झौटाहरूप्रति हाम्रो मूल्यांकन प्रकट हुन्छ