बुद्धि प्राप्त गर्नुहोस् र अनुशासन स्वीकार्नुहोस्
यहोवा परमेश्वर आफ्ना जनहरूको महान् शिक्षक हुनुहुन्छ। उहाँ तिनीहरूलाई आफूबारे मात्र होइन तर जीवनबारे पनि सिकाउनुहुन्छ। (यशैया ३०:२०; ५४:१३; भजन २७:११) उदाहरणका लागि, यहोवाले इस्राएल राष्ट्रलाई सिकाउन अगमवक्ता, लेवी तथा विशेष गरी पूजाहारी र बूढा प्रधानहरूको प्रबन्ध गर्नुभयो। (२ इतिहास ३५:३; यर्मिया १८:१८) अगमवक्ताहरूले मानिसहरूलाई परमेश्वरको उद्देश्य तथा गुणहरू सिकाउनुका साथै सही मार्ग देखाइदिए। पूजाहारी तथा लेवीहरूले परमेश्वरको व्यवस्था सिकाउने जिम्मेवारी पाएका थिए। अनि बूढा प्रधान वा प्राचीनहरूले चाहिं दैनिक जीवनको लागि उपयोगी सल्लाहहरू दिन्थे।
इस्राएलका बुद्धिमान् पुरुषहरूमध्ये दाऊदका छोरा सुलेमान उल्लेखनीय थिए। (१ राजा ४:३०, ३१) तिनको महिमा र धन देखेपछि तिनको सबैभन्दा विशिष्ट पाहुनाहरूमध्ये एक, शबाकी रानीले यसो भनिन्: “साँच्चै, त्यो ता मलाई आधा पनि सुनाएको रहेनछ। तपाईंको बुद्धि र तपाईंको ऐश्वर्य मैले सुनेको भन्दा ता धेरै ज्यादा रहेछन्।” (१ राजा १०:७) सुलेमानको बुद्धिको रहस्य के थियो? सा.यु.पू. १०३७ मा इस्राएलको राजा हुँदा तिनले “बुद्धि र ज्ञान दिनुहोस्” भनी प्रार्थना गरे। तिनको बिन्तीबाट खुसी हुनुभएर यहोवाले तिनलाई ज्ञान, बुद्धि तथा समझ दिनुभयो। (२ इतिहास १:१०-१२; १ राजा ३:१२) त्यसैकारण त सुलेमानले “तीन हजार सदुपदेश रचे”! (१ राजा ४:३२) तीमध्ये कुनै कुनै “अगूरका नीतिवचन” र “राजा लमूएलका नीतिवचन” बाइबल पुस्तक हितोपदेशमा लिपिबद्ध छन्। (हितोपदेश ३०:१; ३१:१) ती हितोपदेशमा अभिव्यक्त सत्य कुराहरूले परमेश्वरको बुद्धि झल्काउँछ र ती अनन्तकालीन छन्। (१ राजा १०:२३, २४) सुखी तथा सफल जीवनको चाहना गर्नेहरूका लागि ती हितोपदेशहरू आज पनि त्यत्तिकै महत्त्वपूर्ण छन्।
सफलता र नैतिक स्वच्छता—कसरी?
हितोपदेशको पुस्तकको उद्देश्य यसका सुरुका शब्दहरूमै बताइएको छ: “दाऊदका छोरा इस्राएलका राजा सुलेमानका हितोपदेश जसद्वारा मानिसहरूले बुद्धि र शिक्षा प्राप्त गर्नेछन्, औ गहन अर्थ भएका कुराहरू बुझ्नेछन्। औ तीद्वारा तिनीहरूले बुद्धिसित जीवन चलाउन सिक्नेछन्, र इमान्दारी, धार्मिकता र न्यायपरायणता प्राप्त गर्नेछन्। सोझाहरू चतुऱ्याइँले औ युवकहरू ज्ञान र विवेकले परिपूर्ण हुनेछन्।”—हितोपदेश १:१-४.
“सुलेमानका हितोपदेश[को]” कस्तो महान् उद्देश्य! त्यस मार्फत “बुद्धि र शिक्षा प्राप्त” गर्न सकिन्छ। बुद्धि भनेको वास्तविक परिस्थितिलाई बुझ्ने र त्यस ज्ञानलाई समस्या समाधान गर्न चलाउने, लक्ष्य प्राप्त गर्ने, खतराहरूदेखि बच्ने वा जोगिने अथवा त्यसो गर्न अरू मानिसहरूलाई मदत गर्नसक्ने क्षमता हो। “हितोपदेशको पुस्तकमा ‘बुद्धि’ शब्दले कौशलतापूर्वक जीवन बिताउने अर्थात् बुद्धिमानी छनौटहरू गर्नसक्ने क्षमता र सफलतापूर्वक जीवन बिताउन सक्नुलाई बुझाउँछ” भनी एक सन्दर्भिका पुस्तकले बताउँछ। बुद्धि प्राप्त गर्नु अत्यन्तै महत्त्वपूर्ण छ!—हितोपदेश ४:७.
सुलेमानका हितोपदेशहरूले अनुशासन पनि दिन्छ। के हामीलाई यस्तो प्रशिक्षण चाहिन्छ? धर्मशास्त्रमा अनुशासनले सच्याउने, ताडना दिने वा सजायलाई बुझाउँछ। एक बाइबलविद्अनुसार अनुशासन दिनुमा “कुबुद्धिको मार्गमा लाग्नदेखि बचाउने नैतिक प्रशिक्षण” पनि समावेश छ। अनुशासन आफैले दिएको होस् या अरूले, हामीलाई यसले गलत काम गर्नदेखि रोक्ने मात्र होइन तर सुध्रिन पनि उत्प्रेरित गर्छ। हो, नैतिक तवरमा स्वच्छ रहिरहने हो भने हामीलाई अनुशासन चाहिन्छ।
अतः हितोपदेशको द्विपक्षीय फाइदा छ। ती हुन्, बुद्धि र अनुशासन दिन। नैतिक अनुशासन र मानसिक क्षमताका असंख्य पक्षहरू छन्। उदाहरणका लागि, धार्मिकता र न्याय नैतिक गुणहरू हुन् र यसले हामीलाई यहोवाका उच्च स्तरहरू पालन गर्न मदत गर्छ।
बुद्धि भनेको समझ, अन्तरदृष्टि, चतुऱ्याइँ र सोच्ने क्षमता जस्ता थुप्रै कुराहरूको मिश्रण हो। समझ भनेको परिस्थितिलाई राम्ररी नियालेर यसको भाग भाग तथा सम्पूर्ण परिस्थिति बीचको सम्बन्धलाई बुझ्नु हो। अन्तरदृष्टि हुन तर्क ज्ञान हुनुपर्छ र कुनै खास मार्ग सही हो या गलत, त्यसको कारण बुझ्नसक्ने हुनुपर्छ। उदाहरणका लागि, समझदार मानिसले कोही व्यक्ति गलत दिशातिर लाग्दा थाह पाउँछ र खतराबारे तुरुन्तै चेताउनी दिइ हाल्नसक्छन्। तर उक्त व्यक्ति किन त्यस दिशातिर लागिरहेको छ भनी बुझ्न र तिनलाई बचाउने प्रभावकारी तरिका पत्ता लगाउन अन्तरदृष्टि चाहिन्छ।
चतुर व्यक्ति दूरदर्शी हुन्छन्, निर्बुद्धि होइन। (हितोपदेश १४:१५) तिनीहरूले आइपर्न लागेको खराब कुरा देख्नसक्छन् र सजग रहन्छन्। अनि बुद्धिले हामीलाई जीवनमा उद्देश्यपूर्ण मार्ग अपनाउने लाभदायी दृष्टिकोण दिनसक्छ। बाइबलीय हितोपदेश अध्ययन गर्नु निस्सन्देह इनामदायी हो किनभने हामीले बुद्धि र अनुशासन पाओस् भनेर नै ती लिपिबद्ध गरिएका हुन्। “निर्बुद्धि मानिसले” पनि हितोपदेशहरूमा ध्यान दिएर चतुर हुनसक्छन् तथा “युवकहरू” ज्ञान र विवेकले परिपूर्ण हुनसक्छन्।
बुद्धिमानीहरूको निम्ति हितोपदेश
तथापि, बाइबलीय हितोपदेश निर्बुद्धि तथा युवाहरूको निम्ति मात्र होइन। ती सुन्न चाहने सबैको निम्ति हो। राजा सुलेमान यसो भन्छन्, “हितोपदेश र दृष्टान्तहरू बुद्धिमान मानिसका आहान र अड़कोहरू बुझ्न बुद्धिमान मानिसले यो ध्यानसित सुन्यो भने आफ्नो विद्या बढ़ाउनेछ, औ समझ-शक्ति भएको मानिसले निपुणता प्राप्त गर्नेछ।” (हितोपदेश १:५, ६) बुद्धि प्राप्त गरिसकेका मानिसले हितोपदेशहरू सुनेर आफ्नो विद्या अझै बढाउँछ र समझदार मानिसले जीवनमा सफलता प्राप्त गर्न आफ्नो निपुणतालाई तिखार्छ।
हितोपदेशले अक्सर थोरै शब्दहरूमै गहन सत्य कुरा बताउँछ। बाइबलीय हितोपदेश कहिलेकाहीं बुझ्न गाह्रो प्रकारको हुनसक्छ। (हितोपदेश १:१७-१९) केही हितोपदेशहरू गाउँ खाने कथा हुन् जसमा जटिल तथा घुमाउरो कथनहरू हुन्छ र यसको अर्थ खुलाउनुपर्ने हुन्छ। हितोपदेशमा उपमा, रूपक र अन्य अलंकारहरू हुनसक्छ। यी बुझ्न समय चाहिन्छ र मनन गर्नुपर्छ। थुप्रै हितोपदेशका रचयिता सुलेमानले निश्चय पनि हितोपदेशहरू बुझ्ने ज्ञान हासिल गरे। हितोपदेशको पुस्तकमा तिनले आफ्ना पाठकहरूलाई पनि त्यो क्षमता दिन खोजेका छन् र यो सबै बुद्धिमान् मानिसहरूले बुझ्न चाहने कुरा हो।
लक्ष्यतर्फ डोऱ्याउने सुरुआत
मानिसले ज्ञान र अनुशासनको खोजी कहाँबाट सुरु गर्ने? सुलेमान यस्तो जवाफ दिन्छन्: “परमप्रभुको भय ज्ञानको शुरू हो। तर मूर्खले बुद्धि र अनुशासनलाई तुच्छ ठान्दछ।” (हितोपदेश १:७) परमेश्वरप्रतिको भय ज्ञानको सुरु हो। ज्ञानबिना कुनै बुद्धि वा अनुशासन हुनसक्दैन। अतः यहोवाप्रतिको भय बुद्धि र अनुशासनको सुरुआत हो।—हितोपदेश ९:१०; १५:३३.
परमेश्वरप्रतिको भय उहाँसित थरथर काँप्ने भय होइन। त्यसको साटो यो गहिरो श्रद्धा तथा भय हो। यस्तो भयबिना साँचो ज्ञान प्राप्त गर्न सकिंदैन। जीवनको स्रोत यहोवा परमेश्वर हुनुहुन्छ र ज्ञान हासिल गर्न जीवन नभई हुँदैन। (भजन ३६:९; प्रेरित १७:२५, २८) यसबाहेक परमेश्वरले सबै कुरा सृष्टि गर्नुभयो, त्यसैले सम्पूर्ण मानव ज्ञान उहाँका सृजनशील कुराहरू अध्ययन गर्नुमा आधारित छ। (भजन १९:१, २; प्रकाश ४:११) परमेश्वरको वचन ईश्वर प्रेरित हुनाले “सिकाउनलाई, अर्ती दिनालाई, सच्याउनालाई, उचित जीवन यापन गर्नालाई उपयोगी हुन्छ।” (२ तिमोथी ३:१६, १७) तसर्थ सबै साँचो ज्ञानको केन्द्रबिन्दु यहोवा हुनुहुन्छ र यसको खोजी गर्ने व्यक्तिले उहाँको श्रद्धेय भय राख्नुपर्छ।
परमेश्वरको भय नै छैन भने मानव ज्ञान र सांसारिक बुद्धिको के काम? प्रेरित पावलले यसो लेखे: “ज्ञानी खोइ त? शास्त्री कहाँ? यस युगको बहस गर्ने कहाँ? के परमेश्वरले यस संसारको ज्ञानलाई मूर्ख तुल्याउनुभएन?” (१ कोरिन्थी १:२०) ईश्वरीय भय नराख्ने तर ज्ञानी कहलिएको मानिसले आफूले जानेका कुराहरूबाट गलत निष्कर्ष निकाल्छ र आफैलाई ‘मूर्ख’ बनाइरहेको हुन्छ।
“गलामा सम्मानको हार”
बुद्धिमान् राजाले अब युवाहरूलाई सम्बोधन गर्दै यसो भन्छन्: “हे मेरो छोरो, आफ्ना बाबुको शिक्षा ध्यानसित सुन् र आफ्नी आमाको अर्ती इन्कार नगर्। किनभने ती तेरो शिरमा शोभाको मुकुट र तेरो गलामा सम्मानको हार हुन्।”—हितोपदेश १:८, ९.
पुरातन इस्राएलमा आमाबाबुले आफ्ना छोराछोरीलाई सिकाउने जिम्मेवारी परमेश्वरबाट पाएका थिए। मोशाले बुबाहरूलाई यस्तो सल्लाह दिए: “मैले तिमीहरूलाई सुनाएको आज्ञा आफ्नो मनमा राख। ती तिमीहरूले आफ्ना छोरा-छोरीहरूलाई होशियारीसाथ सिकाओ। औ घरमा बस्ता, बाटोमा हिंड़दा, ढल्केर बस्ता र उठदा तिनको चर्चा गर।” (व्यवस्था ६:६, ७) आमाहरूले पनि आफ्ना बच्चाहरूको जीवनमा निकै प्रभाव पारिरहेका हुन्छन्। आफ्नो पतिको अधीनमा बस्दै हिब्रू पत्नीले आफ्नो परिवारमा नियम लागू गर्नसक्थिन्।
वास्तवमा सम्पूर्ण बाइबलमै शिक्षा दिने मुख्य आधार परिवार हो। (एफिसी ६:१-३) छोराछोरीले यहोवाको उपासना गर्ने आमाबाबुको आज्ञा पालन गर्नु भनेको लाक्षणिक रूपमा शोभाको मुकुट र गलामा सम्मानको हार लगाउनु हो।
“तिनीहरूको प्राण नाश हुन्छ”
आफ्नो १६ वर्षीय छोरालाई उच्च शिक्षाको निम्ति संयुक्त राज्यमा पठाउनुअघि एक एसियाली बुबाले तिनलाई खराब मानिसहरूसित संगत नगर्ने सल्लाह दिए। उक्त सल्लाह सुलेमानको यो चेताउनीसित मिल्दो छ: “हे मेरो छोरो, यदि पापीहरूले तँलाई बहकाउन खोजे भने, तिनीहरूको बहकाउमा नलाग्।” (हितोपदेश १:१० नयाँ संशोधित संस्करण) तथापि, सुलेमानले उक्त लोभ के हो तोकेरै भनेका छन्: “तिनीहरू भन्लान्, ‘आऊ हामीसँग, कसैको रक्तपात गर्न ढुकिबसौं, कुनै निर्दोषलाई लुट्न ढुकिबसौं, चिहानले निलेझैं, र गहिरो भड्खालोमा परी त्यसको पींधमा पुग्नेहरूलाई झैं, हामी तिनीहरूलाई पूरै जिउँदै निलौं। हामी सबै किसिमका बहुमूल्य थोकहरू लिनेछौं, र लूटका मालसामानले हाम्रा घर भर्नेछौं, तिमी हामीसँगै साझेदार होऊ, हामी लूटको थैलोबाट बाँड्नेछौं।’ ”—हितोपदेश १:११-१४, नयाँ संशोधित संस्करण।
त्यो प्रलोभन स्पष्टतः धन हो। रातारात धनी हुन “पापीहरूले” अरूलाई पनि तिनीहरूको अपराधिक वा चोरी काममा संलग्न हुन प्रलोभित गर्छन्। आर्थिक लाभको निम्ति तिनीहरू रक्तपात गर्नसमेत पछि पर्दैनन्। ‘तिनीहरू आफ्नो सिकारलाई चिहानले निलेझैं’ अर्थात् लास गाड्दा पूरा शरीर गाडेजस्तै आफ्नो सिकारको सबै सामान स्वाहा गर्छन्। तिनीहरूले अपराधिक गतिविधिलाई नै आफ्नो पेसा बनाउन लोभ्याउँछन्। तिनीहरू ‘आफ्नो घर लूटका मालसामानले भर्न चाहन्छन्’ र तिनीहरू कम अनुभवीहरूलाई ‘साझेदार’ बनाउन चाहन्छन्। हाम्रोलागि कस्तो सामयिक चेताउनी! के युवाहरूको गिरोह र लागू पदार्थका व्यापारीहरूले त्यस्तै तरिका अपनाउँदैनन् र? के रातारात धनी हुने भनेको शंकास्पद खालका व्यापारहरू गर्ने लोभ देखाएर होइन र?
बुद्धिमान् राजा यस्तो सल्लाह दिन्छन्, “हे मेरो छोरो, तिनीहरूसँग नजा, तिनीहरूका चालमा हिंड़दै नहिंड्। अपराध गर्न तिनीहरू चाँड़ो चाँड़ो दगुर्छन्, हत्या गर्न तिनीहरू आतुरी गर्छन्।” तिनीहरूको विपत्तिजनक अन्तबारे भविष्यवाणी गर्दै अझ यसो भन्छन्: “पक्षीले देख्ने गरी जाल फिजाउनु व्यर्थ छ। यी मानिसहरू आफ्नै रगतको निम्ति ढुकिबस्छन्, औ आफ्नै बाहेक अरू कसैको बाटो ढुक्दैनन्। बेइमानीसित कमाउन इच्छा गर्ने मानिसहरूको अन्त यस्तै हुन्छ। लोभकै कारण तिनीहरूको प्राण नाश हुन्छ।”—हितोपदेश १:१५-१९.
“बेइमानीसित कमाउन इच्छा” गर्नेहरू आफ्नै कारण नाश हुन्छन्। तिनीहरूले अरूको निम्ति फिजाउने पासो पछि आफ्नै निम्ति पासो हुन जान्छ। के जानाजान दुष्ट्याइँ गर्नेहरूले आफ्नो मार्ग परिवर्तन गर्छन्? अहँ, गर्दैनन्। “पक्षीले” जाल फिजाइरहेको देख्दा देख्दै पनि त्यहीं जान्छ। त्यस्तै गरी दुष्टहरू लोभको कारण अन्धा भएर अपराधिक गतिविधिमा लागिरहन्छन् र चाँडो या ढिलो तिनीहरू पक्राउमा पर्नेछन्।
बुद्धिले भरिएका कुराहरू कसले सुन्नेछ?
के पापीहरूलाई आफ्नो मार्ग विपत्तिजनक छ भनी होस हुन्छ? तिनीहरूको मार्गको नतिजा कस्तो हुन्छ भनी के तिनीहरूलाई चेताउनी दिइएको छ? थाह छैन भन्ने बहाना दिन पाइँदैनन् किनभने सबैले सुन्ने ठाउँहरूमा सुस्पष्ट सन्देशहरू सुनाइएको छ।
सुलेमान यस्तो घोषणा गर्छन्: “बुद्धि खुला सड़कहरू तिर कराउँछ, त्यसले चोकहरूतिर आफ्नो सोर उचाल्छ। त्यसले शोर-गुल भएको गल्ली हुँदो प्रचार गर्छ, त्यसले शहरका मूल-ढोकाहरूमा यसो भन्दै घोषणा गर्छ।” (हितोपदेश १:२०, २१) सबैले सुन्नेगरि बुद्धि सार्वजनिक ठाउँहरूमा ठूलो र स्पष्ट सोरमा कराइरहेको छ। पुरातन इस्राएलमा बूढा प्रधानहरूले बुद्धिमान् सल्लाहहरू दिनुका साथै शहरका ढोकाहरूमा न्यायिक निर्णयहरू सुनाउने गर्थे। हाम्रोलागि यहोवाले साँचो बुद्धि उहाँको वचन बाइबलमा लिपिबद्ध गरिदिनुभएको छ जुन व्यापक रूपमा उपलब्ध छ। अनि आज उहाँका सेवकहरू सबैतिर सार्वजनिक रूपमा सन्देश घोषणा गर्न व्यस्त छन्। परमेश्वरले साँच्चै सबैको निम्ति बुद्धि देखाइ दिनुभएको छ।
साँचो बुद्धिले के भन्छ? यसो भन्छ: “ ‘हे मूर्ख हो, तिमीहरू कहिलेसम्म आफ्नो मूर्खतामा सन्तुष्ट भइरहन्छौ? ढीट मानिसहरू आफ्नो ढिट्याइँमा आनन्द गर्छन्, . . . तर मैले बोलाउँदा तिमीहरूले इन्कार गरेको हुनाले औ मैले मेरो हात फैलाउँदा कसैले ध्यान नदिएको हुनाले।” मूर्खहरूले बुद्धिमान्को कुरा सुन्दै सुन्दैनन्। फलतः “तिनीहरूले आफ्नो व्यवहारको फल भोग्नेछन्।” आफैले ‘ध्यान नदिएकोले र निद्धिहरू चाहिं आफ्नै निश्चिन्तताले गर्दा नाश हुन्छन्।’—हितोपदेश १:२२-३२.
तर बुद्धिको स्वर सुन्न समय निकालेकाहरूलाई चाहिं के हुन्छ? “तिनीहरू बेफिक्री रहनेछन्। दुर्दिनमा डरैविना तिनीहरू ढुक्क रहनेछन्।” (हितोपदेश १:३३) बाइबलीय हितोपदेशहरूमा ध्यान दिएर बुद्धि प्राप्त गर्दै अनुशासन स्वीकार्नेहरूमध्ये तपाईं पनि होस्।
[पृष्ठ १५-मा भएको चित्र]
साँचो बुद्धि चारैतिर जताततै उपलब्ध छ