के तपाईंलाई सम्झना छ?
के तपाईंले हालैका प्रहरीधरहरा-का अंकहरूलाई गहिरिएर ध्यान दिनुभयो? त्यसो हो भने निम्न बुँदाहरू पुनः स्मरण गर्न तपाईंलाई रोचक लाग्नेछ:
▫ आफ्ना जनहरूलाई अगुवाइ गर्न परमेश्वरले छनौट गर्नुभएको व्यक्तिविशेषहरूमा हामीले किन भरोसा गर्नसक्छौं?
यहोवाले उहाँको इच्छाअनुसार आफ्ना जनहरूलाई डोऱ्याउनसक्ने विशेष योग्यता भएका व्यक्तिहरूलाई केही जिम्मेवारीहरू वहन गर्नको निम्ति छान्नुहुन्छ।—८/१५, पृष्ठ १४.
▫ योनाको अनुभवबाट हामी के सिक्नसक्छौं? योनाले आफ्नै विषयमा बढी अनि अरूको विषयमा चाहिं कम सोचे। हामीले आफू र आफ्ना भावनाहरूलाई सर्वोपरि महत्त्व नदिएर योनाबाट पाठ सिक्नसक्छौं।—८/१५, पृष्ठ १९.
▫ “परमप्रभुको नाउँ एक बलियो धरहराजस्तै” हो भनेर कसरी भन्न सकिन्छ? (हितोपदेश १८:१०) परमेश्वरको नाउँमा शरण लिनु भन्नाले यहोवामा भरोसा गर्नु भन्ने बुझिन्छ। (भजन २०:१; १२२:४) यसको अर्थ, उहाँको सार्वभौमिकता, व्यवस्था तथा सिद्धान्तहरूको समर्थन गर्नु र उहाँका प्रतिज्ञाहरूमा विश्वास गर्नु हो। (यशैया ५०:१०; हिब्रू ११:६)—९/१, पृष्ठ १०.
▫ उच्चपदस्थहरूलाई प्रचार गर्ने पावलको तरिकाबाट हामी के सिक्नसक्छौं? पावलले राजा अग्रिपासित कुरा गर्दा बुद्धि चलाए। तिनले आफू र अग्रिपाको मन मिल्ने बुँदाहरूमाथि जोड दिए। त्यस्तैगरि हामी सबैले राख्ने आशामा जोड दिंदै सुसमाचारका सकारात्मक पक्षहरूमाथि जोड दिनुपर्छ। (१ कोरिन्थी ९:२२)—९/१, पृष्ठ ३१.
▫ यहोवाको धीरजबाट कसले फाइदा उठाउँछ?
यहोवाको धीरजको कारण, करोडौं मानिसहरूले अचानक “चोर जस्तैगरी आउने” “परमेश्वरको त्यस दिन[मा]” बचाइने मौका पाएका छन्। (२ पत्रुस ३:९-१५) उहाँको धीरजले हामी प्रत्येकलाई “डर र कम्पसाथ आफ्नो मुक्तिको काम पूरा गर्दै” जाने मौका पनि दिएको छ। (फिलिप्पी २:१२)—९/१५, पृष्ठ २०.
▫ बाइबलको सेप्टुआजिन्ट अनुवाद कत्तिको मूल्यवान् छ?
यहोवा परमेश्वर र राजाको रूपमा येशू ख्रीष्ट नियुक्त हुनुभएको उहाँको राज्यको ज्ञान फैलाउन यस अनुवादले निकै महत्त्वपूर्ण भूमिका निर्वाह गऱ्यो। सेप्टुआजिन्ट मार्फत प्रथम शताब्दीका युनानी बोल्ने यहूदीहरू तथा अन्यजातिहरूलाई परमेश्वरको राज्यको सुसमाचार स्वीकार्न महत्त्वपूर्ण जग बसाल्यो।—९/१५, पृष्ठ ३०.
▫ उडन्ता पुत्रको उखानले तपाईंलाई परमेश्वरबारे के सिकाउँछ?
पहिलो त, यहोवा परमेश्वर “टिठाउनमा भरिपूर्ण र दयालु परमेश्वर, रीस गर्नमा ढीलो, र कृपा र सत्यतामा प्रशस्त हुनुहुन्छ।” (प्रस्थान ३४:६) दोस्रो, दया देखाउने आधार पाएपछि उहाँ “क्षमा गर्न” तयार हुनुहुन्छ। (भजन ८६:५)—१०/१, पृष्ठ १२, १३.
▫ यशैया ६५:२१-२५ मा प्रतिज्ञा गरिएको शान्तिको आनन्द कहिले पूरा हुनेछ?
एकताबद्ध भई यहोवाको उपासना गरिरहेका अभिषिक्त जनहरू तथा “अरू भेड़ा[ले]” अहिले परमेश्वरले दिनुभएको शान्तिको आनन्द उठाइरहेका छन्। (यूहन्ना १०:१६) ‘जब परमेश्वरको इच्छा स्वर्गमा झैं यस पृथ्वीमा पनि पूरा हुनेछ’ तब यस्तो शान्ति भौतिक प्रमोदवनमा पनि फैलिनेछ। त्यतिबेला अगमवक्ता यशैयाका शब्दहरू पूरा हुनेछन्। (मत्ती ६:१०)—१०/१५, पृष्ठ २४.
▫ मसीहीहरू विवाहको वार्षिकोत्सव चाहिं मनाउँछन् तर जन्मदिन किन मनाउँदैनन्?
बाइबलले विवाहलाई गलत ठान्दैन। लोग्नेस्वास्नीले आफ्नो विवाहको वार्षिकोत्सव मनाएर त्यस मौकाको आनन्द उठाउनु अनि भविष्यमा अझ सफल दम्पतीको रूपमा बाँच्ने निर्णय गर्नु अनौठो कुरा होइन।—१०/१५, पृष्ठ ३०, ३१.
▫ पहिलो कोरिन्थी ३:१२, १३ मा लिपिबद्ध पावलको दृष्टान्तमा ‘आगोले’ कुन कुरा चित्रित गर्छ र सबै मसीहीहरू कुन कुराप्रति सजग हुनुपर्छ?
हामी सबैले एकै प्रकारको आगोको सामना गर्नुपर्छ। त्यो हो, हाम्रो विश्वासको जाँच। (यूहन्ना १५:२०; याकूब १:२, ३) जस-जसलाई सत्य सिकाउँछौ, तिनीहरूको जाँच हुनेछ। पावलले चेताउनी दिएझैं हामीले लापरवाहीसँग सिकायौं भने नतिजा खराब हुनसक्छ। (१ कोरिन्थी ३:१५)—११/१, पृष्ठ ११.
▫ कसरी ‘नूह साँचो परमेश्वरको साथै’ हिंडे? (उत्पत्ति ६:९)
परमेश्वरले अह्राएबमोजिम गरे र यसै अर्थमा नूह परमेश्वरसित हिंडे। नूहले यहोवाको इच्छा गर्न आफ्नो जीवन समर्पण गरेको हुँदा तिनको सर्वशक्तिमान् परमेश्वरसित न्यानो, घनिष्ठ सम्बन्ध थियो।—११/१५, पृष्ठ १०.
▫ परमेश्वरले शैतानको रीतिरिवाजलाई कहिले नाश गर्नुहुन्छ भनी थाह नभएकोले हामी कुन कुरा प्रमाणित गर्ने मौका पाउँछौं?
हामी साँच्चै यहोवालाई प्रेम गर्छौं र उहाँको मार्गमा सधैंभरि हिंड्न चाहन्छौं भनेर प्रमाणित गर्ने मौका पाउँछौं। यसले हामी परमेश्वरप्रति वफादार छौं र उहाँले कामकुरा गर्नुहुने तरिकामा भरोसा राख्छौं भनेर देखाउँछ। यसबाहेक, त्यो दिन र घडी थाह नभएकोले हामीलाई सतर्क तथा आध्यात्मिक तवरमा जागा हुन मदत गर्छ। (मत्ती २४:४२-४४)—११/१५, पृष्ठ १८.
▫ “परमेश्वरको पुत्रको नाउँमा” विश्वास राख्नु भन्नुको अर्थ के हो? (१ यूहन्ना ५:१३)
“आपसमा प्रेम गर्नु” भन्ने आज्ञालगायत ख्रीष्टको सबै आज्ञा पालन गर्ने समावेश छ। (यूहन्ना १५:१४, १७) प्रेमले अरूको भलाइ गर्न खोज्छ। यसले कुनै पनि प्रकारको जातीय, धार्मिक तथा सामाजिक पूर्वाग्रह राख्दैन।—१२/१, पृष्ठ ७.
▫ यहोवाका साक्षीहरू किन “घृणित” हुन्छन्? (मत्ती १०:२२)
प्रारम्भिक मसीहीहरू जुन कारणका लागि सताइएका थिए यहोवाका साक्षीहरू पनि त्यही कारणको लागि सताइएका छन्। सर्वप्रथम, यहोवाका साक्षीहरू आफ्नो धार्मिक विश्वासलाई व्यवहारमा उतार्छन् जसले गर्दा कसै कसैको माझमा अलोकप्रिय हुन्छन्। दोस्रो, यहोवाका साक्षीहरू झूटा आरोपहरूको तारो बनेका छन्—तिनीहरूको विश्वासबारे सरासर झूट र बांगाटिंगा कुराहरू फैलाइएका छन्।—१२/१, पृष्ठ १४.