सिकाउँदा अन्तरदृष्टि प्रकट गर्नुहोस् र मनाउनुहोस्
“ज्ञानी मानिसको बोलीले अन्तरदृष्टि प्रकट गर्छ र त्यसको ओंठले मनाउँछ।”—हितोपदेश १६:२३, NW.
१. परमेश्वरको वचन सिकाउनु भनेको किन जानकारी बाँड्नु मात्र होइन?
परमेश्वरको वचनको शिक्षकको हैसियतमा हाम्रो लक्ष्य, विद्यार्थीको मनमा मात्र होइन तर तिनीहरूको हृदयसम्म पुग्नु हो। (एफिसी १:१८) त्यसकारण सिकाउनु भनेको जानकारी बाँड्नु मात्र होइन। हितोपदेश १६:२३ यसो भन्छ: “ज्ञानी मानिसको बोलीले अन्तरदृष्टि प्रकट गर्छ र त्यसको ओंठले मनाउँछ।”
२. (क) मनाउनुको अर्थ के हो? (ख) सबै मसीहीहरू अरूलाई मनाउनसक्ने शिक्षकहरू कसरी हुनसक्छन्?
२ प्रेरित पावलले सिकाउने कार्यमा यो सिद्धान्त लागू गरे। कोरिन्थमा छँदा “हरेक विश्रामको दिनमा तिनी सभाघरमा बहस गर्थे, औ यहूदीहरू र ग्रीकहरूलाई मनाउन प्रयत्न गर्थे।” (प्रेरित १८:४) एउटा स्रोतअनुसार यहाँ “मनाउन” भनी अनुवाद गरिएको हिब्रू शब्दले “तर्क वा सही गलत छुट्याउन मदत गरेर मनमा परिवर्तन ल्याउनु” भन्ने अर्थ बुझाउँछ। पत्यारिला तर्कहरू प्रस्तुत गरेर पावलले मानिसहरूको सोचाइमा परिवर्तन ल्याउन उत्प्रेरित गर्नसके। अरूलाई मनाउनसक्ने पावलको क्षमता देखेर तिनका शत्रुहरूले खतरा महसुस गर्थे। (प्रेरित १९:२४-२७) तैपनि, पावलको शिक्षा मानव क्षमताको प्रदर्शन थिएन। तिनले कोरिन्थीहरूलाई यसो भने: “मेरो उपदेश र सन्देश घतलाग्दो र बुद्धिपूर्ण शब्दमा थिएन, तर पवित्र आत्माको र शक्तिको प्रदर्शनमा थियो, ताकि तिमीहरूको विश्वास मानिसको बुद्धिमा होइन, तर परमेश्वरको शक्तिमा आधारित होस्।” (१ कोरिन्थी २:४, ५, नयाँ संशोधित संस्करण) सबै मसीहीहरूसित यहोवा परमेश्वरको आत्माको मदत भएकोले सबै जना अरूलाई मनाउनसक्ने शिक्षकहरू हुनसक्छन्। तर कसरी? आउनुहोस्, केही प्रभावकारी शिक्षण तरिकाहरू हेरौं।
ध्यान दिएर सुन्नुहोस्
३. अरूलाई सिकाउन किन अन्तरदृष्टि चाहिन्छ र हामी कसरी बाइबल विद्यार्थीको हृदयसम्म पुग्नसक्छौं?
३ पहिलो तरिकामा बोल्नु होइन, सुन्नु खाँचो छ। हितोपदेश १६:२३ मा उल्लेख गरिएअनुसार अरूलाई मनाउन हामीसित अन्तरदृष्टि हुनुपर्छ। येशूलाई आफूले सिकाएका मानिसहरूसम्बन्धी ज्ञान थियो। यूहन्ना २:२५ यसो भन्छ: “उहाँ आफै जान्नुहुन्थ्यो।” हामीले सिकाउने मानिसहरूको हृदयमा के छ भनेर हामी कसरी थाह पाउनसक्छौं? एउटा तरिका हो, ध्यान दिएर सुन्ने। याकूब १:१९ यसो भन्छ: “हरेक मानिस सुन्नालाई छिट्टो, बोल्नालाई ढीलो” हुनुपर्छ। हो, सबै मानिसले आफ्नो विचार व्यक्त गरिहाल्दैनन्। हामीले साँचो चासो लिन्छौं भनेर बाइबल विद्यार्थीहरू विश्वस्त भएपछि तिनीहरूलाई आफ्नो मनमा लागेको कुरा पोख्न सजिलो होला। दयालु तर दृष्टिकोण बुझ्ने प्रश्नहरू सोध्दा तिनीहरूको हृदयसम्म पुगेर त्यस्ता अभिव्यक्तिहरू ‘तानेर निकाल्न’ सजिलो हुनेछ।—हितोपदेश २०:५.
४. मसीही प्राचीनहरूले किन ध्यान दिएर सुन्नुपर्छ?
४ विशेषगरि मसीही प्राचीनहरूले ध्यान दिएर सुन्नु महत्त्वपूर्ण छ। तब मात्र तिनीहरूले ‘हरेकलाई कसरी जवाफ दिनुपर्छ, सो जान्न’ सक्नेछन्। (कलस्सी ४:६) हितोपदेश १८:१३ यस्तो चेताउनी दिन्छ: “राम्ररी सुन्न अघिनै प्रश्नको जवाफ दिनु मूर्खता र अशिष्टता हो।” एउटी बहिनी दुई चारवटा सभाहरूमा अनुपस्थित भएकोले दुई जना भाइहरूले सांसारिक हुनुको अर्थ के हो भन्ने विषयमा सल्लाह दिए र तिनीहरूको मनसाय राम्रै थियो। ती भाइहरूले बहिनीलाई सभामा नआउनुको कारण के हो भनेर नसोधेकोले उनको असाध्यै चित्त दुख्यो। कुरा के थियो भने, उनको भर्खरै मात्र शल्यक्रिया भएकोले घरमा आराम लिइरहेकी थिइन्। त्यसकारण, सल्लाह दिनुअघि कुरा सुन्नु कत्तिको महत्त्वपूर्ण रहेछ त!
५. भाइहरूबीच उत्पन्न भएको विवादलाई प्राचीनहरूले कसरी समाधान गर्नसक्छन्?
५ प्राचीनहरूले सिकाउँदा प्रायजसो अरूलाई सल्लाह दिनुपर्ने हुन्छ। यस सन्दर्भमा पनि ध्यान दिएर सुन्नु महत्त्वपूर्ण छ। सँगी मसीहीहरूबीच विवाद खडा हुँदा विशेषगरि सुन्नु आवश्यक छ। कुरा सुनिसकेपछि मात्र प्राचीनहरूले “पनपक्षे नगरी मानिसको कामअनुसार इन्साफ गर्ने . . . पिता[को]” अनुसरण गर्नसक्छन्। (१ पत्रुस १:१७) त्यस्ता अवस्थाहरूमा भावनाहरू प्रबल हुने भएको हुँदा प्राचीनले हितोपदेश १८:१७ को (नयाँ संशोधित संस्करण) यो सल्लाह मनमा राख्नु बेस हो: “दोस्रो व्यक्ति अघि सरेर प्रश्नहरू नगरुञ्जेल, मुद्दा हाल्ने पहिलो व्यक्ति नै ठीक देखा पर्छ।” प्रभावशाली शिक्षकले दुवै पक्षको कुरा सुन्छ। प्रार्थना गरेर तिनले शान्त वातावरण कायम गर्न खोज्छन्। (याकूब ३:१८) दुई पक्षबीच चर्काचर्की हुन थाल्यो भने भनाभन हुन दिनुको साटो प्राचीनले दुवैसित अलग अलग भेट्ने सुझाउ दिनसक्छन्। उपयुक्त प्रश्नहरू सोधेर प्राचीनले छलफल भइरहेको विषयलाई स्पष्ट पार्नसक्छन्। प्रायजसो अवस्थामा विवाद हुनुको कारण रीस ईबी नभई खुलस्त कुराकानी नभएकोले हुन्छ। तर दुवै पक्षको कुरा सुनिसकेपछि, बाइबल सिद्धान्तहरू उल्लंघन गरिएको थाह लाग्यो भने मायालु शिक्षकले अन्तरदृष्टि चलाएर सिकाउनसक्छन्।
सरलताको महत्त्व
६. सरल ढंगमा प्रचार गर्ने सन्दर्भमा पावल र येशूले कसरी उदाहरण बसाल्नुभयो?
६ अर्को महत्त्वपूर्ण शिक्षण कला, कामकुरा सरल राख्नु हो। हो, हामी आफ्ना बाइबल विद्यार्थीहरू “सबै पवित्र जनहरूसँग” सत्यको “चौड़ाइ, लमाइ, उँचाइ र गहराइ के रहेछ सो . . . बुझ्नालाई बलिया” भएको चाहन्छौं। (एफिसी ३:१८) बाइबल सिद्धान्तका कुनै कुनै पक्षहरू रोमाञ्चकारी हुनुका साथै चुनौतीपूर्ण हुन्छन्। (रोमी ११:३३) तैपनि, पावलले ग्रीकहरूलाई प्रचार गर्दा ‘ख्रीष्टलाई क्रूसमा टाँगेको’ सरल सन्देशमा ध्यानकेन्द्रित गरे। (१ कोरिन्थी २:१, २) येशूले पनि त्यसरी नै सरल, स्पष्ट ढंगमा प्रचार गर्नुभयो। उहाँले डाँडामा दिनुभएको उपदेशमा सरल शब्दहरू चलाउनुभयो। यद्यपि, यसमा एकदमै गहन सत्यहरूको भण्डार छ।—मत्ती, अध्याय ५-७.
७. बाइबल अध्ययन सञ्चालन गर्दा विषयवस्तुलाई कसरी सरल राख्नसक्छौं?
७ त्यसरी नै हामीले सरल ढंगमा बाइबल अध्ययनहरू गर्नसक्छौं। कसरी? “जे उत्तम छ” त्यसमा केन्द्रित गरेर। (फिलिप्पी १:१०, नयाँ संशोधित संस्करण) गहन विषयहरू छलफल गर्दा हामीले सरल भाषामा बुझाउने प्रयास गर्नुपर्छ। हामीले अध्ययन गरिरहेको प्रकाशनमा उद्धरण गरिएका हरेक बाइबल पद पढेर छलफल गर्नुको साटो मुख्य पदहरूमा ध्यानकेन्द्रित गर्नुपर्छ। हामीले राम्ररी तयार गरेका छौं भने मात्र यसो गर्नसक्छौं। हामी कम महत्त्वपूर्ण कुराहरूमा अलमलिएर विद्यार्थीलाई तीनथुप्रो कुराहरू थोपर्नु हुँदैन। विद्यार्थीले छलफल भइरहेको विषयसित प्रत्यक्षतः सम्बन्धित नभएको प्रश्न सोधेमा यो पाठ सिद्धिएपछि छलफल गरे कसो होला भनेर शिष्ट ढंगमा भन्नसक्छौं।
प्रश्नहरूको प्रभावशाली प्रयोग
८. येशूले प्रश्नहरू कसरी प्रभावशाली ढंगमा प्रयोग गर्नुभयो?
८ अर्को मदतकारी शिक्षण तरिका हो, प्रभावशाली प्रश्नहरू। येशू ख्रीष्टले सिकाउन प्रश्नहरूको व्यापक प्रयोग गर्नुभयो। उदाहरणका लागि, येशूले पत्रुसलाई सोध्नुभयो: “ ‘ए शिमोन, तिमी के विचार गर्छौ? पृथ्वीका राजाहरूले महसूल वा कर कोसँगबाट उठाउँछन्? आफ्ना छोराहरूबाट कि पराईबाट?’ औ जब तिनले पराईबाट भने, तब येशूले तिनलाई भन्नुभयो, ‘उसो भए छोरा-छोरीहरूले ता माफी पाएका रहेछन्।’ ” (मत्ती १७:२४-२६) मन्दिरमा जसको उपासना गरिन्छ, उहाँको एक मात्र पुत्र, येशूले वास्तवमा मन्दिरको कर तिर्नु खाँचो थिएन। तर येशूले प्रश्नको प्रयोगद्वारा यो सत्य सिकाउनुभयो। पत्रुसलाई जानकारी भएको कुराबाट सही निष्कर्षमा पुग्न येशूले पत्रुसलाई मदत गर्नुभयो।
९. हामीले बाइबल अध्ययन गर्दा कसरी प्रश्नहरूको प्रयोग गर्नसक्छौं?
९ बाइबल अध्ययन गर्दा हामीले प्रश्नहरू प्रभावशाली ढंगमा चलाउनसक्छौं। विद्यार्थीले गलत जवाफ दिंदा, त्यो सच्चाइ हाल्न सकसक लाग्ला तर के तिनले पछिसम्म सम्झनेछन्? प्रायजसो प्रश्नहरू सोधेर विद्यार्थीलाई नै सही निष्कर्षमा पुग्न मदत दिनु बेस हो। उदाहरणका लागि, ईश्वरीय नाउँ प्रयोग गर्नुपर्ने कुरा बुझ्न गाह्रो भइरहेको छ भने हामी सोध्नसक्छौं, ‘के तपाईंलाई आफ्नो नाउँ महत्त्वपूर्ण लाग्छ? . . . किन? . . . कसैले तपाईंको नाउँ प्रयोग गर्न मानेन भने तपाईंलाई कस्तो लाग्छ? . . . त्यसकारण हामीले पनि परमेश्वरको व्यक्तिगत नाउँ प्रयोग गर्नु के ठीक होइन र?’
१०. भावनात्मक आघात भोगेकाहरूलाई मदत गर्न प्राचीनहरूले कसरी प्रश्नहरू प्रयोग गर्नसक्छन्?
१० प्राचीनहरूले बगालको गोठालो गर्दा पनि प्रश्नहरू राम्ररी प्रयोग गर्नसक्छन्। मण्डलीका थुप्रैले शैतानको संसारबाट भावनात्मक चोट खाएका कसै कसैले आफूलाई कसैले माया गर्दैन र अशुद्धजस्तो महसुस गर्लान्। त्यस्तो व्यक्तिसित प्राचीनले यस्तो तर्क गर्नसक्छन्: ‘तपाईंलाई आफू यहोवाको सेवा गर्न अयोग्य छु जस्तो लाग्ला तर यहोवाले तपाईंलाई कुन दृष्टिकोणले हेर्नुहुन्छ? स्वर्गमा हुनुहुने हाम्रो मायालु पिताले आफ्नो पुत्र तपाईंको लागि मर्न र छुडौतीको प्रबन्ध गर्नुभयो भने तपाईं नै भन्नुस्, परमेश्वरले तपाईंलाई माया गर्नुहुन्छ या हुन्न?’—यूहन्ना ३:१६.
११. विद्यार्थीलाई सोच्न बाध्य तुल्याउने प्रश्नहरू जन भाषणमा कसरी प्रयोग गर्न सकिन्छ?
११ विद्यार्थीलाई सोच्न लगाउने प्रश्नहरू पनि अर्को मदतकारी शिक्षण तरिका हो। यस्ता प्रश्नहरूको ठूलो स्वरले जवाफ दिएको आशा गरिंदैन तर त्यसले सोच्न लगाउँछ। पुरातन समयका अगमवक्ताहरूले प्रायजसो त्यस्ता प्रश्नहरू सोध्थे र श्रोताहरू गहिरो सोचमा डुब्थे। (यर्मिया १८:१४, १५) येशूले पनि त्यस्तै खाले प्रश्नहरू प्रभावकारी ढंगमा प्रयोग गर्नुभयो। (मत्ती ११:७-११) त्यस्ता प्रश्नहरू विशेषगरि जन भाषण दिंदा प्रभावशाली हुन्छ। यहोवालाई खुशी तुल्याउन तनमनले सेवा गर्नुपर्छ मात्र भन्नुको साटो श्रोतालाई यो प्रश्न गर्नु प्रभावशाली हुन्छ: ‘हामीले तनमन लगाएर सेवा गरेनौं भने के परमेश्वर खुशी हुनुहोला?’
१२. दृष्टिकोण प्रश्नहरू सोध्नुको महत्त्व के हो?
१२ विद्यार्थीले सिकिरहेका कुराहरू साँच्चै विश्वास गर्छन् कि गर्दैनन् भनी निधो गर्न दृष्टिकोण प्रश्नहरू मदतकारी हुन्छन्। (मत्ती १६:१३-१६) करनी गलत हो भनेर विद्यार्थीले सही जवाफ देला। तर त्यसको साथसाथै यस्तो प्रश्न सोधे कसो होला, नैतिकताबारे परमेश्वरको स्तर तपाईंलाई व्यक्तिगत तवरमा कस्तो लाग्छ? के तपाईंलाई यो एकदमै कडा लाग्छ? परमेश्वरको स्तर पालन गर्नु या नगर्नुले कुनै फरक पार्दैन जस्तो लाग्छ कि?
हृदयसम्म पुग्ने उदाहरणहरू
१३, १४. (क) कुनै कुरालाई उदाहरणले बुझाउनुको अर्थ के हो? (ख) राम्रा उदाहरणहरू किन प्रभावकारी हुन्छन्?
१३ बाइबल विद्यार्थी र श्रोताहरूको हृदयसम्म पुग्ने अर्को तरिका, प्रभावकारी उदाहरणहरूद्वारा हो। “उदाहरण” भनी अनुवाद गरिएको युनानी अभिव्यक्तिको शाब्दिक अर्थ, “थप्नु वा जोड्नु” हो। उदाहरण दिएर बुझाउँदा कुनै कुरा ‘थप्न वा जोड्न’ सकिन्छ। जस्तै, येशूले सोध्नुभयो: “परमेश्वरको राज्यको तुलना कसरी गरौं? औ कुन उखानमा यो राखौं?” त्यसको जवाफमा येशूले सबैलाई थाह भएको रायोका दानाबारे बताउनुभयो।—मर्कूस ४:३०-३२.
१४ परमेश्वरका अगमवक्ताहरूले थुप्रै प्रभावशाली उदाहरणहरू प्रयोग गरे। इस्राएलीहरूलाई दण्ड दिने परमेश्वरको माध्यमको रूपमा प्रयोग भएका अश्शूरीहरूले मनखुशी क्रूरता देखाउन थाल्दा यशैयाले यो उदाहरण दिएर तिनीहरूको घमण्ड उदांग पारे: “के बञ्चरोले त्यसलाई चलाउनेको विरूद्धमा सेखी गर्छ? के आह्रीले त्यसलाई चलाउनेको विरूद्धमा आफ्नो बड़प्पन देखाउँछ?” (यशैया १०:१५) अरूलाई सिकाउँदा येशूले उदाहरणहरूको व्यापक प्रयोग गर्नुभयो। भनिन्छ, “विना उखान उहाँ तिनीहरूसँग बोल्नुभएन।” (मर्कूस ४:३४) राम्रा उदाहरणहरूले मानिसको दिमाग मात्र नभई मन पनि छुने भएकोले प्रभावशाली हुन्छन्। श्रोताहरूलाई थाह भइसकेको विषयसित तुलना गरिने हुँदा बुझ्न सजिलो हुन्छ।
१५, १६. उदाहरणहरूलाई सबैभन्दा प्रभावशाली बनाउने कुरा के हो? खुलाएर भन्नुहोस्।
१५ हामी कसरी हृदयसम्म पुग्ने उदाहरणहरू प्रयोग गर्नसक्छौं? सर्वप्रथम, जुन कुरा बुझाइरहेको हो, त्योसित मिल्ने उदाहरण हुनुपर्छ। नमिल्ने ढंगमा तुलना गर्दा उदाहरणले बुझाउने त होइन झनै अलमल्ल पार्छ। राम्रो मनसाय राखेर एक जना वक्ताले एक चोटि येशू ख्रीष्टप्रति अभिषिक्त शेषजनको अधीनतालाई वफादार कुकुरसित तुलना गरे। तर के त्यस्तो अपमानजनक तुलना ठीक हो? बाइबलले त्यही कुरा एकदमै घतलाग्दो र मर्यादापूर्ण ढंगमा बताउँछ। येशूका १,४४,००० अभिषिक्त अनुयायीहरूलाई “पतिको निम्ति दुलही[सित]” तुलना गरिएको छ।—प्रकाश २१:२.
१६ मानिसको जीवनसित सम्बन्धित उदाहरणहरू सबैभन्दा प्रभावकारी हुन्छन्। नातानले बताएको पाठीको कथाले राजा दाऊदको मन छोयो किनभने जवान छँदा तिनले गोठालो काम गरेका थिए र भेडाबाख्रा मन पराउँथे। (१ शमूएल १६:११-१३; २ शमूएल १२:१-७) त्यतिबेला गोरूको उदाहरण बताइएको भए त्यति प्रभावशाली हुनेथिएन। त्यसरी नै, वैज्ञानिक वा अस्पष्ट ऐतिहासिक घटनामा आधारित उदाहरण हाम्रा श्रोताहरूका लागि त्यत्तिको प्रभावशाली नहुनसक्छ। येशूले मानिसहरूको दैनिक जीवनसित सम्बन्धित विषयहरूको उदाहरण बताउनुहुन्थ्यो। उहाँले बत्ती, आकाशका चराहरू, मैदानका लिली फूलजस्ता सामान्य विषयहरूबारे कुरा गर्नुहुन्थ्यो। (मत्ती ५:१५, १६; ६:२६, २८) येशूको कुरा सुन्नेहरूले यी बुझिहाल्थे।
१७. (क) हामीले प्रयोग गर्ने उदाहरणहरू कस्ता कुरामा आधारित गर्नसक्छौं? (ख) हाम्रा प्रकाशनहरूमा प्रयोग भएका उदाहरणहरूलाई विद्यार्थीको परिस्थितिसित मिलाउन कसरी छाँटकाँट गर्न सकिन्छ?
१७ सेवकाईमा हामीले सरल तर प्रभावशाली उदाहरण प्रयोग गर्ने थुप्रै मौका पाउँछौं। यताउताको कुरामा ध्यान दिएर परिस्थिति बुझ्ने कोसिस गर्नुहोस्। (प्रेरित १७:२२, २३) सायद घरधनीको छोराछोरी, घर, जागिर वा सोखलाई विचार गरेर उदाहरण बताउन सकिन्छ। अथवा बाइबल विद्यार्थीबारे आफूलाई थाह भएको जानकारी चलाएर अध्ययन सामग्रीमा उल्लिखित उदाहरणलाई अझ प्रभावशाली ढंगमा प्रयोग गर्न सकिन्छ। उदाहरणका लागि, ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ पुस्तकको अध्याय ८, अनुच्छेद १४ को उदाहरण लिनुहोस्। एक जना अभिभावकबारे बताइएको छ जसलाई छिमेकीले झूटो आरोप लगाएको छ। हाम्रो बाइबल विद्यार्थी पनि कसैको बुबा या आमा हो भने यो उदाहरण कसरी छाँटकाँट गर्न सकिन्छ, त्यसमा ध्यान दिनुहोस्।
धर्मशास्त्र पढ्न निपुण हुनुहोस्
१८. हामीले किन फरर्र पढ्ने कोसिस गर्नुपर्छ?
१८ पावलले तिमोथीलाई यस्तो आग्रह गरे: “धर्मशास्त्र पढ़ाइ, अर्ती र शिक्षामा ध्यान देऊ।” (१ तिमोथी ४:१३) हाम्रो शिक्षाको आधार बाइबल भएकोले बाइबल सरर्र पढ्नसक्नु बेस हो। लेवीहरूले परमेश्वरका जनहरूलाई मोशाको व्यवस्था पढेर सुनाउने अवसर पाएका थिए। के तिनीहरू अकमकेर वा एकोहोरो स्वरमा पढ्थे? अहँ पढ्दैनथे किनभने नहेम्याह ८:८ मा बाइबल यसो भन्छ: “तिनीहरूले परमेश्वरको व्यवस्थाको पुस्तक राम्ररी पढ़ेर त्यसको अर्थ बुझाइदिए। औ जे पढ़िएको थियो त्यसबाट तिनीहरूलाई शिक्षा दिए।”
१९. धर्मशास्त्र पढ्ने सन्दर्भमा हामी कसरी प्रगति गर्नसक्छौं?
१९ फरर्र बोल्नसक्ने कोही कोही मसीही पुरुषहरू पनि पढ्दा अकमकिन्छन्। तिनीहरूले कसरी प्रगति गर्नसक्छन्? दोऱ्याइ तेऱ्याइ पढेर। हो, फरर्र पढ्नसक्ने नहोऊञ्जेल ठूलो स्वरले दोऱ्याइ तेऱ्याइ पढ्नु पर्छ। तपाईंको भाषामा बाइबलका श्रव्यक्यासेटहरू उपलब्ध छन् भने पढाइको भाव बलाघात र स्वर परिवर्तनलाई ध्यान दिएर अनौठो नाउँ तथा शब्दहरू कसरी उच्चारण गर्ने, त्यसलाई ध्यान दिएर सुन्नु बुद्धिमानी हो। दोऱ्याइ तेऱ्याइ पढेपछि महेर-शालल-हाज-बज जस्तो नाउँ उच्चारण गर्न पनि त्यति गाह्रो पर्दैन।—यशैया ८:१.
२०. हामी कसरी ‘आफ्नो शिक्षाको विषयमा होशियार रहन’ सक्छौं?
२० यहोवाका जनहरूको हैसियतमा शिक्षकको काम गर्न पाउनु एकदमै ठूलो सुअवसर हो! त्यसकारण हामी प्रत्येकले यो जिम्मेवारीलाई गम्भीरतासाथ लेऔं। हामी ‘आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा होशियार रहन’ सकौं। (१ तिमोथी ४:१६) ध्यान दिएर सुन्ने, विषयवस्तु सरल राख्ने, अन्तरदृष्टि बुझ्ने प्रश्नहरू सोध्ने, प्रभावशाली उदाहरणहरू अनि धर्मशास्त्र पढ्न निपुण भएर हामी असल शिक्षकहरू हुनसक्छौं। यहोवाले आफ्नो संगठन मार्फत प्रबन्ध गर्नुभएको प्रशिक्षणबाट हामी सबैले लाभ उठाऔं र यसो गरेर हामी “सिक्नेहरूको बोली” पाउन सक्नेछौं। (यशैया ५०:४) हाम्रो सेवकाईको लागि प्रबन्ध गरिएका पुस्तिका, श्रव्यक्यासेट र भिडियोक्यासेटहरूको पुरापुर सदुपयोग गरेर हामी अन्तरदृष्टि र बुद्धि चलाएर अरूलाई सिकाउन सक्नेछौं।
के तपाईंलाई सम्झना छ?
◻ ध्यान दिएर सुन्दा अरूलाई सिकाउने सन्दर्भमा कसरी मदत पाउँछौं?
◻ सरल ढंगमा सिकाउने सन्दर्भमा हामी कसरी पावल र येशूको अनुसरण गर्नसक्छौं?
◻ अरूलाई सिकाउँदा हामी कस्ता प्रश्नहरू चलाउनसक्छौं?
◻ कस्ता उदाहरणहरू सबैभन्दा प्रभावशाली हुन्छन्?
◻ जन वक्ताको हैसियतमा हाम्रो पढाइ कसरी सुधार्नसक्छौं?
[पृष्ठ १६-मा भएको चित्र]
असल शिक्षकले अन्तरदृष्टि पाउन अरूको कुरा सुन्छ
[पृष्ठ १८-मा भएको चित्र]
येशूले दैनिक जीवनसित सम्बन्धित घटनाहरूको उदाहरण बताउनुभयो