के धनसम्पत्तिले सुखी बनाउनसक्छ?
राजा सुलेमानलाई पैसाको महत्त्व थाह थियो। तिनले यसरी लेखे: “भोजनले आनन्द दिन्छ, औ दाखमद्यले जीवन प्रसन्न तुल्याउँछ, तर यी सबै गराउने रूपियाँ-पैसानै हो।” (उपदेशक १०:१९) साथीभाइसँग बसेर खानपिन गर्नु अति रमाइलो हुन्छ तर भोजन वा दाखमद्य जुटाउन पैसा नभई हुँदैन। सरसामान जुटाउने साधन नै पैसा भएको हुनाले यसले ‘सबै गराउनसक्छ।’
सुलेमान असाध्यै धनाढ्य भए तापनि धनसम्पत्तिको सीमा छ भनेर तिनलाई थाह थियो। भौतिकवादी जीवन व्यतीत गरेर सुखी हुन सकिंदैन भनेर तिनले बुझेका थिए। तिनले यसरी लेखे: “जुन मानिसले रूपियाँ-पैसाको लोभ गर्छ त्यसलाई कहिल्यै प्रशस्त हुँदैन। औ धेरै धन-सम्पत्तिको लोभ गर्ने मानिसले त्यसबाट केही सुख-भोग पाउनेछैन।”—उपदेशक ५:१०.
मानौं, एक जना धनी मानिसले धनमाथि धन थुपाऱ्यो। सुलेमान भन्छन्: “जब धन-सम्पत्ति बढ़छ तब खाने मुख पनि धेरै बढ़छ।” (उपदेशक ५:११) जब मानिसको “धन-सम्पत्ति” बढ्छ तब त्यसको हेरचाह गर्न थुप्रै मानिसहरू चाहिन्छ। सिकर्मी तथा डकर्मी, रेखदेख गर्ने, नोकरचाकर, पाले र अरू व्यक्तिहरू राख्नुपर्ने हुन्छ अनि तिनीहरूलाई तलब दिनु नपर्ने त कुरै आएन। फलतः झन् धेरै पैसा आवश्यक पर्छ।
पैसाको कारण उत्पन्न हुने यस्तो परिस्थितिले मानिसको सुखमा प्रत्यक्ष प्रभाव पार्छ। सा.यु.पू. चौथो शताब्दीका युनानी इतिहासकार जिनोफोनले पछि धनी भएका गरिबले गरेको यस्तो टिप्पणी उल्लेख गरे:
“जति बढी धनसम्पत्ति कमाउन सकें उति सुखसित जीवन बिताउनसक्छु . . . भनेर तपाईं किन सोच्नुहुन्छ?” तिनी अझ यसो भन्छन्, “तपाईंलाई के थाह, म गरिब भएको बेला खाँदा, पिउँदा र सुत्दा जति आनन्दित थिएँ धनसम्पत्ति कमाएर त्योभन्दा बढी आनन्दित रत्तिभर पनि हुनसकेको छैन। प्रशस्त धनसम्पत्ति कमाएर एउटै कुरा मात्र पाएँ। त्यो हो, थप कुराहरूको हेरविचार गर्नु, थुप्रैलाई पैसा दिनु र पहिलेभन्दा बढी कुराहरूको ख्याल राख्नु। थुप्रै नोकरचाकर भोजन-पानी र लत्ताकपडाका लागि मेरै मुख ताक्छन्, कतिलाई भने औषधोपचारको प्रबन्ध मिलाई दिनुपर्छ। अनि कोही चाहिं ब्वाँसाहरूले भेडा लग्यो अथवा गोरु भीरबाट लडेर मऱ्यो वा गाइबस्तुलाई रोगबिमार लाग्यो भन्दै आउँछन्। मलाई लाग्छ . . . थोरै धनसम्पत्ति हुँदाभन्दा अहिले पो मलाई तीन थुप्रो दुःखकष्टले घेरेको छ।”
मानिसहरूले धेरैभन्दा धेरै धनसम्पत्ति कमाउन खोज्नुको अर्को कारण पनि छ। त्यो हो, तिनीहरू येशू ख्रीष्टले भन्नुभएजस्तै “धनसम्पत्तिको मायाले” लट्ठिएका छन्। (मत्ती १३:२२) तिनीहरू ठगिएका छन् किनकि धनसम्पत्तिद्वारा सन्तुष्टि वा आनन्द प्राप्त गर्न निकै कोसिस गरे तापनि तिनीहरूको त्यो सपना सपनै रहन्छ। तिनीहरू थोरै धनसम्पत्तिले गर्न नसक्ने कुरा धेरै धनसम्पत्तिले त चुट्की भरमै गर्नसक्छ भन्ठान्छन्। अतः तिनीहरू जहिले पनि धनसम्पत्ति कमाउने धुनमा हुन्छन्।
रूपियाँ-पैसाको प्रेमले सुख पाइँदैन
आफ्नो धनसम्पत्तिको सुर्ताले गर्दा धनी मानिसले मीठो निद्रा लिनै पाउँदैन। सुलेमानले यसरी लेखे: “थोरै खाओस् कि धेरै खाओस् परिश्रम गर्नेको निद्रा मीठो हुन्छ। तर धनीको धन धेरै भएकोले गर्दा त्यसलाई निद्रै लाग्दैन।”—उपदेशक ५:१२.
धनसम्पत्ति गुमाउनुपर्ला भन्ने डरले हदै पिरोल्न थालेपछि निद्रा नलाग्ने मात्र कहाँ हो र, त्यस दुःखद् परिस्थितिबारे सुलेमान यसरी लेख्छन्: “त्यसले आफ्नो सारा जीवनकाल अन्धकारमै बिताउनुपर्छ त्यसको भाग फिक्री, ज्यादै अप्रसन्नता, रोग र असन्तुष्टता हुनेछ।” (उपदेशक ५:१७) उसले आफ्नो धनसम्पत्तिद्वारा सुख पाउनुको साटो ‘फिक्रीसँग’ खानेछ। उसले भोजनको लागि त्यसै पैसा खर्च भयो भन्ठान्छ। यस्तो विकृत मानसिकताले स्वास्थ्य बिग्रनसक्छ। स्वास्थ्य बिग्रेपछि दुःखकष्टमाथि फिक्री थपिन्छ किनकि अस्वस्थ भएपछि उसले बढी धनसम्पत्ति कमाउनै सक्दैन।
यस कुराले तपाईंलाई प्रेरित पावलले लेखेका कुरा सम्झना गराउनुपर्ने हो। तिनले यसरी लेखे: “धनी हुने इच्छा गर्ने चाहिं, सर्वनाश र विनाशमा डुबेका मानिसझैं परीक्षा र पासो, औ धेरै मूर्ख र हानिकारक अभिलाषाहरूमा फस्तछन्। किनभने रूपियाँ-पैसाको प्रेमनै सबै किसिमका खराबीको जरा हो, जसको पछि लाग्ने कुनै कुनै[लाई] . . . दुःखले तिनीहरूका हृदय छेंड़ेका हुन्छन्।” (१ तिमोथी ६:९, १०) पैसा कमाउन मानिसहरू ठग्छन्, झूट बोल्छन्, चोर्छन्, वेश्यावृत्तिमा लाग्छन् साथै हत्या समेत गर्छन्। धनी हुने इच्छा गर्दा मानिसहरू भावनात्मक, शारीरिक र आध्यात्मिक पीडा भोगिरहेका छन्। त्यसोभए, के सुख प्राप्त गर्ने बाटो धनसम्पत्ति नै हो त? अहँ, पटक्कै होइन!
आफूसँग जे जति छ, त्यसैमा सन्तुष्ट हुने
रूपियाँ-पैसाप्रति सन्तुलित दृष्टिकोणबारे सुलेमान अरू कुरा पनि बताउँछन्। तिनले यस्तो लेखे: “आफ्नी आमाको गर्भबाट जसरी त्यो आएको छ त्यसरीनै त्यो नाङ्गै फर्केर जानुपर्छ। त्यसका सबै मेहनतबाट त्यसले आफूलाई केही लानपाउनेछैन। मैले के देखें भने—परमेश्वरले दिनुभएको यस जीवनको छोटो अवधिमा संसारमा आफ्नो परिश्रमको सट्टा मानिसको निम्ति खानु, पिउनु र आनन्द उपभोग गर्नुनै असल र ठीक रहेछ।”—उपदेशक ५:१५, १८.
उक्त शब्दहरूले अनिश्चित भविष्यको लागि अथाह धनसम्पत्ति थुपार्न दौडधूप गरेर सुख प्राप्त हुँदैन भन्ने देखाउँछन्। आफ्नो कडा मेहनतको फलमा सन्तुष्ट र खुसी हुनु धेरै असल हो। प्रेरित पावलले तिमोथीलाई लेखेको पत्रमा यस्तै विचार व्यक्त गरे। तिनले यसो भने: “हामीले नता यस दुनियाँमा केही ल्यायौं, न केही बोकी लैजानसक्छौं, तर खान र लाउन भएपछि हामी त्यसमा सन्तुष्ट हुनेछौं।”—१ तिमोथी ६:७, ८; तुलना गर्नुहोस् लूका १२:१६-२१.
सुख पाउने उपाय
सुलेमानसँग प्रशस्त धनसम्पत्ति र ईश्वरीय बुद्धि थियो। तर तिनले सुखलाई पैसासित होइन बुद्धिसित जोडे। तिनले यसो भने: “बुद्धि पाउने र समझ-शक्ति प्राप्त गर्ने मानिस सुखी रहन्छ। किनभने बुद्धि चाँदीभन्दा धेरै लाभदायक हुन्छ, र त्यसबाट हुने फाइदा सुनभन्दा बढ़ी हुन्छ। त्यो मूगा-मोतीभन्दा पनि बहुमूल्य हुन्छ, र तेरा सबै रत्नहरू त्यसको बराबरी हुनैसक्तैन। बुद्धिको दाहिने हातमा दीर्घायु र त्यसको देब्रे हातमा धन र यश हुन्छन्। त्यसका मार्गहरू आनन्ददायक हुन्छन्, र त्यसका सबै बाटोहरू उन्नतितिर लान्छन्। त्यसलाई समात्नेहरू सबैका निम्ति त्यो जीवनको सहारा हो, र त्यसलाई बलियोगरी समात्नेहरू सुरक्षित रहन्छन्।”—हितोपदेश ३:१३-१८.
धनसम्पत्तिभन्दा बुद्धि किन श्रेष्ठ हो? सुलेमानले यसरी लेखे: “पैसाले सुरक्षा दिएझैं बुद्धिले पनि सुरक्षा दिन्छ तर बुद्धिले चाहिं जीवन बचाउँछ।” (उपदेशक ७:१२, NW) पैसाले केही हदसम्म अवश्य सुरक्षा दिन्छ किनकि त्यसले आवश्यक वस्तु किन्न सकिन्छ। तर बुद्धिले त मानिसलाई जीवन नै जोखिममा पार्ने खतराहरूबाट बचाउनसक्छ। बुद्धिले मानिसलाई अकाल मृत्युबाट बचाउने मात्र होइन तर यो बुद्धि उचित ईश्वरीय भयमा आधारित भएकोले अनन्त जीवनको मार्गनिर्देशक पनि हो।
किन ईश्वरीय बुद्धिबाट सुख प्राप्त हुन्छ? किनकि यहोवा परमेश्वरले मात्र साँचो सुख दिन सक्नुहुन्छ। सर्वोच्चप्रति आज्ञाकारी भएमा मात्र वास्तविक सुख प्राप्त गर्न सकिन्छ भनेर अनुभवहरूले प्रमाणित गरेका छन्। अनन्त सुख परमेश्वरको अनुमोदनमा निर्भर छ। (मत्ती ५:३-१०) हामीले बाइबल अध्ययनबाट सिकेका कुराहरू जीवनमा उतारेर ‘माथिबाट आउने ज्ञान’ खेती गर्नेछौं। (याकूब ३:१७) यो ज्ञानले हामीलाई धनसम्पत्तिले कहिल्यै दिन नसक्ने आनन्द दिनेछ।
[पृष्ठ ४, ५-मा भएका चित्रहरू]
राजा सुलेमानलाई मानिस सुखी हुने उपाय थाह थियो। के तपाईंलाई थाह छ?