मसीहको उपस्थिति र उहाँको शासन
“यही येशू, जो तिमीहरूसङ्गबाट स्वर्गारोहण हुनुभएको छ, र अहिले जसरी तिमीहरूले उहाँलाई स्वर्गतिर गइरहनुभएको देख्यौ, त्यसरीनै उहाँ फेरि आउनुहुनेछ।”—प्रेरित १:११.
१, २. (क) येशू स्वर्गतर्फ जानु हुँदा उहाँका प्रेरितहरूलाई दुईवटा स्वर्गदूतहरूले कसरी सान्त्वना दिए? (ख) ख्रीष्ट फर्कनु हुने कुराको सम्भावनाले के प्रश्नहरू खडा गर्दछन्?
जैतुन डाँडाको पूर्वपट्टि एघार जना मानिसहरू आकाशतर्फ हेर्दै उभिरहेका थिए। केही क्षणअघि मात्र तिनीहरूका माझबाट येशू उचालिनु भएको थियो। उहाँको रूप तिनीहरूको दृष्टिबाट बिस्तारै अस्पष्ट हुँदै गयो र अन्तमा त्यसलाई देख्नै नसक्ने गरी बादलले ढाक्यो। येशू नै मसीह हुनुहुन्छ भनेर येशूले तिनीहरूसित बिताउनु भएका केही वर्षहरूको दौडानमा प्रस्तुत गर्नु भएको प्रशस्त प्रमाण यी मानिसहरूले देखिसकेका थिए; उहाँको मृत्युको शोक र पुनरुत्थानको हर्ष पनि तिनीहरूले अनुभव गरिसकेका थिए। तर अहिले चाहिं उहाँ गइ नै हाल्नु भयो।
२ अचानक दुईवटा स्वर्गदूत देखा परे र यी सान्त्वनाप्रद शब्दहरू भने: “ए गालीलका मानिस हो, तिमीहरू किन स्वर्गतिर हेर्दै उभिरहेका छौ? यही येशू, जो तिमीहरूसँगबाट स्वर्गारोहण हुनुभएको छ, अहिले जसरी तिमीहरूले उहाँलाई स्वर्गतिर गइरहनुभएको देख्यौ, त्यसरीनै उहाँ फेरि आउनुहुनेछ।” (प्रेरित १:११) यी शब्दहरू कति ढाढसपूर्ण थिए—येशू स्वर्ग जानुको अर्थ पृथ्वी र मानवजातिमाथि अब उप्रान्त उहाँले कुनै चासो नलिने होइन! त्यसको विपरीत येशू फेरि फर्की आउनु हुनेछ। निश्चय नै यी शब्दहरूद्वारा प्रेरितहरू आशान्वित भए। येशूको पुनरागमनको प्रतिज्ञालाई आज पनि लाखौं-लाख मानिसहरूले ठूलो महत्त्व दिन्छन्। कसै-कसैले यसलाई “दोस्रो आगमन” वा “आगमन” भन्छन्। तथापि, धेरै मानिसहरू चाहिं येशूको पुनरागमनको अर्थबारे अन्योलमा छन्। ख्रीष्ट कुन रीतिले फर्कनु हुनेछ? कहिले? र त्यसले हाम्रो जीवनमाथि आज कसरी प्रभाव पार्दछ?
ख्रीष्टको पुनरागमन हुने तरिका
३. ख्रीष्टको पुनरागमनको सम्बन्धमा धेरै मानिसहरू के विश्वास गर्दछन्?
३ एन इभ्यान्जिकल ख्रीस्टोलोजी भन्ने पुस्तकअनुसार “ख्रीष्टको पुनरागमन वा दोस्रो आगमनद्वारा (पारुसिया) परमेश्वरको राज्य आखिरी पटक, स्पष्टगरी र सदाकालका लागि स्थापित हुनेछ।” ख्रीष्टको पुनरागमन खुला रूपले र यस ग्रहमा बस्ने सबैले देख्ने गरी हुनेछ भन्ने आम धारणा छ। यस धारणालाई समर्थन गर्न धेरैले प्रकाश १:७ तर्फ सङ्केत गर्दछन् जहाँ यसरी लेखिएको छ: “हेर, उहाँ बादलहरूका साथमा आउनुहुन्छ, र हरेक आँखाले र उहाँलाई छेंड़नेहरूले उहाँलाई देख्नेछन्।” तर यस पदको अक्षरशः अर्थ लिनु के उचित हो?
४, ५. (क) प्रकाश १:७-को अर्थ यथाशाब्दिक होइन भनी हामी कसरी बुझ्दछौं? (ख) यस समझलाई येशूका आफ्नै शब्दहरूले कसरी समर्थन गर्दछ?
४ नबिर्सनु होस्, प्रकाशको पुस्तक “चिन्हहरू”-द्वारा प्रस्तुत गरिएको छ। (प्रकाश १:१) त्यसो हुनाले यो पद लाक्षणिक नै हुनुपर्छ; किनभने येशू फर्कनु हुँदा “उहाँलाई छेंड़नेहरूले” आखिर कसरी देख्न सक्छन् र? तिनीहरू त करीब २० शताब्दीअघि नै मरिसके! यसबाहेक, ख्रीष्ट जसरी जानु भयो, उहाँ “उसरी नै” फर्किआउनु हुनेछ भनेर स्वर्गदूतहरूले भनेका थिए। अतः उहाँ कसरी जानु भयो? उहाँ जानु हुँदा के लाखौं मानिसहरूले हेरिरहेका थिए? थिएनन्। त्यस घटनालाई केही विश्वासी जनहरूले मात्र देखे। अनि तिनीहरूसित स्वर्गदूतहरू कुरा गर्दा, के ती प्रेरितहरूले ख्रीष्ट स्वर्गसम्मै पुग्नु भएको देखे? देखेनन्। येशूलाई बादलले ढाक्यो र तिनीहरूको दृष्टिबाट उहाँ ओझल हुनुभयो। त्यसको केही समयपछि मात्र उहाँ मानव आँखाले देख्न नसक्ने एकजना आत्मिक व्यक्तिको रूपमा स्वर्गमा प्रवेश गर्नु भएको हुनुपर्छ। (१ कोरिन्थी १५:५०) अतः, प्रेरितहरूले येशूको यात्राको प्रथम चरणभन्दा बढी केही देखेनन्; तिनीहरूले यात्राको अन्तिम चरण, अर्थात् स्वर्गमा हुनुहुने आफ्ना पिता, यहोवाको समीप उहाँ फर्कनु भएको चाहिं देख्न पाएनन्। यो कुरा तिनीहरूले आफ्ना विश्वासका आँखाले मात्र ठम्याउन सके।—यूहन्ना २०:१७.
५ येशू बिल्कुलै यस्तै गरी फर्कनुहुन्छ भनी बाइबलले सिकाउँछ। आफ्नो मृत्यु भन्दा केहीअघि येशू आफैले यसो भन्नुभयो: “अझ अलिबेर, औ संसारले मलाई फेरि कहिल्यै देख्नेछैन।” (यूहन्ना १४:१९) उहाँले यसो पनि भन्नुभयो: “परमेश्वरको राज्य प्रत्यक्ष रूपमा आउँदैन।” (लूका १७:२०) उसो भए ‘उहाँलाई हरेक आँखाले देख्नेछन्’ भनेको अर्थ के हो त? यस प्रश्नको उत्तर दिन पहिले हामीले येशूको पुनरागमनको सम्बन्धमा येशू र उहाँका अनुयायीहरूले प्रयोग गरेको शब्दलाई राम्ररी बुझ्नु पर्दछ।
६. (क) युनानी शब्द पारूसिया-लाई “आगमन” भनी अनुवाद गरिएको शब्दले त्यसको सम्पूर्ण अर्थ किन दिंदैन? (ख) पारुसिया भन्ने शब्दले कुनै क्षणिक घटनालाई होइन, तर लामो अवधिलाई जनाउँदछ भन्ने कुरा केले देखाउँछ?
६ तथ्य के हो भने, येशू “फर्किनु” मात्र हुँदैन। त्योभन्दा बढी गर्नु हुनेछ। त्यस शब्दले “आउनु” र “आगमन” जस्तो छोटो समयावधि भित्र घटने कुनै एउटा घटनालाई मात्र सङ्केत गर्छ। तर येशू र उहाँका अनुयायीहरूले प्रयोग गर्नु भएको युनानी शब्दको अर्थ त्यो भन्दा बढी छ। त्यो शब्द पारूसिया हो, जसको अक्षरशः अर्थ हो “सङ्गै हुनु” वा “उपस्थिति”। यस शब्दले आगमन मात्र होइन, त्यसपछि हुने उपस्थितिसमेतलाई ढाक्छ भन्ने कुरा धेरै विद्वानहरू स्वीकार्छन्। उदाहरणका लागि राजकीय भ्रमणको दौडानमा एकजना शाही व्यक्तिको उपस्थितिलाई विचार गर्नुहोस्। यसप्रकारको उपस्थिति एउटा कुनै क्षणिक घटना होइन; यो एउटा खास समयावधिका लागि हुन्छ। मत्ती २४:३७-३९-मा येशूले भन्नुभयो कि “मानिसको पुत्रको आगमन [पारूसिया]” “नूहका दिनहरू” जस्तै हुनेछ जब आखिरमा गएर जल-प्रलय भएको थियो। जल-प्रलय आएर त्यस बेलाको दुष्ट संसारको रीतिरिवाजलाई बगाएर लग्नुभन्दा कयौं दशक पहिलेदेखि नूहले जहाज बनाउँदै दुष्टहरूलाई चेतावनी दिने पनि गरेका थिए। त्यसैगरी ख्रीष्टको अदृश्य उपस्थिति पनि केही दशकसम्म कायम रहने एउटा समयावधि हो जसको अन्तमा महान विनाश हुनेछ।
७. (क) पारुसिया-लाई मानव आँखाले देख्न सक्तैन भन्ने कुरा केले प्रमाणित गर्दछ? (ख) ख्रीष्टको पुनरागमन “हरेक आँखाले” देख्नेछ भनी शास्त्रमा वर्णन गरिएको वचन कहिले र कसरी पूरा हुनेछ?
७ यहाँ चर्चा गरिएको आगमन-लाई निःसन्देह मानव आँखाले अक्षरशः देख्ने छैन। त्यो देख्न सकिने हुँदो हो त आफ्ना अनुयायीहरूले उहाँको उपस्थितिलाई ठम्याउन सकोस् भनेर येशूले एउटा चिन्ह दिनमा यतिका समय किन बिताउनु हुन्थ्यो र?a तथापि शैतानको विश्व रीतिरिवाजलाई नष्ट गर्न ख्रीष्ट आउनुहुँदा, उहाँको उपस्थितिको वास्तविकता सबैको सामु सम्पूर्णतया प्रत्यक्ष हुनेछ। त्यसैबेला “हरेक आँखाले उहाँलाई देख्ने छ।” ख्रीष्टको शासन एउटा वास्तविकता हो भनेर येशूका विरोधीहरूसमेतले बडो खिन्नताका साथ बुझ्ने छन्।—मत्ती २४:३०; २ थिस्सलोनिकी २:८; प्रकाश १:५, ६ हेर्नुहोस्।
यो कहिले सुरु हुन्छ?
८. कुन घटनाले ख्रीष्टको उपस्थिति सुरु भयो भनी चिनाउछ, र यो कहाँ सुरु भयो?
८ मसीहसम्बन्धी अगमवाणीहरूको मूल विषयलाई पूरा गर्ने एउटा घटनाका साथ मसीहको उपस्थिति सुरु हुन्छ। अर्थात् स्वर्गमा उहाँको राज्यारोहण हुन्छ। (२ शमूएल ७:१२-१६; यशैया ९:६, ७; इजकिएल २१:२६, २७) येशूको उपस्थिति उहाँको राजपदसित सम्बन्धित हुनेछ भनेर उहाँ स्वयंले देखाउनु भयो। अनेकौं उदाहरणहरूमा उहाँले आफूलाई एउटा त्यस्तो मालिकसँग तुलना गर्नु भयो जो आफ्नो घरद्वार र नोकर-चाकरहरूलाई छाडेर “राजपद” प्राप्त गर्न धेरै समयका निम्ति एउटा “टाढ़ा देश”-मा जान्छ। यसप्रकारको एउटा उदाहरण उहाँले त्यतिखेर दिनु भयो जब उहाँका प्रेरितहरूले उहाँलाई उहाँको पारुसिया सुरु हुने समयबारे प्रश्न गरेका थिए; यस्तै अर्को उदाहरण चाहिं उहाँले तब दिनु भयो जब उहाँका प्रेरितहरूले “परमेश्वरको राज्य तुरुन्तै प्रकट हुनलागेको छ” भनी ठानिरहेका थिए। (लूका १९:११, १२, १५; मत्ती २४:३; २५:१४, १९) अतः उहाँ मानवको रूपमा पृथ्वीमा हुनुहुँदा उहाँको राज्यारहोण हुनका लागि अझै धेरै समय बाँकी नै थियो अर्थत् त्यो घटना स्वर्गजस्तो “टाढ़ा देश”-मा हुने थियो। तर कहिले?
९, १०. वर्तमानमा ख्रीष्ट स्वर्गमा शासन गर्दै हुनुहुन्छ भन्ने के प्रमाण छ, र कहिलेदेखि उहाँले आफ्नो शासन सुरु गर्नुभयो?
९ येशूका चेलाहरूले उहाँलाई “तपाईंको आगमन र जगत्को अन्तको चिन्ह के हुन्छ?” भनी सोध्दा येशूले तिनीहरूलाई भविष्यमा त्यस बेलामा हुने कुराको एउटा विस्तृत विवरण दिनुभयो। (मत्ती, २४ अध्याय; मर्कूस १३ अध्याय; लूका २१ अध्याय; साथै २ तिमोथी ३:१-५; प्रकाश ६ अध्याय पनि हेर्नुहोस्।) यो चिन्ह एउटा कष्टमय समयको विस्तृत विवरण हो। यो एउटा यस्तो समय हो जब अन्तर्राष्ट्रिय युद्धहरू, बढ्दो अपराध, पारिवारिक जीवनको पतन, रोगको महामारी, अनिकाल र भुईंचालोहरूले कुनै स्थानीय होइन तर विश्वव्यापी सङ्कटको रूप धारण गर्नेछन्। के ती कुराहरू आज भइरहेको छ? येशूले गर्नु भएको वर्णनसित यस बीसौं शतीब्दीमा भइरहेका कुराहरू ट्याक-ट्याकै मिलेको प्रमाण हामी प्रत्येक दिन देख्छौं।
१० सन् १९१४ मानव इतिहासको एउटा मोड थियो। त्यसै वर्षदेखि नै धेरैजसो उक्त उल्लिखित समस्याहरू विश्वभरि ज्यादै बढन थाले। यस कुरालाई इतिहासकारहरू स्वीकार्दछन्। हो, स्वर्गमा येशू राजा हुनुभएको साल १९१४ नै हो भनेर बाइबलको भविष्यवाणी पूरा गर्ने विश्व घटनाहरूले सङ्केत गर्छन्। साथै, यहोवाद्वारा नियुक्त राजाले शासन सुरु गर्नुहुने साल अर्थात् १९१४-लाई नै सङ्केत गर्ने एउटा अर्को प्रमाण हामी दानियलको चौथो अध्यायमा उल्लिखित भविष्यवाणीको कालक्रममा पनि पाउँछौं।b
यो समय सङ्कटपूर्ण किन हुने?
११, १२. (क) ठीक अहिले ख्रीष्ट स्वर्गमा शासन गर्दै हुनुहुन्छ भन्ने कुरा पत्याउन कसैकसैलाई किन गाह्रो लाग्छ? (ख) राजाको रूपमा येशूको राज्यारोहणपछि के भयो भन्ने कुरा हामीले कसरी उदाहरणद्वारा बुझाउन सक्छौं?
११ तर ‘स्वर्गबाट मसीह राज्य गर्नु हुँदैछ भने संसारको स्थिति यति कष्टमय किन छ? के उहाँको शासन कमजोर भएर हो कि?’ यसप्रकारका प्रश्नहरू कसै-कसैको मनमा आउन सक्छन्। यस कुरालाई बुझ्ने मदत एउटा उदाहरणबाट पाउन सकिन्छ। मानिलिनुहोस्, कुनै एउटा देशमा एकजना दुष्ट राष्ट्रपतिले शासन गर्छ। उसले एउटा भ्रष्ट व्यवस्था कायम गरेको छ जसको प्रभाव देशको कुना-कुनासम्म फैलिएको छ। तर एउटा चुनाव हुन्छ। एकजना असल मानिसले चुनाव जित्छ। अब के हुन सक्छ? कुनै कुनै प्रजातान्त्रिक देशहरूमा गर्ने गरे झैं, नयाँ राष्ट्रपतिले केही महिनापछि मात्र औपचारिक तवरमा कार्यभार उठाउन सुरु गर्छ। यस बीचको समयमा ती दुवै व्यक्तिहरूले के गर्न सक्छन्? के यी नयाँ राष्ट्रपतिले तुरुन्तै ती पहिलेका राष्ट्रपतिले देशभरि कायम गरेको दुष्ट व्यवस्थालाई भङ्ग गर्लान्? बरु, के तिनले पहिले नयाँ मन्त्री-मण्डल गठन गर्ने र पहिलेका राष्ट्रपतिका कुटिल साथीहरू र पिट्ठूहरूलाई हटाउनका लागि आफ्नो ध्यान राजधानीमा नै केन्द्रित गर्ने छैनन् र? यसो गरेपछि, जब तिनले पूर्ण रूपमा शासनाधिकार आफ्नो हातमा लिन्छन्, तिनले एउटा स्वच्छ र दक्ष शक्तिस्थलबाट आफ्नो कार्य सञ्चालन गर्न सक्नेछन्। के ती भ्रष्ट राष्ट्रपतिले चाहिं बचेको आफ्नो शासनावधिको छोटो समयमा आफ्नो ओहदाको दुरुपयोग गर्दै देशबाट जति धुत्न सकिन्छ धुत्ने प्रयास गर्ने छैनन् र?
१२ यथार्थमा ख्रीष्टको पारुसियाबारे पनि यस्तै कुरा हो। प्रकाश १२:७-१२ ले देखाउँछ कि स्वर्गमा ख्रीष्टलाई राजा बनाउने बित्तिकै उहाँले पहिले त शैतान र त्यसका प्रेतहरूलाई स्वर्गबाट बाहिर निकालिदिनु भयो। यस प्रकार उहाँले पहिले आफ्नो राजधानीलाई स्वच्छ पार्नु भयो। ख्रीष्टले पृथ्वीमाथि आफ्नो शासनाधिकार स्थापित नगरुञ्जेलको त्यस “अल्प समय”-मा, धेरै समयदेखि आशा गरिएको हार खाएपछि, शैतानले कस्तो व्यवहार गर्छ होला? ती भ्रष्ट राष्ट्रपतिले गरेजस्तै यसले पनि यो पुरानो रीतिरिवाजबाट जति लाभ उठाउन सक्छ उठाउने प्रयास गर्दछ। उसलाई त धन होइन, अनुयायीहरू चाहिएको छ। आफूले सकेजति ज्यादा से ज्यादा मानिसहरूलाई यहोवा र शासन गर्नुहुने उहाँका राजाभन्दा टाढा पार्न ऊ चाहन्छ।
१३. ख्रीष्टको शासन सुरु हुँदा पृथ्वीमा कष्टमय समय हुन्छ भन्ने कुरा शास्त्रपदहरूले कसरी देखाउँछन्?
१३ त्यसकारण, यसमा केही आश्चर्य छैन कि मसीहको शासनको सुरुवातको अर्थ “पृथ्वीलाई धिक्कार”-को समय हुनेछ। (प्रकाश १२:१२) त्यसैगरी भजनसंग्रह ११०:१, २, ६-ले देखाउँछ कि मसीहले ‘शत्रुहरूका बीचमा’ आफ्नो शासन प्रारम्भ गर्नुहुनेछ। केही समयपछि मात्र उहाँले “राजाहरू”-लाई सम्पूर्णतया चक्नाचूर पार्नुहुनेछ, साथै शैतानको भ्रष्ट रीतिरिवाजलाई नामेट पारिदिनुहुनेछ!
जब मसीहले पृथ्वीमा राज्य गर्नुहुन्छ
१४. शैतानको दुष्ट रीतिरिवाजलाई नाश गर्नु भएपछि मसीहले के गर्नुहुनेछ?
१४ शैतानको रीतिरिवाज र त्यसलाई समर्थन गर्नेहरू सबैलाई नै उहाँले नाश गर्नु भएपछि बाइबलमा उहाँको हजार वर्षीय राज्यको सम्बन्धमा गरिएका भविष्यवाणीहरूलाई त्यसबेला बल्ल मसीही राजा, येशू ख्रीष्टले पूरा गर्नुहुनेछ। मसीह कुन प्रकारको शासक हुनु हुने हो त्यसबारे बुझ्न यशैया ११:१-१० मा भनिएका कुराहरूले हामीलाई मदत दिन्छ। दोस्रो पदले भन्दछ कि उहाँमा “प्रभुको आत्मा . . . बुद्धि र समझको आत्मा, सल्लाह र शक्तिको आत्मा” हुनेछ।
१५. मसीही शासनमा “शक्तिको आत्मा” हुनुको के अर्थ हो?
१५ येशूको शासनकालमा ‘शक्तिको आत्मा’-ले के अर्थ राख्नेछ, यसो सोच्नुहोस्। उहाँ पृथ्वीमा हुनुहुँदा चमत्कार गर्न सक्ने शक्ति उहाँले यहोवाबाट पाउनु भएको थियो। र मानिसहरूको सेवा गर्ने उत्कट इच्छा प्रकट गर्नु हुँदै उहाँले यसो भन्नुभयो, “म इच्छा गर्छु।” (मत्ती ८:३) तर त्यसबेला उहाँले गर्नु भएको चमत्कार त स्वर्गबाट शासन गर्नुहुँदा उहाँले के गर्नु हुनेछ भन्ने कुराको एउटा अग्रिम झलक मात्र थियो। येशूले एउटा विश्वव्यापी स्तरमा चमत्कारहरू गर्नु हुनेछ! बिमार, अन्धा, बहिरा, अपाङ्ग, र लङ्गडा मानिसहरू सदाका लागि निको हुनेछन्। (यशैया ३५:५, ६) प्रशस्त खाद्य-पदार्थको समान रूपमा वितरण गरिएर भोक सदाका लागि अन्त हुनेछ। (भजनसंग्रह ७२:१६) परमेश्वरको सम्झनामा रहेका चिहानमा हुने अनगन्ती लाखौंलाख जनहरूको के हुने नि? तिनीहरूको पुनरुत्थान गराएर प्रत्येकलाई प्रमोदवनमा सदा बाच्ने मौका दिनु पनि येशूको त्यस “शक्तिको आत्मामा” सम्मिलित हुनेछ! (यूहन्ना ५:२८, २९) तर, यस्तो शक्ति भएर पनि मसीही राजा सदा नै अत्यन्त नम्र रहनु हुनेछ। उहाँ “परमप्रभुको भयमानै आनन्द” पाउनुहुन्छ।—यशैया ११:३.
१६. मसीही राजा कुन प्रकारको न्यायाधीश हुनुहुनेछ, र मसीह न्यायाधीश र मानव न्यायाधीशहरूमा के भिन्नता हुनेछ?
१६ यी राजा एउटा सिद्ध न्यायाधीश पनि हुनुहुनेछ। उहाँले “मुख हेरेर इन्साफ गर्नुहुनेछैन, औ कानले सुनेर मात्र विचार गर्नुहुनेछैन।” कुनचाहिं मानव न्यायाधीशबारे, चाहे भूतकालका हुन् वा वर्तमानका, यस प्रकार वर्णन गर्न सकिन्छ? कतिकै न्यायी मानिस भए तापनि उसले आफूले सुनेको र देखेको भरमा नै न्याय गर्न सक्छ। त्यसो गर्दा आफ्नो भएभरको बुद्धि र समझको प्रयोग गर्दछ। त्यसो हुनाले चतुर वाक्छल, अदालतको कोठाभित्रका मसकराहरू अथवा आपसमा बाझिने प्रमाणहरूले गर्दा यस पुरानो व्यवस्थाका न्यायाधीशहरू र जुरीहरू एकातिर ढल्किनु वा अलमलमा पर्न सक्छन्। अक्सर धनी र शक्तिशाली व्यक्तिहरूले मात्र काबिल वकिलहरू राख्न सक्छन्, अर्थात् यथार्थमा तिनीहरूले न्याय किनेका हुन्छन्। तर मसीही राज्यमा त्यस्तो हुनेछैन! उहाँले हृदयलाई जाँच्नु हुन्छ। उहाँको नजरबाट कुनै कुरा लुक्न सक्नेछैन। माया र दयाले सन्तुलित भएको न्याय बिक्रीका लागि हुनेछैन। सधैं न्यायको जीत हुनेछ।—यशैया ११:३-५.
उहाँको शासनले तपाईंलाई कसरी असर पार्दछ
१७, १८. (क) यशैया ११:६-९ मा मानवजातिको कस्तो उज्ज्वल भविष्यको चित्रण गरिएको छ? (ख) मूलतः यो भविष्यवाणी कसमा प्रयोग हुन्छ, र किन? (ग) यो भविष्यवाणी कसरी अक्षरसः पूर्ति हुनेछ?
१७ स्वभावतः मसीही शासनले उसका प्रजाहरूमाथि प्रबल प्रभाव पार्दछ। यसले मानिसहरूमा परिवर्तन ल्याउछ। यी परिवर्तनहरू कति विस्तृत छन् भन्ने कुरा यशैया ११:६-९ ले देखाउँछ। यस भविष्यवाणीले भक्षक जनावरहरू—भालुहरू, ब्वाँसाहरू, चितुवाहरू, सिंहहरू, सर्पहरू—अहानिकर घरेलू जनावरहरू र केटा-केटीहरूका साथमा बसेको एउटा मर्मस्पर्शी चित्र प्रस्तुत गर्दछ। तर यी भक्षक जनावरहरूले कुनै हानी पुऱ्याउँदैनन्! किन? त्यसको उत्तर ९ पदले दिन्छ: “तिनीहरूले मेरा सबै पवित्र पर्वतमा नता केही हानि न नोक्सानी गर्नेछन्, किनकि समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।”
१८ यथार्थमा, साँच्चैको जनावरमाथि त “परमप्रभुको ज्ञान”-को कुनै असर हुन सक्ने होइन। यसकारण यी पदहरू मुख्यतः मानिसहरूकै निम्ति प्रयोग भएको हुनुपर्छ। मसीही शासनले एउटा विश्वव्यापी शैक्षिक कार्यक्रम सञ्चालन गर्दछ जसद्वारा मानिसहरूलाई यहोवा र उहाँका मार्गहरू सिकाइने छन्। आफ्ना सङ्गी मानिसहरूसँग प्रेम, आदर, र सम्मानका साथ व्यवहार गर्नु भनी तिनीहरूलाई सिकाइने छ। आउने प्रमोदवनमा मसीहले मानवजातिलाई चमत्कारपूर्वक भौतिक र नैतिक सिद्धता प्राप्त गर्ने मदत दिनु हुनेछ। असिद्ध मानव प्रकृतिलाई कुरूप बनाउने भक्षक जनावरजस्ता प्रवृत्तिहरू सदाका लागि खतम हुनेछन्। सही अर्थमा मानवजाति बल्ल जनावरहरूसित शान्तिका साथ बस्नेछन्!—उत्पत्ति १:२८-सँग तुलना गर्नुहोस्।
१९. यी अन्तिम दिनहरूमा मानिसहरूको जीवनमाथि मसीहको शासनले कसरी प्रभाव पार्दछ?
१९ तर, यो कुरा पनि याद राख्नुहोस्, मसीह अहिले शासन गर्दै हुनुहुन्छ। अहिले पनि उहाँको राज्यका प्रजाहरू एकसाथ शान्तिपूर्वक बस्न सिकिरहेका छन्, अर्थात् एक अर्थमा यशैया ११:६-९ को भविष्यवाणीको पूर्ति हुँदैछ। अझ थप, करीब ८० वर्षदेखि येशूले यशैया ११:१०-को यो भविष्यवाणी पूरा गर्दै हुनुहुन्छ: “त्यस दिन मानिसहरूका निम्ति एउटा झण्डीको लागि खड़ा हुनुहुने, यस्सीको जगलाईनै मानिसहरूले खोज्नेछन्। उहाँको विश्रामको स्थान महिमित हुनेछ।” हरेक जातिका मानिसहरू मसीहतर्फ फर्कंदै छन्। किन? किनभने उहाँले शासन गर्न थाले देखिन् उहाँ “एउटा झण्डीको लागि खड़ा हुनु” भएको छ। माथि उल्लिखित विशाल शैक्षिक कार्यक्रमद्वारा उहाँले विश्वव्यापी रूपमा आफ्नो उपस्थितिको जानकारी दिंदै हुनुहुन्छ। वास्तवमा येशूले अग्रिमवाणी गर्नु भएको थियो कि यो पुरानो रीतिरिवाजको अन्त हुनुभन्दा अघि एउटा विश्वव्यापी प्रचार कार्य हुनु उहाँको उपस्थितिको एउटा प्रमुख चिन्ह हुनेछ।—मत्ती २४:१४.
२०. मसीही शासनका सबै नै प्रजाहरू कुनचाहिं मनोवृत्तिबाट टाढा बस्नु पर्दछ, र किन?
२० अतः राजकीय शक्तिका साथ येशूको उपस्थिति एउटा टाढाको धर्मतान्त्रिक कुरा होइन। धर्मशास्त्रीहरूका बीच हुने एउटा बौद्धिक वादविवाद मात्र होइन। यशैयाले अग्रिमवाणी गरेजस्तै गरी उहाँको शासनले पृथ्वीमा बस्नेहरूको जीवनलाई छुन्छ र परिवर्तन गर्दछ। येशूले लाखौंलाख मानिसहरूलाई यस भ्रष्ट संसारबाट बाहिर निकाल्नु भएर आफ्नो राज्यको प्रजा बनाउनु भएको छ। के तपाईं एउटा त्यस्तो प्रजा हुनुहुन्छ? हुनुहुन्छ भने हाम्रो शासकले पाउनुपर्ने सेवा सारा उत्साह र आनन्दसाथ उहाँलाई चढाउनुहोस्! यस काममा सजिलैसँग थाक्न सकिने छ भन्ने कुरा बुझ्न सकिन्छ। हुनतः, “उहाँको आगमनको प्रतिज्ञा कहाँ गयो” भनी संसारले ठट्टा गर्दै कराउँदा, हामीपनि त्यो त हो कि भन्न सक्तछौं। (२ पत्रुस ३:४) तर येशू आफैले भन्नुभएजस्तै, “अन्तसम्म स्थिर रहने चाहिंले उद्धार पाउनेछ।”—मत्ती २४:१३.
२१. मसीही आशाबारे हामी सबैले नै कसरी आफ्नो मूल्याङ्कन बढाउन सक्छौं?
२१ बितिरहेको प्रत्येक दिनले हामीलाई त्यस महान दिनको नजीक लग्दैछ जब येशूलाई सारा संसारका सामू आफूलाई प्रकट गर्नु भनी यहोवाले निर्देशन दिनुहुनेछ। त्यस दिनको आशालाई कहिले धमिलो हुन नदिनुहोस्। येशूको मसीहीत्व र पदासीन राजाको हैसियतमा उहाँका गुणहरूमाथि मनन गर्नुहोस्। बाइबलमा उल्लिखित महान मसीही आशाका प्रवर्तक र दिग्दर्शक, यहोवा परमेश्वरबारे पनि गहिरो ढङ्गले विचार गर्नुहोस्। जसै तपाईंले यसो गर्नु हुनेछ, प्रेरित पावलले लेखेको यो कुराजस्तै तपाईंले पनि झन-झन अनुभव गर्दै जानु हुनेछ: “अहा! परमेश्वरका बुद्धि र ज्ञान, दुवैका सम्पत्ति कस्तो गहिरो छ!”—रोमी ११:१३. (w92 10/1)
[फुटनोटहरू]
a यसबारे धर्मशास्त्री आर० गोभेटले १८६४ सालमा यसो भने: “मेरो विचारमा यो एउटा अति नै निर्णयात्मक कुरा हो। चिन्ह दिनुको अर्थ नै उपस्थिति एउटा रहस्य हो भनेर बुझिन्छ। किनकि हामीले देख्न सक्ने कुरालाई प्रत्यक्ष पार्न कुनै चिन्हको खाँचो पर्दैन।”
b अझ विस्तृत विवरणका लागि “लेट यर किङ्गडम कम” पुस्तकका पाना १३३-९ हेर्नुहोस्।
तपाईं कसरी उत्तर दिनुहुन्छ?
▫ ख्रीष्टको पुनरागमन कुन तरिकाले हुन्छ?
▫ ख्रीष्टको पारुसिया अदृश्य हुनेछ र एउटा लामो समयसम्म त्यो रहिरहने छ भनी हामी कसरी जान्दछौं?
▫ ख्रीष्टको उपस्थिति कहिलेदेखि सुरु हुन्छ, र सोबारे हामी कसरी जान्दछौं?
▫ मसीह कुन प्रकारको स्वर्गीय शासक हुनुहुन्छ?
▫ ख्रीष्टको शासनले आफ्ना प्रजाहरूको जीवनमाथि कुन तरिकाहरूले प्रभाव पार्दछ?
[पृष्ठ ९-मा भएको चित्र]
येशूको पुनरागमन हुने कुरा उहाँका विश्वासी प्रेरितहरूका लागि एउटा ठूलो अर्थ राख्थ्यो
[पृष्ठ ११-मा भएको चित्र]
र्स्वगबाट शासन गर्नुहुँदा येशूले विश्वव्यापी स्तरमा चमत्कारहरू गर्नु हुनेछ