हामी हर्षित भई रमाहट गर्ने कारण छ
“तिनीहरूले आनन्द र रमाहट प्राप्त गर्नेछन्, र शोक र सुस्केरा दूर हुनेछ।” —यशैया ३५:१०.
१. आज कोसित आनन्दित हुने विशेष कारण छ?
तपाईंले याद गर्नुभएकै होला, आजकल कमैले साँचो आनन्द पाएका छन्। यद्यपि, साँचो मसीहीहरूको हैसियतमा यहोवाका साक्षीहरू आनन्दित छन्। अनि यहोवाका साक्षीहरूसित संगत गर्ने ती लाखौं जवान तथा वृद्धहरू जसले अहिलेसम्म बप्तिस्मा लिइसकेका छैनन् तिनीहरूले पनि त्यो आनन्द पाउनसक्छन्। अझ भनौं भने, तपाईंले अहिले यस पत्रिकाबाट यी शब्दहरू पढिरहनुको अर्थ नै तपाईंसित त्यो आनन्द हुनु वा हुने सम्भावना हुनु हो।
२. मसीही आनन्द र अधिकांश मानिसहरूको सामान्य स्थितिबीच कस्तो भिन्नता छ?
२ अधिकांश मानिसहरू आफ्नो जीवनमा कमी महसुस गर्छन्। तपाईं नि? हो, तपाईंसित ठूलोबडाकहाँ जस्तो भौतिक सरसामान नहोला। अनि चाहेजस्तो स्वस्थ शरीर र ताकत पनि नहोला। तैपनि, तपाईं संसारका करोडौं मानिसहरूभन्दा आनन्दित हुनुहुन्छ भन्नु चाहिं अनुचित हुनेछैन। कसरी?
३. कुन अर्थपूर्ण शब्दहरूलाई हामीले ध्यान दिनु आवश्यक छ र किन?
३ एकपल्ट येशूका यी शब्दहरूलाई सम्झनुहोस्: “मैले यी कुरा तिमीहरूलाई भनेको छु, कि मेरो आनन्द तिमीहरूमा रहोस्, र तिमीहरूको आनन्द पूर्ण भइजाओस्।” (यूहन्ना १५:११) “तिमीहरूको आनन्द पूर्ण भइजाओस्।” कति सुन्दर वर्णन! मसीही जीवनपद्धतिको गहिरो अध्ययन गर्ने हो भने हामी पूर्णतया आनन्दित हुनुका थुप्रै कारणहरू भेटिनेछन्। तर अहिले, यशैया ३५:१० का केही अर्थपूर्ण शब्दहरूलाई विचार गर्नुहोस्। यी शब्दहरू अर्थपूर्ण छन्। किनभने अहिले हाम्रो जीवनसित त्यसको निकै गहिरो सम्बन्ध छ। उक्त पदले यसो भन्छ: “परमप्रभुले उद्धार गर्नुभएकाहरू फर्केर आउनेछन्। तिनीहरू सियोनमा गाउँदै आउनेछन्। तिनीहरूका अनुहारमा सदा आनन्द देखिनेछ। तिनीहरूले आनन्द र रमाहट प्राप्त गर्नेछन्, र शोक र सुस्केरा दूर हुनेछ।”
४. यशैया ३५:१० मा कस्तो आनन्द उल्लेख गरिएको छ र हामीले त्यसमा किन ध्यान दिनुपर्ने हो?
४ सधैंभरि वा “सदा आनन्द” हुने। यो “सदा” भन्ने पदावली यशैयाले लेखेको हिब्रू शब्दको एकदम सही अनुवाद हो। तर अन्य शास्त्रपदहरूलाई विचार गर्ने हो भने, यस पदको अर्थ “सधैंभरि” हुन्छ। (भजन ४५:६ न्युव; ९०:२ न्युव; यशैया ४०:२८ न्युव) अतः सधैंभरि रमाहट गर्नु मिल्ने परिस्थितिमा रमाहटको कुनै अन्त हुनेछैन। के तपाईंलाई यो कुरा सुनेर खुशी लागेन? तथापि, तपाईंलाई यी पदहरू अव्यवहारिक लाग्यो होला। ‘मेरा दैनिक समस्या तथा चिन्ताहरूले मलाई जत्तिको असर गर्छ त्यसले मलाई त्यत्ति असर गर्दैन,’ भन्ने विचार पनि मनमा पलायो होला। तर तथ्य कुरा अर्कै छ। यशैया अध्याय ३५ पद १० को भविष्यसूचक प्रतिज्ञा आज तपाईंका लागि अर्थपूर्ण छ। अब कसरी अर्थपूर्ण छ, त्यो बुझ्न आउनुहोस् यशैया अध्याय ३५ का मीठा मीठा शब्दहरूलाई प्रसंगसहित जाँचौं। निश्चिन्त हुनुहोस्, तपाईंलाई नयाँ नयाँ कुरा थाह पाउँदा रमाइलो लाग्नेछ।
रमाहट गर्नुपर्ने मानिसहरू
५. कुन भविष्यसूचक पृष्ठभूमिमा यशैया अध्याय ३५ को भविष्यवाणी लेखिएको थियो?
५ तर अरू केही भन्नुअघि आउनुहोस्, मदतको रूपमा यस रोमाञ्चकारी भविष्यवाणीको पृष्ठभूमि वा ऐतिहासिक भूमिका जानौं। बेबिलोनी सेनाले यरूशलेमको नाश गर्नुभन्दा दशकौंअघि अर्थात् सा.यु.पू. ७३२ तिर हिब्रू अगमवक्ता यशैयाले उपरोक्त भविष्यवाणी लेखेका थिए। यशैया ३४:१, २ ले संकेत गरेअनुसार परमेश्वरले त्यतिबेला यशैया ३४:६ मा उल्लिखित एदोम शहरलगायत अन्य राष्ट्रहरूमाथि आफ्नो क्रोध पोखाउँछु भनी अगमवाणी गर्नुभएको थियो। हामीले पाएको प्रमाणअनुसार यो काम पूरा गर्न यहोवाले पुरातन बेबिलोनीहरूलाई चलाउनुभयो। साथै यहूदीहरू अविश्वासी भएको हुँदा परमेश्वरले बेबिलोनीहरूद्वारा यहूदालाई पनि उजाड पार्नुभयो। त्यसको नतिजा? परमेश्वरका जनहरू कैदमा लगिए र तिनीहरूको देश ७० वर्षसम्म उजाड रह्यो।—२ इतिहास ३६:१५-२१.
६. एदोमी र यहूदीहरूमाथि हुन लागेका घटनाहरूबीच कस्तो भिन्नता छ?
६ तथापि, एदोमी र यहूदीहरूबीच उल्लेखनीय भिन्नता छ। एदोमीहरूलाई दिइएको ईश्वरीय दण्ड स्थायी थियो अनि समयमा तिनीहरू इतिहासबाटै लुप्त भए। हो, अहिले पनि तपाईं एदोमीहरू बसोबास गर्ने ठाउँका भग्नावशेषहरूलाई हेर्न सक्नुहुन्छ। उदाहरणका लागि, पेट्रा भन्ने ठाउँमा तपाईंले एदोमीहरूको विश्वविख्यात भग्नावशेष पाउन सक्नुहुन्छ। अनि अर्को कुरा, आज संसारमा ‘एदोमी’ भनेर चिनाउन मिल्ने राष्ट्र वा जाति कतै पनि छैन। त्यसोभए बेबिलोनीहरूले यहूदालाई उजाड पार्दा के त्यो पनि सधैंभरि उजाड वा कहिल्यै आनन्द नछाउने देश हुनेथियो त?
७. बाबेलको कैदमा परेका यहूदीहरूले यशैया अध्याय ३५ प्रति कस्तो प्रतिक्रिया देखाएका हुनसक्छन्?
७ यहाँ यहूदाको सम्बन्धमा यशैया अध्याय ३५ को अद्भुत भविष्यवाणीले रोमाञ्चकारी अर्थ लिएको पाउँछौं। यो भविष्यवाणीलाई हामी पुनर्स्थापनाको भविष्यवाणी भन्नसक्छौं। किनभने सा.यु.पू. ५३७ मा यहूदीहरू आफ्नो देश फर्कंदा त्यो भविष्यवाणीको प्रथम पूर्ति भएको थियो। बाबेलको कैदमा परेका इस्राएलीहरूले अन्ततः आफ्नो घर फर्कने स्वतन्त्रता पाए। (एज्रा १:१-११) यद्यपि, त्यसअघि यो ईश्वरीय भविष्यवाणी मनन गर्ने यहूदीहरूले आफ्नो देशमा पुगेपछि त्यहाँ के-कस्तो स्थिति पाइएला अनि तिनीहरू आफै कस्तो अवस्थामा होलान् भनेर पक्कै पनि सोचेका हुनसक्छन्। अनि त्यसको जवाफ आनन्दले रमाहट गर्नसक्ने कारणसित प्रत्यक्ष सम्बन्धित छ। त्यो कसरी, आउनुहोस् हामी विचार गरौं।
८. बाबेलबाट फर्केका यहूदीहरूले कस्तो परिस्थिति पाउने थिए? (तुलना गर्नुहोस् इजकिएल १९:३-६; होशे १३:८)
८ आफ्नो देश फर्कन पाउने स्वतन्त्रताको घोषणा हुँदा समेत यहूदीहरूले सबै परिस्थिति राम्रै होला भन्ने आशा गर्न सक्दैनन् थिए। किनभने तिनीहरूको देश, सात दशक अर्थात् एक जना मानिसको पूरै जीवन बितुञ्जेल उजाड रह्यो। कल्पना गर्नुहोस्, तिनीहरूको जग्गाजमीनको कस्तो दुर्दशा भयो होला? गोडगाड गरेको खेत, दाखबारी वा फलफूलबारीहरू उजाड भए होलान्। सिंचाइ गरेको बगैंचा वा खेतहरू पूरै बञ्जर वा मरुभूमि भए होलान्। (यशैया २४:१, ४; ३३:९; इजकिएल ६:१४) सिंह र चितुवाजस्ता मांसाहारी जना- वरहरूले तिनीहरूको देश भरिए होलान्। (१ राजा १३:२४-२८; २ राजा १७:२५, २६; श्रेष्ठगीत ४:८) के थाह स्त्री पुरुष, केटाकेटी सबैलाई पछार्नसक्ने भालुहरू पनि प्रशस्त भए होलान्। (१ शमूएल १७:३४-३७; २ राजा २:२४; हितोपदेश १७:१२) अनि भाइपरजस्ता विषालु सर्प वा बिच्छीहरूलाई पनि नबिर्सनुहोस्। त्यस्ता विषालु जीवहरू पनि त्यहाँ प्रशस्त थिए होलान्। (उत्पत्ति ४९:१७; व्यवस्था ३२:३३; अय्यूब २०:१६; भजन ५८:४; १४०:३; लूका १०:१९) तपाईं पनि सा.यु.पू. ५३७ मा यहूदीहरूसँगै बाबेलबाट फर्किरहनुभएको भए शायद त्यस्तो ठाउँमा जान डराउनु हुन्थ्यो। निस्सन्देह, त्यो ठाउँ प्रमोदवन थिएन।
९. बाबेलबाट फर्कने यहूदीहरूले आशा र भरोसा राख्न मिल्ने आधार पाउनुको कारण के थियो?
९ तैपनि, आफ्ना उपासकहरूलाई तिनीहरूको देशसम्म पुऱ्याउने व्यक्ति अरू कोही नभई स्वयं यहोवा हुनुहुन्थ्यो र उहाँसित त्यस उजाड देशलाई पूर्णतः परिवर्तन गर्ने क्षमता छ। हाम्रो सृष्टिकर्ताले त्यसो गर्न सक्नुहुन्छ भनेर के तपाईं विश्वास गर्नुहुन्न? (अय्यूब ४२:२; यर्मिया ३२:१७, २१, २७, ३७, ४१) त्यसोभए, स्वदेश फर्केका यहूदी र तिनीहरूका भूमिलाई यहोवाले के गर्नुहुने थियो र के गर्नुभयो? परमेश्वरका आधुनिक समयका जनहरूका लागि त्यसले के अर्थ राख्छ? अनि तपाईंको वर्तमान र भविष्यलाई त्यसले कसरी असर गर्छ? यी प्रश्नहरूको जवाफ दिनुअघि आउनुहोस् त्यतिबेला के भयो, त्यो हेरौं।
परिस्थिति परिवर्तन हुँदा तिनीहरू आनन्दित भए
१०. यशैया ३५:१, २ ले कस्तो परिवर्तनको अगमवाणी गऱ्यो?
१० कोरेसले यहूदीहरूलाई आफ्नो निर्जन देशमा फर्कने अनुमति दिंदा के हुनेथियो? यसको जवाफका लागि यशैया ३५:१, २ मा उल्लिखित रोमाञ्चकारी भविष्यवाणी पढ्नुहोस्: “उजाड़ र निर्जल-भूमि हर्षित हुनेछ। मरुभूमि रमाउनेछ। वसन्तको फूलझैं त्यो फक्रनेछ। त्यो अत्यन्त प्रफुल्लित हुनेछ, र हर्षले गाउँदै रमाहट गर्नेछ। लबानोनको महिमा औ कर्मेल र शारोनको शोभा त्यसलाई दिइनेछ। तिनीहरूले परमप्रभुको महिमा र हाम्रा परमेश्वरको प्रताप देख्नेछन्।”
११. यशैयाले भूमिको कुन पक्षलाई उदाहरणस्वरूप चलाए?
११ बाइबलीय समयमा लबानोन, कर्मेल र शारोन हरियाली सौन्दर्यका लागि परिचित थिए। (१ इतिहास ५:१६; २७:२९; २ इतिहास २६:१०; श्रेष्ठगीत २:१; ४:१५; होशे १४:५-७) परमेश्वरको मदतद्वारा परिवर्तन हुने भूमिको वर्णन गर्न यशैयाले ती सौन्दर्यका प्रतीकहरूलाई चलाए। तर के यो माटोमा हुने परिवर्तन मात्र थियो? निस्सन्देह, थिएन!
१२. यशैया अध्याय ३५ को भविष्यवाणी मानिसहरूमा केन्द्रित छ भनेर हामी किन भन्नसक्छौं?
१२ यशैया ३५:२ ले भूमि ‘अत्यन्त प्रफुल्लित हुने र हर्षले गाउँदै रमाहट गर्नेबारे’ बताउँछ। माटो तथा बोटबिरुवाले साँच्चै “हर्षले गाउँदै रमाहट” गरेनन् भनेर हामीलाई थाहै छ। यद्यपि, बञ्जर भूमि उर्वर र उत्पादनशील हुँदा भने त्यसले मानिसहरूलाई त्यस्तो अनुभूति दिनसक्छ। (लेवी २३:३७-४०; व्यवस्था १६:१५; भजन १२६:५, ६; यशैया १६:१०; यर्मिया २५:३०; ४८:३३) भूमिमा जे-जस्ता वास्तविक परिवर्तनहरू भए, त्यस्तै परिवर्तन मानिसहरूमा पनि हुनेथियो। किनभने यो भविष्यवाणी मानिसहरूमा केन्द्रित छ। तसर्थ, यशैयाका शब्दहरू मुख्यतः बाबेलबाट फर्केर आउने यहूदीहरूमा हुने परिवर्तन र अझ विशेषगरि तिनीहरूको आनन्दसित सम्बन्धित थिए भन्ने यथोचित कारण हामीसित छ।
१३, १४. यशैया ३५:३, ४ ले मानिसहरूमा हुने कस्ता परिवर्तनहरूबारे अगमवाणी गऱ्यो?
१३ अतः, उपरोक्त कुरालाई ध्यानमा राख्दै आउनुहोस्, यहूदीहरू बाबेलबाट छुटकारा पाएर फर्केपछि कसरी यशैयाको भविष्यवाणी पूरा भयो, सो बुझ्न त्यस भविष्यवाणीका अझ रोमाञ्चकारी विवरणहरू केलाएर हेरौं। बाबेलबाट फर्केर आउने मानिसहरूमा हुने अन्य परिवर्तनहरूबारे पद ३ र ४ मा यशैया यसो भन्छन्: “कमजोर हातहरू बलिया बनाऊ, र दुर्बल घुँड़ाहरू सोझो पार। हृदय डरले भरिएकाहरूलाई भन, ‘साहस गर, न डराऊ। हेर, तिमीहरूका परमेश्वर बदला दिनलाई आउनुहुनेछ। परमेश्वर प्रतिफल दिनलाई आउनुहुनेछ। उहाँ आउनुहुनेछ, र तिमीहरूलाई बचाउनुहुनेछ।’”
१४ निर्जन भूमिलाई हराभरा बनाउन सक्नुहुने हाम्रा परमेश्वरले आफ्ना उपासकहरूप्रति यति धेरै चासो राख्नुहुन्छ भनेर थाह पाउँदा के हामी प्रोत्साहित हुँदैनौं र? कैदमा परेका यहूदीहरूले कमजोर महसुस नगरून्, निरुत्साहित नहोऊन् वा भविष्यबारे चिन्तित नहोऊन् भनेर उहाँ चाहनुहुन्थ्यो। (हिब्रू १२:१२) ती बन्दी यहूदीहरूको अवस्थालाई विचार गर्नुहोस्। तिनीहरूको भविष्यबारे परमेश्वरले गर्नुभएका प्रतिज्ञा नहुँदो हो त तिनीहरूसित आशावादी हुने कारणै हुने थिएन। तिनीहरू चलहल गर्न नमिल्ने, यहोवाको सेवामा सक्रिय हुन नसक्ने अँध्यारो कालकोठरीमा थुनिएझैं थिए। तिनीहरूले कहिल्यै ज्योति देख्न पाइएला भन्ने आशासमेत गरेका थिएनन् होला।—तुलना गर्नुहोस् व्यवस्था २८:२९; यशैया ५९:१०.
१५, १६. (क) बाबेलबाट फर्कने यहूदीहरूका लागि यहोवाले जे-जस्तो गर्नुभयो, त्यसको निष्कर्षमा हामी के भन्नसक्छौं? (ख) बाबेलबाट फर्कने यहूदीहरूले किन चमत्कारपूर्ण शारीरिक निवारणको आशा गरेका हुनसक्दैनन् र परमेश्वरले यशैया ३५:५, ६ अनुरूप के गर्नुभयो?
१५ तर, यहोवाले कोरेसलाई चलाएर तिनीहरूलाई आफ्नो घर फर्कन मुक्त पार्नुहुँदा त्यो स्थिति रहेन। हुन त, परमेश्वरले त्यतिबेला चमत्कारपूर्ण ढंगमा अन्धा, बहिरा वा लुलालंगडा यहूदीहरूलाई निको पार्नुभएको कुनै प्रमाण बाइबलमा छैन। तथापि, उहाँले त्योभन्दा महान् कार्य गर्नुभयो। उहाँले तिनीहरूलाई आफ्नो प्रिय भूमिमा पुनः स्वतन्त्रता र ज्योति दिनुभयो।
१६ साथै बाबेलबाट फर्किने यहूदीहरूले यहोवाबाट चमत्कारपूर्ण शारीरिक निवारणको आशा गरेका थिए भन्ने संकेत पनि पाइँदैन। इसहाक, शिमशोन वा एलीलाई पनि परमेश्वरले कुनै चमत्कारपूर्ण ढंगमा शारीरिक निवारण गर्नुभएको थिएन भनेर तिनीहरूले बुझेको हुनुपर्छ। (उत्पत्ति २७:१; न्यायकर्त्ता १६:२१, २६-३०; १ शमूएल ३:२-८; ४:१५) यद्यपि, ती यहूदीहरूले ईश्वरीय हातद्वारा आफ्नो परिस्थिति लाक्षणिक रूपमा परिवर्तन हुने आशा गरेका भए निरुत्साहित हुनुपर्ने थिएन। निस्सन्देह, पद ५ र ६ लाक्षणिक अर्थमा साँच्चै पूरा भयो। यशैयाले यसो भनेर सही भविष्यवाणी गरेका थिए: “तब अन्धाहरूका आँखा खोलिनेछन्, र बहिराहरूका कान उघारिनेछन्। तब लंगडा मृगझैं उफ्रनेछ, र गूंगाको जिब्रोले स्तुति गर्नेछ।”
आफ्नो भूमिलाई प्रमोदवनसरह बनाउने
१७. हामीले पाएको प्रमाणअनुसार यहोवाले कस्ता शारीरिक परिवर्तनहरू गर्नुभयो?
१७ यशैयाले निम्न शब्दहरूमा वर्णन गरे जस्तै परिस्थिति हुनु निस्सन्देह बाबेलबाट फर्कने ती यहूदीहरूका लागि रमाहटको कारण हुनेथियो: “किनकि उजाड़-स्थानमा पानी फूटेर निस्कनेछ, र मरुभूमिमा खोलाहरू बग्नेछन्। मृग-तृष्णा दह हुनेछ, र ओबानो भूमिमा पानीको मूल फूट्नेछन्। स्यालहरू बस्ने ठाउँमा काँस र कुशहरू उम्रनेछन्।” (यशैया ३५:६ख, ७) हुन त, अहिले हामी इजराएलभरि त्यस्तो अवस्था नदेखौंला। तर कुनै बेला यहूदा “रमणीय प्रमोदवन” थियो भनेर प्रमाणले देखाउँछ।a
१८. बाबेलबाट फर्केका यहूदीहरूले परमेश्वरका आशिष्हरू पाउँदा कस्तो प्रतिक्रिया देखाए होलान्?
१८ आनन्दित हुने कारणहरूबारे कुरा गर्ने हो भने, प्रतिज्ञा गरिएको देशमा पुनर्स्थापित हुन पाउँदा शेष यहूदीहरूले कस्तो महसुस गरे होलान्, त्यो सोच्नुहोस्। अब भने तिनीहरूले स्याल र अन्य जंगली जनावरहरूले भरिएको निर्जन भूमिलाई परिवर्तन गर्नसक्थे। तपाईंको प्रयत्नलाई परमेश्वरले आशिष् दिंदै हुनुहुन्छ भनेर थाह पाउनुभयो भने के तपाईंलाई त्यस्तो पुनर्स्थापनामा भाग लिन पाउँदा आनन्द लाग्ने थिएन र?
१९. बाबेलको कैदबाट फर्कन पाउने या नपाउने कुन अर्थमा शर्त थियो?
१९ तथापि, बाबेलको कैदमा परेका सबै यहूदीहरूले इच्छा गर्दैमा त्यस्तो आनन्ददायी पुनर्स्थापना गर्न फर्कन पाउने थिएनन् र केही फर्केनन् पनि। परमेश्वरले शर्त राख्नुभएको थियो। बाबेलको मूर्तिपूजक रीतिथितिहरूले दूषित भएकाहरूलाई स्वदेश फर्कने कुनै हक थिएन। (दानियल ५:१, ४, २२, २३; यशैया ५२:११) नता आफ्नै बेवकुफीले गलत काममा फस्नेहरूलाई नै त्यस्तो हक थियो। त्यस्ता सबैलाई अयोग्य ठहराइयो। अर्कोतर्फ परमेश्वरको स्तरअनुरूप चल्ने अनि उहाँले तुलनात्मक रूपमा पवित्र ठान्नुभएका जनहरू यहूदा फर्कनसक्थे। तिनीहरू पवित्र बाटोमा यात्रा गरेझैं स्वदेश फर्कनसक्थे। यस कुरालाई यशैयाले पद ८ मा यसरी स्पष्ट पारे: “त्यहाँ एउटा मूल बाटो हुनेछ, औ त्यो चाहिं पवित्र बाटो भनिनेछ। कोही अशुद्ध जन त्यसबाट भएर जान पाउनेछैन। तर उहाँ तिनीहरूसँग हुनुहुनेछ, बाटो हिंड्नेहरू मूर्ख भए तापनि भुलमा पर्नेछैनन्।”
२०. यहूदिया फर्कने यहूदीहरू किन बाटोमा डराउनु पर्दैनन् थिए र नतिजा के भयो?
२० बाबेलबाट फर्कने यी यहूदीहरूले जंगली जनावरजस्ता मानिसहरू वा अरूलाई लुट्न, मार्न घुम्दै हिंड्ने मानिसहरूको डफ्फासित डराउनु पर्दैनथियो। किन? किनभने आफूले मोल तिरेर छुटाउनुभएका मानिसहरूमाथि यहोवाले त्यस्तो कुनै विपत्ति हुन दिनु हुनेथिएन। अतः तिनीहरू आनन्ददायी प्रत्याशासहित आशावादी भएर यात्रा गर्नसक्थे। यशैयाले यस भविष्यवाणीको अन्तमा कसरी त्यो कुरा वर्णन गर्छन्, हेर्नुहोस्: “त्यहाँ कुनै सिंह हुनेछैन, नता कुनै हिंस्रक पशु त्यहाँ जानेछ। ती त्यहाँ पाइनेछैनन्। तर उद्धार पाएकाहरू त्यहाँ हिंड्नेछन्। अनि परमप्रभुले उद्धार गर्नुभएकाहरू फर्केर आउनेछन्। तिनीहरू सियोनमा गाउँदै आउनेछन्। तिनीहरूका अनुहारमा सदा आनन्द देखिनेछ। तिनीहरूले आनन्द र रमाहट प्राप्त गर्नेछन्, र शोक र सुस्केरा दूर हुनेछ।”—यशैया ३५:९, १०.
२१. यशैया अध्याय ३५ का पूर्ति भइसकेका पक्षहरूलाई आज हामीले कुन दृष्टिले हेर्नुपर्छ?
२१ कस्तो भविष्यसूचक दृश्य! यद्यपि, हाम्रो वर्तमान तथा भविष्यसित कुनै सम्बन्धै नभएजस्तो गरी यसलाई अतीतका कुरा वा सुन्दर कथा मात्र सम्झनु हुँदैन। तथ्य कुरा के हो भने, आज परमेश्वरका जनहरूबीच यो भविष्यवाणी अद्भुत ढंगमा पूर्ति भइरहेको हुँदा त्यसले हामी सबैलाई साँच्चै असर गर्छ। त्यसले हामीलाई आनन्दित भई रमाहट गर्ने ठोस कारणहरू दिन्छ। अहिले अनि भविष्यमा तपाईंको जीवनसित सम्बन्ध राख्ने यी पक्षहरू यसपछिको लेखमा छलफल गरिनेछ।
[फुटनोट]
a इजराएलको अध्ययनपश्चात् कृषि अर्थशास्त्री वाल्टर सी. लाउडरमिल्कले (सं.रा.सं.-का खाद्यान्न तथा कृषि संगठनका प्रतिनिधि) यस्तो निष्कर्षमा पुगे: “यो भूमि कुनै समय रमणीय प्रमोदवन थियो।” “रोमीहरूको समयदेखि” यता त्यो ठाउँको हावापानीमा उल्लेखनीय परिवर्तन नभएको र “पहिलेको हराभरा भूमि अहिले ‘मरुभूमिमा’ परिणत हुनुको कारण प्रकृति नभई मानिस हो भनेर पनि तिनले संकेत गरे।”
के तपाईंलाई सम्झना छ?
◻ यशैया अध्याय ३५ को पहिलो पूर्ति कहिले भयो?
◻ यशैया अध्याय ३५ को भविष्यवाणी पहिलो पटक पूरा हुँदा के नतिजा हुनेथियो?
◻ यहोवाले कसरी यशैया ३५:५, ६ पूरा गर्नुभयो?
◻ बाबेलबाट फर्कने यहूदीहरूले आफ्नो भूमि र परिस्थितिमा कस्ता परिवर्तनहरू अनुभव गरे?
[पृष्ठ ९-मा भएका चित्र]
पेट्राको भग्नावशेष, जहाँ एकताका एदोमीहरू बसोबास गर्थे
[स्रोत]
Garo Nalbandian
[पृष्ठ १०-मा भएका चित्र]
यहूदीहरू निर्वासनमा हुँदा यहूदियाका अधिकांश क्षेत्र बाघभालुजस्ता हिंस्रक जनावरहरूले भरिएको उजाडस्थानजस्तै भयो
[स्रोत]
Garo Nalbandian
Bear and Lion: Safari-Zoo of Ramat-Gan, Tel Aviv