साँचो शान्ति खोजिरहनुहोस्!
“जसले जीवनलाई प्रेम गर्न र असल दिनहरू देख्न इच्छा गर्दछ, . . . खराबीबाट फर्केर त्यो असल पछि लागोस्।” [“शान्ति प्राप्त गर्न खोजोस्,” NW]—१ पत्रुस ३:१०, ११.
१. यशैयाका कुन चिरपरिचित शब्दहरू निश्चयै पूरा हुनेछन्?
“तिनीहरूले आफ्ना आफ्ना तरवार पिटेर हलोको फाली र भाला चाहिं हँसिया बनाउनेछन्। एउटा जातिले अर्को जातिको विरुद्धमा तरवार उठाउनेछैन, औ तिनीहरूले अब उप्रान्त युद्ध गर्न सिक्नेछैनन्।” (यशैया २:४) यो चिरपरिचित पदलाई न्यु योर्कस्थित संयुक्त राष्ट्र संघको मुख्य कार्यालयअगाडि प्रदर्शित गरिएको भए तापनि त्यस संगठनले ती पदका शब्दहरूलाई व्यवहारमा उतार्न सकेको छैन। तथापि, त्यो उद्घोषणा यहोवा परमेश्वरको वचनको अंश हो, जो त्यसै खेर जाँदैन र पूरा भएरै छोड्छ।—यशैया ५५:१०, ११.
२. यशैया २:२, ३ अनुसार “पछिल्ला दिनमा” के हुनैपर्छ?
२ वास्तवमा, यशैया २:४ का शब्दहरू साँचो शान्तिबारे गरिएको अद्भुत भविष्यवाणीको अंश हुन्। र यो शान्ति हाम्रै समयमा छाउन लागेको छ। युद्ध र हातहतियार हुनेछैन भन्ने रोमाञ्चकारी प्रत्याशाहरू घोषणा गर्नुभन्दा अघि भविष्यवाणीले यसो भन्छ: “पछिल्ला दिनमा परमप्रभुको भवन बसालिएको पर्वत सबै पर्वतहरूभन्दा उच्च पारिनेछ। डाँड़ाहरूभन्दा माथि त्यो उच्च उठाइनेछ। सबै जातिहरू त्यहीतर्फ ओइरिएर आउनेछन्। जाति जातिका धेरै मानिसहरू त्यहाँ गएर भन्नेछन्, आऊ हामी परमप्रभुको पर्वतमा उक्लेर याकूबका परमेश्वरको भवनमा जाऔं। उहाँले हामीलाई आफ्नो मार्ग देखाउनुहुनेछ, र हामी उहाँको बाटोमा हिंड़नेछौं। किनकि शिक्षा चाहिं सियोनबाट, र परमप्रभुको वचन यरूशलेमबाटनै निस्कनेछन्।”—यशैया २:२, ३.
मानिसहरू शान्तिप्रिय बन्नसक्छन्
३. कुनै व्यक्ति झगडालुबाट शान्तिप्रिय कसरी हुनसक्छ?
३ याद गर्नुपर्ने कुरा के हो भने, मानिसहरूले शान्तिमय जीवन खोज्न सक्षम हुनअघि यहोवाबाट शिक्षा पाउनैपर्छ। यहोवाको शिक्षालाई ग्रहण गर्दा व्यक्तिको सोच्ने र कामकुरो गर्ने तरिकामा परिवर्तन आउनसक्छ। त्यसैले झगडालु व्यक्ति शान्तिप्रिय बन्छन्। यस्तो परिवर्तन कसरी हुन्छ? रोमी १२:२ मा यसो भनिएको छ: “यस संसारसित एकै चालका नहोओ, तर तिमीहरूको मनको परिवर्त्तनले तिमीहरू बदलियौ। औ परमेश्वरका असल, मनपर्ने र सिद्ध इच्छा के रहेछ भनी तिमीहरू जाँचेर पत्ता लगाओ।” हामी हाम्रो हृदय परमेश्वरको वचनका सिद्धान्त र उपदेशहरूले टन्न भरेर मन परिवर्तन गर्छौं वा अर्कै कुरातिर उत्प्रेरित गराउँछौं। नियमित बाइबल अध्ययन गर्दा यो परिवर्तन गर्ने मदत पाउनसक्छौं र हाम्रोनिम्ति यहोवाको इच्छा के रहेछ भनेर विश्वस्त हुनसक्छौं। त्यसो गर्दा हामी हिंड्नुपर्ने मार्ग स्पष्टसित देख्नसक्छौं।—भजन ११९:१०५.
४. कुनै व्यक्तिले शान्तिमय नयाँ व्यक्तित्व कसरी धारण गर्छ?
४ बाइबल सत्यले हाम्रो सोचाइलाई मात्र होइन तर कामकुरो र व्यक्तित्वलाई पनि परिवर्तन गर्छ। यसले हामीलाई प्रेरित पावलले आग्रह गरेझैं गर्न मदत दिन्छ: “तिमीहरूले अघिअघिको आचरणअनुसारको पुरानो मानिसलाई जो छलको लालसाअनुसार भ्रष्ट भएर जानेहुन्छ, त्याग, र आफ्नो मनको आत्मामा नयाँ होओ, र नयाँ मानिसलाई धारण गर, जो परमेश्वरअनुसार धार्मिकता र सत्यको पवित्रतामा सृष्टि भएको छ।” (एफिसी ४:२२-२४) आन्तरिक शक्तिले मनलाई उत्प्रेरित गराउँछ। यहोवा र उहाँको व्यवस्थाप्रति हाम्रो प्रेम गहिरिंदा यो मन परिवर्तन हुन्छ र शक्तिशाली बन्छ अनि यसले हामीलाई आध्यात्मिक र शान्तिप्रिय मानिस बनाउँछ।
५. येशूले चेलाहरूलाई दिनुभएको “नयाँ आज्ञा[ले]” कसरी तिनीहरूबीच शान्ति कायम गर्न योगदान पुऱ्याउँछ?
५ येशूले आफ्नो पार्थिव जीवनको अन्तिम घडीहरूमा चेलाहरूलाई दिनुभएको निर्देशनबाट यस्तो परिवर्तनको खाँचोबारे हामी बुझ्नसक्छौं: “एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिंदैछु, कि तिमीहरू आपसमा प्रेम गर, जस्तो मैले तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरूले पनि आपसमा प्रेम गर। यदि तिमीहरूले आपसमा प्रेम गऱ्यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्नेछन्।” (यूहन्ना १३:३४, ३५) ख्रीष्टको जस्तो यो निःस्वार्थ प्रेमले चेलाहरूलाई पक्का एकताको सूत्रमा बाँध्छ। (कलस्सी ३:१४) यो “नयाँ आज्ञा” स्वीकारेर जीवनमा उतार्न चाहनेहरूले मात्र परमेश्वरले प्रतिज्ञा गर्नुभएको शान्ति पाउनेछन्। आज त्यसो गर्ने कोही छ?
६. संसारका मानिसहरूबीच नभएको शान्ति किन यहोवाका साक्षीहरूले पाउँछन्?
६ यहोवाका साक्षीहरू विश्वभरिका आफ्ना भाइहरूलाई प्रेम गर्ने प्रयत्न गर्छन्। तिनीहरू संसारका विभिन्न राष्ट्रहरूबाट आएका भए तापनि संसारका विवादहरूमा मुछिंदैनन्। यहाँसम्म कि राजनैतिक र धार्मिक दबाब आइपर्दा पनि तिनीहरू त्यसो गर्दैनन्। एकताबद्ध मानिसहरूको हैसियतमा तिनीहरू यहोवाद्वारा सिकाइएका छन् र शान्तिमा रमाउँछन्। (यशैया ५४:१३) राजनैतिक झै-झगडाहरूमा तिनीहरू निष्पक्ष रहन्छन् र युद्धमा भाग लिंदैनन्। कतिपयले पहिलाको हिंसात्मक जीवन त्यागेका छन्। तिनीहरू ख्रीष्ट येशूको अनुकरण गरेर शान्तिप्रिय मसीही भएका छन्। अनि तिनीहरू तनमनले पत्रुसको यो सल्लाह पालन गर्छन्: “जसले जीवनलाई प्रेम गर्न र असल दिनहरू देख्न इच्छा गर्दछ, त्यसले आफ्नो जिब्रोलाई खराबीबाट, र आफ्ना ओठलाई छटेल कुरा बोल्नबाट जोगाओस्, औ खराबीबाट फर्केर त्यो असल पछि लागोस्।” [“शान्ति प्राप्त गर्न खोजोस्,” NW]—१ पत्रुस ३:१०, ११; एफिसी ४:३.
शान्ति प्राप्त गर्न खोजिरहेकाहरू
७, ८. युद्धहरू त्यागेर साँचो शान्ति खोज्नेहरू भएका मानिसहरूको उदाहरण दिनुहोस्। (तपाईंले चिन्नुभएका त्यस्ता अरू व्यक्तिबारे पनि बताउनुहोस्।)
७ उदाहरणका लागि, आतंकवाद विरुद्ध विशेष टोलीको भूतपूर्व अधिकारी रामी ओभेडलाई लेऔं। शत्रुहरू मार्न नै तिनले तालिम लिएका थिए। आफूले मन पराएकी केटी एसियावासी अर्थात् गैरयहूदी भएकोले तिनलाई विवाह नगरोस् भन्ने रब्बीले इच्छा गरेको थाह नपाउञ्जेल तिनी आफ्नो इस्राएल राष्ट्रको असाध्यै भक्त थिए। तिनले बाइबलमा सत्य खोज्न थाले। त्यसपछि तिनको सम्पर्क यहोवाका साक्षीहरूसित भयो। साक्षीहरूसित बाइबल अध्ययन गर्दा तिनले कट्टर देशभक्त हुनु हुँदैन भन्ने कुरा बुझे र विश्वस्त भए। मसीही प्रेम भनेको युद्धमा भाग नलिनु र हातहतियार नउठाउनु र सबै जातिको मानिसलाई प्रेम गर्न सिक्नु हो। “मेरो प्रिय भाइ, रामी!” भन्ने शब्दहरूद्वारा सुरु गरिएको मायालु पत्र पाउँदा तिनी चकित भए! त्यस्तो चकित हुनुपर्ने कुरा के थियो र? किनभने त्यो पत्र पठाउने व्यक्ति प्यालेस्टेनी साक्षी थिए। रामी भन्छन्, “मलाई त विश्वासै लागेन, किनभने प्यालेस्टेनीहरू त मेरा शत्रु थिए र तिनीहरूमध्ये एकले मलाई यहाँ ‘मेरो भाइ’ भनेर सम्बोधन गरिरहेका थिए।” अहिले रामी र तिनकी पत्नी परमेश्वरबाट साँचो शान्ति खोज्छन्।
८ अर्को उदाहरण हो गर्ग रोइटरको, जो दोस्रो विश्वयुद्धको दौडान रूसमाथि चढाइ गर्ने जर्मन सेना थिए। संसारमा आधिपत्य जमाउन हिटलरले गरेको आडम्बरी योजनाले तिनलाई अन्योलमा पाऱ्यो। युद्धबाट घर फर्केपछि तिनले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन सुरु गरे। तिनले यसो लेखे: “अन्ततः, मेरोलागि वास्तविकताको ढोका उघ्रिन थाल्यो। सम्पूर्ण रक्तपातको दोषी परमेश्वर हुनुहुन्न रहेछ भनेर बुझें। . . . आज्ञाकारी मानिसजातिको लागि उहाँले पृथ्वीभरि अनन्तकालीन आशिष्हरूसहितको पार्थिव प्रमोदवन स्थापित गर्ने इच्छा राख्नुभएको रहेछ भनेर थाह पाएँ। . . . हिटलरले आफ्नो ‘हजार वर्षीय जर्मनी राष्ट्रको’ धाक लगाए। तर तिनले १२ [वर्ष] सम्म मात्र शासन गरे, त्यो पनि कत्ति वीभत्स परिणामसहित! हिटलरले होइन तर ख्रीष्टले पृथ्वीमा हजार वर्षीय शासन स्थापित गर्न सक्नुहुन्छ र गर्नुहुनेछ।” लगभग ५० वर्ष अघिदेखि अहिलेसम्म गर्गले साँचो शान्तिको दूतको हैसियतमा पूर्ण-समय सेवकाई गरिरहेका छन्।
९. नाजी जर्मनीमा यहोवाका साक्षीहरूको अनुभवले तिनीहरू साहसी हुनुका साथै शान्तिप्रिय थिए भनेर कसरी प्रमाणित गर्छ?
९ नाजी शासनकालमा यहोवाका साक्षीहरूले जर्मनीमा निष्ठा र निष्पक्षता देखाएको ५० वर्ष नाघिसक्यो तर त्यसले अहिलेसम्म पनि परमेश्वरप्रति तिनीहरूको प्रेम र शान्तिको प्रमाण दिन्छ। वाशिंगटन डी.सी. स्थित युनाइटेड स्टेट्स हलोकस्ट मेमोरियल म्युजियमद्वारा प्रकाशित पुस्तिकाले बताउँछ: “यहोवाका साक्षीहरूले नाजी शासनकालमा अचाक्ली सतावट सहे। . . . यातना शिविरमा सतावट, दुर्व्यवहार र कहिलेकाहीं मृत्यु भोग्नुपर्दा पनि थुप्रै साक्षीहरूले साहस देखाएर सहकैदीहरूबाट आदर कमाए।” त्यसले अझ यसो भन्छ: “ती शिविरबाट रिहाइ हुँदा यहोवाका साक्षीहरूले आफ्नो काम निरन्तर गर्दै शिविरबाट बचेकाहरूलाई साक्षी बनाए।”
अझ ठूलो परिवर्तन
१० (क) साँचो शान्तिको लागि कुन ठूलो परिवर्तन आवश्यक छ? (ख) यसलाई दानियलको पुस्तकमा कसरी चित्रण गरिएको थियो?
१० के त्यसको अर्थ, मानिसहरूलाई मसीही निष्पक्षतामा विश्वास गर्न लगाएर सारा संसारमा शान्ति ल्याउन सकिन्छ भन्ने विश्वास यहोवाका साक्षीहरू गर्छन्? गर्दैनन्। पृथ्वीमा शान्ति स्थापित गर्नको लागि त अझ ठूलो परिवर्तनको खाँचो छ। त्यो के हो? त्यो हो, येशूले चेलाहरूलाई प्रार्थना गर्न सिकाउनुभएको परमेश्वरको त्यो राज्यले शासन गर्नको लागि फाटो ल्याउने, थिचोमिचो गर्ने र हिंसात्मक शासन पृथ्वीबाट हट्नैपर्छ। (मत्ती ६:९, १०) तर त्यो कसरी हुनेछ? दानियलले ईश्वरप्रेरित सपनामा ठूलो ढुंगाजस्तो परमेश्वरको राज्य, जो ‘मानिसको हातले फोरिएको होइन’ देखे। त्यस राज्यले पृथ्वीमाथि राज्य गरिरहेको मानव राजनीतिलाई प्रतिनिधित्व गर्ने अजङ्गको मूर्तिलाई चक्नाचूर पार्नेछ भनेर तिनले थाह पाए। त्यसपछि तिनले यसरी उद्घोषणा गरे: “ती राजाहरूका समयमा स्वर्गका परमेश्वरले एउटा राज्य खड़ा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, नता त्यसको राज्य अरू कुनै जातिको हातमा दिइनेछ। त्यसले यी सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ।”—दानियल २:३१-४४.
११. यहोवाले शान्तिको लागि आवश्यक परिवर्तन कसरी गर्नुहुन्छ?
११ संसारमा यति ठूलो परिवर्तन किन हुनेछ? किनभने पृथ्वीलाई प्रदूषित गर्ने र बिगार्नेहरू सबैलाई हटाएर पृथ्वी सफा गर्ने प्रतिज्ञा यहोवाले गर्नुभएको छ। (प्रकाश ११:१८) शैतान र त्यसको दुष्ट संसारको विरुद्ध यहोवाले गर्नुहुने धार्मिक युद्धमा यो परिवर्तन हुनेछ। प्रकाश १६:१४, १६ मा हामी यस्तो लेखिएको पाउँछौं: “चिह्नहरूका काम गर्ने ती [अशुद्ध प्रेरित अभिव्यक्तिहरू] भूतहरूका आत्मा हुन्। सर्वशक्तिमान् परमेश्वरको ठूलो दिनको लड़ाइँको निम्ति जम्मै पृथ्वीका राजाहरूलाई [राजनैतिक शासकहरू] जम्मा गर्नालाई तिनीहरू जान्छन्। औ तिनीहरूले तिनीहरूलाई हिब्रू भाषामा आरमागेडोन भन्ने ठाउँमा एक साथ जम्मा गरे।”
१२. आरमागेडोन कस्तो हुनेछ?
१२ आरमागेडोन कस्तो हुनेछ? यो आणविक विध्वंश वा मानिसहरूको कारणले हुने प्रकोपजस्तो हुनेछैन। यो त सारा मानव युद्धहरू अन्त गर्ने र यस्ता युद्धहरूलाई उक्साउने सबैलाई नष्ट गर्ने परमेश्वरको युद्ध हो। यो, शान्तिप्रियहरूलाई साँचो शान्ति दिने परमेश्वरको युद्ध हो। हो, परमेश्वरले उद्देश्य गर्नुभएझैं आरमागेडोन आउँदैछ। अबेर हुनेछैन। उहाँले आफ्ना भविष्यवक्ता हबकूकलाई यसो लेख्न प्रेरित गर्नुभयो: “त्यो दर्शन ठहराएको समयमा पूरा हुनेछ, त्यो पूरा हुने बेला चाँड़ै आउँदैछ, त्यसले धोका दिंदैन। त्यो पूरा हुनु ढीलो भए तापनि त्यसको बाटो हेर्दै बस्, किनभने त्यो निश्चय पूरा हुनेछ, त्यसले ढिलो गर्नेछैन।” (हबकूक २:३) हाम्रो मानव सोचाइमा त्यो ढिलो भएको जस्तो लाग्ला तर यहोवाको आफ्नै समय तालिका छ। यहोवाको पूर्वनिर्धारित समयमा आरमागेडोन सुरु हुनेछ।
१३. वास्तविक दोषी, शैतान अर्थात् दियाबललाई परमेश्वरले के गर्नुहुनेछ?
१३ यस निर्णायक कार्यले साँचो शान्तिको लागि बाटो तय गर्नेछ! पक्कापक्कीसित साँचो शान्ति स्थापित गर्ने हो भने अरू केही कुरा गर्नैपर्छ अर्थात् फाटो, घृणा र कलह मच्चाउने व्यक्तिलाई हटाउनैपर्छ। प्रेरित यूहन्नाले यो घटनालाई भविष्यसूचक दर्शनमा देखे, जुन प्रकाश २०:१-३ मा यसरी लिपिबद्ध छ: “अगाध खाँदको साँचो र एउटा ठूलो साङ्गलो हातमा लिएको एउटा दूत स्वर्गबाट ओर्लेर आएका मैले देखें। औ तिनले त्यस अजीङ्गरजस्तो जानवर, त्यो पुरानो सर्प, जो दियाबल र शैतान पनि हो, त्यसलाई पक्रेर एक हजार वर्षसम्म बाँधे, र हजार वर्ष भुक्तान नहोउञ्जेल त्यसले जाति जातिलाई फेरि नठगोस् भनेर तिनले त्यसलाई अगाध खाँदमा फालिदिए। औ त्यसलाई बन्द गरेर त्यसमाथि छाप लगाए। त्यसपछि त्यो केही समयको निम्ति फुकाइनुपर्छ।”
१४. शैतानमाथि यहोवाको विजयलाई कसरी वर्णन गर्न सकिन्छ?
१४ यो सपना मात्र नभई परमेश्वरको प्रतिज्ञा हो। अनि बाइबल भन्छ: “परमेश्वरलाई झूट बोल्न असम्भव छ।” (हिब्रू ६:१८) त्यसैले आफ्ना भविष्यवक्ता यर्मिया मार्फत यहोवाले यसो भन्न सक्नुभयो: “जसले घमण्ड गर्छ त्यसले यसो भनेर घमण्ड गरोस् ‘म परमप्रभुलाई बुझ्दछु, चिन्दछु औ उहाँनै परमप्रभु हुनुहुन्छ, जसले पृथ्वीमा दया, इन्साफ र धार्मिकताको व्यवहार गर्नुहुन्छ। किनभने यिनै कुरामा म प्रसन्न हुन्छु,’ परमप्रभु भन्नुहुन्छ।” (यर्मिया ९:२४) यहोवाले न्याय र धार्मिकताअनुसार कारवाही गर्नुहुन्छ अनि पृथ्वीमा शान्ति ल्याउनुहुन्छ र रमाउनुहुन्छ।
शान्तिका राजकुमार मार्फत शासन
१५, १६. (क) यहोवाले कसलाई राजाको हैसियतमा शासन गर्न छान्नुभएको छ? (ख) त्यस शासनलाई कसरी वर्णन गरिएको छ र यसमा को सम्मिलित हुनेछन्?
१५ यहोवाले आफ्नो शासन प्रबन्धअन्तर्गत बस्ने सबैलाई साँचो शान्ति हुन्छ नै भनेर पक्का गर्नाका लागि शान्तिका साँचो राजकुमार, येशू ख्रीष्टलाई शासनाधिकार दिनुभएको छ। त्यो कुरा यशैया ९:६, ७ मा यसरी भविष्यवाणी गरिएको छ: “हाम्रा निम्ति एउटा पुत्र दिइएको छ। शासन उहाँको हातमा हुनेछ। उहाँको नाउँ उदेकका युद्धि निकाल्नुहुने, पराक्रमी परमेश्वर, सनातनका पिता, शान्तिका राजकुमार कहलाइनेछ। उहाँको शासन र शान्तिको वृद्धिको अन्त चाहिं कहिल्यै हुनेछैन। . . . सेनाहरूका परमप्रभुको उत्तेजित जोशले यो गर्नेछ।” मसीहको शान्तिमय शासनबारे भजनरचयिताले पनि भविष्यसूचक ढंगमा यसो लेखे: “उसको दिनमा धर्मात्माहरूको फलिफाप हुनेछ। र जून रहुञ्जेल प्रशस्त शान्ति रहनेछ।”—भजन ७२:७.
१६ त्यसका साथै, ख्रीष्टका १,४४,००० आत्मा-अभिषिक्त भाइहरूले उहाँसितै स्वर्गमा शासन गरिरहेका हुनेछन्। ख्रीष्टसित शासन गर्ने यी सहशासकहरूबारे पावलले लेखे: “शान्तिका परमेश्वरले शैतानलाई चाँड़ैनै तिमीहरूका खुट्टामुनि कुल्चाउनुहुनेछ। हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरूसँग रहोस्।” (रोमी १६:२०) हो, युद्ध मच्चाउने शैतान अर्थात् दियाबलमाथि ख्रीष्टले विजय हासिल गर्नुहुँदा ती सहशासकहरूले स्वर्गबाट रमाहट गर्छन्।
१७. साँचो शान्ति पाउनको लागि हामीले के गर्नुपर्छ?
१७ अब प्रश्न उठ्छ, साँचो शान्ति पाउन तपाईंले के गर्नैपर्छ? साँचो शान्ति परमेश्वरबाट मात्र प्राप्त गर्न सकिन्छ र यसको लागि तपाईंले सकारात्मक पाइलाहरू चाल्नैपर्छ। तपाईंले शान्तिका राजकुमारलाई स्वीकारेर उहाँतर्फ फर्कनैपर्छ। यसले के देखाउँछ भने, तपाईंले ख्रीष्टलाई पापी मानवजातिको उद्धारक र मुक्तिदाताको रूपमा स्वीकार्नैपर्छ। येशू स्वयंले यी प्रख्यात शब्दहरू भन्नुभयो: “परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।” (यूहन्ना ३:१६) साँचो शान्ति र छुटकारा दिनुहुने व्यक्ति परमेश्वरको अभिकर्ता ख्रीष्ट येशू हुनुहुन्छ भनेर के तपाईं विश्वास गर्न चाहनुहुन्छ? शान्तिको ग्यारेन्टी दिनसक्ने अरू कुनै नाउँ स्वर्गमुनि छैन। (फिलिप्पी २:८-११) किन? किनभने येशू परमेश्वरको छानिएको जन हुनुहुन्छ। कुनै समय पृथ्वीमा आउनुभएको उहाँ शान्तिका महान् सन्देशवाहक हुनुहुन्छ। के तपाईं येशूको कुरा सुनेर उहाँको उदाहरण अनुसरण गर्नुहुनेछ?
१८. यूहन्ना १७:३ मा लिपिबद्ध येशूका शब्दहरूअनुरूप हामीले के गर्नुपर्छ?
१८ येशूले भन्नुभयो, “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात् येशू ख्रीष्टलाई चिनून् [ज्ञान लिउन्]।” (यूहन्ना १७:३) यो सही ज्ञान लिने समय अहिल्यै हो। र त्यसको लागि राज्यभवनमा हुने यहोवाका साक्षीहरूका सभाहरू नियमित धाउनुहोस्। यी शैक्षिक सभाहरूले तपाईंलाई आफूले प्राप्त गरेको ज्ञान र आशा अरूलाई बताउन उत्प्रेरित गर्नेछ। तपाईं पनि परमेश्वरको शान्तिको सन्देशवाहक हुन सक्नुहुन्छ। यशैया २६:३ मा बताएअनुसार यहोवा परमेश्वरमा भरोसा गरेर तपाईंले अहिले शान्ति पाउनसक्नुहुन्छ: “जसको मन तपाईंमा अडिएको छ, त्यसलाई तपाईंले पूरा शान्तिमा राख्नुहुनेछ, किनभने त्यसले तपाईंमाथि भरोसा राख्छ।” तपाईंले कसलाई भरोसा गर्नुपर्छ? बाइबल भन्छ, “सधैं परमप्रभुमा भरोसा राख, किनभने परमप्रभु परमेश्वर सनातनको चटान हुनुहुन्छ।”—यशैया २६:४.
१९, २०. आज शान्ति खोजिरहनेहरूले के पाउनेछन्?
१९ परमेश्वरको शान्तिमय नयाँ संसारमा अनन्त जीवन पाउनको लागि अहिल्यै तम्तयार हुनुहोस्। परमेश्वरको वचन, प्रकाश २१:३, ४ मा हामीलाई यस्तो आश्वासन दिइएको छ: “हेर, परमेश्वरको बासस्थान मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहाँका मानिसहरू हुनेछन्। औ परमेश्वर आफै तिनीहरूसँग भएर तिनीहरूका परमेश्वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्।” के त्यो तपाईंले चाहनुभएकै जस्तो शान्तिमय भविष्य होइन र?
२० त्यसोभए, परमेश्वरले प्रतिज्ञा गर्नुभएको कुरा सम्झनुहोस्। “नम्रहरूले देश अधिकार गर्नेछन्। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्। सिद्ध मानिसलाई दृष्टि लगा, र धर्मात्मालाई हेर्, किनभने त्यस्ता मानिसको आखिरको अवस्था शान्तिमय हुन्छ।” (भजन ३७:११, ३७) त्यस खुशियाली क्षण छाउँदा हामी यसरी कृतज्ञताका शब्दहरू व्यक्त गर्न सकौं, “अन्ततः साँचो शान्ति! साँचो शान्तिको स्रोत यहोवा परमेश्वरलाई धन्यवाद!”
के तपाईं व्याख्या गर्न सक्नुहुन्छ?
◻ कुनै व्यक्तिको सोचाइ र कामकुरोमा परिवर्तन गर्न के ले मदत दिनसक्छ?
◻ यहोवाका साक्षीहरूले साँचो शान्तिको लागि व्यक्तिगत र सामूहिक तवरमा कसरी प्रेम प्रदर्शित गरेका छन्?
◻ घृणा र युद्ध मच्चाउने सबैलाई यहोवाले के गर्नुहुनेछ?
◻ शान्तिका राजकुमारको शासनले मानिसजातिको निम्ति के गर्नेछ?
[पृष्ठ १४-मा भएको चित्र]
संयुक्त राष्ट्र संघले होइन तर यहोवाका शिक्षा स्वीकार्नेहरूले यशैयाका शब्दहरू पूरा गर्छन्
[पृष्ठ १५-मा भएको चित्र]
शान्ति प्राप्त गर्न यी दुइ मानिसले जीवनमा परिवर्तन गरे
रामी ओभेड
गर्ग रोइटर
[पृष्ठ १६-मा भएको चित्र]
शान्तिका राजकुमारको शासनअन्तर्गत साँचो शान्ति व्याप्त हुनेछ