अध्याय तेह्र
यहोवाको सिंहासनअगाडि एक ठूलो भीड
१. (क) परमेश्वरका मसीहीपूर्व सेवक वा १,४४,००० ले आफ्नो इनाम पाउनुअघि के भोग्नै पर्छ? (ख) अहिले बाँचिरहेका “ठूलो भीड[को]” लागि के सम्भव हुनेछ?
परमेश्वरका वफादार सेवकहरू, हाबिलदेखि लिएर बप्तिस्मा दिने यूहन्नाले परमेश्वरको इच्छा गर्नुलाई आफ्नो जीवनमा प्राथमिकता दिए। यद्यपि, तिनीहरू सबै मरे र परमेश्वरको नयाँ संसारमा पृथ्वीमा पुनरुत्थान हुने प्रतीक्षा गरिरहेका छन्। परमेश्वरको स्वर्गीय राज्यमा ख्रीष्टसित शासन गर्ने १,४४,००० ले आफ्नो इनाम पाउनुअघि मृत्यु भोग्नै पर्छ। तथापि, प्रकाश ७:९ ले देखाएअनुसार यी आखिरी दिनमा हरेक जातिबाट आएको “एक ठूलो भीड” हुनेछ जसले मृत्यु भोग्नुपर्ने छैन तर पृथ्वीमा सधैंभरि बाँच्ने प्रत्याशा पाउनेछन्। के तपाईं तिनीहरूमध्ये हुनुहुन्छ?
ठूलो भीडलाई चिन्ने
२. प्रकाश ७:९ मा वर्णन गरिएको ठूलो भीडको चिनारी कसरी स्पष्ट पारियो?
२ सन् १९२३ मा यहोवाका सेवकहरूले मत्ती २५:३१-४६ मा दिइएको उखानको “भेडा” र यूहन्ना १०:१६ मा उल्लेख गरिएको “अरू भेडा” पृथ्वीमा सधैंभरि बाँच्ने मौका पाउने मानिसहरू हुन् भनेर बुझे। इजकिएल ९:१-११ मा वर्णन गरिएअनुसार निधारमा चिनो लगाइएकाहरू पार्थिव आशा भएकाहरू हुन् भनेर सन् १९३१ मा प्रकट गरियो। त्यसपछि, ठूलो भीड भनेको येशूले अरू भेडा भनेर सम्बोधन गर्नुभएको समूह हो भनेर १९३५ मा थाह भयो। आज, यस अनुग्रह प्राप्त ठूलो भीडको संख्या लाखौं पुगिसकेको छ।
३. ‘सिंहासनको अगाडि उभिरहेका’ भन्ने अभिव्यक्तिले किन स्वर्गमा जाने समूहलाई बुझाउँदैन?
३ प्रकाश ७:९ मा वर्णन गरिएअनुसार ठूलो भीड स्वर्गमा खडा भएजस्तो देखिंदैन। परमेश्वरको ‘सिंहासनअगाडि उभिन’ तिनीहरू स्वर्गमै हुनु पर्दैन। तिनीहरू केवल परमेश्वरको नजरमा छन्। (भजन ११:४) “कसैले गन्न नसक्ने” ठूलो भीड स्वर्गमा जाने समूह होइन भनेर प्रकाश ७:४-८ र प्रकाश १४:१-४ मा तोकेरै बताइएको संख्या तुलना गरेर हेर्दा बुझ्न सक्छौं। पृथ्वीबाट स्वर्गमा जान किनिएकाहरूको संख्या १,४४,००० हो भनेर उक्त पदहरूमा प्रस्टै बताइएको छ।
४. (क) ठूलो भीडले पार गर्ने “महा संकष्ट” के हो? (ख) प्रकाश ७:११, १२ मा बताइएझैं ठूलो भीडलाई कसले हेरिरहेको छ र तिनीहरूलाई उपासनामा कसले साथ दिन्छन्?
४ प्रकाश ७:१४ ले ठूलो भीडबारे यसो भन्छ: “यी तिनै हुन् जो महा सङ्कष्टबाट आएका छन्।” तिनीहरू मानव इतिहासले अहिलेसम्म कहिल्यै नभोगेको समस्याबाट बच्छन्। (मत्ती २४:२१) तिनीहरू कृतज्ञ भई आफ्नो उद्धारको श्रेय परमेश्वर र ख्रीष्टलाई दिंदा स्वर्गका सबै विश्वासी प्राणीहरू एकताबद्ध भई यसो भन्नेछन्: “आमिन, हाम्रा परमेश्वरलाई प्रशंसा, महिमा, ज्ञान, धन्यवाद, आदर, शक्ति र सामर्थ्य सदा सर्वदा होस्। आमिन।”—प्रकाश ७:११, १२.
योग्य प्रमाणित गर्ने
५. ठूलो भीडको भाग हुन के गर्नुपर्छ भनेर हामी कसरी निर्धारण गर्न सक्छौं?
५ महासंकष्टबाट ठूलो भीडको बचाउ यहोवाको धार्मिक स्तरअनुरूप हुन्छ। यसरी बचाइनेहरूको चिनारी बाइबलमा स्पष्टसित बताइएको छ। तसर्थ, धार्मिकतालाई प्रेम गर्नेहरूले बचाउको लागि योग्य ठहरिन अहिल्यै कदम चालिहाल्न सक्छन्। यी जनहरूले के गर्नुपर्छ?
६. ठूलो भीडलाई भेडासित दाँज्नु किन उचित छ?
६ भेडाहरू कोमल स्वभावका र आज्ञाकारी हुन्छन्। येशूले स्वर्गीय आशा नभएको उहाँका अरू भेडा पनि छन् भन्नुहुँदा पृथ्वीमा सधैंभरि बाँच्न चाहनेहरू मात्र नभई उहाँका शिक्षाहरूप्रति आज्ञाकारी हुने मानिसहरूबारे बताउँदै हुनुहुन्थ्यो। उहाँले भन्नुभयो, “मेरा भेडाहरूले मेरो सोर सुन्छ, र म तिनीहरूलाई चिन्छु, र तिनीहरूले मलाई पछ्याउँछ।” (यूहन्ना १०:१६, २७) यी मानिसहरू येशूले भन्नुभएको कुरा सुनेर आज्ञाकारी भई उहाँका चेला बन्नेहरू हुन्।
७. येशूका अनुयायीहरूले कस्ता गुणहरू विकास गर्नुपर्नेछ?
७ येशूका यी चेलाहरू सबैले अरू कस्ता गुणहरू विकास गर्नुपर्नेछ? परमेश्वरको वचन यस्तो जवाफ दिन्छ: “तिमीहरूले अघिअघिको आचरणअनुसारको पुरानो मानिसलाई . . . त्याग, . . . नयाँ मानिसलाई घारण गर, जो परमेश्वरअनुसार धार्मिकता र सत्यको पवित्रतामा सृष्टि भएको छ।” (एफिसी ४:२२-२४) तिनीहरू “प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वस्तता, नम्रता, संयम[जस्ता]” परमेश्वरका सेवकहरूको एकता अझ बलियो बनाउने गुणहरू विकास गर्छन्।—गलाती ५:२२, २३.
८. शेष जनलाई समर्थन गर्दा ठूलो भीडले कस्तो अवस्था भोग्नेछ?
८ प्रचारकार्यमा नेतृत्व लिने अनि स्वर्गमा जाने आशा भएका सानो बगाललाई ठूलो भीडले सघाउँछन्। (मत्ती २४:१४; २५:४०) ख्रीष्ट येशू र उहाँका स्वर्गदूतहरूले शैतान तथा त्यसका प्रेतहरूलाई स्वर्गबाट बाहिर फ्याँकिदिनुभएको छ। त्यसकारण, यी आखिरी दिनको सुरुवातमा सतावट भोग्नुपर्नेछ भनेर थाह भए तापनि अरू भेडाले सानो बगाललाई समर्थन गर्छन्। यसको मतलब “पृथ्वी[लाई] . . . धिक्कार छ, किनभने आफ्नो अल्प समय थाह पाएर शैतान ठूलो क्रोधसँग तिमीहरूकहाँ तल गएको छ।” (प्रकाश १२:७-१२) यसरी शैतानले यस रीतिरिवाजको अन्त झन्-झन् नजिकिंदै जाँदा परमेश्वरका सेवकहरूमाथि अझ तीव्र दबाब दिन थाल्छ।
९. सुसमाचार प्रचार गर्न परमेश्वरका सेवकहरू कत्तिको सफल भएका छन् र किन?
९ क्रूर सतावटको बावजुद प्रचारकार्य अघि बढिरहन्छ। प्रथम विश्वयुद्धको अन्तमा केही हजारको संख्यामा भएका राज्य प्रचारकहरू अहिले लाखौं भइसकेका छन् किनभने यहोवाले यस्तो प्रतिज्ञा गर्नुभएको छ: “तेरो विरुद्धमा उठ्ने जोसुकैलाई पनि तैंले हराउनेछस्।” (यशैया ५४:१७) यहूदी महासभाका सदस्यले समेत परमेश्वरको कार्यलाई रोक्न सकिंदैन भनी मानिलिए। तिनले चेलाहरूबारे प्रथम शताब्दीका फरिसीहरूलाई यसो भने: “यिनीहरूलाई छोडिदिनुहोस्, किनकि यिनीहरूको यो मत, अथवा यो काम मानिसहरूबाट रहेछ भने त्यो आफै मेटिनेछ। तर यदि परमेश्वरबाटै भएको रहेछ भनेता तपाईंहरूले तिनलाई मेटाउन सक्नुहुन्न, नत्रता तपाईंहरू परमेश्वरका विरुद्धमा चलेको ठहरिनुहोला।”—प्रेरित ५:३८, ३९.
१०. (क) ठूलो भीडका मानिसहरूलाई लगाइएको “चिन्ह[को]” अर्थ के हो? (ख) परमेश्वरका सेवकहरू ‘स्वर्गबाट निस्केको आवाज’ कसरी पालन गर्छन्?
१० ठूलो भीडका सदस्यहरू बचाउको लागि चिह्न लगाइएकाहरू हुन् भनी चित्रण गरिएको छ। (इजकिएल ९:४-६) यो “चिन्ह” भनेको तिनीहरू यहोवाप्रति समर्पित, येशूका चेलाको हैसियतमा बप्तिस्माप्राप्त र ख्रीष्टको जस्तो व्यक्तित्व खेती गर्नेहरू हुन् भन्ने प्रमाण हो। तिनीहरूले शैतानको झूटो धर्मको विश्वव्यापी साम्राज्यबारे “स्वर्गबाट यसो भन्ने आवाज” पालन गर्छन्: “हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ। त्यसका पापसँग तिमीहरूको केही संगत हुन नपाओस्। त्यसका विपत्तिहरू तिमीहरूले भोग्न नपरोस्।”—प्रकाश १८:१-५.
११. ठूलो भीडकाहरूले आफू यहोवाको सेवक हुँ भन्ने कुरा कसरी प्रत्यक्ष ढंगमा देखाउँछन्?
११ साथै, येशूले आफ्ना अनुयायीहरूलाई यसो भन्नुभयो: “तिमीहरूले आपसमा प्रेम गऱ्यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्नेछन्।” (यूहन्ना १३:३५) यसको विपरीत, संसारका अरू धर्मका अनुयायीहरू अरूको राष्ट्रियता आफ्नोभन्दा बेग्लै भएको आधारमा मात्र पनि तिनीहरूलाई युद्धमा मार्छन्! परमेश्वरको वचन यसो भन्छ: “परमेश्वरका सन्तान र शैतानका सन्तान यसैबाट प्रष्ट हुन्छ, उचित काम नगर्ने र आफ्नो भाइलाई प्रेम नगर्ने हरेक परमेश्वरबाटको हुँदैन। . . . हामीले एउटाले अर्कोसँग प्रेम गर्नुपर्छ। कयिनजस्तै ता होइन, जो दुष्टबाटको थियो, र जसले आफ्नो भाइलाई माऱ्यो।”—१ यूहन्ना ३:१०-१२.
१२. महासंकष्टमा यहोवाले खराब फल फलाउने धार्मिक ‘रूखहरूलाई’ के गर्नुहुनेछ?
१२ येशूले यस्तो घोषणा गर्नुभयो: “हरेक असल रूखले बढिया फल फलाउँछ। तर बिग्रेको रूखले खराब फल फलाउँछ। असल रूखले खराब फल फलाउनसक्तैन, नता बिग्रेका रूखले असल फल फलाउनसक्तछ। बढिया फल नफलाउने हरेक रूख काटी ढालिन्छ, र आगोमा फालिन्छ। यसकारण तिनीहरूका फलबाटनै तिमीहरूले तिनीहरूलाई चिन्नेछौ।” (मत्ती ७:१७-२०) यस संसारका धर्महरूले फलाउने फलले तिनीहरू खराब ‘रूखहरू’ हुन् भनी देखाउँछ अनि यहोवाले तिनीहरूलाई चाँडै महासंकष्टमा नाश गर्नुहुनेछ।—प्रकाश १७:१६.
१३. ठूलो भीडले तिनीहरू एकताबद्ध भई यहोवाको ‘सिंहासनअगाडि उभिरहेका’ छन् भनेर कसरी देखाउँछ?
१३ प्रकाश ७:९-१५ ले ठूलो भीडको बचाउ हुने पक्षहरूमा ध्यानाकर्षण गर्छ। तिनीहरू एकताबद्ध भई यहोवाको ‘सिंहासनअगाडि उभिएर’ उहाँको विश्वव्यापी सार्वभौमिकतालाई उच्च पारिरहेको देखाइएको छ। तिनीहरूले “आफ्ना आफ्ना लुगाहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्” र यसबाट तिनीहरू पाप प्रायश्चित गर्ने येशूको बलिदानलाई स्वीकार्छन् भनेर प्रस्ट हुन्छ। (यूहन्ना १:२९) तिनीहरूले आफ्नो जीवन परमेश्वरलाई समर्पण गरेको कुरा पानीको बप्तिस्माद्वारा प्रकट गरेका छन्। त्यसकारण, तिनीहरू परमेश्वरसमक्ष सफा अन्तस्करण लिएर उभिन सक्छन् भन्ने कुरा तिनीहरूको सेतो लुगाले चित्रण गर्छ र तिनीहरू उहाँको मन्दिरमा ‘दिन रात सेवा’ गर्छन्। यहाँ वर्णन गरिएअनुसार के तपाईंको जीवनमा अझ बढी छाँटकाँट गर्न सकिने तरिकाहरू छन्?
अहिले लाभहरू
१४. यहोवाका सेवकहरूले अहिले पनि आनन्द उठाइरहेका केही अनुपम लाभहरू के-के हुन्?
१४ यहोवाको सेवा गर्नेहरूले अहिले पनि अनुपम लाभहरू उठाइरहेको तपाईंले देख्नुभएको होला। उदाहरणका लागि, तपाईंले यहोवाका धार्मिक उद्देश्यहरूबारे सिक्नुहुँदा भविष्यको लागि उज्ज्वल आशा छ भनेर बुझ्नुभयो। त्यसकारण, अब तपाईंको जीवनको साँचो उद्देश्य छ र त्यो हो, पार्थिव प्रमोदवनमा अनन्त जीवन बिताउने आनन्दमय प्रत्याशा राखेर साँचो परमेश्वरको सेवा गर्ने। हो, राजा येशू ख्रीष्टले “[ठूलो भीडलाई] जीवनका पानीहरूका फोहोरासम्म अगुवा भएर लानुहुनेछ।”—प्रकाश ७:१७.
१५. राजनैतिक र नैतिक विवादमा बाइबलका सिद्धान्तहरू पालन गरेर यहोवाका साक्षीहरूले कसरी लाभ उठाएका छन्?
१५ ठूलो भीडले उपभोग गरिरहेको अद्भुत लाभ पृथ्वीमा भएका यहोवाका सेवकहरूबीच पाइने प्रेम, एकता र मिलाप हो। सबैले एउटै आध्यात्मिक प्रबन्धबाट लाभ उठाउने हुँदा हामी परमेश्वरको वचनमा दिइएका नियम तथा सिद्धान्तहरू पालन गर्छौं। त्यसैकारण, हामी राजनैतिक वा राष्ट्रिय सिद्धान्तहरूको कारण विभाजित छैनौं। साथै, हामी परमेश्वरले आफ्ना जनहरूबाट चाहनुहुने उच्च नैतिक स्तर पालन गर्छौं। (१ कोरिन्थी ६:९-११) तसर्थ, यस संसारमा व्याप्त तनाव, विभाजन र अनैतिकताको बावजुद यहोवाका जनहरूले आध्यात्मिक तवरमा प्रमोदवनरूपी अवस्थाको आनन्द उठाउँछन्। यो कुरा यशैया ६५:१३, १४ मा कसरी वर्णन गरिएको छ, ध्यान दिनुहोस्।
१६. जीवनमा आइपर्ने समस्याहरूको बावजुद ठूलो भीडले कस्तो आशा राखेको छ?
१६ यहोवाका सेवकहरू सिद्ध मानिसहरू होइनन्। अनि तिनीहरू संसारमा अरू मानिसहरूले जस्तै समस्याहरू भोग्छन्, कठिनाइ सहन्छन् वा राष्ट्रहरूबीचको युद्धमा निर्दोष सिकार बन्न पुग्छन्। तिनीहरू बिरामी हुन्छन्, दुःखकष्ट भोग्छन् अनि मृत्युका सिकार हुन्छन्। तर नयाँ संसारमा परमेश्वरले “तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक रुवाइ, पीडा फेरि केही हुनेछैन” भनेर विश्वस्त छन्।—प्रकाश २१:४.
१७. अहिले हामीले जस्तोसुकै अवस्था भोग्नुपरे तापनि साँचो परमेश्वरको उपासना गर्नेहरूसामु कस्तो भविष्य छ?
१७ तपाईंले अहिले वृद्धावस्था, बिमारी, दुर्घटना वा सतावटको कारण आफ्नो ज्यान गुमाउनुपरे तापनि यहोवाले तपाईंलाई प्रमोदवनमा पुनरुत्थान गर्नुहुनेछ। (प्रेरित २४:१५) तब तपाईंले ख्रीष्टको सहस्र शासनमा आध्यात्मिक भोजको आनन्द उठाउन सक्नुहुनेछ। परमेश्वरका उद्देश्यहरूको महान् पूर्ति हुँदा उहाँप्रति तपाईंको प्रेम अझ प्रगाढ हुनेछ। अनि यहोवाले प्रदान गर्नुहुने भौतिक आशिष्हरूको कारण उहाँप्रति तपाईंको प्रेम अझ गहिरो हुनेछ। (यशैया २५:६-९) परमेश्वरका जनहरूसामु कस्तो अद्भुत भविष्य छ!
पुनरावृत्ति छलफल
• बाइबलले वर्णन गरेअनुसार ठूलो भीडले कस्तो असामान्य अवस्था भोग्नेछन्?
• हामी ईश्वरीय अनुमोदनप्राप्त ठूलो भीडमा साँच्चै सामेल हुन चाहन्छौं भने अहिले के गर्नुपर्छ?
• ठूलो भीडले अहिले अनि परमेश्वरको नयाँ संसारमा आनन्द उठाउने आशिष्हरू तपाईंको लागि कत्तिको महत्त्वपूर्ण छन्?
[पृष्ठ १२३-मा भएको चित्र]
ठूलो भीडका लाखौं मानिसहरू एकताबद्ध भई साँचो परमेश्वरको उपासना गरिरहेका छन्