अध्याय १६
परमेश्वरको सरकारले आफ्नो शासन शुरू गरेको छ
१. (क) विश्वासी जनहरूले धेरै समय देखिन् के कुराको आशा गरिरहेका छन्? (ख) परमेश्वरको राज्यलाई एउटा “शहर” किन भनेको?
हजारौं वर्ष देखिन् परमेश्वरको सरकारमा विश्वास गर्नेहरू, त्यस सरकारले शासन शुरू गर्ने समयको प्रतीक्षा गरिरहेका छन्। उदाहरणकालागि, बाइबल भन्दछ कि विश्वासी अब्राहाम “त्यही जग भएको शहरको प्रतीक्षा गर्द थिए, जसको बनाउने र निर्माण गर्ने परमेश्वरनै हुनुहुन्छ।” (हिब्रू ११:१०) त्यो “शहर” परमेश्वरको राज्य हो। तर त्यसलाई यहाँ “शहर” किन भनिएको? किन भने पुरानो समयमा एउटा राजाले एउटा शहरमाथि शासन गर्ने साधारण कुरा थियो। त्यसैले अक्सर मानिसहरू एउटा शहरलाई एउटा राज्य ठान्दथिए।
२. (क) ख्रीष्टका प्रारम्भिक चेलाहरूकालागि राज्य एउटा वास्तविकता थियो भनेर के कुराले जनाउँदछ? (ख) तिनीहरू त्यसवारे के जान्न चाँहन्थिए?
२ ख्रीष्टका प्रारम्भिक अनुयायीहरूकालागि परमेश्वरको राज्य वास्तविक थियो। त्यस राज्य प्रति तिनीहरूको तीब्र चासोले यस कुरालाई जनाउँदछ। (मत्ती २०:२०-२३) तिनीहरूको दिमागमा एउटा प्रश्न थियो: ख्रीष्ट र उहाँका चेलाहरूले कहिले देखिन शासन शुरू गर्ने हुन्? एक पटक येशू आफ्नो पुनरुत्थान पछि चेलाहरूको सामुन्ने प्रकट हुँदा, तिनीहरूले उहाँलाई सोधे: “हे प्रभु, के तपाईंले यसै बखत इस्राएललाई राज्य फर्काइ दिनुहुनेछ?” (प्रेरित १:६) परमेश्वरको सरकारको राजा भएर कहिले देखिन् ख्रीष्टले शासन शुरू गर्नु हनेछ भनेर जान्न, ख्रीष्टका चेलाहरू जस्तै के तपाईं पनि उत्सुक हुनुहुन्छ?
त्यो सरकार जसकालागि मसीहीहरू प्रार्थना गर्दछन्
३, ४. (क) परमेश्वरले सदा राजाको रूपमा शासन गर्नु भएको छ भनेर के ले देखाउँछ? (ख) अत: परमेश्वरको राज्य आओस् भनेर प्रार्थना गर्न ख्रीष्टले आफ्ना चेलाहरूलाई किन सिकाउँनु भयो?
३ ख्रीष्टले परमेश्वरसँग प्रार्थना गर्न आफ्ना चेलाहरूलाई सिकाउनु भयो: “तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमाझैं पृथ्वीमा पूरा होस्।” (मत्ती ६:९, १०) तर कसैले सोध्न सक्छ: ‘के यहोवा परमेश्वरले सँधै राजा भएर शासन गर्नु भएको छैन र? र यदि छ भने, उहाँको राज्य आओस् भनेर प्रार्थना किन गर्ने?’
४ यो सत्य हो, बाइबलमा यहोवालाई “अनन्तको राजा” भनिएको छ। (१ तिमोथी १:१७) र बाइबलले अरू पनि भन्दछ: “परमप्रभुले (यहोवाले, न्यु.व.) ता आफ्नो सिंहासन स्वर्गमा स्थापित गराउनु भएको छ र उहाँको राज्य सबैमाथि छ।” (भजन संग्रह १०३:१९) त्यसकारण, यहोवा सँधैनै आफ्नो सृष्टिमाथि सर्वोच्च शासक हुनुहुन्छ। (यर्मिया १०:१०) तथापि, अदनको बगैंचामा उहाँको प्रभुत्वको विरुद्धमा विद्रोह भएको हुनाले, परमेश्वरले एउटा विशेष सरकारको व्यवस्था गर्नु भयो। त्यो त्यही सरकार हो जसकालागि प्रार्थना गर्नु भनेर येशू ख्रीष्टले पछि आफ्ना चेलाहरूलाई सिकाउनु भयो। शैतान अर्थात दियावल तथा अरूहरू परमेश्वरको प्रभुत्वबाट विमुख भएको कारण उत्पन्न समस्याहरूको अन्त गर्ने यसको उद्देश्य हो।
५. यदि त्यो परमेश्वरको राज्य हो भने त्यसलाई ख्रीष्टको राज्य र १४४,००० को राज्य किन भनेको?
५ यो नया राज्य सरकारले आफ्नो शक्ति र शासनगर्ने अधिकार, महान राजा यहोवा परमेश्वरबाट पाउँदछ। यो उहाँकै राज्य हो। बारम्बार बाइबलले यसलाई “परमेश्वरको राज्य” भन्दछ। (लूका ९:२, ११, ६०, ६२; १ कोरिन्थी ६:९, १०; १५:५०) तथापि, यहोवाले आफ्नो छोरालाई यसको प्रमुख शासक बनाएको हुनाले, यसलाई ख्रीष्टको राज्य पनि भनिन्छ। (२ पत्रुस १:११) अगाड़िका अध्यायबाट हामीहरूले सिकेका छौं, यस राज्यमा मानवजातिबाट लिइएका १४४,००० जनाले ख्रीष्ट सँग-सँगै राज्य गर्नेछन्। (प्रकाश १४:१-४; २०:६) त्यसकारण, बाइबलले यस राज्यलाई “तिनीहरूका राज्य” पनि भन्दछ।—दानियल ७:२७.
६. केही व्यक्तिहरू अनुसार, परमेश्वरको राज्यले कहिले देखिन् शासन गर्न शुरू गरेको छ?
६ कसै-कसैको भनाइ अनुसार येशू स्वर्गमा फर्किनु भएकै वर्ष देखिन् यो राज्यको शासन शुरू भयो। तिनीहरूका भनाइ अनुसार, सा. यु. [सामान्य युग] ३३ मा यहूदीहरूको पेन्तिकोसको चाड़का दिन ख्रीष्टले आफ्ना अनुयायीहरूलाई पवित्र आत्माले भरिदिनु भएको समय देखिनै उहाँको शासन शुरू भयो। (प्रेरित २:१-४) तर शैतानको विद्रोहबाट उत्पन्न समस्याहरूको अन्त गर्न यहोवाले प्रबन्ध गर्नु भएको राज्य सरकार त्यस समय देखिन् शुरू भएको होइन। ‘त्यो छोरोको’, अथवा ख्रीष्ट शासक भएको परमेश्वरको सरकारको, जन्म त्यस बेला भयो र त्यसले शासन गर्न शुरू गऱ्यो भन्ने कुरा कहींबाट पनि देखिदैंन। (प्रकाश १२:१-१०) तर के सा. यु. ३३ मा येशूको कुनै प्रकारको राज्य थियो र?
७. सा. यु. ३३ देखिन् ख्रीष्टले कसमाथि शासन गरिरहनु भएको छ?
७ हो, त्यस समय देखिन्, येशूले आफ्ना अनुयायीहरूको मण्डलीमाथि शासन गर्न शुरू गर्नु भयो। ती अनुयायीहरू पछि समयमा उहाँसँग स्वर्गमा सम्मिलित हुनेवाला थिए। अत: बाइबलले तिनीहरूको सम्बन्धमा यसो भन्दछ: तिनीहरू पृथ्वीमा हुँदै “परमेश्वरको प्रेमको पुत्रको राज्य भित्र” लगिएका हुन्छन्। (कलस्सी १:१३) तर स्वर्गीय जीवनको आशा हुने मसीहीहरूमाथिको शासन अथवा “राज्य”, त्यो राज्य सरकार होइन जसकालागि प्रार्थना गर्नु भनेर येशुले आफ्ना अनुयायीहरूलाई सिकाउनु भएको थियो। त्यो ता उहाँसँग स्वर्गमा शासन गर्ने मात्र १४४,००० जना माथिको राज्य हो। कैयौं शताब्दी सम्म तिनीहरू मात्र त्यसका प्रजा थिए। अत: यी स्वर्गीय आशा हुने प्रजाहरू मध्यका आखिरी व्यक्ति मरेर स्वर्गमा गएर ख्रीष्टसँग सम्भागी भए पछि, यो शासन, वा ‘प्रेमको पुत्रको राज्यको’ अन्त हुनेछ। त्यस पछि तिनीहरू ख्रीष्टका प्रजा हुने छैनन् तर धेरै समय देखिन् प्रतिज्ञा गरिएको परमेश्वरको राज्य सरकारको तिनीहरू उहाँसँगै राजाहरू हुनेछन्।
शत्रुहरूका माँझमा शासनको सुरुआत
८. (क) ख्रीष्टको पुनरुत्थान पछि उहाँले शासन शुरू गर्नु अगाड़ि केही समयकालागि पर्खिनु पर्ने छ भनेर के ले दर्शाउँछ? (ख) ख्रीष्टले शासन गर्ने समय आइसके पछि परमेश्वरले उहाँलाई के भन्नुभयो?
८ आफ्नो पुनरुत्थान भए पछि, स्वर्गमा फर्किनु भएर परमेश्वरको सरकारको राजाको हैसियतमा ख्रीष्टले शासन शुरू गर्नु भएन। केही समय सम्म उहाँले पर्खनु पऱ्यो। प्रेरित पावलले यसरी वर्णन गरेको छ: “तर ख्रीष्टले ता पापको निम्ति सदाकालागि एउटै बलिदान चढ़ाएर उहाँ परमेश्वरको दाहिने बाहुली तर्फ बस्नु भयो। यसपछि उहाँका शत्रुहरू उहाँको पाउदान नहोउञ्जेल उहाँ पर्खिरहनुहुन्छ।” (हिब्रू १०:१२, १३) ख्रीष्टले शासन गर्ने समय आएपछि, यहोवाले उहाँलाई भन्नुभयो: “तिम्रा शत्रुहरूका बीचमा तिमीले राज्य गर।”—भजन संग्रह ११०:१, २, ५, ६.
९. (क) सबैले परमेश्वरको राज्यलाई किन रूचाउँदैनन्? (ख) परमेश्वरको सरकारले आफ्नो शासन शुरू गरे पछि जाति जातिले के गर्नेछन्?
९ परमेश्वरको सरकारको पनि शत्रुहरू हुनेछन् भन्ने कुरा, के अचम्म लाग्दो छ? हो, आफ्ना प्रजाहरूले सही काम-कुरा गरून् भनेर चाहने सरकारको अधीनमा प्रजा भएर बस्न सबै चाँहदैनन्। त्यसकारण, यहोवा र उहाँका छोराले संसार माथि कसरी प्रभुत्व गर्न शुरू गर्नु हुनेछ भनीसके पछि, बाइबल अगाड़ि भन्दछ, “जाति जातिहरू क्रोधित भए।” (प्रकाश ११:१५, १७, १८) जाति जातिहरूले परमेश्वरको राज्यको स्वागत गर्दैनन् किनभने शैतानले तिनीहरूलाई त्यसको विरोध गर्न बहकाउँदछ।
१०, ११. (क) परमेश्वरको सरकारले शासनगर्न शुरू गरे पछि, स्वर्गमा के हुन्छ? (ख) पृथ्वीमा के हुन्छ? (ग) अत: के महत्वपूर्ण कुरा हामीहरूले याद राख्न जरूरी छ?
१० परमेश्वरको सरकारले आफ्नो शासन शुरू गर्दा, शैतान र उसका स्वर्गदूतहरू स्वर्गमानै हुनेछन्। तिनीहरूले राज्य शासनको विरोध गर्दा, स्वर्गमा तरुन्तै लड़ाइँ शुरू हुन्छ। परिणाम स्वरूप, शैतान र उसका स्वर्गदूतहरू स्वर्गबाट बाहिर फ्याकिने छन्। अनि एउटा ठूलो आवाजले भन्दछ: “अब हाम्रा परमेश्वरको मुक्ति, शक्ति, राज्य, र उहाँको ख्रीष्टको अख्तियार आएको छ।” हो, परमेश्वरको सरकारको शासन शुरू हुन्छ! र शैतान र उसका दूतहरू स्वर्गबाट हटाइए पछि, त्यहाँ रमाहट हुनेछ: “यसकारण हे स्वर्गहरू र तिनमा रहनेहरू हो, सबै रमाओ!” बाइबल भन्दछ।—प्रकाश १२:७-१२.
११ के पृथ्वीकालागि पनि यो आनन्दको समय हुनेछ? हुनेछैन! बरू, पृथ्वीमा कहिले नभएको कष्टको समय यो हुनेछ। बाइबलले हामीहरूलाई भन्दछ: “पृथ्वी र समुद्रलाई धिक्कार छ, किनभने आफ्नो अल्प समय थाह पाएर शैतान ठूलो क्रोधसँग तिमीहरूकहाँ तल गएको छ।” (प्रकाश १२:१२) त्यसकारण यो याद राख्नु अतिनै महत्वपूर्ण छ: परमेश्वरको राज्यले शासन गर्न शुरू गर्नुको अर्थ पृथ्वीमा तुरुन्तै शान्ति र सुरक्षा हुनु होइन। परमेश्वरको राज्यले सम्पूर्ण जिम्मा लिए पछि मात्र सही शान्ति आउनेछ। यो त्यो “अल्प समयको” अन्तमा हुनेछ जब शैतान र उसका दूतहरूले फेरि कसैलाई दु:ख दिन नसकोस् भनेर तिनीहरूको अन्त गरिनेछ ।
१२. परमेश्वरको राज्यले कहिले आफ्नो शासन शुरू गर्नेछ भनेर बाइबलमा बताएको हुनु पर्छ भनेर हामीहरू किन विश्वस्त हुन सक्छौं?
१२ तर “अल्प समयकालागि” पृथ्वीमा कष्टदिन शैतान कहिले स्वर्गबाट बाहिर फ्याँकिन्छ? परमेश्वरको सरकारको कहिले देखिन् शासन शुरू हुन्छ? के बाइबलले त्यसको उत्तर दिन्छ? दिन्छ भनेर हामी आशा गर्न सक्छौं। किन? किनभने परमेश्वरका पुत्र मानवीय रूपमा मसीह भएर देखापर्नु हुने समयवारे धेरै समय पहिले बाइबलले अग्रिमवाणी गरेको थियो। यथार्थमा, उहाँ मसीह हुने वर्ष सम्म त्यहाँ तोकिएको छ। त्यसो हुनाले, मसीह, अर्थात ख्रीष्टको आगमन भन्दा पनि महत्वपूर्ण विषय, उहाँले राज्य शासन शुरू गर्ने समय, के बाइबलमा बताएको हुँदैन होला? निश्चय बाइबलले बताएको हुनेछ भनेर हामीहरू आशा गर्न सक्छौं!
१३. पृथ्वीमा मसीह देखा पर्नु भएको ठीक वर्ष को अग्रिमवाणी बाइबलले कसरी गर्दछ?
१३ तर कसैले सोध्न सक्छ: ‘पृथ्वीमा मसीह देखापर्ने वर्षवारे बाइबलमा कहाँ अग्रिमवाणी गरिएको छ?’ बाइबलको दानियल पुस्तकमा भनिएकोछ: “येरूशलेमको पुनर्प्राप्ति र पुनर्निमाण हुनेछ भन्ने वचन निस्केको समय देखि एक अभिषेक जन, एक राजकुमार देखा परेको, समयसम्म सात हप्ता बित्नेछन्, त्यस पछि व्यासट्ठी हप्तासम्म,” अर्थात जम्मा ६९ हप्ता हुनेछन्। (दानियल ९:२५) तथापि, यी ६९ अक्षरश: हप्ताहरू होइनन् जुन एक वर्षा भन्दा अलिक बढ़ी हुँदछन्। तिनीहरू वर्षहरूका ६९ हप्ता, अर्थात ४८३ वर्ष हुन्। (गन्ती १४:३४ सँग तुलना गर्नुहोस्) यरूशलेमको पर्खालको पुनर्प्राप्ति र पुनर्निर्माण गर्ने आज्ञा सा. यु. पू. [सामान्य युग पूर्व] ४५५ मा दिइएको थियो।a (नहेम्याह २:१-८) त्यसो हुँदा, ती वर्षहरूका ६९ हप्ता, ४८३ वर्ष पछि, सा. यु. २९ मा सिद्धियो। र ठीक त्यही वर्षमा येशू बप्तिस्मा लिन यूहन्ना कहाँ आउँनु भयो! त्यसै अवसरमा उहाँ पवित्र आत्मा द्वारा अभिषिक्त हुनुभएर मसीह अर्थात ख्रीष्ट हुनुभयो।—लूका ३:१, २, २१-२३.
परमेश्वरको राज्यले कहिले देखिन् आफ्नो शासन शुरू गर्छ
१४. दानियलको चौथो अध्यायमा वर्णन गरिएको “रूखले” के कुरालाई प्रतिनिधित्व गर्दछ?
१४ अनि अब, परमेश्वरको सरकारको राजाको हैसियतमा ख्रीष्टले शासनगर्ने वर्षवारे बाइबलमा कहाँ भनिएको छ? बाइबलको दानियलकै पुस्तकमा छ। (दानियल ४:१०-३७) त्यहाँ एउटा अत्यन्त अल्गो, आकाशसम्म पुगेको रूखले बाबेलका राजा नबूकदनेसरलाई प्रतिनिधित्व गरिरहेको थियो। तिनी त्यस समयका सबै भन्दा शक्तिशाली राजा थिए। तथापि, तिनी भन्दा पनि शक्तिशाली अरूनै कोही शासन गर्नु हुँदैछ भनेर बुझ्न राजा नबूकदनेसरलाई बाध्य हुनु पऱ्यो। त्यो महान व्यक्ति यहोवा परमेश्वर, उहाँनै “सदा-सर्वदाको प्रभु” वा “स्वर्गका महाराजा” हुनुहुन्छ। (दानियल ४:३४, ३७) अत:, एउटा महत्वपूर्ण ढङ्गबाट, आकाशसम्म पुग्ने यो रूखले विशेषगरी हाम्रो पृथ्वीसँगको सम्बन्धमा परमेश्वरको सर्वोच्च प्रभुत्वलाई, प्रतिनिधित्व गर्दछ। केही समयकालागि इस्राएली राष्ट्रमाथि उहाँले स्थापित गर्नु भएको राज्य द्वारा, यहोवाले आफ्नो प्रभुत्व व्यक्त गर्नु हुन्थियो। अत: इस्राएलीहरू माथि राज्य गर्ने यहूदाका वंशका राजा “परमप्रभुको (यहोवाको, न्यु.व.) सिंहासनमा” विराजमान हुन्थिए भनिन्थियो।—१ इतिहास २९:२३.
१५. त्यस “रूखलाई” ढालिए पछि, त्यसलाई साँङ्लोले किन बाँधेको?
१५ बाइबलको दानियल पुस्तकको चौथो अध्यायमा वर्णन गरिए अनुसार, त्यो स्वर्गसम्म पुगेको रूख ढालियो। तर ठुटोचाहिं त्यहीं रह्यो, र त्यसलाई फलाम र ताँमाको साङ्गलाले बाँधियो। ती साङ्गलाहरूलाई हटाएर त्यो ठुटोलाई बढ्न दिने परमेश्वरको समय नआउँञ्जेल, ती साङ्गलाहरूले त्यस ठुटोलाई बढ्न दिने थिएन। तर कसरी र कहिले परमेश्वरको प्रभुत्व ढालियो?
१६. (क) परमेश्वरको प्रभुत्व कसरी र कहिले ढालियो? (ख) “यहोवाको सिंहासनमा” बिराजमान हुने यहूदाका अन्तिम राजालाई के भनियो?
१६ समयको दौडानमा, यहोवाले स्थापित गर्नु भएको यहूदाको राज्य यति भ्रष्ट भएर गयो कि उहाँले नबूकदनेसरलाई त्यस राज्यलाई नष्ट गर्ने अनुमति दिनुभयो। यो सा. यु. पू. ६०७ सालमा भयो। त्यसबेला यहोवाको सिंहासनमा बस्ने यहूदाका अन्तिम राजा सिदकियाहलाई यसो भनियो: “शिरपेच उतारिदे . . . उ नआउञ्जेल यो उजाड़ रहने छ, जसको त्यसमाथि अधिकार छ, औ जसलाई म यो सुम्पिनेछु।”—इजकिएल २१:२५-२७.
१७. सा. यु. पू. ६०७ देखिन् के समय काल शुरू भयो?
१७ अत: सा. यु. पू. ६०७ मा “रूखले” प्रतिनिधित्व गरेको परमेश्वरको प्रभुत्व ढालियो। त्यस पछि परमेश्वरको प्रभुत्वलाई प्रतिनिधित्व गर्ने कुनै पनि सरकार पृथ्वीमा रहेन। यस प्रकारले सा. यु. पू. ६०७ मा त्यो समयको सुरुआत भयो जसलाई पछि येशु ख्रीष्टले “अन्यजातिको समय” भन्नुभयो। (लूका २१:२४; किंग जेम्स भर्सन) यी “तोकिएका समयको” दौडानमा, परमेश्वरको प्रभुत्वलाई प्रतिनिधित्व गर्ने कुनै सरकार पृथ्वीमा थिएन।
१८. “अन्य जातिहरूको समयको” अन्तमा के हुनेवाला थियो?
१८ “अन्यजातिहरूको समयको” अन्तमा के हुनेवाला थियो? “अधिकारवालालाई” यहोवाले शासन गर्ने अधिकार दिनुहुने थियो। उहाँ येशू ख्रीष्ट हुनुहुन्छ। अत:, “अन्यजातिहरूको समय” कहिले अन्त हुनेछ भनेर हामीले पत्ता लगाउन सक्यौं भने ख्रीष्टले कहिले देखि राजाको रूपमा शासन शुरू गर्नु हुनेछ भन्ने कुरा बुझ्ने छौं।
१९. कति “काल सम्म” पृथ्वीमाथि परमेश्वरको प्रभुत्व रोकिने थियो?
१९ दानियलको चौथो अध्याय अनुसार, यी “तोकिएको समय” “सात काल सम्म” हुनेछ। “सात कालसम्म” “रूख” द्वारा प्रतिनिधित्व गरिएको परमेश्वरको प्रभुत्व पृथ्वीमाथि सञ्चालित हुनेछैन। (दानियल ४:१६, २३) यो “सात काल” कति लामो हुनेछ?
२०. (क) एक “काल” कति लामो हुन्छ? (ख) “सात काल” कति लामो हुन्छ? (ग) हामी किन एक दिन भनेको एक वर्ष हो ठनी ठान्छौं?
२० प्रकाश अध्याय १२ को ६ र १४ पदबाट “समय [अर्थात १ काल] र धेरै समय [अर्थात २ काल] र आधा समय” अर्थात साढ़े तीन काल, १,२६० दिनको बराबर हुन्छ भन्ने कुरा हामी बुझ्दछौं। अर्थात जम्मा साढ़े तीन काल। त्यसो गर्दा “एक काल” ३६० दिन बराबर हुनेछ। अनि, “सात काल” ३६० गुणा ७ अर्थात २,५२० दिन हुनेछ। यदि एक दिनलाई एक वर्ष गरेर गन्यौं भने, बाइबलको नियम अनुसार, “सात काल” २,५२० वर्ष बराबर हुन्छ।—गन्ती १४:३४; इजकिएल ४:६.
२१. (क) “अन्यजातिहरूको तोकिएको समय” कहिले शुरूहुन्छ र त्यसको अन्त कहिले हुन्छ? (ख) परमेश्वरको सरकारले कहिले देखिन् आफ्नो शासन शुरूगर्ने छ? (ग) परमेश्वरको राज्य आओस् भनेर अझै प्रार्थना गर्नु किन उपयुक्त छ?
२१ “अन्यजातिहरूको समय” सा. यु. पू. ६०७ देखि शुरू भयो भन्ने कुरा हामीले अघिनै बुझि सकेका छौं। अत: त्यस तारिख देखिन् २,५२० वर्ष गन्ती गऱ्यौं भने, हामीहरू सा. यु. १९१४ मा आइपुग्ने छौं। त्यसै सालमा “तोकिएको समय” सिद्धियो। १९१४ सालमा घटेका घटनाहरू अहिले बाँचेका करोड़ौ मानिसहरूलाई यादै होला। त्यसै वर्षमा प्रथम विश्व-युद्धले गर्दा आजसम्म चलिरहेको भयङ्कर कष्टको समय शुरू भयो। यसको अर्थ हो १९१४ मा परमेश्वरको स्वर्गीय सरकारको राजाको रूपमा येशू ख्रीष्टले शासन शुरू गर्नु भयो। र राज्यले शासन गर्न शुरू गरी सकेको हुनाले, त्यो राज्य “आओस्” र पृथ्वीबाट शैतानको दुष्ट रीति-रिवाजलाई अन्त गरोस् भनेर प्रार्थना गर्नु कत्तिको समयानुकूल छ!—मत्ती ६:१०; दानियल २:४४.
२२. कसै-कसैले के प्रश्न सोध्न सक्छन्?
२२ तर अझै कसैले सोध्न सक्दछ: ‘ख्रीष्ट आफ्नो पिताको राज्यमा शासन गर्न फर्कि सक्नु भएको छ भने उहाँलाई हामीहरूले किन देख्न सक्तैनौ?’
[फुटनोट]
a यो आज्ञा सा. यु. पू. ४५५ मा दिइएको थियो भन्ने कुराको प्रमाणकालागि दी वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटि आफ न्यु योर्क, इन्क. द्वारा प्रकाशित पुस्तक एड टु बाइबल अन्डरस्टैन्डिङ्ग को “आर्टाजेरिक्स” भन्ने विषयमा हेर्नुहोस्।
[पृष्ठ १४०,१४१-मा भएको पेटी]
सा. यु. पू. ६०७ मा यहूदाको राज्य ढल्यो सा. यु. १९१४ मा परमेश्वरको स्वर्गीय सरकारको राजाको रूपमा येशू ख्रीष्टले शासन गर्न शुरू गर्नु भयो
सा. यु. पू. ६०७ — सा. यु. १९१४
अक्तुवर, सा.यु.पू. ६०७ — अक्तुवर, सा.यु.पू. १ = ६०६ वर्ष
अक्तुवर, सा.यु.पू. १ — अक्तुवर, सा.यु. १९१४ = १,९१४ वर्ष
अन्यजातिहरूको सात काल = २,५२० वर्ष
[पृष्ठ १३४-मा भएको चित्र]
“के तपाईंले यसै बखत इस्राएललाई राज्य फिर्ता गराइदिनुहुनेछ?”
[पृष्ठ १३९-मा भएको चित्र]
दानियलको चौथो अध्यायमा वर्णित लामो रूखले दैवी प्रभुत्वलाई प्रतिनिधित्व गर्दछ। केही समयकालागि यस कुरालाई यहूदाको राज्य द्वारा व्यक्त गरिएको थियो
[पृष्ठ १४०, १४१-मा भएको चित्र]
रूख ढालिनुको अर्थ हो यहूदाको राज्यको विनाश