यहोवाको दिनलाई सधैं ध्यानमा राख्नुहोस्
“फैसला गरिने बेंसीमा परमप्रभुको दिन नजिक आएको छ।”—योएल ३:१४.
१. यहोवाद्वारा चाँडै नै घोषणा गरिने पवित्र युद्ध मानवजातिहरूका “पवित्र युद्धहरू” भन्दा किन भिन्न हुनेछ?
“जाति जातिहरूका बीचमा यो प्रचार गर—लडाइँको निम्ति तयार होऊ!” (योएल ३:९) के यसको अर्थ एउटा पवित्र लडाइँ हो? मसीही जगतले विशेष भूमिका निभाएका क्रुसेड्स अथवा ती धार्मिक लडाइँहरू र दुइटा विश्व-युद्धहरू सम्झेर ल्याउँदा—एउटा तथाकथित पवित्र लडाइँबारे सोच्दा पनि आँग सिरिङ्ङ हुन्छ। तथापि, योएलको भविष्यवाणीमा उल्लेखित पवित्र लडाइँ, जाति जाति बीचको लडाइँ होइन। धर्मको नाउँमा, क्षेत्र र सम्पदाका निम्ति लडिने त्यो कुनै घृणास्पद सङ्घर्ष होइन। यो एउटा धार्मिक लडाइँ हो। पृथ्वीलाई लोभ, झगडा, भ्रष्टाचार, र थिचो-मिचोबाट मुक्त गर्नका निम्ति यो परमेश्वरले लडनु हुने लडाइँ हो। यसले यहोवाका सारा सृष्टिमाथि उहाँको न्यायोचित सार्वभौमिकताको औचित्यलाई स्थापित गर्नेछ। त्यस युद्धद्वारा, परमेश्वरका अगमवक्ताहरूले अग्रिमवाणी गरेका शान्त, धन-धान्यपूर्ण, र सुखमय ख्रीष्टको हजार वर्षीय राज्यमा प्रवेश गर्ने बाटो मानिसजातिका लागि खोलिने छ।—भजनसंग्रह ३७:९-११; यशैया ६५:१७, १८; प्रकाश २०:६.
२, ३. (क) योएल ३:१४ मा भविष्यवाणी गरिएको “यहोवाको दिन” के हो? (ख) त्यस दिनमा राष्ट्रहरूले सामना गर्नु पर्ने कुरा तिनीहरूले भोग्नु नै पर्ने कुरा किन हुनेछ?
२ उसो भए, योएल ३:१४ मा अग्रिमवाणी गरिएको “यहोवाको दिन” के हो त? यहोवा आफै नै उद्गार गर्नुहुन्छ: “हाय, त्यो दिन! किनकि परमप्रभुको दिन नजीकै छ। त्यो त सर्वशक्तिमानको तर्फबाट सत्यानाश जस्तै आउनेछ।” यो सत्यानाश जस्तै कसरी हो? अगमवक्ताले पछि व्याख्या गर्दछन्: “फैसला गरिने बेंसीमा धुइरोको धुइरो छ, किनभने फैसला गरिने बेंसीमा परमप्रभुको दिन नजिक आएको छ।” (योएल १:१५; ३:१४) स्वर्ग र पृथ्वीमाथि यहोवाको न्यायोचित सार्वभौमिकतालाई अस्वीकार गर्ने नास्तिक र भक्तिहीन मान्छेहरूको भीडमाथि यसै दिनमा उहाँले आफ्नो इन्साफ कार्यान्वयन गर्नु हुनेछ। मानवजातिलाई यतिका दिनदेखिन् आफ्नो कब्जामा राख्ने शैतानी रीतिरिवाजलाई सत्यानाश गर्ने यहोवाको यो निर्णय हो।—यर्मिया १७:५-७; २५:३१-३३.
३ पृथ्वीमा भएको भ्रष्ट रीतिरिवाजले त्यस निर्णयको सामना गर्नै पर्छ। तर संसारको रीतिरिवाज के वास्तवमा त्यत्तिको खराब छ र? यो कुरा बुझ्नलाई, त्यसको गतिविधिको इतिहासमाथि एक नजर मात्र हाल्नु पर्याप्त हुनेछ! मत्ती ७:१६ मा येशूले एउटा सिद्धान्तलाई प्रतिपादन गर्नु भयो: “तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्ने छौ।” के संसारका ठूला ठूला शहरहरू लागूपदार्थ, अपराध, त्रास, अनैतिकता, र प्रदूषणका रछानहरू भएका छैनन् र? धेरै देशहरूमा भर्खरै मात्र प्राप्त स्वतन्त्रताहरू राजनैतिक गोलमाल, खाद्य-पदार्थको कमी, र दरिद्रताले निस्सासी रहेका छन्। एक अरबभन्दा बढी मानिसहरू भोकमरीको अवस्थामा बाँची रहेका छन्। अझ, एड्स जस्तो रोगको महामारीका साथसाथै लागूपदार्थ र अनैतिक जीवनशैलीहरूको कारण पृथ्वीको एउटा ठूलो भागमाथि कालो बादल छाइरहेको छ। खासगरी १९१४ मा प्रथम विश्व-युद्ध अकस्मात सुरु भएदेखि, विश्व-व्यापी स्तरमा जीवनको प्रत्येक क्षेत्रको गुणस्तर बिग्रँदै गएको छ।—२ तिमोथी ३:१-५ सङ्ग तुलना गर्नुहोस्।
४. राष्ट्रहरूलाई यहोवाले के चुनौति दिनुहुन्छ?
४ तथापि, यहोवाले सारा राष्ट्रहरूबाट ती मानिसहरू जम्मा गर्दै हुनुहुन्छ जो खुशीसाथ उहाँका युक्तिहरूबारे शिक्षा लिन्छन् र उहाँका मार्गहरूमा हिंडदछन्। सारा विश्वलाई ढाक्ने यी मानिसहरूले संसारका हिंसात्मक गतिविधिहरू त्यागेर तरवारहरूलाई पिटेर हलोका फालीहरू बनाएका छन्। (यशैया २:२-४) हो, तरवारहरूलाई हलोका फालीहरू बनाएका छन्! तर यहोवाले योएल ३:९, १० मा गर्नु भएको घोषणाको यो ठीक विपरीत छ, होइन र? त्यहाँ हामी पढ्दछौं: “जाति जातिहरूका बीचमा यो प्रचार गर—लडाइँको निम्ति तयार होऊ, शूरवीर मानिसहरूलाई सुनाऊ। सबै योद्धाहरू नजीक आऊन्। तिमीहरूका हलोका फालीहरू पिटेर तरवार र तिमीहरूका हँसियाहरू भाला बनाऊ।” आहा, संसारका शासकहरू आफ्नो संयुक्त शक्तिसित हार-मागेडोनमा परमेश्वरको विरुद्धमा आऊन् भनी यहोवाले तिनीहरूलाई यहाँ चुनौती दिनु हुँदैछ। तर तिनीहरू सफल हुन सक्तैनन्! तिनीहरूको सम्पूर्ण हार हुनेछ!—प्रकाश १६:१६.
५. “पृथ्वीको दाखको फसल” जम्मा गरेपछि परिणाम स्वरूप के हुनेछ?
५ सर्वसत्ताधारी प्रभु यहोवाको अवज्ञा गर्दै, शक्तिशाली शासकहरूले डरलाग्दा हातहतियारको खजाना बनाएका छन्—तर ती सब व्यर्थ हुनेछ! योएल ३:१३ मा यहोवा आदेश दिनुहुन्छ: “हँसिया लगाऊ, किनभने खेत पाकिसकेको छ। आऊ, दाख कुल्च, किनभने दाखको कोल भरिएको छ। दाख-कुण्ड तिनीहरूको दुष्टताले ज्यादै भरिएर पोखिंदैछ।” यी शब्दहरूसँग मिल्दोजुल्दो कुरा हामी प्रकाश १४:१८-२० मा पाउँदछौं, जहाँ श्रीपेंच लाउनु भएका मसीही राजा, येशूलाई “पृथ्वीका अङ्गूरका झुप्पाहरू जम्मा गर, किनकि त्यसका अङ्गूरहरू पूरै पाकिसकेका छन्” भनी आदेश दिइएको छ। राजाले एउटा धारिलो हँसिया प्रहार गर्नुहुँदै ती अवज्ञाकारी जातिहरूलाई “परमेश्वरको क्रोधको ठूलो कोलमा” फ्याँकिदिनु हुन्छ। लाक्षणिक रूपमा, कोलबाट रगत घोडाहरूका लगामसम्मै, र १६०० फरलङ्ग—करीब २८८ किलोमिटर टाढा पुग्नेगरी निस्किन्छ। यहोवालाई अनादर गर्ने जातिहरूका निम्ति कस्तो डरलाग्दो भविष्य!
ऐन पालन गर्ने नागरिकहरू
६. यहोवाका साक्षीहरूले राष्ट्रहरू र तिनका शासकहरूलाई कुन दृष्टिले हेर्दछन्?
६ यसको अर्थ के यहोवाका साक्षीहरूले राष्ट्रहरू र त्यहाँका शासकहरूसित अनादरपूर्वक व्यवहार गर्छन्? कदापि पनि होइन! तिनीहरू खालि सबैले स्पष्टसँग देख्न सक्ने भ्रष्टाचारप्रति खेद प्रकट गर्दछन्, र यहोवाले गर्नु हुने इन्साफको दिन अब चाँडैनै आउँदै छ भनी चेतावनी दिन्छन्। साथसाथै, रोमी १३:१ मा, “हरेक प्राणी उच्च अख्तियारवालाहरूका अधीनमा रहोस्” भन्ने प्रेरित पावलको आदेशलाई तिनीहरूले नम्रतासाथ पालन गर्दछन्। यी मानवीय शासकहरूको तिनीहरू उचित आदर गर्छन्, उपासना होइन। ऐन पालन गर्ने नागरिकहरूको हैसियतमा तिनीहरूले इमान्दारी, सच्चाइ, र शुद्धताबारे बाइबलमा आधारित स्तरहरूको अनुसरण गर्दछन् र आफ्ना परिवारहरूमा पनि उच्च स्तरको नैतिकता विकाश गर्दछन्। यसो गर्न तिनीहरूले अरूहरूलाई पनि मदत दिन्छन्। प्रदर्शनहरू, वा राजनैतिक क्रान्तिहरूमा भाग न लिएर, तिनीहरू शान्तिका साथ सबैसँग मिलेर बस्दछन्। सर्वोच्च अख्तियारयुक्त सार्वभौमसत्ताधारी यहोवाले नै पृथ्वीमा पूर्ण शान्ति र न्यायसङ्गत सरकारको स्थापना गर्ने समय पर्खेर बस्दा पनि, यहोवाका साक्षीहरू मानवीय उच्च अख्तियारवालाहरूका कानुनहरू पालन गर्नमा अनुकरणीय हुने प्रयास गर्दछन्।
आफ्नो निर्णयको कार्यान्वयन
७, ८. (क) कुन तरिकामा राष्ट्रहरू हल्लाइने छन् र अन्धकारले तिनीहरूलाई कसरी ढाक्ने छ? (ख) योएल आज कसका प्रतीक हुन् र यिनीहरू आम संसारभन्दा सम्पूर्णतया बेग्लै भएर, कसरी धन्यका हुन्?
७ जीवन्त लाक्षणिक भाषा प्रयोग गर्नु हुँदै, यहोवा आफ्नो निर्णयको कार्यान्वयनको वर्णन अझ यस प्रकार गर्नु हुन्छ: “सूर्य र चन्द्र अँध्यारो हुनेछ र ताराहरूले आफ्नो चमक दिनेछैन। परमप्रभु सियोनबाट गर्जनु हुनेछ, यरूशलेमबाट उहाँले आफ्नो सोर सुनाउनु हुनेछ। आकाश र पृथ्वी थरथर काम्ने छ तर परमप्रभु आफ्नो प्रजाको निम्ति शरणस्थान, इस्राएलका सन्तानको निम्ति गढी हुनुहुनेछ।” (योएल ३:१५, १६) बाहिरबाट चमकदार र उन्नतशील देखिने मानव अवस्था, धमिलो र अनिष्टसूचक भएर जानेछ र एउटा ठूलो भैंचालोले ध्वस्त पारे झैं, संसारको यो विभक्त रीतिरिवाजको अस्तित्व नै रहने छैन।—हाग्गै २:२०-२२.
८ यहोवा आफ्ना जनहरूका निम्ति शरण र दृढ गढ हुनुहुनेछ भन्ने आनन्दमय आश्वासनलाई ध्यान दिनुहोस्! त्यसो किन? किनभने तिनीहरूले मात्र एउटा अन्तःराष्ट्रिय स्तरमा यहोवाका यी शब्दहरूलाई ध्यानपूर्वक सुनेका छन्: “परमप्रभु तिमीहरूका परमेश्वर मनै हुँ भनी तिमीहरूले जान्ने छौ।” (योएल ३:१७) योएल नाउँको अर्थ “यहोवा नै परमेश्वर हुनुहुन्छ” भएको हुनाले, उनी आधुनिक समयमा यहोवाको सार्वभौमिकताको घोषणा निर्भयतासाथ गर्ने यहोवाका अभिषिक्त साक्षीहरूको एउटा उचित प्रतीक हुन्। (मलाकी १:११ सङ्ग तुलना गर्नुहोस्) योएलको भविष्यवाणीका प्रारम्भिक शब्दहरूतर्फ ध्यान दिनु भयो भने, कस्तो स्पष्ट ढङ्गमा तिनले यहोवाका जनहरूको वर्तमान गतिविधिबारे अग्रिमवाणी गरेको कुरा पाउँनु हुनेछ।
सलहहरूका बथान
९, १०. (क) योएलले कुन विपत्तिबारे अग्रिमवाणी गरेका छन्? (ख) प्रकाशितवाक्यमा योएलले गरेका भविष्यवाणीको झ-झल्को कसरी पाइन्छ र मसीहीजगतमाथि त्यस विपत्तिको के असर हुन्छ?
९ अब “योएलकहाँ आएको परमप्रभुको वचन” सुन्नुहोस्: “हे बूढा मानिसहरू हो, यो कुरा सुन। हे देशका सबै बासिन्दाहरू हो, कान थाप। के तिमीहरूका दिनमा अथवा तिमीहरूका पिता-पुर्खाका दिनमा यस्तो कहिले भएको थियो? तिमीहरूका छोरा-छोरीहरूलाई यो कुरा बताऊ, र तिमीहरूका छोरा-छोरीहरूले उनीहरूका छोरा-छोरीहरूलाई बताऊन्, र तिनीहरूका छोरा-छोरीहरूले अझै अरू पुस्तालाई बताऊन्। जे कुरो काटने-सलहले छोडेका थिए, ती बगाले-सलहले खाए। जे बगाले-सलहले छोडेका थिए, ती उफ्रने-सलहले खाइहाले। जे उफ्रने-सलहले छोडेका थिए, ती झुस्ले-सलहले खाइहाले।”—योएल १:१-४.
१० यो एउटा असामान्य अभियान हो, जो सदाकालसम्म सम्झनामा रहिरहनेछ। कीराहरू, विशेषगरी सलहहरूको स्याउँ-स्याउँती धुइरोले देशलाई उजाड पार्ने छ। यसको अर्थ के हो? प्रकाश ९:१-१२ मा पनि “एउटा राजा” अर्थात् “अगाध खाँदको दूतको” मातहतमा यहोवाले सलहहरूको विपत्ति पठाउनु हुने कुराको उल्लेख गरिएको छ। अगाध खाँदको त्यो दूत येशू ख्रीष्टबाहेक अरू कोही हुनै सक्तैन र उहाँको नाउँ एबाड्डोन (हिब्रू भाषामा) र अपोल्लियोनको (युनानी भाषामा) अर्थ “विनाश” र “विनाशकर्त्ता” हो। यी सलहहरू शेष अभिषिक्त मसीहीहरूका प्रतीक हुन् जसले आज प्रभुका दिनमा मसीही जगतका खर्कहरूलाई उजाड पार्न, झूटो धर्मको सम्पूर्ण रूपमा पर्दाफास गर्दै त्यसमाथि यहोवाले लिनुहुने बदलाको घोषणा गर्दछन्।
११. वर्तमान समयका सलहहरूले बल कसरी पाएका छन् र तिनीहरूले विशेष कसलाई ताकेर आक्रमण गर्छन्?
११ प्रकाश ९:१३-२१ मा सङ्केत गरिए झैं, सलहहरूको विपत्ति पछिपछि रिसल्लाहरूको एउटा विशाल विपत्ति आउँदछ। यो आज कति साँचो साबित भएको छ। कसैले सामना गर्नै नसक्ने जोडदार रिसल्लाजस्तै, चालीस लाखभन्दा बढी “अरू भेडा” ले आज बाँकी रहेका केही हजार अभिषिक्त मसीहीहरूलाई बल दिइरहेका छन्! (यूहन्ना १०:१६) तिनीहरू एक भएर मसीहीजगतका मूर्तिपूजकहरू र ‘तिनले गरेका हत्याहरू, तिनका जादूगरीहरू, व्यभिचारहरू, चोरीहरूका निम्ति पश्चाताप नगर्नेहरू’ माथि यहोवाको कडा इन्साफको घोषणा गर्दछन्। यस शताब्दीका हिंसात्मक युद्धहरूलाई सक्रियतासाथ समर्थन गर्ने क्याथोलिक र प्रोटेस्टेन्ट, दुवै मतका पादरीहरू, साथै केटा-केटीसँग यौनक्रिया गर्न मन पराउने धर्म-शिक्षकहरू र टेलिभिजनद्वारा प्रचार गर्ने विकृत मस्तिष्क भएका धर्म-प्रचारकहरूकै विरुद्धमा इन्साफका यी कडा सन्देशहरू प्रस्तुत हुन्छन्।
१२. मसीहीजगतका अगुवाहरूले इन्साफ सम्बन्धी समाचारहरू पाउनु किन उचित छ, र तिनीहरू सँग-सँगै महान बेबिलोनका समस्त सदस्यहरूलाई चाँडै नै के हुनेवाला छ?
१२ यस्ता पतित पादरीहरूलाई सम्बोधन गर्दै यहोवा आह्वान गर्नु हुन्छ: “हे मतवाला हो, जाग र रोऊ। तिमी सबै दाख-मद्य पिउनेहरू हो, नयाँ दाख-मद्यको निम्ति विलाप गर, किनकि दाख-मद्य तिमीहरूको मुखमा अब जुट्ने छैन।” (योएल १:५) यस बीसौं शताब्दीमा, मसीहीजगतको धर्मले परमेश्वरको वचनमा पाइने शुद्ध नैतिक सिद्धान्तहरूको ठाउँमा सांसारिक अश्लीलतालाई स्थान दिएको छ। झूटो धर्म र त्यसका समर्थकहरूलाई सांसारिक तौर-तरिकाहरू अपनाउन रमाइलो लागेको छ तर त्यसले गर्दा, कस्तो डरलाग्दो आध्यात्मिक र शारीरिक रोगहरू तिनीहरूले भोग्नु परेको छ! प्रकाश १७:१६, १७ मा वर्णन गरिए झैं, चाँडै नै झूटो धर्मको सारा विश्व-साम्राज्य, महा बेबिलोनको विरुद्धमा जाइलागेर त्यसलाई नष्ट गरी दिने “मन” यहोवाले राजनैतिक शक्तिहरूलाई दिनुहुनेछ। त्यति बेला, आफ्नो विरुद्धमा यहोवाको फैसला कार्यान्वयन भएको देख्ता मात्र, त्यो त्यसको मदान्ध अवस्थाबाट “जागने छ।”
“एक ठूलो र शक्तिशाली जाति”
१३. मसीहीजगतको नजरमा सलहहरूको झुन्ड किन “ठूलो र शक्तिशाली” देखिन्छ?
१३ यहोवाका अगमवक्ताले सलहहरूको बथानलाई “एक ठूलो र शक्तिशाली जाति” भनेर वर्णन गर्दछन् र तिनीहरू महान बेबिलोनको नजरमा पनि त्यस्तै देखापर्छन्। (योएल २:२) उदाहरणका लागि, बौद्ध धर्म मान्ने जापानमा त्यहाँका मानिसहरूको धर्मपरिवर्तन, मसीहीजगतका धर्महरूले गर्न नसकेकोमा पादरीहरू दुःख प्रकट गर्दछन्। तापनि आज, १,६०,००० भन्दा बढी यहोवाका जापानी साक्षीहरू त्यस देशमा चारैतिर ओइरी रहेका छन् र तिनीहरूले २००,००० भन्दा बढी विभिन्न मानिसहरूका घरहरूमा व्यक्तिगत बाइबल अध्ययन गरिरहेका छन्। इटालीमा क्याथोलिकहरू पछि, त्यहाँका १,८०,००० यहोवाका साक्षीहरूले सङ्ख्यामा दोस्रो स्थान लिएका छन्। प्रत्येक वर्ष गिर्जाबाट ‘कमसेकम १०,००० भक्त क्याथोलिकहरूलाई’ यहोवाका साक्षीहरूले आफ्नो मतमा लगिरहेकाछन् भनी इटालीका एक जना प्रतिष्ठित रोमन क्याथोलिकले शोक प्रकट गरेर पनि केही सीप लागेन।a ती जनहरूलाई साक्षीहरूले खुशीसाथ स्वागत गर्दछन्।—यशैया ६०:८, २२.
१४, १५. सलहहरूको झुन्डलाई योएलले कसरी वर्णन गर्दछन्, र सो आज कुन तरिकामा पूरा भएको छ?
१४ अभिषिक्त साक्षीहरूको सलहसरह झुन्डबारे वर्णन गर्दै योएल २:७-९ मा भनिएको छ: “तिनीहरूले वीर योद्धाहरूलेझैं आक्रमण गर्छन्। तिनीहरू युद्ध गर्ने निपुण सिपाहीहरूझैं पर्खाल चढछन्। तिनीहरू आफ्ना पंक्ति नबिगारीकन प्रत्येक आफ्नो ठाउँमा हिंड्छन्। तिनीहरू एउटाले अर्कोलाई धक्का दिंदै हिंड्दैनन्, तर प्रत्येक आफ्ना आफ्नै पंक्तिमा हिंडेर जान्छ। तिनीहरू शत्रुका हतियारको सामना गर्दै बढछन् औ रोकिंदैनन्। तिनीहरू शहरमा कुदेर पस्छन् र पर्खाल माथि माथि कुदनेछन्। तिनीहरू घरका झ्यालहरूमा चोरहरूझैं पस्छन्।”
१५ अभिषिक्त “सलहहरूको” फौज र अब त्यसमा सम्मिलित तिनीहरूलाई साथ दिने चालीस लाखभन्दा बढी अरू भेडाहरूको यो एउटा वास्तवमा जीवन्त चित्रण हो! धार्मिक शत्रुताको कुनै पनि “पर्खालले” तिनीहरूलाई रोकेर राख्न सक्तैन। आम साक्षी दिने काममा र अन्य मसीही गतिविधिहरूमा तिनीहरू प्रगतिशील भएर “जहाँसम्म पुगिसकेका छन्, त्यहीबमोजिम” अझ अघि-अघि हिम्मतका साथ बढिरहेका छन्। (फिलिप्पी ३:१६ सङ्ग तुलना गर्नुहोस्) नाट्सी जर्मनीका क्याथोलिक हिटलरलाई उपासनापूर्ण अभिवादन चढाउन नचाहेर, ‘हतियारहरूको शिकार’ भएका हजारौं साक्षीहरू झैं, यिनीहरू बरु मर्न तयार भएका छन्। ती सलहका झुन्डहरूले मसीहीजगतको “शहरमा” धुनधानसित साक्षी दिने काम गरेका छन्। सारा बाधाविघ्नहरू पार गर्दै, चोरहरूझैं घरहरू भित्र पसेर बाइबल सम्बन्धी करोडौं प्रकाशनहरू आफ्नो घर-घर जाने अभियानद्वारा बाँडेका छन्। सबैलाई यो साक्षी दिइएको यहोवा चाहनु हुन्छ र यो कामलाई आकाश वा धरतीको कुनै पनि शक्तिले रोक्न सक्तैन।—यशैया ५५:११.
“पवित्र आत्माले भरिएको”
१६, १७. (क) योएल २:२८, २९ का शब्दहरू विशेष ढङ्गमा कहिले पूरा भयो? (ख) योएलले गरेका भविष्यवाणीका कुनचाहिं शब्दहरू प्रथम शताब्दीमा सम्पूर्ण ढङ्गमा पूरा भएनन्?
१६ यहोवा आफ्ना साक्षीहरूलाई भन्नुहुन्छ: “औ म [आत्मिक] इस्राएलको बीचमा छु भनी तिमीहरूले जान्ने छौ, औ म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, र म बाहेक अरू कोही छैन भनी तिमीहरूले जान्ने छौ।” (योएल २:२७) यो अनमोल कुराको अनुभव यहोवाका जनहरूलाई त्यस बेला भयो जब उहाँले योएल २:२८, २९ मा उल्लेखित कुरा पूरा गर्न थाल्नु भयो: “त्यस पछि म मेरो आत्मा सबैमाथि खन्याउने छु, र तिमीहरूका छोरा-छोरीहरूले भविष्यवाणी कहनेछन्।” यो कुरा सा०यु० ३३ मा पेन्तिकोसको दिन जम्मा भएका येशूका चेलाहरू अभिषिक्त हुँदा पूरा भयो र “तिनीहरू सबै पवित्र आत्माले भरिए।” पवित्र आत्माको शक्तिले गर्दा तिनीहरूले प्रचार गर्न सके, र त्यस एक दिनमा “प्रायः तीन हजार प्राणीहरू तिनीहरूमा थपिए।”—प्रेरित २:४, १६, १७, ४१.
१७ त्यस आनन्दको अवसरमा पत्रुसले पनि योएल २:३०-३२ लाई उद्धृत गर्दै भने: “अनि आकाश र पृथ्वीमा म अचम्मका कामहरू देखाउनेछु, अर्थात् रगत, आगो र धुवाँका खामाहरू। परमप्रभुको त्यो महा र भयङ्कर दिन आउनुभन्दा अघि सूर्य अँध्यारोमा र चन्द्र चाहिं रगतमा परिवर्तन हुनेछ। औ परमप्रभुको नाउँ लिने जोसुकै पनि बचाइनेछ।” यी शब्दहरू केही हदसम्म सा०यु० ७० मा यरूशलेम नष्ट हुँदा पूरा भयो।
१८. योएल २:२८, २९ को विस्तृत पूर्ति कहिले देखिन् हुनथाल्यो?
१८ तथापि, योएल २:२८-३२ को अझै एउटा पूर्ति हुन बाँकी नै थियो। वास्तवमा, सितम्बर १९१९ देखिन् यो भविष्यवाणी एउटा असाधारण ढङ्गमा पूरा हुनथाल्यो। त्यस बेला, संयुक्त राज्य अमेरीकाका सेडर प्वाइन्ट, ओहायोमा यहोवाका जनहरूको एउटा अविस्मरणीय सम्मेलन भएको थियो। त्यस बेला, परमेश्वरको आत्मा स्पष्टसित अनुभव गर्न सकियो र उहाँका अभिषिक्त सेवकहरू एउटा विश्व-व्यापी साक्षी दिने कामका निम्ति अग्रसर हुन प्रेरित भएका थिए। त्यो काम आजका दिनसम्मै चलिरहेको छ। फलःस्वरूप कस्तो विशाल विस्तार भएको छ! सेडर प्वाइन्टमा उपस्थित ७,००० भन्दा केही मात्र बढी जनहरू, बृद्धिहुँदै १९९१, मार्च ३० का दिनमा येशूको मृत्युको स्मरणार्थमा १०,६५०, १५८ जना हुन पुगेको छ। ती मध्ये अभिषिक्त मसीही हुने दाबी ८,८५० ले मात्र गरे। यहोवाको गतिशील आत्माद्वारा सम्पन्न भएको यो विश्व-व्यापी परिणाम देख्नेहरू अति नै आनन्दित छन्!—यशैया ४०:२९, ३१.
१९. यहोवाको दिन नजिक आएको हुनाले, हामी प्रत्येकले के कस्तो मनोवृत्ति राख्नु पर्दछ?
१९ शैतानी रीतिरिवाजलाई ध्वस्त पार्ने “यहोवाको त्यो महा र भयङ्कर दिन” अब हाम्रो ठीक अगाडि नै आइपुगेको छ। (योएल २:३१) खुशीको कुरा के हो भने “जसले परमप्रभुको [यहोवाको न्यु. व.] नाउँ लिनेछ, त्यसले उद्धार पाउने छ।” (प्रेरित २:२१) कसरी? प्रेरित पत्रुसले “प्रभुको दिन चोर जस्तैगरी आउनेछ” भनी सकेपछि, अझै यसो पनि भन्छन्: “यी सबै कुराहरू यसरी पग्लन्छ भन्ने देखेर सबै पवित्र जीवन र भक्तिमा तिमीहरू कस्तो किसिमका मानिस हुनुपर्छ? परमेश्वरको त्यस दिनको बाटो हेर्दै, उत्सुकतासाथ इच्छा गरेर।” यहोवाको दिन नजिक छ भनी मनमा राख्दै, “नयाँ स्वर्ग र नयाँ पृथ्वी” बारे यहोवाले गर्नु भएका प्रतिज्ञा पूरा भएको देख्नु पाउँदा हामी रमाउने छौं।—२ पत्रुस ३:१०-१३. (w 5/01/92)
[फुटनोट]
a ला रिपव्लिका, रोम इटाली, नोभेम्बर १२, १९८५, र ला रिभिस्ता देल क्लेरो इटालियानो, मई १९८५.
के तपाईं व्याख्या गर्न सक्नुहुन्छ?
◻ “यहोवाको दिन” भनेको के हो?
◻ येशूले “पृथ्वीको दाखको” कटनी कसरी गर्नुहुनेछ, र किन?
◻ सलहहरूको विपत्ति मसीहीजगतमाथि १९१९ देखिन् कुन तरिकाले आइलागेको छ?
◻ सा०यु० ३३ मा र फेरि १९१९ मा यहोवाको आत्मा उहाँका जनहरूमाथि कसरी खन्याइयो?