तिनीहरूले धर्म छोड्नुको कारण?
उन्नाइसौं शताब्दीको मध्यतिर प्रसियावासीले (हाल उत्तर जर्मनी) मेरो खास कुनै धर्म छैन भनेको सुनिंदैनथ्यो भने पनि हुन्छ। वास्तवमा, आफ्नो मूल धर्म त्यागेर परम्परा-विरोधी कुनै चर्चमा लाग्दा मात्र पनि प्रहरीले निगरानी राख्नसक्थ्यो। अहिले हेर, समय कहाँ पुगिसक्यो!
अचेल, चर्चबाट राजीनामा दिने जर्मनहरू कमिलाको ताँतीसरह छन्। प्राप्त प्रतिवेदनअनुसार, एक चौथाइले कुनै धर्म नमानेको दाबा गर्छन्। अस्ट्रिया र स्वीटजरल्याण्डमा पनि त्यस्तै प्रवृत्ति देखिएको छ। सदस्यता नै कुनै धर्मको जीवनरक्त हो भने जर्मन लेखक रीमर ग्रोनेमियरले भनेझैं, “युरोपका चर्चहरू रक्तश्राव भएर जिब्रो टोक्दैछन्।”
तिनीहरूले धर्म त्याग्नुको कारण
किन थुप्रैले संगठित धर्म त्याग्छन्? धेरैजसो त आर्थिक कारणले र यस्तो विशेषगरि चर्चमा कर तिनुपर्ने मुलुकहरूमा हुन्छ। धेरै मानिसहरू सोच्छन्, ‘दस नंग्रा खियाएर कमाएको पैसा किन चर्चलाई दिने?’ कतिपय चाहिं चर्चको प्रचुर धन र शक्ति देखेर खिन्न हुन्छन्। तिनीहरू जर्मनी, कलोनका कार्डिनल योआकिम मीस्नरको भनाइसित सायद सहमत होलान्। तिनले भनेका थिए, सम्पत्तिले चर्चलाई भौतिक कुरातिर अधिक आकर्षित हुन र “ख्रीष्टप्रतिको विश्वासलाई त्यति गम्भीरतापूर्वक नलिन” डोऱ्याएको हुनसक्छ।
कतिपयले चर्च पट्टाइलाग्दो, जानै मन नलाग्ने र आध्यात्मिक भोक मेटाउन नसक्ने पाएकाले जान छोड्दैछन्। तिनीहरू भविष्यवक्ता आमोसले अगमवाणी गरेको अनिकालमा परेका छन्, “अनिकाल, जुनचाहिं नता अन्नको न पानीको हो, तर परमप्रभुको वचन सुन्ने तृष्णाको अनिकाल।” (आमोस ८:११) केही सहारा नपाएकोले तिनीहरू आफ्नो धर्मदेखि हार मान्छन्।
यी समस्याहरू वास्तविक भए तापनि सबै धर्मदेखि हरेस खाइहाल्नु उचित हो त? कल्पना गर्नुहोस्, एक जना भोको मानिसले रोटी देख्छ। तर खान खोज्दा त्यो त काठको भूसको पो रहेछ। के अब उसले खाएर भोक मेटाउने विचारै मनबाट निकाल्छ? अहँ, बरु उसले साँच्चिकै खानेकुरा खोज्छ। त्यस्तैप्रकार, कुनै धर्मले आफ्ना सदस्यहरूको आध्यात्मिक भोक मेटाउँदैन भन्दैमा तिनीहरूले धर्मको नामै नलिने कुरा आउँछ र? वा तिनीहरू बुद्धिमान् भई आफ्नो आध्यात्मिक भोक मेटाउने तरिका खोज्छन्? अर्को लेखले देखाएअनुसार थुप्रैले त्यसो गरेका छन्।