“तिमीहरू मलाई पर्खिरहो”
“परमप्रभु भन्नुहुन्छ, . . . तिमीहरू मलाई पर्खिरहो।” —सपन्याह ३:८.
१. सपन्याह अगमवक्ताले कस्तो चेताउनी दिए र आज बाँचिरहेका मानिसहरूले त्यसमा चासो लिनुपर्ने कुरा के छ?
“परमप्रभुको भयानक दिन नजीकै छ।” सा.यु.पू. सातौं शताब्दीको मध्यतिर सपन्याह अगमवक्ताले उपरोक्त चेताउनी दिएका थिए। (सपन्याह १:१४) यहोवाका जनहरूलाई दुर्व्यवहार गरेर उहाँको सार्वभौमिकतालाई चुनौती दिने राष्ट्रहरूका साथै यरूशलेममाथि लगभग ४०-५० वर्षपछि यहोवाले न्याय गर्नुहुँदा त्यो भविष्यवाणी पूरा भयो। तर २१औं शताब्दीको सँघारमा बाँचिरहेका मानिसहरूलाई त्यसमा के चासो? चासो छ, किनभने यहोवाको अन्तिम “भयानक दिन” द्रुत गतिले नजीकिंदै गइरहेको समयमा हामी बाँचिरहेका छौं। यहोवाका जनहरूलाई दुर्व्यवहार गर्नुका साथै उहाँको विश्वव्यापी सार्वभौमिकतालाई हाँक दिने राष्ट्रहरू अनि यरूशलेमको आधुनिक प्रतिरूप अर्थात् मसीहीजगतमाथि यहोवाको “भयानक रीस” सपन्याहको दिनमा जस्तै दन्कनै लागेको छ।—सपन्याह १:४, २:४, ८, १२, १३; ३:८; २ पत्रुस ३:१२, १३.
सपन्याह—साहसी साक्षी
२, ३. (क) सपन्याहबारे हामीलाई के थाह छ र तिनी यहोवाका साहसी साक्षी थिए भनेर कुन कुराले देखाउँछ? (ख) सपन्याहले कहाँ र कहिले भविष्यवाणी गरे भनेर पत्ता लगाउन कुन कुराले हामीलाई मदत गर्छ?
२ सपन्याह (हिब्रू, सेपन्याह) नाउँको “यहोवाले ढाक्नुभएको छ (सँभालेर राख्नुभएको छ)” भन्ने अर्थ लाग्छ। तर यस अगमवक्ताबारे त्यति धेरै कुरा थाह लगाउन सकिएको छैन। तथापि, सपन्याहले “हिजकियाह[देखि]” आफ्नो चार पुस्ता बताए जुन अन्य अगमवक्ताहरूले बताएका छैनन्। (सपन्याह १:१; तुलना गर्नुहोस् यशैया १:१; यर्मिया १:१; इजकिएल १:३) सामान्य प्रचलन विपरीत तिनले यसरी आफ्नो चार पुस्ता बताएको हुँदा तिनी विश्वासी राजा हिजकियाहका जनाति हुन् भनेर अधिकांश टिप्पणीकारहरू चिनाउँछन्। यदि यो साँचो हो भने, तिनी शाही वंशका थिए र त्यसले यहूदाका राजकुमारहरू विरुद्ध तिनले गरेका कडा निन्दा अझ अर्थपूर्ण अनि प्रभावकारी बनाउने थियो। साथै तिनले आफूलाई यहोवाको साहसी साक्षी अनि अगमवक्ता प्रमाणित गरेका हुनेथिए। तिनले यरूशलेमका विभिन्न स्थानहरूको राम्ररी वर्णन गर्नुका साथै शाही अदालतभित्र भइरहेका घटनाहरूसमेत उल्लेख गरेको हुँदा तिनले यरूशलेममै बसेर यहोवाको न्याय घोषणा गरेको हुनुपर्छ।—हेर्नुहोस् सपन्याह १:८-११, पादटिप्पणी, न्युव.
३ उल्लेखनीय कुरा के छ भने, सपन्याहले यहूदाका निजामती “भारादारहरू” (घरानियाँ वा कुलपुरुषहरू) अनि “राजाका छोराहरू” विरुद्ध ईश्वरीय न्यायको घोषणा गरेको भए तापनि स्वयं राजाबारे भने कहिल्यै आलोचना गरेनन्।a (सपन्याह १:८; ३:३) यसको मतलब त्यति बेला जवान राजा योशियाहले साँचो उपासनातर्फ झुकाउ देखाइसकेको हुनसक्छ। यद्यपि, तिनले सम्भवतः धार्मिक सुधार थालिसकेका थिएनन् भन्ने कुरा सपन्याहको कटु निन्दाबाट प्रष्ट हुन्छ। यी सबै तथ्यहरूबाट स्पष्ट हुन्छ, सपन्याहले सा.यु.पू. ६५९ देखि ६२९ सम्म शासन गर्ने राजा योशियाहको शासनकालको प्रारम्भतिर यहूदामा अगमवाणी गरे। निस्सन्देह, सपन्याहले जोशपूर्वक अगमवाणी गरेकोले नै जवान योशियाहले त्यति बेला यहूदामा व्याप्त मूर्तिपूजा, हिंसा, र भ्रष्टाचारलाई झन् राम्ररी बुझ्नसके र पछि मूर्तिपूजा विरुद्ध अभियान सुरु गर्न प्रोत्साहित भए।—२ इतिहास ३४:१-३.
यहोवाको भयानक रीसका कारणहरू
४. यहोवाले कुन शब्दहरूद्वारा यहूदा तथा यरूशलेममाथि आफ्नो क्रोध व्यक्त गर्नुभयो?
४ यहूदाका बासिन्दा तथा त्यहाँका नेताहरूका साथै राजधानी यरूशलेमसित यहोवा क्रोधित हुनुको ग्राह्य कारण थियो। आफ्नो अगमवक्ता सपन्याहद्वारा उहाँले यसो भन्नुभयो: “म यहूदा र यरूशलेमका सारा बासिन्दाहरूमाथि मेरो हात पसार्नेछु, र यस ठाउँबाट बाल देवताका बचेकाहरूलाई र कमारीमको नाउँ त्यसका पूजाहारीहरूसमेत नष्ट पार्नेछु। घरका कौसीहरूमाथि आकाशका नक्षत्रहरूलाई दण्डवत् गर्ने जत्ति सबैलाई र परमप्रभुको सेवा गरेको भनेर शपथ खाएर पूज्ने तर मल्कामको शपथ खानेहरूलाई।”—सपन्याह १:४, ५.
५, ६. (क) सपन्याहको समयमा यहूदाको धार्मिक स्थिति कस्तो थियो? (ख) यहूदाका निजामती नेता तथा तिनीहरूका कर्मचारीहरूको अवस्था कस्तो थियो?
५ बाल उपासनाको घीनलाग्दा प्रजनन उत्सवहरू, प्रेतवादी ज्योतिषविद्या तथा गैरयहूदी देउता मल्कामको उपासना यहूदामा व्याप्त थियो। केहीले सुझाउ दिएअनुसार मल्काम र मोलेक एउटै हो भने, त्यसको मतलब यहूदाले झूटो उपासनाको लहैलहैमा बच्चाहरूलाई बलि दिने घीनलाग्दा कामसमेत गरे। त्यस्ता धार्मिक रीतिरिवाजहरू यहोवाको दृष्टिमा घृणित थिए। (१ राजा ११:५, ७; १४:२३, २४; २ राजा १७:१६, १७) ती मूर्तिपूजकहरूले अझै पनि यहोवाको नाउँमा शपथ खाने गरेको हुँदा तिनीहरूले उहाँको क्रोध झन् दन्काए। त्यस्तो धार्मिक अशुद्धतालाई उहाँले अझै सहनु हुनेथिएन। उहाँले ती मूर्तिपूजक धर्मत्यागी पूजाहारीहरूलाई नष्ट गर्नुहुनेथियो।
६ यसबाहेक, यहूदाका निजामती नेताहरू पनि भ्रष्ट थिए। तिनीहरूका भारदारहरू हिंस्रक “गर्जने सिंह” अनि न्यायकर्ताहरू नरभक्षी “ब्वाँसाहरू[जस्तै]” थिए। (सपन्याह ३:३) तिनीहरूको मातहतमा रहेका कर्मचारीहरूलाई “घरमा मारपीट र छल” गरेको दोष लगाइएको थियो। (सपन्याह १:९) भौतिकवाद व्याप्त थियो। थुप्रैले मौकाको फाइदा उठाएर धन सम्पत्ति सोहोरिरहेका थिए।—सपन्याह १:१३.
यहोवाको दिनबारे शंकाहरू
७. “परमप्रभुको भयानक दिन” आउनुभन्दा कति समयअघिदेखि सपन्याहले भविष्यवाणी गरे र अधिकांश यहूदीहरूको आध्यात्मिक अवस्था कस्तो थियो?
७ सपन्याहले सा.यु.पू. ६४८ अर्थात् तत्कालीन राजा योशियाहको समयमा साक्षी र अगमवक्ताको रूपमा आफ्नो सेवा सुरु गरेका थिए। यो कुरा, त्यति बेलाको व्यापक अनर्थकारी धार्मिक अवस्थाले संकेत गर्छ भनेर हामीले बुझिसक्यौं। (२ इतिहास ३४:४, ५) अतः यहूदा राज्यमाथि “यहोवाको भयानक दिन” आउनुभन्दा कम्तीमा ४० वर्षअघि सपन्याहले भविष्यवाणी गरेको हुनुपर्छ। त्यस समयको दौडान अधिकांश यहूदीहरूले शंका गरे। अनि यहोवाको “पछि लाग्न छोड़ेर” तिनीहरूले उहाँलाई ध्यानै दिएनन्। सपन्याहले “परमप्रभुको खोजी पनि नगर्ने [र] उहाँको विषयमा सोधपूछ [न]गर्नेहरू[बारे]” पनि बताउँछन्। (सपन्याह १:६) स्पष्टतः त्यति बेला यहूदाका मानिसहरू परमेश्वरबारे वास्तै नगर्ने अनि भावशून्य थिए।
८, ९. (क) यहोवाले “छोक्राजस्तो जमेर” बस्ने मानिसहरूलाई किन निरीक्षण गर्नुहुनेथियो? (ख) यहूदाका बासिन्दा अनि तिनीहरूका सरकारी तथा धार्मिक नेताहरूमाथि यहोवाले कुन ढंगमा ध्यान दिनुहुनेथियो?
८ यहोवाले उहाँका जनहरू भनी दाबी गर्नेहरूको जाँच गर्नेछु भनी आफ्नो उद्देश्य प्रकट गर्नुभयो। उहाँको उपासक हुँ भनी दाबी गर्नेहरूबीच उहाँले त्यस्ता मानिसहरू खोज्नु हुनेथियो जसले मानव गतिविधिमाथि हस्तक्षेप गर्ने उहाँको क्षमता अनि अभिप्रायमाथि शंका गर्थे। उहाँले यसो भन्नुभयो: “त्यस बेला बत्ती बालेर म यरूशलेमलाई खोज्नेछु, औ ढुक्क भएर बसी (छोक्राजस्तो जमेर बसी, न्युव) आफ्ना हृदयमा ‘परमप्रभुले नता असल गर्नुहुन्छ न खराब गर्नुहुन्छ’ भन्ने मानिसहरूलाई म सजाय दिनेछु।” (सपन्याह १:१२) “छोक्राजस्तो जमेर बसी” (यस वाक्यांशले दाखमद्य बनाउँदा निस्कने कसरलाई संकेत गर्छ) भन्ने अभिव्यक्तिले भाँडोको पिंधमा जम्ने छोक्राजस्ता मानिसहरूलाई संकेत गर्छ। यिनीहरू अचल भएर बस्न चाहन्छन्, मानवजातिको क्रियाकलापमाथि आउनै लागेको ईश्वरीय हस्तक्षेपको घोषणा सुनेर विचलित हुन चाहँदैनन्।
९ आफ्नो उपासनालाई मूर्तिपूजाद्वारा कलंकित पार्ने यहूदा तथा यरूशलेमका बासिन्दा र तिनीहरूका पूजाहारीहरूलाई यहोवाले ध्यान दिनु हुनेथियो। यरूशलेमका पर्खालहरूभित्र रातको अन्धकारमा सुरक्षित छु भनी तिनीहरूले ढुक्क महसुस गरिरहेका भए, तिनीहरूले शरण लिइरहेको आध्यात्मिक अन्धकारलाई उज्यालो बत्तीले चिरेर यहोवाले तिनीहरूलाई खोज्नुहुनेथियो। उहाँले पहिला न्यायको डरलाग्दा वचन सुनाएर अनि त्यसलाई पूरा गरेर तिनीहरूको धार्मिक भावशून्यतालाई भंग पार्नुहुनेथियो।
“परमप्रभुको भयानक दिन नजीकै छ”
१०. सपन्याहले “परमप्रभुको भयानक दिन[लाई]” कसरी व्याख्या गरे?
१० यहोवाले सपन्याहलाई यस्तो घोषणा गर्न प्रेरित गर्नुभयो: “परमप्रभुको भयानक दिन नजीकै छ, नजीकै, त्यो चाँड़ै आउँदैछ। परमप्रभुको दिन नमीठो हुनेछ।” (सपन्याह १:१४) हो, परमेश्वरको चेताउनीलाई ध्यान दिएर साँचो उपासना गर्न नचाहने पूजाहारी, भारदार तथा जनताका लागि भावी दिनहरू निस्सन्देह नमीठा हुनेथिए। न्याय गरिने त्यस दिनबारे वर्णन गर्दै भविष्यवाणी अझ यसो भन्छ: “त्यो दिन क्रोधको दिन हो, संकष्ट र दुःखको दिन, बर्बादी र उजाड़को दिन, अँध्यारो र विरक्तको दिन, बादल र घोर अन्धकारको दिन। किल्लाहरू र अल्गा अल्गा गढ़ी भएका शहरहरूका विरुद्धमा तुरही बजाउँदै चढ़ाइ गर्ने दिन।”—सपन्याह १:१५, १६.
११, १२. (क) यरूशलेम विरुद्ध कुन न्यायवचन घोषणा गरियो? (ख) के भौतिक धन सम्पत्तिले यहूदीहरूलाई बचाउनेथियो?
११ आउँदा केही दशकभित्र बाबेलका सेनाले यहूदामाथि अतिक्रमण गर्ने थियो। यरूशलेम उम्कने थिएन। त्यसका मुख्य टोलबजारहरू नष्ट हुनेथिए। “परमप्रभु भन्नुहुन्छ, ‘त्यस दिन माछा ढोकाबाट रुवाबासीको, दोस्रो टोलबाट हाहाकारको र डाँड़ाहरूबाट भयानक आवाज हुनेछ। हो मोर्तारका [यरूशलेम शहरको अंश] बासिन्दा हो, विलौना गर, किनकि कनानका सबै व्यापारीहरूको नाश भयो। चाँदीले लादिएका जत्ति सबै नष्ट भएका छन्।’”—सपन्याह १:१०, ११, पादटिप्पणी, न्युव.
१२ अधिकांश यहूदीहरूले यहोवाको दिन नजीकै छ भनेर विश्वास गर्न मानेनन्। तिनीहरू आफ्नो व्यापारमा नाफा कमाउन अति व्यस्त भए। यहोवाले आफ्नो विश्वासी अगमवक्ता सपन्याहद्वारा तिनीहरूको धन “लुटिनेछ र तिनीहरूका घर उजाड़ हुनेछन्” भनी अगमवाणी गर्नुभयो। आफ्नै हातले बनाएको दाखमद्यसमेत तिनीहरूले खान पाउने थिएनन्। “परमप्रभुको क्रोधको दिनमा नता तिनीहरूका चाँदीले न तिनीहरूका सुनले तिनीहरूलाई बचाउनसक्ने[थियो]।”—सपन्याह १:१३, १८.
अरू राष्ट्रहरूको न्याय
१३. सपन्याहले मोआब, अम्मोन तथा अश्शूर विरुद्ध कस्ता न्यायवचनहरू घोषणा गरे?
१३ आफ्नो अगमवक्ता सपन्याहद्वारा यहोवाले ती राष्ट्रहरूमाथि पनि क्रोध पोखाउनुभयो जसले उहाँका जनहरूलाई दुर्व्यवहार गरेका थिए। उहाँले यस्तो घोषणा गर्नुभयो: “मोआबको हेला र अम्मोनका सन्तानहरूको अपवाद मैले सुनेको छु, जसद्वारा तिनीहरूले मेरा प्रजालाई हप्काएर अहंकारसाथ उनीहरूको सीमानासम्म आइलागेका छन्। यसैकारण सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘म जीवित रहेझैं, निश्चय मोआब सदोमजस्तै र अम्मोनका सन्तानहरू गमोराजस्तै सिस्नुघारी, नूनका खानी र सदा सर्वदाको निम्ति उजाड़ हुनेछन्। . . . अनि उत्तर दिशाको विरुद्धमा आफ्नो हात पसारेर उहाँले अश्शूरलाई नाश पार्नुहुनेछ। उहाँले निनवेलाई उजाड़ र बलौटे ठाउँजस्तो सुखा तुल्याउनुहुनेछ।’”—सपन्याह २:८, ९, १३.
१४. विदेशी राष्ट्रहरूले इस्राएली तथा तिनीहरूका परमेश्वर, यहोवासित “अहंकार” गरे भन्ने के प्रमाण छ?
१४ मोआब र अम्मोन इस्राएलका पुराना शत्रुहरू थिए। (तुलना गर्नुहोस न्यायकर्त्ता ३:१२-१४) पेरिसको लुभ्र संग्रहालयमा राखिएको मोआबी शिलामा मोआबी राजा मेसाको अहंकारपूर्ण वाणीहरू कुँदिएका छन्। तिनले आफ्नो देउता केमोशको मदतद्वारा थुप्रै इस्राएली शहरहरू जितेको विवरण गर्वसित बताएका छन्। (२ राजा १:१) सपन्याहकै समकालीन अगमवक्ता यर्मियाले इस्राएलको गाद क्षेत्रलाई अम्मोनीहरूले आफ्नो देउता मल्कामको नाउँमा कब्जा गरेको घटनाबारे बताए। (यर्मिया ४९:१) अनि अश्शूरी राजा शल-मनेसेर पाँचौंले सपन्याहभन्दा एक शताब्दीअघि नै सामरियामा हमला गरेर त्यसलाई आफ्नो कब्जामा लिइसकेका थिए। (२ राजा १७:१-६) त्यसको केही समयपश्चात् राजा सनहेरीबले यहूदामाथि आक्रमण गरेर त्यसका बलिया शहरहरूलाई कब्जा गरे र यरूशलेमलाई समेत धम्काए। (यशैया ३६:१, २) यरूशलेमलाई आत्मसमर्पण गर्ने माग गरेर अश्शूरी राजाका प्रवक्ताले निस्सन्देह यहोवासित अहंकार गरेका थिए।—यशैया ३६:४-२०.
१५. आफ्ना जनहरूसित अहंकार गर्ने राष्ट्रहरूका देउताहरूलाई यहोवाले कसरी बेइज्जत गर्नुहुनेथियो?
१५ भजन ८३ ले मोआब, अम्मोन र अश्शूरलगायत अन्य थुप्रै राष्ट्रहरूको पनि उल्लेख गर्छ जसले यस्तो घमण्ड गर्दै इस्राएलसित अहंकार गरेका थिए: “आओ, हामी तिनीहरूलाई यसरी नाश गरौं, कि तिनीहरू एक जातिनै नरहोस्।” (भजन ८३:४) यी घमण्डी राष्ट्रहरू अनि तिनीहरूका देउताहरूलाई सेनाहरूका यहोवाले बेइज्जत गर्नुहुनेछ भनेर अगमवक्ता सपन्याहले साहसपूर्वक घोषणा गरे। “तिनीहरूका शेखीको निम्ति तिनीहरूलाई यही हुनेछ, किनभने तिनीहरूले सेनाहरूका परमप्रभुको प्रजालाई गाली गरेका छन्, र अहंकारसाथ तिनीहरू उनीहरूमाथि आइलागेका छन्। तिनीहरूका विरुद्धमा परमप्रभु भयंकर हुनुहुनेछ। उहाँले पृथ्वीका सबै देवताहरूलाई नाश पार्नुहुनेछ, र सबै जातिहरूले आफ्ना आफ्ना ठाउँमा उहाँलाई दण्डवत् गर्नेछन्।”—सपन्याह २:१०, ११.
“तिमीहरू मलाई पर्खिरहो”
१६. (क) आउँदै गरेको यहोवाको दिन कसको निम्ति आनन्दको स्रोत थियो अनि किन? (ख) यी विश्वासी शेष जनहरूलाई कुन उत्तेजक आज्ञा दिइयो?
१६ यहूदा र यरूशलेमका नेता तथा अधिकांश बासिन्दाहरूबीच आध्यात्मिक आलस्य, शंका, मूर्तिपूजा, भ्रष्टाचार अनि भौतिकवाद व्याप्त भए तापनि केही विश्वासी यहूदीहरूले सपन्याहका चेताउनीमूलक अगमवाणीहरू सुनेको हुनुपर्छ। यहूदाका भारदार, न्यायकर्ता तथा पूजाहारीहरूका घीनलाग्दा कामहरू देखेर तिनीहरू दुःखी थिए। अतः यी वफादार जनहरूका लागि सपन्याहको वाणी असाध्यै सान्त्वनादायी भयो। आउँदै गरेको यहोवाको दिन यिनीहरूका लागि चिन्ता होइन बरु आनन्दको स्रोत थियो। किनभने त्यसले त्यस्ता सबै घीनलाग्दा कामहरूको अन्त गर्नेथियो। यी विश्वासी शेष जनहरूले यहोवाको यस्तो उत्तेजक आज्ञा पालन गरे: “परमप्रभु भन्नुहुन्छ, ‘यसकारण नाश पार्नलाई म नउठुञ्जेल तिमीहरू मलाई पर्खिरहो। जाति जातिहरू र राज्य राज्यहरूलाई जम्मा गरेर तिनीहरूमाथि मेरो रीस, मेरो भयानक रीस पूरा खन्याउने मेरो इच्छा छ, किनकि सम्पूर्ण पृथ्वी मेरो डाहको आगोले भस्म हुनेछ।’”—सपन्याह ३:८.
१७. सपन्याहको न्यायवचन राष्ट्रहरूमाथि कहिले अनि कसरी पूरा भयो?
१७ यो चेताउनी पालन गर्ने जति पछि छक्क पर्नुपरेन। तिनीहरूमध्ये धेरैले आफ्नै जीवनकालमा सपन्याहको भविष्यवाणी पूरा भएको देखे। सा.यु.पू. ६३२ मा बेबिलोनी, मादी र उत्तरका जाति, सम्भवतः सिथेनीहरूको संयुक्त सेनाले निनवेलाई ध्वस्त पारे। त्यसबारे इतिहासकार विल डुरान्ट यसो भन्छन्: “नेबोपोलास्सरको बेबिलोनी सेना, साइक्सरेजको मादी सेना तथा ककेसस् पर्वतीय इलाकाहरूबाट आएका सिथेनीहरूले सजिलै अनि क्षणभरमै उत्तरका किल्लाहरूलाई कब्जा गरे। . . . एक प्रहारमै अश्शूरीहरू इतिहासबाट लुप्त भए।” अनि सपन्याहले ठीक त्यस्तै भविष्यवाणी गरेका थिए।—सपन्याह २:१३-१५.
१८. (क) यरूशलेममाथि ईश्वरीय न्याय कसरी पूरा भयो र किन? (ख) सपन्याहले मोआब र अम्मोनबारे गरेको भविष्यवाणी कसरी पूरा भयो?
१८ यहोवामाथि भरोसा गर्ने अधिकांश यहूदीहरूले आफ्नै जीवनकालमा यहूदा तथा यरूशलेममाथि उहाँको न्याय पूरा भएको पनि देखे। यरूशलेमबारे सपन्याहले यस्तो भविष्यवाणी गरेका थिए: “धिक्कार त्यसलाई, त्यो वागी, अशुद्ध र अत्याचारी शहरलाई! त्यसले कुनै कुरा सुन्दैन, ताड़नालाई ग्रहण गर्दैन, त्यसले परमप्रभुमा भरोसा राख्तैन, आफ्ना परमेश्वरको नजीकमा त्यो आउँदैन।” (सपन्याह ३:१, २) यरूशलेम अविश्वासी भएकोले बेबिलोनीहरूले दुइ पटक त्यसलाई कब्जा गरे र अन्ततः सा.यु.पू. ६०७ मा त्यसलाई नष्ट गरे। (२ इतिहास ३६:५, ६, ११-२१) मोआब र अम्मोन चाहिं यहूदी इतिहासकार जोसेफसअनुसार यरूशलेम पतन भएको पाँचौं वर्षमा बेबिलोनीहरूद्वारा परास्त भए। तिनीहरू पनि भविष्यवाणीले भनेझैं इतिहासबाट लुप्त भए।
१९, २०. (क) यहोवालाई पर्खनेहरूलाई उहाँले कसरी इनाम दिनुभयो? (ख) यी घटनाहरू किन हाम्रो चासोको विषय हो र अर्को लेखमा कुन कुरा छलफल गरिनेछ?
१९ यहोवालाई पर्खिरहने यहूदी तथा गैरयहूदीहरूको विश्वासलाई सपन्याहको भविष्यवाणीका यी तथा अन्य पूर्तिहरूले बलियो बनायो। यहूदा तथा यरूशलेम नाश हुँदा बच्नेहरूमध्ये यर्मिया, कूशी एबेदमेलेक, रेकाबको छोरो योनादाबका सन्तान थिए। (यर्मिया ३५:१८, १९; ३९:११, १२, १६-१८) यहोवालाई पर्खन नछाड्ने निर्वासित विश्वासी यहूदीहरू तथा तिनीहरूका सन्तानहरूले सा.यु.पू. ५३७ मा बाबेलबाट छुटकारा पाए। र यहूदामा साँचो उपासना पुनर्स्थापित गर्न फर्कने आनन्दित शेष जनहरूमध्ये हुन पाए।—एज्रा २:१; सपन्याह ३:१४, १५, २०.
२० यी सबै कुराले आज हाम्रोलागि के अर्थ राख्छ? सपन्याहको समयमा व्याप्त घृणित कुराहरू आज मसीहीजगतमा विद्यमान कुराहरूसित थुप्रै तरिकामा मिल्दाजुल्दा छन्। त्यसबाहेक, त्यति बेला यहूदीहरूले देखाएका विभिन्न प्रवृत्तिहरू आज पनि देख्न सकिन्छ अनि कहिलेकाहीं यहोवाका जनहरूबीचमा समेत पाउन सकिन्छ। यी कुराहरू यसपछिको लेखमा छलफल गरिनेछ।
[फुटनोट]
a “राजाका छोराहरू” भन्ने सम्बोधनले सम्पूर्ण शाही राजकुमारहरूलाई संकेत गरेको जस्तो देखिन्छ। किनभने त्यति बेला योशियाहका छोराहरू सानै थिए।
पुनरावृत्ति
◻ सपन्याहको समयमा यहूदाको धार्मिक स्थिति कस्तो थियो?
◻ निजामती नेताहरू कस्ता थिए र अधिकांश मानिसहरूको मनोवृत्ति कस्तो थियो?
◻ राष्ट्रहरूले यहोवाका जनहरूको कसरी शेखी गरे?
◻ सपन्याहले यहूदा तथा अन्य राष्ट्रहरूलाई कस्तो चेताउनी दिए?
◻ यहोवालाई पर्खनेहरूले कसरी इनाम पाए?
[पृष्ठ ९-मा भएको चित्र]
मोआबी राजा मेसाले पुरातन इस्राएल विरुद्ध निन्दनीय शब्दहरू बोले भनेर मोआबी शिलाले पुष्टि गर्छ
[स्रोत]
मोआबी शिला: Musée du Louvre, Paris
[पृष्ठ १०-मा भएको चित्र]
सपन्याहको भविष्यवाणीलाई समर्थन गर्ने बेबिलोनी इतिहासको यो कीलाक्षर शिलामा विभिन्न राष्ट्रहरूको संयुक्त सेनाले निनवेको नाश गरेको अभिलेख छ
[स्रोत]
कीलाक्षर शिला: Courtesy of The British Museum