शुद्ध भाषा बोल्नुहोस् र सदा बाँच्नुहोस्
“परमप्रभुको [यहोवाको] खोजी गर . . . धार्मिकता खोज, नम्रता खोज, परमप्रभुको [यहोवाको] रीसको दिनमा सायद तिमीहरूले शरण पाउँछौ कि।”—सपन्याह २:३.
१. (क) एउटा विदेशी भाषा सिक्न विद्यार्थीहरूले कुन कुन तरिकाहरू प्रयोग गर्दछन्? (ख) शुद्ध भाषा किन बोल्नु?
विद्यार्थीहरूले नया भाषा व्याकरण द्वारा वा बोलेर सिक्नसक्तछन्। व्याकरण द्वारा सिक्ने गर्दा, तिनीहरूले साधारणतया पाठ्य-पुस्तकहरू र व्याकरणका नियमहरूको प्रयोग गर्दछन्। बोलेर सिक्ने गर्दा चाहिं तिनीहरूका शिक्षकले उच्चारण गरेको बोली र शब्द-योजनाहरूको नक्कल गरिन्छ। “शुद्ध भाषा” सिक्दा, दुवै तरिकाहरूको प्रयोग हुन्छ। र “यहोवाको रीसको दिनमा शरण“ पाउने आशा हामीले राख्ने हो भने, त्यो भाषा सिक्न अत्यन्त जरुरी छ।—सपन्याह २:१-३; ३:८, ९.
२. शुद्ध भाषाको भनौं व्याकरणका नियमहरू हामी कसरी सिक्न सक्तछौं?
२ शुद्ध भाषा सिक्ने मुख्य पाठ्य पुस्तक बाइबल हो। यसको र बाइबलमा आधारित अन्य अरू प्रकाशनहरूको अध्ययन लगनशीलताका साथ गर्नाले, शुद्ध भाषाकालागि चाहिने व्याकरणका नियमहरू तपाईंले सिक्न सक्नु हुनेछ। यहोवाका कुनै एक जना साक्षीसँग घरैमा बाइबल अध्ययन गर्नु एउटा राम्रो शुरुआत हो। जस-जसले परमेश्वरलाई आफ्नो जीवन समर्पण गरिसकेकाछन्, तिनीहरूले नियमित र लगनशीलताका साथ शास्त्रको अध्ययन गर्नु अत्यावश्यक छ। तर शुद्ध भाषा सिक्नका निम्ति के कुनै विशेष प्रभावकारी तरिकाहरू छन्? र यो भाषा बोल्नाले के लाभहरू उपलव्ध हुन्छन्?
शुद्ध भाषा कसरी सिक्ने
३. शुद्ध भाषा सिक्ने एउटा तरिका के हो?
३ भाषा सिक्ने एउटा विद्यार्थीले जसरी व्याकरणका विभिन्न नियमहरू एक अर्कासँग कसरी सम्बन्धित छन् भन्ने कुराको क्रमशः बयान गर्न सक्तछ, त्यसरी नै सच्चाइबारे तपाईंले सिकिरहनु भएका कुराहरू र तपाईंले सिकी सक्नु भएका बुँदाहरू बीचको सम्बन्ध बुझ्नु, शुद्ध भाषा सिक्ने एउटा तरिका हो। उदाहरणकालागि, येशू ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ भनी एक समयमा तपाईंलाई थाह थियो होला, तर उहाँका कर्त्तव्यहरूबारे तपाईंलाई थोरै ज्ञान मात्र थियो। त्यस पछि, बाइबल अध्ययन द्वारा तपाईंलाई थाह भएको हुन सक्तछ कि ख्रीष्ट एउटा स्वर्गीय राजाको रूपमा शासन गर्दै हुनुहुन्छ र उहाँको हजार वर्षीय राज्यमा, आज्ञाकारी मानवजाति सिद्धताको अवस्थामा उचालिनेछ। (प्रकाश २०:५, ६) हो, तपाईंले पहिलेनै जानी सक्नु भएका कुराहरू र नया विचारहरू बीचको सम्बन्ध बुझ्नाले, शुद्ध भाषाबारे तपाईंको ज्ञानमा बृद्धि हुनेछ।
४. (क) शुद्ध भाषाको ‘व्याकरणका नियमहरू’ सिक्ने अर्को तरिका के हो र यसलाई प्रदर्शित गर्न बाइबलको कुनचाहिं घटनालाई प्रयोग गरिएको छ? (ख) गिदोन र तिनका तीन सय मानिसहरू क्रियाशील हुन थाल्दा के भयो? (ग) गिदोनबारे दिएको वर्णनबाट के पाठ सिक्न सकिन्छ?
४ बाइबलका घटनाहरूलाई मनै मन दृष्टिगत गर्नु पनि शुद्ध भाषाको ‘व्याकरण सम्बन्धी नियमहरू’ सिक्ने एउटा अर्को तरिका हो। उदाहरणकालागि, न्यायकर्त्ता ७:१५-२३ मा वर्णन गरिएको घटनालाई ‘हेर्ने र सुन्ने’ कोशिस् गर्नुहोस्। हेर्नुहोस! इस्राएलका न्यायकर्त्ता गिदोनले आफ्ना फौजहरूलाई एक एक सय गरी तीन दलमा विभक्त गरेका छन्। अन्धकारमा, तिनीहरू चुपचाप गिलाद डाँड़ाबाट तल झर्दै छन् र सुतिरहेका मिद्यानीहरूको खेमालाई चारैतिरबाट घेर्दछन्। के यी तीन सय जवानहरू, शस्त्रले राम्ररी सुसज्जित छन्? फौजी दृष्टिकोणबाट, छैनन्। यिनीहरूलाई देखे भने, घमण्डी सैनिक ज्ञाताहरू खिसी गर्दै हाँसनेछन्! प्रत्येक मानिससँग एउटा तुरही, एउटा रित्तो गाग्रो र गाग्रो भित्र राँको मात्र छ। तर सुन्नुहोस्! एउटा इशारा पाउना साथै, गिदोनसित हुने सय जना मानिसहरूले आफ्ना आफ्ना तुरहीहरू फुक्तछन् र आफ्ना आफ्ना गाग्राहरू फुटाउँछन्। अरू दुई सय जनाले पनि त्यसै गर्दछन्। जसै ती सबैले बल्दो राँको माथि उठाउँछन्, तिनीहरूले एसो भन्दै कराएको तपाईं सुन्नुहुन्छ: “परमप्रभुको [यहोवाको न्यु. व.] निम्ति र गिदोनको निम्ति तरवार!” यसबाट मिद्यानीहरू कस्तो तर्सिन्छन्! तिनीहरू आफ्ना पालहरूबाट लरखरिंदै निस्कन्छन् र राँकोबाट मास्तिर लम्किरहेको आगोमा देखिने डर लाग्दा आकारहरूको छायाले जसै तिनीहरूमा अन्धविश्वासपूर्ण भय जगाउँछ, निद्राले लट्ठ परेका तिनीहरूका आँखाहरू डरले खोलिन्छन्। मिद्यानीहरू जसै भाग्न शुरु गर्दछन्, गिदोनका मानिसहरूले आफ्ना तुरहीहरू फुकिरहन्छन्, र परमेश्वरले तिनीहरूका शत्रुहरू बीच, आपसमै मारामार गर्ने भाव उत्पन्न गराइ दिनु हुन्छ। शुद्ध भाषाको एउटा कस्तो शक्तिशाली पाठ! परमेश्वरले आफ्ना जनहरूको उद्धार कुनै मानवीय सेना बिना गर्न सक्नु हुन्छ। साथै, “आफ्नो नाउँको खातिर परमप्रभुले [यहोवाले न्यु. व.] तिमीहरूलाई [आफ्ना जनहरूलाई, न्यु. व.] त्याग्नु हुनेछैन।”—१ शमूएल १२:२२
५. मसीही सभाहरूले हाम्रो बोलीलाई परिमार्जित पार्नमा कसरी मदत दिन सक्तछ?
५ विद्यार्थीहरूलाई बोलिने तरिकाबाट कुनै विदेशी भाषा सिकाउँदा, शिक्षकले उच्चारण गर्ने आवाजहरू र शब्द-योजनालाई तिनीहरूले ठीक ठीक दोहराउने प्रयास गर्दछन्। मसीही सभाहरूमा शुद्ध भाषा बोल्न पाउने कति असल मौकाहरू पाइन्छ! त्यहाँ अरूहरूले शास्त्रमा पाइने सत्यको भाषामा आफूलाई व्यक्त गरेको हामी सुन्छौं र हामी आफैले पनि टिप्पणी गर्ने सुअवसर पाउन सक्छौं। हामीले केही गलती भनौंला भनी के हामी डराउँछौं? त्यो हाम्रो मुख्य चिन्ताको विषय हुनु भएन, किनकि यस प्रकारका साप्ताहिक प्रहरीधरहरा अध्ययन जस्ता सभाहरूमा अध्यक्षता गर्ने प्राचीनले मायालु ढ़ङ्गमा हाम्रो गलती सुधारेमा, हाम्रो भाषा परिष्कृत हुनसक्तछ। त्यसकारण, मसीही सभाहरूमा नियमित रूपमा उपस्थित हुनुहोस् र त्यसमा भाग लिनुहोस्।—हिब्रू १०:२४, २५.
विकारहरूको अतिक्रमण
६. यहोवाका साक्षीहरू र मसीही जगतका धार्मिक सङ्गठनहरूमा त्यतिको भिन्नता किन छ?
६ यहोवाको उद्देश्य र उहाँको स्वर्गीय राज्यबारे घोषणा गर्नेहरू उहाँका साक्षीहरूको हैसियतमा शुद्ध भाषा बोल्दछन्। तिनीहरू उहाँको नाउँको प्रचार गर्छन् र उहाँको सेवा “एकै हृदयको भएर,” [काँधमा काँध मिलाएर, न्यु.व.] वा एक मनका भएर गर्दछन्। (सपन्याह ३:९) मसीही जगतसँग बाइबल भएता पनि, तिनीहरू शुद्ध भाषा बोल्दैनन् नता विश्वासका साथ परमेश्वरको नाउँमा पुकारा गर्छन्। (योएल २:३२) तिनीहरूसँग शास्त्रमा आधारित कुनै एकनासको सन्देश छैन। किन? किनभने परमेश्वरको वचनलाई भन्दा तिनीहरूले धार्मिक परम्पराहरू, सांसारिक दर्शनहरू, र राजनैतिक वफादारीहरूलाई महत्त्व दिन्छन्। तिनीहरूका उद्देश्यहरू, आशाहरू, र तरिकाहरू यस दुष्ट संसारका हुन्।
७. यहोवाका साक्षीहरू र झूटो धर्मका बीचका कुन भिन्नताहरूलाई १ यूहन्ना ४:४-६ मा सङ्केत गरिएको छ?
७ मसीही जगत—अर्थात् झूटो धर्मको सम्पूर्ण विश्व-साम्राज्यलेनै—यहोवाका साक्षीहरूले बोल्ने भाषा बोल्दैनन्। रमाइलो कुरा के छ भने, शुद्ध भाषा बोल्नेहरूलाई प्रेरित पावलले लेखे: “. . . तिमीहरूचाहिं परमेश्वरका हौ, र तिनीहरूमाथि विजयी भएका छौ। किनभने, जो तिमीहरूमा हुनुहुन्छ, उहाँ संसारमा हुनेभन्दा महान हुनुहुन्छ। तिनीहरू संसारका हुन्, यसकारण तिनीहरू संसारकै बात बोल्छन्, र संसारले तिनीहरूका कुरा सुन्छ। हामी ता परमेश्वरबाटका हौं। परमेश्वरलाई चिन्नेले हाम्रो कुरा सुन्छ, र जो परमेश्वरको होइन, त्यसले हाम्रो कुरा सुन्दैन।” (१ यूहन्ना ४:४-६) यहोवाका सेवकहरू झुट्टा शिक्षकहरूमाथि विजयी भएका छन्, किनभने आफ्ना जनहरूसँग रहनु हुने परमेश्वर “यो संसारमा” अर्थात् यो अधर्मी मानव समाजमा रहने “[दियाबल] भन्दा महान् हुनुहुन्छ।” धर्मत्यागीहरू “संसारका भएका हुनाले” र तिनीहरूमा त्यसको दुष्ट आत्मा रहेको कारण, “तिनीहरू संसारकै बात बोल्छन्, र संसारले तिनीहरूका कुरा सुन्छ।” तर भेड़ा खालका मानिसहरूले परमेश्वरको तर्फबाट आउनेहरूको कुरा सुन्छन् किनभने यहोवाका जनहरू उहाँको सङ्गठन द्वारा प्रस्तुत गरिएको बाइबलको सच्चाइको शुद्ध भाषा बोल्दछन् भनी ती भेड़ा खालका मानिसहरूले बुझेका छन्।
८. अधर्मको मानिस को हो?
८ एउटा ठूलो धर्मत्यागबारे भविष्यवाणी गरिएको थियो, र ‘अधर्मको रहस्य’ सा. यु. प्रथम शताब्दीमानै सक्रिय भइसकेको थियो। समयमा, मण्डलीमा शिक्षा दिने काम स्वीकार गर्ने—वा हत्याउने—मानिसहरूले धेरै झुट्टा सिद्धान्तहरू सिकाए। तिनीहरूको भाषा कुनै हालतमा पनि शुद्ध थिएन। अतः झूटो धार्मिक परम्पराहरू, सांसारिक दर्शन र गैर-शास्त्रीय शिक्षाहरूसँग बाँधिएको, “पापको मानिस” अर्थात् मसीही जगतको पादरी समूह खड़ा भयो।—२ थिस्सलोनिकी २:३, ७.
शुद्ध भाषा विश्वभरी सुनिन्छ
९. १९ वीं शताब्दीको दौडानमा के धार्मिक विकाशहरू भइरहेका थिए?
९ ईश्वरीय भय राख्ने मानिसहरूको एउटा सानो जमातले मात्र, ‘पवित्र जनहरूलाई सँधैको निम्ति दिएको विश्वासको निम्ति, उत्कटसाथ कम्मर कसे [सङ्घर्ष गरे, न्यु. व.]।’ (यहूदा ३) यस्ता विश्वासीहरू कहाँ पाइन सकिन्थ्यो? शताब्दियौंसम्म झूटो धर्मले साधारण जनतालाई आत्मिक अन्धकारमा राख्यो, तर परमेश्वरको अनुमोदन पाएका ती थोरैलाई उहाँ चिन्नु हुन्थ्यो। (२ तिमोथी २:१९) र अनि, १९ वीं शताब्दीको व्यापारिक, औद्यौकिक, र सामाजिक परिवर्तनहरूको माझमा, झूटो धर्मको गड़बड़ीबाट छुट्टै र स्पष्टसँग सुनिन सकिने आवाजहरू उठे। साना साना समूहहरूले समयका चिन्हहरू पढ्ने र येशूको दोस्रो आगमनबारे भविष्यवाणी गर्ने प्रयास गरे। तापनि, सबैलेनै शुद्ध भाषा बोलेका थिएनन्।
१०. शुद्ध भाषा बोल्नका निम्ति, “दोस्रो आगमनमा” विश्वास गर्ने कुन समूहलाई परमेश्वरले छान्नु भयो, र तिनीहरूलाई यहोवाले साथ दिनु भएको छ भन्ने कुरा किन स्पष्ट छ?
१० तथापि, “दोस्रो आगमनबारे” घोषणा गर्ने कुनचाहिं आवाजलाई यहोवाले उहाँका साक्षीहरूको हैसियतमा शुद्ध भाषा बोल्नका निम्ति छान्नु भइरहेछ भन्ने कुरा १८७९ मा स्पष्ट भयो। त्यस बेलासम्म, पिट्सवर्ग, पेन्सिल्भिनिया, यु. एस. ए. मा, चार्ल्स टेज रसलको नेतृत्वमा बाइबल अध्ययन गर्ने एउटा सानो समूह जम्मा हुन थालेको थियो। येशूको दोस्रो आगमनको समय देखिन्, उहाँको अदृश्य उपस्थिति शुरु हुनेछ, संसारमा एउटा क्लेशको समय आउन लागेको छ जस पश्चात् ख्रीष्टको हजार वर्षीय शासन द्वारा पृथ्वीमा प्रमोदवन पुनः स्थापित हुनेछ र आज्ञाकारी मानिसहरूले अनन्त जीवन पाउनेछन् भनी तिनीहरू निश्चित थिए। १८७९ सालको जुलाई महिनामा, यी बाइबलका विद्यार्थीहरूले एउटा पत्रिकाको प्रकाशन शुरु गरे जसलाई आज प्रहरीधरहरा भन्छन्। यस पत्रिकाको प्रथम अङ्कको ६,००० प्रतिहरू मात्र वितरण गरियो। तर “यहोवाको हातले” ती साक्षीहरूको साथ दियो किनकि यो पत्रिका आज १११ भाषाहरूमा प्रकाशित हुन्छ र प्रत्येक अङ्कको सरदर १५,०००,००० भन्दा बढ़ी प्रतिहरू छापिन्छन्।—प्रेरित ११:१९-२१ सङ्ग तुलना गर्नुहोस्.
११, १२. शुद्ध भाषा बोल्नेहरूले बुझेका केही शास्त्रीय सत्यहरू के हुन्?
११ बाइबल र यहोवाका साक्षीहरूको प्रकाशनहरूद्वारा, र खासगरी यी उत्साही मसीहीहरूले गरेका सुसमाचारको घोषणाबाट, शुद्ध भाषा विश्वभरी फैलिएको छ। र यो भाषा बोल्नेहरूले कस्तो महान लाभहरूको आनन्द उठाइ रहेछन्! त्रिएकको रहस्यमय भाषा अनुसार, ‘परमेश्वर परमेश्वर हुनुहुन्छ, ख्रीष्ट परमेश्वर हुनुहुन्छ, र पवित्र आत्मा परमेश्वर हुनुहुन्छ’ भन्नुको सट्टा, तिनीहरू यहोवा परमप्रधान हुनुहुन्छ, येशू ख्रीष्ट उहाँ मुनि उहाँका पुत्र हुनुहुन्छ, र पवित्र आत्मा परमेश्वरको अद्भुत सक्रिय शक्ति हो भन्ने बाइबलको अड़ानसित तिनीहरू सहमत छन्। (उत्पत्ति १:२; भजनसंग्रह ८३:१८; मत्ती ३:१६, १७) शुद्ध भाषा बोल्नेहरू जान्दछन् कि मानिस कुनै तल्लो स्तरका जीवहरूबाट विकशित भएर आएको होइन तर उसलाई एउटा मायालु परमेश्वरले सृष्टि गर्नु भएको हो। (उत्पत्ति १:२७; २:७) मृत्यु पश्चात प्राण बाँची रहँदैन भनी तिनीहरू जान्दछन्—जसले गर्दा मृतकहरूको डर हटेर जान्छ। (उपदेशक ९:५, १०; इजकिएल १८:४) नरक भनेको एउटा पिशाच देवताले रचेको कुनै अग्निमय पीड़ा-स्थल होइन तर सारा मानवजातिको चिहान हो भनी तिनीहरूले बुझेकाछन्। (अय्यूब १४:१३) मृतकहरूका निम्ति पुनरुत्थान नै ईश्चर-प्रदत्त आशा हो भन्ने कुरा पनि तिनीहरू जान्दछन्।—यूहन्ना ५:२८, २९; ११:२५; प्रेरित २४:१५.
१२ शुद्ध भाषा बोल्नहरूले रगत र जीवन प्रति आदर देखाउँछन्। (उत्पत्ति ९:३, ४; प्रेरित १५:२८, २९) ख्रीष्टको पार्थिव जीवन, आज्ञाकारी मानवहरूका निम्ति दिएको छुटकाराको मोल हो भनी तिनीहरू महसुस गर्दछन्। (मत्ती २०:२८; १ यूहन्ना २:१, २) येशूद्वारा यहोवा परमेश्वरलाई नै प्रार्थना गर्नुपर्दछ भनी थाह पाएका हुनाले तिनीहरू कुनै “सन्तहरूलाई” प्रार्थना गर्दैनन्। (यूहन्ना १४:६, १३, १४) परमेश्वरको वचनमा मूर्तिपूजाको निन्दा गरिएको हुनाले, तिनीहरूको उपासनामा मूर्तिहरूको प्रयोग हुँदैन। (प्रस्थान २०:४-६; १ कोरिन्थी १०:१४) र बाइबलद्वारा निन्दित भूतविद्यालाई तिनीहरूले पनि इन्कार गरेका हुनाले तिनीहरू भूतविद्याको खतराबाट अलग रहन्छन्।—व्यवस्था १८:१०-१२; गलाती ५:१९-२१.
१३. शुद्ध भाषा बोल्नेहरू किन अन्योलमा परेका छैनन्?
१३ शुद्ध भाषा बोल्ने यहोवाका साक्षीहरू, समयको प्रवाहमा तिनीहरू कहाँ पुगेका छन् भन्ने कुराबारे अन्योलमा छैनन्। यहोवाले तिनीहरूलाई सिकाउनु भएको छ कि तिनीहरू “अन्तको समयमा” छन् र तिनीहरूलाई साथ दिन, येशू एक जना महिमित र अदृश्य आत्माको रूपमा उपस्थित हुनु हुन्छ। (दानियल १२:४; मत्ती २४:३-१४; २ तिमोथी ३:१-५; १ पत्रुस ३:१८) आफ्ना पछि पछि, शक्तिशाली स्वर्गीय सेनाहरू लिनु भएर, ख्रीष्टले यस रीतिरिवाजको विरुद्धमा परमेश्चरको इन्साफको कार्यान्बयन गर्नै आँट्नु भएको छ। (दानियल २:४४; प्रकाश १६:१४, १६; १८:१-८; १९:११-२१) हो, र ख्रीष्टका अधीनमा परमेश्वरको राज्यले एउटा पार्थिव प्रमोदवनमा सारा आज्ञाकारी मानवजातिका निम्ति महान आशिषहरू चाँड़ैनै ल्याउनेछ भन्ने सुसमाचारको घोषणा गर्नमा शुद्ध भाषा बोल्नेहरू व्यस्त छन्। (यशैया ९:६, ७; दानियल ७:१३, १४; मत्ती ६:९, १०; २४:१४; लूका २३:४३) त्यतिका धेरै कुराहरू गरी सके पछि पनि, हामी अझ माथि-माथिका कुराहरू मै छौं! निश्चय नै, शुद्ध भाषा पृथ्वीमा सबै भन्दा अलङ्कृत र मूल्यवान भाषा हो!
१४. शुद्ध भाषा बोल्नेहरूले अरू के लाभहरूको आनन्द लिइरहेका छन्?
१४ शुद्ध भाषा बोल्नेहरूले उठाउने लाभहरू मध्ये एउटा त “परमेश्वरको शान्ति” हो जसले तिनीहरूको हृदय र मानसिक शक्तिको रक्षा गर्दछ। (फिलिप्पी ४:६, ७) स्वास्थ्य, आनन्द र यहोवालाई खुशी तुल्याउँदा अनुभव गरिने सन्तोष बढ़ाउने बाइबलका नियमहरू तिनीहरूले पालन गर्दछन्। (१ कोरिन्थी ६:९, १०) हो, शुद्ध भाषा बोल्नेहरूसँग परमेश्वरले प्रतिज्ञा गर्नु भएको नया संसारमा अनन्त जीवनको आशा छ।—२ पत्रुस ३:१३.
उपयोग गर्नुहोस् वा गुमाउनुहोस्
१५. शुद्ध भाषा राम्रोसित बुझ्न सक्नु, तपाईंका लागि कसरी लाभदायक हुन सक्तछ?
१५ नया संसारमा तपाईं शुद्ध भाषा बोल्न चाहनु हुन्छ भने, त्यसबारे तपाईंलाई यति राम्रो ज्ञान हुनु पर्दछ कि तपाईंले त्यसै भाषामा सोंच्न सक्नु पर्छ। एउटा भाषा सिक्ता, मानिसले पहिले आफ्नो मातृभाषामा सोंचने गर्दछ र त्यस पछि सिकिरहेको नया भाषामा आफ्ना विचारहरूलाई अनुवाद गर्दछ। तर नया भाषा बोल्नमा अझ निपुण हुँदै गए पछि, अनुवाद गर्नै नपर्ने गरी उ नया भाषामै सोंच्न थाल्दछ। त्यसैगरी, लगनशीलताका साथ गर्नु भएको अध्ययन द्वारा, तपाईंले शुद्ध भाषा यति राम्रोसित बुझ्न सक्नु हुनेछ कि समस्याहरूको समाधान गर्न र “जीवनको मार्गमा” रही रहनका निम्ति बाइबलका नियमहरू र सिद्धान्तहरू कसरी प्रयोग गर्नु पर्ने हो सो जान्नु हुनेछ।—भजनसंग्रह १६:११.
१६. नियमित रूपमा तपाईंले शुद्ध भाषा प्रयोग गर्नु भएन भने के हुन सक्तछ?
१६ नियमित रूपमा शुद्ध भाषाको प्रयोग तपाईंले गर्नु पर्दछ, अन्यथा त्यसलाई राम्रोसित बोल्ने योग्यता गुमाउनु हुनेछ। उदाहरणकालागि: वषौं अघि हामीमध्य केहीले एउटा विदेशी भाषा सिकेका थियौं होला। त्यस भाषाका केही शब्दहरूको हामीलाई सम्झना होला, तर त्यसलाई नियमित रूपमा प्रयोग न गरेको हुनाकारण, अब त्यो भाषामा निपुणताका साथ बोल्ने योग्यता चाहिं हामीले गुमाएको हुनु सक्तछ। शुद्ध भाषासँग पनि त्यस्तै हुन सक्तछ। त्यसलाई नियमित रूपमा प्रयोग गरेनौं भने, त्यसलाई बोल्नमा हामी सिपालु हुने छैनौं र यसको परिणाम हाम्रा आध्यात्मिकताका लागि अति नै दुःखदायी हुनेछ। यसकारण सभाहरूमा र मसीही सेवकाईमा हामी नियमित रूपले त्यो बोल्ने गरौं। यी गतिविधिहरूका साथै, हाम्रो व्यक्तिगत अध्ययनबाट हामीले सही ढङ्गमा शुद्ध भाषा बोल्ने योग्यता प्राप्त गर्ने छौं। र यो कति महत्त्वपूर्ण कुरा हो!
१७. बोली-वचन जीवनदायी वा मृत्यु दायक हुन सक्तछ भनी केले दर्शाउँछ?
१७ बोली-वचन जीवनदायी वा मृत्यु दायक हुनसक्तछ। यो कुरा इस्राएलका एप्रैमी कुलका र गिलादी न्यायकर्त्ता यिप्ताहका बीचमा भएको द्वन्द द्वारा प्रदर्शित भयो। यर्दन नदी पार गरेर भाग्न लागेका एप्रैमीहरूलाई चिन्नका निम्ति, गिदानीहरूले शत्रुबाट मित्र छुट्टयाउन “शिब्बोलेत” भन्ने खास शब्दको प्रयोग गरे। यो शब्द “श” बाट शुरु हुन्थ्यो। यर्दनका घाटहरूमा, एप्रैमका मानिसहरूले “शिबोलेत” भन्नुको सट्टा “सिबोलेत” भन्दै शब्दको शुरुको अक्षरको नै गलत उच्चारण गरे र यसरी तिनीहरू गिलादी गारदहरूको जालमा आफ्नै बोलीले गर्दा फँसे। फलःस्वरुप, ४२,००० एप्रैमीहरू काटिए! (न्यायकर्त्ता १२:५, ६) त्यसैप्रकार, बाइबलका सत्य कुराहरू राम्रोसँग परिचित न भएकाहरूका निम्ति मसीही जगतका पादरीहरूले सिकाएका कुराहरू प्रायः शुद्ध भाषा जस्तै सुनिन सक्छ। तर झूटो धर्म अनुसार बोल्नाले, यहोवाको रीसको दिनमा मृत्युदायी हुनेछ।
एकताबद्ध भएर हामी रहन्छौं
१८, १९. सपन्याह ३:१-५ को महत्त्व के हो?
१८ प्राचीन समयको अविश्वासी यरूशलेम र उसको प्रतिरूप, आधुनिक मसीही जगतलाई सङ्केत गर्दै, सपन्याह ३:१-५ मा भनिएको छ: “धिक्कार त्यसलाई, त्यो वागी, अशुद्ध र अत्याचारी शहरलाई! त्यसले कुनै कुरा सुन्दैन, ताड़नालाई ग्रहण गर्दैन, त्यसले परमप्रभुमा [यहोवामा न्यु. व.] भरोसा राख्तैन, आफ्ना परमेश्वरको नजीकमा त्यो आउँदैन। त्यसका भारदारहरू त्यसको बीचमा गर्जने सिंहहरू हुन्। त्यसका न्यायकर्त्ताहरू चाहिं भोलिपल्ट बिहानसम्म केही बाँकी नराख्ने साँझका ब्वाँसाहरू हुन्। त्यसका अगमवक्ताहरू बेपर्वाही, अविश्वासी मानिसहरू हुन्। त्यसका पूजाहारीहरूले चाहिं पवित्र-स्थानलाई अशुद्ध पारेका छन्। तिनीहरूले व्यवस्थालाई उल्टापाल्टा पारेका छन्। त्यसको बीचमा रहनुभएको परमप्रभु [यहोवा न्यु. व.] धर्मी हुनुहुन्छ। उहाँ अधर्म गर्नुहुन्न। उहाँले बिहान बिहानै आफ्नो न्याय प्रकट गर्नुहुन्छ। उहाँ चुक्नुहुन्न। तर अन्यायी मानिसलाई लाज लाग्दैन।” यी शब्दहरूको महत्त्व के हो?
१९ पुरातनको यरूशलेम र आधुनिक मसीही जगत दुवैले यहोवाका विरुद्धमा विद्रोह गरे र झूटो धर्मसित आफूलाई अपवित्र पारे। तिनीहरूका धर्मगुरूको गलत काम-कुराले गर्दा, मानिसहरूमाथि दबाउ आइ पर्यो। परमेश्वरबाट बारम्बार चेताउनी पाउँदा पनि, तिनीहरूले सुनेनन् र उहाँका नजीक आएनन्। तिनीहरूका भारदारहरू, अहङ्कारका साथ धार्मिकताको अनादर गर्दै, निल्ने सिंहहरू जस्ता भएका छन्। तिनीहरूका न्यायकर्त्ताहरू अति भोकाएका ब्वाँसाहरू जस्ता हुँदै, न्यायको धज्जी उड़ाउँदछन् छन्। तिनीहरूका पूजाहारीहरूले चाहिं ‘पवित्र स्थानलाई अशुद्ध र व्यवस्थालाई उल्टापाल्टा पारेका छन्।’ अतः यहोवाले ‘राज्य राज्यहरूलाई जम्मा गरेर तिनीहरूमाथि आफ्नो रीस, भयानक रीस खन्याउनुनै’ आँट्नु भएको छ।—सपन्याह ३:८.
२०. (क) यहोवाको रीसको दिनमा बाँच्नका निम्ति के गर्नै पर्दछ? (ख) परमेश्वरबाट आउने अनन्तका आशिषहरूको आनन्द उठाउने आशा तपाईंले कसरी राख्न सक्नु हुन्छ?
२० यहोवाको रीसको दिन चाँड़-चाँड़ो नजीक आउँदैछ। त्यसकारण, परमेश्वरको नया संसारमा बाँच्नका निम्ति, अबेर नगरिकनै शुद्ध भाषा सिक्नुहोस् र बोल्नुहोस्। त्यसो गर्नाले मात्र तपाईं अहिले आत्मिक विपत्तीबाट र चाँड़ैनै आइरहेको विश्वव्यापी क्लेशबाट आफूलाई सुरक्षित राख्न सक्नु हुन्छ। यहोवाको रीसको दिन र उहाँको राज्यको हृदय स्पर्शी सन्देश यहोवाका साक्षीहरूले घोषणा गरिरहेकाछन्। उहाँको राजत्वको महिमाबारे कुरा गर्नमा तिनीहरू कति आनन्द मान्दछन्! (भजनसंग्रह १४५:१०-१३) तिनीहरूसँग एकताबद्ध हुनुहोस्, र अनन्त जीवन र शुद्ध भाषाका सृजनहार, सार्वभौम प्रभु यहोवाबाट आउने अनन्त जीवन र अन्य आशिषहरूको आनन्द तपाईं उठाउन सक्नु हुनेछ। (w91 5/1))
तपाईंले कसरी उत्तर दिनुहुन्छ?
◻ शुद्ध भाषा सिक्ने केही तरिकाहरू के हुन्?
◻ शुद्ध भाषा बोल्नु किन लाभदायक हो?
◻ नियमित रूपमा तपाईंले शुद्ध भाषा प्रयोग गर्नु भएन भने के हुन सक्तछ?
◻ यहोवाको रीसको दिनमा बाँचेर अनन्त आशिषहरूको आनन्द कसरी लिन सकिन्छ?
[पृष्ठ २२-मा भएको चित्र]
गिदोन र तिनीसँग भएका मानिसहरूले आ-आफ्ना तुरही फुक्तछन् र राँकोहरू मास्तिर उठाउँदछन्
[पृष्ठ २४-मा भएको चित्र]
शुद्ध भाषाको वृद्धि गराउन परमेश्वरले चार्लस टेज रसल र उहाँका सङ्गीहरूलाई प्रयोग गर्नु हुँदै थिए भनी १८७९ देखिन् यता स्पष्ट देखियो
[पृष्ठ २६-मा भएको चित्र]
यहोवाका साक्षीहरूसँग एकताबद्ध भएर के तपाईं शुद्ध भाषा बोल्नु हुँदैछ?