के परमेश्वर उपवास बसेको चाहनुहुन्छ?
मोशा मार्फत दिइएको परमेश्वरको व्यवस्थाअनुसार एउटै अवसरमा मात्र उपवास बस्नु आवश्यक थियो। त्यो थियो—वार्षिक प्रायश्चितको दिन। त्यस दिन इस्राएलीहरूले ‘आफूलाई दीन तुल्याउनू’ भनेर व्यवस्थामा आज्ञा दिइएको थियो र तिनीहरू उपवास बस्थे भनेर त्यसैद्वारा थाह लाग्छ। (लेवी १६:२९-३१; २३:२७; भजन ३५:१३) तथापि, यो उपवास औपचारिकता मात्र थिएन। प्रायश्चितको दिन मनाउँदा आफ्नो पापी अवस्था र छुटकाराको खाँचोबारे झन् सचेत हुन इस्राएलका मानिसहरू उत्प्रेरित हुन्थे। आफ्ना पापहरूको लागि परमेश्वरसामु अफसोस र पश्चात्ताप व्यक्त गर्न पनि तिनीहरू त्यस दिन उपवास बस्थे।
यो उपवास मोशालाई दिइएको व्यवस्थाअन्तर्गत एक मात्र अनिवार्य उपवास भए तापनि इस्राएलीहरू अरू अवसरहरूमा पनि उपवास बस्थे। (प्रस्थान ३४:२८; १ शमूएल ७:६; २ इतिहास २०:३; एज्रा ८:२१; एस्तर ४:३, १६) यी उपवासहरू पश्चात्ताप प्रदर्शित गर्ने स्वैच्छिक उपवासहरू थिए। यहोवाले गलत कार्य गर्ने यहूदाका मानिसहरूलाई यसरी आग्रह गर्नुभयो: “तिमीहरू आफ्ना सम्पूर्ण हृदयले, उपवास बसेर, रूँदै र विलाप गर्दै मतिर फर्क।” यो देखावटी हुनु हुँदैनथ्यो किनभने परमेश्वर अझ भन्नुहुन्छ: “आफ्नो लुगा होइन, तर आफ्नो हृदय फटाएर।”—योएल २:१२-१५.
अन्ततः थुप्रैले औपचारिक रूपमा मात्र उपवास बसे। यहोवाले यस्तो बनावटी उपवासलाई घृणा गर्नुभयो। तसर्थ, उहाँले कपटी इस्राएलीहरूलाई यसरी सोध्नुभयो: “के मैले चुनेको उपवास यस्तै हो? मानिसले आफ्नै प्राणलाई दुःख दिने उपवासको दिन? के निगालोझैं आफ्नो शिर झुकाउने, औ भाङरा र खरानी ओछ्याउने दिन यो हो? के यसैलाई तिमीहरू उपवास र परमप्रभुको निम्ति ग्रहणयोग्यको दिन भन्छौ?” (यशैया ५८:५) देखावटी उपवास बस्नुको साटो यी हठी मानिसहरूलाई पश्चात्ताप योग्य काम गर्न भनिएको थियो।
यहूदीहरूले स्थापना गरेका केही उपवासहरूलाई परमेश्वरले सुरुदेखि नै अनुमोदन गर्नुभएन। उदाहरणका लागि, सा.यु.पू. सातौं शताब्दीमा भएको यरूशलेमको कब्जा र विनाशसित सम्बन्धित विपत्तिहरूको संस्मरणमा त्यस समयका यहूदीहरू एक ताका वर्षमा चार पटक उपवास बस्थे। (२ राजा २५:१-४, ८, ९, २२-२६; जकरिया ८:१९) यहूदीहरू बाबेलको कैदबाट मुक्त भएपछि यहोवाले भविष्यवक्ता जकरिया मार्फत यसो भन्नुभयो: “तिमीहरू सत्तरी वर्षसम्म उपवास बसेर . . . के त्यो उपवास मेरै निम्ति गर्दथियौ र?” परमेश्वरले यी उपवासहरूलाई अनुमोदन गर्नुभएन किनभने यहोवाले ल्याउनुभएका न्यायहरूका लागि यहूदीहरू उपवास बसेर विलाप गरिरहेका थिए। आफूमाथि विपत्ति थोपर्ने आफ्नो गलत कार्यको लागि नभई आइपरेको त्यस विपत्तिको कारण तिनीहरू उपवास बसिरहेका थिए। तिनीहरू आफ्नो भूमिमा पुनर्स्थापित भएपछि विगत घटनाबारे विलाप गर्नुको साटो तिनीहरूको लागि यो रमाहटको समय थियो।—जकरिया ७:५.
के उपवास मसीहीहरूका लागि हो?
येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई उपवास बस्ने आज्ञा कहिल्यै दिनुभएन। यद्यपि, प्रायश्चितको दिन उहाँ र उहाँका चेलाहरू उपवास बस्नुभयो। किनकि उहाँहरू मोशालाई दिइएको व्यवस्थाको अधीनमा हुनुहुन्थ्यो। त्यसबाहेक, येशूका कुनै कुनै चेलाहरू अरू कतिपय अवसरहरूमा स्वेच्छापूर्वक उपवास बसे किनभने उक्त प्रचलनलाई चटक्कै छाड्नू भनेर उहाँले तिनीहरूलाई निर्देशन दिनुभएन। (प्रेरित १३:२, ३; १४:२३) तर तिनीहरूले ‘मानिसहरूलाई उपवास बसेका देखाउनालाई आफ्ना मुख बिगार्नु हुँदैनथ्यो।’ (मत्ती ६:१६) यस्तो सतही धार्मिकताले अरू मानवहरूबाट प्रशंसा र अनुमोदन बटुल्नसक्ला। तैपनि, परमेश्वर यस्तो देखावटीपनमा खुशी हुनुहुन्न।—मत्ती ६:१७, १८.
येशूले उहाँको मृत्यु हुँदा आफ्ना चेलाहरू उपवास बस्नेबारे बताउनुभयो। त्यतिबेला उहाँले उपवासलाई धर्मविधि बनाइरहनुभएको थिएन। बरु, तिनीहरूले अनुभव गर्ने तीव्र दुःखको प्रतिक्रियालाई देखाउनु हुँदैथियो। उहाँको पुनरुत्थान भएपछि उहाँ फेरि तिनीहरूको साथमा हुनुहुने थियो र त्यसपछि तिनीहरू उपवास बस्नुपर्ने कुनै कारण रहने थिएन।—लूका ५:३४, ३५.
“ख्रीष्ट . . . धेरै जनाका पाप बोक्नालाई एकैचोटि बलिदान” हुँदा मोशालाई दिइएको व्यवस्थाको अन्त भयो। (हिब्रू ९:२४-२८) अनि त्यस व्यवस्थाको अन्तसितै प्रायश्चितको दिनमा उपवास बस्नू भन्ने आज्ञा पनि अन्त भयो। यसर्थ, बाइबलमा उल्लिखित एक मात्र अनिवार्य उपवासलाई हटाइयो।
लेन्टबारे के भन्न सकिन्छ?
त्यसोभए, लेन्टको दौडान उपवास बस्ने मसीहीजगत्को प्रचलनको आधार के हो? विभिन्न चर्चहरूमा यो उपवास बस्ने तरिका बेग्लाबेग्लै भए तापनि क्याथोलिक र प्रोटेस्टेन्ट दुवै चर्चहरूले यसलाई स्वीकार्छन्। कोही कोहीले इस्टरअघिको ४० दिनभरि दिनको एक छाक मात्र खान्छन्। अरू चाहिं लेन्टको पहिलो दिन र गुड फ्राइडेको दिन मात्र पूर्णतया उपवास बस्छन्। कोही कोहीको दृष्टिकोणअनुसार लेन्टमा मासु, माछा, अन्डा र दूधबाट बनिएका पदार्थहरू खानै हुँदैन।
येशूको बप्तिस्मापछि उहाँको ४० दिने उपवासलाई नै लेन्टको तथाकथित आधार मानिएको छ। तर के त्यस उपवासलाई वर्षेनी मान्नू भनेर उहाँले त्यस बेला धर्मविधि बनाउनुभयो? कदापि बनाउनुभएन। बाइबलले प्रारम्भिक मसीहीहरूबीच यस्तो उपवास बस्ने कुनै प्रचलन भएको उल्लेख गर्दैन र येशूले उपवासलाई धर्मविधि बनाउनुभएन भनेर यसै तथ्यबाट प्रमाणित हुन्छ। ख्रीष्टको मृत्युपछि चौथौं शताब्दीमा प्रथम पटक लेन्ट मनाइयो। मसीहीजगत्का अरू थुप्रै शिक्षाहरूजस्तै यो पनि गैरमसीही स्रोतबाट लिइएको हो।
आफ्नो बप्तिस्मापछि येशूले उजाडस्थानमा बस्नुभएको उपवासको अनुसरण गर्दै लेन्ट मानिएको हो भने उहाँको पुनरुत्थानको समय मानिने इस्टरअघिका हप्ताहरूमा यसलाई किन मनाइन्छ त? येशू आफ्नो मृत्युअघिका दिनहरूमा उपवास बस्नुभएन। उहाँको मृत्यु हुनुभन्दा केही दिनअघि उहाँ र उहाँका चेलाहरूले बेथानीमा घर खोजेर भोज खानुभएको कुरा सुसमाचारका विवरणहरूमा पाइन्छ। अनि आफ्नो मृत्युको अघिल्लो रात उहाँले निस्तार भोज खानुभयो।—मत्ती २६:६, ७; लूका २२:१५; यूहन्ना १२:२.
येशूले बप्तिस्मा लिनुभएपछि उपवास बस्नुभयो र त्यसबाट हामीले सिक्नुपर्ने कुरा छ। उहाँले महत्त्वपूर्ण सेवकाई सुरु गर्दै हुनुहुन्थ्यो। त्यस उपवासमा यहोवाको सार्वभौमिकतालाई उच्च पार्नु र सम्पूर्ण मानवजातिको भविष्य सम्मिलित थियो। यो, गहिरो मनन गर्ने र प्रार्थनापूर्वक यहोवालाई मदत तथा निर्देशन माग्ने समय थियो। त्यस समय येशू उपवास बस्नु उचित थियो। सही मनोवृत्तिले उचित अवसरमा बसेको उपवास लाभदायी हुनसक्छ भनेर यस कुराले देखाउँछ।—कलस्सी २:२०-२३ तुलना गर्नुहोस्।
जब उपवास लाभदायी हुनसक्छ
आउनुहोस्, आज परमेश्वरको उपासक उपवास बस्नसक्ने केही अवसरहरूलाई विचार गरौं। पाप गर्ने कुनै व्यक्तिलाई केही समयसम्म खानेकुरा खान मन नलाग्ला। यसो गर्नुको कारण अरूलाई प्रभाव पार्न र प्राप्त अनुशासनप्रति रीस पोखाउन होइन। अनि निस्सन्देह, उपवासले परमेश्वरसामु खराबीहरूलाई सुधार्दैन। तथापि, साँचो पश्चात्तापी व्यक्तिले यहोवा र सम्भवतः मित्र तथा परिवारलाई चोट पुऱ्याएकोमा गहिरो दुःख महसुस गर्छन्। क्षमाको लागि गरिएको मार्मिक र व्यग्र प्रार्थनाले खानेकुराको चाहलाई रोक्लान्।
इस्राएलका राजा दाऊदले त्यस्तै अनुभव गरे। बेतशेबाबाट जन्मिएको आफ्नो छोरा मर्ने छाँट देखेपछि तिनले त्यस बच्चाको लागि यहोवाबाट कृपा पाउन सम्पूर्ण ध्यान प्रार्थनामा लगाउने प्रयास गरे। तनमनले प्रार्थना गर्दा तिनी उपवास बसे। त्यस्तैप्रकारले आज पनि कुनै तनाउपूर्ण अवस्थाहरूमा खानेकुरा खानु उचित नदेखिएला।—२ शमूएल १२:१५-१७.
कुनै कुनै बेला ईश्वरभक्त व्यक्तिले गहिरो आध्यात्मिक कुरामा ध्यानकेन्द्रित गर्ने चाह गर्लान्। बाइबल र मसीही प्रकाशनहरूमा अनुसन्धान गर्नु खाँचो पर्ला। मनन गर्न समय चाहिएला। यसरी अध्ययनमा डुबेको बेला खानेकुराले बाधा नपारोस् भनी कुनै व्यक्तिविशेषले चाह गर्लान्।—यर्मिया ३६:८-१० तुलना गर्नुहोस्।
परमेश्वरका सेवकहरूले गम्भीर निर्णयहरू गर्नुपर्दा उपवास बसेका धर्मशास्त्रीय उदाहरणहरू छन्। नहेम्याहको समयमा यहूदीहरूले परमेश्वरप्रति शपथ खानुपर्थ्यो र त्यो भंग गरेमा तिनीहरू सरापका योग्य हुनेथिए। तिनीहरूले विदेशी पत्नीहरूसित पारपाचुके गर्ने र वरपरका राष्ट्रहरूबाट अलग बस्ने वाचा बाँध्नुपर्थ्यो। यस्तो शपथ खानुअघि र गल्ती स्वीकारेको बेला सम्पूर्ण मण्डली उपवास बस्थ्यो। (नहेम्याह ९:१, ३८; १०:२९, ३०) तसर्थ, गहकिला निर्णयहरू गर्नुपर्दा कुनै मसीहीले केही समयसम्म खानेकुरा नखालान्।
प्रारम्भिक मसीही मण्डलीका प्राचीनहरू निर्णय गर्दा कहिलेकाहीं उपवास बस्थे। आज, मण्डलीका प्राचीनहरूले सम्भवतः न्यायिक मामिलासम्बन्धी गाह्रो निर्णयहरू गर्नुपर्दा छलफलको दौडान खानेकुरा नखालान्।
केही खास परिस्थितिहरूमा उपवास बस्नु व्यक्तिगत निर्णय हो। यस मामिलामा एकले अर्कोको न्याय गर्नु हुँदैन। हामीले “मानिसहरूका सामु धर्मी देखा” पर्ने चाह गर्नु हुँदैन। नता गम्भीर दायित्वहरूको देखरेखमा बाधा पुऱ्याउने गरी खानेकुरालाई नै ज्यादा महत्त्व दिनु हुन्छ। (मत्ती २३:२८; लूका १२:२२, २३) परमेश्वर नता हामी उपवास बसेको चाहनुहुन्छ न हामीलाई उपवास बस्न निषेध नै गर्नुहुन्छ भनेर बाइबलले देखाउँछ।
[पृष्ठ ७-मा भएको चित्र]
येशू आफ्नो बप्तिस्मापछि किन ४० दिनसम्म उपवास बस्नुभयो, के तपाईंलाई थाह छ?